चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरी गन्तव्यमा जाने सवारी साधनहरुलाई आज बिहान ६ बजेदेखि बाटो खुला गरिएको छ ।   जिल्ला प्रहरी कार्यालय चितवनले आज बिहान ६ बजेसम्म नारायणगढ–मुग्लिन...

तनहुँ:    प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत तनहुँमा ११३ वर्षीया जेष्ठ नागरिकले मतदान गर्नुभएको छ। जिल्लाको भानु नगरपालिका ५ की गोपीमाया पोख्रेलले सोही वडाको सेपाबगैंचास्थित महादेवता प्राथमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । तनहुँका ३०५ वटै मतदान केन्द्रमा आइतबार बिहानदेखि मतदान सुरु भएको छ । तनहुँमा एक लाख १९ हजार ६५० जना पुरुष र एक लाख २८ हजार ८४५ जना महिला गरी कुल २ लाख ४८ हजार ४९५ मतदाता कायम भएका छन् ।  तनहुँमा प्रतिनिधि सभाका दुई र प्रदेश सभाका चार सिटका लागि निर्वाचनमा गठबन्धन र एमालेसहित ५७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । जिल्लाभर स्थायी मतदान केन्द्रको सङ्ख्या भने ३०५ छ । जिल्लामा मतदानस्थल १४२ वटा छन् ।

काठमाडौं: अभिनेत्री करिश्मा मानन्धरले महाराजगञ्जस्थित काठमाडौं महानगरपालिका ३ को वडा कार्यालयमा रहेको केन्द्रबाट मतदान गरेकी छन् । उनले पति विनोद मानन्धरसँगै गएर प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदान गरिन् । मतदानपछि  करिश्माले कलाकारले सक्रिय राजनीति गर्न आवश्यक रहेको बताइन् । ‘कलाकार पनि राजनीतिमा आउने लहर आएको छ, यो चुनावमा त्यो संकेत देखिएको छ । रेखा थापालगायत अरु उम्मेदवारहरुले यसपालि जित्नुपर्छ,’ उनले भनिन् । नेकपा एमालेमा आबद्ध रहेकी करिश्माले अर्को चुनावमा उम्मेदवार बन्ने इच्छा समेत व्यक्त गरिन् ।

काठमाडौं: अभिनेता राजेश हमालले काठमाडौंको लैनचौरस्थित जननाथ स्मृति मावि केन्द्रबाट मतदान गरेका छन् । मतदानपछि उनले अब आफू सक्रिय राजनीतिमा लाग्ने आशय व्यक्त गरे । अबको पाँच वर्षमा आफू पनि उम्मेदवारको रुपमा प्रस्तुत हुने उनले बताए । ‘अबको पाँच वर्षमा मलाई पनि उम्मेदवारको रुपमा देख्नुहुनेछ,’ उनले भने । हमालले यो चुनावले राजनीतिमा ठूलो परिवर्तन आउने संकेत समेत गरेको बताए ।

म्याग्दी:  प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत आज म्याग्दीमा एक एक सय सात वर्षीय वृद्धले मतदान गर्नुभएको छ ।  मालिका गाउँपालिका–२ रुमका जसमनी कामीले राष्ट्रिय माविको (क) मतदान केन्द्रबाट मतदान गर्नुभएको मतदान अधिकृत ईश्वरबहादुर भण्डारीले जानकारी दिनुभयो ।   म्याग्दीका एक सय २० वटै मतदान केन्द्रमा आइतबार बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । म्याग्दीमा ८६ हजार मतदाता छन् । यहाँ प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई वटा निर्वाचन क्षेत्र छन् । 

तनहुँ:   जिल्ला कारागार तनहुँमा रहेका कैदी बन्दीले मतदान गरेका छन् । कारागारमा रहेको अस्थायी मतदान केन्द्रबाट उनीहरुले मतदान गरेका हुन । कारागारमा ५० पुरुष र ४ महिला गरि कुल ५४ मतदाता छन् । उनीहरुले प्रतिनिधि सभातर्फको समानुपातिकमा मात्र मतदान गर्न पाउछन् । जिल्ला कारागार तनहुँमै रहेका पल शाहले भने मतदान गर्न पाएनन् । बाल यौन दुरुपयोग कसूरमा थुनामा परेका उनले मतदाता नामावलीमा नाम नभएका कारण मतदान गर्न नपाएका हुन् ।

हुम्ला:  अत्यधिक चिसोका कारण  हुम्लाका चार मतदान केन्द्रमा अझै मतदान प्रक्रिया सुरु हुन सकेको छैन ।   नाम्खा गाउँपालिका ६ का तीन मतदान केन्द र वडा ५ को मुचुमा चिसोका कारण मतदान सुरू हुन नसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । अत्याधिक चिसोका कारण लिमीको हल्जी गाउँको सुनखानी आधारभूत विद्यालय मतदान  केन्द, जाङ गाउँको भृकुटी आधारभूत विद्यालय मतदान केन्द्र ,तिल गाउँको हिमशिखर आधारभूत मतदान केन्द्र र मुचुको खासरपानी आधारभूत मतदान केन्द्रमा मतदान सुरु हुने नसकेको हुम्लाका डीएसपी कृष्णराज ओझाले जानकारी दिए । ५९ वटा मतदान केन्द मध्ये ५५ मतदान केन्द्रमा मतदान सुरू भइसकेको जिल्ला निर्वाचन कार्यालय हुम्लाका श्यामबहादुर रानाले बताए । मतदान भइरहेका केन्द्रहरुमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको निमित्त निर्वाचन अधिकारी रानाको भनाइ छ ।

एजेन्सी: आजदेखि फिफा विश्वकप २०२२ सुरु हुँदैछ। उद्घाटन खेलमा आयोजक कतार र दक्षिण अमेरिकी राष्ट्र इक्वेइडर भिड्दै छन्।   खेल नेपाली समयअनुसार राति ९ बजेर ४५ मिनेटमा सुरु हुनेछ।   कतारमा २० नोभेम्बर देखि १८ डिसेम्बर २०२२ सम्म हुने प्रतियोगिता २२औं संस्करणको प्रतियोगिता हो। प्रतियोगितामा विश्वभरका ३२ टिम सहभागी छ।   यो विश्वकप अरब क्षेत्रमा आयोजना हुने पहिलो विश्वकप हुनेछ। सन् २००२ को दक्षिण कोरिया र जापानमा भएको प्रतियोगिता पछि पूर्ण रूपमा एसियामा आयोजना हुने दोस्रो विश्वकप हो।    यो विश्वकप ३२ टिम सहभागी हुने अन्तिम विश्वकप हुने सम्भावना छ। सन् २०२६ देखि ४८ देश सहभागी हुने निर्णय भइसकेको छ।   

दार्चुला:   दार्चुलाको व्यास गाउँपालिका१ का मतदाताले जिल्ला सदरमुकाम खलङ्गामा आएर मतदान गरेका छन् । छाङरु र तिङ्कर क्षेत्रमा बसोबास गर्ने मतदाताहरूले खलङ्गास्थित मोती महिला संघको केन्द्रबाट मतदान गरेका छन् । तिङ्करमा २३५ जना मतदाता छन् । उनीहरू कात्तिक २९र३० गते नै सदरमुकाम आइपुगेका थिए । उनीहरूले मतदान गरेको खलंगाको मतदान केन्द्र गाउँबाट २८ कोषको दूरीमा छन् । मतदानकै लागि उनीहरू पाँच दिन हिँडेर खलंगा आएका हुन् । तिङ्कर र छाङरुबाट सिधै सदरमुकाम आउने बाटो छैन ।उनीहरुलाई सदरमुकाम आउनसमेत भारतीय भूमिको बाटो प्रयोग गर्नु पर्ने बाध्यता छ । तिङ्कर क्षेत्रमा अहिले चिसो धेरै भएकाले र जाडोमा बस्न नसक्ने भएकाले उनी तल्लो भेगतिर झर्छन् । त्यसैले व्यास१ को छाङरु र तिङ्करका मतदाताका लागि सदरमुकाम खलंगामा छुट्टै केन्द्र बनाइएको छ ।

काठमाडौं-​ मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि मतदान प्रारम्भ भएको हो । मतदानका लागि मतदाता बिहान सबेरैदेखि मतदान केन्द्रमा पुगिसक्नुभएको छ ।     मतदान केन्द्रमा महिला मतदाताको सङ्ख्यासमेत उल्लेख्यरुपमा देखिएको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको छ ।   मतदाताले निर्वाचनका लागि तयार गरिएको चार वटा बेग्लाबेग्लै मतपत्रमा स्वस्तिक छाप लगाई मतदान गर्नुहुनेछ ।   निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार छ । निर्वाचनका लागि १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ । मतदान अपराह्न ५ बजेसम्म चल्नेछ ।