काठमाडौं: चितवन क्षेत्र नम्बर २ बाट भारी मतान्तरले विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू जनतालाई जिताउने जाँच दिन गइरहेको बताएका छन् । चुनाव जितेपछि सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै लामिछानेले राजनीतिमा निर्वाचित हुनु भनेको विजयी हुनु नभएको बताएका छन् । ‘यो त जाँच दिन जानका लागि सक्षम हुनु मात्र हो । म आजबाट जाँच दिन जाँदैछु, जसको नतिजा पाँच वर्षपछि मात्र आउँछ,’ उनले भनेका छन् । लामिछानेले अहिले कुनै विजय र्याली नगर्ने भन्दै चितवन–३ का तीनवटा स्थानमा धन्यवाद र्याली गरिने जानकारी दिएका छन् । धन्यवाद र्यालीमा आफूलाई फूलमाला र अबीर केही पनि नल्याउन उनले मतदाताहरुलाई आग्रह गरेका छन् । उनले धन्यवाद सभा गरिने भरतपुर–१० गेस्टहाउस चोक, इच्छाकामना गाउँपालिका कार्यालय अगाडिको फुटबल ग्राउन्ड कुरिनटार र कालिका नगरपालिकाको शहीद स्मृति क्याम्पस चौर पदमापुरमा समस्या र सुझाव गरी दुईवटा पेटिका समेत राखिने बताएका छन् । ‘भ्रष्टाचारीका सूचना, मैले गर्नुपर्ने काम, मलाई खबरदारी लेखेर पठाउनुहोला,’ लामिछानेले लेखेका छन्, ‘माला, अबीर, खादामा हामीले गरेको खर्च प्राय: विदेश जान्छ । केही ल्याउनैपर्ने मन भए आफ्नै आँगन वा बाटोको एक थुंगा फूल भए मलाई पुग्छ ।’ उनले छिटोभन्दा छिटो आफू काममा लाग्न चाहेको समेत उल्लेख गरेका छन् ।
काठमाडौं: ललितपुर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वन्त्र पार्टीकी डा. तोसिमा कार्कीले आफ्नो लागि जीतभन्दा बढी जिम्मेवारी महत्वपूर्ण भएको बताएकी छिन् । ‘यो जीत होइन, जिम्मेवारी हो, जिम्मेवारीको यात्राको सुरुवात भएको छ, सुशासन र जनताले चाहेको अवस्था निर्माण गर्छु,’ उनले मतदाता र समर्थकमाझ भनेकी छिन् । उनले जनताले गरेका आशालाई निराशामा परिणत हुन नदिने बताइन् । ‘यो विश्वासलाई विश्वासघात हुन दिने छैन,’ उनले भनिन् । जनताको आशा, विश्वास र भरोसालाई ५ वर्ष सदनमा पेश गर्ने उनको प्रतिवद्धता छ । ‘जनताका मुद्दामा म सधैं साथमा उभिनेछु । मैले गरेका वाचा र तपाईंका आशा पूरा गरेपछि मात्र हाम्रो जीत हुनेछ,’ उनले भनिन्, ‘मलाई निरन्तर खबरदारी गरिदिनुहोला ।’ संसदमा आफ्नो भूमिका राजनीतिको सुसभ्य परिभाषा स्थापित गर्नमा हुने उनको भनाइ छ । ‘संसदमा सांसदले जनता र जनमुद्दाको पक्षमा कसरी उभिने भनेर देखाउने छ। यसमा तपाईको साथ चाहिन्छ ।’ उनले भनिन् ।
चितवन: चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका छन् । लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्दा श्रेष्ठले १५ हजार ९९ मत ल्याए । श्रेष्ठ सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । नेकपा एमालेका कृष्णभक्त श्रेष्ठ १४ हजार ६४९ मत ल्याउँदै तेस्रो स्थानमा रहे । २०७४ सालको निर्वाचनमा चितवन २ बाट एमालेका कृष्णभक्त पोखरेल निर्वाचित भएका थिए ।
गोरखा: गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतले विजयी हुनुभएको छ । बिहीबार बिहान सम्पन्न भएको मतगणनाको अन्तिम मतपरिणामअनुसार अध्यक्ष दाहालले २६ हजार १०३ मत ल्याएर विजयी हुनुभएको हो । उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीलाई १३ हजार ४६६ मतले पछाडि पार्दै विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बुर्लाकोटीले कुल १२ हजार ६३७ मत प्राप्त गर्नुभएको छ । दाहालको प्रतिस्पर्धामा आउने आँकलन गरिएका नेपाल कम्युनिष्ट पार्टी एमालेका अब्दुस सलाम मियाँ भने तेस्रो स्थानमा रहनुभएको छ । उहाँले सात हजार तीन सय ९३ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिनुभयो । गोरखा क्षेत्र नम्बर २ मा कुल ५३ हजार ९७८ मत खसेको थियो ।
पाटन प्रतिनिधिसभा सदस्यमा नयाँ अनुहारमा ललितपुर निर्वाचन क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा तोसिमा कार्की प्रवेश गर्नुभएको छ । उहाँले ३१ हजार एक सय ६ मतसहित विजय प्राप्त गर्नुभएको निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिनुभयो । प्रदेशसभासदस्य निर्वाचनमा आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का अमृत खड्काभन्दा १८ हजार एक सय ७३ भन्दा बढी मत प्राप्त गरी विजय हुनुभएको हो । खड्काले १२ हजार नौ सय ६३ मत प्राप्त गर्नुभएको छ । अर्का प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्) पम्फा भुसालले आठ हजार सात सय ६९ मत प्राप्त गर्नुभएको छ । घण्टी चिह्नमा चुनाव लड्नुभएका उहाँ पेसाले पाटन अस्पतालमा चिकित्सक (जनरल सर्जन) हुनुहुन्छ । पिता पदमबहादुर कार्की र माता दीपा कार्कीका छोरी डा तोसिमाको जन्म विसं २०४६ मा भएको हो । ललितपुर महानगरपालिका–१८ नख्खुखोला मार्ग निवासी डा तोसिमाले कक्षा दशसम्मको अध्ययन स्थानीय शहीद धर्मभक्त विद्यालयमा गर्नुभएको थियो । मोडर्न इन्डियन स्कुल, चोभारबाट कक्षा १२ तथा किष्ट मेडिकल कलेज, ललितपुरबाट एमविविएससम्मको अध्ययन पूरा गर्नुभएको हो । काठमाडौँ विश्वविद्यालयबाट जनरल सर्जरीमा मास्टर्स तोसिमा नेपाल मेडिकल काउन्सिलको निर्वाचित केन्द्रिय सदस्य हुनुहुन्छ । सानैदेखि नेतृत्वदायी भूमिका रुचाउने उहाँले भूकम्पमा सिन्धुपाल्चोकको बतासे, रामेछाप, नुवाकोटको साल्मे, ललितपुरको ठूलादुर्लुङ लगायतका स्थानमा स्वास्थ्य तथा राहत शिविरको नेतृत्व गर्नुभएकी तोसिमा सामाजिक न्यायका अभियान र भ्रष्टाचारविरुद्धका आन्दोलनमा समेत सक्रिय हुनुहुन्छ । निर्वाचनमा विजयी भएपछि उहाँले बोल्न नसक्नेको आवाज बन्ने, मौलिक हकअधिकार सुनिश्चितताको लागि लड्ने तथा शोषण, अन्याय, अत्याचार र हिंसाविरुद्ध सधैँ उभिने प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “चुनावका लागि सार्वजनिक गरेको घोषणापत्र अनुसार म स्वास्थ्य शिक्षा स्वरोजगारको सुनिश्चितताको आधार बन्ने छु ।”
काठमाडौं: काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले निर्वाचित भएका छन् । खनालले १४ हजार २०४ मत ल्याएर निर्वाचित भएका हुन् । यस्तै नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ९११ मत प्राप्त गर्दा नेपाली कांग्रेसका भीमसेनदास प्रधान ८ हजार ८०५ मतका साथ तेस्रो स्थानमा छन् ।
कास्की क्षेत्र नम्बर २ ‘क’ बाट नेकपा माआोवादी केन्द्रका उम्मेदवार विश्वप्रकाश लामिछानेले जनताको मत स्वीकारेको धारणा व्यक्त गरेका छन् । केन्द्रबाट गठबन्धनका साझा उम्मेदवार लामिछानेले नतीजापछि सुनगाभा न्यूजसँग धारणा राख्दै गठबन्धनलाई जनताले नरुचाएको हुनसक्ने टिप्पणी गरे । ‘शायद जनताले हाम्रो गठबन्धनलाई रुचाउनु भएन होला’ लामिछानेले भने ‘र, अर्काे कुरा मतदाताले पनि मलाई राम्रोसँग चिन्नु भएन होला ।’ निर्वाचन प्रचारकाक्रमा गठबन्धनका सबै कार्यकर्ताले आफुलाई उत्तिकै सघाएको उनले स्मरण गरे । लामिछाने भन्छन्, ‘लोकतन्त्रमा जनता सर्वाेपरी हुन्, जनताले नै नरुचाएपछि कसैलाई दोष दिएर म पानीमाथिको ओभानो हुन सक्दिन ।’ चुनावमा हारजीत सामान्य भएको भन्दै उनले लोकतन्त्रको सुन्दर पक्ष नै निर्वाचन भएको जनाए । साथै, विजयी प्रतिद्वन्द्वी नेकपा एमालेका भीम कार्कीलाई बधाई दिँदै लामिछानेले जनअपेक्षा पुरा गर्न शुभकामनासमेत दिए । प्रतिष्पर्धामा तेस्रो स्थान ल्याएका लामिछानेले ५ हजार ५४० मत प्राप्त गरेका छन् । विजयी कार्कीले १० हजार ५३१ मत पाएका थिए । दोस्रो स्थानमा ५ हजार ८९३ मतका साथ राप्रपाका विजयबहादुर भण्डारी रहेका छन् ।
प्रदेशसभा निर्वाचनतर्फ कास्की ३ को (१) बाट निर्वाचित भएपछि नेकपा एमालेका विजयी उम्मेदवार गणेशमान गुरुङले सम्पूर्ण मतदातालाई धन्यवाद दिएका छन् । विजय भएपछि आयोजित ¥यालीपूर्व सुनगाभा न्यूजसँग कुरा गर्दै गुरुङले पहिले नेकपा एमालेले स्वीकारेको र निर्वाचनमा जनताले त्यसलाई अनुमोदन गरेको बताए । जनता समाजवादी पार्टीबाट एमाले प्रवेश गरेका गुरुङले पार्टीले आफुप्रति विश्वास गरेको र त्यसलाई जीतमा बदलेको उल्लेख गरे । ‘पहिले एमालेले विश्वास गरेर टिकट दियो, अहिले जनताले विश्वास गरे’ उनले भने, ‘यो जीत केवल गणेशमान र एमालेकोमात्र हैन यस क्षेत्रमा रहनुभएका सबैको हो ।’ कुराकानीकाक्रममा गुरुङ्ले यस क्षेत्रको समृद्धि र सम्वद्र्धनमा कटिबद्ध भएर लाग्ने प्रण गरेको बताउँदै भोट दिने जनतालाई पछुतो हुन नदिने धारणा राखे । गुरुङ्ले नेकपा माओवादी केन्द्रबाट गठबन्धनका साझा उम्मेदवार दुर्गादत्त भण्डरीलाई पराजित गरेका हुन् । गुरुङले १४ हजार ४७३ मतकासाथ विजयी हुँदा भण्डारीले ९ हजार ६६२ मत प्राप्त गरेका छन् ।
गोरखा: गोरखाका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा गठबन्धन उम्मेद्वार विजयी भएका छन् । गोरखा १ (क) मा माओवादीका कृष्ण धिताल, १ (ख) मा कांग्रेसका नन्दप्रसाद न्यौपाने, २ (क) मा नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा तथा २ (ख) मा कांग्रेसका सुरेन्द्रराज पाण्डे विजयी भए । गोरखा १ (क) मा धितालले एमालेका सुरेन्द्र थापालाई हराएका हुन् । धितालले १४२७६ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी थापाले ८८०२ मत पाएका छन् । १ (ख) मा न्यौपानेले एमालेका मोहन भट्टराईलाई हराए । न्यौपानेले १६२६५ मत पाउँदा भट्टराईले ७५३३ मत पाए । गोरखा २ (क) मा माओवादीको चुनाव चिन्हबाट लडेका देवकोटाले एमालेका राजु रानालाई पराजित गरे । देवकोटाको १०२४७ मत आउँदा रानाले ४२०४ मत पाए । (ख) मा कांग्रेसका पाण्डे अत्यधिक मतले विजयी भएका छन् । उनले एमालेका बसन्त गुरुङलाई हराएका हुन् । पाण्डेको १५२२९ मत आउँदा गुरुङले ४५२९ मत मात्रै पाए ।

