आचारसंहिता उल्लंघन  गरेको अभियोगमा निर्वाचन आयोगले स्पष्टीकरण सोधेकामध्ये २४ उम्मेदवारले जवाफ बुझाएका छन्।   आयोगले ३४ जनालाई स्पष्टिकरण सोधेको थियो। त्यसमध्ये अझै १० उम्मेदवारले जवाफ दिएका छैन...

  काठमाडौँ । हिन्दू धर्मावलम्बी नारीको महान् पर्व हरितालिका तीजमा कैयौँ महिलाले रमाइलो गरिरहँदा देशका लागि पसिना बगाउने कतिपय खेलाडी भने यतिबेला प्रशिक्षणमा व्यस्त छन् ।           घरपरिवार, इष्टमित्र, साथीसङ्गीसँग रमाउने रहर हुँदाहुँदै पनि देशको प्रतिष्ठा जोगाउनकै लागि पनि यतिबेला खेलाडी हरेक दिन मेहनत गरिरहेका छन् । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण विगतका केही वर्ष तीज मनाउन नपाएका खेलाडीका लागि यसपटकको तीज पनि यस्तैयस्तै हुन पुगेको छ ।            नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्री भण्डारी (साम्बा) ले तीज पर्वमात्रै नभइ चाडपर्व नै बिर्सिसकेको बताउनुभयो । “खेल क्षेत्रमा आएको सुरुसुरुको वर्षमा परिवार साथीसङ्गी निकै मिस हुन्थ्यो तर अब त इज टु भइसकेको छ, खेलाडीका लागि चाडपर्वभन्दा पनि खेल नै ठूलो हो”, भण्डारीले भन्नुभयो ।            फुटबलका प्रायः सबै खेलाडीको भनाइ यस्तै नै रहेको छ । चाडपर्वभन्दा पनि उनीहरुको मुख्य प्राथमिकता खेल नै रहेको देखिन्छ । राष्ट्रिय फुटबल टोलीका टिम म्यानेजर विन्द्रा देवानले खेलाडी क्लोज क्याम्पमा भएका कारण यसपटकको तीजमा महिला खेलाडीलाई घर पठाउन सम्भव नभएको बताउनुभयो ।     उहाँले नजिकिँदै गरेको महिला साफ च्यापियनसिपका कारण पनि खेलाडीलाई तीज मनाउनकै लागि भनेर घरमा पठाउन नसकिएको बताउनुभयो । “नेपाली महिलाको महान् पर्व तीज हो, हामी प्रशिक्षणकै दौरानमा खेलाडीसँग शुभकामना आदान प्रदान गर्नेछौँ, खेलाडीमात्र नभई महिला प्रशिक्षकलाई पनि तीज पर्वले छोएको छैन”, उहाँले भन्नुभयो ।     तीज पर्वभन्दा पनि खेल क्षेत्रबाट नेपालको नाम कसरी उच्च बनाउन सकिन्छ भन्ने विषयमा ध्यान केन्द्रित रहेको नेपाली राष्ट्रिय फुटबल टोलीकी सहायक प्रशिक्षक कमला खरेलले बताउनुभयो । उहाँले यसअघिका वर्षमा भने तीज मनाउँदै आउनुभएको थियो तर यसपटक भने उहाँको तीज खेलाडीसँग बित्नेछ ।             “अघिल्ला वर्षमा परिवार साथीसँग जमघट गरेर तीज मनाउँदै आउने गरेको थिएँ तर यसपटक साफ च्याम्पियनसिपमा नेपालले कसरी गोल्डमेडल भित्र्याउन सक्छ भने विषयमा नै मेरो ध्यान छ”, उहाँले भन्नुभयो ।             उहाँले साफ च्याम्पियनसिपमा प्रायः दोस्रो बन्दै आएको नेपाललाई यसपटक भने पहिलो बनाउने उदेश्यका साथ अभ्यास गरिरहेको बताउनुभयो । तीज पर्वभन्दा पनि घरेलु मैदानमा लगातार दोस्रोपटक आयोजना हुन लागेको महिला साफ च्याम्पियनसिपमा स्वर्ण पदक जित्ने उदेश्यका साथ महिला खेलाडी प्रशिक्षणमा व्यस्त देखिन्छन् ।            सन् २०१९ मा भएको अघिल्लो संस्करणको साफ नेपालले विराटनगरमा आयोजना गरेको थियो । त्यतिबेला पनि नेपाल दोस्रो नै भएको थियो । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले यही भदौ २१ देखि असोज ३ गतेसम्म साफ च्याम्पियनसिप खेल्दैछन् ।            त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुने उक्त च्यापियनसिपमा आयोजक नेपालसहित भूटान, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश, भारत र माल्दिभ्सको टोली सहभागी हुनेछन् । प्रतियोगितामा सहभागिता जनाउन भूटानी टोली भने नेपाल आइपुगिसकेको छ ।            नेपाली टोलिमा गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बा, अञ्जना रानामगर र उषानाथ छन् । डिफेन्डरमा हीराकुमारी भुजेल, अमृता जैसी, गीता राना, पुनम जर्घामगर, निशा थोकर, समीक्षा घिमिरे र विमला विक छनोट भएका छन् ।            मिडफिल्डरमा विमला चौधरी, मञ्जलीकुमारी योञ्जन, प्रीति राई, सरु लिम्बू, दीपा राई, दीपा शाही, इन्दिरा राई, अनिता बस्नेत र अनिता केसी छन् भने फरवार्डमा सावित्रा भण्डारी, अमिषा कार्की, रेखा पौडेल र रश्मिकुमारी घिसिङ छन् ।           फुटबल मात्र नभइ अन्य खेलका महिला खेलाडीलाई पनि तीज लागेको छैन । उनीहरुले तीज पर्वभन्दा पनि खेल पर्व नै ठूलो मानिरहेको देखिन्छ । अहिले विभिन्न खेलका महिला खेलाडी नवौँ राष्ट्रिय खेलको तयारीमा जुटिरहेका छन् ।           सागमा लगातार दुई स्वर्ण पदक हात पार्ने उसु खेलाडी निमा घर्तीमगर तीज मनाउनुभन्दा पनि प्रतियोगितामा कसरी स्वर्ण जित्न सकिन्छ त्यसतर्फ उहाँको ध्यान केन्द्रित भएको देखिन्छ ।             गण्डकी प्रदेशमा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने नवौँ राष्ट्रिय खेलका लागि उहाँ अहिले बिहान बेलुका नभनि तालिममा व्यस्त हुनुहुन्छ । तीजको खासै चासो नराख्ने उहाँलाई तीज कसरी मनाइन्छ भन्ने थाह नै छैन र हालसम्म उहाँले तीज मनाउने गर्नु नै भएको छैन ।           तीज पर्वमा खासै चासो नरहेको उहाँले हरेक खेलमा आफ्नो पफमेन्स कसरी राम्रो गर्न सकिन्छ भन्नेमा आफनो ध्यान केन्द्रित रहने बताउनुभयो । बाह्राँै दक्षिण एशियाली खेलकुद प्रतियोगितामा १६ वर्षकै उमेरमा उहाँले नेपाललाई स्वर्णपदक दिलाएर नेपाली खेलप्रेमीलाई खुसी प्रदान गर्नुभएको थियो ।            उसुमा दुई स्वर्ण जित्ने निमा हालसम्म एक्ली खेलाडी हुनुहुन्छ । नेपालमा नै आयोजना भएको तेह्रौँ सागमा उहाँले उसुको नानछ्वानमा कुल २० मा १८ दशमलव ९१ अङ्क स्कोर गर्नुभएको थियो । १२ औँ सागमा स्वर्ण जित्दा उहाँको स्कोर १६ दशमलव ९१ थियो । निमाले भन्नुभयो, “फेरि पनि आफनो इफोर्ट स्वर्ण पदकै लागि हुनेछ ।”           नजिकिँदै गरेको नवौँ राष्ट्रिय खेलको तयारीका लागि चेस खेलाडीले पनि जमघट गरेर तिज मनाउन पाएनन् । चेस खेलमा सर्वाधिक सफलता हासिल गर्नुभएकी खेलाडी मोनालिसा खम्बुले पनि औपचारिकरुपमा तीज पर्व मनाउने गर्नुभएको छैन । आफू किरात समुदायमा रहेकाले औपचारिक तीज नमनाए पनि विभिन्न सङ्घसंस्थाले मनाउने गरेको तीज कार्यक्रममा भने उहाँले सहभागिता जनाउने गर्नुभएको छ ।           तीजमा स्पेसली खाने र नाच्ने कार्यक्रममा मात्र नभइ महिला सशक्तीकरणमा सबैले जोड दिन आवश्यक रहेको चेस खेलाडी मोनालिसाले बताउनुभयो । त्रिभुवन आर्मी क्लबमा चेस खेलको व्यवस्थापकको जिम्मेवारी सम्माल्नुभएको उहाँले यसपटकको तीजमा खेलाडीलाई तिजको लागि भनेर घर नपठाएको बताउनुभयो ।           उहाँका अनुसार आर्मीले केही दिनअघिमात्र औपचारिक कार्यक्रमको आयोजना गरेर महिला खेलाडीलाई दर खुवाएको थियो । मोनालिसा नेपालको पहिलो राष्ट्रिय महिला चेस च्याम्पियनका साथै अन्तर्राष्ट्रिय चेसमा नेपालको प्रतिनिधित्व गर्ने पहिलो महिला खेलाडीसमेत हुनुहुन्छ । उहाँ चेस सङ्घको सचिवका साथै नेपालको पहिलो महिला अन्तर्राष्ट्रिय चेस आर्विटसमेत हुनुहुन्छ ।             नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका कारण अधिकांश खेलका महिला खेलाडी क्लोज क्याम्म नै व्यस्त छन् । तीज पर्वभन्दा पनि आफ्नो टोलीलाई कसरी पहिलो बनाउन सकिन्छ र खेलमा राष्ट्रिय कीर्तिमान कसरी कायम गर्न सकिन्छ भन्ने विषयमा खेलाडीको ध्यान केन्द्रित भएको छ । फेरि नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीले एशियाली खेलकुद (एसियाड) मा सहभागिताको मौका पाउने हुँदा पनि खेलाडीलाई चाडपर्वभन्दा पनि आफनो पफमेन्स नै महत्वपूर्ण रहेको छ ।  

  चितवन । तीज आउन एक महिनाअघिदेखि गाउँघरदेखि सहरसम्म दर खाँदै रमाइलो गरिरहेका छन् आमा दिदी बहिनी । नारायगढ बजार आसपासका सहरी क्षेत्रका होटल रेष्टुरेन्टमा तीजका कार्यक्रम धुमधाम चलिरहेका बेला नजिकै रहेको देवघाटधामको वृद्धाश्रममा रहेका आमा भने तीज सम्झेर मात्रै बसिरहनुभएको छ ।        अरु समयमा भन्दा ती आमाहरुलाई तीजले निरास बनाउने गर्छ । तीजमा घरमा चेलिबेटी बोलाएर रमाइलो गरेको र आफैँ पनि माइत गएको स्मरण उहाँहरुलाई भईनै रहन्छ । आज दरखाने दिन विगत सम्झँदै उहाँहरुलाई थप भावुक बनाउने गर्दछ ।       देवघाट क्षेत्र विकास समितिले सञ्चालन गरेको देवघाट समाजकल्याण केन्द्र (वृद्धाश्रम) मा आश्रित भइरहनुभएकी मकवानपुर भीमफेदीकी ८८ वर्षीया सुभद्रा पुडासैनीले अरु बेलाभन्दा चाडपर्वका बेला बढी पोल्ने गरेको दुखेसो गर्नुभयो । उहाँले भन्नुभयो, “दुःख पर्दा र चाडपर्व आउँदा आफन्त कोही हुँदैन । सम्झेर मात्रै बस्ने हो”, पहिले पहिले छोरी र इष्टमित्रलाई बोलाएर दर खुवाएको सम्झँदै उहाँले भन्नुभयो, “अहिले त मलाई तीज सुन्दा पनि नरमाइलो लाग्छ ।”       कान सुने पनि आँखा नदेख्ने भएकाले संसार अँध्यारो भए जस्तै लाग्ने  उहाँको भनाइ छ । दुखेसो गर्दै पुडासैनीले भन्नुभयो, “अब मैले जे भोगिरहेको छु, मेरा सन्तानले यस्तो भोग्न नपरोस् ।” एक छोरी मात्रै भएकी पुडासैनीका श्रीमान् पहिल्यै बितेपछि रेखदेख नपाएर उहाँ वृद्धाश्रममा आइपुग्नुभएको हो । छोरी र नातिनातिनाले भेट्ने त कुरै छोडौँ फोनसमेत नगर्ने दुखेसो उहाँको छ ।        सोही वृद्धाश्रममा रहनुभएकी सिन्धुलीकी ७२ वर्षीया लक्ष्मीमाया श्रेष्ठ विगत नौ वर्षदेखि चाडपर्व आउँदा निरास भएर यही बसिरहनुभएको छ । उहाँले विगतको स्मरण गर्दै भन्नुभयो, “हाम्रो जातिले तीज नमनाउने भए पनि रमाइलो हेर्न गइन्थ्यो ।” खानपिनमा रमाउने गरेको विगतलाई सम्झँदै उहाँले अहिले कारागारमा बसेजस्तै भएको गुनासो गर्नुभयो । उहाँले थप्नुभयो, “अरु बेला जेनतेन ठिकै हुन्छ, चाडपर्वमा निकै नरमाइलो लाग्छ ।”       श्रीमान् सानैमा बितेपछि दाजुभाउजुले नहेरेर विरक्तिँदै वृद्धाश्रम आइपुग्नुभएकी श्रेष्ठ तीजसँगै पर्व आउने भएकाले अबका दिनले घर सम्झाउने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यहाँ जे छ, त्यसैमा रमाउनुबाहेक केही छैन ।”       लमजुङकी ७१ वर्षीया शान्ति घिमिरे श्रीमान्सँगै आश्रममा बस्दै आउनुभएको छ । सन्तान नभएका उहाँहरुको बुढेसकालसँगै वृद्धाश्रममा बितिरहेको छ । उहाँले भन्नुभयो, “हरेराम भन्दै भगवान्को नाम जपेर चाडपर्व मनाउँछौँ । आफन्त कोही छैनन्”, उहाँले थप्नुभयो, “तीजमा रमाइलो गर्ने र रमाइलो हेर्ने हाम्रा दिन गए ।”       पाल्ने मान्छे नभएर वृद्धाश्रम आएका आफूहरुलाई पर्वको खासै मतलब नहुने गरेको उहाँको भनाइ छ । सँगसँगै रहेका एकअर्काले विगतका पीडालाई साटासाट गरेर चित्त बुझाउने गरेको उहाँ बताउनुहुन्छ ।        पोखराकी दुर्गा लामिछाने अहिले ७३ वर्षमा हिँडिरहनुभएको छ । परिवारमा कोही नभएपछि आठ वर्षदेखि उहाँ यहाँ हुनुहुन्छ । अविवाहित लामिछानेको बुबाआमा बितेपछि साहाराविहीन भएर यहाँ आइपुग्नुभएको हो । उहाँले गहँभरि आँसु पारेर भन्नुभयो, “तीज भन्नेबित्तिकै आमा, आफन्तलाई सम्झना हुन्छ”, उहाँले थप्नुभयो “अब त मीठोचोखो खान पनि स्वास्थ्यले साथ दिदैन, चाडपर्व नआइदिए हुन्थ्यो भन्ने लाग्छ ।”      वृद्धाश्रममा ३३ वृद्धवृद्धा छन् । सरकारले सञ्चालन गरेको भए पनि वृद्धाश्रममा रहेकालाई वर्षभरि नै दाताहरुले विभिन्न अवसरमा सहयोग गर्ने गरेका छन् । जन्मदिन, विवाहको दिन, पुण्य तिथि पारेर खान खुवाउने, कपडा दिने गरेका छन् ।        देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरनबाबु घिमिरे पर्वका अवसरमा घर सम्झना नआउने गरी विशेष खानपानको व्यवस्था गर्ने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “वृद्धवृद्धाको स्वास्थ्यलाई हेरेर पर्वमा विशेष खानाको व्यवस्था गर्दछौँ ।” यहाँ जतिसुकै राम्रो गरे पनि तीजमा आमाहरुलाई घर र माइतीको सम्झना भने आई नै रहने गरेको उहाँको भनाइ छ ।

  काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा विदेशमा बस्ने नेपालीले पनि मत हाल्न पाउने अधिकारको सुनिश्चितता गर्नुपर्ने माग गर्नुभएको छ ।          सभाको आजको बैठकको शून्य समयमा सांसद दुर्गाकुमारी विश्वकर्माले भन्नुभयो, “आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीले पनि मत हाल्न पाउनुपर्छ, सरकारले त्यसको व्यवस्था गर्नुपर्छ, साथै देशभित्रै पनि कतिपय नागरिक मत हाल्नबाट बञ्चित भएका छन् त्यसको उचित व्यवस्थापन गर्नुपर्छ सरकारले ।”          सांसद डा डिला सङ्ग्रौला पन्तले महिला प्रत्यक्ष निर्वाचन लड्न सक्षम भएको भन्दै राजनीतिक दलले महिलालाई निर्वाचनका लागि टिकटको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । सांसद दीलकुमारीले नागरिकताका विषयलाई जतिसक्दो चाँडो टुङ्गो लगाउनुपर्नेमा जोड दिनुभयो । सांसद दीपक प्रकाश भट्टले शैक्षिक क्षेत्रमा देखिएको विकृति विसङ्गति अन्त्य गर्नुपर्ने माग गर्नुभयो ।               सांसद नारायणप्रसाद खतिवडाले पासाङल्हामु राजमार्गलगायत मुलुकका विभिन्न स्थानमा सडक निर्माण कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद पार्वतीकुमारी विसङ्खेले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचन पूर्ण समानुपातिक हुनुपर्नेमा जोड दिनुभयो ।            सांसद प्रेम सुवालले त्रिभुवन विश्वविद्यालयमा तीन वर्षयता तीन सय दिन तालाबन्दी भएको उल्लेख गर्दै समस्या समाधानका निम्ति सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले निर्वाचन घोषणा भइसकेपछि पनि संसद् सञ्चालन गर्न नहुने भन्दै संसद्को अन्त्य गरिनुपर्ने माग गर्नुभयो । सांसद डा विजय सुब्बाले साझा प्रकाशनलाई व्यवस्थित गर्दै अगाडि बढाउनेबारे सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद डा पुष्पाकुमारी कर्ण कायस्त, पार्वता डिसी चौधरी, नवराज सिलवाल, दलबहादुर राना, दिव्यमणि राज भण्डारीले महँगी र भष्टाचारलगायत मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । 

  पोखरा । आसन्न नवौं राष्ट्रिय खेलकुदका लागि कास्की जिल्ला भलिबल संघले महिला तथा पुरुष खेलाडी छनोट सम्पन्न गरेको छ ।   कास्की जिल्ला भलिबल संघले महिला र पुरुषतर्फ ९–९ जना खेलाडीसहित ४–४ जना बैकल्पिक खेलाडी रहेका छन् । छनोट खेलमा पुरुषतर्फ ३२ र महिलातर्फ २१ खेलाडीको सहभागिता रहेको संघका अध्यक्ष विष्णु गुरुङले जनाएका छन् ।   पुरुषतर्फ छनोट हुन सफल खेलाडीमा बलराम गुरुङ, विवेक सुनार, रमेश गुरुङ, आकाश घमाल, अमिश गुरुङ, पारसमान गुरुङ, सचिन नेपाली, सन्जोक गुरुङ र ज्ञानु परियार छन । पुरुष वैकल्पिकतर्फ बेल बहादुर परियार, विश्वास विक, मिलन विक र निरज घमाल रहेका छन् ।   त्यसै गरी महिलातर्फ ममता डंगौरा, सम्पदा गुरुङ, गंगा गुरुङ, क्रिश्चल बराम, जमुना गुरुङ, निशा भुजेल, सविना पौडेल, प्रमिला अधिकारी र अन्शु थापा रहेका छन् । महिलातर्फ वैकल्पिक खेलाडीमा रमिला नेपाली, विपना नेपाली, अनिशा हर्मेल र सलिना गुरुङ रहेका छन् ।   छनोट हुन सफल खेलाडीहरुले भदौ १६ गतेबाट पोखरा रंगशालामा सञ्चालन हुने प्रदेशस्तरिय छनोट प्रतियोगितामा सहभागिता जनाउने जिल्ला खेलकुदकी कोषाध्यक्ष कन्चन थापाले जनाएकी छन् । कास्कीमा छनोट प्रक्रिया यहि १४ गते सम्पन्न हुनेछ । यति बेला विभिन्न खेलकुदको छनोट प्रक्रिया जारी रहेको जिल्ला खेलकुदका कार्यालय प्रमुख प्रकाश बरालले बताए  ।   

  पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३४ औं अधिवेशनमा चुनावी मैदानमा होमिएको अर्जुन पोखरेल प्यानललाई नव आदर्श सामुदायिक विकास समाजले सहयोग गर्ने भएको छ ।   घरदैलो कार्यक्रम अन्तर्गत समाजको आयोजनामा चलिरहेको लामाचौर तीज मेलामा पुगेको पोखरेल प्यानल टिमलाई सहयोग गर्ने जनाएको हो । पोखरेलको प्यानललाई जिताउन नव आदर्शबाट हुने सहयोगमा कुनै कन्ज्यूसाई नगर्ने समाजका अध्यक्ष रेश्मा शेरचन अधिकारीले जानकारी दिईन् । ‘यो प्यानललाई जिताउन हामीले हाम्रो संस्थाले सक्दो सहयोग गर्नेछौं,’ उनले भने, ‘हाम्रो समाजमा आवद्ध उद्योग वाणिज्यका सदस्यहरुलाई सहयोगका लागि भन्नेछौं ।’   समाजका पूर्वअध्यक्ष नविन भण्डारीले आफूहरुको आयोजनामा मेला भईरहेकाले सँगसँगै हिड्न नसकेपनि नैतिक रुपमा समर्थन रहने बताए । निर्वाचनमा आफूहरुले साथ दिएजस्तै जितिसकेपछि पनि लामाचौरका उद्योगी व्यावसायीहरुको समस्यामा साथै रहन उनको आग्रह थियो । लामाचौर क्षेत्रमा ट्रान्सपोर्टको समस्या रहेको उनले सनाए । साथै पछि मनोनीत सदस्य राख्ने बेलमा भेग हेरेर राख्न उनको सुझाव थियो ।    लामाचौर र बाटुलेचौरको घरदैलो कार्यक्रम सकेर टोली पोखरा ट्रेड मल पुगेको थियो । मलका प्रवन्ध निर्देशक मिनराज काफ्लेले पोखरा उद्योग वाणिज्य संघको समस्या सम्बन्धीत ठाउँमा निर्धक्क राख्न सक्ने खुबी भएका पोखरेल प्यानलमा रहेको बताए । यसले गर्दा उद्योगी व्यावसायीको समस्या छिटो समाधान हुन सक्ने उनको आंकलन थियो । नयाँ र पुराना पुस्तालाई समेट्दै जानस सक्ने खुवी पनि पोखरेल प्यानलमा देखेको उनले बताए । दैनिक जीवनमा आइपर्ने समस्यालाई नीतिगत रुपमै समाधान गर्ने गरी कर प्रणालीमा सुधार गर्दै संस्था चलाउनुपर्ने उनको सुझाव थियो ।   पोखरा ट्रेड मलको चुनावी कार्यक्रम सकेर पोखरेलको प्यानल सिमपानी, हरिचोक, ट्याक्सीचोक, हनुमान गल्लि पुगेको थियो । सबै ठाउँका मतदाताले युवाको नेतृत्वमा सबै उमेर समुहलाई समेटेको परिपक्व टिम भएकाले जित्ने निश्चित रहेको प्रतिक्रिया दिएका थिए ।    सभेन स्टार स्काई इन्टरनेशल प्रालिका निर्देशक पोखरेलको टिम सक्षम रहेको प्रतिक्रिया दिए । ‘यो टिममा नयाँ तथा पुराना सक्षम व्याक्तिहरु छन्,’ उनले भने, ‘सबै भोटका कुरा हुन् तर सक्षम मतदाताहरुले सक्षम व्याक्तिहरुलाई रोज्छन भन्नेमा ढुक्क छु ।’

  पोखरा । पोखराको लामाचौरमा जारी तीज महोत्सव–२०७९ अन्तर्गत लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत पुरुषतर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि गण्डकी प्रदेशले रोमाञ्चक जित निकालेको छ ।   गण्डकी प्रदेशले लामाचौर तीज महोत्सव–२०७९ अन्तर्गत लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत पुरुषतर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकालेको हो ।   गण्डकीले आर्मीमाथि ३–२ को रोमाञ्चक सेटमा जित निकाल्दै समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । हार बावजुत आर्मी समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।   गण्डकीले आर्मीमाथि झन्डै दुई वर्षपछि जित निकालेको हो । गण्डकीले आर्मीलाई पछिल्लोपटक २०७७ मा पोखरामा भएको टाइगर कप भलिबलको फाइनलमा हराउँदै उपाधि जितेको थियो ।   लामाचौरस्थित इन्द्र राज्यलक्ष्मी माविको भलिबल कोर्टमा सोमबार भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलको पहिलो सेट गण्डकीले १९–२५ ले गुमाएको थियो । दोस्रो सेट २५–१५ ले सहजै आफ्नो पक्षमा पारेपछि गण्डकी खेलमा फर्किने संकेत दिएको थियो । तेस्रो सेट २०–२५ ले गुमाएको गण्डकीले त्यसपछिको दुवै सेटमा २५–२३ र १७–१५ ले जित निकाल्न सफल भयो ।   प्रतिस्पर्धात्मक बनेको चौथो सेटमा गण्डकीले २०–२३ को स्थिति उल्ट्याएर लगातार ५ अंक जोड्दै जित निकाल्न सफल भएको थियो । निर्णायक तथा पाँचौ सेटमा गण्डकीले एक समय ८–४ को आरामदायी अग्रता लिएपनि आर्मीले पूनरागमन गर्दा खेल रोमाञ्चक बन्न पुग्दा तीन पटकको सेट प्वाइन्टमा जित निकाल्न सफल भयो । गण्डकीका घनश्याम चौधरी प्लेयर अफ दि म्याच घोषित भए ।   आर्मी र गण्डकीबीचको खेल शनिबार नै हुनुपर्ने भएपनि वर्षाले प्रभावित बन्दा शनिबार र आइतबार एक–एक सेटपछि लाइट प्रोटेस्टका कारण खेल स्थगित भएको थियो । शनिबार आर्मीले ३१–२९ को सेटमा जित निकाल्दा आइतबार गण्डकीले २५–१९ को सहज जित निकालेको थियो ।

  बझाङ ।  सिमखेतस्थित राजमार्ग मै ठिङ्ग उभिएको छ, एउटा सानो पक्की भवन । टाढैबाट मैलो र फोहर देखिने भवनमा लेखिएको ‘सार्वजनिक शौचालय’ ।    यी लेखिएका शब्द पनि मुश्किलले पढ्न सकिन्छ । शौचालय भवनको नजिक जाँदा वरिपरि फोहोरको डङ्गुर छ । अझभन्दा ध्रुमपान सेवनकर्ताको खुला डस्बिन नै ।   शौचालयको अगाडिपट्टि झुण्याइएको ऐना धमिलिएको छ ।  हेरिहाले पनि अनुहारै नदेखिने । ‘शौचालय फोहोर नगरौँ’ लेखिएका पोष्टर झुण्डिएको देख्न सकिन्छ ।    छ वर्षभन्दा अघि जयपृथ्वी नगरपालिकाले बनाएको सार्वजनिक शौचालय यस्तो अवस्था छ । नागरिक सैनिक सहयोग (सीआइएमआइसी) कार्यक्रमअन्तर्गत नेपाली सेना, शत्रुमर्दन गुल्म र जयपृथ्वी नगरपालिकाको संयुक्त लगानीमा २०७३ जेठ १० गते सो शौचालयको शुभारम्भ गरिएको थियो ।   सुरुआती समयमा शौचालय निर्माणले निकै श्रेय बटुलेको थियो ।  नगरपालिकाले शौचालयको आवश्यक व्यवस्थापनमा ध्यान नदिँदा शौचालय आफै फोहर बनेको हो । शौचालय भवन नजिकै पसल सञ्चालन गरेका एक पसले भन्नुहुन्छ, “नगरपालिकाले सुरुसुरुमा त शौचालयको रमझम नै गरेको थियो । अहिले भने वार्षिकरुपमा पनि खुल्छ कि खुल्दैन । थाहै हुँदैन । जहिल्यै बन्द देखिन्छ । शौच गर्न खोज्ने खाजा खाने बहाना गर्दै होटलको शौचालय प्रयोग गर्छन् ।”   सो नगरपालिकाले सिमखेतसहित अन्य दुई ठाउँमा शौचालय निर्माण गरेको छ । बाहुलीगाडको छेउमा नयाँ बन्न लागेको बसपार्कमा र चैनपुरको खुलामञ्चमा सार्वजनिक शौचालय निर्माण गरेको हो । चैनपुरस्थित खुलामञ्चमा रहेको शौचालय वरिपरि त शौच गरेर हिँड्नै नसकिने अवस्था छ । “शौचालय खोज्ने तथा घुम्न जाने पनि शौचालयको पछाडिपट्टि शौच गर्छन्”, खप्तडछान्नाका कुलप्रसाद जोशी भन्नुहुन्छ, “कहिलेकाहीँ साँझपख खुलामञ्चतिर घुम्न गइन्थ्यो । अहिले त त्यहाँ नजिक दुर्गन्धले जानै सकिन्न ।” उहाँले नगरपालिकाले कसैको जिम्मामा दिएर शौचालय प्रयोगको शुल्कसहित तोकेर सञ्चालन गर्न सकिने बताउनुभयो । “नगरपालिकाले चाह्यो भने कसैको जिम्मा दिएर पनि चलाउन सक्थ्यो तर, त्यतातिर ध्यान गएको देखिँदैन ।” उहाँले भन्नुभयो ।   नगरपालिकाले बनाएको शौचालय प्रयोगविहीन अवस्थामा छन् । सुरुमा उद्घाटन गर्दासम्म निकै प्रचार हुने तर त्यो प्रचार लामो समयसम्म टिक्दैन । जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजाल भने नगरले बनाएका सार्वजनिक शौचालयको बारे जानकार हुनुहुन्न । उहाँले भन्नुभयो, “शौचालय अहिले कुन ठाउँमा कस्तो अवस्थामा छन् भन्ने मलाई यकिन जानकारी छैन । यो विषयमा केही दिनपछि अध्ययन गरेर मात्रै भन्न सक्छु ।”   नगरपालिकाका सूचना अधिकारी लालबहादुर थापा नगरपालिकाले बनाएका सार्वजनिक शौचालय प्रयोगमा रहेको दाबी गर्नुहुन्छ । “नगरपालिकामा भएका सबै शौचालय अहिले पनि सुचारु अवस्थामै छन्”, उहाँ भन्नुहुन्छ, “अहिले भएका सञ्चालनमै छन् बाँकी शौचालय आवश्यकताअनुसार नगरपालिकाले थप्न सक्छ ।” उहाँले अहिलेसम्म सर्वसाधारणलाई सार्वजानिक शौचालयमा शौच गर्न कठिनाइ नभएको दाबी गर्नुभयो ।    बुङ्गल नगरपालिकाको कार्यालयभन्दा १० मिटर टाढा सार्वजनिक शौचालय छ । नगरपालिकाकै लगानीमा बनेको उक्त शौचालयको वरिपरि भने झार उम्रिएर ढोकासमेत नदेखिने अवस्थामा छ । सिस्नोको झाडीले छोपिएको शौचालय वर्षौं पुरानोजस्तो देखिन्छ ।   नगरपालिका कार्यालयको छेउमै खोला पारिपट्टि शौचालय बनाएपछि जग्गा विवाद हुँदा प्रयोगविहीन भएको नगरपालिकाले जनाएको छ । नगरप्रमुख जयबहादुर धामीले अहिले नगरपालिकाले सार्वजनिक शौचालय नबनाएको र अब आवश्यकताअनुसार बनाउने जानकारी दिनुभयो । “अहिले हामीसँग सार्वजनिक शौचालय छैन । पहिले बनाएको शौचालय जग्गा विवाद हुँदा खासै प्रयोगमा आएन ।” उहाँले भन्नुभयो ।   शौचालय कहिलेकाहीँ त सर्वसाधारणले प्रयोग गर्ने गरेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुहुन्छ, “यो शौचालय पनि पूर्णरुपमा बन्द भएको त होइन । कहिलेकाहीँ जो कोहीले पनि प्रयोग गर्छन् । अब आवश्यकताअनुसार सार्वजनिक ठाउँमा सार्वजनिक शौचालय बनाउँछौँ ।” नगरपालिकाका मुख्य–मुख्य ठाउँमा आवश्यकता अनुसार सार्वजनिक शौचालय बनाउने सोच बनाएको नगरप्रमुख धामीले जानकारी दिनुभयो । “बुङ्गलमा नयाँ जनप्रतिनिधि आइसकेपछि जनताको आवश्यकताअनुसार शौचालयमात्रै नभई हरेक काम गर्नेछौँ । अहिले पनि त्यसैका लागि लबिङ गरिरहेका छौँ ।”   बुङ्गल र जयपृथ्वीमा मात्र नभई हरेक पालिकाका सहरमा कतै विद्यालयका शौचालय प्रयोग गर्ने त कतै खोलामा सर्वसाधारणले शौच गर्ने गरेका छन् ।   सरसफाइ गर्न राष्ट्रिय दिवस बझाङमा मात्रै नभई मुलुकका अधिकांश सहरमा व्यवस्थित शौचालयको सुविधा छैन । बाहिर निस्कन पर्दा एकफेर घरको शौचालयमा शौच गरेर जाने धेरैको बानी छ । सार्वजनिक शौचालयको अभावमा कतिपयले खाजा खाने बाहानामा होटलका शौचालय प्रयोग गर्ने गरेका छन् ।   विश्व स्वास्थ्य सङ्गठनले सरसफाइ बढाउन तथा चेतना फैलाउन हरेक वर्ष शौचालय दिवस मनाउने गरेको छ । सन् २०३० सम्म दीर्घकालीन विकासको लक्ष्यमा पुग्न सङ्गठनले हरेक वर्ष नोभेम्बर १९ तारिखमा विश्व शौचालय दिवससमेत मनाउने गरिन्छ ।   संसारका हरेक बासिन्दालाई सरसफाइका स्रोत र सुविधा पुर्याउन दिवस मनाउँदै आएको हो । नेपाललाई ०७६ असोज १३ गते खुला दिसामुक्त देश घोषणा गरिसकिएको छ तर शौचालय प्रयोग भने प्रभावकारीरूपमा हुन नसकेको सरोकारवाला बताउँछन् । नेपालमा हेर्ने हो भने अहिले पनि विकसित सहरमा समेत शौचालय प्रयोगपछि पानी हाल्नुपर्ने सूचना टाँस गरेका भेटिन्छन् ।   सार्वजनिक शौचालयमा मात्रै नभई होटलका शौचालयमा पनि त्यस्तै सूचना टाँस गरेका भेटिन्छन् । अहिले पनि पानी हाल्नुहोला, सफा गर्नुहोला भन्नेजस्ता सन्देश लेखिनुले एउटा सभ्यता पातलिँदै गएको बुझिन्छ ।   सङ्गठनले अहिले पनि विश्वभर करिब अढाइ अर्ब मान्छेले शौचालय प्रयोग नगरेको तथ्याङ्क सार्वजनिक गरेको छ । सङ्गठनले गरेको सर्वेक्षणअनुसार विश्वभर करिब करिब १० जनामध्ये एक जनाले अझै पनि शौचालयमा शौच गर्ने विकल्प पाएको छैन । सङ्गठनका अनुसार विश्वमा दुई अर्ब ४० करोड मानिस शौचालयको पहुँच बाहिर छन् ।   सुरक्षित शौचालयको अभावमा हुने फोहोरका कारण झाडापखाला लागेर हरेक वर्ष विश्वमा लाखौँको ज्यानसमेत जाने गरेको छ ।

हरितालिका (तीज) व्रतको तयारी स्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दुधबाट बनेका शुद्ध परिकार खाइन्छ । जसले व्रतका दिन आडिलो बनाउँछ ।     दर नीराहार व्रतका लागि     तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज वर्तालुहरुले शक्ति प्राप्तिका लागि मीठा मीठा एवं आडिलो परिकार दरका रुपमा खाई मङ्गलबारको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाईले छोरी, चेली, दिदी बहिनीलाई बोलाई दर खुवाउने गर्दछन् । दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।   महिलाहरुले वर्षदिनभर आफुलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत तीजलाई उपयोग गर्ने गरेका छन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाहरुले सार्वजनिक गर्दछन् । जन्मघरबाट कर्मघरमा गई बस्दा पाएका दुःख, पीर, मर्कालाई नारीले पोख्ने गरेका छन् ।    तीजको संस्कृति बन्दैछ विकृति    पछिल्ला वर्षहरुमा तीजका नाममा उच्छृङ्खलता र तडक भडक आएको छ । एक महिना अघिदेखि दर खाने, गरगहना एवं पोशाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजेको  समाजशास्त्री कीर्तिकुमार राई बताउनुहुन्छ ।     यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनुपर्नेमा पनि संस्कृतिविद्, धर्मशास्त्री एवं समाजशास्त्रीहरुले जोड दिएका छन् । एक महिना अघिदेखि नै दर खाने चलन पछिल्लो समय बढ्न थालेपनि भाद्र शुक्ल द्वितीयाको बेलुकीको समय शास्त्रीय रुपमा दर खाने दिनका लागि तोकिएको छ । पछिल्लो समय सरकारी कार्यालयमा समेत एक महिनाअघिदेखि नै तीज कार्यक्रमको तामझाम हुने गरेको छ । समाजमा सुरु भएको विकृति रोक्नुपर्ने जिम्मेवारी बोकेका सरकारी कार्यालय नै विकृतिका भासमा जाकिएपछि यसले संस्थागत रुप लिँदै गएको छ ।   दरसँगै सुरु हुँदै चार दिने तीज   सोमबार दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ । यस वर्ष गणेशको उत्पत्ति भएको विश्वास गरिने गणेश चौथी भदौ १५ गते बुधबार, ऋषि पञ्चमी पर्व भदौ १६ गते बिहीबार मनाइने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । गणेश चौँथी प्रातः कालमा तिथि परेका दिन मनाइन्छ । ऋषि पञ्चमी भने मध्याह्न कालमा पञ्चमी परेका दिन मनाउनुपर्ने शास्त्रीय विधि छ ।   तीजको आगमनसँगै नेपाली महिलामा उत्साह जाग्ने गरेको छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् ।    पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् । यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत रहेको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख एवं पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ ।    हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ लगायत देशभरका शिवालयमा लाखौँ महिलाको भीड लाग्ने गर्छ । तीज सुरु भएसँगै रेडियो एवं टेलिभिजनले पनि ‘तीजको रहर आयो बरी लै’ गीत बजाइरहेको सुन्न सकिन्छ ।

बागलुङ नगरपालिकाले जनप्रतिनिधिले कार्यभार सम्हालेको सयदिन भित्रै बागलुङ नगरको सदरमुकाम केन्द्रित सेवालाई गाउँमा विस्तार गर्न सफल भएको छ ।     ‘जनता नगरपालिका होइन नगरपालिका जनताकहाँ’ भन्ने मूल नाराका साथ नगरपालिकाले सय दिनमा एक हजार ५०० जनालाई गाउँमै पुगेर सेवा दिएको छ । नगरपालिकाले घुम्ती सेवा शिविरको आयोजना गरेर नगरपालिकाको सबै सेवा वडा–वडामा पुर्‍याउँदा जनतामा उत्साह छाएको हो । बागलुङ नगरपालिकाले सय दिनमा ठूला आयोजनाको समन्वय, फोहर व्यवस्थापन, पार्किङ व्यवस्थापनका लागि पहलदेखि नगरपालिकाका मुख्य सेवा गाउँमै पुर्‍याउन सफल भएको नगरपालिकाले जनाएको छ ।    नगरप्रमुख वसन्तकुमार श्रेष्ठका अनुसार निर्वाचनका बेला कल्पना गरेका योजना सय दिनभित्रै कार्यान्वयनको चरणमा पुगेकाले जनतामा सकारात्मक प्रभाव पार्न थालिएको बताउनुभयो । नगरपालिकाले सय दिन पूरा भएको अवसरमा सार्वजनिक गरेको उपलब्धि ३२ बुदाँमा उल्लेख गरेको छ ।    सो अवधिमा सुशासनको क्षेत्रमा उल्लेख्य प्रगति गरेसँगै नगरपालिकाको सदरमुकाम केन्द्रित सेवा गाउँमा पुर्‍याएको विषयलाई बढी जोड दिएको जनाइएको छ । नगरपालिकाले घुम्ती सेवा शिविरमार्फत नगरका दुर्गम वडा रायडाँडा, भकुण्डे, अमलाचौर, पैयूँपाटा र नारायणस्थानमा नगरका पाँच मुख्य सेवा प्रदान गरिसकेको र अन्य वडामा समेत लगत्तै सेवा दिने जनाएको छ ।    नगरपालिकाले असारमा मात्रै विकासे योजना सम्पन्न गर्ने परिपाटीको अन्त्यका लागि भदौमै योजना सम्झौता थालेको छ । नगरपालिकाले पहिलो चरणमा बागलुङ नगरपालिका–११ रायडाँडा र १० नम्बर वडाको भुकण्डेमा घुम्ती सेवा शिविर आयोजना गरेको थियो । यस्तै दोस्रो चरणमा नगरपालिकाको १२, १३ र १४ वडामा सो सेवा पुर्‍याइएको छ ।    दुई चरणमा पाँच वटा वडामा दिएको स्वास्थ्य शिविर, योजना सम्झौता, माटो परीक्षण, अपाङ्गता परिचयपत्र वितरण तथा नवीकरण र वित्तीय साक्षरता प्रदानबाट एक हजार ५०० सेवाग्राही लाभान्वित भएको बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।      “जनताको थुप्रै अपेक्षाकाबीच नगरपालिकाले सय दिनमा केही सकरात्मक प्रभाव छोड्न सफल भएको छ, नागरिकलाई योजना सम्झौता गर्न, बैंक खाता खोल्न समस्या थियो, हामीले एक मुष्ठ सेवा सबै वडामा लगेका छौँ १४ मध्ये ५ वडामा सम्पन्नसमेत गरिसकेका छौँ”, नगरप्रमुख श्रेष्ठले भन्नुभयो “अब जनता नगरपालिकाकोमा धाउने हैन नगरपालिका जनताकोमा धाउने गरी कामको थालनी गरेका छौँ ।” अब नगरपालिकाको सामान्य सेवा लिन सदरमुकाम आउनुपर्ने बाध्यताको अन्त्य गरी वडाबाटै धेरै सेवा लिनेगरी काम थालनी भइरहेको छ ।    बागलुङ नगरपालिका–११ रायडाँडास्थित दुर्गा सापकोटाको बुबाआमा र दुई भाइले पहिलो पटक घुम्ती शिवरमा अपाङ्गता परिचयपत्र प्राप्त गर्नुभएको थियो । नगरपालिकाले उहाँ जस्तै एक सय ६७ जनालाई अपाङ्गता परिचयपत्र वितरण र नवीकरण गरेको छ ।   अपाङ्गता परिचयपत्र वडामै पहिलोपटक पाउँदा खुसी लागेको मात्रै छैन सापकोटालाई बल्ल नजिकको सरकार भएको आभास भएको छ । नगरपालिकाले हालसम्म वडामै पुगेर ९३ योजना सम्झौता, आठ सय ६९ जनाको स्वास्थ्य परीक्षण, २३ जनाको यौन रोग, दुई सय ७८ जनाको कोरोना परीक्षण, तीन सय ५१ जनाको आँखा परीक्षण, १२ जनाको मलेरिया परीक्षण र ११ वटा टोल विकास संस्थासमेत गठन गरेको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताउनुभयो ।    नगरपालिकाले कानुन बमोजिम नगरपालिकाको मुख्य जिम्मेवारीलाई पाँच वटा विषयगत समिति गठन गरी कार्य जिम्मेवारी बाँडफाँट गरिएका, १० लाख सम्मका योजना तथा कार्यक्रमको अनुगमन वडास्तरीय अनुगमन समितिबाट अन्तिम अनुगमन गरी भुक्तानी हुने गरी वडातहलाई जिम्मेवार बनाइएको,  नगरप्रमुखसँग प्रमुख प्रशासकीय अधिकृत र प्रमुख प्रशासकीय अधिकृतसँग शाखा प्रमुखले उपलब्धि सूचकसहितको कार्यसम्पादन सम्झौता गरी कार्यसम्पादन गर्ने पद्धतिको सुरुआत गरिएको, नगरको वास्तविक अवस्थाको चित्रणसहितको ३८ बुँदे श्वेतपत्र सार्वजनिक गरेको नगरपालिकाले जनाएको छ ।     यस्तै सय दिने उपलव्धि अनुसार स्वीकृत योजना समयमै कार्यान्वयन गरी नतिजा हासिल गर्ने उद्देश्यका साथ २०७९ मङ्सिर मसान्तभित्र योजना तथा कार्यक्रम सम्झौता हुने गरी स्वीकृत बजेटमा नै नीतिगत व्यवस्था गरेको, बागलुङ बजार क्षेत्रको पार्किङ व्यवस्थापन, सडक एवं चोक सुधार, अव्यवस्थित तार व्यवस्थापनमा समन्वय थालेको, मालढुङ्गा देखि गणेशथान घुम्तीसम्म सोलार बत्ती जडान, पाँच हजार दुई सय ३५ जनाको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिएको छ ।    विद्युतीय प्रणाली बाट भुक्तानी दिन थालिएको, बागलुङ नगरपालिकाको व्यवस्थित कार्यालय भवन व्यवस्थापनका लागि जिल्ला समन्वय समितिका पदाधिकारी र विभिन्न निकायसँग औपचारिक अनौपचारिक छलफल एवं बैठक गरी समस्या सामाधानको लागि पहल गरिएको, दावगरा बसपार्क सञ्चालन सम्बन्धमा देखिएका समस्या समाधान गरी सकेसम्म छिटो बसपार्क सञ्चालनका गर्न कार्यदल गठन भएको,  सिगाना स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर स्थापना गर्न थालिएको लगायतका उपलब्धि हासिल गरेको जनाएको छ ।