आमनिर्वाचनको हालसम्म प्राप्त मतगणना अनुसार समानुपातिकतर्फ नेकपा एमाले पहिलो स्थानमा रहेको छ । एमालेले ८४ हजार ८१५ मत पाएको छ । त्यस्तै, ७१ हजार ५२५ मत ल्याउँदै नेपाली कांग्रेस र ३६ हजार १०९ मतकासाथ राष्ट्रिय स्वतन्त्र पार्टी क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । नेकपा माओवादी केन्द्रको ३२ हजार ७२५ रहेको छ भने पाँचौ स्थानमा २० हजार ५४ मतकासाथ राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको छ । यसैगरी, जनता समाजवादी पार्टीले हालसम्म ५ हजार ६५५ मत ल्याएर छैठौं स्थानमा रहँदा नेपाल मजदुर किसान पार्टीले ४ हजार ५०७ मतकासाथ सातौं स्थान ओगटेको छ । समानुपातिकको रोजाइमा नागरिक उन्मुक्ति पार्टी रहेको छ । पार्टीले ३ हजार ७७६ मत प्राप्त गरेको छ । यसैबीच, माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले ३ हजार ४४५ मत ल्याएर नवौं स्थानमा रहेको छ । मतगणना जारी छ ।
मुस्ताङ: हिमालपारिको जिल्ला मुस्ताङमा प्रतिनिधिसभा तथा प्रदेशसभाको तीन स्थानमै नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । २०७४ को निर्वाचनमा प्रतिनिधिसभा तथा प्रदेशसभा सबै जितेको एमाले शून्यमा पुगेको छ । यसअघि मुस्ताङमा प्रतिनिधिसभा र प्रदेशसभा (क) मा विजयी भएको कांग्रेसले मुस्ताङको प्रदेशसभा (ख) मा पनि विजयी हासिल गरेको छ । प्रदेशसभा (ख) मा विकल शेरचन दुई हजार ७२३ मतसहित विजयी हुनुभएको छ । शेरचनका निकटतम प्रतिद्वन्द्वी एमालेका चन्द्रमोहन गौचनले दुई हजार ५६५ मत प्राप्त गर्नुभएको छ । प्रदेश– (ख) मा राप्रपा नेपालका उम्मेदवार कर्म डोल्कर गुरुङले ५८ मत प्राप्त गरी तेस्रो बन्नु भएको छ । यसअघि प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले)का ६० वर्षीय उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई पराजित गर्दै कांग्रेसका उम्मेदवार २९ वर्षीय योगेश गौचन थकाली विजयी हुनुभएको हो । मुस्ताङको विजयीसँगै १६५ स्थानका लागि भएको निर्वाचनमा कांग्रेसले जितको खाता खोलेको हो । गौचन मुस्ताङको थासाङ गाउँपालिका–३ लेते कालोपानीका बासिन्दा हुनुहुन्छ । गौचनले तीन हजार ९९२ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार प्रेम तुलाचनले तीन हजार ७८ मत प्राप्त गर्नुभयो । नवनिर्वाचित योगेश नेपाली कांग्रेसका जिल्ला सभापति एवम् पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुनुहुन्छ ।त्यस्तै, मुस्ताङको प्रदेशसभा (१) मा कांग्रेसका उम्मेदवार नम्डु गुरुङ विजयी हुनुभएको छ । गुरुङ नेकपा (एमाले) का इन्द्रधारा विष्टलाई २५५ मतान्तरले पराजित गर्दै विजयी बन्नुभएको हो । गुरुङले एक हजार ४८ मत पाउँदा निकटतम प्रतिस्पर्धी विष्टले ७९३ मत ल्याउनुभएको छ ।
पोखरा: मुस्ताङको प्रदेश सभा (२) मा पनि नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । सोमबार भएको मतगणनामा नेपाली कांग्रेसका विकल शेरचन विजयी भएका हुन् । शेरचनले नेकपा एमालेका चन्द्रमोहन गौचनलाई पराजित गरेका हुन् । शेरचनले २ हजार ७२३ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी गौचनले २ हजार ५६५ मत पाएका छन् । योसँगै मुस्ताङबाट प्रतिनिधि सभा तथा प्रदेश सभा दुबैमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । प्रतिनिधिसभामा योगेश गौचन निर्वाचित भएका छन् । प्रदेशसभा (१) मा कांग्रेसकै नम्डु गुरुङ निर्वाचित भएका छन् ।
डडेल्धुरा: डडेल्धुरामा प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । ५ सय मत गन्दा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले २३९ मत पाएर अग्रता लिएका छन् । यस्तै कांग्रेस (बिपी) का कर्णबहादुर मल्लले १४१ मत पाएका छन । स्वतन्त्र उम्मेदवार सागर ढकालले ९७ मत पाएका छन् । प्रतिनिधिसभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कांग्रेस बीपीका वरिष्ठ उपाध्यक्ष कर्णबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाल, विक्रमबहादुर शाहीलगायत ८ जना उम्मेदवार छन् । प्रदेशसभा –१ मा वाम–लोकतान्त्रिक गठबन्धनबाट माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट, नेकपा एमालेका नेता एवं सुदूरपश्चिमका पूर्वभौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा, स्वतन्त्र उम्मेदवार महेशसिंह धामीलगायत छन् । यसैगरी प्रदेशसभा –२ मा सत्ता गठबन्धनबाट कांग्रेस नेता एवं सुदूरपश्चिमका सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा, स्वतन्त्र उम्मेदवार डा. ताराप्रसाद जोशीलगायत छन ।
डडेल्धुरा: डडेल्धुरा जिल्लाको प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुरुमै अग्रता लिनुभएको छ । देउवा गठबन्धनबाट साझा उम्मेदवार हुनुहुन्छ । सभापति देउवा (रुख) ले ४८ मत प्राप्त गरेर अगाडि हुनुहुन्छ भने कांग्रेस बीपीका कर्णबहादुर मल्ल (करुवा) ले ४२ मत प्राप्त गरेर पछ्याउँदै हुनुहुन्छ । यसैगरी, स्वतन्त्र उम्मेदवार सागर ढकाल (सुई) ले १७ मत प्राप्त गर्नुभएको छ । प्रधानमन्त्रीको गृह जिल्ला डडेल्धुरामा सोमबार अपराह्नदेखि मात्रै मतगणना सुरु भएको छ । डडेल्धुरामा ९१ हजार २०१ कुल मतदाता रहेकोमा ५१ हजार ६६० मत खसेको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिनुभयो । आइतबार १३९ वटै मतदान केन्द्रमा शान्ति पूर्वक निर्वाचन सम्पन्न भएको थियो । भित्रिमधेश क्षेत्र जोगबुडाको परशुराम नगरपालिकाको बसौटीमा मतपेटिका बोकेको जिप बिग्राएपछि सोमबार दिउँसो मात्रै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगाउन सकिएको थियो । त्यसै कारण मतगणना गर्ने कार्य ढिलो गरी सुरु भएको उहाँले बताउनु भयो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भर्खरै (बेलुकी ४ः५० बजे) क्यालिब्रेसन फ्लाइट भएको छ । यान्त्रिक परीक्षण भनिने उडानमा साँझ ४ बजेर ५० मिनेट जाँदा थाइ एअर अवतरण भएको हो । विमानस्थलको एयर ट्राफिक कन्ट्रोलसम्बन्धी परीक्षण र भौगोलिक अवस्थाबारे जानकारी लिन आज उटान गरिएको हो । थाइ एअरका चालक दलले दिएको रिपोर्ट अनुसार विमानस्थल सुचारु हुनेछ । नेपाल सरकारको तयारी अनुसार आगामी अंग्रेजी नयाँ वर्षसँगै व्यावसायिक उडान हुनेछ । हाल हाम्रो सहकर्मी विमानस्थलमा रहेको छन् भने विस्तृत आउन बाँकी छ ।
काठमाडौं: ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले पुन: अग्रता लिएकी छिन् । कार्की १ हजार ४८२ मतसहित अग्रस्थानमा रहँदा नेकपा एमालेका अमृत खड्का १ हजार ४४८ मतसहित दोस्रो स्थानमा छन् । नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल ९८८ मतसहित तेस्रो स्थानमा रहेकी छिन् । यसअघि यो क्षेत्रमा सुरुवातमा तोसिमाले अग्रता लिए पनि सोमबार दिउँसो नेकपा एमालेका उम्मेदवार खड्काले अग्रता लिएका थिए । माओवादी उम्मेदवार भुसाल भने सुरुवातदेखि नै तेस्रो स्थानमा छिन् । यसअघि २०७४ सालमा यो क्षेत्रबाट माओवादीबाट भुसाल नै निर्वाचित भएकी थिइन् ।
चितवन: चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेका कृष्णभक्त पोखरेलले अग्रता कायमै राखेका छन्। पछिल्लो मतपरिणाम अनुसार ६९९ मत गणना गर्दा पोखरेल ५५४ मतसहित पहिलो नम्बरमा छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३९७ मत प्राप्त गरेका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने ८७ मतसहित तेस्रो स्थानमा छन्। यसअघिको निर्वाचनमा यो क्षेत्रमा एमालेका पोखरेल नै निर्वाचित भएका थिए।
चितवन: चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेका कृष्णभक्त पोखरेलले अग्रता कायमै राखेका छन्। पछिल्लो मतपरिणाम अनुसार ६९९ मत गणना गर्दा पोखरेल ३६४ मतसहित पहिलो नम्बरमा छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले २३६ मत प्राप्त गरेका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने ४३ मतसहित तेस्रो स्थानमा छन्। यसअघिको निर्वाचनमा यो क्षेत्रमा एमालेका पोखरेल नै निर्वाचित भएका थिए।

