पोखरा:   कास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभा सदस्यको उम्मेदवार बिना गुरुङले मतदातासँग भेट्ने तथ नीतिगत तहबाट गर्न सकिने कामहरुको छलफल गर्ने अभियान चलाइरहेकी छन् । &nbs...

  काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनगणतन्त्र आइसल्याण्डको औपचारिक भ्रमण गर्नुहुने भएको छ ।  महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल)’ कार्यक्रममा सहभागी हुन उहाँ यही कात्तिक २१ देखि २६ गतेसम्म आइसल्याण्डको भ्रमणमा जानुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।       भ्रमणको तयारीबारे आज परराष्ट्र मन्त्रालयमा भएको सरोकारवाला निकायसँगको छलफलमा मन्त्रालयका सचिव भरतराज पौड्यालले राष्ट्रपतिको भ्रमणको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । सचिव पौड्यालका अनुसार राष्ट्रपति भण्डारी १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइसल्याण्ड भ्रमणमा जानुहुनेछ । राष्ट्रपतिको भ्रमणका क्रममा केही औपचारिक कार्यक्रमसमेत आयोजना हुनेछ । त्यस भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गर्नुहुने मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारी कात्तिक २१ गते साँँझ ६ बजे कतार एयरवेजको जहाजमार्फत त्यसतर्फ प्रस्थान गर्नुहुने र भ्रमण सम्पन्न गरी सोही एयरलाइन्सबाट कात्तिक २६ गते बिहान ७ः३० बजे स्वदेश फर्कनुहुनेछ । कार्यक्रममा उपस्थित सरोकारवाला मन्त्रालय मातहत निकाय र चारवटै सुरक्षा निकायका प्रतिनिधिले राष्ट्रपतिको भ्रमणलाई त्रुटिरहित रुपमा सफल बनाउन कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

  मुस्ताङ:  राष्ट्रपति विद्यादेवी भण्डारीले यहाँको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ विश्वभरिका हिन्दू र बौद्धमार्गीको आस्थाको धरोहरका रुपमा रहेको बताउनुभएको छ ।      आज मुक्तिनाथ मन्दिर परिसरमा निर्मित भगवान् गौतम बुद्धको प्रतिमा अनावरण एवं भगवान् विष्णुको प्रतिमा शिलान्यासपछि राष्ट्रपति भण्डारीले मुक्तिनाथ क्षेत्र नेपालकै विशिष्ट धार्मिक एवं सांस्कृतिक सम्पदा रहेको उल्लेख गर्नुभयो ।     उहाँले बुद्धको प्रतिमा अनावरण र भगवान् विष्णुको प्रतिमा शिलान्यास गर्न पाउनुलाई आफूले ऐतिहासिक अवसरका रुपमा लिएको पनि बताउनुभयो । “मूर्ति अनावरण तथा शिलान्यासमा सहभागी हुन पाएकामा खुसी व्यक्त गर्दछु”, राष्ट्रपति भण्डारीले भन्नुभयो, “यसबाट हिन्दू र बौद्ध समुदायको साझा आस्थाको केन्द्रका रुपमा रहेको मुक्तिनाथ क्षेत्रको धार्मिक एवं पर्यटकीय महत्व अझ बढ्न जाने मैले विश्वास लिएकी छु ।”     बहुसाँस्कृतिक आयाम बोकेर सदियौँको इतिहास समेटेको मुक्तिनाथ क्षेत्र र मुक्तिनाथ मन्दिरको महत्वलाई पौराणिक ग्रन्थले ठूलो सम्मानका साथ उल्लेख गरेको उहाँको भनाइ थियो । राष्ट्रपति भण्डारीले भौगोलिक, सामाजिक र सांस्कृतिक हिसाबले मुस्ताङ विशिष्ट रहेको बताउनुभयो ।      “मुस्ताङमा रहेका धार्मिक, सांस्कृतिक सम्पदा हाम्रा अमूल्य निधी हुन्, यिनीहरुको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन हुनुपर्छ, यसबाट प्राप्त आर्थिक लाभ यहीँका जनताको सुख र समृद्धिका लागि सदुपयोग गरिनुपर्छ”, उहाँले भन्नुभयो ।     उहाँले मुस्ताङका धार्मिक तथा पर्यटकीय क्षेत्रको भौतिक तथा पूर्वाधार विकासमा सङ्घ, प्रदेश र स्थानीय तहले समन्वयकारी पहल लिनुपर्ने धारणा राख्नुभयो । राष्ट्रपति भण्डारीले मित्रराष्ट्र चीनसँग व्यापारिक सम्पर्क स्थापित गर्न सहज हुने कोराला नाकाले मुस्ताङलाई अर्को परिचय दिएको बताउनुभयो ।      “हाम्रा उत्पादनका लागि सहज बजार हुने दुई देशका बीचमा स्थल मार्ग हुँदै व्यापार विस्तार गर्ने नयाँ सम्भावना कोराला नाकाले खोल्ने भएकाले स्थल मार्गबाट नाका सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधार निर्माणमा ध्यान दिनुपर्दछ”, उहाँले भन्नुभयो ।     राष्ट्रपति भण्डारीले शुक्रबार बिहान मुक्तिनाथ मन्दिरमा विशेष पूजाआजासमेत गर्नुभएको थियो । मन्दिर परिसरमा रहेका १०८ धाराको परिक्रमासँगै मन्दिरमा विशेष पूजाआजा गर्नुभएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनभयो ।     राष्ट्रपतिले मुक्तिनाथको रानीपौवामा निर्माण गरिएको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’को पनि उद्घाटन गर्नुभएको जनाइएको छ । गैरआवासीय नेपाली सङ्घका पूर्वउपाध्यक्ष एवं उद्यमी सोनाम लामाको निजी लगानीमा मुक्तिनाथमा गौतमबुद्धको मूर्ति निर्माण गरिएको थियो । भगवान् विष्णुको मूर्ति पनि उहाँकै लगानीमा बन्न लागेको हो । 

  काठमाडौं । दसैँ र तिहार जस्ता महत्वपूर्ण पर्व सकिएसँगै मुलुकभर निर्वाचनको माहोल सुरु भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको रौनक बढ्दै गरेका बेलामा भने सुदूरपश्चिमका युवाहरु भने कामको खोजीमा भारत पस्न थालेका छन् ।  मङ्सिर ४ गतेको निर्वाचन आउन दुई साताको अवधि रहँदा नेताहरु मतदाता रिझाउन गाउँगाउँ पस्दै गर्दा युवाहरु गाउँ छाड्न थालेका छन् । चाडबाड बनाउन दसैँअघि गाउँ आएका युवाहरु तिहार सकिएसँगै कामको खोजीमा भारतका विभिन्न गन्तव्यका लागि टिकट काट्न थालेका हुन् ।  सुदूरपश्चिमका युवाहरुका लागि श्रमको भरपर्दो गन्तव्य भारत हो । हाल कैलालीको त्रिनगर भन्सार नाकाबाट दिनहुँ चार सयभन्दा बढी युवाहरु कामको खोजीमा छिमेकी मुलुक भारत फर्कन थालेको सीमास्थित सशस्त्र प्रहरी बल बोर्डर अफ पोस्टले जानकारी दिएको छ ।  लामो समयदेखि भारतको मुम्बईमा काम गर्दै आउनु भएका डोटीका नारद खडकाले आफू चाडपर्व मनाउन घर आएको र अब फेरि भारत फर्कन लागेको बताउनुभयो । “नेपालमा काम पाउन गाह्रो छ, काम पाइहाले पनि यहाँको कमाइले खर्च धान्न गाह्रो पर्ने भएपछि भारत जान बाध्य भएको हुँ”, उहाँले भन्नुभयो ।  भारतको पञ्चाबमा काम गर्दै आएका धनगढी उपमहानगरपालिका– २ का सन्तोष आउँजीले काम गर्नका लागि भारत जानुको विकल्प नभएको बताउनुभयो ।  गाउँमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै नेताहरु विभिन्न योजना लिएर गाउँ पस्दै गर्दा बेरोजगार युवाहरु भने भारतमा मजदुरी गर्नका लागि बाटो तताउँदै गरेका छन् ।  दसैँ र तिहार मनाउन घर फर्किनु भएका कैलाली ओलानीका जीतबहादुर कामी पनि यतिबेला भारत फर्कने तयारीमा हुनुहुन्छ । “यहाँ भोट हाल्न बस्ने हो भने आम्दानी केही हुँदैन, घर खर्चका लागि भारत जानुको विकल्प छैन”, उहाँले भन्नुभयो ।  सूदुरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका युवाहरु जागिरको खोजीमा भारतको मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पञ्जाब, हरियाणा, बैङ्लोर लगायतका शहरमा जाने गरेका छन् ।

    जुम्ला । पाकेको मार्सीधानमा ब्लाष्ट रोग लागेपछि जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित गौतमवाडाका किसानले खेतमै आगो लगाएर नष्ट गरेका छन् । ब्लाष्ट रोगको सङ्क्रमणले धान सखाप भएपछि आगो लगाउनेबाहेक अरु विकल्प नभएको किसान दीपक खत्रीले बताउनुभयो ।     धान भित्र्याउन खेतमा पुगेका गौतमवाडाका किसानले धानको बाला नै नलागेपछि परालमा आगो लगाउनुपरेको बताए । गएको वर्ष १५ देखि १६ बोरा धान उत्पादन हुन्थ्यो । ब्लाष्ट रोगले धानको बालामा क्षति गरेको छ । उन्नत जातको धान रोप्दा चार बोरा मात्रै उत्पादन भयो । बाँकी सबै मार्सी धान सखाप भएपछि आगो लगाउन बाध्य भएको स्थानीयवासी खगेन्द्र खत्रीले जानकारी दिनुभयो ।      धानबाली सखाप भएपछि परिवारको जीविकोपार्जन गर्न कठिन  भएको त्यहाँका किसानको गुनासो थियो । मार्सी धानले बाह्रै महिना खान पुग्ने भएकाले चामल किन्न बजार जानुपरेको थिएन पहिलो पटक बजार गएर सेतो चामलको भात खानुपर्ने दिन पनि आयो । जेठको पहिलो साता खेतमा मार्सी धानको रोपाइँ भएको थियो । धान उत्पादन नहुँदा उक्त गाउँका ६० घरधुरीलाई यो वर्ष खाद्यान्न अभाव हुने देखिएको गौतमवाडावासीले बताए ।     तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले गौतमवाडाका किसानको निवेदन प्राप्त भएको र पीडित किसानको राहतका लागि पालिकाले पहल गर्ने बताउनुभयो । धानमा रोग फैलिएको सूचना पाएपछि कृषि प्राविधिकसहित जिल्ला कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारीसमेत किसानको खेतमा पुग्नुभएको थियो ।  किसानलाई विषादी छर्न अनुरोध गरिए पनि विषादीले कामै नगरेको उहाँको भनाइ थियो ।     मार्सी धानमा ब्लाष्ट रोगको सङ्क्रमण भएको छ । उन्नत जातको उक्त धानमा यो रोगको खासै समस्या छैन तर मार्सी धानले किरा खप्न नसक्दा बढी क्षति हुने गरेको छ । धानको नमूना ल्याएर कृषि अनुसन्धान केन्द्रमा पठाएका थियौँ, केन्द्रले त्यसको विवरण कृषि अनुसन्धान परिषद्मा  पठायो, कृषि वैज्ञानिकको परामर्शमा प्राविधिक पठाएर चुना र निलोथुतो छर्न लगायौँ तर धानमा लागेको रोग नियन्त्रणमा आएन् कार्यालय प्रमुख अधिकारीले बताउनुभयो । जुम्लामा दुई हजार नौ सय हेक्टरमा धानखेती हुँदै आएकामा एक हजार हेक्टरमा मार्सी धानको खेती गरिँदै आएको उहाँले जानकारी दिनुभयो । यो वर्ष जिल्लाको कूल धान उत्पादनको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको उक्त कार्यालयले जनाएको छ । 

  काठमाडौँ:  नाबालिग बलात्कार अभियोगमा राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ । वादी र प्रतिवादीका तर्फबाट भएको कुन व्यवसायीको थुनछेक बहसपछि शुक्रबार न्यायाधीश माधवप्रसाद घिमिरेले आरोपित लामिछानेलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएका हुन् । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले लामिछानेलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न अदालतले आदेश दिएको बताए । ‘मुद्दाको किनारा नलागेसम्म आरोपितलाई थुनामा राख्न आदेश भएको छ,’ सूचना अधिकारी दाहालले भने ।   वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, कृष्ण सापकोटा, सविता भण्डारी, लभ मैनालीलगायतले लामिछानेको पक्षबाट बहस गरेका थिए । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार लामिछानेविरुद्ध १० देखि १२ वर्ष सम्म कैद र पीडितलाई अभियुक्तबाटै यथोचित क्षतिपूर्ति भराउन मागदाबी गर्दै काठमाडौं अदालतमा मुद्दा दायर गरेको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा ३ (घ) अनुसार नाबालिगमाथि बलात्कार गरेको कसुरमा सजाय मागदाबी गरेको थियो । अनुसन्धानका क्रममा संकलित तथ्य र प्रमाणले लामिछानेबाट नाबालिग बलात्कृत भएको आरोपपत्रमा उल्लेख छ ।   मुलुकी अपराध संहिताको दफा २१९ मा ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने’ उल्लेख छ । सोही दफाको उपदफा ३ मा जबर्जस्ती करणी गर्ने व्यक्तिलाई करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी कैद सजाय हुने व्यवस्था छ । उपदफा ३ को (घ) मा ‘१६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरे १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने उल्लेख छ । अदालतमा पेस गरिएको अभियोगपत्रमा घटना हुँदाका बखत पीडितको नागरिकता प्रमाणपत्रअनुसार उमेर १७ वर्ष २ महिना उल्लेख छ । मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा ३ (घ) अनुसार लामिछानेलाई कैद र पीडितलाई क्षतिपूर्ति भराउनुपर्ने सुझावसहित काठमाडौं प्रहरी वृत्त गौशालाले गत कात्तिक ६ मा सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस गरेको थियो । लामिछानेले गत भदौ ५ को राति तिलगंगाको एक होटलमा लगेर जबर्जस्ती करणी गरेको भन्दै नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । त्यसको भोलिपल्ट २२ गते प्रहरीले लामिछाने विरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो । जाहेरी पर्दा लामिछाने केन्यासँगको ट्वान्टी–२० क्रिकेट शृंखला सकेर क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेस्ट इन्डिज पुगेका थिए । त्यहीबाट अमेरिका गएका लामिछाने असोज २० मा नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका थिए ।

  ढोरपाटन । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ–घोडाबाँधे सडकको ट्र्याक खुलेको २५ वर्ष पुग्यो । सडक कालोपत्रका लागि निर्माण कम्पनीसँग सम्झौता भएको पनि एक दशक पुग्नै लाग्यो तर अहिलेसम्म कालोपत्र हुन सकेको छैन । सडक निर्माण भएपछि धेरै पटक निर्वाचन सम्पन्न भए । अहिलेसम्म भएका निर्वाचनमा उम्मेदवारले यो सडक कालोपत्र गर्ने विषयलाई मुख्य ‘एजेण्डा’ बनाउँदै आए । तर काम भने भएन ।     आगामी ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा विभिन्न दल तथा स्वतन्त्ररुपमा उम्मेदवार बनेकाले पनि घोषणापत्रको मुख्य बुँदामा यो सडक कालोपत्र गर्ने उल्लेख गरेका छन् । हरेक निर्वाचनमा उम्मेदवारको प्रमुख एजेण्डा बन्ने यो सडक कालोपत्र नहुँदा मतदाताले अहिले पत्याउनै छोडिसके । नेताहरुले भोट फुत्काउन आफूहरुको आँखामा छारो बर्साएको मतदाता बताउँछन् ।      काठेखोला गाउँपालिका–५ का स्थानीय मनप्रसाद कँडेल भन्नुहुन्छ, “सडक कालोपत्र गर्ने कुरा जब चुनाव आउँछ, तब मात्रै उठ्छ, चुनाव सकिएपछि नेताले कुर्सी पाउँछन्, जनताले आहात, अहिलेसम्म कालोपत्र गर्छौं भनेर हाम्रो आँखामा छारो बर्साए, मत पाउनलाई अनेक तिकडम गरे, सडकको हालत उस्तै छ, अहिले पनि फेरि सडक कालोपत्र गरेरै छोड्छौँ मत दिनु भन्दै आएका छन् ।”     उहाँले राष्ट्रिय गौरवको आयोजनाको हालत नै खराब हुँदा जनप्रतिनिधि गम्भीर नहुनुमा निर्माण कम्पनीसँग मिलेमतो हुनसक्ने बताउनुहुन्छ । सडक खुलेको साढे दुई दशक पूरा हुँदा पनि कालोपत्र नहुँदा यात्रु, चालक र स्थानीयले निकै सास्ती खेप्नुपरेको उहाँको भनाइ छ । वर्षात्मा हिलो र हिँउदमा धुलोले गर्दा सडक छेउछाउकाले बसाइँसराइ गर्न बाध्य भएको स्थानीयवासी कँडेलको भनाइ छ ।     “हामीहरुले यो सडकको हिलो र धुलो खाएर बसेको २२÷२५ वर्ष भयो, हिउँदमा धुलोले घर नै देखिँदैन सबै धुलैधुलो हुन्छ, खानाको भागदेखि सुत्ने अछ्यानसम्म धुलो हुन्छ, बर्खामा हिलोले बाहिर निस्किनै नसक्ने हुन्छ”, उहाँले भन्नुभयो, “सडकको अवस्था यस्तो भएको अहिले होइन, यो त वर्षौं भयो, नेताहरुले काम गरिहाल्छौँ भनेको पनि कैयौँ वर्ष बित्यो तर हालत उस्तै छ, हिलो र धुलोका कारण यस क्षेत्रबाट धेरैले बसाइँसराइ गरिसके, धेरै विस्थापित भए, त्यो पीडा हामीलाई छ, नेतालाई जिते र पद पाए पुग्छ, पछि घुमेर आउनु पर्दैन ।”     स्थानीय सुरेश पुनले अघिल्लो पटक भोट माग्न आएका उम्मेदवारले छ महिनाभित्रै कालोपत्र गर्छु भनेर आश्वासन देखाएको जनाउँदै जितेर एकपटक आफूहरुलाई भेट्नसमेत नआएको सुनाउनुभयो । उहाँले सडक बनाउने प्रतिबद्धता गरेपछि आफूहरुले मत दिएको र उक्त मत खेर गएको बताउनुहुन्छ । “अघिल्लो निर्वाचनमा एक जना नेताले मैले जिते भने सबैभन्दा पहिलो यो सडक बनाउँनेछु भनेर हामीसँग प्रतिबद्धता जनाउनुभयो, चुनाव पनि जित्नुभयो तर काम गर्नु त टाढाको कुरा भयो जितेर एकपटक हामीलाई धन्यवादसमेत भन्न आउनुभएन”, उहाँले भन्नुभयो ।     उहाँले यो सडकका कारण वर्षौंदेखि हजारौँ यात्रुले दुःख पाउँदै आएको बताउनुभयो । पुनले आफूहरुले सडक कालोपत्रका लागि बारम्बार निर्माण कम्पनी र नेताहरुलाई भने पनि कुनै सुनुवाइ नभएको गुनासो पोख्नुभयो । उहाँले आफूहरु भोट माग्नका लागि उम्मेदवारले अनेक आश्वासन दिएको भन्दै यसपटक सोचेर भोट हाल्ने मनाशय बनाएको बताउनुभयो ।     यस सडकमा यात्रा गर्दा हप्तामा गाडीको पार्टपुर्जा फर्नुपर्ने गाडी चालक लोकेन्द्र घर्तीले बताउनुभयो । उहाँले सडकमा निकै खाल्डाखुल्डी हुँदा यात्रु र गाडीवालाले सास्ती खेप्नुपरेको बताउनुभयो । घर्तीले यो सडकका कारण गाडी व्यवसायीले समयसमयमा दुल्ख पाइराखेको बताउनुभयो ।     “यो बाटोमा गाडी चलाउन लागेको १३ वर्ष बढी भयो, सुरुमा जस्तो अवस्था थियो अहिले पनि उस्तै छ, सडकका खाल्डाखुल्डी कसले पुर्ने, नाली कसले बनाउने ?, कयौँपटक चालक मिलेर बाटो बनाउँदै यात्रा ग¥यौँ, त्यो सम्भव नहुँदो रहेछ”, उहाँले भन्नुभयो, “सडकको दुरावस्थाका कारण कैयौँ पटक गाडीको टायर पड्किएर, पत्ता भाँचिएर सडकमौ बास बस्नुपरेको छ, यहाँका नेताहरु के भएका हुन्, चुनावका बेला छिटै कालोपत्र गर्छौं भन्छन्, अरु बेला वास्तै गर्दैनन् ।”     उपल्लाचौरदेखि अक्षेते–बिहुँ खण्ड कालोपत्रका लागि २०७३ माघ १४ गते भारत÷सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहुँ घोडाबाँधे खण्ड २०७२ माघ १० गते एमपी÷एससिएफ÷इसिसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा सडक कालोपत्र गर्ने ठेक्का सम्झौता गरेका थिए । तर निर्माण सुरु भएको यतिका वर्षसम्म कालोपत्र हुन सकेको छैन ।     कूल एक हजार सात सय ७६ किलोमिटर लोकमार्गको बागलुङ खण्डमा मात्रै एक सय ४२ किमी पर्छ । तीमध्ये बागलुङमा अब करिब १८ किलोमिटर मात्रै सडक कालोपत्र गर्न बाँकी छ । बागलुङको ‘लाइफलाइन’सँग जोडिएको मध्यपहाडी लोकमार्ग जिल्लाको दुर्गम थान निसीखोला, ढोरपाटन, गलकोट र बडिगाडमा कालोपत्र भइसकेको छ । 

  काठमाडौं । काठमाडौंको अनामनगरमा मोटरसाइकलको ठक्करबाट परराष्ट्र मन्त्रालयकी शाखा अधिकृत आस्था सुब्बाको मृत्यु भएको छ ।   बिहीबार साँझ हनुमानस्थानबाट अनामनगर चोकतर्फ जाँदै गरेको प्रदेश ३–०२–००८ प ३६१७ नम्बरको मोटरसाइकलले पैदल हिंडिरहेकी ३२ वर्षीया आस्थालाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको क्रममा बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा बेलुकी पौने ७ बजे मृत्यु भएको प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल समेत पल्टिदा चालक घट्टेकुलो बस्ने तनहुँको दमौलीका २४ वर्षीय मिलन राना घाइते छन् । उनको उपचार महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ ।

  काठमाडौं ।  पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको हत्या प्रयास भएको छ। पाकिस्तानमा आयोजित र्यालीमा गोली चल्दा खानसमेत घाइते भएको बीबीसीले जनाएको छ। अन्य ९ जना घाइते भएका छन्। पाकिस्तानको गुजरान्वालाको हल्लाहवाला चोकमा गोली प्रहार भएको थियो। प्रहरीका अनुसार इमरान खानलाई लाहौर अस्पतालमा भर्ना गरिएको छ। उनको स्वास्थ्य स्थिति स्थिर रहेको बताइएको छ। डाक्टरको विशेष टोलीले इमरान खानको उपचार गरिरहेको स्रोतलाई उद्धृत गर्दै एजेन्सीहरुले उल्लेख गरेका छन्। खानको खुट्टामा गोली लागेको बताइएको छ।   उनी सहभागी रहेको आजादीका मार्चुमा बिहीबार एक्कासि गोली चलेको थियो। सरकारविरुद्ध भइरहेको उक्त प्रदर्शनमा इमरान खानको हत्या प्रयास भएको विश्लेषकहरुले दाबी गरेका छन्।  इमरान खानसँगै सांसद फैसल जावेद र पूर्व गर्भनर इमरान इस्मेलसमेत घाइते भएका छन्। 

  बाँके । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा जिल्ला कारागार बाँकेबाट दुई बन्दीले अस्थायी मतदाताका रुपमा भोट हाल्न पाउने भएका छन् ।  नेपालगञ्ज उपमहानगरपालिका–७ का २९ वर्षीय आदित्य श्रेष्ठ र वडा नं १६ का ४८ वर्षीय मोहम्मद तयदअलि जोलाहाले प्रतिनिधिसभाको समानुपतिकतर्फ मात्रै मताधिकारको प्रयोग गर्ने जिल्ला कारागारका प्रमुख अर्जुनजङ्ग शाहले जानकारी दिनुभयो । उहाँले निर्वाचन आयोगले मागगरे बमोजिम कारागारबाट सात सय २६ बन्दीको नामावली पठाएको र नामावली पठाएकामध्ये १२ जनाको नामावलीमा नाम देखिए पनि अन्तिम नामावलीमा दुई जनाको मात्रै आएको जानकारी दिनुभयो ।  श्रेष्ठ करिब सात महिनादेखि पूर्पक्षका लागि कारागार चलान भएका थिए । उनको लागुऔषध कारोबारको मुद्दा रहेको छ । उनको मुद्दा अहिलेसम्म अदालतबाट फैसला भएको छैन । मोहम्मद करिब एक वर्षदेखि कारागारमा रहेका छन् । लागुऔषधसम्बन्धी मुद्दामा कारागार चलान भएका उनले कारागारमा १० वर्ष बिताउने जेलर शाहले बताउनुभयो ।  जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमा पन्तले अन्तिम नामावलीमा दुई जना बन्दीको मात्रै नाम भेटिएकाले उनीहरुले अस्थायी मतदाताका रुपमा मताधिकारको प्रयोग गर्न पाउने जानकारी दिनुभयो । उहाँले जिल्लामा नेपाली सेना, नेपाल प्रहरी, निजामति कर्मचारीसहित एक हजार छ सय ३१ जनाले अस्थायी मतदाताका रुपमा प्रतिनिधिसभाको समानुपातिकतर्फ मतदान गर्ने  बताउनुभयो ।