पोखरा:   कास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभा सदस्यको उम्मेदवार बिना गुरुङले मतदातासँग भेट्ने तथ नीतिगत तहबाट गर्न सकिने कामहरुको छलफल गर्ने अभियान चलाइरहेकी छन् । &nbs...

कास्की: नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य सन्तोष परियार विप्लव नेतृत्वको नेकपा माओवादीमा प्रवेश गरेका छन् ।    माओवादीको बुधबार पोखरामा आयोजित निर्वाचन बहिष्कार सभामा परियार विप्लव माओवादीमा प्रवेश गरेका हुन् । यसअघि परियार माओवादी परित्याग गरी एमालेमा आएका थिए ।    माओवादी अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’सँगै परियार पनि सार्वजनिक भएका थिए । त्यसको केही समयपछि एमालेमा प्रवेश गरेको एक एमाले नेताले जानकारी दिए ।    ‘उहाँ राजनीतिमा फड्को मार्न चाहिरहनु भएको थियो, प्रदेश सदस्यमा रहेर सक्रिय हुन सकिरहनु भएको थिएन’ उनले भने ‘सन्तोषजी उतै (विप्लव)बाट आउनु भएको हो, उतै जानुभयो ।’   उनका अनुसार महत्वकांक्षी स्वभावका परियार पछिल्लो समय सचिवालयमा निष्क्रिय रहेका थिए ।    माओवादी प्रवेश गरेपछि परियारले सभामा धारणा राख्दै एमालेले भूमिहीन, निम्न वर्ग र श्रमिकको पक्षमा केही काम नगरेपछि माओवादीमा प्रवेश गरेको बताए ।   परियारलाई माओवादीमा कस्तो पद, स्थान दिइन्छ भन्ने सन्दर्भमा हाल कुनै निर्णयमा नपुगेको माओवादी जिल्ला समितिले जनाएको छ ।    जिल्ला समितिका कास्की सचिव काजी गुरुङले भने, ‘सन्तोषजी पार्टीको विचार र सिद्धान्त स्वीकारेर आउनु भएको हो, के–कस्तो पद वा जिम्मेवारी दिने हो पार्टीले पछि निर्णय गर्छ ।’   परियार अन्नपूण गाउँपालिका, दाङसिङ निवासी हुन् । 

काठमाडौं:   यही मङ्सिर ४ गते एकैचरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।  मतदानका लागि मतपत्र र निर्वाचन सामग्रीसहित करिब दुई लाख ४६ हजार ९६० कर्मचारी एवं आवश्यकताअनुसारका सुरक्षाकर्मी मतदानस्थलमा पुगिसकेका छन् । आयोगले निर्वाचनको सञ्चालन र व्यवस्थापनसम्बन्धी सम्पूर्ण व्यवस्थापकीय कार्य सम्पन्न गरिसकेको र आवश्यक सुरक्षा व्यवस्था मिलाइ सकिएकाले मतदातालाई कसैको डर, धाकधम्की, प्रलोभनमा नपरी आफूलाई मन परेको राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन चिन्हमा मतदान गरी आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेको हो । आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदानको दिनभन्दा अगाडि र मतदान सम्पन्न भएपछि अन्तिम नतिजा नआउँदासम्म निहीत राजनीतिक स्वार्थले निर्वाचनको निष्ठालाई आघात पुर्याउने गरी देशभित्र र बाहिरबाट सामाजिक सञ्जालमार्फत फैलिनसक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिका कारण निर्वाचन व्यवस्थापन तथा सञ्चालन प्रभावित हुन सक्नेतर्फ आयोग सचेत रहेको बताउनुभयो । आयोगले कसैले कसैलाई धाक, धम्की, डर वा त्रास देखाइवा अन्य कुनै किसिमले अनुचित प्रभावमा पारी कुनै निर्वाचन क्षेत्र वा मतदान केन्द्रमा निर्वाचनको कुनै काम वा मतदानको कामको निष्पक्षता र स्वतन्त्रतामा असर पुर्याउने काम गरेमा निर्वाचनको काममा खटिएका कर्मचारी, सुुरक्षाकर्मी, अनुगमनकर्ता, पर्यवेक्षक वा जो कोहीले आफ्नो कर्तव्य सम्झी सूचना दिन, त्यस्तो कार्य रोक्न वा कानूनबमोजिम कारवाही गर्न विशेष निर्देशन दिएको छ ।  “सामाजिक सञ्जालमार्फत मिथ्या सूचना, दुष्प्रचार एवं द्वेषपूर्ण अभिव्यक्तिका माध्यमबाट निर्वाचनको निष्ठामाथि प्रश्न उठाउने अवस्था आउन नदिन आयोग संवेदनशील छ र यसतर्फ सबैको ध्यान जानु आवश्यक छ ।” प्रमुख आयुक्त थपलियाले भन्नुभयो, “यो अवधिमा सामाजिक सञ्जालबाट फैलिनसक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिलाई नियमन र नियन्त्रण गर्न आयोगले सामाजिक सञ्जालका कम्पनीसँग सहकार्य गरिरहेको र ती कम्पनीले पनि विशेष निगरानी गरिरहेका छन् । मिथ्या सूचना, दुष्प्रचार, द्वेषपूर्ण अभिव्यक्ति फैलन नदिनु सबैको साझा दायित्व भएकाले निर्वाचनको बाँकी अवधिमा सबै पक्षबाट यो दायित्वको पूर्ण पालना हुनेमा आयोग विश्वस्त छ ।” आयागले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित, पारदर्शी एवं विश्वसनीय बनाउन आयोगले आवश्यक सुरक्षा प्रबन्ध मिलाइसकेको छ । निर्वाचन बिथोल्ने वा बहिष्कार गर्ने, बुथ कब्जा गर्ने, मतदातालाई मतदानको अवसरबाट वञ्चित गर्ने, डर, धाक, धम्की दिनेलगायतका कार्य गरी निर्वाचनको स्वच्छतामा असर पुर्याउने कुनै पनि गतिविधि रोक्न आवश्यक सुरक्षा रणनीतिसहित सुरक्षाकर्मी परिचालन गरिएको छ ।  निर्वाचन सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा आवश्यक सुरक्षाकर्मीसहित तीन घेराको सुरक्षा व्यवस्थाका अतिरिक्त ३० मिनेटभित्र पुग्न सक्नेगरी पर्याप्त सुरक्षाकर्मीको रिजर्भ फोर्सको व्यवस्था गरिएको छ । निर्वाचन सुरक्षा जोखिमका आधारमा आवश्यकताअनुसार सुरक्षा गस्ती परिचालन तथा क्षेत्रगत संवेदनशीलतालाई मध्यनजर गरी पर्याप्तमात्रामा अधिकार सम्पन्न घुम्ती टोली परिचालन गर्ने व्यवस्था मिलाइएको छ । यस अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामग्री पोष्ट वा शेयर गर्न वा गराउनसमेत नपाइने व्यवस्था छ । त्यसैले आयोगले सामाजिक सञ्जाल तथा अनलाइनमार्फत गरिएका निर्वाचन प्रचारप्रसारसम्बन्धी विज्ञापन हटाउन निर्देशन दिइसकेको छ भने यस्ता विज्ञापनको अनुगमन गर्न विज्ञापन बोर्डलाई निर्देशन दिइएको छ ।  मतदान केन्द्र बन्दै आयोगले मतदान केन्द्रमा पुगेका मतदान अधिकृतबाट सर्वपक्षीय बैठक राख्ने, मतदान केन्द्रको क्षेत्र तोक्ने, प्रचारप्रसार गर्न निषेध गरेको सूचना प्रकाशन गर्ने, शान्ति भङ्ग गर्न निषेध गरेको सूचना प्रकाशन गर्ने, मादक पदार्थ निषेध गर्ने तथा हातहतियार लिएर हिँड्न वा प्रयोग गर्न नदिनेलगायत विषयमा आवश्यक तयारी गर्ने जनाएको छ ।  त्यसैगरी आगामी दुई दिनभित्र मतदानमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीबाट मतदान केन्द्रको निर्माण कार्य सम्पन्न हुनेछ । मतदान केन्द्र निर्माण गर्दा लैङ्गिक समावेशी, अपाङ्गता मैत्री तथा सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक, बिरामी र अशक्त मतदाताका लागि सहज हुनेगरी बनाउन आयोगले निर्देशन दिएको छ । बाइस हजार दुई सय २७ मतदान केन्द्र निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाताले १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्रबाट मताधिकार प्रयोग गर्दै हुनुहुन्छ । यसैगरी १४१ अस्थायी मतदान केन्द्र र आफूलाई पायक पर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट करिब चार लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्नु हुनेछ ।  निर्वाचनमा प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि दुई हजार चार सय १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । यसैगरी प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई हजार एक सय ९९ उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम गरिएको छ । प्रदेशसभातर्फ पहिलो हुने निर्वाचिन हुने निर्वाचन प्रणालीका लागि तीन हजार दुई सय २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुुहुन्छ भने प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ तीन हजार सात सय आठ जना उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम छ । यसरी आसन्न निर्वाचनमा प्रतिनिधि तथा प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि कूल पाँच हजार छ सय ३६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ भने प्रतिनिधि तथा प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ पाँच हजार नौ सय सात उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम गरिएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि तीन करोड ९९ लाख ६२ हजार ५०० मतपत्र र प्रतिनिधिसभा तथा प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीका लागि चार करोड छ लाख पाँच हजार गरी कूल आठ करोड पाँच लाख ६७ हजार ५०० मतपत्र छपाइ गरी ढुवानी गरिसकिएको छ । सात हजार दुई सय १९ पर्यवेक्षण निर्वाचनसम्बन्धी काम कारवाहीको पर्यवेक्षणद्वारा निर्वाचनको विश्वसनीयता अभिवृद्धि गर्न अनुमतिप्राप्त ४४ वटा राष्ट्रिय संस्थाबाट ७२०७ र दुई वटा अन्तर्राष्ट्रिय संस्थाबाट १२ जना गरी सात हजार २१९ जनाले पर्यवेक्षण गर्दैछन् । पर्यवेक्षकले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित प्रणालीको एक सय ६५ निर्वाचन क्षेत्र र प्रदेशसभाको पहिलो हुने निर्वाचित निर्वाचन प्रणालीको तीन सय ३० वटै निर्वाचन क्षेत्रमा निर्वाचन पर्यवेक्षण गर्नुहुनेछ । आयोगल हालसम्म करिब सात हजार ५०० जनालाई पर्यवेक्षण परिचयपत्र उपलब्ध गराइसकेको छ । आयोगको निमन्त्रणामा भारत, भूटान, बङ्गलादेश र माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त र श्रीलङ्का र दक्षिण कोरियाका निर्वाचन आयुक्तसहित निर्वाचन व्यवस्थापन गर्ने निकायको  टोली मतदानको दिनको अवलोकन गर्न आउनुहुने भएको छ । नेपालस्थित १८ वटा कूटनीतिक नियोगबाट समेत मतदानको दिनको अवलोकन गरिने भएको छ । मदिरा निषेध मतदान सुरू हुने दिनभन्दा ४८ घण्टाअघिदेखि अर्थात् आज राति १२ बजेदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री वितरण तथा सेवन गर्ने÷गराउने कार्यलाई पूर्णरूपले निषेध गर्ने व्यवस्था मिलाउन जिल्ला आचारसंहिता अनुगमन समिति र स्थानीय प्रशासनलाई सक्रिय बनाइएको छ ।  नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, अन्य सरकारी निकायका स्थानीय तहमा रहेका कार्यालय तथा निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई मदिरा बिक्री वितरण, ओसारपसार तथा सेवन गर्ने÷गराउने कार्यको सूक्ष्म अनुगमन गरी आवश्यक कारवाहीको व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ । मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणनाको काम पूरा नभएसम्म निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभासम्मेलन, कार्यशाला गोष्ठी तथा मस्तिष्क मन्थनलगायतका विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न पाइँदैन ।

काठमाडौँ:   जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि जिल्लामा मदिरा बिक्री वितरण, आसारपसार र सेवनमा रोक लगाएको छ ।   प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज राति १२ बजेदेखि नै मतदानकार्य सम्पन्न नभएसम्म र मतगणनास्थल वरपर गणना सम्पन्न नभएसम्मका लागि मदिरा ओसारपसार, बिक्री वितरण तथा सेवनमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले जानकारी दिनुभयो । ढुङ्गेलद्वारा जारी विज्ञप्तिमा उक्त सूचनाको परिपालना नगरेमा कानुन बमोजिम कारबाही हुने चेतावनी दिइएको छ । यस्तै प्रशासन कार्यालय काठमाडौँले बुधबार पनि एक विज्ञप्तिमार्फत यही मङ्सिर ४ गते मतदानका दिन बिहान ४ देखि बेलुका ७ बजेसम्म अत्यावश्यक र अनुमति प्राप्त सवारी साधनबाहेक आन्तरिक रुपमा सबै किसिमका सवारी साधन आवागमनमा रोक लगाइएको जानकारी गराएको छ ।   प्रशासनले आज र शुक्रबारका लागि शान्ति सुरक्षा, विपद, निर्वाचन कार्य र मुद्दासम्बन्धीका कार्यबाहेक अन्य सेवा प्रभावित हुने पनि सर्वसाधारणलाई जानकारी गराएको छ । 

  काठमाडौं:  मित्र राष्ट्र जापानका विदेशराज्यमन्त्री सुनशुके ताकेई नेपालमा यही मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आउँदै हुनुहुन्छ ।    उहाँ निर्वाचन पर्यवेक्षणका लागि यही मङ्सिर ४ गते नेपाल आउन लाग्नुभएको नेपालस्थित जापानी दूतावासले जनाएको छ । नेपालमा यसअघि विसं २०७४ को आमनिर्वाचनमा जापान सरकारले पूर्व उपमन्त्री होरी इवाओ एचईको नेतृत्वमा निर्वाचन पर्यवेक्षण टोली पठाएको थियो ।   मन्त्री ताकेई जापानबाट नेपाल निर्वाचन पर्यवेक्षकका रूपमा पठाइने उच्च अधिकारी हुनुहुन्छ । “नेपालको थप विकास र समृद्धिका लागि लोकतन्त्रिक शासन व्यवस्था अपरिहार्य भएकाले आसन्न निर्वाचन निष्पक्ष, पारदर्शी र शान्तिपूर्णरूपमा सम्पन्न हुनुपर्ने आवश्यकतामा जापानले जोड दिएको छ”, दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।   दुईदिने नेपाल बसाइका क्रममा उहाँले नेपालका उच्चपदस्थ व्यक्तित्वसँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम छ ।

पोखरा:  देशको अवस्था ठिकठाक चलेको भए, शायद अरुण गिरी अहिलेको चुनावमा पनि आम मतदाता मात्र हुन्थे । चुनावको रिपोर्टिङ गरिरहेका हुन्थे । मिडियासँग सम्बन्धित विभिन्न विधामा पोख्त अरुण गिरीको दैनिकी आफ्नै काममा बित्थ्यो । आफ्नो रोजीरोटी चलेकै थियो । केही आफूजस्तै युवाहरुलाई रोजगारी दिएका थिए । सबैकुरा राम्रै थियो । तर काम गरिरहँदा र दैनिकी चलाईरहँदा उनको मनमा सँधै खड्किने सवाल चाहीँ एउटै थियो,‘यो देश सिस्टममा किन चलेन ?’ आफूले जानेको र गर्दै आएको आफ्नै क्षेत्रको काम पाउनका लागि पनि ठुलै भनसुन गर्नुपर्ने । काम पाएपछि काम मिलाउनेलाई कमिशन दिनुपर्ने । तै पनि समयमा काम गरेबापतको पैसा नपाउने । जब पछिल्लो समय राज्यको विभिन्न निकायसँग जोडिएर अरुणले आफ्नो व्यवसायिक काम गर्न थाले, तब उनलाई काम गर्न झन् बढि हम्मे हम्मे पर्न थाल्यो । सबै कुरा सिस्टममा हुनुपर्छ अनि मात्रै देश भ्रष्टाचारमुक्त हुन्छ भन्ने मान्यता राख्ने अरुणको व्यक्तिगत स्वभावले गर्दा नै होला, यस्ता धेरै कामबाट उनले हात धुन परेको थुप्रै उदाहरण छन् । उनलाई सँधै लाग्ग्थ्यो, ‘देशमा यस्तो अवस्था आउनु र स्थानीयस्तरमा लगानी गरेर व्यवसाय गर्न भन्दा विदेश जानका लागि युवाहरु मरिहत्ते गर्नुको मूख्य कारण भनेकै नेपालको राजनीति हो ।’ साथीभाईसँगको चियागफको क्रममा नेपालका राजनीतिक दल र तिनका नेतालाई अरुणले धेरै चोटी सरापेका छन् । अरुणलाई लाग्छ, यो देशमा सही मानिसले सही ठाऊँ पाएकै छैनन् । सक्षम र सबल मानिसले सही ठाऊँ पाएको खण्डमा पक्कै पनि राम्रै गर्छ । व्यवस्थापकीय अनुभव र ज्ञान भएका अरुणलाई लाग्यो, यसका लागि म आफैँले एउटा प्रयत्न किन नगर्ने ? पछिल्लो समय उनी मिडियामा सक्रिय हुनुका साथै मिडियासँगै सम्बन्धित संघसंस्थाको नेतृत्वमा पनि सक्रिय रहे । राजनीतिमा लाग्न भन्दा अगाडि उनी चलचित्र पत्रकार संघ नेपाल, कास्की शाखाको अध्यक्ष थिए । त्यहाँ पनि उनी नेतृत्वमा खरो रुपमा उत्रिए। चलचित्रसंग सम्बन्धित थुप्रै कार्यक्रमहरु गरे । पत्रकारहरुको दक्षता अभिवृद्धिका लागि उनले चालेका र गरेका क्रियाकलापहरुको पत्रकारिता र चलचित्रवृत्तमा सँधै चर्चा हुने गर्छ । राजनीतिसँग कुनै आईनोसाईनो नभएका अरुणले आफ्नो विचारसँग मिल्ने पार्टी खोज्न थाले । हेर्दै जाँदा उनी राष्ट्रिय प्रजातन्त्र पार्टीको विचारसँग आफूलाई सबैभन्दा नजिक पाए । भर्खरै राजेन्द्र लिङ्देनको नेतृत्व पाएको राप्रपाले उनलाई सहजै स्विकार गर्यो । पार्टीलाई उनले आफ्नो कार्ययोजना सुनाए । राजनीतिमा आउनुको कारण बताए । उर्जावान र व्यवहारमा प्रस्ट गिरीलाई पार्टीले पत्यायो । उनलाई तत्कालै राप्रपा कास्कीको प्रवक्ताको रुपमा पार्टीले नियुक्त गरिहाल्यो । करिब ५ महिनाको बीचमा राप्रपा कास्कीका गतिविधिहरुलाई उनले यस क्षेत्रमा राम्रैसँग जनतामाझ पुर्याए । शायदै मिडियामा आउने राप्रपाका सूचनाहरुलाई यहाँका प्राय जसो मिडियामा ल्याएर उनले पार्टीको छविलाई मिडियामैत्री बनाए । पार्टीको जिल्ला, प्रदेश सँगै केन्द्रीय कमिटिले पनि अरुणको सक्रियतालाई राम्रैसँग अवलोकन गरिरहेको थियो शायद । त्यसैले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि उनलाई प्रदेशतर्फ कास्की क्षेत्र नम्बर २ २ का लागि उम्मेदवार बनायो । छोटो समयमै राप्रपा कास्कीमा गज्जबको लोकप्रियता बनाईसकेका अरुण गिरी अब सिस्टम बनाउने ठाऊँमा पुग्ने तरखरमा छन् । केही फड्कोमै ठुलो छलाङ मार्न सफल अरुण अहिले प्रदेशसभा सदस्य पदमा निर्वाचित हुनका लागि मतदाताहरुसमक्ष राप्रपाका पक्षमा मत माग्दै हिडिरहेका छन् । अनि घरदैलो अरुण गिरी यतिबेला आफ्नो निर्वाचन क्षेत्रको विभिन्न स्थानमा पुगेर घरदैलो गरिरहेका छन् । आफ्नो क्षेत्रका मतदाताहरुलाई भेटेर आफ्नो पक्षमा मत मागिरहँदा उनलाई निकै ठुलो हौसला मिलेको छ । जुन घरमा जान्छन्, राप्रपाले उठाएको राष्ट्रबादी एजेन्डा र मत माग्दै आईपुग्ने युवा उम्मेदवारलाई देखेर मतदाताहरु उत्साहित देखिन्छन् । आफ्नै भनिएका दल र तिनका निर्वाचित नेताहरुले अहिलेसम्म जनताको काम गर्न नसकेको भन्दै मतदाताहरुले यो पटक राप्रपालाई नै मत हाल्ने वचन दिन्छन् । राप्रपाको नेतृत्वमा रहेका राजेन्द्र लिङ्देनले विभिन्न भाषणहरुमा भन्दै आएको भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो भन्ने भनाई सबैलाई कण्ठै छ । राप्रपाको नयाँ नेतृत्वप्रति जनताले ठुलो आशा अनि भरोषा गरेका छन् । त्यसैमाथि अरुण गिरी जस्तो युवा अनि जोशले भरिएको उम्मेदवार देखेपछि मतदाताहरु पनि उत्साहित हुन्छन् । अरुण भन्छन्ज, ‘नताले हाम्रो पार्टी र म प्रति देखाएको यो सदाशयताले म आफैँलाई पनि अचम्मित बनाएको छ । साँच्चै नै जनताले म प्रति देखाएको आशा र भरोसाले अझै बढि जिम्मेबार महशुस गराएको छ ।’ घरदैलोमा पुगिरहँदा पार्टीको केन्द्रीय एजेन्डा त छदै छन्, अरुण गिरीले पनि आफ्नै व्यक्तिगत एजेन्डाहरु मतदातामाझ लगेका छन् । विभिन्न २४ बुंदे स्थानीय एजेन्डाहरुसहित जनतामाझ गएका गिरीले नीतिगत रुपमा आफू निर्वाचित भएपछि गर्ने कुराहरुको ब्लुप्रिन्ट नै आफूसँग भएको दाबी गर्छन् । सुशासनका लागि आवश्यक नीति, विकासका लागि आवश्यक नीति, युवा तथा स्वरोजगारीका लागि आवश्यक नीति बनाउने एजेन्डाहरु गिरीको प्राथमिकतामा परेका छन् । त्यो बाहेक धार्मिक, साँस्कृतिक र पर्यटकीय सम्भावनाको खोजीसँगै मौलिक विकासको सवाललाई उनले बलियो गरि उठाएका छन् । उनले घरदैलोमा आफ्ना योजना र एजेन्डाहरुको बारेमा मतदाताहरुमाझ प्रस्ट पार्दै हिँडिरहेका छन् । मतदाताले उनको यो शैलीलाई रुचाएका छन् र साथ दिने वाचा पनि गरेका छन् । मिसन १४,५३१ मतदाताको ठुलो समर्थन र साथ पाईरहेका अरुण गिरीले यतिबेला मिशन १४,५३१ सार्वजनिक गरेका छन् । यो भनेको उनले चुनावमा पाउने मतको संख्या हो । र, यो उनले विभिन्न खाले रिसर्चमार्फत तयार पारेका हुन् । कास्की क्षेत्र नम्बर २ २ मा राप्रपाका लागि अरुणले यो मत संख्या पुर्याउने लक्ष्य लिएका छन् । यो निर्वाचन क्षेत्रमा कुल ३६ हजार ८ सय ५६ मतदाता छन् । त्यसो त राप्रपाको सक्रिय कार्यकर्ताको संख्या यो क्षेत्रमा निकै कम छ । राप्रपाको आफ्नै आधार हेर्ने हो भने अरुण आफ्नो लक्ष्यका लागि महत्वकांक्षी लाग्छन् । तर उनी आफ्नो लक्ष्य नजिक पुगिसकेको तर्क गर्छन् । अरुण भन्छन्, ‘काँग्रेस र एमालेको कुरा गर्ने हो भने पनि यस क्षेत्रको सबै मतदाता सबै उनीहरुको कार्यकर्ता त पक्कै होईनन् । काँग्रेसको ७ हजार लिस्टेड कार्यकर्ता होलान् । एमालेको पनि त्यस्तै होलान् । तर कुनै पनि दलको कार्यकर्ता नभएका स्वतन्त्र नागरिकको संख्या नै चुनाव जित्नका लागि निर्णायक हुन्छ । त्यसैले मैले मेरो लक्ष्य प्राप्त गर्न समस्या छैन । उनले देशव्यापी राप्रपाको पक्षमा देखिएको जनलहर र अवस्था परिवर्तनका लागि मत परिवर्तन गर्न तयार जनभावना देखेपछि आफू लक्ष्य नजिक पुगिसकेको दाबी गर्छन् ।

काठमाडौं:  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले आफ्ना शरीरका विभिन्न अङ्ग मृत्युपश्चात् जुनसुकै बिरामीलाई प्रत्यारोपण गर्ने गरी दानको घोषणा गर्नुभएको छ ।  मन्त्री श्रेष्ठले मृत्युपश्चात् मिर्गौला, मुटु, फोक्सो, कलेजो, प्याङ्क्रियाज, सानो आन्द्रा दान दिने मन्जुरी नामामा हस्ताक्षर गर्नुभएको हो । मन्जुरी नामामा भनिएको छ, “मेरो मृत्युपश्चात् मेरो शरीरबाट मिर्गौला, मुटु, फोक्सो, कलेजो, प्याङ्क्रियाज, सानो आन्द्रा झिकी मिर्गौला, मुटु, फोक्सो, कलेजो, प्याङ्क्रियाज, सानो आन्द्रा आवश्यक भएको जुनसुकै बिरामी व्यक्तिको शरीरमा प्रत्यारोपण गर्न मेरो मन्जुरी भएकाले मानव शरीरको अङ्ग प्रत्यारोपण ‘नियमित तथा निषेध’ ऐन २०५५ को दफा १६ को उपदफा (१०)को खण्ड (ख) बमोजिम जानीबुझी स्वेच्छाले यो मञ्जुरी नामा लेखिदिएको छु ।” आफूले दान गरेका अङ्गबाट कुनै बिरामीले पुनर्जीवन पाउने भएकाले अङ्गदानको घोषणा गरेको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

पोखराः बलिउडमा छाएकी अभिनेतृ मनिषा कोइरालाले राष्ट्रिय प्रजातन्त्र पार्टी र राजेन्द्र लिङ्देनलाई भोट दिन अपील गर्दै भारतीय सिने नगरी मुम्बई उडेकी छिन् ।    आज बिहान विमानस्थल जानुपूर्व कोइरालाले लिङ्देनको पक्षमा भोट अपील गरेकी हुन् । यसअघि चुनावी प्रचारमा सक्रिय रहेकी मनिषाले राप्रपा अध्यक्ष लिङ्देन र वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रको चुनावी सभामा सम्बोधनसमेत गरेकी थिइन् ।    झापामा सम्बोधन गर्दै कोइरालाले आफु लिङ्देनको धारणाबाट प्रभावित भएको भन्दै राप्रपाले मुलुकलाई भ्रष्टाचारको क्यान्सरबाट बचाउने बताएकी थिइन् ।    एकाबिहान भोट माग्दै उनले पृथ्वीनारायण शाहले परिकल्पना गरेको साझा फुलबारीको अवधारणालाई सफल पार्न राप्रपाबाटमात्र सम्भव भएको उल्लेख गरिन् । 

पोखराः बुधबार साँझ पोखरा १६ मा कास्की–२ (ख) मा गठबन्धका उम्मेदवार विन्दुकुमार थापा स्थानीयको नियन्त्रणमा रहे । एक घण्टा बढी नियन्त्रणमा रहेका थापामाथि स्थानीयको आरोप थियो, ‘थापा भोट किन्न, पैसा बाँड्न हिँडेका हुन् ।’   स्थलगत रिपोर्टिङकाक्रममा हामीले पाएको जानकारी अनुसार घेराबन्दी गर्नेहरु स्थानीय भनिएपनि उनीहरु एमाले कार्यकर्ता हुन् । जसको नेतृत्व सोही वडाका पूर्वअध्यक्ष जीवन आचार्यले गरेका थिए ।    स्मरणीय छ, स्थानीय निर्वाचनमा उनै आचार्यलाई ‘पैसा बाँडेको’ आरोपमा यसैगरी स्थानीयले नियन्त्रणमा लिएका थिए । आचार्यलाई घट्टेकुनामा घेराउ गरी निर्वाचन आयोगका कर्मचारी बोलाइएको थियो ।    कर्मचारीले आचार्यको खानतलासी गर्दा केही थान हजारका नोट र चुनावमा प्रयोग हुने स्वस्तिक छाप भेटियो । त्यसबेला आचार्यले पकेट खर्चस्वरुप केही पैसा बोकेको र मतदातालाई कसरी मतदान गर्ने भन्ने सिकाउन स्वस्तिक छाप बोकेको बताएका थिए ।    आचार्यलाई घेराबन्दी गरी आयोगका कर्मचारी बोलाउनेहरु स्थानीयको नाममा गठबन्धनका कार्यकर्ता थिए ।    यता, थापालाई गन्धर्व बस्तीमा नियन्त्रणमा लिइएको थियो । आचार्यको समूहले पैसा बाँड्न हिँडेको वा बाँडेर आएको शंका गरे । त्यस समय साँझको साढे ७ बजिसकेको थियो । सुरुमा यस्तो आरोप लगाएपनि पछि आचार्यले बोली फेरेका छन् ।    उनले भने, ‘हारजीत आफ्नो ठाउँमा छ तर राजनीतिक संस्कार हुनुपर्छ, ७ बजेपछि झण्डा लिएर चुनाव प्रचारमा हिँड्न पाइँदैन ।’ थापाले आचार संहिता विपरित कार्य गरेको भन्दै आज उनी विरुद्ध निर्वाचन आयोग क्षेत्र नम्बर २ मा उजुरी दिइने आचार्यले जनाएका छन् ।    यसरी स्थानीय निर्वाचनमा गठबन्धनले एमालेलाई गरेजस्तै घटना बाटुलेचौरमा थापामाथि एमालेले गरेको छ । थापलाई नियन्त्रणमा लिएर रातको चिसो तताउन एमालेकोमात्रै हात छ वा सोही क्षेत्रमा रहेका थापाको प्रतिष्पर्धी कुमार खड्का पनि संलग्न छन् भन्ने विषयमा अहिले थापाको टिम घोत्लिरहेको छ ।    थापाको सचिवालयमा रहेका एक सहयोगी भन्छन्, ‘राती जे भयो त्यो एमालेलेमात्रै गरेको हो भन्ने लाग्दैन, केही ‘कालो’ पक्कै छ ।’ खड्का हालै थापालगायतको विरोधमा लागेको भन्दै प्रदेशमन्त्रीबाट बर्खास्त भएका छन् ।    करिब १ घण्टा बढी नियन्त्रणमा परेका थापालाई जिल्ला प्रहरी कार्यालका डिएसपी सुन्दर तिवारीको नेतृत्वमा मुक्त गरी घर पु¥याइएको छ । नियन्त्रणका दौरान आयोगका निर्वाचन अधिकृत दयाशंकर अधिकारीले थापाको साथबाट निर्वाचनलाई प्रभाव पार्ने कुनै वस्तु वा सामग्री फेला नपरेको जानकारी दिएका छन् ।    थापा नियन्त्रणबाट मुक्त भए लगत्तै उनको सचिवालयले ‘विपक्षीहरुले हार निश्चित भएपछि सुनियोजितरुपमा दूव्र्यवहार गरेको’ नोट जारी गरेको छ । चुनाव प्रचारपश्चात् फर्कदै गर्दा बाटुलेचौरमा थापाभन्दा अघि रहेका गाडीलाई निस्कन दिएर उनको गाडी रोकिएको थियो ।   

काठमाडौं:  अमेरिकामा यो वर्ष नेपाली विद्यार्थी ५.६ प्रतिशतले बढेको छ । सन् २०२१र२२ मा अमेरिकामा ११ हजार ७७९ नेपाली विद्यार्थी अध्ययनरत रहेको अमेरिकाको अन्तर्राष्ट्रिय शैक्षिक संस्थानले ओपन डोर्सको रिपोर्टले जनाएको छ । रिपोर्ट अनुसार यो अघिल्लो वर्षका तुलनामा ५.६ प्रतिशतको वृद्धि हो । कोभिड–१९ महामारीको प्रभाव मत्थर भएसँगै अमेरिका पढ्न जाने नेपाली विद्यार्थीको संख्यामा बृद्धि भएको देखाएको छ । यो वृद्धि प्रतिशतसँगै अमेरिकामा धेरै विद्यार्थी पठाउने मुलुकमध्ये नेपाल १२औं स्थानमा परेको छ। अमेरिकामा संसारभरिका २ सय देशका ९ लाख ४८ हजार विद्यार्थी अध्ययनरत मध्ये १.२४ प्रतिशत विद्यार्थी नेपाली छन्। अमेरिकाका विश्वविद्यालय र शैक्षिक संस्थामा भर्ना भएकामध्ये ९० प्रतिशतले भौतिक उपस्थितिमै कक्षा लिइरहेको प्रतिवेदनले जनाएको छ। सबैभन्दा धेरै अमेरिकामा चीनका २ लाख ९० हजार विद्यार्थी अध्ययनरत छन्। त्यसपछि भारतका १ लाख ९९ हजार, दक्षिण कोरियाका ४१ हजार, क्यानडाका २७ हजार तथा भियतनामका २१ हजार विद्यार्थी अध्ययनरत छन्। अन्तर्राष्ट्रिय विद्यार्थीबाट अमेरिकाले ३२ अर्ब अमेरिकी डलर बराबरको लाभ पाएको प्रतिवेदनमा उल्लेख छ ।