०४४ साल जेठको २८ गते श्रीमति विष्णुदेवीसहित गिरिधारी कँडेल पोखरा रामबजारस्थित भारतीय पेन्सन क्याम्पमा पुगे । भारतीय सेनामा पेन्सन पकाएका गिरिधारी पेन्सन थाप्नै श्रीमतीसहित त्यहाँ पुगेका थिए । तर त्यस दिन पेन्सन थाप्न कँडेल दम्पत्तीसहित अन्य २ जोगी पनि थिए । जो सँगै अघिल्लो रात पोखराकै पृथ्वीचोकको एक होटलमा बसेका थिए । गिरिधारीले ६ हजार रुपैयाँ पेन्सन थापेपछि ३ हजार विष्णुदेवीलाई दिएर आफु हरिद्वारका जोगीसँगै मानसरोवर यात्रामा निस्कने सुनाए । छुट्नेबला विष्णुले सोधिन् ‘कहिले फर्कनुहुन्छ ?’ ‘फर्कन्छु’ गिरिधारीले यति भनेर बाटो लागे । विष्णुदेवी गह्रुँगो पाइला लिएर घर फर्किइन् । ......................................................................................... घरको भित्तामा श्रीमान्सँगको युगल तस्बिर टाँगिएको थियो । सोही तस्बिरले उनलाई अतीतमा फर्कायो । ०२३ सालमा गिरिधारीले विष्णुलाई स्याङजाको हरिनासबाट तनहुँको भिमाद गाउँ पञ्चायत वडा नम्बर २ स्थित घरमा भित्र्याएका थिए । दुईबीच उमेरमा १४ वर्षको फरक भएपनि मायाको कुनै साँध र सिमाना थिएन । सर्लक्क मिलेको जीउडालका गिरिधारीले सँगै पल्टन पनि लगे । उता र यता गरेर ५ सन्तान भए । जसमध्ये ३ छोरा र २ छोरी हुन् । सेनामा हुँदा गिरिधारीको मन अध्यात्मतर्फ ढल्कँदै गयो । पछि रिटायर्ड भएर घर फर्किएपछि उनी बेलाबेला विभिन्न धाम, तीर्थस्थलमा महिनौ बिताउँथे । उनको पेन्सनबाट विष्णुले घर धान्दै, बालबच्चा हुँर्काउन थालिन् । पतिको अभावमा घर धान्न गाह्रो त थियो नै तर उनको बाटोमा तगारो बन्ने चाहना विष्णुको थिएन । गिरिधारी तीर्थ र धामबाट फर्किएपछि पनि फेरि उतै जाने ध्याउन्नमा हुन्थे । त्यसरी जाँदै, आउँदै गर्ने क्रममा २ जोगीसँग मानसरोवर हिँडेपछि आज ३५ वर्ष भयो विष्णुदेवीले आफ्नो सिन्दुर नभेटेको । ................................................................................................. श्रीमान् हिँडेको दिन, महिना हुँदै वर्ष बितेपछि विष्णुको छटपटी बढ्दै गयो । छिमेकी, आफन्त, नातागोगासँगै प्रहरी प्रशासनसमक्ष पुगिन् । सबैतिरबाट खोजी हुन थाल्यो तर गिरिधारी भेटिएनन् । भारतीय सेनामा भएका छोराहरुले भारतका विभिन्न धाम र तीर्थस्थलमा खोजी जारी राखे तैपनि गिरिधारीको पत्तो पाइएन । यसबीच, कसैकसैले गिरिधारी भारतको हरिद्वारमा भेटिएको बताए । कतिपयले नेपालकै देवघाट, पशुपतिनाथ, तनहुँतिर देखेको बताए । तर प्रमाण कसैसँग थिएन । यसबीच, चिना हेराउने, शान्तिस्वस्ती गर्ने, पूजापाठ लगाउनेदेखि ज्यान र परिवारले सकेसम्म गरे । श्रीमान्सँग खिचेका फोटा बोकेर चाहर्दै पनि हिँडिन् । उमेरले ७० वर्ष पुगेकी विष्णुदेवि अतीतको याद बोकेर चारै दिशा पुगेपनि हात नलागेपछि उनकाे अन्तिम प्रयास मिडिया हुन पुगेको छ । यसैक्रममा सुनगाभा न्यूजसँग कुरा गर्दै विष्णुदेवीले अतीत कहेकी छिन् । श्रीमान्सँगको तस्बिर सहित २ वर्षअघि स्याङ्जामा आफन्तले अनुमानको भरमा लुकेर खिचेको तस्बिर लिएर विष्णुमायाले अपील गरेकी छिन् । २ वर्ष अघि स्याङ्जाको टिकाजामा रहेका आफन्तले मोबाइलबाट लुकेर खिचेको एक सन्यासीको फोटो देखाएपछि विष्णुदेवी अब श्रीमान् पक्कै भेटिनेछन् भन्ने आशामा बुढ्यौलीले थाकेका गोडामा पुनः उर्जा थप्दैछिन् । ‘मेरा श्रीमान् जिउँदै छन्’ रसिलो आँखा लिएर उनले भनिन् ‘चिना हेराउँदा उहाँको आयू ९० वर्ष देखिएको छ, कुनैदिन भेटिनेमा विश्वस्त छु ।’ श्रीमान्को जन्म वि.सं १९९७ गते मंसिर १९ गते भएको र अहिले ८३ वर्ष पुगेको उनले जनाइन् । आफ्नो आयू पनि लामै रहेको भन्दै विष्णुदेवी जीवनको अन्तिम क्षणसम्म श्रीमान्कै प्रतीक्षामा छिन् । कुराकानीको अन्त्यमा विष्णुदेवीले श्रीमान्को तस्बिरहरु देखाउँदै भनिन् ‘उहाँ ८४ पुग्ने बेला हुन लाग्यो, चौरासी पूजा गरिदिने इच्छा छ, लौन कसैले भेटाइदिनु हुन्छ कि ।’ भिडियाे: -
काठमाडौं: नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेका महामन्त्री गगनकुमार थापाले आफ्नै समूहका सांसदहरूको समेत मत पाएनन् । दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री थापाबीच प्रतिस्पर्धा भएको थियो । संस्थापन समूहका ५९ र शेखर समूहका ३१ सांसद थिए । महामन्त्री विश्वप्रकाश शर्मा र संस्थापन समूहबाट महामन्त्री लडेका प्रदीप पौडेलले समेत साथ दिएकाले कम्तिमा पनि ४० प्रतिशत मत कट्ने शेखर समूहको विश्लेषण थियो । तर बुधबार बिहान भएको मतदानमा देउवा ६४ मतका साथ दलको नेतामा निर्वाचित हुँदा गगनले २५ मत मात्र पाएका छन् ।
पोखराः घडीमा बिहानको १० बज्यो, कार्यालय सहयोगीले घण्टी बजाए । विद्यार्थीहरु विद्यालयको प्रांगणमा प्राथनाका लागि लाइनमा बसे । प्राथना लागि लाइनमा १२ विद्यार्थी मात्र सहभागी थिए । कुनै समय १ सय ६६ जना विद्यार्थीहरुले भरिने प्रांगणमा अहिले १२ जना विद्यार्थीहरु मात्र बिहानको प्रार्थनामा उभिए । उल्लेखित दृश्य हो, कास्कीको अन्नपूर्ण गाउँपालिका ७ लान्द्रुकस्थित लान्द्रुक आधारभुत विद्यालयको । बालबिकाश केन्द्र हुँदै कक्षा ५ सम्म पढाई हुने विद्यालयमा भर्ना भएका सबै विद्यार्थी विद्यालयमा भने आउँदैनन् । दुईवर्ष कोरोना भाइरसका कारणका गाउँ फर्किएका विद्यार्थीहरु यसै विद्यालयमा आएर अध्ययन गरेपनि अहिले उनीहरु पुनः शहरका विद्यालय नै फर्किएको लान्द्रुक आधारभुत विद्यालयका प्रधानाध्यापक नारायणदत्त त्रिपाठीले बताए । अन्नपूर्ण गाउँपालिका ७ लान्द्रुकका प्रायः विद्यालय पोखरा लगायतका सहरमा अध्ययनरत छन् । यहाँबाट अर्काे विद्यालय टोल्कामा रहेको हिमालयन माध्यमिक विद्यालय हो । जहाँ पुग्न करिब १ घण्टा हिँड्नुपर्छ । ‘कक्षा ५ देखि माथि पढ्न हिमालयन माविमै जानुपर्ने बाध्यता छ’ त्रिपाठीले भने ‘गाउँपालिकाले रिङरोडको अवधारणा अगाडी सारेको छ । योजना सम्पन्न भए गाउँमा स्कुल बस हालेर विद्यालयलाई मर्ज गर्ने सोचेका छौं ।’ त्रिपाठीका अनुसार योजना सम्पन्न भएपछि विद्यार्थीहरुलाई केही सहजता हुनेछ । विद्यार्थीहरु कम भएको कारण नै बालबिकास र कक्षा एकका विद्यार्थीहरुलाई एकैठाउँमा राखेर अध्यापन गराउँदै आएको प्रधानाध्यापक त्रिपाठीले बताए । ‘विद्यालयमा यस वर्ष भर्ना भएका विद्यार्थीको संख्या जम्मा १८ जना हो, प्रधानाध्यापक त्रिपाठीले भने, ‘भर्ना भएका सबै विद्यार्थीहरु विद्यालयमा आउँदैनन्, जसकारण बालबिकास केन्द्र र कक्षा एकका विद्यार्थीहरुलाई एकै ठाउँमा राखेर अध्यापन गराउँदै आएका छौं ।’ उनका अनुसार बालबिकास केन्द्रमा ३ जना, कक्षा १ मा २ जना,कक्षा २ मा ३ जना, कक्षा ३ मा ६जना कक्षा ४ मा ४ जना र कक्षा पाँचमा ३ जना भर्ना भएका छन् । कक्षा ५ मा ३जना विद्यार्थी भर्ना भए विद्यालय नआउँदा कक्षा बन्द अवस्थामा रहेको छ । लान्द्रुक आधारभुत विद्यालयका प्रधानाध्यापक त्रिपाठीले सहरीकरणको समस्याले गाउँको विद्यालयमा विद्यार्थीहरुको संख्या कम भएको भनाई व्यक्त गरे । ‘गाउँ अलि विकट नै छ, ढुवानी खर्च महंगो छ,पर्यटन हिसाब बाहेक अन्य क्षेत्रमा गाउँ पछाडी छ, उनले भने, ‘गाउँबाट शहर झर्नेको संख्या कम छैन्, बैदेशिक रोजगारीको पनि गाउँको प्रमुख समस्या हो ।’ श्रीमान् विदेश गए छोराछोरी पढाउन सहर झर्ने प्रचलनको असर गाउँमा परेको उनको गुनासो छ । ‘यहाँमात्र हैन गाउँका अन्य विद्यालयमा पनि संख्या न्यून छ’ उनले जनाए । विद्यार्थीहरुलाई आवासिय शिक्षामा जोड दिन सके गाउँबाट शहरमुखी अध्यापन अन्त्य हुने प्रधानाध्यापक त्रिपाठीको भनाई छ । ‘नेपालमा दोहोरो शिक्षा प्रणाली नै प्रमुख समस्या देख्छु, धनी पुँजीपति र सामान्य परिवारका छोराछोरीले पढ्ने विद्यालय फरक छ, उनले भने, ‘सबैलाई समान शिक्षा दिन आवासिय विद्यालयसँगै २४ घण्टा विद्यार्थीहरु शिक्षकको निगरानीमा राख्नसके यसबाट विद्यार्थीहरुले लाभ पाउनेछन् ।’ २०२१ सालमा स्थापना भएको विद्यालयको केही विद्यालय क्षेत्रको केही पुर्वाधार परिवर्तन भएपनि विद्यार्थीको संख्यामा भने केही वर्षदेखि संख्या घट्दो क्रममा रहेको छ । अहिले विद्यालय भवन रहेको जग्गा २०४५ सालमा गुरुदत्त र इन्द्रकला पौडेलले निशूल्क दान गरेका हुन् । कास्कीको अन्नपूर्ण गाउँपालिका ७ मा आधारभुत तहका ५ वटा र एक माध्यमिक तहसम्मका विद्यालय रहेका छन् । पहिले विद्यार्थी अहिले शिक्षक जलकबहादुर पौडेल लान्द्रुक आधारभुत विद्यालयका निजि स्रोतका शिक्षक हुन् । कक्षा ५ सय सम्म लान्द्रुक आधारभुत विद्यालयमा अध्ययन गरेका पौडेल अहिले सोहि विद्यालयमा अस्थायी शिक्षककारुपमा कार्यरत छन् । कक्षा ५ पछि ६ देखि १० सम्म टोल्कास्थित हिमालयन माविबाट एसएलसी पास गरेका पौडेलले उच्च शिक्षा र स्नातक तहको पढाई पोखराबाट पुरा गरेपछि विगत १५ महिनादेखि लान्द्रुक आधारभुत विद्यालयमा गणित र विज्ञान विषय पढाउँदै आएका छन् । स्यानीय कमल गुरुङले गाउँको विद्यालयमा गुणस्तरीयता शिक्षा नभएको भन्दै अभिभावकहरु शहर केन्द्रित विद्यालयमा विद्यार्थी भएको बताए । ‘गाउँको विद्यालय हो, हामीले पढ्ने समयमा १ सय ६० बढी विद्यार्थीहरु हुन्थ्ये, अहिले किन विद्यार्थी भएनन् भन्ने प्रश्न कसैले गरेनन्, गुरुङले भने, ‘गाउँको विद्यालयमा नै गुणस्तरीय शिक्षा प्रदान गर्न केही स्थानीयले आफ्नै खर्चमा शिक्षक समेत राखे त्यसलाई सही सदुपयोग गर्न सकिएन ।’ सोहीकारण अभिभावकहरु गुणस्तरीय शिक्षाको लागि शहर केन्द्रित भएको बताउँदै उनले गाउँमा निम्नवर्गीय परिवारका विद्यार्थीमात्र रहेको सुनाए ।
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ३ बुँदे सहमति कार्यान्वयन गर्न ल्याइएको अध्यादेश रोक्ने षडयन्त्र विरुद्ध आन्दोलनरत छ । पुस १ गतेदेखि सुरु गरेको देशव्यापी विरोधअन्तरगत नेकपा कास्कीले आज पोखराको उत्तरी क्षेत्रमा पर्ने पोखरा–बाग्लुङ राजमार्गमा चक्काजाम गरेको छ । नेकपाले उक्त राजमार्गअन्तरगत याम्दीपुलमा बिहान १० बजेदेखि १ घण्टा चक्काजाम गरेको कास्की सेक्रेटरी काजी गुरुङले जनाए । चक्काजामको निर्धारित समय सकिन लाग्दा नेपाल प्रहरी पुगेपनि कुनै बल प्रयोग र धरपकड नभएको भन्दै उनले शान्तिपूर्णरुपमा कार्यक्रम सफल भएको जानकारी दिए । आन्दोलनअन्तरगत हिजो साँझ अमरसिंह क्षेत्रमा मशाल जलुुस निकालेको थियो भने अघिल्लो दिनमा नगरक्षेत्रमा प्रदर्शन गरेको थियो । आन्दोलनका निर्धारित कार्यक्रम सकिएपछि आगामी दिनमा हुने कार्यक्रमबारे केन्द्रमा छलफल हुने सेक्रेटरी गुरुङ्ले जनाए ।
विश्वकपको उपाधि चुम्न अर्जेन्टिना बाधक बनेपछि कुनै प्रतिक्रिया नजनाएका फ्रेञ्च स्ट्राइकर किलियन एमबाप्पेले अन्ततः मौनता तोडेका छन् । एमबाप्पेले ट्वीट्मार्फत् ‘वी विल बी ब्याक’ अर्थात् हामी फेरि आउनेछौं भनेका छन् । उनको भनाई अनुसार फ्रेञ्च टोली आगामी विश्वकपकालागि पुनः तयार हुनेछ । एमबाप्पेले फाइनलमा ह्याट्रिक गरेपनि टाइब्रेकरमा देशलाई जिताउन सकेनन् । विश्वकपको फाइनल इतिहासमा सन् १९६६ मा बेलायती खेलाडी जिओफ हस्र्टपछि एमबाप्पेले ह्याट्रिक गरेका हुन् । अर्जेन्टिनासँग निर्धारित र थप समयमा ३–३ बराबरीपछि टाइब्रेकरमा ४–२ को गोल अन्तरले फ्रान्स उपविजेतामा चित्त बुझाउन बाध्य भएको छ ।
रविन्द्र माकाजु पोखराको इतिहासमा महिला जनप्रतिनिधिको चर्चा पर्दा सिद्धिकुमारी गौचनको नाम ऐतिहासिक एवं अविस्मरणीय छ । अहिले पोखराका ३३ वडामा १ जना वडाध्यक्ष महिला राधिका शाही योगी (वडा नं १७) छिन् । यसअघि ०७४ सालमा भएको स्थानीय निर्वाचनमा पोखरा महानगरपालिका वडा नं १ को अध्यक्षमा शारदा पराजुली निर्वाचित भईन् । अहिले जताततै महिला सहभागिता, आरक्षणको चर्चा, परिचर्चा हुने गर्दछ । यस अघिको निर्वाचनमा महिलालाई खासै सहभागी गराइदैनथ्यो । पहिला समाजमा शिक्षा र चेतनाको कमी हुँदा नारी घरबाहिर निस्कन सक्ने वातावरण थिएन । अनावश्यक रूपमा कुरा काट्थे, टीका, टिप्पणी गर्दथे । यस्तो विषम परिस्थितिमा सिद्धिकुमारी गौचनले २०३१ सालमा पोखरा नगरपालिका वडा नं। १ मा वडाध्यक्षको भूमिका निर्वाह गरिन् । उनको यस योगदानलाई धेरैले थकाली समुदायकी एक शिक्षित, चेतनशील जागरुक महिलाको संज्ञा दिए । जसले अहोरात्र आफ्नो श्रम, शीप, ज्ञानलाई टोलवासीको हितमा खर्च गरिन्, समुदायको सहयोग लिएर वडा कार्यालय भवन बनाइन् । वडाका हरेक पोलमा ट्युबलाइट राख्न कलाकार एवं बुद्धिजिवी जम्मा गरेर देउसी भैलो खेलियो । हरेक वडावासीका समस्यालाई आफ्नै सम्झेर सेवा गरिन् । उनको यस सेवा भावबाट धेरै मान्छे प्रभावित भए । उनले महिला जनप्रतिनिधि जनसेवामा झनै क्रियाशील हुन सक्छन् भन्ने सन्देश दिईन् । उनले सन् १९५७ मा अमेरिकाका २ ठूला सहर वासिङङटन डिसी र मेक्सिगन सिटीमा अन्तर्राष्ट्रिय युवा विचार आदानप्रदान प्रोजेक्टमा सहभागी भई खाद्य एवं पोषण, सिलाई बुनाई, गृहविज्ञान, महिला सीप विकास परियोजना जस्ता थुप्रै तालिम हासिल गरिन् । गृहविज्ञानमा विशेष रुचि राख्ने सिद्धि ग्राम विकास कार्यक्रम अन्तर्गतको प्रोजेक्टमा जागिरे पनि भईन् । उनी नेवारी, थकाली, गुरुङ, हिन्दी, अंग्रेजी भाषा जान्दथिन् । पिता डिठ्ठा मोहनप्रसाद र माता अविरकुमारीको सन्तानका वि.सं. २००० सालको वैशाख महिनाको १५ गते मुस्ताङको लेतेमा सिद्धि जन्मिए पनि उनको बाल्यकाल पोखरामा नै बित्यो । उनको विवाह २०१५ सालमा विश्वमोहन गौचनसँग भएको थियो । सानै उमेरदेखि विनम्र र सरल स्वभावकी सिद्धिले ०४६ सालपछि काठमाडौंको टेवहालमा सम्झना लज सञ्चालन गरिन् । जहाँ अधिकांश बास बस्नेहरु पोखे्रलीहरु हुन्थे । आतिथ्यता गरेर मीठो खाना खुवाउन थकाली खप्पिस हुन्छ भन्ने कुराको उदाहरण सिद्धीले पेश गरिन् । २ छोरा लेलिन र मानव, एक छोरी अम्बिकाकी आमा सिद्धि सबैका प्रिय थिईन् । उनले आफ्ना ससुरा सासूको स्याहार सुसार, सेवा सम्मानमा कुनै कमी आउन दिईनन् । उनका ससुरा रामबहादुर सिद्धिलाई पूर्वजन्मका आमासमेत भन्दथे । थकाली महिला परिवारको सचिवको भूमिका पनि निर्वाह गरेकी सिद्धि सामाजिक सेवामा रुचि राख्ने श्रीमान्लाई पनि प्रोत्साहन दिने गर्दथिन् । तर वि.सं. २०६७ साल कात्तिक १२ गते उनको भौतिक जीवन समाप्त भयो । उनले पुर्याएको सामाजिक सेवाका कारण उनको सम्झना लामो समयसम्म पोखरेलीले सम्झने छन् । नेपाल महिला संगठनकी केन्द्रीय सदस्यसमेत भइसकेका सिद्धिले अमेरिका, हङकङ लगायतका मुलुकको भ्रमण गरेकी थिइन् । उनको योगदानको कदर स्वरूप २०३९ सालमा तत्कालीन राजा वीरेन्द्रबाट उनले सेवा पदक पाएकी थिइन् । अहिले महिला हरेक क्षेत्रमा अगाडि आउँदै छन् । मञ्जु गुरुङ २ पटक पोखरा महानगर पालिकाको उपमेयर बनेकी छन् । त्यस्तै पोखरा क्षेत्र अर्थात् कास्की २ को संसद सदस्यमा २ पटक विद्या भट्टराई अधिकारी विजयी बनिन् । त्यस्तै गण्डकी प्रदेशको उपसभामुखमा सृजना शर्मा, सांसद शारदा पौडेल, कृष्णकुमारी परियार, गण्डकी प्रदेशको सभासदमा पुष्पा केसी भण्डारी, प्रभा कोइराला, मिना गुरुङको संलग्नतालाई पोखे्रली नारी प्रतिभाको रूपमा मान्यता दिइएको छ । पहिला पहिला नगर पञ्चायतले केही व्यक्तिलाई नगर सभासदको रूपमा मनोनित गर्ने चलन थियो । यसै क्रममा कृष्णकुमारी सुवेदी पहिलो नगर सभासद थिइन् । पछि महिला संगठनका तर्फबाट नगर सभासद बन्ने चलन आयो । तर जे होस् पोखराको पहिलो महिला जनप्रतिनिधिका रूपमा सिद्धिकुमारी गौचनको योगदानलाई स्वर्ण अक्षरले अंकित गरिएको छ । सिद्धिकुमारीको अप्रत्यासित निधनपछि उनका पति विश्वमोहनले सिद्धिको नाउँमा केही गर्न पाए हुन्थ्यो भन्दै सिद्धि शोककाव्य प्रकाशित गरे । साथै सिद्धि गौचन स्मृति कोष स्थापना गरे । सो पुरस्कारद्वारा डा. वसन्त ताम्राकार र उद्यमी महिला रामकली खड्का पुरस्कृत भइसकेका छन् ।
काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले ‘मेमोरी किङ’ का रूपमा परिचित अर्पण शर्मालाई बधाई तथा शुभकामना दिएका छन्। स्मरण शक्तिको विधामा दोस्रो विश्व रेकर्ड कायम गरेका अर्पणलाई प्रधानमन्त्री निवास बालुवाटारमा बधाई दिइएको हो। प्रधानमन्त्री देउवाले दोस्रो विश्व रेकर्ड राखेको जानकारी पाएपछि सोमबार उनलाई आफ्नो निवासमा बोलाउँदै बधाई ज्ञापन गरेका हुन्। शर्माले एक मिनेटमा ८३ वस्तुहरूको क्रम स्मरण गरेर दोस्रो विश्व कीर्तिमान कायम गरेका छन्। उनले आफ्नो ध्यान साधना र मेमोरी टेक्निकहरूको प्रयोगबाट कीर्तिमान राख्न सफल भएको बताए। ‘यो विश्व रेकर्डको प्रमाण पत्र मेरो मात्रै नभई सम्पूर्ण नेपालीहरूको भएको महसुस गर्दै आगामी दिनमा अझै वर्ल्ड रेकर्डहरू राखेर नेपालको नाम विश्व सामु फैलाउँछु,’ उनले भने। अर्पणले आफ्नो स्मरण शक्ति तालिमद्वारा विद्यार्थीहरूको पनि स्मरण शक्ति बढाई शिक्षा क्षेत्रमा मद्दत पुर्याइरहेका छन्। शर्माले यसअघि सन् २०१५ मा १ मिनटमा ४२ वस्तुहरूको क्रम स्मरण गरेर गिनिज बुकमा आफ्नो नाम लेखाएका थिए।
कालीकोट: कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकाका सबै सामुदायिक विद्यालय ब्रोडब्याण्ड इन्टरनेट सेवा दिइने भएको छ । नेपाल दुरसञ्चार प्राधिकरणले गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा इन्टरनेट सेवा जडान गर्न लागेको हो । प्रविधिमार्फत सामुदायिक विद्यालयमा शैक्षिक सुधार ल्याउनका लागि ब्रोडब्याण्ड इन्टरनेट सेवा दिने विषयमा गाउँपालिका र नेपाल दूरसञ्चार प्राधिकरणबीच सम्झौता भएको छ । गाउँपालिका र प्राधिकरणबीच समझदारी भएअनुसार तत्काल गाउँपालिकाका २१ वटा आधारभूत विद्यालयमा इन्टरनेट सेवा सुरुआत हुने गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीले जानकारी दिए । “स्थानीय तहले तत्काल प्रधानाध्यापकलगायत सरोकारवालाको भेलामा माइक्रो, फोरजी र फाइबरमध्ये कुन सेवा उपयुक्त हुन्छ सोही सेवाको इन्टरनेट सेवा विस्तार गर्ने भएको छ”, उनले भने, “सुरुमा सामुदायिक विद्यालय त्यसपछि सबै विद्यालयमा उक्त सेवा उपलब्ध गराइनेछ ।” विद्यालयमा उपलब्ध गराइने इन्टरनेट सेवाका लागि लाग्ने लागत प्राधिकरणले नै व्यहोर्ने सहमति भएको गाउँपालिकाका अध्यक्ष केसीले बताए । उनले भने, “यसका लागि प्राधिकरणले पहिलो चरणमा अध्यायन गर्ने भएको छ ।” सूचना प्रविधिबाट शिक्षण सिकाइ सुरु गर्ने सरकारको योजनाअनुसार नै गाउँपालिकाका सामुदायिक विद्यालयमा इन्टरनेट सेवा जडान गर्न थालिएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत प्रकाश बरालले जानकारी दिए । उनले भने, “परम्परागत शिक्षण विधिभन्दा सूचना प्रविधि विधिबाट शिक्षण गराउनु अहिलेको आवश्यकता हो ।”
धरान: धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफ्नो फेसबुक पोष्टमा प्रयोग भएको शब्द दलित समुदायलाई नराम्रो लागेको भन्दै माफी मागेका छन् । ‘मैले पोष्ट गरेको स्टाटसमा गाउँले ठट्यौली उखानको शैलीमा चमारे शब्द अप्रत्यासित प्रयोग हुन जाँदा दलित समुदायलाई नराम्रो लागेको यथार्थप्रति दुख व्यक्त गर्दै उक्त शब्दले धेरैलाई दुखी बनाएको रहेछ,’ उनले एक विज्ञप्ति निकालेर भनेका छन्, ‘त्यसका लागि क्षमाप्राथी छु ।’ उनले कसैलाई ठेस पुर्याउन नियतवश सो स्टाटस नलेखेको पनि स्पष्ट पारेका छन् । मेयर साम्पाङले आफूले समानताको भावनाको साथ सबै मिलेर देशलाई माथि उठाउनका लागि विकृति विसंगति बेथिति, भ्रष्टाचार, अन्याय, अत्याचार, विभेद, शोषण र दमनविरुद्ध लामो समय अभियान चलाएको पनि स्मरण गरेका छन् । मेयर साम्पाङले दलित समुदायलाई अवहेलना हुने शब्द प्रयोग गरेको भन्दै आलोचना हुँदै आएको थियो ।

