पोखरा:    नेपाली सिने क्षेत्रका लोकप्रिय कलाकार माओत्से गुरुङले आफ्नी ८४ वर्षीया आमाको शुभ जन्मदिन वृद्धाश्रम पुगेर मनाएका छन् ।   पोखरा १७ स्थित सीतापाइलामा रहेको पोखरा वृद्धाश्रममा पुगेर ...

पोखराः बलिउडमा छाएकी अभिनेतृ मनिषा कोइरालाले राष्ट्रिय प्रजातन्त्र पार्टी र राजेन्द्र लिङ्देनलाई भोट दिन अपील गर्दै भारतीय सिने नगरी मुम्बई उडेकी छिन् ।    आज बिहान विमानस्थल जानुपूर्व कोइरालाले लिङ्देनको पक्षमा भोट अपील गरेकी हुन् । यसअघि चुनावी प्रचारमा सक्रिय रहेकी मनिषाले राप्रपा अध्यक्ष लिङ्देन र वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रको चुनावी सभामा सम्बोधनसमेत गरेकी थिइन् ।    झापामा सम्बोधन गर्दै कोइरालाले आफु लिङ्देनको धारणाबाट प्रभावित भएको भन्दै राप्रपाले मुलुकलाई भ्रष्टाचारको क्यान्सरबाट बचाउने बताएकी थिइन् ।    एकाबिहान भोट माग्दै उनले पृथ्वीनारायण शाहले परिकल्पना गरेको साझा फुलबारीको अवधारणालाई सफल पार्न राप्रपाबाटमात्र सम्भव भएको उल्लेख गरिन् । 

पोखराः बुधबार साँझ पोखरा १६ मा कास्की–२ (ख) मा गठबन्धका उम्मेदवार विन्दुकुमार थापा स्थानीयको नियन्त्रणमा रहे । एक घण्टा बढी नियन्त्रणमा रहेका थापामाथि स्थानीयको आरोप थियो, ‘थापा भोट किन्न, पैसा बाँड्न हिँडेका हुन् ।’   स्थलगत रिपोर्टिङकाक्रममा हामीले पाएको जानकारी अनुसार घेराबन्दी गर्नेहरु स्थानीय भनिएपनि उनीहरु एमाले कार्यकर्ता हुन् । जसको नेतृत्व सोही वडाका पूर्वअध्यक्ष जीवन आचार्यले गरेका थिए ।    स्मरणीय छ, स्थानीय निर्वाचनमा उनै आचार्यलाई ‘पैसा बाँडेको’ आरोपमा यसैगरी स्थानीयले नियन्त्रणमा लिएका थिए । आचार्यलाई घट्टेकुनामा घेराउ गरी निर्वाचन आयोगका कर्मचारी बोलाइएको थियो ।    कर्मचारीले आचार्यको खानतलासी गर्दा केही थान हजारका नोट र चुनावमा प्रयोग हुने स्वस्तिक छाप भेटियो । त्यसबेला आचार्यले पकेट खर्चस्वरुप केही पैसा बोकेको र मतदातालाई कसरी मतदान गर्ने भन्ने सिकाउन स्वस्तिक छाप बोकेको बताएका थिए ।    आचार्यलाई घेराबन्दी गरी आयोगका कर्मचारी बोलाउनेहरु स्थानीयको नाममा गठबन्धनका कार्यकर्ता थिए ।    यता, थापालाई गन्धर्व बस्तीमा नियन्त्रणमा लिइएको थियो । आचार्यको समूहले पैसा बाँड्न हिँडेको वा बाँडेर आएको शंका गरे । त्यस समय साँझको साढे ७ बजिसकेको थियो । सुरुमा यस्तो आरोप लगाएपनि पछि आचार्यले बोली फेरेका छन् ।    उनले भने, ‘हारजीत आफ्नो ठाउँमा छ तर राजनीतिक संस्कार हुनुपर्छ, ७ बजेपछि झण्डा लिएर चुनाव प्रचारमा हिँड्न पाइँदैन ।’ थापाले आचार संहिता विपरित कार्य गरेको भन्दै आज उनी विरुद्ध निर्वाचन आयोग क्षेत्र नम्बर २ मा उजुरी दिइने आचार्यले जनाएका छन् ।    यसरी स्थानीय निर्वाचनमा गठबन्धनले एमालेलाई गरेजस्तै घटना बाटुलेचौरमा थापामाथि एमालेले गरेको छ । थापलाई नियन्त्रणमा लिएर रातको चिसो तताउन एमालेकोमात्रै हात छ वा सोही क्षेत्रमा रहेका थापाको प्रतिष्पर्धी कुमार खड्का पनि संलग्न छन् भन्ने विषयमा अहिले थापाको टिम घोत्लिरहेको छ ।    थापाको सचिवालयमा रहेका एक सहयोगी भन्छन्, ‘राती जे भयो त्यो एमालेलेमात्रै गरेको हो भन्ने लाग्दैन, केही ‘कालो’ पक्कै छ ।’ खड्का हालै थापालगायतको विरोधमा लागेको भन्दै प्रदेशमन्त्रीबाट बर्खास्त भएका छन् ।    करिब १ घण्टा बढी नियन्त्रणमा परेका थापालाई जिल्ला प्रहरी कार्यालका डिएसपी सुन्दर तिवारीको नेतृत्वमा मुक्त गरी घर पु¥याइएको छ । नियन्त्रणका दौरान आयोगका निर्वाचन अधिकृत दयाशंकर अधिकारीले थापाको साथबाट निर्वाचनलाई प्रभाव पार्ने कुनै वस्तु वा सामग्री फेला नपरेको जानकारी दिएका छन् ।    थापा नियन्त्रणबाट मुक्त भए लगत्तै उनको सचिवालयले ‘विपक्षीहरुले हार निश्चित भएपछि सुनियोजितरुपमा दूव्र्यवहार गरेको’ नोट जारी गरेको छ । चुनाव प्रचारपश्चात् फर्कदै गर्दा बाटुलेचौरमा थापाभन्दा अघि रहेका गाडीलाई निस्कन दिएर उनको गाडी रोकिएको थियो ।   

काठमाडौं:  अमेरिकामा यो वर्ष नेपाली विद्यार्थी ५.६ प्रतिशतले बढेको छ । सन् २०२१र२२ मा अमेरिकामा ११ हजार ७७९ नेपाली विद्यार्थी अध्ययनरत रहेको अमेरिकाको अन्तर्राष्ट्रिय शैक्षिक संस्थानले ओपन डोर्सको रिपोर्टले जनाएको छ । रिपोर्ट अनुसार यो अघिल्लो वर्षका तुलनामा ५.६ प्रतिशतको वृद्धि हो । कोभिड–१९ महामारीको प्रभाव मत्थर भएसँगै अमेरिका पढ्न जाने नेपाली विद्यार्थीको संख्यामा बृद्धि भएको देखाएको छ । यो वृद्धि प्रतिशतसँगै अमेरिकामा धेरै विद्यार्थी पठाउने मुलुकमध्ये नेपाल १२औं स्थानमा परेको छ। अमेरिकामा संसारभरिका २ सय देशका ९ लाख ४८ हजार विद्यार्थी अध्ययनरत मध्ये १.२४ प्रतिशत विद्यार्थी नेपाली छन्। अमेरिकाका विश्वविद्यालय र शैक्षिक संस्थामा भर्ना भएकामध्ये ९० प्रतिशतले भौतिक उपस्थितिमै कक्षा लिइरहेको प्रतिवेदनले जनाएको छ। सबैभन्दा धेरै अमेरिकामा चीनका २ लाख ९० हजार विद्यार्थी अध्ययनरत छन्। त्यसपछि भारतका १ लाख ९९ हजार, दक्षिण कोरियाका ४१ हजार, क्यानडाका २७ हजार तथा भियतनामका २१ हजार विद्यार्थी अध्ययनरत छन्। अन्तर्राष्ट्रिय विद्यार्थीबाट अमेरिकाले ३२ अर्ब अमेरिकी डलर बराबरको लाभ पाएको प्रतिवेदनमा उल्लेख छ ।

काठमाण्डौ:  भारतबाट ल्याउँदै गरेको अवैध मतपत्रसहित पर्सामा एक जना पक्राउ परेका छन् ।  भारतबाट नेपालको दशौता आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल जाँच गर्दा १५ हजार थान मतपत्र भेटिएको सशस्त्र प्रहरी बल नेपाल पर्साले जनाएको छ । मतपत्र ल्याउने भारतको बिहारका इजाजत अहमतलाई प्रहरीले पक्राउ गरेको छ ।  घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनले मोटसाइकलको पछाडि बोरामा बाँधेर मतपत्र ल्याएका थिए । 

काठमाडौं:  राष्ट्रपति कार्यालयले नागरिकता विधेयक राष्ट्रहित विपरीत रहेकाले आफूले ‘विशेषाधिकार’ प्रयोग गरेर यथास्थितिमा राखेको दावी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि परेको रिटमा सर्वोच्च अदालतले मागेको लिखित जवाफ पेश गर्दै राष्ट्रपतिको कार्यालयले भारतको उदाहरण दिँदै संवैधानिक राष्ट्रपतिले मुलुकको हितका लागि विशेषाधिकार (भिटो) प्रयोग गर्नु असंवैधानिक नहुने जिकिर गरेको छ ।   राष्ट्रपति कार्यालयले महान्यायाधिवक्ताको कार्यालय मार्फत पेश गरेको लिखित जवाफमा नागरिकता विधेयक राष्ट्र हित विपरीत रहेकाले त्यसलाई स्थगनमा राखेको जवाफ दिएको छ । राष्ट्रपतिको निर्देशनमा जवाफ तयार पारिने हुनाले यो लिखित जवाफलाई उनको आधिकारिक धारणा समेत मानिन्छ । राष्ट्रपति कार्यालयले अमेरिका लगायत कार्यकारी राष्ट्रपति भएको मुलुकको उदाहरण दिदै त्यस्ता मुलुकमा विधेयक प्रमाणीकरणका क्रममा राष्ट्रपतिले विशेषाधिकार प्रयोग गरी अस्वीकार गर्नसक्ने उल्लेख छ । साथै भारत लगायतका संवैधानिक राष्ट्रपति भएका मुलुकमा समेत विशेषाधिकारकै शैलीमा विधेयकलाई यथास्थितिमा राख्ने अभ्यास रहेको राष्ट्रपति कार्यालयले उदाहरण पेश गरेको छ । नेपालको संविधानमा भने यसवारेमा स्पष्ट कानूनी व्यवस्था नभएकाले मुलुकको हितका लागि राष्ट्रपतिले विधेयक स्थगनमा राखेको लिखित जवाफमा उल्लेख छ । पहिलोपटक विधेयक पेश भएपछि सन्देशसहित संघीय संसदमा फिर्ता पठाएको, तर उक्त विधेयक कुनै छलफल र परिमार्जनविना यथास्थितिमा फेरि प्रमाणीकरणका लागि आएको भन्दै राष्ट्रपति कार्यालयले त्यसलाई ‘सन्देशको अनदेखा गरिएको’ निष्कर्ष निकालेको छ । राष्ट्रपति कार्यालयले विधेयकलाई अस्वीकृत गरेको भनेको छैन, बरु यथास्थितिमा रहेको भनी जवाफ लेखेको छ । नागरिकताजस्तो संवेदनशील विषय अल्पमत वा बहुमतका आधारमा निर्णय गर्ने विषय नभएको भन्दै लिखित जवाफमा नयाँ संसदले यो विधेयकलाई अघि बढाउन सक्ने उल्लेख छ । मुलुकको राष्ट्रिय एकता र संविधानको रक्षा गर्नु राष्ट्रपतिको अधिकार भएको भन्दै लिखित जवाफमा सरकारले नागरिकता विधेयकलाई संसदमा पेश गर्ने क्रममा राष्ट्रपतिलाई किन जानकारी नदिएको  भनी प्रश्न उठाएको छ । लिखित जवाफमा भनिएको छ, ‘प्रमाणीकरणका लागि मात्रै पठाउनुले यो संस्थाको गरिमा कायम रहेन ।’

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले मंसिर ४ गते हुने निर्वाचन खारेजीको माग गरेको छ ।    निर्वाचन बहिष्कार गर्ने निर्णयपछि पोखराको पृथ्वीचोकमा विरोध सभा आयोजना गर्दै चुनावमा भाग लिने दलहरुलाई दलालको संज्ञा दिएको छ ।   ‘संसदीय दलालहरु होशियार’लगायतका नारा लगाउँदै पार्टीका प्रवक्ता खड्गबहादुुर विश्वकर्मा (प्रकाण्ड)ले चुनावले अपराधीको जत्था जन्माउने बताएका छन् ।     सभापूर्व माओवादीको जुलुसले विभिन्न नारासहित नगर परिक्रमा गरेको थियो ।    अहिले विरोध सभा जारी छ ।    

पोखराः काठमाण्डौं क्षेत्र नम्बर ५ मा श्री गुरुङको उम्मेदवारी चर्चामा छ । यतिबेला प्रचारप्रसारमा जुटिरहेका श्री जित्ने आत्मविश्वासकासाथ घरदैलोमा छन् ।    उनको क्षेत्रमा नेकपा एमालेबाट इश्वर पोखरेल र नेपाली कांग्रेसबाट प्रदीप पौडेलको उम्मेदवारी रहेको छ । ठूला मानिएका दलको जति तडकभडकपूर्ण प्रचार छ त्यसको तुलनामा श्रीको शालीन र अर्थपूर्ण ।    पत्रकारितामा मास्टर्स डिग्री सकेर हाल पीएचडीमा लागेको श्री ‘इन्फ्लुअन्स अफ ब्लग इन पोलिटिक्स’ विषयमा अनुसन्धानरत छन् । देशमा रहेका सम्पदालाई अन्तर्राष्ट्रियस्तरमा ब्राण्डिङ् गरी मुलुकलाई धनी बनाउन सकिने आधार प्रस्तुत गर्दै उनी मतदाताको विश्वास जितिरहेका छन् ।    ठूला दलले बाँडिरहेका ठूलै सपनालाई मतदाताले नपत्याएकाबेला श्री को एजेण्डा प्रभावकारी बनेको छ । पर्यटनलाई आर्थिक उपार्जनको बलियो माध्यम बनाउन सकिने प्रचार गरी युवा पुस्ताबाट देशले काँचुली फेर्नसक्ने उनको ‘लजिक’ छ ।    पर्यटन व्यवसायमा व्यस्त श्री सम्भावनाका बावजुद पनि मुलुकले फड्को मार्न नसकेपछि राजनीतिमा आएको बताउँछन् । ‘म पत्रकारिताको पनि विद्यार्थी हुँ, मैले देश, भूगोल र सम्भावना बुझेको छु’ उनले भने ‘देश बनाउँछु भनेर राजनीति गर्नेहरुले बुझ्न नसक्दा म राजनीतिमा आए ।’   यतिमात्र हैन युवाशक्ति विदेशिने लर्काे लागेपछि देश कमजोर बनेको उनको बुझाई छ । उनी भन्छन्, ‘विदेशिनेको तथ्यांक भयावह छ, २००८ देखि यता श्रम स्वीकृति लिएर ४० लाख नेपाली परदेशिए ।’   ‘देश रेमिट्यान्सले चलाउन खोज्ने दल र नेता देखेर म कसरी चुप लागेर बस्न सक्छु’ श्री भन्छन् ‘त्यसपछि मलाई लाग्यो, हामी जहाँ छौं त्यहीबाट हस्तक्षेप गर्नुपर्छ ।’   पूर्वको संखुवासभामा जन्मिएर राजधानीमा कर्मथलो बनाएका ३९ वर्षीय श्री अब राष्ट्रिय राजनीतिमा लागेर देशलाई आत्मनिर्भर बनाउन कस्सिएको बताउँछन् ।    उनको चुनावी भेला कुनै बौद्धिक सेमिनारजस्तै लाग्छ । भेलामा सहभागी युवाहरु विश्वविद्यालयको प्रोजेक्ट वर्कमा केही नयाँ योजना बनाउन खटिए झैं लाग्छन् । श्री का कुरा सुनेपछि टोलटोलका युवाहरु भेला भई उनलाई ​जिताउँन रणनीति बनाउँन थालेका छन् ।    दिनानुदिन श्री को आकर्षण बढिरहेकाबेला ठूला दललाई तनाव छ । त्यो तनाव श्री ले जित्लान् भन्दा पनि कसको भोट काट्छन् भन्ने हो । यद्यपि, श्री कसैको भोट काट्न नभई स्वयं जित्न मैदानमा आएको बताउँछन् ।    ‘नेपाल र दक्षिण एसियाभन्दा माथि उठेर हेर्नुहोस्, तपाइलाई आफ्नो शक्ति थाहा हुन्छ’ उनले भने ‘अमेरिका, बेलायत, नेदरल्याण्ड, क्यानडामा युवाले देश हाँकेका छन् ।   ‘ठूला पार्टी र ठूला उम्मेदवारसँग भिड्दै हुनुहुन्छ, जितिन्छ ?’ भन्ने प्रश्नमा श्री भन्छन्, ‘म जित्न उठेको हैन, काठमाण्डौं र देशलाई जिताउन उठेको उम्मेदवार हुँ ।’ यहाँ नेताहरु मलाई जिताउनुहोस् भन्दै भोट मागिरहेका छन् तर जनताले ‘म जित्छु’ भनेर मतदान गर्नुपर्ने उनको भनाई छ ।    अन्त्यमा उनले थपे, ‘हामीले देशलाई चिनेर काम गर्न सकेनौं । सगरमाथा र बुद्धको ब्राण्डिङ् गर्न सकेनौं ।’   यस क्षेत्रबाटमात्रै १४ स्वतन्त्र उम्मेदवार छन् ।   

काठमाडौं:  कलेज आइडिया हन्ट, २०२२ बाट चार विचार उद्यमका लागि छानिएका छन् । यो कार्यक्रम ‘सोचदेखि उद्यमसम्म’ नाराका साथ आठ वर्षदेखि सञ्चालन हुँदै आएको छ । कलेज आइडिया हन्टमा देशभरका चार सय कलेजबाट उद्यमको सोच प्राप्त भएको आयोजका संस्थाका कार्यकारी अध्यक्ष डा छिरिङ लामाले बताउनुभयो । प्राप्त भएकामध्ये २० विचारलाई १५ दिनको मार्गनिर्देश गरिएको थियो । छनोट भएका २० विचारलाई मार्गनिर्देशपछि १० उत्कृष्टलाई अन्तिम प्रक्रियाका लागि छनोट गरिएको थियो । अन्तिममा उत्कृष्ट चार विजेता छनोेट गरिएको उहाँले बताउनुभयो ।    छनोट गरिएका चार उत्कृष्ट उद्यम विचारमा बायो ग्रीन, वी फर नेचर, आहा बेङ्गलस् र मेहेनती डट कम छन् । कलेज आइडिया हन्टका चारै विजेतालाई रु एक लाख पुरस्कार प्रदान गरिएको छ । कलेज आइडिया हन्टका सबै विजेता आइडिया स्टुडियो सिजन–७ मा स्वतः सहभागी हुन पाउने आइडिया स्टुडियोले जनाएको छ । आइडिया स्टुडियो सिजन–७ मा सहभागी हुन चाहने इच्छुक व्यक्तिले यही कात्तिक २९ देखि आगामी पुस १७ गतेसम्ममा आवेदन दिइसक्नु पर्नेछ । आवेदकले आवेदनको प्रक्रिया, योग्यता तथा भिडियो निर्देशनका लागि https://ideastudio.org.np मा गएर हेर्न र आफ्नो आइडिया पठाउन सक्ने जनाइएको छ ।  आइडिया स्टुडियो नेपालले २०२२ नोभेम्बर १५ मा ‘आइडिया स्टुडियो सिजन–७’ का लागि आवेदन खुला गरेको हो । आइडिया स्टुडियो नेपाल सिजन–६ सम्म चार सय ५० भन्दा बढी नवीन विचारको आवेदन प्राप्त भएको थियो । त्यसमध्ये तीन सय ५० भन्दा बढी व्यवसाय सुरु भइसकेका छन् । आइडिया स्टुडियो नेपालबाट सुरु भएका व्यवसायमध्ये ६५ भन्दा बढी व्यवसाय सफलतापूर्वक सञ्चालनमा रहेको बताइएको छ । आइडिया स्टुडियो नेपालले हरेक सिजनमा नेपाली उत्पादनलाई प्रवद्र्धन गर्ने, सामाजिक रुपान्तरणमा योगदान गर्ने, प्रविधिसम्बद्ध तथा हरियाली र पर्यावरण प्रवद्र्धन गर्ने व्यावसायिक विचारलाई विशेष प्राथमिकता दिँदै ती विचारलाई उत्कृष्ट बनाउन सरसल्लाह, व्यावसायिक सञ्जाल, मार्गनिर्देश, रियालिटी टिभी सो साथसाथै वित्तीय पहुँचका लागि सहजीकरण गराउन मद्दत गर्दै आएको छ । हालसम्म आइडिया स्टुडियोले विभिन्न कार्यक्रमबाट मुलुकका सातवटै प्रदेशमा १६ देखि ६७ वर्ष उमेर समूहका व्यक्तिको सहभागिता जुटाउँदै आएको छ ।

काठमाडौं:  निर्वाचन आयोगले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङलाई नेकपा (माओवादी केन्द्र) को प्रचारप्रसारमा संलग्न रहेको विषयमा स्पष्टीकरण सोधेको छ ।  सदस्यसचिव घिसिङले रामेछाप जिल्लामा सो दलको प्रचारप्रसारमा संलग्न रहेको विषयमा उजुरी परेपछि आयोगले २४ घण्टाभित्र निर्वाचन आयोगमा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेस गर्न पत्र पठाएको हो ।   निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ को खण्ड (क) अनुसार नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहअन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न हुँदैन । घिसिङलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम जरिवाना र ऐनको दफा ४४ बमोजिम विभागीय कारबाही हुन सक्ने भएकाले उक्त कारबाही किन हुनु नपर्ने हो ? भनी स्पष्टीकरण सोधिएको छ ।