चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरी गन्तव्यमा जाने सवारी साधनहरुलाई आज बिहान ६ बजेदेखि बाटो खुला गरिएको छ ।   जिल्ला प्रहरी कार्यालय चितवनले आज बिहान ६ बजेसम्म नारायणगढ–मुग्लिन...

काठमाडौं:  नेकपा एमालेका नेता एवं काभ्रे २ बाट नवनिर्वाचित सांसद गोकुल बाँस्कोटाको भक्तपुरस्थित घर अगाडि भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । प्रेसर कुकरमा शंकास्पद देखिने गरी राखिएको वस्तु सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी परिसर, भक्तपुरका एसपी प्रजित केसीले बताए । कुकरमा विष्फोटक पदार्थ चाहिँ नभएको नेपाली सेनाका सहायक रथी नारायण सिलवालले बताए । सिलवालका अनुसार शंकास्पद वस्तुसँगै नेपालको राष्ट्रिय झण्डा र केही पर्चाहरु पनि भेटिएका छन् । प्रहरीका अनुसार एउटा पर्चामा कार्य मोर्चाको नाममा ‘उपत्यकाका ठूला नेताहरुलाई बाहिर भगाऔं’ उल्लेख गरिएको छ । ‘तर्साउन मात्रै खोजिए जस्तो देखिन्छ, कसले राखेको हो भन्ने विषयमा अनुसन्धान गरिरहेका छौं’, केसी भन्छन् । बाँस्कोटाको यही घर निर्माणाधीन भएका बेला २०७६ फागुनमा पनि बिस्फोट भएको थियो । त्यतिबेला नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले घटनाको जिम्मेवारी लिएको थियो ।

मंसिर ४ मा भएको मतदानपछि अब २ स्थानको मात्र मत परिणाम आउन बाँकी छ । हालसम्मको परिदृश्यले सरकार पुनः समीकरणको ढाँचामा बन्ने निश्चित भइसक्यो । फेरिपनि राजनीतिक गञ्जागोल त हुनेहैन भन्ने आशंका पनि उत्तिकै छ ।    यसैबीच, पोखराका पर्यटन व्यवसायीसँग अब बन्ने सरकारसँग कस्तो अपेक्षा छ ? भन्ने विषयमा धारणा बुझ्दा सबैले एकै स्वरमा अब आर्थिक अध्याय सुरु गर्न ढिलो भइसकेको प्रतिक्रिया दिएका छन् ।    ‘राजनीतिक अध्याय धेरै लामो भयो’ होटल बाराहीका कार्यकारी निर्देशक विप्लव पौडेलले भने ‘अब यतापट्टी हैन, आर्थिक अध्यायको सुरुवात गर्नुपर्छ ।’ पर्यटनमा निरन्तर लगानी विस्तार गरिरहेको बाराही ग्रुपका सञ्चालकसमेत रहेका पौडेलले कोरोना महामारीपछि अब देशमा राजनीतिक स्थिरतासँगै आर्थिक विकासमा सरकारले नीति बनाउनु पर्ने धारणा राखे ।    त्यस्तै, होटल संघ नेपालका पोखरा अध्यक्ष लक्ष्मण सुवेदीलेसमेत पौडेलकै भनाइमा समर्थन गर्दै देशमा विद्यमान बेरोजगारी र आर्थिक अभावलाई कम गर्न पर्यटन नै मूल आधार भएको टिप्पणी गरे ।    यससँगै सुवेदीले देशको अर्थतन्त्रलाई टेवा दिन रिन खोज्दै पर्यटनमा लगानी गरेपनि विषम परिस्थितिमा बैंकले ब्याज बढाएर निर्मम प्रहार गरेको बताए । पर्यटन व्यवसायलाई उकास्न सरकारले प्याकेजको व्यवस्था गर्न सुवेदीले माग गरे ।    होटल पोखरा भिलेज प्रालिका प्रबन्ध निर्देशक हरि शर्माका अनुसार कुनैपनि सरकारले हालसम्म पर्यटनलाई बुझ्न नसकेको दुखेसो पोख्छन् । शर्मा भन्छन्, ‘पर्यटन व्यवसायीलाई आफुमात्रै कमाउन व्यापारमा लागेको सरकारको बुझाई छ, कठिन मोडमा पनि व्यवसायलाई निरन्तरता दिएको सम्बन्धित निकायले बुझ्न सकेन ।    राजनीति अस्थिरताले पर्यटन क्षेत्र सबैभन्दा बढी मारमा परेको बताउँदै शर्मा अब आर्थिक क्रान्तिका लागि पर्यटनको विकल्प नभएको बताउँछन् ।    पर्यटनमा लामो समय खर्चिएका भरत पराजुलीका अनुसार पर्यटन आकर्षित गर्न सक्ने पूर्वाधारको अभाव मुख्य समस्या हो । होटल पीस प्लाजाका प्रबन्ध निर्देशक पराजुलीले व्यवसायीहरुको पूर्वाधार र परिश्रममा राज्यले करमात्रै असुल्न खोजेको जनाए ।   ‘राज्यले यथोचित भौतिक पूर्वाधार निर्माणमा जोड नदिँदा धर्तीको स्वर्गमा अझैपनि पर्यटक आउन सकेका छैनन्’ पराजुली भन्छन् ‘हाम्रो सम्पूर्ण भूगोल पर्यटककालागि आकर्षक गन्तव्य हुन्, तर त्यहाँ पूर्वाधार अभावले आकर्षण छ्रैन ।      चारै व्यवसायीले सरकारलाई पटकपटक दरिलो आर्थिक नीति निर्माण ध्यान दिन सुझाएपनि कुनै कार्यक्रम नआएको जनाए । अबको सरकारले आर्थिक र पर्यटनमा विशेष नीति र योजना ल्याउनेछ भन्ने अपेक्षा भएकोसमेत उनीहरुको भनाई छ ।      व्यवसायीहरुले भने ‘आगामी सरकारले आर्थिक अध्यायको थालनी गरोस्, सरकार बनेपछि हामी राजधानी पुगेर पुनः ध्यानाकर्षण पनि गराउँछौं ।  

पोखराः व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, पोखरा १२ विषयमा निशूल्क तालिम दिने भएको छ ।    तालिमका विषयमा ब्युटी पार्लर, कुक, इलेक्ट्रिसियन, फेशन डिजाइनिङ्, बुटिक, सिलाई–कटाई, प्लम्बिङलगायत रहेका छन् । ३ महिना सञ्चालन हुने तालिममा सहभागी हुन केन्द्रले ८ देखि १० कक्षा पास भएको हुनुपर्ने योग्यता कायम गरेको छ ।    त्यस्तै, सहिद परिवार, अपांग, द्वन्द्वपीडित, एकल महिला आदिलाई विशेष प्राथमिकता दिई आवेदनको लागि अनुरोध गरिएको छ ।    शिक्षा, संस्कृति, विज्ञान प्रविधि मन्त्रालयको पहलमा हुने तालिम सीप विकास केन्द्र पोखरामा हुनेछ । तालिममा सहभागी हुन इच्छुकले १५ दिनभित्र केन्द्रमा आवेदन दिनुपर्नेछ । 

बैतडीः   बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीका एक जवानको नाममा किटानी जाहेरी परेको छ । मृतक किशोरीका आफन्तले सशस्त्र प्रहरीमा कार्यरत शिवनाथ गाउँपालिका–४ का २७ वर्षीय भरत कोलीको नाममा किटानी जाहेरी दिएका हुन् । किटानी जाहेरीको आधारमा ती व्यक्तिको खोजीकार्य तीव्र पारिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो । मायाको बुधबार दिउँसो शिवनाथ गाउँपालिका–६ शिवनाथ मन्दिर नजिकै घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो । यस्तै सोही ठाउँकी १५ वर्षीया नेहा लुहार घाँटीमा धारिलो हतियार प्रयोग गरेर गम्भीर घाइते अवस्थामा भेटिएकी थिइन् । उनी पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सीमास्थित बालाडाँडामा रक्ताम्य अवस्थामा फेला परेकी हुन् । हाल उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । घाइते नेहाले दिएको वयानका आधारमा घटनामा संलग्न व्यक्तिको पहिचान खुलेको प्रहरीले जनाएको छ । माया र नेहा मङ्गलबार घरबाट लुगा सिउन भनी पञ्चेश्वरकै कुँलाउ गएका थिए । बुधबारसम्म पनि घर नफर्केपछि घरपरिवार र प्रहरीले खोजतलास गरेको थियो । खोजतलास गर्दै जाँदा बुधबार मायाको शव तथा नेहा घाइते अवस्थामा भेटिएकी हुन् । घटनाको अनुसन्धानका लागि बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाही नेतृत्वको टोली दुई दिनसम्म घटनास्थलमै बसेको थियो । माया हालै सम्पन्न निर्वाचनमा म्यादी प्रहरीसमेत थिइन् । प्रहरीले घटनास्थलबाट मायाको मोबाइल, चक्कुलगायतका सामग्री बरामद गरेको छ । बरामद गरिएका सामग्रीबाट थप कुरा खुल्ने प्रहरी नायब उपरीक्षक शाहीको भनाइ छ । मायाको शव परीक्षणपश्चात आफन्तलाई बुझाइएको छ । परीक्षण रिपोर्ट भने सार्वजनिक गरिएको छैन ।

पोखराः पूर्वअर्थमन्त्री रहिसकेका नेपाली कांग्रेसका युवानेता उदयशमसेर राणाले संसदीय दलको नेतामा शेरबहादुर देउवालाई समर्थन गर्ने स्पष्ट पारेका छन् ।    अर्का युवानेता गगन थापाको पक्षमा लबिङ् सुरु भएपछि राणाले आफ्नो समर्थन पार्टी अध्यक्ष देउवालाई हुने बताए । पारिवारिक घुमघाममा पोखरा आइपुगेका राणासँग यस विषयमा प्रतिक्रिया माग्दा उनले उक्त भनाई राखेका हुन् ।    ‘संसदीय दलको नेता भन्नुको अर्थ प्रधानमन्त्रीको दाबी हो’ राणाले भने ‘मेरो सिधा समर्थन शेरबहादुर दाइलाइ हुनेछ ।’ ललितपुर क्षेत्र नम्बर १ बाट नेकपा एमालेका उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गरेका राणाले अब बन्ने सरकार लोकतान्त्रिक गठबन्धनकै हुने भएकाले गठबन्धन चलाउने क्षमता देउबासँग मात्रै भएको दाबी गरे ।    कांग्रेसभित्र प्रभावशाली मानिएका अर्का युवानेता गगन थापाले माहौल बनाउन सुरु गरेपनि उनले अहिले नै हतार गरेको राणाको टिप्पणी छ । विश्वप्रकाश शर्मालगायतले थापालाई समर्थन गर्ने चर्चा चलिरहेपनि त्यो आधिकारिक भनाई भए/नभएको स्पष्ट हुन नसकेको राणाको ठहर छ ।    यद्यपि, थापाले स्पष्टरुमा संसदीय दलको नेतामा दाबी गर्ने बताइसकेका छन् । स्वयं युवानेता भएर थापालाई किन समर्थन नगर्ने ? भन्ने जिज्ञासामा राणाले अहिले राजनीतिक अवस्था प्रतिकुल नभएकाले यस्तो अवस्थामा देउवाबाहेक अन्य नेता उपयुक्त हुन नसक्ने उनको दाबी छ ।    ‘हाम्रो बहुमत छैन, अझ भनौं कसैको पनि छैन’ राणा भन्छन् ‘यस्तो जटिल अवस्थामा कम्युनिष्टलाई साथ लिएर हिँडन् शेरबहादुर दाइबाहेक अन्यको हुति छैन ।’   राजनीतिक वृत्तमा कांग्रेसले एमालेसँग पनि सरकार बनाउँन सक्छ भन्ने विषयलाई उनले ठाडै नकारे । राणा भन्छन्, ‘अरु कुनैपनि दलसँग मिलिएला तर एमालेसँग नो चान्स ।’   यसै प्रसंगमा कास्की जिल्ला एमालेको लालकिल्ला भएको विषयमा राणाले जिल्ला र प्रदेशको नेतृत्वले हारको समीक्षा गर्नुपर्ने उल्लेख गरे ।     ‘कास्की जित्छौं भन्ने रिपोर्ट पुगेको हो, कहाँ–के भयो जिम्मेवार नेताले समीक्षा गर्नुपर्छ ।’

काठमाडौं:  निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत स्याङ्जा क्षेत्र नं २ र बाजुराको मतगणना गर्न निर्देशन दिएको छ । यही मङ्सिर ४ गते भएको निर्वाचनमा ती दुई क्षेत्रको मतदान गणना अघि बढ्न सकेको थिएन । त्यहाँ पुनः मतदानमा नजाने निर्णयसँगै अब मतगणना प्रक्रिया सुरु हुने आयोगले जनाएको छ । 

पोखरा:  कास्कीमा यस पटकको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा करिब पाँच प्रतिशत मत बदर भएको छ । तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा कूल दुई लाख ९१ हजार पाँच सय ६८ मतदाता रहेकामा प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ एक लाख ७८ हजार आठ सय छ मत खसेकोे थियो । त्यसमध्ये सदर मत एक लाख ७० हजार तीन सय ४४ र बदर मत आठ हजार चार सय ६४ रहेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो ।  त्यस्तै प्रतिनिधिसभाको समानुपातिकतर्फ तीनवटै निर्वाचन क्षेत्रमा गरी छ हजार सात सय ३८ मत बदर भएको छ । जिल्लाको प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ छ हजार २० मत बदर भएको छ भने समानुपातिकतर्फ १० हजार तीन सय ८५ मत बदर भएको छ ।

पर्वत:   विश्व साइकलयात्री अजित बरालले पर्वतमा सञ्चालित जिपलाइनमा पहिलोपटक साइकल कुदाउनुभएको छ ।  कुश्मास्थित जिपलाइनमा उहाँले मङ्गलबार साइकल कुदाउनुभएको हो ।  जिपलाइनमा साइकल कुदाउने काम पहिलो भएको बराल बताउनुहुन्छ । “अहिलेसम्म जिपलाइनमा साइकलबाट कसैले पनि यात्रा गरेको छैन”, उहाँले भन्नुभयो । साइकल हावामा कुदाएको जस्तो अनुभव भएको बरालले बताउनुभयो ।  पर्यटकीय सहर पोखराको लेकसाइडका बासिन्दा ३४ वर्षीय बरालले १० वर्षकै उमेरमा पोखराबाट काठमाडौँसम्म साइकलबाट यात्रा गरेपछि उहाँलाई साइक्लिङको नसा चढेको हो । त्योबेला पोखराबाट चार दिनमा काठमाडौँ पुगेपछि साइकलबाट यात्रा गरेरै बरालले विश्व घुम्ने योजना बनाउनुभयो । बरालले अहिलेसम्म विश्वका ७१ देशको साइकलबाटै यात्रा गर्नुभएको छ ।  बराल साइकल लिएर प्याराग्लाइडिङ, तिलिचो तालबाट कास्कीको सिक्लेसमा रहेको कपुचे ताल, कुरीडाँडा र लमजुङको दूधपोखरी पनि साइकलमा नै पुग्नुभएको छ । उहाँले एकै दिन साइकलबाट तीन सय किलोमिटर यात्रा तय गर्नुभएको छ ।    साहसिक पर्यटनका लागि नेपालकै पहिलो रोजाइको गन्तव्य बन्दै गएको पर्वतको कुश्मामा एकपछि अर्को साहसिक र रोमाञ्चक खेल थपिने क्रम जारी छ । बरालको जिपलाइनमा गरेको साइकलयात्राले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने जिपलाइनका कार्यकारी निर्देशक सुनिल बानियाँको विश्वास छ ।

सहकारी अभियन्ता, चलचित्रको नायक, पत्रकार हुँदै व्यवसायमा लम्किरहेका बोधराज रेग्मीको पोखरामा धेरथोर नाम थियो, दाम थियो । भविष्य उज्यालै थियो । यस्तै उज्यालोबीच पनि उनी यदाकदा अँध्यारोमा रुमलिन्थे । कारण थियो, देशको धमिलो राजनीति ।    राजनीतिलाई ‘धमिलो’ भनेर गफ चुट्दै बस्न मनले नदिएपछि उनी विकल्पको खोजीमा थिए । यसैबीच, पूर्वसञ्चारकर्मी रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नामक दल दर्ता गरे । पार्टीको एजेण्डा, सिद्धान्त र लक्ष्य समयसापेक्ष लागेपछि बोधराज उतै जोडिए ।    त्यसो त देशमा संकट र अभावको खबर सुनेपछि गच्छेअनुसार दाल चामल र लत्ताकपडा बोकेर सहयोग गर्न हिँड्ने र लायन्सको नेतृत्वसमेत गरिसकेकाले बोधराजलाई सेवाभावमा छुट्टै आनन्द आउथ्यो । सोही ‘सेवा’लाई संस्थागत गर्न पनि उनी राजनीतिमा जोडिए ।    उनी जोडिएनन् मात्र गृहजिल्लामा पार्टीलाई आफैसँग लगे । र, सुरु गरे संगठन विस्तार ।  गत साउन ७ गते गण्डकी प्रदेश भेलाबाट पार्टीमा जोडिएका उनलाई त्यसपछि फुर्सद भएन । प्रदेश प्रवक्ताको जिम्मेवारीसहित प्रदेशका जिल्लामा पनि उनी पुगे । संगठन निर्माणमा खटिँदा तत्स्थानका समस्या, स्थानीयका चाहना र अपेक्षा पनि बुझ्न पाए ।    पार्टी निर्वाचनमा जाने भएपछि स्याङ्जा १ मा कसलाई उम्मेदवार तोक्ने भन्नेमा प्राइमरी इलेक्सन भयो । जहाँ ११ आकांक्षीबीच बोधराजको नाम फाइनल भयो । त्यसपछि उनलाई २ महिना पोखरामा भेटिएन ।    चुनावी परिणाम सार्वजनिक भएपछिको एक घमाइलो दिन उनै बोधराजसँग गफिने साइत जु¥यो ।    चिया चुस्कीसँगै  ‘चुनाव हारिएछ नी !’ भन्ने जिज्ञासामा बोधराजले केही गम्भीर भावमा जवाफ फर्काए, ‘म हारेपनि, देश अब जित्ने बाटोमा हिँड्नेछ ।’   प्रायः चलचित्र पत्रकारकारुपमा बढी नजिकिएका बोधराजको जवाफ कुनै जिम्मेवार राजनीतिज्ञको झैं लाग्यो । उनको जवाफले प्रतिनिधिसभातर्फ ७ सिट जितेर पाँचौ अनि समानुपातिकतर्फ करिब ११ लाख मत पाएर चौथो स्थानमा रहेको इंगित गरिरहेको थियो ।    चुनावी प्रचारताका विपक्षी कार्यकर्ताहरुले ‘जित्न हैन, भोट काट्न उठेको’ भन्थे । ठूला भनिने दलहरु बोधराजलाई ‘प्रतिष्पर्धी’ ठान्दैनथे । तर कर्म र मर्मको राजनीतिमा लागिसकेका बोधराजले आफैमाथि विश्वास गरे । विदेश जान खुट्टो उठाएकालाई गाउँमै रोक्न कृषि र पर्यटन नै मूल आधार हो भन्दै मतदाताको दैलोमा पुगे ।    ‘स्याङ्जा सरकारी जागिरेको जिल्ला हो तरपनि राजनीतिमा सोंच बदलिएको रहनेछ’ उनी भन्छन् ‘वंशजको राजनीतिले गाडेको जरो अलि गहिरै रहेछ ।’ यद्यपि, अघिल्लो पुस्तामा देखिएको वितृष्णा र पछिल्लो पुस्तामा देखिएको आशले उनलाई हौस्याइरह्यो ।      चुनावी घरदैलोबीच आँधिखोला पुग्दा ९६ वर्षीय मतदाताले सुनाएको कुराले उनलाई राजनीतिमा लाग्न झनै प्रेरित गरेछ । वृद्धले भनेछन्, ‘जवानीदेखि अहिलेसम्म मैले भोट हालिरहे, खोइ परिवर्तन ?’ बोधराजसँग फर्काइहाल्न लायकको उत्तर त थिएन तरपनि भोट खेर नजानेमा विश्वस्त भएछन् । पछि हिँड्नेबेला उनले भनेछन् ‘बाबु, तिमिलाई मेरो आशिर्वाद ! जित्नुपर्छ है ।’ बोधराजले सुनाए, ‘मैले झनै गह्रुँगो जिम्मेवारी लिएर फर्किए ।’     चुनावी दौडाहाकै अनुभव सुनाउनेक्रममा फेदिखोला २ मा पुग्दा ९७ वर्षीया वृद्धाले ‘जितेको समचार सुन्न पाउँ है, भन्दै आशिर्वाद दिएकी रहिछन् । तर भोलीपल्ट उनको मृत्यु भएछ । केही मलिन मुद्रामा बोधराज भन्छन्, ‘मलाई जितको आशिर्वाद दिने आमाले म हारेपनि देशले जित्ने समाचार सुन्न पाउनु भएन ।’   चुनावमा होमिँदा युवा पुस्ताले साथ त दिए नै ५ दशकमाथिका मतदाताहरु पनि नयाँ पुस्ता राजनीतिमा आयो भनेर हौसला दिएको उनी बताउँछन् । त्यस्तै, बोधराजलाई घरपरिवारको पनि उस्तै साथ रह्यो । ‘बुवाले विदेश जा, सरकारी जागिर खा, कहिले भन्नु भएन, बोधराजले सुनाए ‘चुनावमा उठेपछि भ्याएसम्म बुवा आफै प्रचारमा हिँड्नुभयो, भोट मागिदिनु भयो ।’   ‘चुनाव सकियो, खेलो पनि सकियो कि ?’ भन्ने प्रश्नमा उनले ‘खेलो हैन, खेल अब सुरु भएको’ जवाफ दिए । जनताले मत हैन विश्वास दिएको बताउँदै उनले जनमतको सम्मान गर्न र खबरदारी गर्न अब निरन्तर राजनीतिमा लाग्ने उल्लेख गरे ।    ‘म अब निरन्तर राजनीतिमा छु, जनताबीच छु’ बोधराजले भने ‘म मेरो मतदातालाई जिताउन हरसम्भव आफ्नो ठाउँबाट लाग्नेछु ।’ ६ हजार ६५ मतकासाथ तेस्रो भएका बोधराजको पार्टीले समानुपातिकतर्फ भने ११ हजार २७६ मत ल्याएको छ । मतसँगै आगामी चुनाव जित्ने जिम्मेवारी पनि थपिएको छ ।    यस निर्वाचनबाट देखिने खालको परिवर्तनबारे राखिएको अन्तिम जिज्ञासामा बोधराजले उत्साही हुँदै भने, ‘राजनीतिलाई डर्टी गेम भन्दै पर बस्ने रुचाउने युवा पुस्ता अहिले घन्टी बजाउँदै सफा गर्न तम्सिएका छन् ।’   (कुराकानीमा आधारित)