पोखरा: प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन भईरहेको छ । निर्वाचन भइरहँदा पोखरा १४ स्थित नमुना बस्तीमा नेकपा विप्लव नेतृत्वको टोलीले चुनाव बहिष्कार गरेको छ । यार्लीमा निक्लिएका विप्लव टोलीले कालो झण्डामा ‘नो भोट’,‘नो एमसिसि’ लेखि निर्वाचन विरुद्व प्रदर्शन गरेको हो ।
काठमाडौं: प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा अनुमती नलिई आज चलाइएका एक हजार ३४९ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद भट्टका अनुसार, एक हजार ३४९ वटा मोटरसाइकल र ८७ वटा चार पाङ्ग्रे सवारीलाई नियन्त्रणमा लिइएको छ
काठमाडौं: निर्वाचन आयोगले दिउँसो १२ः४५ बजेसम्म ३२ प्रतिशत मत खसेको जनाएको छ । आइतबार दिउँसो पत्रकार सम्मेलन गरी आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ३२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको गरेको जानकारी दिए । यो पटकको निर्वाचनमा विहानको समयमा मतदान गर्नेहरुको संख्या कम देखिएको उनले बताए । ‘चिसोका कारणले पनि होला विहान कम मत खसेको छ, काठमाडौंमा विहानको समयमा लाइन देखिएको छैन, १०र११ बजेपछि मात्र भिड बढेको छ’ प्रवक्ता पौडेलले भने ।
काठमाडौं: निर्वाचन आयोगले सामान्य विवादकै आधारमा मतदान स्थगित नगर्न मतदान अधिकृतहरुलाई निर्देशन दिएको छ । कतिपय जिल्लामा राजनीतिक दल, उम्मेदवार वा निर्वाचन बहिस्कार गर्ने पक्षका कारण मतदान स्थगित भइरहेको छ । तर आयोगले स्थगित भएको मतदान कार्य तत्काल सुरु गर्न र साँझ ५ गतेसम्म स्थगित भएको सूचना नटाँस्न निर्देशन दिएको आयोगले बताएको छ । आयोगले फेसबुकमा लेखेको छ, ‘‘साँझ ५ बजेसम्म स्थगित भएको सूचना टाँस नगर्न निर्वाचन आयोगले सबै मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ । स्थगित गर्नैपर्ने भए निर्वाचन आयोगको पूर्वसहमति लिनुपर्नेछ ।’
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ तारेबराह आधारभूत विद्यालय लुम्रे मतदान केन्द्रमा नेकपा बहुमतका एक कार्यकर्ताले मतपेटिका फुटाएका छन् । माछापुच्छ्रे गाउँपालिका ९ बस्ने ३२ वर्षीय सूर्य परियारले आज बिहान पौने ११ बजेतिर मतदान गरिसकेपछि मतपेटिका उचालेर भुइँमा बजारेका थिए । उनले मतपेटिका फुटाएपछि केहीबेर मतदान रोकिएको थियो । बिहान करिब सवा ११ बजे पुनः मतदान सुरु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । मतपेटिका फुटाएका परियारलाई प्रहरी निरीक्षक समीक्षा घिमिरे नेतृत्वको टोलीले नियन्त्रणमा लिएको छ ।
तनहुँ: प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत तनहुँमा ११३ वर्षीया जेष्ठ नागरिकले मतदान गर्नुभएको छ। जिल्लाको भानु नगरपालिका ५ की गोपीमाया पोख्रेलले सोही वडाको सेपाबगैंचास्थित महादेवता प्राथमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । तनहुँका ३०५ वटै मतदान केन्द्रमा आइतबार बिहानदेखि मतदान सुरु भएको छ । तनहुँमा एक लाख १९ हजार ६५० जना पुरुष र एक लाख २८ हजार ८४५ जना महिला गरी कुल २ लाख ४८ हजार ४९५ मतदाता कायम भएका छन् । तनहुँमा प्रतिनिधि सभाका दुई र प्रदेश सभाका चार सिटका लागि निर्वाचनमा गठबन्धन र एमालेसहित ५७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । जिल्लाभर स्थायी मतदान केन्द्रको सङ्ख्या भने ३०५ छ । जिल्लामा मतदानस्थल १४२ वटा छन् ।
काठमाडौं: अभिनेत्री करिश्मा मानन्धरले महाराजगञ्जस्थित काठमाडौं महानगरपालिका ३ को वडा कार्यालयमा रहेको केन्द्रबाट मतदान गरेकी छन् । उनले पति विनोद मानन्धरसँगै गएर प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदान गरिन् । मतदानपछि करिश्माले कलाकारले सक्रिय राजनीति गर्न आवश्यक रहेको बताइन् । ‘कलाकार पनि राजनीतिमा आउने लहर आएको छ, यो चुनावमा त्यो संकेत देखिएको छ । रेखा थापालगायत अरु उम्मेदवारहरुले यसपालि जित्नुपर्छ,’ उनले भनिन् । नेकपा एमालेमा आबद्ध रहेकी करिश्माले अर्को चुनावमा उम्मेदवार बन्ने इच्छा समेत व्यक्त गरिन् ।
काठमाडौं: अभिनेता राजेश हमालले काठमाडौंको लैनचौरस्थित जननाथ स्मृति मावि केन्द्रबाट मतदान गरेका छन् । मतदानपछि उनले अब आफू सक्रिय राजनीतिमा लाग्ने आशय व्यक्त गरे । अबको पाँच वर्षमा आफू पनि उम्मेदवारको रुपमा प्रस्तुत हुने उनले बताए । ‘अबको पाँच वर्षमा मलाई पनि उम्मेदवारको रुपमा देख्नुहुनेछ,’ उनले भने । हमालले यो चुनावले राजनीतिमा ठूलो परिवर्तन आउने संकेत समेत गरेको बताए ।
म्याग्दी: प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत आज म्याग्दीमा एक एक सय सात वर्षीय वृद्धले मतदान गर्नुभएको छ । मालिका गाउँपालिका–२ रुमका जसमनी कामीले राष्ट्रिय माविको (क) मतदान केन्द्रबाट मतदान गर्नुभएको मतदान अधिकृत ईश्वरबहादुर भण्डारीले जानकारी दिनुभयो । म्याग्दीका एक सय २० वटै मतदान केन्द्रमा आइतबार बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । म्याग्दीमा ८६ हजार मतदाता छन् । यहाँ प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई वटा निर्वाचन क्षेत्र छन् ।

