तनहुँ: जिल्ला कारागार तनहुँमा रहेका कैदी बन्दीले मतदान गरेका छन् । कारागारमा रहेको अस्थायी मतदान केन्द्रबाट उनीहरुले मतदान गरेका हुन । कारागारमा ५० पुरुष र ४ महिला गरि कुल ५४ मतदाता छन् । उनीहरुले प्रतिनिधि सभातर्फको समानुपातिकमा मात्र मतदान गर्न पाउछन् । जिल्ला कारागार तनहुँमै रहेका पल शाहले भने मतदान गर्न पाएनन् । बाल यौन दुरुपयोग कसूरमा थुनामा परेका उनले मतदाता नामावलीमा नाम नभएका कारण मतदान गर्न नपाएका हुन् ।
हुम्ला: अत्यधिक चिसोका कारण हुम्लाका चार मतदान केन्द्रमा अझै मतदान प्रक्रिया सुरु हुन सकेको छैन । नाम्खा गाउँपालिका ६ का तीन मतदान केन्द र वडा ५ को मुचुमा चिसोका कारण मतदान सुरू हुन नसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । अत्याधिक चिसोका कारण लिमीको हल्जी गाउँको सुनखानी आधारभूत विद्यालय मतदान केन्द, जाङ गाउँको भृकुटी आधारभूत विद्यालय मतदान केन्द्र ,तिल गाउँको हिमशिखर आधारभूत मतदान केन्द्र र मुचुको खासरपानी आधारभूत मतदान केन्द्रमा मतदान सुरु हुने नसकेको हुम्लाका डीएसपी कृष्णराज ओझाले जानकारी दिए । ५९ वटा मतदान केन्द मध्ये ५५ मतदान केन्द्रमा मतदान सुरू भइसकेको जिल्ला निर्वाचन कार्यालय हुम्लाका श्यामबहादुर रानाले बताए । मतदान भइरहेका केन्द्रहरुमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको निमित्त निर्वाचन अधिकारी रानाको भनाइ छ ।
एजेन्सी: आजदेखि फिफा विश्वकप २०२२ सुरु हुँदैछ। उद्घाटन खेलमा आयोजक कतार र दक्षिण अमेरिकी राष्ट्र इक्वेइडर भिड्दै छन्। खेल नेपाली समयअनुसार राति ९ बजेर ४५ मिनेटमा सुरु हुनेछ। कतारमा २० नोभेम्बर देखि १८ डिसेम्बर २०२२ सम्म हुने प्रतियोगिता २२औं संस्करणको प्रतियोगिता हो। प्रतियोगितामा विश्वभरका ३२ टिम सहभागी छ। यो विश्वकप अरब क्षेत्रमा आयोजना हुने पहिलो विश्वकप हुनेछ। सन् २००२ को दक्षिण कोरिया र जापानमा भएको प्रतियोगिता पछि पूर्ण रूपमा एसियामा आयोजना हुने दोस्रो विश्वकप हो। यो विश्वकप ३२ टिम सहभागी हुने अन्तिम विश्वकप हुने सम्भावना छ। सन् २०२६ देखि ४८ देश सहभागी हुने निर्णय भइसकेको छ।
दार्चुला: दार्चुलाको व्यास गाउँपालिका१ का मतदाताले जिल्ला सदरमुकाम खलङ्गामा आएर मतदान गरेका छन् । छाङरु र तिङ्कर क्षेत्रमा बसोबास गर्ने मतदाताहरूले खलङ्गास्थित मोती महिला संघको केन्द्रबाट मतदान गरेका छन् । तिङ्करमा २३५ जना मतदाता छन् । उनीहरू कात्तिक २९र३० गते नै सदरमुकाम आइपुगेका थिए । उनीहरूले मतदान गरेको खलंगाको मतदान केन्द्र गाउँबाट २८ कोषको दूरीमा छन् । मतदानकै लागि उनीहरू पाँच दिन हिँडेर खलंगा आएका हुन् । तिङ्कर र छाङरुबाट सिधै सदरमुकाम आउने बाटो छैन ।उनीहरुलाई सदरमुकाम आउनसमेत भारतीय भूमिको बाटो प्रयोग गर्नु पर्ने बाध्यता छ । तिङ्कर क्षेत्रमा अहिले चिसो धेरै भएकाले र जाडोमा बस्न नसक्ने भएकाले उनी तल्लो भेगतिर झर्छन् । त्यसैले व्यास१ को छाङरु र तिङ्करका मतदाताका लागि सदरमुकाम खलंगामा छुट्टै केन्द्र बनाइएको छ ।
काठमाडौं- मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि मतदान प्रारम्भ भएको हो । मतदानका लागि मतदाता बिहान सबेरैदेखि मतदान केन्द्रमा पुगिसक्नुभएको छ । मतदान केन्द्रमा महिला मतदाताको सङ्ख्यासमेत उल्लेख्यरुपमा देखिएको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको छ । मतदाताले निर्वाचनका लागि तयार गरिएको चार वटा बेग्लाबेग्लै मतपत्रमा स्वस्तिक छाप लगाई मतदान गर्नुहुनेछ । निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार छ । निर्वाचनका लागि १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ । मतदान अपराह्न ५ बजेसम्म चल्नेछ ।
आज मतदान । देशैभर नागरिकले मताधिकारको प्रयोग गर्ने दिन । आागमी ५ वर्षसम्म कस्तो प्रतिनिधिले कस्तो नीति, नियम र निर्माण गर्छन् वा यो जिम्मा कसलाई दिने भनेर विवेको प्रयोग गर्ने दिन । आज मत पेटिकामा तपाइको स्वस्तिक छापबाट देशको आगामी मार्गचित्र कोरिने दिन हो । देशलाई कुन बाटोमा हिँडाउने र कस्तो गन्तव्यमा पु¥याउने भनेर तपाइको परीक्षा हुने दिन पनि हो । मतदान केवल कुनै नेता र पार्टीलाई जिताउने भन्दा पनि तपाई जित्नुहुन्छ वा हुँदैन भनेर निक्र्याैल गर्ने कसी पनि हो । यसर्थ आज तपाइले आफ्नो विवेक दान गर्ने दिन हो । यहाँ कुनै दल, उम्मेदवारले हैन तपाइले जित्नै पर्ने परिपाटीको अभ्यास गर्नुपर्ने सुनौलो घडी हो । यसअघि तपाइले गरेको मतदान तपाई र देशले एकैपटक भोगिरहेको छ । तपाइको मतबाट शासन गर्ने थलोमा पुगेका तपाइकै रोजाइका प्रतिनिधिको पछिल्लो पाँच वर्ष देशको स्थितिलाई थोरै भएपनि विश्लेषण गर्नुभयो भने आजको दिन कस्तो प्रतिनिधिलाई छनौट गर्ने भन्ने स्पष्ट हुन्छ । मतदान गर्नु भनेको आफुमा निहित अधिकार कुनै दललाई हस्तान्तरण गर्दै ‘म माथि शासन गर्’ भनि अधिकार प्रत्यायोजन गर्ने निर्मम प्रक्रिया भएकाले आफु अबको ५ वर्ष कस्तो नेता र नीतिबाट शासित हुने भन्ने परीक्षा हो । संविधानमा प्रदत्त अधिकारको प्रयोग गर्दा आफुसँग भएको अधिकार अरुलाई हस्तान्तरण गर्दा कुन वा कस्तो प्रतिनिधि छनौट गर्ने भन्ने आंकलन गर्न नसक्दा तपाइलाई आफ्नो मत आफैलाई भारी हुनसक्छ । आजको दिन मतदान गरी कुनै प्रतिनिधिलाई जिताउनु भन्दा पनि स्वयं जित्ने हिसाबले मतदान गर्नु मतदाताको दायित्व हो । ‘मलाई जिताउनुहोस्’ भन्दै मत मागिरहेका प्रतिनिधिलाई तपाई आज उसैलाई जिताउने हैन, तपाई आफै जित्ने आधारसहित मतदान गर्नुहोस् । गणतन्त्रको सुन्दर पक्ष हो, मतदानमार्फत जनप्रतिनिधिको छनौट । तपाइले आज छनौट गरेका व्यक्तिले भोली जनअपेक्षा अनुरुप काम नगरे त्यसको भागिदार तपाई पनि हुनुपर्नेछ । तपाइले गलत व्यक्ति छनौट गरेपछि भोली आलोचना गरेर पन्छिने हक तपाइसँग हुनेछैन । यहाँनेर उम्मेदवार हैन मतदाता सही छन् वा गलत छन् भनेर भन्नुपर्ने हुन्छ । आजको दिन .मतदानबाट नेता हैन जनताले जित्नपर्छ भन्ने आशयसहित सम्पूर्ण जनमा मतदानको शुभकामना ।
काठमाडौं: निर्वाचनको विरोधमा प्रदर्शन गर्ने मोहन वैद्य ,किरण, निकट नेकपा (क्रान्तिकारी माओवादी) का प्रदर्शनकारी पक्राउ परेका छन्। निर्वाचन आयोगको केन्द्रीय कार्यालय रामशाह पथमा प्रदर्शन गर्ने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरूलाई नियन्त्रणमा लिई प्रहरी वृत्त दरबारमार्गमा राखिएको प्रहरीले जनाएको छ। उनीहरूले ‘संसदीय व्यवस्था मुर्दावाद’ भन्दै नाराजुलस समेत लगाएका थिए। आइतबार प्रतिनिधि र प्रदेश सभा निर्वाचन हुँदैछ। मौन अवधिमा निर्वाचन आचारसंहिता विपरीत कुनै पनि काम गर्न आयोगले निषेध गरेको छ।
पोखराः नागरिकको नैसर्गिक अधिकारभित्र पर्ने आधारभूत आवश्यकता पूरा गर्ने जिम्मेवारी राज्यको हो । त्यसैले अहिले तीन तहको सरकार छ । अझ भनौ गाउँगाउँमा अहिले सिँहदरबार छ । त्यसैले नागरिकको आधारभूत आवश्यकताको ग्यारेन्टी गर्नु सरकारको दायित्व हो । गाँस बास र कपास नागरिकको आधारभूत आवश्यकता हो । तर आधारभूत आवश्यकताको प्रत्याभूतबारे राज्यले नजर पुर्याउन नसकेको कुरा भने ध्रुव सत्य हो । अहिले पोखरा महानगरपालिका ९ पृथ्वीचोकस्थित बसपार्क क्षेत्रका सुकुम्वासी बस्तीको हालत यस्तै छ । स्थानीय बासिन्दाहरुले लालपूर्जा पाउने आशमा ४ वटा निर्वाचनलाई विदा गरिसके र फेरि अर्को निर्वाचन व्यहोर्न बाध्य छन् । पृथ्वीचोककी निरमाया गुरुङ उमेरले ५५ वर्ष पुगिन् । उनी मजदुरी गरेरै जिविकोपार्जन गरिरहेकी छिन् । उनको मजदुरीले विहान बेलुकी २ छाक गुज्रिन्छ । तर ओत लाग्ने घर भएपनि लालपूर्जा भने छैन । हरेक ५ वर्षमा आउने निर्वाचनमा लालपूर्जाको नारा लिएर कैयौं उम्मेदवारहरु उनी जस्तै त्यस क्षेत्रका मतदातालाई फकाउन आइपुग्छन् । तर जितेपछि फर्किदैनन् । यो तितो सत्य हो । अक्सर देशभर नै सुकुम्बासीका मतदातालाई भोट बैंकको रुपमा प्रयोग गरिन्छ । तर प्रतिवद्धता पूरा गरिदैन । यस्तै आश्वासनबाट निरमाया आजित भैसकेकी छिन् । महेन्द्रपुलस्थित बास्तोलाथरमा ५ वर्ष बसेका गुरुङसहितका बस्तीलाई १५ दिन भित्र लालपूर्जा दिने आश्वासनसहित पोखरा महानगरपालिका ९ पृथ्वीचोकमा स्थानान्तरण गरिएको थियो । अहिले १९ वर्ष बित्यो तर निरमाया र स्थानीय बासिन्दाको हातमा लालपूर्जा अझै परेन । ‘कहिले सेतीको तीर कहिले कता अहिले १९ वर्षभयो पृथ्वीचोक बसपार्कमा बस्तीमा बस्न थालेको । हरेक चुनावमा हामीलाई लालपूर्जा दिन्छौ भनेर भोट माग्छन् तर गएपछि फर्किदैनन्, निरमाया प्रश्न गर्छिन्, ‘खै हाम्रो लालपूर्जा कहिले आउँछ’ अहिलेको निर्वाचनमा पनि घरदैलो अभियानमा विभिन्न दलका उम्मेदवारहरुले आ–आफ्नो एजेन्डा सुनाउँदै मतदाताहरुलाई फकाएका छन् । खानेपानीको धारो, सहज यात्राका लागि सडक, उच्चस्तरीय शिक्षाका लागि विद्यालय, अस्पताल, रोजगार लगायतका एजेन्डा अघि सारेका छन् । त्यो योजनाहरुभन्दा पहिलो प्राथमिकतामा यसपटकपनि लालपूर्जा दिलाउने आश्वासन दिएको स्थानीयहरु बताउछन् । कास्की निर्वाचन क्षेत्र नम्बर २ अन्तरगत पर्ने यस क्षेत्रमा ०७४ को निर्वाचनमा स्वर्गीय रविन्द्र अधिकारी र ०७६ को उपनिर्वाचनमा स्व. अधिकारीका श्रीमती विद्या भट्टराईले चुनाव जितेकी थिइन् भने प्रदेश सभाका लागि विन्दुकुमार थापाले चुनाव जितेका थिए । तर उनीहरुले सांसद भएपछि आफ्नो चुनावी एजेन्डा नै बिर्सेको निरमायाको गुनासो छ । अघिल्लो पटक प्रतिनिधि सभामा जितेकी विद्या र प्रदेशमा जितेका विन्दु फेरि यही मंसिर ४ गते हुने निर्वाचनमा होमिएका छन् । उनीहरुसँगै सोही क्षेत्रमा प्रतिनिधिसभा तर्फ १७ र प्रदेशसभा सदस्य तर्फ ९ जना प्रतिस्पर्धामा छन् । ति उम्मेदवारहरुको एजेन्डा पनि उही नै हो, लालपूर्जा । विगतका निर्वाचनको नजीरका कारण यसपटकपनि उम्मेदवारहरुले झुटो आश्वासन दिए भन्नेमा लेकमाथा थापामगर ढुक्क छिन् । त्यसैले आफुलाई चुनावले नछोएको उनी बताउछिन् । ‘यहाँ मतादाताहरु मजदुरी गरेर जिविकोपार्जन गर्नेहरु छन् । लालपूर्जा दिलाउछु भन्ने नेताहरुको आश्वासन झुटो हो भन्ने सबैलाई थाहै छ, उनी सुनाउँछिन्, ‘त्यसैले बस्तीका प्राय मजदुर गर्न जान्छन् को आयो को आएन खासै बतलब छैन ।’ सुकुम्वासी बस्तीमा राज्यको करोडौं लगानी भएकाले लालपूर्जा पाउनेमा उनको आशा भने जिवितै छ । ‘राज्यले सुकुम्वासी बस्तीमा पूर्वाधारतर्फ लाखौं लगानी गरेको छ । यहाँ एक घर एक धारा, ढलानबाटोसहित समाज घर निर्माण गर्न लाखौं रकम खर्च गरेको छ, उनी भन्छिन्, ‘त्यसैले हामीलाई अब लालपूर्जा दिन्छ कि भन्ने झिनो आशा पनि छ ।’
म्याग्दी: म्याग्दीका सबै मतदानस्थल र केन्द्रमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । मतदानका लागि खटिएका सबै कर्मचारी मतदानस्थलमा पुगेर आइतबार (भोलि) हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । म्याग्दी जिल्लाका ८२ वटा मतदानस्थल, एक सय १९ मतदान केन्द्र र जिल्ला कारागारमा एउटा अस्थायी मतदान केन्द्रमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको हो । निर्वाचनका लागि मतदानस्थल र केन्द्रमा खटिएका कर्मचारी आ–आफ्नो स्थल र केन्द्र पुगेर सर्वदलीय बैठक सम्पन्न गरी निर्वाचनका लागि आवश्यक भौतिक पूर्वाधार र निर्वाचन आयोगले तोकेका सबै काम पूरा गरिसकेको सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले बताउनुभयो । “सबै मतदान केन्द्रमा टोली पुगिसकेको छ, मतदानस्थल निर्माणको काम र सर्वदलीय बैठकसमेत भइसकेको छ”, पौडेलले भन्नुभयो । जिल्लाभित्रका सबै मतदान केन्द्रमा आयोजित सर्वदलीय बैठकमा कुनै किसिमको समस्या नभएको बताइएको छ । म्याग्दी सदरमुकाम बेनीबाट २६ कोस टाढा धवलागिरि गाउँपालिका–१, गुर्जामा रहेको जनकल्याण माविको मतदानस्थलमा मतदान अधिकृत अमृत सुवेदीसहितका २० कर्मचारी पुगेका छन् भने धवलागिरि–४ मुदीको बगरस्थित कैलाश आधारभूत विद्यालयको मतदानस्थलमा समेत गिरीप्रसाद छन्त्यालको नेतृत्वमा १९ कर्मचारी पठाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यी दुई मतदानस्थल सुरक्षा र भूगोलका हिसाबले जिल्लाकै सबैभन्दा संवेदनशील मतदानस्थल मानिन्छन् । गुर्जा र मुदीको बगर जिल्लाको सबैभन्दा विकटका मतदान केन्द्र भएकाले मतपेटिका ढुवानीमा समेत हेलिकोप्टरको माग गरिएको छ । निर्वाचन सम्पन्न गराउनका लागि म्याग्दीमा सुरक्षा जनशक्ति र स्वयंसेवकबाहेक मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी गरेर कुल नौ सय ५२ कर्मचारी परिचालन गरिएको छ । छवटा स्थानीय तह र ४५ वडा रहेको म्याग्दीमा ८६ हजार मतदाता छन् । मतदान केन्द्रमा स्वस्तिक छाप, लाहा, मतपेटिका सुरक्षण सिल, स्टिकर, स्ट्याम्प प्याड, मसी, मतपेटिका, मतपत्र, मतदाता परिचयपत्र, रबरम्याट, कपडा, कैँची, स्केल, कागज, सियो, धागो, सलाई, ब्रोसरलगायतका ६३ प्रकारका निर्वाचन सामग्री पर्याप्त रहेको गुर्जाका मतदान अधिकृत सुवेदीले बताउनुभयो । प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको म्याग्दीमा निर्वाचित हुने तीन पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकालाई समेटेको ४९ मतदानस्थलमा ६८ वटा केन्द्र रहेको प्रदेशसभा क्षेत्र (१) मा ४८ हजार चार सय ७२ मतदाता छन् । मङ्गला, मालिका र धवलागिरि गाउँपालिका समावेश ३३ स्थलमा ५१ केन्द्र रहेको प्रदेशसभा क्षेत्र (२) मा ३७ हजार छ सय ४८ मतदाता छन् ।

