ढोरपाटन । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ–घोडाबाँधे सडकको ट्र्याक खुलेको २५ वर्ष पुग्यो । सडक कालोपत्रका लागि निर्माण कम्पनीसँग सम्झौता भएको पनि एक दशक पुग्नै लाग्यो तर अहिलेसम्म कालोपत्र हुन सकेको छैन । सडक निर्माण भएपछि धेरै पटक निर्वाचन सम्पन्न भए । अहिलेसम्म भएका निर्वाचनमा उम्मेदवारले यो सडक कालोपत्र गर्ने विषयलाई मुख्य ‘एजेण्डा’ बनाउँदै आए । तर काम भने भएन । आगामी ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा विभिन्न दल तथा स्वतन्त्ररुपमा उम्मेदवार बनेकाले पनि घोषणापत्रको मुख्य बुँदामा यो सडक कालोपत्र गर्ने उल्लेख गरेका छन् । हरेक निर्वाचनमा उम्मेदवारको प्रमुख एजेण्डा बन्ने यो सडक कालोपत्र नहुँदा मतदाताले अहिले पत्याउनै छोडिसके । नेताहरुले भोट फुत्काउन आफूहरुको आँखामा छारो बर्साएको मतदाता बताउँछन् । काठेखोला गाउँपालिका–५ का स्थानीय मनप्रसाद कँडेल भन्नुहुन्छ, “सडक कालोपत्र गर्ने कुरा जब चुनाव आउँछ, तब मात्रै उठ्छ, चुनाव सकिएपछि नेताले कुर्सी पाउँछन्, जनताले आहात, अहिलेसम्म कालोपत्र गर्छौं भनेर हाम्रो आँखामा छारो बर्साए, मत पाउनलाई अनेक तिकडम गरे, सडकको हालत उस्तै छ, अहिले पनि फेरि सडक कालोपत्र गरेरै छोड्छौँ मत दिनु भन्दै आएका छन् ।” उहाँले राष्ट्रिय गौरवको आयोजनाको हालत नै खराब हुँदा जनप्रतिनिधि गम्भीर नहुनुमा निर्माण कम्पनीसँग मिलेमतो हुनसक्ने बताउनुहुन्छ । सडक खुलेको साढे दुई दशक पूरा हुँदा पनि कालोपत्र नहुँदा यात्रु, चालक र स्थानीयले निकै सास्ती खेप्नुपरेको उहाँको भनाइ छ । वर्षात्मा हिलो र हिँउदमा धुलोले गर्दा सडक छेउछाउकाले बसाइँसराइ गर्न बाध्य भएको स्थानीयवासी कँडेलको भनाइ छ । “हामीहरुले यो सडकको हिलो र धुलो खाएर बसेको २२÷२५ वर्ष भयो, हिउँदमा धुलोले घर नै देखिँदैन सबै धुलैधुलो हुन्छ, खानाको भागदेखि सुत्ने अछ्यानसम्म धुलो हुन्छ, बर्खामा हिलोले बाहिर निस्किनै नसक्ने हुन्छ”, उहाँले भन्नुभयो, “सडकको अवस्था यस्तो भएको अहिले होइन, यो त वर्षौं भयो, नेताहरुले काम गरिहाल्छौँ भनेको पनि कैयौँ वर्ष बित्यो तर हालत उस्तै छ, हिलो र धुलोका कारण यस क्षेत्रबाट धेरैले बसाइँसराइ गरिसके, धेरै विस्थापित भए, त्यो पीडा हामीलाई छ, नेतालाई जिते र पद पाए पुग्छ, पछि घुमेर आउनु पर्दैन ।” स्थानीय सुरेश पुनले अघिल्लो पटक भोट माग्न आएका उम्मेदवारले छ महिनाभित्रै कालोपत्र गर्छु भनेर आश्वासन देखाएको जनाउँदै जितेर एकपटक आफूहरुलाई भेट्नसमेत नआएको सुनाउनुभयो । उहाँले सडक बनाउने प्रतिबद्धता गरेपछि आफूहरुले मत दिएको र उक्त मत खेर गएको बताउनुहुन्छ । “अघिल्लो निर्वाचनमा एक जना नेताले मैले जिते भने सबैभन्दा पहिलो यो सडक बनाउँनेछु भनेर हामीसँग प्रतिबद्धता जनाउनुभयो, चुनाव पनि जित्नुभयो तर काम गर्नु त टाढाको कुरा भयो जितेर एकपटक हामीलाई धन्यवादसमेत भन्न आउनुभएन”, उहाँले भन्नुभयो । उहाँले यो सडकका कारण वर्षौंदेखि हजारौँ यात्रुले दुःख पाउँदै आएको बताउनुभयो । पुनले आफूहरुले सडक कालोपत्रका लागि बारम्बार निर्माण कम्पनी र नेताहरुलाई भने पनि कुनै सुनुवाइ नभएको गुनासो पोख्नुभयो । उहाँले आफूहरु भोट माग्नका लागि उम्मेदवारले अनेक आश्वासन दिएको भन्दै यसपटक सोचेर भोट हाल्ने मनाशय बनाएको बताउनुभयो । यस सडकमा यात्रा गर्दा हप्तामा गाडीको पार्टपुर्जा फर्नुपर्ने गाडी चालक लोकेन्द्र घर्तीले बताउनुभयो । उहाँले सडकमा निकै खाल्डाखुल्डी हुँदा यात्रु र गाडीवालाले सास्ती खेप्नुपरेको बताउनुभयो । घर्तीले यो सडकका कारण गाडी व्यवसायीले समयसमयमा दुल्ख पाइराखेको बताउनुभयो । “यो बाटोमा गाडी चलाउन लागेको १३ वर्ष बढी भयो, सुरुमा जस्तो अवस्था थियो अहिले पनि उस्तै छ, सडकका खाल्डाखुल्डी कसले पुर्ने, नाली कसले बनाउने ?, कयौँपटक चालक मिलेर बाटो बनाउँदै यात्रा ग¥यौँ, त्यो सम्भव नहुँदो रहेछ”, उहाँले भन्नुभयो, “सडकको दुरावस्थाका कारण कैयौँ पटक गाडीको टायर पड्किएर, पत्ता भाँचिएर सडकमौ बास बस्नुपरेको छ, यहाँका नेताहरु के भएका हुन्, चुनावका बेला छिटै कालोपत्र गर्छौं भन्छन्, अरु बेला वास्तै गर्दैनन् ।” उपल्लाचौरदेखि अक्षेते–बिहुँ खण्ड कालोपत्रका लागि २०७३ माघ १४ गते भारत÷सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहुँ घोडाबाँधे खण्ड २०७२ माघ १० गते एमपी÷एससिएफ÷इसिसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा सडक कालोपत्र गर्ने ठेक्का सम्झौता गरेका थिए । तर निर्माण सुरु भएको यतिका वर्षसम्म कालोपत्र हुन सकेको छैन । कूल एक हजार सात सय ७६ किलोमिटर लोकमार्गको बागलुङ खण्डमा मात्रै एक सय ४२ किमी पर्छ । तीमध्ये बागलुङमा अब करिब १८ किलोमिटर मात्रै सडक कालोपत्र गर्न बाँकी छ । बागलुङको ‘लाइफलाइन’सँग जोडिएको मध्यपहाडी लोकमार्ग जिल्लाको दुर्गम थान निसीखोला, ढोरपाटन, गलकोट र बडिगाडमा कालोपत्र भइसकेको छ ।
काठमाडौं । काठमाडौंको अनामनगरमा मोटरसाइकलको ठक्करबाट परराष्ट्र मन्त्रालयकी शाखा अधिकृत आस्था सुब्बाको मृत्यु भएको छ । बिहीबार साँझ हनुमानस्थानबाट अनामनगर चोकतर्फ जाँदै गरेको प्रदेश ३–०२–००८ प ३६१७ नम्बरको मोटरसाइकलले पैदल हिंडिरहेकी ३२ वर्षीया आस्थालाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको क्रममा बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा बेलुकी पौने ७ बजे मृत्यु भएको प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल समेत पल्टिदा चालक घट्टेकुलो बस्ने तनहुँको दमौलीका २४ वर्षीय मिलन राना घाइते छन् । उनको उपचार महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ ।
काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको हत्या प्रयास भएको छ। पाकिस्तानमा आयोजित र्यालीमा गोली चल्दा खानसमेत घाइते भएको बीबीसीले जनाएको छ। अन्य ९ जना घाइते भएका छन्। पाकिस्तानको गुजरान्वालाको हल्लाहवाला चोकमा गोली प्रहार भएको थियो। प्रहरीका अनुसार इमरान खानलाई लाहौर अस्पतालमा भर्ना गरिएको छ। उनको स्वास्थ्य स्थिति स्थिर रहेको बताइएको छ। डाक्टरको विशेष टोलीले इमरान खानको उपचार गरिरहेको स्रोतलाई उद्धृत गर्दै एजेन्सीहरुले उल्लेख गरेका छन्। खानको खुट्टामा गोली लागेको बताइएको छ। उनी सहभागी रहेको आजादीका मार्चुमा बिहीबार एक्कासि गोली चलेको थियो। सरकारविरुद्ध भइरहेको उक्त प्रदर्शनमा इमरान खानको हत्या प्रयास भएको विश्लेषकहरुले दाबी गरेका छन्। इमरान खानसँगै सांसद फैसल जावेद र पूर्व गर्भनर इमरान इस्मेलसमेत घाइते भएका छन्।
बाँके । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा जिल्ला कारागार बाँकेबाट दुई बन्दीले अस्थायी मतदाताका रुपमा भोट हाल्न पाउने भएका छन् । नेपालगञ्ज उपमहानगरपालिका–७ का २९ वर्षीय आदित्य श्रेष्ठ र वडा नं १६ का ४८ वर्षीय मोहम्मद तयदअलि जोलाहाले प्रतिनिधिसभाको समानुपतिकतर्फ मात्रै मताधिकारको प्रयोग गर्ने जिल्ला कारागारका प्रमुख अर्जुनजङ्ग शाहले जानकारी दिनुभयो । उहाँले निर्वाचन आयोगले मागगरे बमोजिम कारागारबाट सात सय २६ बन्दीको नामावली पठाएको र नामावली पठाएकामध्ये १२ जनाको नामावलीमा नाम देखिए पनि अन्तिम नामावलीमा दुई जनाको मात्रै आएको जानकारी दिनुभयो । श्रेष्ठ करिब सात महिनादेखि पूर्पक्षका लागि कारागार चलान भएका थिए । उनको लागुऔषध कारोबारको मुद्दा रहेको छ । उनको मुद्दा अहिलेसम्म अदालतबाट फैसला भएको छैन । मोहम्मद करिब एक वर्षदेखि कारागारमा रहेका छन् । लागुऔषधसम्बन्धी मुद्दामा कारागार चलान भएका उनले कारागारमा १० वर्ष बिताउने जेलर शाहले बताउनुभयो । जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमा पन्तले अन्तिम नामावलीमा दुई जना बन्दीको मात्रै नाम भेटिएकाले उनीहरुले अस्थायी मतदाताका रुपमा मताधिकारको प्रयोग गर्न पाउने जानकारी दिनुभयो । उहाँले जिल्लामा नेपाली सेना, नेपाल प्रहरी, निजामति कर्मचारीसहित एक हजार छ सय ३१ जनाले अस्थायी मतदाताका रुपमा प्रतिनिधिसभाको समानुपातिकतर्फ मतदान गर्ने बताउनुभयो ।
कञ्चनपुर । आगामी प्रतिनिधि र प्रदेशसभाको चुनाव आउन केही साता बाँकी रहँदा उम्मेदवार घरदैलामा पुगेर मतदाता रिझाउनमा व्यस्त छन् । उम्मेदवार घर–घरमा पुगेर आफ्ना एजेण्डा मतदातालाई सुनाउँदैछन् । मतदाता घरदैलोमा आउने उम्मेदवारसँग गाउँबस्तीका समस्या दर्साउँदैछन् । मतदाताले आगामी पाँच वर्षका लागि कस्ता व्यक्तिलाई जनप्रतिनिधि चुनेर पठाउने भनेर मनस्थिति बनाउँदैछन् । महाकाली पारी दोधारा चाँदनी नगरपालिका–१ स्थित पूर्णागिरी टोलकी हरिना धामीले यसपटक जङ्गली जनावरको आतङ्क नियन्त्रण गर्ने उम्मेदवारलाई मतदान गर्ने बताउनुभयो । “बाँदर, बँदेलको समस्या बढी छ, खेती जोगाउन रातदिन जाग्राम बस्नुपर्छ”, उहाँले भन्नुभयो, “त्यसो गर्दा पनि बाली जोगाउन सक्दैनौँ, सबैभन्दा बढी समस्याका रुपमा जङ्गली जनावरको आतङ्क छ ।” वर्षौदेखि जङ्गली जनावरको समस्या झेल्दै आएको हरिनाले बताउनुभयो । उहाँको जमिन नेपाल भारत सीमा नजिक पर्छ, खेती नजिकै भारतपट्टी जङ्गल छ । “हाम्रो यो समस्या जसले सुनेर समाधानका लागि काम गर्छ, उसैलाई मतदान गर्छौंँ”, उहाँले भन्नुभयो । जङ्गलसँग जोडिएका दोधारा चाँदनीका अधिकांश बस्तीका किसानले हात्ती, बाँदर, बँदेललगायत जनावरको समस्या भोग्नुपरेको छ । स्थानीयवासीलाई जङ्गली जनावरबाट बाली जोगाउन हम्मेहम्मे पर्ने गरेको छ । वर्षाँैदेखि जङ्गली जनावरको समस्या भोग्दै आए पनि अहिलेसम्म समस्याको दिगो समाधान हुन नसकेको दोधारा चाँदनी–१ कै जग्गु धामीले गुनासो गर्नुभयो । “नेता चुनावका बेला आएर समस्या समाधान गर्ने आश्वासन दिनुहुन्छ”, उहाँले भन्नुभयो, “तर, चुनावपछि फर्किएर पनि हेर्दनन्, अर्को चुनावमा मत माग्न मात्रै आउँछन्, जङ्गली जनावरको समस्या ज्यूँका त्यूँ छ ।” दोधारा चाँदनी–३ की आशा राना क्षेत्री जङ्गलबाट आउने हात्तीले राति सुत्न नपाउने गरेको गुनासो गर्नुहुन्छ । “बालीनाली भएको बेला रातभरी सुत्न पाइँदैन”, उहाँले भन्नुभयो, “जङ्गली हात्तीले बितण्डा मच्चाउँछ, बाली त बचाउन सकिँदैन, भागेर ज्यान जोगाउनुपर्ने हुन्छ ।”
पोखरा: कास्की क्षेत्र नम्बर २ बाट जसै महादेव गुरुङले प्रतिनिधिसभामा उम्मेदवारी दिए, नेपाली कांग्रेस र गठबन्धनमा भुइँचालो गयो । तरपनि महादेवले उम्मेदवारी फिर्ता लिनेमा गठबन्धन विश्वस्त थियो । उनलाई उम्मेदवारी फिर्ता लिन स्वयं पार्टी सभापति शेरबहादुर देउवाले फोनमार्फत आग्रह गरे । तर त्यो आग्रहले पनि काम नगरेपछि अहिले गठबन्धनका साझा उम्मेदवार श्रीनाथ बराल तनावमा छन् । ‘सभापतिज्यूले नै फोन गरेपछि उहाँले फिर्ता लिनुहुन्छ भन्नेमा हामी ढुक्क थियौं’ नेकपा (एकीकृत समाजवादी) कास्कीका एक नेताले भने ‘तर उहाँले फिर्ता लिनुभएन, यसले हामीलाई समस्यामा पा¥यो ।’ यद्यपि, उनले बरालले नै जित्ने दाबी भने गरेका छन् । त्यसपछि नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पोखरा आएकाबेला महादेवलाई भेटेर आग्रह गरे । उक्त आग्रह पनि काम लागेन, नेपाल निराश भएर फर्किए । कांग्रेस र एसका प्रमुखले गरेको अनुरोध, आग्रहमा थोरै आश्वासन र लोभ देखाइएको महादेवले बताए । उनले भने, ‘मैले बार्गेनिङ् गर्न उम्मेदवारी दिएकै हैन, म सत्य र निष्ठाको राजनीतिमा लागेको मान्छे हुँ ।’ उम्मेदवारी दिएपछि फिर्ता गर्न अनुरोध गर्ने क्रममा कांग्रेसले ‘जे पनि दिन तयार’ रहेको जानकारी दिँदै महादेवले त्यसपश्चात् आफुलाई झनै साहस मिलेको बताए । ‘मलाई जे मागेपनि दिन तयार रहेको बताइयो’ महादेवले भने ‘तर मैले पद र पैसा लागि राजनीति गरेकै होइन भनिदिए ।’ त्यसपछि झनै चुनावमा होमिन बल मिलेको उनको भनाई छ । आजदेखि उम्मेदवारहरुले प्रचारप्रसारमा तीब्रता दिन थालेकोबेला महादेव भने सिद्धार्थचोक भन्दा केही उत्तरमा रहेको सय वर्ष पुरानो घरमा एउटा ब्यानर झुण्डाएर बसेका छन् । पुरानो घरको साँघुरो बरण्डामा २–४ थान कुर्सीसाथ महादेवसँगै अर्का उम्मेदवार दुर्गाप्रसाद कोइरालाले चुनावी मोर्चा सम्हालिरहेका छन् । कोइराला क्षेत्र नम्बर ३ बाट पुतली चिन्हमै स्वतन्त्र उम्मेदवार हुन् । ‘कति छ चुनावमा खर्च गर्ने पैसा ?’ भन्ने प्रश्नमा केही गम्भीर देखिएका महादेवले भने ‘तीन छोरीले २ लाख पठाए, साथीभाईले सम्पर्क कार्यालय खोलिदिए, ब्यानर बनाइदिए, मेरो खल्ती रित्तो छ ।’ तुरुन्तै सोधियो, ‘रित्तो खल्तीले चुनाव लडेर जितिन्छ र ?’ महादेवको जवाफ छ, ‘चुनाव जित्न पैसा हैन, शक्ति चाहिन्छ । र, इमानदारिता मेरो शक्ति हो ।’
जुम्ला: आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि निर्वाचन आयोगले हेलिकप्टरबाट जुम्लामा मतपत्र पुर्याएको छ । आयोगले नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेतबाट जुम्ला मतपत्र पुर्याएको हो । नेपाली सेना नन्दाबक्स गणका गणपति रविन थापाले आज दुई पटक सेनाको (एनए–०५५ इसियु इक्विरल) हेलिकप्टरले जुम्लामा मतपत्र ओसारेको जानकारी दिनुभयो । उहाँका अनुसार विपद्का कारण कर्णाली राजमार्गबाट सहजै ढुवानी गर्ने अवस्था नभएपछि हेलिकप्टरमार्फत मतपत्र ल्याउनुपरेको हो । “मतपत्र काठमाडौँबाट सुर्खेतसम्म गाडीमा ल्याइए पनि त्यहाँबाट हेलिकप्टरमा जुम्ला ओसार्ने काम भइरहेको छ”, गणपति थापाले भन्नुभयो, “स्थानीय तहको निर्वाचनमा ठूलो क्षमतको ट्रकमा ल्याएका थियौँ तर यसपटकको विपद्ले सडक साँघुरो भएकाले हेलिकप्टरबाट मतपत्र ओसार्नुपरेको हो ।” जिल्ला अदालत जुम्लाका न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले निर्वाचन आयोगको समन्वयमा कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट आज हेलिकप्टरमा समानुपातिकतर्फको एक लाख ५१ हजार मतपत्र जुम्ला आइपुगेको जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिनिधिसभा समानुपातिकतर्फ ७७ हजार र प्रदेशसभा समानुपातिकतर्फ ७४ हजार मतपत्र सुरक्षित तवरबाट जुम्ला आइपुगेको छ । अब समानुपातिकतर्फको चार हजार मत आउन बाँकी रहेको बताउँदै मुख्य निर्वाचन अधिकृत गौतमले भन्नुभयो, “जुम्लामा प्रतिनिधिसभका लागि प्रत्यक्षतर्फ ७६ हजार मतपत्र र प्रदेशसभा (क) का लागि ४१ हजार तथा प्रदेशसभा (ख) का लागि ३६ हजार मतपत्र माग गरिएको छ ।” आज सुर्खेतबाट हेलिकप्टरमार्फत प्रत्यक्षतर्फको मतपत्र जुम्ला ल्याइने उहाँले बताउनुभयो । जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी महेश शर्माले जुम्लामा आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि ६८ हजार छ सय ३८ मतदाता सङ्ख्या रहेको बताउनुभयो । उहाँका अनुसार प्रदेश (क) मा ३६ हजार सात सय ८३ र प्रदेश (ख) मा ३१ हजार आठ सय ५५ रहेको मतदाता रहेका छन् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार मुस्ताङ भ्रमणमा आउनुहुने भएको छ । राष्ट्रपति भण्डारीले त्यहाँको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै भगवान् बुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रपति शुक्रबार बिहान ८ बजे मुक्तिनाथ आइपुग्ने मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । “मूर्ति अनावरण र शिलान्यास समारोहमा सरिक भएर राष्ट्रपति भोलि नै फर्कनुहुन्छ”, उहाँले भन्नुभयो, “राष्ट्रपतिको भ्रमणलाई सुव्यस्थित बनाउने तयारीमा हामी जुटेका छौँ ।” राष्ट्रपतिबाट मुक्तिनाथको रानीपौवामा निर्माण गरिएको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’को पनि उद्घाटन हुने जनाइएको छ । राष्ट्रपतिको भ्रमणलाई लक्ष्य गरी सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिएको प्रजिअ शर्माले बताउनुभयो । राष्ट्रपति भण्डारीले गत वर्ष कात्तिकमा पनि मुक्तिनाथमा पूजाआज तथा यस क्षेत्रको भ्रमण गर्नुभएको थियो ।
गोरखा । नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा प्रदेशका ११ वटा जिल्ला भ्रमण सुरु गरेको छ । प्रदेशका सभापति शुक्रराज शर्मा सहितको टोली गठबन्धनलाई जिताउनको लागि आजबाट कार्यक्रम सहित भ्रमण सुरु गरिएको प्रवक्ता माधव प्रसाद बास्तोला (मधु)ले जानकारी गराए । गोरखा जिल्लामा भएको कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य अजयबावु सिवाकोटीले अब हाम्रो लक्ष्य भनेको गठबन्धनलाई जसरी पनि जिताउने तर्फ ध्यान केन्द्रित गर्न आग्रह गरे । नेपाली काँग्रेस गोरखाको पार्टी कार्यालयमा भएको भेटघाट कार्यक्रममा बोल्दै नेता सिवाकोटीले त्यस्तो कुरा बताएका हुन् । उनले अहिलेको चुनाव गठबन्धनको भएका कारण धेरै आकांक्षीहरुले चुनाव लड्न नपाएको र उनीहरुले विभिन्न कोणबाट बिरोध प्रकट गरेको भन्दै त्यस्ता क्रियाकलापले पार्टी र गठबन्धनलाई घाटा पुग्ने भएकाले तत्कालै त्यस्ता गतिबिधी रोक्न नेता सिवाकोटीले आग्रह गरे । नेता सिवाकोटीले त्यस्ता ब्यत्तिहरुको बारेमा गाउँ तह हुदै जिल्लाबाट केन्द्रिय कमिटीमा समेत कुरा आईपुगेको जानकारी गराउदै अरुको उत्साहटमा लागेर पार्टीलाई क्षति पु¥याउने काममा नलाग्न आग्रह गर्दै त्यस्तो गरेको पाइएमा पार्टी सदस्य समेत नरहने गरी कारवाही हुने जानकारी दिए । नेपाली काँग्रेसले संघमा ७४ सिटमा र प्रदेशमा पनि आधा भन्दा कम सिटमा सिमित भएर चुनावमा होमिनु र गठबन्धन बनाउनुको मुख्य कारण पटक पटक संविधानको उल्लघंन गर्दै प्रतिनिधी सभा विघटन गर्ने र संविधान च्यात्ने काम केपी ओलीले गरेको कारण यो जनमतकालागि गठवन्धनको निर्माण भएको बताए । कार्यक्रममा सहभागी हुन आएका नेपाली काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले गोरखाको चुनावमा प्रदेश साथमा रहेको सन्देश दिन आएको भन्दै हिजोसम्मका जनप्रतिनिधी सेवक हुन नसकेको तर गठबन्धनबाट चुनिएका सबै प्रतिनिधी तपाई हाम्रो सेवक हुने बताए । सभापति शर्माले हिजो समस्या लिएर जनता नेताका धाउने प्रचलन भएता पनि अब भने जनताको समस्या बुझन नेता जनताकै घरमा आउने बताए । ‘यो भन्दा पहिलो समस्या बोकेर हामी उनिहरुकोमा जानु पथ्र्यो’ भन्दै सभापति शर्माले भने ‘अब हाम्रो समस्या बुझ्न उनीहरु हाम्रो घरमा आउनेछन् ।’ सभापति शर्माले नेपाली काँग्रेस प्रदेशले एउटा संकल्प लिएर आएको जानकारी दिदै ‘अब हामीले ब्यक्ति केन्द्रित बिकासलाई प्रार्थमिकता नदिने हो भने देशको विकास नहुने’ भन्दै ‘देशको बिकास गर्न ब्यक्तिसंग भएको क्षमतालाई फ्लो गर्ने, ब्यक्तिको समस्यालाई संबोधन नगरी ब्यक्तिको जिवनमा परिवर्तन नआउने । ब्यक्तिको जिवनमा परिवर्तन नआइकन बिकासको अनुभुती नहुने रहेछ’ शर्माले भने । सभापति शर्माले अबको ५ बर्ष भित्र चुनाव जितेर गएकाहरुले जनताको जिवन शैलीमा कती परिवर्तन आयो भनेर जनताकै घरदैलोमा पुगेर सोध्न आउने बातावरणको र्सिजना गरिएको पनि बताए । त्यसैगरी उनले राष्ट्र बनाउनको लागि व्यक्तिले आफू भित्र रहेको अपार क्षमताको सदुपयोग गरेर अगाडी बढ्न सकेमा समाज र राष्ट्रको विकास हुने जानकारी गराएका थिए । उक्त कार्यक्रममा प्रदेशका सभापति शर्माले गण्डकी प्रदेशको संकल्प पत्र र झण्डा गोरखाका पार्टी सभापति नन्दलाल न्यौपानेलाई हस्तान्तरण गरेका थिए भने नेपाली कांग्रेस गण्डकी प्रदेश सुचना, सञ्चार तथा प्रचार–प्रसार विभागमा गोरखाका कैलाश वावु श्रेष्ठ र लमजुङका ऋषि अधिकारीलाई मनोनित गरिएको थियो । पार्टी सभापति नन्दप्रसाद न्यौपानेको सभापतित्वमा भएको भेटघाट कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका प्रवत्ता माधवप्रसाद बास्तोला, नेपाली काँग्रेस प्रचार प्रसार विभाग गण्डकी प्रदेशका उप–प्रमुख शिरोमणी बराल, नेपाली काँग्रेस गण्डकी प्रदेशका सदस्य पूर्णबहादुर दाहाल, बिनाकुमारी श्रेष्ठ, नेपाल प्रजातान्त्रिक लोकतान्त्रिक उद्योग बाणिज्य संघका सभापति चन्द्रकिशोर कर्माचार्य, कोषाध्यक्ष मिलन थापा, सदस्य जानुका अधिकारीका साथै कार्यकताहरुको समेत उपस्थिती रहेको थियो ।

