काठमाडौं: अमेरिकामा नेपाली दूतावासको रकम लु्टिएको छ ।अमेरिकास्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गरी गाडी तोडफोड गरी दूतावासको रकम लुटिएको जानकारी दिएको हो । दूतावासका अनुसार कन्सुलर सेवा शिविरहरूबाट संकलित मनी अर्डर र क्यासिएर चेकहरू लुटिएको हो । डिसेम्बर १५ देखि २० तारिखसम्म टेक्सासका डालस, अस्टिन र ह्युस्टन सहरमा सम्पन्न कन्सुलर सेवा शिविर सञ्चालनबाट प्राप्त रकम लुटिएको दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । शिविर सम्पन्न गरी ह्यस्टनबाट वासिङटन डीसी फर्किने क्रममा डिसेम्बर २२ रकम लुटपाट भएको विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘दूतावासका कर्मचारीहरू डिसेम्बर २२ का दिन ह्युस्टनबाट वासिङ्टन डिसीतर्फ जाने क्रममा पार्किङमा राखिएको सवारीसाधन तोडफोड गरी मनी अर्डर र क्यासिएर चेक लुटिएको छ। सुरक्षाकर्मीको सहयोगमा लुटिएको रकम फिर्ता ल्याउने प्रयास भइरहेको छ ।’ विज्ञप्तिमा के कति रकम लुटियो भन्ने खुलाइएको छैन । विज्ञप्तिमा दूतावासले यसबाट सेवाग्राहीमा पर्न जाने असुविधातप्रति क्षमा मागेको छ ।
पोखरा: पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभल २०२२ को दोस्रो दिन हरिबोल काफ्लेद्वारा लिखित पुस्तक यशोधराको लोकार्पण भएको छ । सिद्धार्थ गौतमको बुद्ध बन्ने यात्रामा यशोधराको भूमिका तथा त्यागको कथा रहेको उपन्यास शुक्रबार लोकार्पण गरिएको हो । पुस्तकका बारेमा बोल्दै समीक्षक तथा चिकित्सक जीवन क्षेत्रीले यो पुस्तकले गौतम बुद्धका बारेमा भनिँदै सुनिँदै आएका कथामा खाली रहेका ठाउँहरु भरेको बताए । उनले भने, ‘यो पुस्तक हातमा परेपछि पहिलेका खाली ठाउँ भरिएला भन्ने अपेक्षा थियो । जसमा लेखक सफल पनि हुनुभएको छ । सधैँ गौतम बुद्धको कोणबाट सुन्दै पढ्दै आएको कथा लेखकले यशोधराको कोणबाट लेख्नुभएको छ ।’ गौतम बुद्धसँगै पुस्तकले २५ सय देखि ३ हजार वर्ष अघिको सामाजिक अवस्था तथा द्वन्द्वको पनि चित्रण गर्ने उनले बताए । पुस्तकमा सिद्धार्थ गौतम र यशोधराले सँगै बिताएको समयमा केन्द्रित भएर यशोधराको कोणबाट यो पुस्तक लेखिएको छ । उनले भने, ‘यशोधरा र सिद्धार्थ बिचको प्रेम, साथमा बिताएको १४ वर्ष, दुई जना साथ साथै हुँदा पनि रहेको मनोवैज्ञानिक दुरी, सामान्य मानवीय सम्बन्ध नहुँदाको पिडा, दुई बाट तीन पात्र हुँदा यशोधरा गुज्रिनु परेको मानसिक अवस्थाको चित्रण पुस्तकमा छ । जुन सबैभन्दा प्रभावकारी पक्ष पनि हो ।’ सिद्धार्थ गौतम गौतम बुद्धहुनुमा भूमिका र त्याग रहेकी यशोधरालाई इतिहासले बिर्सनु दुःखद कुरा रहेको पनि उनले जिकिर गरे । साथै यो पुस्तकमा लेखक काफ्लेले सशक्त रुपमा यशोधरालाई ल्याएको पनि उनले बताए । यशोधरा पढ्दै गर्दै आफूलाई सुरुमा प्रेम, वियोग र प्रतिक्षाको कथाजस्तो लागे पनि त्योभन्दा बढी यशोधराको बलिदानको कथा रहेको शीतल दाहालले बताइन् । उनले भनिन्, ‘यो सिद्धार्थ गौतम भगवान नहुँदैको कथा हो । जहाँ एउटा लोग्ने घर छोडेर जान्छु भन्दा सामान्य परिवारमा अहिले जस्तो द्वन्द्व हुन्छ त्यस्तै अथवा त्यो भन्दा ठूलो त्यतिवेला दरबारमा हुन्छ ।’ मानिसहरु धर्मसँग डराउने भएकाले पनि यशोधराको प्रेम सधैँ छायाँमा रहेको पनि उनले बताइन् । यशोधरा सिद्धार्थलाई एकदमै धेरै प्रेम गर्थिन् । यहाँसम्म कि बादलमा समेत सिद्धार्थकै आकार देख्थिन् । उनले भनिन्, ‘तर हामी धर्मसँग डराउँछौँ । यशोधरा र सिद्धार्थको प्रेमको बारेमा बोल्न डराउँछौँ । उनीहरुले प्रेग गरे, उनीहरुको प्रेमका कारण छोरो राहुल जन्मियो भन्न डराउछौँ । हामी सिद्धार्थ गौतम पनि हामी जस्तै सामान्य मान्छे थिए भन्ने बिर्सन्छौँ र गौतम बुद्धले प्रेम गर्ने? भन्छौँ । त्यसैले गर्दा इतिहासले यशोधराको प्रेम, त्याग र बलिदान लुकाइ रह्यो । हामी न गौतम बुद्धको बाटोमा जान सकेका छौँ । न त यशोधरालाई स्विकार्न सकेका छौँ ।’ किताब सकिइसकेपछि यशोधरा पनि आफ्ना लागि तपस्वीजस्तो लागेको उनले बताइन् । उनले भनिन्, ‘यशोधरा यस्तो प्रेमिका हो जो नआउने प्रेमीलाई पर्खेर बसेको छ । आउँदैन, आए पनि मलाई स्विकार्दैन भन्ने थाहा हुँदा हुँदै पनि पर्खेर बस्नु पनि तपस्या गर्नु जस्तो होइन?’ यस पुस्तकबाट हिन्दु र वैद्यिक सभ्यताका साथै सांख्य दर्शन, तत्कालीन समाजको चित्रण पनि गर्ने प्रयास गरेको यसका लेखक हरिबोल काफ्लेले बताए । उनले भने, यस पुस्तकमा सिद्धार्थ गौतम गौतम बुद्धबन्ने प्रक्रियामा यशोधराको त्याग तथा पर्खाइको कथा त हो नै साथै यसले इतिहास, समाज, विविधताको परिकल्पना, तत्कालिन जीवन पद्धति, प्रताडनको अवस्थाको पनि चित्रण गर्न खोजेको छु ।
पोखरा: कानुनमा जातीय हिंसा अन्य भए पनि व्यवहारमा कार्यान्वयन नभएको अधिकारकर्मीले बताएका छन् । बुकवर्म फाउन्डेसनद्वारा आयोजित पोखरामा जारी दशौं नेपाल लिटरेचर फेस्टिबलको सामाजिक न्याय ः अग्रगमन कि पश्चगमनतर्फ ? विषयक सत्रका वक्ताले कानुनमा उत्कृष्ट व्यवस्था भए पनि कार्यान्वयन फितलो भएको भनाइ राखेका हुन् । पोखरा लेकसाइडमा बिहीबारदेखि सुरु भएको फेस्टिभलको दोस्रो दिन उक्त विषयमा छलफल भएको थियो । छलफलमा पूर्व सांसद तथा नेकपा एमाले पोलिटब्युरो सदस्य सुजिता शाक्य र अधिकारकर्मी प्रदीप परियारबीच अन्तरक्रिया भएको थियो । सत्रलाई किरण विकले सहजीकरण गरेका थिए । सत्रका सहजकर्ता किरण विक अधिकारकर्मी तथा पूर्वसांसद सुजिता शाक्यलाई प्रश्न गर्छन्, ‘अहिलेसम्मको समयमा सामाजिक न्यायको यो यात्रालाई कसरी हेरिराख्नुभएको छ ?’ जवाफमा शाक्य भन्छिन्, ‘विगतको तुलनामा अन्य मानवीयता विरोधी कुसंस्कार, विकृत संस्कारमा कमी हुँदै गएको छ । अहिले एक हिसाबले सकारात्मक छ । तर, समयक्रमअनुसार विभेद, हिंसा र शोषणका स्वरुप फरक हुँदै गएका छन् ।’ तर, उनी विगतको तुलनामा नेपालमा सामाजिक न्याय अग्रगमनतर्फ नै लम्किरहेको बताउँछिन् । उक्त सत्रमै अर्का वक्ता अधिकारकर्मी प्रदीप परियार भने कानुनी हिसाबमा सामाजिक न्याय प्राप्त गरे पनि व्यवहारमा नेपाली समाज पश्चगमनमै रहेको मत राखे । उनले अहिले सामाजिक न्यायको बाटो कहाँ पुग्ने बाटो निक्र्योल नहुँदासम्म समाज सप्तरंगी हुनै नसक्ने बताए । ‘हामी पुग्नुपर्ने बाटो कहाँ हो भनेर हेर्ने हो भने हामी पश्चगमनमा छौं,’ उनले भने । विश्वभर महिला पुरुषबीचकै विभेद हट्न अझै शताब्दी कुनुपर्ने विभिन्न अध्ययनले देखाइरहेका बेला समाजमा व्याप्त जातीय विभेल हट्न अझै अर्को सयौं वर्ष लाग्न सक्ने परियारको भनाइ छ । नेपाली समाजको इतिहास नै सामान्तवाद र पितृसत्ताबाट सुरु भएकाले नेपाली समाजको बनोटबीच नै खाडल रहेको पूर्वसांसद शाक्य बताउँछिन् । नेपाली समाजलाई सामाजिक न्यायपूर्ण बनाउन अझै पनि आन्दोलन चलिरहेको उनले सुनाइन् । ‘हामीले नेपालको इतिहास हेर्दा सदियौंदेखि समान्तवाद, पितृसत्ता भनेर चिनियौं । त्यसले गर्दा हाम्रो बीचमा खाडल सधैं रह्यो,’ शाक्यले भनिन्, ‘दलित, महिलासहित विभिन्न सीमान्तकृत समुदाय, उनीहरू जो श्रम गरेर खान्छन् ती समुदाय उत्पीडनमा परे । यसको विरुद्ध लामो समय आन्दोलन गर्दै आयौं । अझै आन्दोलन जारी छ ।’ वक्ता परियार नेपाली समाजमा दलित त्यसमा पनि मधेशी मूलका दलितले राज्यका नागरिकको अनुभव गर्नै नपाएको बताउँछन् । आफूले अझै पनि थुप्रै दलित समुदायका लागि नेपालमा सामाजिक न्यायको अनुभूति गर्न नपाएको उनको भनाइ छ । ‘रुकुममा भएको नवराजका, अंगिरा पासवानहरूका आमाबुवाको आँखाबाट हेर्ने हो भने त यो नेपालमा सामाजिक न्याय छैन,’ परियार भन्छन्, ‘उनीहरू, हामी सबैलाई यो देशप्रति असाध्यै माया छ । तर, नेपाल राज्य हाम्रो भइसकेको छैन । यो अनुभूति भइरहन्छ ।’ पछिल्लो समय केही थोक राज्य सञ्चालनको जिम्मेवारीमा पुगे पनि त्यसले मात्रै सींगो सीमान्तकृत समुदायको प्रतिनिधित्व गर्न नसक्ने परियार सुनाउँछन् । उनी भन्छन्, ‘केही परिवर्तन नभएको भने होइन । तर, केही सांसद, केही सिडिओ हुन परिवर्तनको खुड्किलो मात्रै हो । यो पर्याप्त होइन ।’ परियारले नेपालको संविधानलाई स्वीकार गर्दै उदाएका मुख्य राजनीतिक दलले पनि सामाजिक न्याय मान्न तयार नरहेको विचार राखे । आफ्ना घोषणा पत्रहरूमा सामाजिक न्यायलाई स्वीकारे पनि राजनीतिक दलहरूले त्यसलाई पुष्टि गर्न नसकेको उनले सुनाए । ‘नेपालको संविधान मान्छु भन्नेले पनि सामाजिक न्याय मान्न तयार छैन । व्यवहारमा राजनीतिक दलहरूले त्यो पुष्टि गर्न सकिराखेका छैनन्,’ परियारले भने, ‘सीमान्तकृत, दलित वर्गको आधा पनि हिस्सा राज्यको प्रशासनिक तहमा पुग्न सकेको छैन ।’ पूर्व सांसद एंव नेकपा एमाले पोलिटब्युरो सदस्य सुजिता शाक्यले राजनीतिक दलहरूभित्रै पनि संविधान कार्यान्वयनका लागि अन्तरसंघर्ष चलिरहेको बताउँछिन् । ‘पार्टीभित्र पनि मामी संविधानलाई पूर्ण रुपमा कार्यान्यन गर्न झकझकाइराखेका हुन्छौं । अन्तरविरोध चलिराखेकै हुन्छ,’ उनले भनिन् । शाक्यले लैंगिक हिंसा झर्झर अवस्थामा जान लागेको देखेरै आफूहरूले ०७० सालमा राष्ट्रिय सम्मेलन नै गरेर हिंसाका कारक तत्व खोज्न सुरु गरेको सुनाइन् । ‘त्यो राष्ट्रिय सम्मेलनमा हिंसाका कारकतत्व खोजेर कार्यपत्र बनायौं । निष्कर्ष निकालेर लैंगिक हिंसाविरुद्ध आचारसंहिता पनि बन्यो,’ उनले भनिन् । वक्ता प्रदीप परियार दक्षिण एसियाली मुलुकमा जातीय विभेद ठूलो समस्याका रुपमा रहे पनि ‘ग्लोबल इस्यु’ नबनेकोमा दुखेसो पोखे । उनले विश्वभर भइरहेका हिंसाका स्वरुपमध्ये सबैभन्दा निकृष्ट व्यहावहार दलित समुदायले व्यहोर्नु परेको उनको दाबी थियो । ‘दलित समुदायले हिंसाको पनि निकृष्ट व्यवहार भोग्नुपरेको छ । तर, यो ग्लोबल अजेन्डाका रुपमा स्थापित हुन सकेको छैन,’ उनले भने, ‘अन्तर्राष्ट्रि संघसंस्था तथा अधिकारकर्मीले पहिचान गर्न सकेका छैनन् ।’ उनले सामाजिक न्यायको पक्षमा रहेका दलित तथा गैरदलित समुदायले नै यो मुद्दालाई स्थापित गराउन लागिपर्नुपर्ने सुनाए । वक्ता शाक्यले राज्यको पुनर्संर्चनासँगै सामाजिक न्याय प्राप्तिका लागि जनशक्ति तथा स्रोतको उपलब्धता पनि प्राप्त भएको बताइन् । ‘हामीसँग स्रोत पनि छ, जनशक्ति पनि छ । अब इच्छाशक्तिमात्रै भयो भने सामाजिक न्याय प्राप्ति कार्यान्वयन गर्न समस्या नै हुँदैन,’ उनले भनिन् । उनले नेपालमा काुननी साक्षरतामा कमीसँगै कार्यान्वयनमा ठूलो समस्या रहेको विचार राखिन् । सामाजिक न्यायका लागि बालबालिकालाई नै सोहीअनुसार व्यवहार सिकाउनुपर्ने शाक्यको भनाइ छ । उनीहरूसँग गरिने सानो असल व्यवहारले पनि समानताका लागि ठूलो भूमिका खेल्ने उनले सुनाइन् । ‘अहिले केही राम्रो भइराखेको छ । तर, यो पनि पर्याप्त होइन । ५ वर्षभित्र जे सिक्छ, त्यही कुरा नै पछिसम्म लिएर जाने हो,’ उनले भनिन् ।
पोखरा: निकुञ्ज आसपासका क्षेत्रमा प्रशस्तै घरपालुवा हात्ती भेटिन्छन् । ती हात्तीको रेखदेख र खानपिन उसको मालिकले नै गर्छन् । तर, घरमा पाल्दैमा जंगली जनावार हात्ती घरपालुवा हुन्छ ? जीवजन्तुको आनीबानीबारे जानकार लेखक ददि सापकोटा हात्ती घरपालुवा हुन्छन् भन्ने विषयलाई स्वीकार्दैनन् । पोखरामा जारी दशौँ संस्करणको नेपाल लिटरेचर फेस्टिबलको ‘चराचुरुंगी र जनावारको आनीबानी’ सेसनमा बोल्दै सापकोटाले जंगलबाट ल्याइने जनावार घरपालुवा हुन नसक्ने दाबी गरे । ‘कुनै जनावार घरपालुवा हुन १३ देखि १७ पुस्ता चाहिन्छ । कुखुरा पाल्दा छोरा, नाती भएर १७ औँ पटकमा घरपालुवा हुन्छ । त्यसैले हात्ती पनि घरपालुवा हुँदैन,’ उनले भने, ‘नेपालमा चौँथो पुस्ताका हात्ती छन् । जंगलबाट समातिएको चिज कहिल्यै घरपालुवा हुन्छ ? मान्छे अन्टाटिकामा लगेर राखेर पेन्गुइन बनाउँछु भनेर सम्भव छ ? छैन ।’ सापकोटाका अनुसार घरमा पाले पनि हात्तीको आनीबानी जंगलकै हात्तीकै जस्तो हुन्छ । मान्छेले जंगली हात्तीलाई जबर्जस्ती घरपालुवा बनाएको उनको भनाइ छ । ‘जंगली हात्ती कुटेर, पिटेर ऊ घरपालुवा हुँदैन । उसले घरको बानी नै परिवर्तन हुनुपर्याे । नेपालमा भएको कुनै हात्तीलाई जंगलमा लगेर छोड्दिनुस् अपवादको रुपमा कुनै एउटा हात्ती फर्केर आउला,’ उनले थपे, ‘९९.९ प्रतिशत हात्ती घर फर्केर आउँदैन । ऊ जंगलमै रमाउन चाहन्छ । कुनै पनि हात्ती घरपालुवा भएका छैनन् । त्यो हुन पनि सम्भव छैन ।’ हात्तीबाट कसरी जोगिने ? सापकोटाकाअनुसार हात्तीबाट जोगिन उसको आनीबानी र खानपानबारे बुझ्नुपर्छ । उनी हात्तीबाट बच्न चार वटा सुझाव दिन्छन् । पहिलो, हात्ती आउने समयमा बाघ र सिंहको आवाज बजाउने किनकि यी दुई जनावारसँग हात्ती डराउँछ । दोस्रो, हात्ती हिँड्ने बाटोमा रक्सी नपार्ने । ‘रक्सीको गन्ध थाहा पाएपछि हात्तीले जसरी पनि त्यो घर फोर्छ । मान्छेजस्तै ऊ मैमत्त हुन्छ । त्यो पाएपछि डाँडापाखामा मज्जाले रमाउँछन्,’ उनले सुनाए । हात्ती हिँड्ने बाटो वरपर माहुरी पाल्दा त्यसबाट पनि जोखिम न्यूनिकरण गर्न सकिने सापकोटाले बताए । उनकाअनुसार माहुरी उडेर हात्तीको संवेदनशील अंगमा टोक्छ जसले गर्दा हात्ती डराउँछ । प्रायः बासस्थान सर्नेबेला हात्तीले बालीहरु खाने सापकोटाले बताए । ‘हात्ती सधैँ हिँड्दैन । बसाइँ सर्छन् । बसाइँ सर्छन् भन्ने बुझेर त्योबेला नपाक्ने बाली लगाउनुपर्छ । गर्भणी हात्तीले केराको पात खाँदैनन् । गर्भ तुहिन्छ । हात्तीले केके खाँदैनन् भन्ने पत्ता लगाउनुपर्छ,’ उनले भने । बाघको पाइलाका किस्सा जंगलमा बाघ बस्ने कुनै निश्चित ठाउँ हुन्छ । त्यो बासस्थान वरपर हिँड्डुल गर्दाका प्रशस्तै पाइला भेटिन्छन् । मान्छेलाई त्यो पाइलामात्रै लागे पनि जीवजन्तुले भने तिनै पाइलाबाट उमेर र शक्ति पत्ता लगाउन सक्ने सापकोटा सुनाउँछन् । ‘उसले ४२ वा त्योभन्दा केही घटबढ वर्ग मिटर कभर गरेर राख्छ मेरो घर हो कोही नआउनु भन्छ । उसले मेरो घर होभन्दा केही विधि अपनाउँछ,’ उनले भने, ‘प्रतिद्वन्द्वीलाई यो पाइला यति गहिरो छ, आकार यस्तो छ, यो आकारले अर्को बाघलाई सूचना दिन्छ । अर्को बाघले त्यो पाइला हेरेर म लड्न सक्छु भन्यो भने भित्र पस्छ ।’ पोथीलाई आकर्षण गर्न पनि बाघले आफ्नो बासस्थान वरपर पाइला छोड्ने सापकोटाले सुनाए । उनकाअनुसार एउटा बाघको पाइलाबाट अरु बाघले उसको उमेर, शक्ति पहिचान गर्न सक्छन् । ‘हट्टाकट्टा, बलियो, अरुलाई पछार्न सक्ने, आहारा समात्न सक्ने भाले चाहिने भन्ने हुन्छ । जति स्वस्थ बलियो बाघसँग सहबास ग¥यो उसका बच्चा त्यति स्वस्थ हुन्छन् । कुन हैसियतको बाघ हो भनेर जानकारी दिन्छ,’ उनले सुनाए । बाघको पिसाबमा पनि अर्को रोचक पक्ष हुन्छ । भाले बाघको पिसाबमा हुने १३ देखि १७ प्रकारका रसायनले बघिनीलाई उमेर र शक्तिको जानकारी दिने सापकोटाले सनाए । अमेरिकी र नेपाली भँगेरामा के फरक ? पछिल्ला वर्षमा नेपालमा भँगेराको संख्या घटेको सुनिन्छ । भँगेराबारे जानकार अनुज घिमिरे भँगेराबारे अध्ययन नै नहुँदा संख्या घटेजस्तो देखिएको बताउँछन् । तर, उनी भँगेरा घटेको भन्ने विषयलाई इन्कार भने गर्दैनन् । सोही सेसनमा बोल्दै उनले प्रकृति संरक्षणमा सरकारको लगानी कम हुँदा संख्या घटेको बताए । ‘भँगेराको विषयमा अरु प्रजातिमा जस्तो अध्ययन नै भएको छैन । कतिले भन्नुहुन्छ भँगेरा कम देखिरहेका छौँ । तर, यकीनकै साथ भन्नलाई तथ्यांक छैन,’ उनले भने, ‘आजभन्दा १५ वर्षअघि जति देखिन्थ्यो त्यो अहिले छैन भनिन्छ । बेलायतसहित केही देशमा भँगेराको संख्या घटेको देखाउँछ ।’ घिमिरेले अमेरिकाको नर्थ डाकोटा युर्निभर्सिटीबाट प्राणीशास्त्रमा विद्यावारिधी गरेका छन् । उनलाई सेसनमा सहजकर्ता देवेन्द्र भट्टराईले सोधे – अमेरिकी र नेपाली भँगेरामा के फरक छ ? आनीबानी र कराउने तरिकमा भने केही फरक नभएको घिमिरेले बताए । घिमिरेका अनुसार युरोपतिर भँगेरा भेटिनुको सम्बन्ध एसिया क्षेत्रसँग जोडिन्छ । ‘सन् १९६० तिर बेलायतबाट अमेरिका गएको देखिन्छ । अहिले यहाँ पाउने र त्यहाँ पाउनेमा फरक छैन,’ उनले भने, ‘लामो समय छुट्टिएकाले उप–प्रजाति अर्को हुनसक्ने अवस्था रहन्छ । तरर, प्रजातिमा फरक हुँदैन । उहाँ कराउने र यहाँ कराउनेमा त्यस्तो फरक हुँदैन ।’ नेपाल सरकारले खर्च नगर्दा चराचुरुंगी र जनावारमाथि अध्ययनमा आकर्षित हुने अवस्था नबनेको घिमिरेको भनाइ छ ।
पोखराः पोखराको विभिन्न स्थानमा गीत गाएर दैनिकी गुजारा गर्दै आएका २२ जना दृष्टिविहिनहरुलाई लामा अमृत फाउण्डेशन घान्द्रुकले आर्थिक सहयोग गरेको छ । लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङको अगुवाई तथा लोकदोहोरी गायीका तथा डान्सर प्रीति आलेमगरको संयोजनमा संकलित रकम आज (बिहिबार) प्रदान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिसमेत रहेको सहयोगीदाता तेज बहादुर गुरुङ, अभियन्ता तथा गायीका प्रीति आले र फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले २२ जना दृष्टिविहिन नागरिकलाई प्रतिव्यक्ति ६ हजार ५ सयका दरले (१ लाख ४३ हजार रुपैयाँ) आर्थिक सहयोग हस्तान्तरण गरे । सो अवसरमा बोल्दै प्रमुख अतिथिसमेत रहेका तेज बहादुर गुरुङले फाउण्डेशनको सामाजिक काममा आफुपनि सहभागी हुन पाएको बताउदै सहयोगीहरुलाई आभार प्रकट गरे । उनले फाउण्डेशनको कार्यको प्रशंसा गर्दै अन्य संस्थाहरुले पनि सकरात्मक कामको अनुशरण गुर्नपर्ने धारणा राखे । त्यस्तै देश तथा विदेशमा रहेका नेपालीको सहयोगमा रकम संकलन गरेर पहिलो पटक दृष्टिविहिन नागरिकहरुलाई आर्थिक सहयोग गरेको बताए । ‘फाउण्डेशनले विभिन्न क्षेत्रमा सहयोग गरिरहेको छ, गुरुङले भने, पोखराको विभिन्न स्थानमा गीत गाएर दैनिक गुजारा गर्ने दृष्टिविहिन नागरिकहरुलाई विभिन्न व्यक्तित्वको आर्थिक सहयोगमा उहाँहरुलाई सहयोग गर्न पाउँदा खुशी छौं । र सम्पूर्ण सहयोगीदाताहरुप्रति आभारी छु ।’ उनले फाउण्डेशनको सहयोग यथेष्ट नहुने तर्क राखे । ‘हाम्रो यो सहयोग तपाइहरुलाई यथेष्ट हुदैन तरपनि घाउमा सानो मलम लगाउ भन्ने हेतुले सहयोग गरेका हौं, उनले भने, ‘सडकमा तपाइहरुले गीत गाउनु कुनै भिक माग्नु होइन । आफ्नो प्रतिभा देखाउनु हो । त्यसैले प्रतिभाको कदर गर्दै सक्दो सहयोग गर्नु हरेक नागरिकको दायित्व हो ।’ उनले आगामी दिनमा दृष्टिविहिनहरुकै लागि वृहत कार्यक्रम नै आयोजना गर्ने प्रतिवद्धता जनाएका थिए । यस्तै अर्का अभियन्ता तथा लोकदोहोरी गायिका प्रीति आले मगरले सडकमा कला प्रदर्शन गरेर दैनिकी गुजारा गर्नु आफैमा उदाहरणीय कार्य भएको बताइन् । ‘तपाईहरुले सडकमा माग्न बसेको होइन, उनले भनिन्, तपाइहरुले कला प्रदर्शन गर्नुभएको हो । यस्तो अवस्थामा हामी तपाइहरुलाई केही सहयोग गरेर साथ दिन पाउँदा हामी एकदमै खुशी छौं ।’ उनले आगामी दिनमासमेत दृष्टिविहिनहरुको साथमै रहने प्रतिबद्धता जनाइन् । ‘यो कार्यक्रम एउटा उदाहरण मात्र हो । आगामी दिनमापनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौं । फरक क्षमता भएका तपाइहरुलाई रहर हैन कहर हो त्यसैले तपाइहरुलाई सधै सम्मान गरिनुपर्छ ।’ उनले भनिन् । गीत गाएर गुजारा चलाउदै आएका दृष्टिविहिनसँगै आफुले गाएको एउटा भिडियो टिकटकमा भाइरल भएको स्मरण गर्दै भनिन्, ‘एउटा दृष्टिविहिन दाईसँग गाएको गीत टिकटमा धेरैले माया गर्नुभएको थियो । त्यहाँ आएको कमेन्टमा धेरै आर्शिवाद थिए । त्यसैले आर्शिवार्द उधारो राख्न हुदैन भन्ने सोचेर सहयोग अभियानमा जुटेकी हुँ ।’ उनले आगामी दिनमा दृष्टिविहिन नागरिकहरुलाई गीत रेकर्डिङ गर्न इच्छा लागेको खण्डमा आफुले सहयोग गर्ने बताउदै दृष्टिविहिनलाई सबैले सम्मानपूर्वक व्यवहार गर्न समेत आग्रह गरेकी थिइन् । यस्तै दृष्टिविहिन नागरिकको तर्फबाट बोल्दै हेमबहादुर परियारले राज्य र संघसंस्थाबाट उचित सहयोग नपाएको गुनासो गरे । ‘विभिन्न संघ संस्था तथा राज्यबाट विभिन्न क्षेत्रका नागरिकलाई सहयोग गरेको सुन्न सक्छौं तर हामी दृष्टिविहिन नागरिकलाई कसैले पनि वास्ता गर्दैनन्, परियारले भने, ‘आज हामीलाई प्रीति बहिनी र अमृत भाइले सहयोग गर्नुभएको छ । उहाँहरुप्रति हामी अत्यन्तै आभारी छौं ।’ आफुहरुको सडकमा गीत गाउनु रहर नभई बाध्यता रहेको उनले सुनाए । ‘सडकमा गाउनु हाम्रो रहर होइन, यो हाम्रो बाध्यता हो । त्यसैले कृपया हामीलाई अपहेलना नगर्नुहोला ।’ उनले भने । आर्थिक सहयोग कार्यक्रममा गायक मिलन लामा, सन्तोष बस्याल, लोक तथा दोहोरी गायक नेत्र गुरुङ, अमर धिताल लगायतको उपस्थिती रहेको थियो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पौने ३ बजे यति एयरको विमान अवतरण भएको छ । नवनिर्मित विमानस्थलमा १ जनवरी २०२३ बाट आन्तरिक उडान सुरु गरिनुपूर्व आज परीक्षणकारुपमा ‘डेमो उडान’ गरिएको हो । यतिपछि बुद्ध एयरको विमान ३: ०५ मा अवतरण भएको छ । दुबै जहाज पोखराकै अर्काे विमानस्थलबाट उडेर नयाँ विमानस्थलमा अवतरण गरेको छ । डेमो उडानमा व्यवसायी, पत्रकार एवं विमानस्थलका प्राविधिक एवं कर्मचारी रहेका थिए । उडानपछि दुबै विमान पुनः पहिलेकै विमानस्थल फर्किएका छन् ।
काठमाडौं: बिहीबार बिहानदेखिको प्रतिकूल मौसमका कारण ठप्प भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान अहिले नियमित सुरु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठकुरका अनुसार आज बिहानैदेखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण केही समय उडान तथा अवतरण बन्द भए पनि अहिले उडान तथा अवतरण पुनः सुरु भएको हो । कुहिरो र हुस्सु हटेपछि अहिले विमानस्थलमा जहाज उडान तथा अवतरण भइरहेको उनले बताए। कुहिरो र हुस्सुका कारण केही विमान होल्डमा रहेकाले अहिले मौसम खुलेपछि उडान अवतरणमा केही ढिलाइ हुनसक्ने विमानस्थलले जनाएको छ ।
गत शनिबार पोखराको लेकसाइडस्थित रोलिङ् स्टोन रक बारमा दुई पक्षबीच सामान्य निहुँमा झडप भएको छ । डान्सफ्लोरमा नाचिरहेकोबेला एकापसमा ठोक्किने क्रममा विवाद बढेपछि केही समय स्थिति असमान्य भएको रोलिङ् स्टोन स्रोतले बताएको छ । बिरौटाका एक युवा नयाँबजारको समूहसँग ठोक्किएपछि भनाभन भएको र पछि उनीमाथि कुटपिट भएको हो । बिरौटाका युवा ९ जनाको समूहमा रहेको र नयाँबजारको समूह ठूलो रहेको बताइएको छ । भनाभनकैबीच नयाँबजारको समूहले बियरको बोत्तलले प्रहार गर्दा बिरौटाका २ जना घाइते भएका छन् । स्थितिलाई नियन्त्रणमा लिन बारका बाउन्सरले एक समूहलाई बाहिर निकालेको थियो । झडपबाट बारमा कुनैपनि क्षति नभएको सञ्चालक रोशनजंग कार्कीले बताए । ‘खासै ठूलो घटना होइन, र हाम्रो भौतिक क्षति भएको छैन’ सञ्चालक कार्कीले भने ‘हामी हाम्रो ग्राहकको सुरक्षामा सचेत छौं ।’ बारबाट एक समूहलाई बाहिर निकालेको खबर प्रहरीमा पुगेपछि वडा प्रहरी कार्यालय बैदामले स्थिति नियन्त्रणमा लिएको थियो । यस विषयमा अहिले बैदामका डिएसपी युवराज भण्डारीको रोहबरमा छलफल भइरहेको छ । यस्तै, दुबै समूहले गल्ती स्वीकार्दै एकापसमा मेलमिलाप कायम गर्ने नीति अपनाउने जनाएका छन् ।
काठमाडौं: कर्णाली प्रदेश सरकारले स्थायी दरबन्दी तथा करारमा कार्यरत कर्मचारीहरूलाई प्रोत्साहन भत्ता दिने भएको छ । त्यसका लागि गत मंसिर २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरिसकेको हो । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आउने साउन महिनादेखि सुर्खेत जिल्लामा कार्यरत स्थायी दरबन्दीमा सेवा करारमा कार्यरत कर्मचारीले ४ हजार प्रोत्साहन भत्ता पाउने छन् । यस्तै सल्यान, रुकुम पश्चिम, जाजरकोट र दैलेखमा कार्यरत कर्मचारीलाई ६ हजार, कालिकोट र जुम्ला कार्यरतका लागि ८ र मुगु, डोल्पा र हुम्लाका कर्मचारीहरूलाई १० हजार ‘कर्णाली प्रोत्साहन भत्ता’ दिइने छ । मंगलबार सबै मन्त्रालय र प्रदेश मातहतका सम्पूर्ण कार्यालयहरूलाई उक्त निर्णय कार्यान्वयनका लागि अर्थ मन्त्रालयले निर्देशन दिइसकेको छ ।

