तनहुँ : तनहुँको व्यास नगरपालिका–११ स्थित पातीघारीमा चितुवाको आक्रमणबाट आज आमाछोरा घाइते भएका छन् । घाइते हुनेमा ४९ वर्षीया दिलमाया गुरुङ र नौ वर्षीय शङ्कर गुरुङ रहेको प्रहरीले जनाएको छ । घरमै सुतिरहेको बेला आज चितुवाले आक्रमण गरेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । निर्माणाधीन झ्याल ढोका नभएको घरमा सुतेका बेला चितुवा छिरेको थियो । सुरुमा छोरालाई आक्रमण गरेको र चितुवालाई लखेट्ने क्रममा आमा पनि घाइते भएको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो । चितुवाको आक्रमणबाट बालकको टाउकोमा र आमाको हातमा चोट लागेको थियो । घाइते दुवै दमौली अस्पतालमा उपचार पश्चात् घर फर्किएको अस्पतालले जनाएको छ । जिल्लामा केही समययता चितुवाको आक्रमण बढ्दो छ । बस्ती छेउमै आएर चितुवाले बालबालिकालाई आक्रमण गर्नेगरेको छ । जिल्लाको भानु, बन्दिपुर, आँबुखैरेनीमा बढी चितुवाको आतङ्क छ । गत बुधबार मात्रै बन्दिपुर गाउँपालिका–१ मा चितुवाको आक्रमणबाट तीन वर्षीय बालक घाइते भएका थिए । उनको चितवनमा उपचार भइरहेको छ । ती बालकको सफल शल्यक्रिया गरिएको छ । मृग, वन कुखुरालगायत वन्यजन्तु मानिसले शिकार गरिदिँदा वनमा शिकारको अभाव भई चितुवाले मानिसको शिकार गर्न थालेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । जङ्गल फँडानी गरेर बस्ती बसाल्ने, जङ्गली जनावर मारेर खाइदिने कारणले गर्दा र मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दो अवस्थामा रहेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले बताउनुभयो । चितुवाको प्राकृतिक खाना भनेको जीवजन्तु नै भए पनि त्यस्ता जीवजन्तु मानिसले खाइदिने गरेका कारण चितुवाको सिकार मानिस हुन थालेको अध्ययनबाट देखिएको छ । चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाउन र एक्लै नहिँड्न आग्रह गरिएको छ । चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाउने, झाडी सफा गर्न तथा बच्चा तथा वृद्धको विशेष ख्याल र रेखदेख गर्न वन कार्यालयले अनुरोध गरेको छ । चितुवाको आक्रमणबाट पछिल्लो पाँच वर्षको अवधिमा १२ बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाको आक्रमणबाट ज्यान गुमाउनेमा १२ वर्षभन्दा कम उमेरका बालबालिका छन् ।
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (काइराला) ले शान्ति सम्झौता र अन्तर्राष्ट्रिय कानुनी मान्यताको प्रतिबद्धता अनुरुप सशस्त्रद्वन्द्वको क्रममा पीडितको न्यायको निम्ति सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ को सैद्धान्तिक पक्षमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले शान्ति सम्झौताका साथै सर्वोच्च अदालतको फैसला र नेपालले जनाएको प्रतिबद्धताको अन्तर्राष्ट्रिय कानुनद्वारा सिर्जित दायित्वअनुसार सशस्त्र द्वन्द्वको क्रममा पीडित भएकाहरुको सत्य थाहा पाउने, न्याय पाउने अधिकार र भविष्यमा गरिनुपर्ने सुधारको प्रत्याभूत गर्ने अधिकारको सुुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । कानुनमन्त्री कोइरालाले मानवताविरुद्धको अपराध अन्वेषण गर्ने काम राज्यका तर्फबाट ढिलो भएकामा पीडितले न्याय पाउन ढिलो भएकोप्रति क्षमा माग्नुभयो । सांसदहरुले पीडितको हकहितकै निम्ति उठाउनुभएको प्रश्न सकारात्मक रहेको भन्दै उहाँले सङ्क्रमणकालीन न्यायको प्रक्रियामा कति हदसम्म जानसक्छौँ भन्ने विषय शोभनीय रहेको उल्लेख गर्नुभयो । “फौजदारी न्याय प्रणाली भन्दा सङ्क्रमणकालीन न्याय प्रक्रियाबाट अघि बढ्नेगरी अघि बढेको अवस्था छ, यो राजनीतिक प्रक्रिया पनि हो, केवल कानुनी प्रक्रिया मात्रै हुन्थ्यो भने शान्तिसम्झौता भएको भोलिपल्टदेखि नियमित फौजदारी प्रणालीले काम गथ्र्यो”, उहाँले भन्नुभयो । द्वन्द्वपीडितको आवाजलाई सरकारले सुनेरै विधेयक सदनमा आइपुगेको भन्दै उहाँले सङ्घ तथा प्रदेशमा लामो प्रक्रिया र छलफलपछि आएकाले विधेयकले राम्रा प्रावधान समेटेको उल्लेख गर्नुभयो । अहिले पनि करिब डेढ महिना सातै प्रदेशमा पीडितलाई प्रत्यक्ष सामेल गरेर उनीहरुको गुनासो समेटेको तथा राजधानी काठमाडौँमा पनि सोहीअनुरुप सम्बन्धित पक्षसँग राय सुझाव लिएर विधेयक अघि बढाइएको मन्त्री कोइरालाको भनाइ थियो । उहाँले अधिकतम रुपमा राज्यले थेग्नसक्ने अन्तर्राष्ट्रिय कानुनको उलङ्घन नहुनेगरी पीडितका पक्षमा न्याय हुनेगरी विधेयक आएको बताउनुभयो । उहाँले विधेयकलाई राजनीतिक कोणबाट नहेरी साझा समस्याको निराकरण गरिनुपर्छ भन्ने भावनाबाट प्रेरित भएर सहमतिका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । अघिल्ला सरकारका पालामा पनि विधेयक ल्याइएको भए पनि सार्थकता पाउन नसकेको भन्दै मन्त्री कोइरालाले अहिले विरोधका निम्ति विरोध नगरिकन हिजो कहाँ अड्कियो अब यो समस्यालाई विलम्ब गर्नुहुदैन भन्ने धेयकका साथ विधेयकलाई चाँडो पारित गरिनुपर्ने धारणा राख्नुभयो ।
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ उपत्यकामा पार्टीको अवस्था सुदृढीकरण गर्न विशेष नीतिगत र संरचनागत व्यवस्था गरिने बताउनुभएको छ । माओवादीको उपत्यका विशेष प्रदेश समितिको आयोजनामा आज आयोजित वैचारिक–राजनीतिक प्रशिक्षण कार्यक्रममा उहाँले काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा पार्टी विस्तार गर्न नयाँ अभियान सञ्चालन गरिने बताउनुभयो । “काठमाडौँ, भक्तपुर र ललितपुरमा हाम्रो स्थिति नाजुक छ, बागमती प्रदेशमा होइन, बागमतीमा माओवादी कम्युनिष्ट आन्दोलनको पहिलो शक्ति हो”, उहाँले भन्नुभयो, “उपत्यकाको सङ्गठनको संरचना र केही नीतिगत विषयमा नयाँ ढङ्गबाट नीतिगत र संरचनागतरूपमा नयाँ पार्टी बनाउनुपर्ने भएको छ ।” नीतिगत र संरचनागतरूपले नयाँ पार्टी बनाउनुपर्ने अवस्था आएको उल्लेख गर्दै उहाँले गैरभौगोलिक प्रदेशका नेता तथा कार्यकर्तालाई उपत्यकामा पार्टी विस्तार अभियानमा संलग्न गराइने बताउनुभयो । उपत्यकामा केही कमजोर देखिए पनि बागमती प्रदेशमा माओवादीको उपस्थिति दरिलो रहेको जिकिर गर्दै उहाँले छिट्टै उपत्यकामा पनि माओवादी वामपन्थीतर्फ पहिलो शक्ति हुने दाबी गर्नुभयो । “पार्टीको शक्ति विकेन्द्रित हुँदा उपत्यकामा कमजोर देखिएको हो”, उहाँले भन्नुभयो, “विशेष प्रदेश, सम्पर्क प्रदेश समितिलाई उपत्यकामा केन्द्रित गर्नुपर्छ ।” राजधानीमा सङ्गठन संरचना पार्टी केन्द्रले नेतृत्व गर्ने र सम्पूर्ण शक्ति केन्द्रित गर्ने नीति विश्वव्यापीरूपमा चलिआएको जनाउँदै उहाँले माओवादीले सम्पूर्ण शक्ति विकेन्द्रित गर्दा नतिजा आफ्नो पक्षमा नदेखिएको बताउनुभयो । “नीतिगत रूपमा राजधानीका हकमा विशेष ढङ्गले काम गर्ने सोचेका छौँ”, अध्यक्ष दाहालले भन्नुभयो, “संरचनाको हिसाबले पनि विशेष, सम्पर्क समितिलाई राजधानीमा केन्द्रित गरिन्छ । पदाधिकारीको नेतृत्वमा नै उपत्यकामा पार्टीको संरचना बनाइन्छ ।” उहाँले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा नयाँ र जनताले रुचाएका व्यक्तिलाई उम्मेदवार बनाइने बताउनुभयो । पार्टी र जनताले सोच्दै नसोचेको व्यक्तिलाई पार्टीले उम्मेदवार बनाउने उल्लेख गर्दै उहाँले भन्नुभयो, “नयाँ व्यक्तिलाई उम्मेदवार बनाउँदा जनता तथा नेता कार्यकर्ताले पनि माओवादीले राम्रो गर्यो भन्ने ढङ्बाट नसोचेका उम्मेदवारको सिफारिस गरिन्छ ।”
काठमाडौं । प्रतिनिधिसभाको आजको दोस्रो बैठकले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । प्रतिनिधिसभाको पहिलो बैठकमा कानून न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले प्रस्तुत गर्नुभएको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो । सभामुख अग्निप्रसाद सापकोटाले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्नुभएको थियो । पहिलो बैठकमा विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा करिब ४० सांसदले धारणा राख्नुभएको थियो । गणपूरक सङ्ख्या नपुगेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो । यसअघि विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा सांसदहरु प्रदीप ज्ञवाली, यशोदा गुरुङ सुवेदी, कृष्णभक्त पोखरेल, दिव्यमणिराज भण्डारी, गोकुल बास्कोटा, प्रेम सुवाल, रेखा शर्मा, डा डिला सङ्ग्रौला पन्त, डा विजय सुब्बा, अमृता थापा, घनश्याम खतिवडा, प्रकाश रसाइली ‘स्नेही’, हितबहादुर तामाङ, केदार सिक्देल, नारायणप्रसाद खतिवडा, गणेश पहाडी, डा शिवमाया तुम्बाहाम्फे, शेरबहादुर तामाङ, विन्दा पाण्डे, महेश बस्नेत, टेकबहादुर बस्नेत र खेमप्रसाद लोहोनीले धारणा राख्नुभएको थियो । त्यसैगरी सांसद खेमप्रसाद लोहनी, भीमबहादुर रावल, खगराज अधिकारी, नवराज सिलवाल, शान्तिमाया तामाङ पाख्रिन, दुर्गाकुमारी विश्वकर्मा, अन्जना विशङ्खे, राजेन्द्रकुमार केसी, रामबहादुर विष्ट, पदम गिरी, शक्तिबहादुर बस्नेत, मनकुमारी जिसी, मायादेवी न्यौपाने, विष्णु शर्मा, गजेन्द्रबहादुर महत, रेखाकुमारी, सुजिता शाक्य, पार्वता डिसी चौधरी र गङ्गा चौधरी (सत्गौवा) ले विधेयकको महत्व र समेट्नुपर्ने विषयबारे बोल्नुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ १७ गते दिउँसो १ बजे बस्नेछ ।
विराटनगर। विराटनगरमा विश्वचर्चित मोबाइल भिडियो गेम पब्जीको ई–स्पोर्ट्स प्रतियोगिता हुने भएको छ। भदौ १८ गते ‘रेजरयाक्ट ई–स्पोर्ट्स’ ग्रुपको आयोजनामा विराटनगरको पाञ्चालीस्थित सगरमाथा पार्टी प्यालेसमा प्रतियोगिता हुन लागेको हो। प्रतियोगितामा नेपालभरबाट १८ टिमको सहभागिता रहने आयोजकले जनाएको छ। आयोजकका अनुसार प्रतियोगितामा काठमाडौं, बुटवल, नेपालगन्ज, बिर्तामोड, पोखरा, दमक र विराटनगरका टोलीको सहभागिता रहने छ। एक टोलीमा चार जना खेलाडी रहने आयोजक समितिका सदस्य अनुराग क्षेत्रीले जानकारी दिए। ‘एकदिवसीय प्रतियोगिता आयोजना गर्न लागिएको हो। यसमा आठ वटा खेल हुन्छ। एउटा खेल २५ मिनेटको हुन्छ’, उनले भने, ‘सबै टोली एकैठाउँमा बसेर स्क्वाड खेल खेल्छन्।’ सहभागीमध्ये सर्वाधिक अंक ल्याउने टोलीले उपाधि जित्ने छ। प्रतियोगिताका विजेताले ५० हजार र उपविजेताले २० हजार नगद पुरस्कार पाउने छन्। यसैगरी तेस्रो हुने टोलीलाई १५ हजार र चौथोलाई १० हजार पुरस्कार प्रदान गरिने आयोजक समितिका सदस्य सन्दीप श्रेष्ठले जानकारी दिए। प्रतियोगिताका उत्कृष्ट खेलाडीले पाँच हजार रुपैयाँ पुरस्कार पाउने छन्। प्रतियोगिताको आरटीडी ई–स्पोर्ट्स र सर्जिकल नुब युट्युब च्यानल र विभिन्न सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण हुनेछ।
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलव ७६ अङ्कले उकालो लागेर एक हजार नौ सय ९३ दशमलव शून्य दुईमा पुगेको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ७६ ले वृद्धि भई तीन सय ८७ दशमलव ४६ मा पुगेको छ । नेप्सेका अनुसार कूल दुई सय २२ कम्पनीको ३४ लाख ४० हजार नौ सय कित्ता शेयर रु एक अर्ब २६ करोड ६६ लाख १९ हजार एक सय ५० मा कारोबार भयो । कारोबार भएका १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने नौ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ । बैंकिङ शून्य दशमलव १५, लघुवित्त तीन दशमलव ९८, सामूहिक लगानी कोष शून्य दशमलव १६ र लगानी शून्य दशमलव ३८ अङ्कले ओरालो लाग्यो । यस्तै, व्यापार १७ दशमलव १४, होटल तथा पर्यटन ३५ दशमलव ३८, विकास बैंक २८ दशमलव १३, जलविद्युत् छ दशमलव ९२, वित्त ३१ दशमलव, निर्जीवन बीमा सात दशमलव शून्य नौ, उत्पादन ४० दशमलव ५५, अन्य छ दशमलव ९३ र जीवन बीमा ४३ दशमलव १२ अङ्कले उकालो लागेको छ । नेप्सेका अनुसार आजको कारोबारपछि बजार पूँजीकरण रु २८ खर्ब ५६ अर्ब ७७ करोड ७९ लाख ५९ हजार ४३ बराबर रहेको छ । सोमबारको कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु ११ करोड २५ लाख ७६ हजार सात सय ७८ बराबरको कारोबार भयो । यस्तै, अरुण काबेली पावर रु पाँच करोड ५५ हजार एक सय आठ, हिमालयन डिस्टिलरी रु चार करोड दुई लाख ४९ हजार एक सय ९२, शिवम् सिमेन्ट रु तीन करोड ५८ लाख चार हजार सात सय र रिडी हाइड्रोपावर रु तीन करोड ५४ लाख ६० हजार छ सय ५६ बराबरको कारोबार भई शीर्ष पाँचमा रहेका छन् । नेप्सेका अनुसार विन नेपाल लघुवित्त सात दशमलव ४८, रिलायन्स फाइनान्स छ दशमलव ६४, मैलुङ खोला जलविद्युत् कम्पनी पाँच दशमलव ८४, सिभिल लघुवित्त चार दशमलव ९६ र समता घरेलु लघुवित्तका लगानीकर्ताले चार दशमलव ६३ प्रतिशतले कमाए । त्यस्तै, रुरु जलविद्युत् परियोजना पाँच दशमलव ७०, एनएमबी हाइब्रिड फण्ड एक तीन दशमलव ७३, एनआइबिएल प्रगति फण्ड तीन दशमलव ६९, नबिल ब्यालेन्स फण्ड तेस्रो तीन दशमलव शून्य दुई र सामुदायिक लघुवित्तका लगानीकर्ताले दुई दशमलव ४७ प्रतिशतले गुमाएका छन् ।
काठमाडौं । एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई जरिवाना गरेको छ। कुवेतमा भएको एएफसी एसियन कप छनोटको दौरान प्रतियोगिताको विभिन्न आचारसंहिता उलंघन गरेको भन्दै एएफसीले एन्फालाई ७ हजार अमेरिकी डलर जरिवाना गरेको हो । एएफसीको अनुशासन तथा इथिक कमिटिले एसियन कप छनोट अन्तर्गत जुन १४ इन्डोनेसियाविरुद्धको खेलमा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी खेल अघि ड्रेसिङ रुपमा प्रवेश गरेको र खेलपछि एक्रिडिटेशन कार्ड लिएर मैदान प्रवेश गरेको कारण ६ हजार डलर जरिवाना गरिएको जनाएको छ । कुवेत र जोर्डनविरुद्धको खेलमा पहेलो कार्ड पाएको कारण इन्डोनेसियाविरुद्धको खेलमा अब्दुल्लाह निलम्बनमा रहेका थिए । त्यस्तै इन्डोनेसियाविरुद्धको खेलको पहिलो हाफ सुरु हुन ढिलाइ गर्दा एन्फालाई थप १ हजार अमेरिकी डलर जरिवाना गरिएको एएफसीले जनाएको छ । एन्फाले जरिवानाको २५ प्रतिशत ९० दिनभित्र तिर्नुपर्ने र बाँकी रकम दुई वर्षभित्र तिर्न पाईनेछ । एएफसीले यस घटनालाई पुनस् दोहोराएमा एन्फालाई कडा सजाय दिईनेबारे एन्फालाई सचेत गराएको छ ।
काठमाडौँ । तीज पर्वमा माइत गएर, आमा दिदीबहिनी भेटघाट गरेर आफूले जीवनमा भोगेका पीडालाई गीतमार्फत् अभिव्यक्त गर्दै मनाउने गरिन्छ । तर तेस्रोलिङ्गी महिलाले भने आफन्तभन्दा पनि आफ्ना साथीभाइसँग मनाउने गर्छन् तीज । आफन्तको व्यवहारका कारण उनीहरु साथीभाइबीच भेटघाट गरी तीज मनाउने गरेका हुन् । “तीज पर्व आफन्तसँग मनाउन रमाइलो हुन्छ, आमा, दिदीबहिनी भेटघाट गर्दा छुट्टै आन्नद हुन्छ होला”, सिन्धुलीकी रुविना तामाङले भन्नुभयो, “घरपरिवार र समाजले मलाई सहजरुपमा स्वीकार गरेको छैनन्, पहिरन पनि मिल्दैन, सोच मिल्दैन ।” रुविनालाई परिवारसँग भेट्न नपाए पनि आफ्नो खुसीका लागि साथीसँग मिलेर तीज मनाउन राम्रो लाग्छ । “म व्रत बस्छु, पहिला त निराहार बस्थेँ, अहिले फलफूल खाएर बस्छु” उहाँले सुनाउनुभयो, “राम्रो पति मिलोस भनेर व्रत गरेको छु, विधिपूर्वक पूजा गर्छु ।” तेस्रोलिङ्गी महिला सबैले व्रत बस्दैनन् । व्रत बस्दा मन्दिरमा पूजा गर्न सहज पनि छैन । यी समुदायका महिला सुरुमा पुरुष भएर जन्मिएका हुन्छन् । बाबुआमाले छोराकैरुपमा हुर्काएका हुन्छन् । तर हुर्कने, बढ्ने क्रममा आफूलाई छोरीको महसुस गरेर छोरीकै पहिरन लगाउने, छोरीकै हाउभाउ देखाउने र व्यवहार गर्ने गर्दछन् । जन्मँदा छोरा भनेर परिवार र समाजले हेरिरहेको हुन्छ । पछि एकैपटक छोरीका रुपमा समाजले सहजरुपमा स्वीकार्न सक्दैन । “मलाई पनि तीजको दिन माइत जान, दर खान र व्रत बस्न मन लाग्छ, तर त्यो सम्भव छैन”, रुविनाले थप्नुभयो, “साथीभाई भेटघाट गर्न रहर लाग्छ, परिवारले स्वीकार गर्दैन, समाजमा अनेक कुरा गर्दछन्, यसकारण पनि हामी घरमा जादैनौँ ।” “म छोराका रुपमा जन्मिएको हो, पछि किशोर अवस्थामा हुर्कदै जाँदा छोरीको महसुस भयो”, रुविनाले आफ्नो बाल्यकालको कहानी सुनाउँदै भन्नुभयो, “मलाई पनि विवाह होस्, बच्चा होस्, श्रीमान् भन्न पाइयोस् जस्तो लाग्छ, तर सम्भव छैन ।” नेपालको संविधानमा यो समुदायलाई अन्य नागरिकका रुपमा नागरिकता दिने व्यवस्था गरिएको छ । तर कानुन बन्न नसक्दा प्रभावकारी रुपमा त्यो कार्यान्वयन भएको देखिँदैन । “संविधानमा लेखिएपछि निकै आफ्नै पहिचान हुन्छ भनेर खुसी लागेको थियो । तर संविधानमा सीमित भयो”, उहाँले जोड्नुभयो, “कागजमा लेखिएका कुरा कार्यान्वयन भएन ।” यो समुदायलाई तीज र अरु पर्व मनाउन सहरी क्षेत्रमा सहज भए पनि ग्रामीण भेगमा कठिन छ । समाजमा यो समुदायलाई जीवनयापन गर्न पनि कठिन छ । “आफ्नो दिमाग र मन मस्तिष्कले छोरी हो भन्ने महसुस भएपछि मलाई छोराका रुपमा परिवार र समाजमा बस्न मन लागेन”, रुविनाले जीवन कठिन मोडबाट अघि बढेको स्मरण गर्दै सुनाउनुभयो, “छोराले अचानक छोरीको पहिरन, व्यवहार, लजाउने स्वभाव देख्दा स्वीकार गर्न सहज भएन ।” तेस्रोलिङ्गी महिलाले तीज पर्व र अन्य पर्व पनि साथीभाइसँग मिलेर मनाउछन् । सहरी क्षेत्रमा एकाध स्वीकार गरिएको भए पनि धेरैको परिवारले स्वीकार गर्न नसकेको नै गुनासो छ । अधिकांश ग्रामीण भेग र परिवारमा यो समस्या छ । “म पनि आमाकै कोखबाट जन्मिएको हो, हामी छुट्टै ग्रहबाट आएको होइन, आकाश या धर्तीबाट आएको पनि होइन”, तीज पर्वका अवसरमा रुविनाले परिवार, समाज र राष्ट्रसँग आग्रह गर्दै भन्नुभयो, “हाम्रो भविष्य अनिश्चत छ, आफ्नो सन्तान जस्तै हो भनेर सबैले माया र सहयोग गर्न अनुरोध गर्छु ।” घरपरिवार र समाजमा सहज रुविनालाई मात्र होइन महोत्तरीकी नग्मा खानलाई मुस्लिम परिवारमा जन्मिएको भए पनि मस्जिदमा जान प्रतिबन्ध छ । त्यसैले उहाँले हिन्दू महिलाले मनाउने तीज पर्व मनाउनुहुन्छ । “मलाई नमाज पढ्न, रोजा बस्न दिइँदैन, मस्जिदमा जान अनुमति छैन”, उहाँले थप्नुभयो, “मन लाग्यो भने आफूले घरमै बसेर गर्छु, हिन्दू भएर मन्दिरमै गएर पूजा गर्छु ।” नग्माको यादव थरको पुरुषसँग विवाह भएको छ । नग्मा पनि छोरा भएर जन्मिएको हुनाले समाजले छोरीका रुपमा स्वीकार गर्न सकेको छैन । “म पतिका लागि तीजमा व्रत बस्छु, मेरो पति हाम्रो समुदायको होइन, जन्मजात नै पुरुष हो”, उहाँले पतिका बारेमा जानकारी दिँदै भन्नुभयो, “परिवारको आग्रहमा मेरो श्रीमान्ले केटीसँग विवाह गर्नुभएको छ, एक छोरा छ, हामीसँगै बस्छ”, नग्माले एउटा पारिवारिक जीवन बिताउँदै आउनुभएको छ । छोरा पनि साथमा भएकाले परिवार पूरा भएको महसुस उहाँलाई छ । “मलाई माइतीले स्वीकार गरेको छैन, तर श्रीमान्ले परिवारले स्वीकार गरेका छन्, जाने आउने सबै खालको सम्बन्ध छ”, उहाँले थप्नुभयो, “अर्को श्रीमती गाउँमा बस्नुहुन्छ, म सहरमा छु, सबै परिवारलाई जानकारी छ, श्रीमान्कै घरमा गएर बसेर चाडपर्व मनाउँछौँ ।” बेलाबेला उहाँका पतिलाई समाजले नराम्रो तरिकाले भन्ने गरेको सुनाउँदै उहाँ थप्नुहुन्छ, “गाउँमा समाजले तेरो छोरा हिजडासँग बसेको छ भनेर भनिरहन्छन्, त्यो सुनेर उहाँको मन पनि खिन्न हुँदो हो, हामी जुन समुदायमा हुर्किएका छौँ, त्यो समाजले अहिले पनि सहजरुपमा लिन सकेको छैन ।” नग्माको छोराकै नाममा नागरिकता छ । उहाँले एमएसम्म पढ्नुभएको छ । धेरैले बाबुआमाकै नाममा नागरिकता लिएर बसेका छन् । “आफ्नो पतिको लागि भनेर एकदिन व्रत बस्दा राम्रो लाग्छ”, उहाँले थप्नुभयो, “जिन्दगीमा जीवनसाथी महत्वपूर्ण छ, उसको लागि व्रत बस्दा असाध्यै राम्रो लाग्छ ।” नील हीरा समाजका अध्यक्ष पिङ्की गुरुङलाई तीज पर्व आफ्नो समुदायको अधिकारका लागि पनि लड्ने दिनजस्तो लाग्छ । “हरेक वर्ष तीज मनाउँछु, वर्ष दिनमा आउने पर्व परिवारसँग मनाउन पाइँदैन”, उहाँले परिवारको याद धेरै आउने गरेको सुनाउँदै भन्नुभयो, “घरपरिवारको तिर्सना मेटाउन साथी मिलेर मनाउछौँ, समाजले यो समुदायलाई सांस्कृतिरुपमै वञ्चित गरेको छ, यो भन्दा दुःख लाग्छ ।” उक्त समाजको तथ्याङ्कअनुसार नेपामा करिब नौ लाख लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय रहेका छन् । परिवार तथा समाजले सहजरुपमा स्वीकार गर्न नसकेका कारण उनीहरु खुलारुपमा बाहिर आउन नसकेको अध्यक्ष गुरुङको भनाइ छ । सो समाजका २५ जिल्लामा कार्यालय छन् । ती सबै कार्यालयमा तीज कार्यक्रम मनाउने तयारी छ । “हरेक वर्ष काठमाडौँमा कार्यालयमै तीज मनाउने गरिन्थ्यो, अहिले धेरै छौँ”, उहाँले थप्नुभयो, “यो वर्ष गैरीधारास्थित सिल्भर ओक भोजमा कार्यक्रम गर्ने तयारी छ ।” उहाँका अनुसार उक्त समुदायको तीज कार्यक्रममा उत्कृष्ट नृत्य, हास्य नृत्य, उत्कृष्ट पहिरन, उत्कृष्ट हिँडाइलाई पुरस्कार प्रदान गरिन्छ । अध्यक्ष गुरुङका अनुसार कसैलाई पनि पर्वमा परिवारको सम्झनामा पीर मानेर बस्नु नपरोस् भनेर कार्यक्रमको आयोजना गर्न लागिएको हो । उक्त समदायले १७ वर्षदेखि तीज कार्यक्रम मनाउँदै आएको छ । नील हीरा समाजका कार्यक्रम निर्देशक सञ्जय शर्माका अनुसार जन्मँदै छोरा तर हुर्कदै बढ्दै जाँदा छोरीको महसुस गर्ने तेस्रो लिङ्गी महिलाले तीज पर्व मनाउनहुन्छ । जन्मँदा छोरी भएर जन्मने तर हुर्कने बढ्ने क्रममा छोरा व्यवहार देखिनेले व्रतबन्ध गर्ने, बाबुआमाको काजकिरिया गर्ने गर्नुहुन्छ । यो वर्ष तीज कार्यक्रममा उक्त समुदायका चार सय महिला सहभागी भएर तीज मनाउने कार्यक्रम छ । उक्त समाजले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकारका लागि काम गर्दै आएको छ । नेपालमा सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिमा पनि विशेष गरी तेस्रोलिङ्गी वर्गको हकअधिकारका लागि काम गर्न स्थापना गरिएको हो । विविध लैङ्गिकता र यौनिकताका व्यक्तिविरूद्ध विद्यमान कानुनमा परिवर्तनको पक्षमा वकालत गर्न सन् २००१ मा स्थापित भएको थियो । समाजले विविध लैङ्गिक र यौनिकताका व्यक्तिको निम्ति मैत्रीपूर्ण यौन स्वास्थ्यसम्बन्धी शिक्षा दिने, सरकारसँग वकालत गर्ने, युवाको कलात्मक अभिव्यक्तिलाई प्रोत्साहित गर्ने र हिंसाको अभिलेख राख्ने उद्देश्य रोखेको छ । यो समुदायबाट सुनिलबाबु पन्त र भूमिका श्रेष्ठले कानुन बनाउने निकायमा समेत नेतृत्व गरिसक्नुभएको छ । सर्वोच्च अदालतमा यौनिक तथा अल्पसङ्ख्य समुदायका सदस्यलाई भेद्भाव हुने गरी बनाएका कानुन खारेज गर्न आदेश दिएको थियो । नेपालको संविधानको धारा १२ मा वंशीय आधार तथा लैङ्गिक पहिचानसहितको नागरिकता प्रदान गर्ने व्यवस्था गरेको थियो । तर त्यसअनुरुप कानुन बन्न सकेको छैन । एकाध व्यक्तिले बाहेक अरुले नागरिकता प्राप्त गर्न सकेका छैनन् । उनीहरुमाथि हुने असमान व्यवहार र दुव्र्यवहारमा भने कमी नभएको उक्त समुदायका सदस्यको भनाइ छ । तीज पर्व यो समुदायका महिलाको हक अधिकारका लागि पनि मनाइने गरिन्छ । आफूले भोग्नुपरेका समस्यालाई चिर्दै अधिकार प्राप्तिको अभियानसँगै जोडेर मनाउने गरेको समाजकी अध्यक्ष गुरुङको भनाइ छ । “तीजपर्व सशक्तीकरण र नारी आवाजलाई बुलन्द गरी मनाउने पर्व हो”, समाजकी अध्यक्ष गुरुङले भन्नुभयो, “हाम्रो समुदायको अधिकार प्राप्तिका लागि खबरदारी अभियानका रुपमा हामीले मनाउने गरेका छौँ ।” अध्यक्ष गुरुङ पनि जन्मँदा पुरुष भएर जन्मिएर हुर्कंदै बढ्दै जाने क्रममा छोरी हुनुभएको हो । “हुर्कंदै÷बढ्दै जाँदा मलाई महिलाको अनुभव हुन थाल्यो, आफ्नै उमेरका केटी तीजको व्रत बस्थे, म शारीरिकरुपमा केटाजस्तो देखिन्थे”, उहाँले विगत स्मरण गर्दै भन्नुभयो, “मेरो भावनालाई समाजले बुझ्दैनथ्यो, अहिले म निर्धक्क व्रत बस्छु, केटीकै कपडा लगाएर हिँड्छु ।”
काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहविरुद्ध सर्बोच्च अदालतमा अपहेलना मुद्दा दर्ता भएको छ । सोमबार अधिवक्ता दिपकराज जोशीले बालेनविरुद्ध मुद्दा दर्ता गरेका हुन् । केही दिन अघि बालेनले संविधान संसोधन गरेर सर्वोच्च अदालतलाई अधिकार दिउँ भन्दै फेसबुकमा लेखेका थिए । बालेनले लेखेको त्यो स्टाटसले अदालतको अपहेलना भएको उनको भनाइ छ ।

