काठमाडौं: झापा क्षेत्र नम्बर ५ को मतगणना सुरु भएको छ । प्रतिनिधिसभा प्रत्यक्षतर्फको मतगणना केहीबेरअघि सुरु भएको हो । झापा ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेल प्रतिस्पर्धामा छन् ।
काठमाडौं: नेपाली कांग्रेसले मुस्ताङबाट जितको खाता खोलेको छ । नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रेम प्रसाद तुलाचन रहे । मतको अन्तिम परिणाम आउन बाँकी छ ।
मुस्ताङ: मुस्ताङमा प्रतिनिधि सभा सदस्यमा काँग्रेसका उम्मेदवार योगेश गौचन थकाली जितको नजिक पुग्नुभएको छ । एक हजार ४३७ मत गणना गर्न बाँकी रहँदा काँग्रेसको ६३५ ले अग्रता कायम गरेको छ । मुस्ताङमा हाल सम्म पाँच हजार ८२० मत गणना गरी सक्दा नेपाली काँग्रेसको रुख चुनाव चिन्हमा ३ हजार १५६, नेकपा एमालेको सूर्य चुनाव चिन्हमा २ हजार ५२१, राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाव चिन्हमा ६६, राप्रपा नेपालको तीर चुनाव चिन्हमा ६ र बदर ७१ मत भएको निर्वाचन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार अहिलेसम्म घमी, छैरो, नेफुक गुम्बा, ठिनी, घिलिङ, साङ्ता, ढाकमर, झोङ, स्याङ, घाँसा, छोन्हुप चिमाङ, लेते, मराङ, लोमन्थाङ, चराङ, फलेक, मार्फा, सौरु, छोसेर, जोमसोम, टुकुचे, ढि, घ्याकर, किमलिङ, यारा, चुम्जुङ, कोबाङ, झारकोटको मत गणना भएको छ । यस पटक निर्वाचनमा प्रत्यक्षतर्फ सात हजार दुई सय ५७ मत खसेको थियो ।
काठमाडौं: भक्तपुर क्षेत्र नं. २ मा सदर र बदर मतको विषयमा विवाद हुँदा मतगणना रोकिएको छ । आज बिहान साढे २ बजेदेखि मतगणना सुरु भएको निर्वाचन अधिकृत लोकनाथ पराजुलीले जानकारी दिए । ४ मंसिरमा भक्तपुर–२ मा ९१ हजार ९११ मतदातामध्ये ६५ हजार ७७५ मत खसेको थियो । हिजो मतदान सकिएपछि गएराति १० बजे सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने निर्णय भएको थियो । भक्तपुर–२ मा नेपाली कांग्रेसका दुर्लभ थापा, एमालेका महेश बस्नेत, जनता समाजवादीका दिलबहादुर तामाङ, राप्रपाका मोहन केसी, नेपाल मजदुर किसान पार्टीका अनुराधा थापा मगर रहेका छन् । प्रारम्भिक मत गणनामा कांग्रेसका थापाले अग्रता लिएका छन् । थापाले २ हजार २३० मत पाउँदा एमाले उम्मेदवार महेश बस्नेतले १ हजार ६३२ र राप्रपाका मोहन केसीले १२३ मत पाएका छन् ।
प्यूठान: मतपेटिकामा टुटफुट देखिएपछि प्यूठानमा विवाद देखिएको छ । विवादले बस्न नसकेको सर्वदलीय बैठक भर्खर सुरु भएको छ । झिम्पस्थित नौबाहिनी बराह मावि मतदान केन्द्रको मतपेटिकाको सिल तोडिएको पाइएको छ । यस्तै गौमुखीस्थित ज्ञानुदय आधारभूत मावि केन्द्रमा समानुपातिक तर्फको मतपेटिका पनि फुटेको भन्दै विवाद भएको छ ।
तम्घास: प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत गुल्मीमा स्थगित भएको मतदान केन्द्रमा मङ्गलवार पुनः मतदान हुने भएको छ । जिल्लाको क्षेत्र नम्बर– १ को कालीगण्डकी गाउँपालिका वडा नम्बर– २ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको (क) र (ख) केन्द्रमा मङ्सिर ६ गते मङ्गलवार पुनः मतदान हुने भएको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिनुभयो । आइतबार मतदान चलिरहेको अवस्थामा प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपत्र दिने ठाउँमा प्रदेश सभाको प्रत्यक्षतर्फको ५५ वटा मतपत्र परेपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो । मतदान केन्द्रमा रहेका एक हजार ३६९ जना मतदातामध्ये ६६४ जनाले मतदान गरेका थिए । यो केन्द्र बाहेक जिल्लाका अन्य मतदान केन्द्रको मतदान सकेर जिल्ला सदरमुकाम तम्घासमा मतपेटिका ल्याइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रामबहादुर कुँवरले जानकारी दिनुभयो । यस्तै आइतबार गुल्मी जिल्लाको मालिका गाउँपालिका वडा नम्बर–५ को छापहिले माध्यमिक विद्यालयको (क) केन्द्रमा बिहान २ घण्टा रोकिएको मतदान स्थानीय दलका प्रतिनिधिसँग गरिएको सहमतिपश्चात् मतदान पुनः सुचारु गरिएको थियो । जिल्लामा २ लाख २३ हजार ६१५ जना मतदाता छन् । जिल्लाका २७९ वटा मतदान केन्द्रमा मतदान गरिएको थियो । जिल्लामा २ प्रतिनिधि सभा र ४ प्रदेश सभामा ६ जना निर्वाचित जनप्रतिनिधिका लागि ६० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
काठमाडौंः आज भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन समग्रमा शान्तिपूर्ण भए पनि केही जिल्लामा भएको विवाद र हिंसात्मक घटनाप्रति अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले चिन्ता व्यक्त गरेको छ । सो केन्द्रले निर्वाचनका प्रारम्भिक प्रतिवेदन आज प्रमुख निर्वाचन आयुुक्त दिनेशकुमार थपलियालाई बुझाउँदै आयोगले शून्य सहनशीलताको नीति अपनाएको भए पनि निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनामा कमी आएको नदेखिएको जनाएको छ । सो संस्थाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरूलाई मतदान गर्ने प्रक्रिया सहज गरेको पाइएको जनाएको छ । सीमान्तकृत नागरिक, ज्येष्ठ नागरिक, गर्भवती र सुत्केरी, अपाङ्गता भएका व्यक्तिलगायतका मतदातालाई विशेष व्यवस्था खानेपानी र शौचालयको व्यवस्था र स्वतन्त्र पर्यवेक्षकको अनुगमनमा पहुँचको विषयसमेत निर्वाचन र मानव अधिकार संरक्षणका लागि महत्वपूर्ण पक्षहरू रहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा ३८ स्थानमा बम फेला, आठ स्थानमा बम बिस्फोट भएको र ६९ स्थानमा हवाई फायर भएको उल्लेख छ । इन्सेकले देशका सबै जिल्लामा सात सय ५१ जना पर्यवेक्षक परिचालन गरेको थियो । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनमा देखिएका सुधार विगतमा पर्यवेक्षक संस्थाले गरेका सुझावकै आधारमा भएको जनाउँदै आगामी दिनमा गर्नुपर्ने कानूनी सुधार र मतदाता शिक्षाको नियमित सञ्चालनबारे आयोगले फड्को मार्ने गरी काम गर्ने सोच बनाएको बताउनुभयो । इन्सेकका अध्यक्ष डा इन्दिरा श्रेष्ठले सो प्रतिवेदन बुझाउनुभएको थियो ।
बाजुरा: बाजुराको त्रिवेणी नगरपालिका ७ मा गोली चल्दा ३ जना घाइते भएका छन् । मतदानका क्रममा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा ३ घाइते भएका बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले जानकारी दिए । उनका अनुसार एक जनाको अवस्था गम्भीर छ भने घाइतेको पहिचान हुन सकेको छैन । घाइतेहरुको नेपाली सेनाको हेलिकप्टरले उद्दार गरी अस्पताल लगिएको छ ।
पोखराः आम निर्वाचनको स्थलगत रिपोर्टिङकाक्रममा गण्डकी प्रदेशको राजधानी पोखरामा अपाङ्गमैत्री मतदान केन्द्रको अभाव देखियो । निर्वाचन आयोग, स्थानीय प्रशासन र अधिकारकर्मीले यतारित ध्यान नदिँदा अपाङ्गता भएका मतदातालाई मतदान गर्न असहज भएको पाइएको छ । पोखरा महानगरपालिका १७ पार्दी मावि मतदान केन्द्र अपाङ्गता मैत्री मतदान केन्द्र नभएको इन्सेक गण्डकीका संयोजक शिव खकुरेलले बताए । ‘प्रदेशको राजधानी र पोखरा जस्तो ठाउँमा अपाङ्तामैत्री मतदान केन्द्र नभएको लाजमर्दो हो’, उनले भने ‘दिनभर गण्डकी प्रदेशको विभिन्न जिल्लामा पुग्यौं तर अन्य जिल्लाको तलुनामा पोखराको पार्दी मतदान केन्द्र अपाङ्गता मैत्री पाएनौं ।’ पार्दी मावि मतदान केन्द्र (क) प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको क्रममा विभिन्न जिल्लामा पुगेका इन्सेक गण्डकी संयोजक खकुरेलले पार्दी मतदान केन्द्र (क) र (ख) बुथ सुरक्षाको हिसाबले संवेदनशील र अपाङ्तामैत्री नभएकाले अबको निर्वाचनमा यसलाई सुधार गर्न सुझाव पेश गर्ने बताए । पार्दी मावि मतदान केन्द्र (ख) पार्दी मतदान केन्द्रमा मतदान गर्न आएका ८६ वर्षीय इन्द्रकली कुवरलाई अपाङ्गतामैत्री मतदान केन्द्र नहुँदा मतदान केन्द्रसम्म पुग्न असहज भएको प्रत्यक्षदर्शी सविन रेग्मीले बताए । इन्सेक गण्डकीका संयोजक खकुरेलले मतदाता शिक्षा प्रभावकारी नहुँदा मतदातामा अन्यौलताको वातावरण सिर्जना भएको जानकारी दिए । ‘मतदाता शिक्षा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा पनि पाएनौं’, उनले भने, मतदाता शिक्षा प्रभावकारी नहुँदा प्रत्यक्ष र समानुपातिकको बाकसमा राख्नुपर्ने मत फरकफरक बाकसमा राखे जसका कारण केही समय मतदान नै स्थगित भयो ।’ उनले पार्दी मतदान केन्द्र ( क र ख ) बुथ खुल्ला ठाउँमा टेन्ट र पाल टाँगेर मतदान गरिएकाले मतदाताको धेरै भएकाले अन्य स्थानमा मतदान केन्द्र स्थापना गर्न सुझाव दिए । स्थानीय तहको निर्वाचनमा भन्दा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा युवाहरुको कम सहभागिता रहेको छ । युवाहरु रोजगारीका लागि विदेशीयका र अध्ययनको शिललिलामा विभिन्न शहरहरुमा रहेकाले उनीको सहभागिता कम भएको इन्सेक संयोजक खकुरेलको भनाई छ ।