पोखरा:   कास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभा सदस्यको उम्मेदवार बिना गुरुङले मतदातासँग भेट्ने तथ नीतिगत तहबाट गर्न सकिने कामहरुको छलफल गर्ने अभियान चलाइरहेकी छन् । &nbs...

काठमाडौं: आगामी निर्वाचनका लागि मतदानस्थल रहेका शिक्षण संस्थाहरु मंसिर २ गतेदेखि ५ गतेसम्म बन्द हुने भएका छन् । सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु भने मंसिर ४ र ५ गते बन्द हुनेछन् । गृहमन्त्रालयले आज सूचना जारी गरी विदासम्बन्धी जानकारी दिएको हो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको सूचनामा सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु ४ र ५ गते तथा मतदानस्थल रहेका शिक्षण संस्थाहरु २ गतेदेखि ५ गतेसम्म बन्द हुने उल्लेख छ । आगामी मंसिर ४ गते देशभर एकैचरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ । निर्वाचनमा शिक्षक तथा कर्मचारीहरुलाई पनि खटाइएको छ ।  

काठमाडौँ:   ‘मेमोरी किङ’ का नामले विश्वमा परिचित अर्पण शर्मा ९कट्टेल०लाई भावी नेपाली पुस्तालाई स्मरणशक्तिको विधिबाट पढाएर शिक्षाको क्षेत्रबाट देशको मुहार फेर्न मन छ ।   विद्यमान शिक्षा प्रणालीले बालबालिकालाई पढ्न असाध्यै कठिनाइ भएको र परीक्षामा पास गर्नका लागि मात्र उनीहरुलाई पढाउने खालको शिक्षा प्रणालीमा परिर्वतन ल्याउनमा आफू लाग्ने योजना उहाँको छ ।   “नेपालको शिक्षा प्रणालीमा परिर्वतन गर्न मन छ, रटेर अध्ययन गर्ने विधि परिवर्तन मेरो नेतृत्वमा गर्न मन छ”, दुईपटक स्मरणशक्तिको माध्यमबाट विश्व रेकर्ड राख्न सफल शर्माले आफ्नो भावी योजना सुनाउँदै भन्नुभयो, “शिक्षाको क्षेत्रबाट देशको मुहार फेर्न मन छ, मेरो सपना छ, म पूरा गरेरै छाड्छु ।” उहाँलाई हिजो पढेर आज बिर्सने शिक्षा प्रणालीमा परिर्वतन गर्न मन छ ।   आफूले लिएका कक्षाहरूमा पनि विद्यार्थीलाई प्रभावकारी तरिकाले पढाउन नसकिएको अनुभव भएपछि उहाँले पाँच सय विद्यार्थीबाट अहिले एकपटकमा एक सय जनामात्र विद्यार्थीलाई कक्षा लिन थाल्नुभएको छ । “मलाई पनि थाहा भएन, अहिले मैले एक सय जना मात्र राखेर पढाइरहेको छु”, उहाँले आफ्नो आगामी योजना सुनाउँदै भन्नुभयो, “मङ्सिर महिनादेखि एउटा कक्षामा ८० जना मात्र राखेर कक्षा सञ्चालन गर्ने तयारी गरेको छु, त्यो सिकाइ प्रभावकारी हुने रै’छ ।” उहाँको कक्षा लिन मासिक एक हजारदेखि एक हजार पाँच सयसम्मले नाम दर्ता गर्ने गर्दछन् । तर इच्छुक धेरै हुँँदा कक्षा लिनका लागि समयको प्रतिक्षा गर्नुपर्ने हुन्छ । एकपटक कक्षा सञ्चालन गर्दा १० दिनको हुन्छ ।   “धेरैजसो अधिकृत र उपसचिवमा नाम निकाल्ने तयारीका मानिस आउँछन्”, उहाँले आफ्नो कक्षा लिन आउने विद्यार्थीका बारेमा सुनाउँदै भन्नुभयोे, “उपत्यकाबाट छोरी र उपत्यका बाहिरबाट छोरा धेरै आउने गरेका छन् ।” उहाँको कक्षामा ७ कक्षाभन्दा माथिका विद्यार्थीलाई मात्र आउन मिल्छ । कक्षा लिएर गएको विद्यार्थीले पठाएको सन्देश देखाउँदै उहाँले भन्नुभयो, “म सफल भएँ भनेर म्यासेज पठाउँछन्, मलाई असाध्यै खुसी लाग्छ, अझ राम्रो गर्न प्रोत्साहन मिल्छ ।” उहाँले आएका सन्देशलाई सुरक्षित राख्नुभएको छ । झापाको भद्रपुर–८ मा विसं २०४६ माघ २३ गते मोहनप्रसाद कट्टेल र आमा खीना शर्माको तेस्रो सन्तानका रूपमा जन्मिनुभएका शर्माले झापाकै एसएस निकेतनमा एसएलसी पास, एम्ब्रेल कलेजबाट व्यवस्थापनमा स्नातक गर्नुभएको छ । उहाँले पनि जीवनमा स्मरणशक्तिकै प्रयोग गरेर विश्व रेकर्ड राख्न सक्छु भन्ने कल्पना जीवनमा गर्नुभएको थिएन ।     सानैदेखि धार्मिक परिवारमा जन्मिएका शर्मालाई पूजापाठ गर्दा ध्यान गर्ने बानी परेको थियो । तर स्मरणशक्ति बढाउन ध्यानले मद्दत गर्छ भन्ने चाहिँ थाहा थिएन । “मैले दशजोड दुई पढ्दा एउटा दुई मिनेटको भिडियो हेरेको थिएँ, स्मरणशक्ति बढाउनेसम्बन्धी थियो”, उहाँले त्यो भिडियो स्मरण गर्दै सुनाउनुभयो, “दशवटा रटेर गर्ने र दशवटा टेक्निक लगाएर याद गर्ने थियो, मैले त्यो रटेर गर्ने तरिका र टेक्निक लगाएर गर्ने दुवै गरेँ, तर टेक्निक लगाएर याद गरेको धेरै लामो समयसम्म याद आइरहयो ।” उहाँले त्यसपछि १५, २०, ३० हुँदै याद गर्दै जानुभयो । उहाँले यस्तो सम्भव छ भनेर अध्ययन गर्दा १८औँ शताब्दीदेखि नै राजा–महाराजाका बौद्धिक सल्लाहकारले यस्तो टेक्निक प्रयोग गरेको अध्ययनमा पाउनुभयो । “धेरै वर्ष पहिला अहिलेजस्तो प्रविधिको जमाना थिएन”, उहाँले थप्नुभयो, “लेख्ने मात्र जमाना थियो, जसले प्रयोग गरे, त्यो व्यक्तिमा मात्र रह्यो ।” प्रत्येक व्यक्ति जन्मँदा स्मरणशक्ति ९९ प्रतिशतको उस्तै हुने तर एक प्रतिशतको मात्र जन्मजात नै स्मरणशक्ति लिएर जन्मने उहाँको अनुभव छ ।    स्मरणशक्तिबाट यसरी विश्व रेकर्ड   साथीहरूसँग व्यवस्थापन विषयमा अध्ययन गर्दैगर्दा साथीहरूबीच स्मरणशक्तिको प्रतिस्पर्धा गर्ने कुरा चल्यो । पहिलोपटक ३०–३० वटा शब्द याद गर्ने सहमति भयो । “मैले सबैभन्दा छिटो याद गरेँ तर, साथीहरूलाई धेरै समय लाग्यो”, उहाँले विगत स्मरण गर्दै भन्नुभयो, “यो तरिकाले विश्व रेकर्ड राख्न सकिन्छ भनेर साथीहरूले भने, हेर्दै जाँदा एक मिनेटमा २२ वटाको रेकर्ड थियो, मलाई अहिले नै सक्छु जस्तो भयो, अनि प्रक्रिया अगाडि बढाइयो ।”   प्रक्रिया अगाडि बढाउँदा केही समय लाग्यो । शर्माले पहिलोपटक गिनिजबुक अफ वल्र्ड रेकर्डको सेप्टेम्बर २६, २०१५ मा एक मिनटमा ४२ वस्तुको क्रम स्मरण गरी स्मरणशक्तिमा विश्व कीर्तिमान कामय गर्नुभएको थियो । दोस्रोपटक जुन ३, २०२२ मा एक मिनटमा ८३ वस्तुको क्रम स्मरण गरी स्मरणशक्तिमा विश्व कीर्तिमान कायम गर्नुभएको हो । झापाको भद्रपुर सानोगाउँमा जन्मिएका सामान्य परिवारमा हुर्किएका शर्मालाई जीवनमा यति राम्रा मोड आउँलान् भन्ने लागेको थिएन ।   विश्व कीर्तिमान र सम्मान   अद्भुत स्मरणशक्ति भएका शर्माले गिनिजबुक अफ वल्र्ड रेकर्डमा कीर्तिमान कायम गरेपछि नेपाली छोरोे विश्व चर्चित हुनुभयो । नेपालीले दिमागले यस्तो कीर्तिमान कायम गर्नु वास्तवमा नेपाल र नेपालीका लागि खुसीको विषय हो । यो समाचारपछि राष्ट्रिय–अन्तराष्ट्रियरूपमा शर्मा सम्मानित हुनुभयो ।   आफ्नो अद्भुत स्मरणशक्तिको प्रयोगकै कारण उहाँले धेरै पुरस्कार प्राप्त गर्नुभएको छ । नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालयबाट राष्ट्रिय युवा पुरस्कार–२०७२, नेपाल जेसिस वर्ष, २०७६ को उत्कृष्ट युवा पुरस्कार, स्वर्ण पदकद्वारा पुरस्कृत हुनुभएको थियो । त्यस्तै युवा प्रतिभा सम्मान, २०७८ प्राप्त गर्नुभएको थियो । हिमालय इन्टरनेशनल अवार्ड, २०७८, विश्व कीर्तिमानी युवा प्रतिभा तथा समाजसेवी सम्मान–२०७८, युवा प्रतिभा सम्मान–२०७८, नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड झापाद्वारा वर्ष उत्कृष्ट प्रतिभा–२०७४ प्राप्त गर्नुभएको छ । उहाँकोे जीवनी र सफलताको कथालाई अष्ट्रेलियाको एक प्रतिष्ठित विश्वविद्यालयले साउथेन क्रस युनिभर्सिटीले सन् २०२० जुनमा आफ्नो ब्लगमा पनि सम्मानजनक स्थान दिएर लेखेको थियो ।

  काठमाडौँ:  काठमाडौँ महानगरपालिकाले यहाँको सडकआश्रित मानव (असहाय, बेसहारा)को व्यवस्थापनमा प्रतिबद्ध रहेको जनाएको छ ।  महानगरका प्रमुख बालेन्द्र साहले सडकआश्रित मानवको व्यवस्थापनमा महानगरले विगतमा पनि काम गर्दै आएको र आगामी दिनमा पनि अझै प्रभावकारीरूपमा काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।  मानवसेवा आश्रमसँगको सहकार्यमा महानगरले उनीहरूको व्यवस्थापन कार्य गर्दै आएको र यो क्रमलाई थप प्रभावकारिताका साथ निरन्तरता दिने विषयमा महानगर र आश्रमबीच सोमबार छलफलसमेत भएको थियो ।   सडकआश्रित मानवको व्यवस्थापनका लागि भएको योजना तथा समीक्षा बैठकमा महानगर प्रमुख साहले भन्नुभयो, “बेसहारा मानिसको उद्धार र व्यवस्थापनमा काठमाडौँ महानगरपालिका प्रतिबद्ध छ, त्यसका लागि आश्रमसँग सहकार्य भइरहेको र अझै प्रभावकारीरूपमा कार्य अघि बढाउने छौँ ।” बैठकमा यसअघि भएका सहयोग तथा सम्झौता र त्यसको कार्यान्वयनका साथै सहयोगापेक्षी मानवहरूको व्यवस्थापनमा आश्रममाथि आइपरेका चुनौती र समाधानका विषयमा छलफल भएको थियो ।  पछिल्लो समयमा तीनै तहका सरकारबाट हातेमालोको प्रयास भइरहेको र केही सहयोगसमेत प्राप्त भए पनि त्यो अत्यन्त न्यून रहेको आश्रमका अध्यक्ष रामजी अधिकारीले बताउनुभयो ।  काठमाडौँ महानगरपालिकाको आर्थिक स्रोतमा नागार्जुन नगरपालिकाले जग्गा उपलब्ध गराई नागार्जुन नगरपालिकाभित्र सहिद धर्मभक्त माथेमा महानगर मानवसेवा आश्रम निर्माण गर्ने सम्बन्धमा विगतमा सम्झौता भएको थियो । बैठकले नागार्जुन –६ मा आश्रमको भवन निर्माणका लागि जग्गाको स्वामित्व नेपाल सरकारबाट नगरपालिकाको मातहतमा ल्याउन बाँकी रहेकाले नगरपालिकालाई प्रक्रिया अगाडि बढाउन अनुरोध गर्ने निर्णय गरेको छ ।   त्यस्तै सडकपेटी र सार्वजनिकस्थलबाट मानिसको उद्धार गरी आश्रम वा अस्पतालसम्म लैजान र आश्रममा रहेका व्यक्तिलाई अस्पतालसम्म ल्याउन र लैजानका लागि महानगरपालिकाले सञ्चालन गरिरहेको एम्बुलेन्स सेवा प्रयोग गर्ने र सडकआश्रित मानवहरूको अवस्थाबारे जानकारी लिन १०२ नम्बरको एम्बुलेन्स सेवाको हटलाइनलाई प्रयोग गरिने भएको छ ।   यस्तै आश्रमको खानेपानीमा देखिएको समस्या समाधानका लागि आवश्यक पहल गर्ने तथा अन्य समस्याका विषयमा समन्वययात्मक रूपमा बैठक बसेर समाधान गर्दै जाने विषयमा महानगर र आश्रमबीच समझदारीसमेत भएको जनाइएको छ ।  आश्रमले महानगरपालिकाका सडकबाट हालसम्म एक हजार सात सय बढीको उद्धार गरिसकेको छ । चार सय ५३ जनाको पारिवारिक पुनर्मिलन गराइसकेको छ । हाल आश्रममा दुई सय १३ जनाले सेवा पाइरहेका छन् । 

  पोखरा: मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको कास्कीमा सम्पूर्ण तयारी पूरा भएको छ ।  प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसार निर्वाचन सामग्री र कर्मचारी व्यवस्थापनको सम्पूर्ण तयारी पूरा छ । प्रदेश निर्वाचन कार्यालयका प्रमुख हुमबहादुर पराजुलीले चुनावका लागि आवश्यक सामग्री व्यवस्थापन र कर्मचारी व्यवस्थापनको काम पूरा भएको कात्तिक ३० गतेदेखि मतदान अधिकृतलाई सामग्री बुझाएपछि मङ्सिर १ गते साँझसम्ममा सम्पूर्ण मतदानस्थलमा सामग्री पुगिसक्ने बताउनुभयो ।  उहाँले निर्वाचनका लागि आवश्यक ७० थरिका सामग्रीलाई मतदान केन्द्रमा पठाउनका लागि प्याकिङ गरेर तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो  ।  त्यसैगरी कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा खटिने सम्पूर्ण मतदान अधिकृत, सहायक अधिकृतलाई मतदान पूर्व र मतदानपश्चात् गर्नुपर्ने सम्पूर्ण प्रक्रियाका बारेमा अभिमुखीकरणसहितको तालिम सम्पन्न भएको छ । कास्कीमा कूल दुई लाख ९१ हजार पाँचसय ६८ मतदाता रहेका छन् । गत स्थानीय निर्वाचनमा भन्दा अहिले १० हजार मतदाता बढेका छन् । तीन निर्वाचन क्षेत्र रहेको यस जिल्लामा एक सय ५० मतदानस्थल र तीन सय ४४ मतदान केन्द्र रहेको निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो ।  उहाँले कास्कीमा करिब १० हजारको हाराहारीमा कर्मचारी र सुरक्षाकर्मी स्वयंसेवक परिचालन हुनेछ । एक मतदान केन्द्रमा २० देखि २५ जना जनशक्ति खटिने छन् । विगतको अवस्थालाई हेरेर मत बदर नहोस् भनी मतदाता शिक्षालाई विशेष जोड दिइएको न्यौपानेले बताउनुभयो ।   त्यसैगरी आचारसंहिता उल्लङ्घन, विभिन्न कर्मचारी, जनप्रतिनिधिका विरुद्ध परेका उजुरीका सन्दर्भमा पनि निर्वाचन कार्यालयले प्रक्रियागत रुपबाट कारबाही अगाडि बढाएको उहाँको भनाइ छ ।  यसैगरी चुनावलाई स्वच्छ निष्पक्ष र भयरहित तरिकाबाट सम्पन्न गर्न आवश्यक सम्पूर्ण गृहकार्य पूरा भएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मतदान केन्द्र र भौगोलिक र अन्य अवस्थाको विश्लेषण गरेर अतिसंवेदनशील, संवेदनशील र सामान्य गरेर वर्गीकरण गरेका छौँ । यही आधारमा सुरक्षाकर्मीको परिचालन हुनेछ ।”  उहाँले निर्वाचनलाई भयरहित र स्वतन्त्ररुपमा आफ्नो मताधिकारको प्रयोग गर्न आमनागरिकलाई आग्रहसमेत गर्नुभयो । उहाँका अनुसार नेपाल प्रहरी, नेपाली सेना, म्यादी प्रहरी गरेर तीन हजार सुरक्षाकर्मी मतदानस्थलमा खटिनेछन् । उहाँले मतदानपछि मतगणना र मतपरिणामसम्मको अवस्थालाई दृष्टिगत गरी सुरक्षाको प्रबन्ध मिलाइएको जानकारी दिनुभयो । 

  पोखरा:  गाउँबाट देखिने खुलेको हिमाल र त्यत्तिकै सुन्दर फेवाताल देखिन्थ्यो । तर,हालको पोखरा २२ डाँडाथोक,लुकुस्वाँराका रामजीप्रसाद बराललाई त्यो सुन्दरतामा भुल्ने फुर्सद कम मिल्थ्यो । बिहान उठ्यो, घाँस पराल गर्यो । दिउसो टालेको जाँघे लगाएर महेश्वरी प्राविमा पुग्यो। जीवन अभावमै बित्यो ।शुक्रराज माविबाट एसएलसी दिँदा सम्म पनि उनको खुट्टामा चप्पल हुँदैनथे, जाँघेबाट पाइन्टमा सरेको त एसएलसीपछि नै हो । ‘कतिसम्मभने स्कूलको फिस तिर्न नसकेर मैले एकवर्ष जाँच नै दिन पाइन’,सम्झनाको अतिरेकमा हराएका रामजी फुस्फुसाए,‘माथ्लो गामबाट अँध्यारोमा कोदो बेसाएर ल्याएको,लुकाएरै ढिँडो र आँटो खाएको हिजो जस्तै लाग्छ ।’ अभावकै कारण २०२३ सालमा जन्मेका रामजीले २०४३ सालमा मात्रै एसएलसी भ्याए । अभावले विद्रोह जन्माउँछ । रामजीलाई अभाव र असमानताले नघोच्ने कुरै भएन । उनी युवा हुँदा देशमा पञ्चायत थियो । २०३३ सालको विद्यार्थी आन्दोलन र २०३६ सालको जनमत संग्रहको खुलापन उनको गाउँसम्म पनि आइपुगेको थियो । बहुदलको पक्षमा उभिएका नेता र विद्यार्थीहरुको अभियानले उनको मन छोयो । पञ्चायत नै समस्याको जड हो भन्ने बुझाइ गाढा बन्यो । १० कक्षा पढ्ने बोलाउनको स्कूलमा एक हुलयुवाहरु आइपुगे । ‘संसारमा महिला र पुरुष दुई जातमात्र हुन्छन् र गरीबको राज्य स्थापना गर्नुपर्छ’ भन्ने भनाइमा सहमति जनाउँदै उनी तत्कालीन मशालको विद्यार्थी संगठनमा आवद्ध भए । मशाल अर्थात् विद्रोह उनको विद्रोही चेत झन जागरुक भयो । हाल ‘जीवन’उपनामले चिनिने माओवादीका केन्द्रीय सदस्यको जीवनले अर्कै मोड लियो । २०४६ सालको आन्दोलनमा होमिए ।  खुला राजनीतिमा आएसँगै  २०४७ सालमा हँसिया हथौडा अंकित झण्डा सहितको सदस्यता पाए । २०४८ सालमा मशालको खुला राजनीतिक संगठन संयुक्त जनमोर्चाले उनलाई गाउँ इकाइको अध्यक्षको जिम्मेवारी दियो । २०४९ मा उनी जिल्ला सदस्यमा बढुवा भए ।  फलामे अनुशासन र अरु कम्यनिष्ट भन्दा फरक देखिने जनमोर्चामा रहँदा उनले अनुशासन र त्यागको पाठ सिके । जनताको मुक्ति बाहेकका सबै विषयहरुलाई मिथ्या ठहर गरे ।  ‘नीति र नेतृत्व तथा जनतालाई आदर गर्ने संस्कार मैले त्यही बेला सिकेँ’,रामजी भन्छन्,‘पुरानो संरचना नभत्काइ नयाँ बन्दैन भन्ने विचारप्रतिको प्रतिवद्धता पनि वृद्धि भयो ।’ २०५१ मा पार्टीको राष्ट्रिय भेलाले जनयुद्ध सुरु गर्ने र जनमुक्ति सेना निर्माण गर्ने निर्णय ग¥यो । उनी जिल्ला कमिटीमै थिए । कमरेड तारा अधिकारीले उनको  हातमा एउटा चिठी थमाइन् । तीनजनाको बीचमा चिठी खोल्नू भन्ने निर्देशन थियो । बरालले आफूसँगै अन्य २ जनाको बीचमा खाम खोले रे । खाममा  जनयुद्ध सुरु भएका पोष्टर र अनुरोध थिए । ‘जनयुद्ध शुरु भएको र तयारी हुन अनुरोध गरिएको चिठी पढेपछि ममा खुसीको कुनै सीमा भएन, पार्टीप्रतिको विश्वास बढेर आयो,दिमागमा मुक्तिको सपना नाच्न थाल्यो’,उनले अतित सम्झिए । मुक्ति मार्ग सजिलो थिएन । माक्र्स–लेनिन,गान्धी, नेपालकै बीपी कोइराला र पुष्पलालको जीवनी पढेर उनले बुझेको त्यही थियो । तर, क्रान्तिमा समर्पण चाहिन्छ भन्ने बुझेका रामजीले आफूलाई योद्धामा परिणत गर्न ढिलाइ गरेनन् । २०५३ सालमा तत्कालीन माओवादीको पूर्णकालीन कार्यकर्ता बने । खुला जीवन भूमिगतमा परिणत भयो । त्यस पछिको कालखण्ड साँच्चिकै कठीन थियो । जतिबेला पनि मारिने डर, भूमिगत संगठन निर्माण, युद्धकालीन आक्रमणका योजनाहरु बनाउने जिम्मेवारीलाई कुशलता पूर्वक निर्वाह गरे । कास्कीका आफूभन्दा उच्च तहका र समकालीन नेताहरुले सहादत प्राप्त गर्दा पनि उनी सम्हालिए । निरन्तर मुक्तिको मार्गमा लागि रहे । २०५३ मा पूणर्कालिन बन्ने बित्तिकै उनको काँधमा तत्कालीन नेकपा (माओवादी) को इलाका सेक्रेटरी र पार्टीको जिल्ला सदस्यको जिम्मेवारी आइलाग्यो । त्यही उपक्रममा थुप्रै फौजी र राजनीतिक योजना बनाएको स्मरण गर्दै उनले भने,‘पूर्णकालीन बनेपछि बाँचेर यहाँसम्म आइपुगिएला भन्ने त कल्पनै थिएन तर बाँचियो अनि जनताले पाएको एउटा उपलब्धीको साक्षी बन्ने अवसर मिल्यो ।’ २०५७ मा पार्टीले उनलाई पर्वत जिल्ला सेक्रेटरीको जिम्मेवारी दियो ।  २०५९ सालतिर पार्टी कमजोर देखिँदा पार्टीले उनको काँधमा कास्की सेक्रेटरी र इन्चार्जको जिम्मेवारी थमायो । उनी त्यो भूमिकामा अब्बल देखिए । पार्टी पोलिटब्यूरो सदस्यमा बढोत्तरी भए । २०६२÷०६३ को आन्दोलनले देशमा परिवर्तन सम्भव गरायो । माओवादी शान्तिपूर्ण राजनीतिमा आयो । माओवादीले बोकेको संघीय लोकतान्त्रिक गणतन्त्रको एजेण्डा स्थापित भयो । उनी २०६२÷०६३ को आन्दोलनलाई जनताको आन्दोलन भन्न रुचाउँछन् । नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजा प्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्ड र बाबुराम भट्टराई, तत्कालीन एमाले नेताहरु माधव नेपाल, झलनाथ खनाल, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सम्मको सुझबुझपूर्ण निर्णयबाटै यो उपलब्धी हात लागेको उनको ठहर छ । खुला राजनीतिमा आएसँगै पार्टीजस्तै उनको पनि भूमिका फेरिएको छ । उनी पार्टीको केन्द्रीय सदस्य छन् । संविधान सभा सदस्य भएर संविधान लेख्ने रहर पूरा नभएपनि उनी २०७४ सालको चुनावमा कास्की क्षेत्र नम्बर २ क बाट प्रदेशसभा सदस्य चुनिए । हाल गण्डकीका अर्थमन्त्री रहेका रामजीले संघीयता संस्थागत गर्न तथा समुन्नत कास्की बनाउन सक्दो योगदान गरेकै छन् । जनताको घरदैलोमा पुगिरहने नेताको रुपमा आफूलाई उभ्याएका छन् । उनै रामजीप्रसाद यो पटक प्रजातान्त्रिक वाम गठबन्धनको तर्फबाट कास्की क्षेत्र नम्बर ३ को प्रतिनिधि सभातर्फका उम्मेदवार बनेका छन् । अब संघीय संसदमा पुगेर कस्केली जनताको आवाज मुखरित गर्ने उनको सपना छ । ‘एक चरणको क्रान्ति सम्पन्न भएको छ,संविधानमै लेखिएको समाजवादको यात्रा अझै बाँकी छ,अहिले पनि हामी युद्धमै छौँ र यो युद्ध अलि फरक प्रकृतिको छ, अहिले हिजोको उपलब्धीको रक्षा र प्रतिगमनलाई  परास्त गर्नु छ ’,उनी अक्सर भन्ने गर्छन् । रामजी प्रसादले हिजो प्रजातन्त्रको लागि ज्यान गुमाएका कास्कीका शहीद हरिप्रसाद गुरुङको सपना पच्छ्याएका छन् । माओवादी जनयुद्धका शहीदहरु राज विक्रम भुर्तेल, सीता भुर्तेल,विजय ढकाल, बेपत्ता पाएिका पूर्ण तिमिल्सिना लगायत घाइते र शहीद परिवारको व्यथालाई नजिकबाट बुझेका छन् । ‘मेरो आफ्नो व्यक्तिगत आकांक्षा केही छैन, म अहिले पनि सामान्य जीवन बाँचेको जनताको सेवक हुँ, भोलि पनि म त्यस्तै रहने हो’,उनी भन्छन्,‘एक बारको जीवनमा फलानो मान्छे पनि थियो है भन्ने काम गर्ने धोको छ र यो धोको पूरा गराउन कास्की क्षेत्र नम्बर ३ का जनताले साथ दिनुहुन्छ भन्ने मेरो पूर्ण विश्वास छ ।’ यसो भनिरहँदा अभावले थिल्थिल्याएको  र रोगले आक्रमण गरिसकेको शरीर प्रति भने बेपर्वाह देखिए । ‘अभाव र खटाइकै बीच आन्द्रामा समस्या देखियो,इन्टर्नल हर्नियाले पनि गाँज्यो,स्पाइनल कर्ड भन्छन् क्यारे, ढाडको शल्यक्रिया पनि ब्यहोरेँ, यो मेरो दोस्रो जुनी नै हो । यो जुनी जनताकै सेवामा लगाउने हो ।’ त्यही उपक्रममा उनले कास्की क्षेत्र नम्बर ३  को समृद्धिको लागि दर्जनौं योजना सुनाउन भ्याए । उनका योजनाहरु पर्यटन र कृषिको जगमा टेकेर बनाएका योजनाहरुमा स्वरोजगार सिर्जना, कास्की क्षेत्र नम्बर ३ मा उत्कृष्ट कलेज र अस्पतालको स्थापना, जडिबुटी प्रशोधन केन्द्र,ग्रामीण सडकको स्तरोन्नति,पर्यटकीय पदमार्गहरुको संरक्षणसम्म समेटिएका छन् । 

पाेखरा:  ०७४ सालको निर्वाचनमा कास्की क्षेत्र नम्बर २ (ख)बाट प्रदेश सदस्यमा लडेका राजकाजी गुरुङको हार्ने छाँटै थिएन । लालकिल्ला भनि चिनिएको यस क्षेत्रमा वाम गठबन्धनका युवानेता गुरुङका प्रतिष्पर्धी थिए नेपाली कांग्रेसका विन्दुकुमार थापा । त्यसबेला मतदान र नतीजा घोषणाको मितिमात्रै कुरेर बसेका थिए गुरुङ र उनको गठबन्धन ।    तर जसै निर्वाचन परिणाम आउँन सुरु भयो, नेकपा एमाले र नेकपा माओवादीका साझा उम्मेदवार गुरुङले व्यापारिक पृष्ठभूमिका थापालाई पच्छ्याउन सुरु गरे । अन्तिममा थापाले गुरुङलाई हराएर आफुलाई राजनीतिमा स्थापित गराए ।    अहिले थापा पुनः सोही क्षेत्रबाट चुनावी मैदानमा छन् । र, उनको विरासत ढाल्न एमालेले मिना गुरुङलाई उतारेको छ । पहिले कम्युनिष्ट गठबन्धनलाई पराजित गरेका थापासँग अहिले सोही मोर्चाको माओवादी र एमालेबाट चोइटिएको नेकपा (एकीकृत समाजवादी) जोडिन आइसकेको छ । सत्ता गठबन्धनका साझा उम्मेदवार थापा सर्सती हेर्दा बलिया उम्मेदवार देखिएका छन् ।   साथै, थापा पोखरेलीकालागि परिचित नाम हुन् । प्रायः व्यापारी वर्गले राजनीतिक शक्तिसँग धेरथोर साँठगाँठ गर्न चाहिरेका हुन्छन् । यस्तोमा पोखरा उद्योग वाणिज्य संघ हाँकिसकेका र प्रदेश मन्त्री भइसकेका थापालाई पुनः जिताउने चाहना व्यापारीहरुको रहेको छ । त्यस्तै, राजनीतिमा फड्को मार्न आवश्यक तुरुप खेलाउन सक्ने थापाको क्षमता रहेको छ ।    यता, एमाले उम्मेदवार गुरुङ पनि समानुपातिकबाट प्रदेशको सभासद रहिसकेकी छिन् । युवा जनमानसमा गतिलो छाप छाड्न नसकेको देखिए पनि राजनीतिमा मूल संरचना मानिने जनस्तरको कम्युनिष्ट राजनीतिक कौशलमा गुरुङ अब्बल मानिन्छिन् ।    सौन्दर्य व्यवसायमा नाम कमाएकी गुरुङ वास्तवमै कम्युनिष्ट नेता हुन् । झट्ट हेर्दा अपत्यारिलो लागे पनि गुरुङसँग संगठन निर्माणको कौशल भरिपूर्ण छ । एमालेको मजदुर फाँटमा उनी केन्द्रीयस्तरको नेता भएकाले गुरुङलाई यसपटक समानुपातिकबाट पाएको अवसरलाई प्रत्यक्षमा जितेर आफुुलाई प्रमाणित गर्नुपर्ने चुनौती छ ।    गुरुङलाई जनस्तरको राजनीति गर्ने र सांगठनिक कुशलताले भरिपूर्ण भनिरहँदा स्थानीय निर्वाचको आंकडाले भने गिज्याउने गरेको छ । अर्थात् उनकै वडामा एमाले कांग्रेसभन्दा धेरै पछि रह्यो ।  वडा नम्बर ११ मा कांग्रेसबाट चुनिएका वडाध्यक्षले  १ हजार ५७४ मत ल्याउँदा एमालेको मत ८ सय ५५ मात्र रहेको छ ।    निर्वाचन मिति नजिकिँदै जाँदा गुरुङका प्रतिष्पर्धी थापाको चुनावी प्रचार व्यापक छ । भौतिक प्रचार त छ नै प्रविधिमार्फत थापा झनै आक्रामक देखिएका छन् । मन्त्री भइसकेका थापाले यस क्षेत्रमा पहिल्यैदेखि रणनीतिक चाल चलेका छन् । भोट कहाँ छ, र उनीहरुलाई कसरी आफ्नो पकडमा राख्न सकिन्छ भनेर उनले विनियोजन गरेको बजेट र आफुले पाउने सेवा, सुविधाको वितरणबाटै प्रष्ट हुन्छ ।    यद्यपि, यस्तो आधार र विश्लेषणले थापालाई जीत हात पार्न सजिलो भने छैन । मुख्यतः यसपटक थापा नेकपा एमालेका उम्मेदवारसँग भिड्दैछन् । जससँग पार्टीमात्र हैन, समुदाय पनि छ । कास्कीलाई कुनैबेला तमुवान राज्यको नाम दिइनुपर्छ भन्ने समुदाय अझैपनि गुरुङ उम्मेदवारप्रति उदार छन् ।    अहिले पोखरामा गुरुङ समुदायका अगुवाहरु पार्टीभन्दा माथि उठेर आफ्नो जात, थरलाई जसै भोट हाल्नुपर्छ भन्ने अभियानमा छन् । बाहिर हेर्दा मेसो पाउन सकिन्न तर समुदायका सदस्यहरु साना–साना समूहमा गुरुङको घर पहिल्याउँदै भोट माग्न व्यस्त छन् । समूहका हातमा थापाका प्रतिष्पर्धीसँगै अन्य क्षेत्रका गुरुङ उम्मेदवारका पर्चा, पम्प्लेट भेटिन्छन् ।    यससँगै गुरुङको पृष्ठभूमि ‘लाहुरे’ भएकाले उनलाई भूतपूर्व सैनिक परिवारको समेत साथ रहेको छ । एउटै घरबाट युवाहरुले थापालाई मत दिएपनि जेष्ठ सदस्यहरुले भने गुरुङलाई सहयोग गर्न सक्छन् ।   यस क्षेत्रमा महानगरका ६ वडा छन् । जसमध्ये स्थानीय निर्वाचमा ४ वडा कांग्रेसले जितेको छ भने २ मा एमालेको पकड रह्यो । यसमध्ये वडा नम्बर ४, ९, ११ कांग्रेसको राम्रै पकड भएको वडा हो ।    यहाँ गठबन्धनले १० हजार ७ सय ७५ मत पाएको छ । जसमध्ये कांग्रेसकोमात्रै ९ हजार ९९२ मत रहेको छ । सहयोगी दल माओवादीको ५ सय ४४ र एसको २ सय ४२ मत रहेको छ ।  एमालेले ९ हजार ६३१ मत पाएको थियो ।    उक्त आंकडालाई हेर्दा कांग्रेसको मत नै एमालेको भन्दा बढी देखिन्छ । तरपनि प्रतिष्पर्धीबीच फरक मतको संख्या भने ११ सयको हाराहारीमामात्रै छ । यस्तो स्थितिमा महिला, लाहुरे र गुरुङ समुदाय एमालेको जित्ने आधार हो भने गठबन्धनको इमानदारिता थापाको ।

  पोखरा:  पोखरा विश्वविद्यालयले मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गत स्नातक तहमा बिएएलएलबीको अध्यापन सुरु  गरेको छ । एक समूहमा ४० जना भर्ना लिने गरी गरिएको  दस सेमेष्टर प्रणालीको उक्त कार्यक्रम पाँच वर्ष अवधिको हुने र शिक्षण शुल्क करिब रु चार लाख रहेको विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार राजनीतिशास्त्र, समाजशास्त्र, इतिहास तथा कलाजस्ता विषयको एकीकृत अध्ययन गर्ने गरी निर्माण भएको बिएएलएलबीमा आफ्नो क्षमता अभिवृद्धि गर्न चाहने विद्यार्थीका लागि आकर्षणको विषय बनेको छ ।यसले विद्यार्थीलाई कानुन व्यवसायी बन्न, कानुनी अध्ययनका लागि विष्लेषणात्मक एवं तार्किक सीप क्षमता अभिवृद्धि गर्न तथा आपराधिक वा वित्तीय मामिलामा पनि जागरूक बनाउने  विश्वास लिइएको छ । यसको अध्ययनसँगै विद्यार्थी कर्पोरेट कानुन, कानुन फर्म, मध्यस्थता र वार्तालाप, अनुसन्धान, एकेडिमिक, पत्रकारिता, मिडिया वा मनोरञ्जनका क्षेत्रमा आफ्नो व्यक्तित्व विकास गर्न सबल हुन्छन् । यसमा अध्ययन गर्न चाहने विद्यार्थीले २०७९ मङ्सिर २१ गतेभित्र प्रवेश परीक्षाका लागि दरखास्त दिन सक्ने र प्रवेश परीक्षा मङ्सिर २३ गते हुने जनाइएको छ । यस कार्यक्रमको अध्ययन–अध्यापन विश्वविद्यालयको शैक्षिक प्राङ्गण, पोखरा–३०, ढुङ्गेपाटनमा सञ्चालन हुने सूचना अधिकारी ढकालले बताउनुुभयो ।

पोखरा:  गण्डकी प्रदेशमा हालै मात्र सम्पन्न ९ औँ संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी महानगरवासी खेलाडीहरूलाई पोखरा महानगरपालिकाले नगद सहित सम्मान गरेको छ । प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरू गरी १९२ जनालाई सम्मान गरिएको हो । स्वर्ण पदक विजेता ३५ जना, ३२ जना रजत पदक विजेता र ८५ जना कांस्य पदक विजेता खेलाडीहरूलाई महानगरपालिकाले सम्मान गरेको हो । उनीहरूलाई क्रमशः नगद रु।१५ हजार, रु।१० हजार र रु।५ हजार सहित सम्मान पत्र प्रदान गरिएको छ । यस्तै ३६ जना टिम म्यानेजर र ४० जना प्रशक्षिकहरुलाई समेत सम्मान गरिएको छ । यसअघि पहिलो चरणमा ३९ जना खेलाडी तथा प्रशिक्षकहरूलाई सम्मान गरिएको थियो ।  उनीहरूलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, महानगरपालिकाका प्रवक्ता मोतीराज तिम्सिना, पोखरा महानगरपालिका नेपाली काँग्रेस संसदीय दलका नेता दिवसमान प्रधानाङ्ग लगायतले सम्मान प्रदान गर्नुभएको हो ।  महानगरपालिकाका प्रमुख आचार्यले खेलाडीहरूलाई प्रदान गरिएको रकम सानो भए पनि खेलाडीहरूको हौसला बढाउन सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । खेलाडीहरूको खेल जीवनको निरन्तरताका लागि आवश्यक सहयोग गर्न पोखरा महानगरपालिका प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।   ‘खेलाडीहरूको हौसला बढाउने कार्यमा आवश्यक सहयोग गर्न हामी सदैव सकारात्मक छौँ, स्वस्थ महानगर निर्माणको अभियानमा खेलाडीहरूको महत्त्वपूर्ण योगदान रहन्छ, प्रमुख आचार्यले भन्नुभयो, खेल जीवनका दौरानमा, खेलकुदलाई अगाडी बढाउने विषयमा कुनै पनि समस्याहरू आइपरे महानगरको खेलकुद विकास समिति पनि छ, महानगरपालिका यहाँहरूको साथमा छ, यहाँहरूले आ९आफ्नो वडामा पनि सम्पर्क गर्न सक्नुहुनेछ, हामीले सक्ने सहजीकरण इमानदार पूर्वक गर्नेछौँ ।’ राष्ट्रका गहनाका रूपमा विकसित खेलाडीहरूको खेलजिवन थप उपलब्धि मूलक बनाउने सन्दर्भमा आवश्यक सहकार्यका लागि महानगरपालिका प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । आफूहरू पोखरालाई पर्यटनको राजधानी बनाउने अभियानमा रहेको बताउँदै उहाँले खेल पर्यटन प्रवर्द्धन सहित यहाँ आवश्यक पूर्वाधारहरू निर्माणमा समेत जोड दिनुभयो । अङ्ग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा पोखरामा आयोजना गर्न लागिएको टुर दि पोखरा कार्यक्रमका क्रममा आगामी पौष ६ गते दोस्रो संस्करणको राष्ट्रिय मेयर कप साइकल दौड प्रतियोगिता २०७९ समेत गरिने उहाँले जानकारी दिनुभयो । पोखरा १७ रानीवनबाट सुरु हुने उक्त प्रतियोगितामा देश तथा विदेशका साइकल यात्रीहरूको सहभागिता रहनेछ ।

  काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारी जनगणतन्त्र आइसल्याण्डको औपचारिक भ्रमण पूरा गरी शनिबार स्वदेश फर्कंदै हुनुहुन्छ ।      महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’ (डब्लुपिएल) कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी यही कात्तिक २१ गते आइसल्याण्ड जानुभएको थियो । गणतन्त्र आइसल्याण्डको राजधानी रेक्याभिकमा आयोजना भएको ‘रेक्याभिक ग्लोबल फोरम’ (वुमन लिडर्स) मा उहाँले विशेष सम्बोधनसमेत गर्नुभएको थियो । साथै उहाँले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गर्नुभएको थियो ।     राष्ट्रपति भण्डारी आज आइसल्याण्डबाट प्रस्थान गरी नर्वेको राजधानी ओस्लो र कतारको राजधानी दोहा हुँदै भोलि शनिबार काठमाडौँ आइपुग्नुहुने कार्यक्रम छ ।