आचारसंहिता उल्लंघन  गरेको अभियोगमा निर्वाचन आयोगले स्पष्टीकरण सोधेकामध्ये २४ उम्मेदवारले जवाफ बुझाएका छन्।   आयोगले ३४ जनालाई स्पष्टिकरण सोधेको थियो। त्यसमध्ये अझै १० उम्मेदवारले जवाफ दिएका छैन...

  काठमाडौं । विगतका वर्षहरुमा बिजुली बत्ती बाल्नका लागि मात्रै हो, अन्य उपयोगका लागि होइन भन्ने मान्यता स्थापित थियो । सरकारले सो मान्यतालाई क्रमशः परिवर्तन गर्दै ‘अबको विद्युत् उज्ज्वल भविष्यका लागि’ भन्ने सङ्कल्प तय गरेको छ ।   औद्योगिकीकरण, यातायात सञ्चालन, सिँचाइमार्फत कृषि क्षेत्रको विकास तथा खानेपानी, विद्युतीय सामग्रीको प्रयोग गरी उज्यालो समृद्धिका लागि हो भन्ने मान्यता स्थापित गर्न लागिएको सरकारको भनाइ छ ।   ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री पम्फा भुसालले ‘पहिले विद्युत् बत्तीका लागि, अबको विद्युत् उज्ज्वल भविष्यका लागि’ भन्ने मान्यातका साथ कार्यक्रम अगाडि सारिएको जानकारी दिनुभयो ।   सरकारले गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन सबस्टेशन, प्रसारण एवं वितरण लाइन निर्माण तथा स्तरोन्नतिका कामलाई प्रमुख प्राथमिकतामा राखिएको उहाँको भनाइ छ । आफूले ऊर्जा मन्त्रालय सम्हालेको १३ महिना पूरा भएको सन्दर्भमा मन्त्री भुसालले यो अवधिको कार्यकाल सकारात्मक र प्रभावकारी रहेको बताउनुभयो ।   यो अवधिको सबैभन्दा महत्वपूर्ण उपलब्धि भनेकै विद्युत् व्यापारको मार्ग प्रशस्त भएको र नेपालले दैनिक तीन सय ६४ मेगावाट बराबरको बिजुली निर्यात गर्न थालेको उहाँको भनाइ छ । “ऊर्जा मन्त्रालय सम्हाल्ने माओवादी पार्टी सम्बद्ध मन्त्रीहरुमध्ये म छैटौँ नम्बरमा परेँ । माओवादीकै नेता ऊर्जामन्त्री हुँदा देशबाट लोडसेडिङको अन्त्य भयो भने मसम्म आइपुग्दा विद्युत् व्यापारसमेत सुरु भएको छ”, उहाँले भन्नुभयो “ऊर्जा क्षेत्रमा दीर्घकालीन विकासमा थप मार्ग प्रशस्त भएको छ । यसले व्यापार घाटा घटाउनेलगायतका अन्य आर्थिक विकासका लागिसमेत काम गर्नेछ ।”   आर्थिक वर्ष २०७८/०७९ मा मात्रै मुलुकको केन्द्रीय प्रणालीमा सात सय ७१ मेगावाट बिजुली थप भई कूल विद्युत् उत्पादन क्षमता दुई हजार दुई सय ६९ मेगावाट बराबर पुगेको छ । त्यसैगरी ६६ केभीभन्दा माथिको प्रसारण लाइन चार सय ४६ मेगावाट सर्किट किलोमिटर थप भई पाँच हजार ८६ सर्किट किलोमिटर बराबर निर्माण भएको छ । यस्तै बिजुलीको चुहावटसमेत १७ दशमलमव १८ बाट घटेर १५ दशमलव ३८ प्रतिशत कायम भएको छ ।   मुलुकको ९५ प्रतिशत जनतामा विद्युत्को पहुँच पुगेको छ । पछिल्लो पाँच वर्षको विद्युत्को वार्षिक औसत खपतदर १८ प्रतिशतले वृद्धि भएको छ । गत आवमा कूल २१ हजार छ सय ४२ हेक्टर जमिनमा थप सिँचाइ सुविधा विस्तार भई सिँचाइ सुविधा उपलब्ध भई कूल सिञ्चित क्षेत्रफल १५ लाख ३१ हजार ६९  हेक्टर बराबर पुगेको छ । यस्तै, विद्युतीय पूर्वाधारको विकास तथा विस्तार गर्दै विद्युतीय साधनको प्रयोगलाई प्रोत्साहन गर्न विद्युतीय सवारी चार्जिङ स्टेशनका लागि सहुलियत दरमा महसुल निर्धारण गरिएको छ ।   भारत र बङ्गलादेशमा समेत बिजुली निर्यातको मार्ग प्रशस्त भएकाले जलविद्युत् आयोजना निर्माणको मोडालिटीमा समेत परिवर्तन गरिएको उहाँले जानकारी दिनुभयो । मन्त्री भुसालले केही प्राविधिक समस्याका कारण बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि स्थापना गर्न लागिएको कम्पनीको काम अगाडि नबढेको बताउनुभयो ।   पत्रकार सम्मेलनमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् व्यापारका कारण मुलुकको अर्थतन्त्रमा पर्ने प्रभाव र आगामी कार्ययोजनाका बारेमा जानकारी दिनुभएको थियो । 

  काठमाडौँ ।  नेपाली बृहत् शब्दकोशले दर शब्दको अर्थ तीजका अघिल्ला रात खाने, दह्रिलो विशेष भोजन भनेको छ । शब्दकोशको यो अर्थको अनर्थ लाग्ने गरी अहिले राजधानीलगायत ठूला सहरमा तीजको महिनौँअघिदेखि दर खानेको लर्को लाग्छ । तीजमा व्रत बस्ने बर्तालुलाई आड होस् भन्ने उद्देश्यले दर खाने परम्पराको विकास भएको हो ।        वैदिक सनातन हिन्दू धर्मअनुसार भाद्र शुक्ल तृतीयाका दिन तीज पर्व मनाइन्छ । त्यसको अघिल्लो रात दर खाने संस्कृति सनातनदेखि नै चल्दै आएको छ । यो परम्परामा केही वर्षअघिदेखि भने विकृतिको सुरुआत भएको छ ।      संस्कृतिविद् डा गोविन्द टण्डन तीजका नाममा सुरु भएको यो विकृतिलाई रोक्नुपर्ने बताउनुहुन्छ । तीजको एक दिनअघि आमा, दिदी, बहिनी घरपरिवारमा बसेर आडिला चीजबीज खानुलाई दर भनिने उहाँ सुनाउनुहुन्छ । तडकभडकका रूपमा मनाउने यस्तो विकृतिले फजुल खर्च बढाएको छ ।       “अहिले हाम्रो संस्कृतिभन्दा भिन्नरूपमा तीज मनाउन थालिएको छ, यसले नहुनेलाई तनाव दिएको छ, नकारात्मक सोच बढाएको छ, गरिष्ठ कुरा मांस, मदिरा दरमा खाने होइन, सेल, पुरी, खीरलगायत शरीरलाई तागत दिने खानेकुरा दरका रूपमा खाने हो”, संस्कृतिविद् टण्डनले भन्नुभयो ।        विकृतिका रूपमा मौलाएको तीज भोजले होटल र पार्टीप्यालेस व्यवसायीलाई फाइदा भए पनि संस्कृतिलाई भने विकृत बनाएको छ । होटल र पार्टीप्यालेसमा साथीभाइसँग दर खाने परम्परा नै गलत रहेको टण्डनको भनाइ छ । टाढा टाढाबाट माइत आएका चेलीबेटीले घर परिवारमा बसेर खाने मौलिक परम्परालाई अहिले विकृत बनाइएको छ ।      तीजको दुई महिनाअघिदेखि दर खाएर देखाउँदा विपन्न वर्गका मानिसलाई पर्व मनाउन मुस्किल हुने गरेको छ । समाजमा दर भनेको एक महिनाअघिदेखि नै खानुपर्ने रहेछ भन्ने सन्देश गएको छ । सहरमा एक महिनाअघिदेखि धेरै पार्टीप्यालेस दर खानकै लागि रिजर्भ हुने गरेका छन् ।          यसरी रिजर्भ भएका पार्टीप्यालेसमा दरका नाममा मांस, मदिराको सेवन हुन्छ । व्रत बस्ने अघिल्लो दिन खाने विशेष परिकारलाई दर भन्ने शब्दकोशको अर्थअनुसार अहिले अधिकांशको व्यवहारमा चलेको दर खाने प्रक्रिया मिल्दैन । व्रतको अघिल्लो दिन घाम अस्ताएपछि देखि नै बर्तालुले शुद्ध खानेकुरामात्र खानुपर्ने शास्त्रीय नियम रहेको बताउनुहुन्छ धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई । दरका नाममा एक महिनाअघि नै भएपनि मांस, मदिराको सेवन संस्कृतिका नाममा बढेको विकृतिको स्वरूप भएको उहाँले सुनाउनुभयो ।      “तीजमा निराहार व्रत बस्नुपर्ने भएकाले अघिल्लो दिन शुद्ध, विशेषगरी दूधबाट बनेका सात्विक परिकार खाने शास्त्रीय नियम हो, व्रतको अघिल्लो दिन एकछाकी भएकाले पनि जे मन लाग्यो त्यही खान हुँदैन, दर तीजको अघिल्लो रात ११ बजेसम्ममात्र खान सकिन्छ, त्यसपछि राक्षसी समय सुरु हुने भएकाले ११ बजेपछि दर खान निषेध गरिएको छ”, धर्मशास्त्रविद् भट्टराईले भन्नुभयो ।         उपभोगवादी संस्कृतिले अहिले तीज, व्रत जस्ता शब्द देखाउने कुरामात्र हुन थालेको छ । मर्म विनाका पर्व मनाउन थालिएका छन् । हुनेखानेले रवाफ देखाउने माध्यम चाडपर्व बन्न थालेको छ ।        सहरमा बस्ने अधिकांशलाई महँगीका कारण हातमुख जोर्न, बालबालिका पढाउन, औषधोपचार गर्नसमेत मुस्किल हुन थालेकामा हुनेखानेले गर्ने खर्चसँगै प्रतिस्पर्धा गर्नुपर्ने चुनौती थपिएको छ । यस्तो विकृतिले भ्रष्टाचारलाई पनि प्रोत्साहन गर्ने बताउनुहुन्छ समाजशास्त्री कीर्तिकुमार दुमी राई । परिवारको चाहना पूरा गर्न गलत प्रक्रियाबाट स्रोत जुटाउने बाध्यता संस्कृतिका नाममा मौलाएको विकृतिले बढाउन थालेको छ ।        अहिले अन्य संस्थाका अतिरिक्त सरकारी कार्यालयमा समेत तीजको दरका नाममा विकृति भित्रिन थालेको छ । तीजकै नाममा लाखौँ खर्च हुन थालेको छ । आर्थिक मन्दीको राप अलापिरहँदा सरकारी संयन्त्रले पर्वका नाममा मौलाएको विकृतिका पक्षमा हुने खर्च रोक्न सकेका छैनन् ।         विद्यालयमा समेत तीजका कार्यक्रमका नाममा खानपान एवं भोज हुन थालेको छ । अभिभावकसँग पैसा लिएर शिक्षक, कर्मचारी र कुनै विद्यालयमा त अभिभावकलाई पनि दर खुवाउने कार्यक्रम हुन थालेको हो । समाजलाई संस्थागत भ्रष्टाचारको आहालमा डुबाउन यस्ता गतिविधिले प्रेरित गर्ने समाजशास्त्री राईको विश्लेषण छ ।

  झापा । पूर्वोत्तर झापाको बाहुनडाँगी बजारमा हात्ती आएको सूचना दिन ‘साइरन’ जडित मेसिन राखिएको छ ।        मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा राखिएको मेसिनको उद्घाटन मेची नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले गर्नुभयो । व्याट्री, प्यानल बक्स, तार जडित सो मेसिनले हात्ती प्रवेश गर्नासाथ सूचना दिने बताइएको छ ।  उज्यालो नेपालका पूर्वध्यक्ष एवं स्वयंसेवक रमेश थापाले सो साइरन मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीलाई सहयोगस्वरुप हस्तान्तरण गर्नुभएको र हात्ती आउँदा बजेको सो मेसिनको साइरनले बाहुनडाँगी बजार आसपास एक किलोमिटर क्षेत्रसम्म आवाज सुनिने बताइएको छ ।        साइरनमा मोबाइल एप्स जोडेर प्रत्येक व्यक्तिले हात्ती आएको जानकारी लिन सकिने बताइएको छ । साइरनको सुरुक्षाका लागि सशस्त्र प्रहरी बल बाहुनडाँगीलाई जिम्मा दिइएको छ ।       “साइरन बजेपछि हात्ती आएको थाहा पाइन्छ”, उज्यालो नेपालका स्वयंसेवक थापाले भन्नुभयो, “त्यसपछि घरमै बस्दा पनि मानिसले ज्यान जोगाउन सक्छन् । हात्ती आउँदा हात्ती धपाउने होइन कि घरमा लुकेर बस्नु पर्छ ।”

  पोखरा​:  जोण्टा क्लवको आयोजनामा पोखरामा महिलाहरुका लागि दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।   जयन्ती ट्रष्टसंगको सहकार्यमा ‘गो रेड फर वोमन’ नारा दिइएको उक्त शिविर पोखराको भाटभटेनि प्राङगणमा भएको हो ।    कार्यक्रममा झण्डै ४ सय महिलाले लाभ लिएको जोण्टा क्लव अफ पोखराका अध्यक्ष मोनिका थापाले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा महिलाहरुको निःशुल्क ब्लड प्रेसर, नाप, तौल, ईसिजी, बिएमआई, ब्लड ग्लुकोज लगायत टेष्ट गराइएको थियो ।    कार्यक्रमका प्रमुख अतिथि पोखरा एकेडेमी अफ हेल्थ साईन्सका भिसी प्रोफेसर डा.डुक बहादुर क्षेत्रीले तीजको बेला महिलाहरुलाई लक्षित गरि आयोजित कार्यक्रम सान्दर्भिक भएको बताउनुभयो । यो सामाजिक क्षेत्रका लागि उदाहरणिय कार्य भएको उहाँको भनाई थियो ।   त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि पोखरा महानगरपालिका वडा न.९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले कार्यक्रमले समाजमा सकारात्म सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो । क्लबले आगामी दिनहरुमा आयोजना गर्ने कामहरुमा पनि वडाले हातेमालो गर्ने मर्सानीले जनाउनुभयो । महिलाहरुको पर्व हरितालिका तीजका अवसरमा आयोजित कार्यक्रम क्लवका महासचिव नेलिसा ठकुरीले सञ्चालन गर्नुभएको थियो ।   

  पोखरा:  पोखरामा भूमिगत तला (अन्डर ग्राउण्ड) लाई पार्किङको रुपमा प्रयोगमा ल्याउन महानगरले ३५ दिने अल्टिमेटम दिएको छ ।   पोखरा महानगरपालिकाले महानगर भित्रका भूमिगत तलालाई पार्किङको रुपमा प्रयोगमा ल्याउन आज (आइतबार) ३५ दिने सूचना प्रकाशित गरेको हो ।    सुचनामा भनिएको छ, ‘पोखरा महानगरपालिका क्षेत्र भित्र पार्किङ प्रयोजनका लागि नक्शा स्वीकृत गरी निर्माण भएका भूमिगत तला सहितका भवनहरुको भूमिगत तलाई पार्किङमा प्रयोग नगरी अन्य प्रयोगमा ल्याउनु भएका घरधनीहरुलाई आजका मितिले ३५ दिन भित्र भूमिगत तलालाई खाली गरी पार्किङ रुपमा प्रयोगमा ल्याउनु हुन अनुरोध गरिन्छ ।    अन्यथा कानुन बमोजिम हुुने व्यहोरा जानकारी गराईन्छ ।’ नक्सा स्वीकृत गरी निर्माण भएका भूमिगत तला पार्किङका रुपमा ल्याउन घरधनीलाई आग्रह गर्दै सुचना अनुरुप पार्किङमा प्रयोग नगरेमा कानुनी कारवाही गर्ने जनाएको छ ।      

  कुश्मा । पर्वतका गाउँगाउँमा मोटरबाटो पुगेको छ । उपभोग्य वस्तु सहजै गाउँमा पाइन थालेको छ । स्थानीय सरकार आएपछि प्रशासनिक कामका लागि गाउँबाट सदरमुकाम कुश्मा धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । यहाँको व्यापार व्यवसाय फष्टाएको छ । व्यवसायी विभिन्न विकल्प खोज्दै छन् ।        व्यापार व्यवसायलाई अघि बढाउन पाँच सयभन्दा बढी व्यवसायी तथा स्थानीयले बागलुङको बलेवा र कुश्मालाई जोड्न केबलकार मोडेलको यान्त्रिक पुल सञ्चालनमा ल्याएका छन् । यसले सुस्ताएको कुश्मालाई जुरमुराउने काम गरेको छ । सदरमुकाम कुश्मा र दक्षिणी बागलुङका दर्जन बढी गाविसलाई जोड्ने काम यही यान्त्रिक पुलले गरेको छ । पर्वत उद्योग वाणिज्य सङ्घको अग्रसरतामा कालीगण्डकीको खोंच माथि करिब रु पाँच करोड खर्चेर निर्माण गरिएको उक्त पुलमा दैनिक तीन सयभन्दा बढी यात्रु आवतजावत गर्दै आएका छन् ।        “हामीले बागलुङ र पर्वतलाई जोड्न यान्त्रिक पुलको निर्माण गरेका हौँ”, बलेवा यान्त्रिक पुल लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले भन्नुभयो, “सङ्घीयता आइसकेपछि पर्वतको व्यवसाय धरासायी बन्दै गएका बेला यहाँको व्यवसाय चलायमान बनाउन पुलले महत्वपूर्ण काम गरेको थियो ।”        दक्षिणी बागलुङमा उत्पादन भएका कृषिउपज बिक्रीका लागि कुश्मामा ल्याइन्छ । खाद्यान्न कुश्माबाट बागलुङतर्फ लैजाने गरिन्छ । पुलले दुई जिल्लाकै व्यापार व्यवसायमा मद्दत पु¥याएको छ । त्यस्तै स्वास्थ्य, शिक्षा, रोजगारीलगायतमा पनि यसले सहजता प्रदान गरेको छ ।       “बागलुङको दक्षिणी भेगका बासिन्दाका लागि पुल निकै लाभदायिक सावित भएको छ”, यान्त्रिक पुल चढ्दै गर्दा भेटिनुभएका बलेवाका गोविन्दप्रसाद सिग्देलले भन्नुभयो, “हाम्रा छोराछोरी कुश्माको विद्यालयमा पढ्न जान्छन् । यहाँबाट रोजगारीका लागि कुश्मा जाने पनि धेरै छन् । पुलले भूगोल मात्र नभई पर्वत र बागलुङका बासिन्दाको मन पनि जोडेको छ ।”        दक्षिणी बागलुङ क्षेत्रका नारायणस्थान, अमलाचौर, कुश्मिशेरा, दमेक, सर्कुवा, पैँयुन्थापलगायतका स्थानीयलाई बागलुङ बजार पुग्नुभन्दा कुश्मा आउन सहज हुने गरेको छ । उनीहरु पोखरा र काठमाडौँ जाँदासमेत यान्त्रिकपुलकै प्रयोग गरी कुश्मा आएर गाडी चढ्ने गर्छन् । प्रशासनिकबाहेक अन्य कामका लागि पनि उनीहरु कुश्मा नै आउने गरेका छन् ।        बागलुङको दक्षिणी भेगका स्थानीयलाई घण्टौँ लगाएर भिरको बाटो भएर कुश्मा आइपुग्नुपर्ने बाध्यता अब हटेको छ । त्यहाँका बान्दिालाई भाडादरमा सहुलियतसमेत दिइएको छ । अन्य यात्रुले एकतर्फीको रु एक सय १३ तिर्नुपर्ने हुन्छ भने उनीहरुले रु ८५ मात्र तिरे पुग्छ ।        नेपाली प्राविधिकले बनाएको यान्त्रिक पुल नेपालकै पहिलो हो । तारको सहायतामा दुई डिब्बालाई वारिपारि गराइन्छ । एउटा डिब्बामा आठ यात्रु बस्न मिल्छ भने छ सय किलो सामान ढुवानी गर्न सकिन्छ । पछिल्लो समय यान्त्रिक पुल आन्तरिक पर्यटकको रोजाइमा समेत पर्न थालेको छ । 

  मुस्ताङ । उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिकास्थित लोवथाङमा गल्फ प्रतियोगिता सम्पन्न भएको छ ।           समुन्द्री सतहदेखि चार हजार छ सय ४५ मिटरको उचाइमा रहेको उक्त कोर्समा ‘टप अफ द वल्ड गल्फ च्यालेञ्ज’ सम्पन्न भएको लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी नुर्बु गुरुङले जानकारी दिनुभयो । “यो गल्फ प्रतियोगिता विश्वकै सर्वाधिक उचाइको भएको हाम्रो दाबी छ”, उहाँले भन्नुभयो, “यस प्रतियोगिताले यहाँको सम्भावनालाई थप उजागर गरेको छ ।”     प्रतियोगितामा कूल ३५ प्रतियोगी सहभागी भएको जानकारी दिँदै गुरुङले ८१ वर्ष उमेरसम्मका व्यक्तिले भाग लिएको बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा पुरुषतर्फ श्याम तामाङ र महिलातर्फ सुस्मा सिंह च्याम्पियन बन्नुभएको छ ।      अघिल्लो वर्ष उक्त स्थानमा गल्फको परीक्षण गरिएको थियो । उक्त स्थानमा गल्फ कोर्ष निर्माणका लागि पूर्वाधार तयार गर्न अघिल्लो वर्ष संसद् विकास कोषअन्तर्गत रु १० लाख विनियोजन गरिएको थियो । गाउँपालिकाले प्रतियोगिता सञ्चालनका लागि रु १० लाख छुट्ट्याएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । 

  पर्वत । भरिया दाइले बिसाउने भारी सुन माया डाँडैको चौतारी’ कलाकार विष्णु खत्रीले गाउनुभएको  यो गीत सुन्दा चौतारीको सम्झना दिलाउँछ । हुन पनि भारी बोकेर हिँड्नेहरु कतिबेला चौतारी पुगिएला र भारीको बोझ बिसाउँला भन्ने गर्दथे ।   भारी बोक्ने मात्र होइन, बाटो हिँड्ने बटुवासमेत चौतारी भेटेपछि थकानलाई विश्राम लिन्थे । बरपिपलको चौतारीमा बसेर थकित शरीरलाई विश्राम लिँदा छुट्टै आनन्द आउँथ्यो त्यो बेला ।    अहिले ती इतिहास बोकेका चौतारी, पोखरी र पँधेरा बिरानो हुँदै गएका छन् । बरपिपलका रुख पनि बुढेसकाल लागेर सुक्दै गएका छन् । धोद्रा लागेका रुखले तिनै बटुवालाई कुरिरहेका छन् । कुनै बेला सञ्चारको विकास नहुँदा अगाडि हिँड्दै गरेको साथीले पछि आउँदै गरेको साथी भेट्न चौतारीमा कुरेर बस्ने प्रचलनसमेत थियो ।   एक दशक अगाडि बाटेमा देखिने चिटिक्क परेका चौतारी अहिले एकादेशको कथा बन्न थालेका छन् । विकास निर्माणको गतिसँगै भौतिक विकासमा दौडिरहेको हाम्रो समाज यतिबेला त्यतै अल्मलिँदा पुराना संरचना भत्किँदै जान थालेका हुन् ।   एक दशक अगाडि पर्वत सदरमुकाम कुश्मा आउनजान प्रयोग हुने पैदलमार्ग मोदीवेणी, मुडिकुवाअन्तर्गत सिर्सुवाको चौतारी बटुवाहरूको थकाइ मेट्ने स्थानका रूपमा चिनिन्थ्यो । कुश्माबाट भारी बोकेर फर्किएका भरिया मोदीवेणीको उकालो काटेर सिर्सुवाको चौतारीमा विश्राम लिँदा भारीको थकान बिर्सन्थे । डाँडाको चौतारीमा चल्ने चिसो हावाले उकालो चढ्दा पसिनाले भिजेको शरीरलाई शीतलता दिन्थ्यो ।   चौतारीमा बिसाइ मेट्नेहरूको सङ्ख्या बढ्दै जाँदा नजिकै रहेका होटल व्यवसायीको पनि व्यापार बढेको थियो । कुश्मा आउनेहरू बाटोमा पानी पर्दा मोदीवेणीमा रहेको ठाँटीमा ओत बस्न पाउँदा घरमै पुगेको आभास हुन्थ्यो । आज ती चौतारी, पाटीपौवा झाँडीले भरिएका स्थानीय थानेश्वर भुसालले बताउनुभयो । चौतारीका ढुङ्गा लेउ लागेका छन्, संरक्षण अभावमा छन् । यो त एउटा उदाहरण मात्र हो आज कैयौँ चौतारी यस्तै अवस्थामा पुगेको उहाँको भनाइ छ ।    बाटो आसपासका कुवा तथा पोखरी यतिबेला मोटरबाटोले पुरिएका छन् । पैदलयात्री हिँड्ने गाउँको गोरेटो बाटो सुनसानै भएका छन् । इतिहास बोकेका ती ढुङ्गे छपनी बिछ्याएका बाटा त्यस्तै अवस्थामा छन् । बाटो हिँड्दा पानी पर्दा घामले पौल्दा अनि कुनै गन्तव्यमा हिँडेका बटुवा साँझ पर्दा बास बस्ने ठाँटीमा कोही पुग्दैन, ती पुराना संरचना भत्किएका छन् ।   अहिले पाटीपौवा बन्न छाडेका छन्, विकासले फड्को मारेको हाम्रो समाजमा गाउँमा मोटरबाटो पुगेपछि हिलाम्मे भएका सडकमा यतिबेला गाडी गुडिरहेका छन् । हिलाम्मे बाटो भए पनि गाडीमा यात्रा गर्नुपर्ने गाउँलेको बाध्यता बनिसकेको छ । महाशिलाका वृद्ध झमनाथ अधिकारीले भन्नुभयो, “भौतिक विकाससँगै गाउँको इतिहास बोकेका गोरेटो बाटो चौतारी, पोखरी, पाटीपौवाको अस्तित्व हराउँदै गएको गयो ।”    पछिल्लो समय गाउँगाउँमा पर्यटन प्रवद्र्धनको धारणा आए पनि स्थानीय तहबाट यस्ता ऐतिहासिक संरचना पुनःनिर्माणको चर्चा चलेको पाइएको छैन । पूर्वाधार विकासका नाममा सडक सञ्जालको विकासलाई नै मुख्य विकास मानिँदै आएको पाइन्छ । आधुनिक विकाससँंगै बाउबाजेले स्थापना गरेका ती ऐतिहासिक संरचनाको प्रवद्र्धन हुन नसक्दा सङ्कटमा परेको स्थानीय पदमपाणि शर्माले बताउनुभयो ।    “गाउँमा भएका यस्ता पुराना संरचना जोगाइराख्नु सबैको जिम्मेवारी हो”, उहाँले भन्नुभयो । त्यसैले सङ्कटमा परेका इतिहास बोकेको संरचना संरक्षणमा लाग्नुपर्ने देखिन्छ । वातवरणका दृष्टिकोणले पनि मानव सभ्यतासँग जोडिएका संरचना जोगाइ राख्नुपर्ने तपाईँ हामी सबैको दायित्व रहेको उहाँ बताउनुहुन्छ ।    पछिल्लो समय वातवरण संरक्षण अभियानअन्तर्गत डिभिजन वन कार्यालयद्वारा चौतारीपोखरी संरक्षण अभियान सञ्चालन गरिए पनि यस अभियानमा स्थानीयवासीको सहभागिता देखिँदैन । गत आर्थिक वर्षमा पर्वत जिल्लामा छवटा चौतारी र ११ वटा पोखरी निर्माण भएको डिभिजन वन कार्यालय पर्वतका प्रमुख विष्णु अधिकारीले बताउनुभयो ।   यस वर्ष पनि सामुदायिक वन क्षेत्रमा पानीका मुहान संरक्षण अभियानअन्तर्गत पोखरी निर्माण गर्ने तथा हरियाली प्रवद्र्वनका लागि चौतारी निर्माण अभियान सञ्चालन गर्ने डिभिजन वन कार्यालय पर्वतले जनाएको छ ।

  पोखरा । पोखरा लोकदोहोरी रेष्टुरेन्ट व्यवसायी संघको अध्यक्षमा जीवन गुरुङ दोहोरिएका छन् ।   शनिबार सम्पन्न तेस्रो अधिवेशनबाट गुरुङलाई दोस्रो पटक अध्यक्षमा सर्वसम्मत चयन भएपछि दोहोरिएका हुन् ।   गुरुङ नेतृत्व सो समितिको उपाध्यक्षमा वीरेन्द्र केसी निर्वाचित भए ।  यसैगरी सचिवमा दिलकुमारी मोक्तान, कोषाध्यक्षमा विष्णुबहादुर गुरुङ र सहसचिवमा सन्जु थापा मगर चयन भए ।   सदस्यहरुमा बबिता कार्की, विष्णु आचार्य, कविर गुरुङ, सुरज शाह ठकुरी, दिनेश केसी र दिप्सन गुरुङ छानिएको नवनिर्वाचित अध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार सो संघमा २६ वटा लोक दोहोरी रेष्टुरेन्ट व्यवसायी आवद्ध छन् ।