आचारसंहिता उल्लंघन  गरेको अभियोगमा निर्वाचन आयोगले स्पष्टीकरण सोधेकामध्ये २४ उम्मेदवारले जवाफ बुझाएका छन्।   आयोगले ३४ जनालाई स्पष्टिकरण सोधेको थियो। त्यसमध्ये अझै १० उम्मेदवारले जवाफ दिएका छैन...

  काठमाडौं ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलब ३० अङ्कले ओरालो लागेर दुई हजार ३९ दशमलव ५४ मा सीमित भएको छ ।   यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक तीन दशमलव ७८ अङ्कले ओरालो लागेर तीन सय ९४ दशमलव ५१ मा सीमित भएको छ । कुल दुई सय १९ कम्पनीको ४२ लाख ३४ हजार एक सय १७ कित्ता शेयर रु एक अर्ब ७१ करोड ७४ लाख ३६ हजार सात सय ४१ मूल्यमा खरिद बिक्री भएको छ ।   नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहको शेयर मूल्यमा नै गिरावट आएको छ । बैंकिङ चार दशमलव ८९, व्यापार २० दशमलव ७४, होटल तथा पर्यटन ४१ दशमलव ६४, विकास बैंक ५७ दशमलव ४८, जलविद्युत् ३७ दशमलव ३७, निर्जीवन बीमा २१ दशमलव ७३, उत्पादन ७९ दशमलव ९५, अन्य ३३ दशमलव ३३, लघुवित्त २७ दशमलव शून्य सात, जीवन बीमा ५८ दशमलव ५६, सामूहिक लगानी कोष शून्य दशमलव शून्य आठ र लगानी शून्य दशमलव ५२ अङ्कले ओरालो लागेको छ ।   नेप्सेका अनुसार बिहीबारको कारोबारका आधारमा हिमाल दोलखा हाइड्रोपावर शीर्षस्थानमा छ । सो कम्पनीको रु ११ करोड २४ लाख ६५ हजार दुई सय ६१ बराबरको कारोबार भयो । त्यस्तै रिडी हाइड्रोपावर रु नौ करोड ४१ लाख २८ हजार नौ सय ९२, नेस्डो समृद्धि लघुवित्त रु आठ करोड ३१ लाख ४० हजार दुई सय ७३, अरुण काबेली पावर कम्पनी रु सात करोड २८ लाख ६१ हजार नौ सय ६८ र राधी विद्युत् कम्पनी रु चार करोड ८३ लाख ७४ हजार छ सय ८५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।   नेप्सेका अनुसार अप्पर हेवाखोला हाइड्रोपावर नौ दशमलव नौ, रुरु जलविद्युत् कम्पनी आठ दशमलव ९३, नेष्डो लघुवित्त दुई दशमलव शून्य सात, ग्लोबल आइएमई बैंकको ऋणपत्र दुई र माछापुच्छ्रे बैंकको ऋणपत्रका लगानीकर्ताले एक दशमलव ९९ प्रतिशतले कमाएका छन् ।   त्यस्तै मैलुङखोला जलविद्युत् कम्पनी पाँच दशमलव ८२, मल्टिप्रपोज फाइनान्स कम्पनी चार दशमलव २७, खानीखोला हाइड्रोपावर कम्पनी चार दशमलव १८, सूर्योदय बोमी लघुवित्त चार दशमलव शून्य नौ र दोर्दीखोला जलविद्युत् कम्पनीका लगानीकर्ताले तीन दशमलव ८७ प्रतिशतले गुमाएका छन् ।

  पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशनको मिति नजिकिएसँगै व्यवसायीहरुमा चुनावी माहोल बढेको छ ।    भदौ २४ र २५ गते पोखरामा हुुने ३४ औँ महाधिवेशनका लागि अर्जुुन पोखरेलले बिहिबार पत्रकार सम्मेलन गर्दै आफ्नो प्यानल घोषणा गरेका हुुन् ।    पोखरा उद्योग वाणिज्य संघको अध्यक्षका उम्मेदवार पोखरेलको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटा, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा कुमारी मुना बास्तोला, महासचिवमा केशवबहादुर खत्री, उपमहासचिवमा हर्कबहादुर अधिकारी (मिराज), कोषाध्यक्षमा हरिराज पन्तले पोखरेल प्यानलबाट उम्मेदवारी दिने अध्यक्ष पदका प्रत्यासी अर्जुन पोखरेलले बताए  ।    यसैगरि सदस्यहरुमा भरत केसी, धर्मेन्द्र बटाजु, माधव बस्ताकोटी, उदय केसी, दिलीप श्रेष्ठ, दुर्गा रञ्जित श्रेष्ठ, कृष्णप्रसाद कोइराला र हिमनिधि लौडारी उम्मेदवारी घोषणा गरेका हुन् ।   पोखरेल प्यानलले पत्रकार सम्मेलन मार्फत आठ बुँदे प्रतिबद्धता समेत सार्वजनिक गरेको छ । संघलाई पोखरेलीको साझा घरको रुपमा विकास गर्नेदेखि संघलाई आर्थिक रुपमा सवल बनाउने प्रतिबद्धता गरिएको छ । पोखरा उद्योग वाणिज्य संघको नेतृत्वका लागि यस अघि नै अहिलेका वरिष्ठ उपाध्यक्ष पवन प्रजापतीले पनि आफ्नो प्यानल घोषणा गरिसकेका छन् ।

  सुनसरी । सुनसरीको इटहरी–१० की शर्मिला चौधरी दैनिक ३० देखि ७० मुठासम्म निगुरो टिप्नुहुन्छ । उहाँले वैशाखदेखि कात्तिकसम्म निगुरो टिपेरै आफ्नो छ जनाको परिवारको खर्च चलाउँदै आउनुभएको छ । दैनिक रु चार सयदेखि रु छ सयसम्म आम्दानी हुने चौधरी बताउनुहुन्छ ।      शर्मिलाजस्तै कमला चौधरी पनि परिवार पाल्न र छोराछोरीको पढाइ खर्च जुटाउन निगुरो टिप्ने गरेको बताउनुहुन्छ । पूर्वी मोरङको पथरीशनिश्चरे, कानेपोखरी, लेटाङ, भाउन्ने, लक्ष्मीमार्गलगायत सामुदायिक वनमा निगुरो प्रशस्त पाइन्छ । स्थानीय बजारदेखि काठमाडौँका भान्सासम्म पुग्ने यहाँको निगुरोले सयौँको सङ्ख्यामा स्थानीयलाई रोजगारी दिएको छ ।       चैत सुरु भएदेखि पूर्वी मोरङका जङ्गलमा डोको बोकेर निगुरो खोज्नेको ताँती लाग्छ । बिहान झिसमीसेमै जङ्गल पसेका महिला तथा बालबालिका डोको भरी निगुरो बोकेर निस्कन्छन् । उक्त समयमा जङ्गलमै सिराहा, सप्तरीदेखि झापाको काँकडभिट्टासम्मका व्यापारी भेला भइसकेका हुन्छन् । स्कुले बालबालिकासमेत बिदामा स्टेशनरीको जोहो गर्न निगुरो टिप्न आउँछन् ।      वन आसपास बस्दै आउनुभएका धेरै बालबालिकाले निगुरो टिपेर पढाइ खर्च जुटाउने गरेका छन् । विद्यालय पढ्ने बालबालिकादेखि कलेज पढ्दै गरेका किशोरकिशोरीले समेत बिदाको समयमा निगुरो टिप्ने गरेका छन् । दुई दशकदेखि पथरी र बेलबारीबीचका जङ्गलको निगुरो सङ्कलन गर्दै धरान, विराटनगर, इटहरी, दमक र बिर्तामोड लगरे बिक्री गर्दै आएको विराटनगरकी सिया चौधरी बताउनुहुन्छ ।   पथरी शनिश्चरे, लेटाङ र बेलबारी नगरका साझेदारी वन क्षेत्रमा दैनिक तीन÷चार सयजनाले निगुरो टिप्दै आएका छन । धेरै मजदुरले दैनिक निगुरो बेचेरै परिवारको खर्च चलाउँदै आएका छन् । यस क्षेत्रबाट दैनिक निगुरो सङ्कलन गरी पूर्वका विभिन्न बजारमा बिक्री गर्न लैजाने गरेको खोर्सनेका जितेन्द्र चौधरीको भनाइ छ ।   काठमाडौँसम्मका व्यापारी निगुरो लैजाने गरेका छन् ।  शनिश्चरे, लेटाङ र बेलबारी क्षेत्रबाट दैनिक निगुरो काठमाडौँ लैजाने गरिएको स्थानीय व्यापारी कौशिला माझी बताउनुहुन्छ । माझीका अनुसार यस वर्ष भने पहिलाको तुलनामा निगुरो उत्पादनमा कमी आएको छ । 

  बागलुङ: बागलुङमा स्थानीय निकायको निर्वाचनपछि दुई हजार ८ सय  बढी मतदाता थप भएका छन् । निर्वाचन आयोगले सङ्घीय र प्रदेशसभा सदस्यको निर्वाचन मिति घोषणा गरेपछि जिल्ला निर्वाचन कार्यालय आन्तरिक तयारीमासमेत जुटेका छन् ।    गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतदाता सङ्ख्या भन्दा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा दुई हजार ८०० मतदाता थपिएका छन् । स्थानीयतहको निर्वाचनमा एक लाख ९३ हजार छ सय २४ मतदाता रहेकोमा अहिले एक लाख ९६ हजार दुई सय ९७ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।    तीमध्ये  एक लाख नौ हजार ४० महिला र ९५ हजार पाँच सय १७ महिला मतदाता छन् । एक वर्षभित्र दर्ता भएर १८ वर्ष उमेर नपुगेर स्थानीय तहमा मतदान समेत गर्न नपाएका मतदाता र नयाँ दर्ता भएका मतदातासहित १३ हजार बढीले यसपटकको निर्वाचनमा मतदान गर्न पाउनेछन् ।    यस्तै स्थानीय तहको निर्वाचनपछि असार १ गते देखि साउन १९ गतेसम्म दुई हजार आठ सय  मतदाताले मतदाना नामावली दर्ता गरेको निर्वाचन कार्यालयका सूचना अधिकारी गकुल शर्माले जानकारी दिनुभयो ।    “स्थानीय तहको निर्वाचनमा रहेको मतदाता सङ्ख्याको आधारमा जम्मा दुई हजार आठ सय मतदाता थपिएका हुन्, तर उमेर नपुगेर स्थानीय तहको निर्वाचनमा मतदात गर्न नपाएका र नयाँ थपिएका गरी १३ हजार बढीले यसपटकको निर्वाचनमा मतदान गर्न सक्नेछन्” उहाँले भन्नुभयो “अहिलेको प्रदेश र सङ्घीय निर्वाचनको तयारीमा जुटेका छौँ, मतदाता अध्यावधिकपछि केही मतदाता घट्लान, भदौ महिनामै अन्तिम नामावली प्रकाशन गर्नेछौँ तर त्यसअघि वडातहमै मतदाता नामावली लगेर छलफल गर्नेछौँ ।”   गत असार १ गते देखि साउनको १९ गतेसम्म जिल्ला प्रशासन कार्यालय , इलाका प्रशासन कार्यालय बुर्तिबाङ र निर्वाचन कार्यालय, बागलुङमा मतदाता नामावली दर्ता गरिएको थियो । एक सय तीन मतदानस्थल र २३० मतदान केन्द्र रहेको बागलुङ जिल्लामा स्थानीय तहको निर्वाचनको समयमा भएको समस्या, मतदाताको पहुँच लगायतको कारण तीन मतदानस्थल स्थानान्तरण र तीन मतदानस्थल थप गरेर निर्वाचन आयोगमा पठाइएको छ ।  “स्थानीय तहको निर्वाचनमा धेरै स्थान मतदाताको पहुँच भन्दा टाढा रहेको, मतदानस्थल साँघुरो भएको लगायतका समस्याका कारण मतदान केन्द्र स्थानान्तरण र मतदानस्थल थप गरिएको हो” सूचना अधिकारी शर्माले भन्नुभयो “राजनीतिक दलमा सहमति जुटेको स्थानमा मात्रै मतदानस्थल परिवर्तन गरेका छौँ, सहमति नजुटेको थुप्रै मतदानस्थल छन् जुन साँघुरो र मतदान गर्नै सास्ती भएकोसमेत छन् तर सहमति नजुटेको स्थानलाई अहिले यथावत् नै राखिएको छ ।”   थप हुने मतदानस्थलको रुपमा ढोरपाटन नगरपालिका–६ र ढोरपाटन–२ र गलकोट  नगरपालिका –१० रहेको छ । यस्तै मतदानस्थल परिवर्तन भएकोमा बागलुङ नगरपालिका–३ बौद्ध बिहारको कालिका कन्या मन्दिर, बागलुङ नगरपालिका–६ को वडा कार्यालयदेखि लहरेपिपल माध्यामिक विद्यालय र  बडिगाड गाउँपालिकाको– ८ सिद्धबारी प्राविबाट भृकुटी माध्यामिक विद्यालयमा स्थानान्तरण गरिएको छ ।     अन्तिम मतादाता नामावलीका लागि दाबी विरोध, मृत्यु भएकाको नामावली हटाउने, नाम परिवर्तन गर्ने विवाह गरी गएकाको दर्ता सार्ने गरी भदौ १२ देखि १५ सम्म स्थानीय तहको वडामा मतदाता नामावली पुग्ने निर्वाचन कार्यालयको भनाइ छ ।  

  काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ‘हरित ऊर्जा’का लागि लगानी जुटाउन सामूहिक प्रयाससहित थप अवसर पहिल्याउनुपर्ने बताउनुभएको छ । उहाँले जलवायु वित्तको जोहो गरेर विश्व ‘हरित ऊर्जा’को प्रवद्र्धनमा केन्द्रित हुुनुपर्नेमा जोड दिनुभएको हो ।   ‘कोप–२७’ तयारीका लागि थाइल्याण्डको बैंककमा आज आयोजित ‘जलवायु परिवर्तन र दिगो विकासका लक्ष्य प्राप्तिको प्रयासमा लगानी परिचालनसम्बन्धी मञ्च’ बैठकको ‘हरित ऊर्जाका लागि जलवायु वित्त लगानी’ विषयक सत्रमा भर्चुअल सम्बोधन गर्दै मन्त्री भुसालले भन्नुभयो, “स्वच्छ ऊर्जाको प्रवद्र्धनमा विश्व केन्द्रित हुनुपर्छ, त्यसका लागि सामूहिकरूपमा जलवायु वित्तको जोहो गर्न आवश्यक छ ।” उहाँले विशिष्ट भौगोलिक बनोट र जलवायु–संवेशनशील जीवन शैलीका कारण नेपाल जलवायु परिवर्तनको असरको उच्च जोखिममा रहेको उल्लेख गर्नुभयो ।   अतिकम विकसित मुलुक भएर पनि नेपालले ‘१.५ डिग्री तामक्रम’को लक्ष्य प्राप्तिका लागि महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै मन्त्री भुसालले विश्वका मुलुकले कार्बन उत्सर्जन न्यूनीकरणका लागि महत्वकांक्षी लक्ष्य लिएर काम गर्नुपर्ने बेला आएको बताउनुभयो ।    वार्षिक ऊर्जा खपत दरलाई आधार मान्ने हो भने नेपालमा उत्पादन भएको जलविद्युत् बढी हुने उल्लेख गर्दै उहाँले आगामी सन् २०२५ देखि नेपाल वर्षभरि नै जलविद्युत् निर्यात गर्ने मुलुक बन्ने जानकारी गराउनुभयो । खपत गरेर बाँकी भएको ऊर्जा ‘हरित हाइड्रोजन’ उत्पादनमा प्रयोग गर्ने तयारी गरिएको बताउँदै मन्त्री भुसालले भन्नुभयो, “ग्रीन हाइड्रोजनका लागि हामीले उपयुक्त पहल गरिरहेका छौँ ।” ग्रिन ग्रीड अवधारणाअनुसार कोप–२६ मा ‘एक सूर्य, एक विश्व र एक ग्रिड’ को सुरुआत गरिएको उल्लेख गर्दै उहाँले हरित ऊर्जासम्बन्धी विश्व अवधारणा पूरा गर्नका लागि नेपालजस्ता देशमा प्रसारण लाइनको निर्माण तथा पूर्वाधार विकासको क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । नेपालमा अधिक मात्रामा नवीकरणीय ऊर्जा जलविद्युत् प्रयोग हुँदै आएको उल्लेख गर्दै मन्त्री भुसालले भन्नुभयो, “सौर्य ऊर्जा उत्पादनका लागि पनि नेपालमा पर्याप्त सम्भावना छ ।”   आफ्नो देशले शून्य कार्बन उत्सर्जनको रणनीति लिएको जानकारी गराउँदै मन्त्री भुसालले भन्नुभयो, “नेपालले सन् २०४५ मा शून्य कार्बन उत्सर्जन गर्ने देश बन्ने लक्ष्य लिएको छ, स्वच्छ ऊर्जाको व्यापार गरेर नेपालमा मात्र होइन देश बाहिर पनि कार्बन उत्सर्जनलाई न्यूनीकरणमा योगदान गर्न चाहन्छ ।”    स्वच्छ ऊर्जा प्रयोग गर्न सुरु गरिसकेको बताउँदै मन्त्री भुसालले भन्नुभयो, “पछिल्लो दशकमा हामीले विद्युत् पहुँचलाई व्यापक विस्तार गरेका छौँ, देशको ९५ प्रतिशत जनतालाई राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत् पुर्याएका छौँ, आगामी सन् २०२४ सम्ममा हामीले देशभर स्वच्छ ऊर्जा विद्युत् पुर्याउने लक्ष्य लिएका छौँ ।”

  बागलुङ: निर्वाचन क्षेत्र रणनीतिक सडकअन्तर्गत बागलुङ बजारबाट सिगानासम्मको सडक कालोपत्रका लागि काम थालिएको छ ।   बागलुङ क्षेत्र नं १ अन्तर्गत बागलुङ नगरपालिकाको बागलुङ बजार अदालत चौपारी हुँदै सिगाना, चापाखर्क, गाजाको दह, बरेङ शान्तिपुर जोड्ने सडक कालोपत्रका लागि निर्माण व्यवसायी छनोट भएर काममा आएको छ ।   साढे दुई वर्षभित्र पूर्वाधार निर्माणसहित सडक कालोपत्र गर्न सडक डिभिजन कार्यालयले गरेको ठेक्का आह्वानमार्फत कर्ण विल्डर्सले निर्माणको जिम्मा पाएर काममा आएको छ । अहिले सडक चौडा पार्न र सडक मिलाउनका लागि निर्वाण व्यवसायीको तर्फबाट सर्भेको काम भइरहेको सर्वेयर भाष्कर बरामले बताउनुभयो । “दशैँपछि निर्माणको काम हुनेछ, अहिले लागत अनुमानअनुसार सडकको डिजाइनको विषयमा निर्माण व्यवसायीको तर्फबाट सर्भेको काम भइरहेको छ”, उहाँले भन्नुभयो, “दशैँ अघिसम्म सबै सर्भेको काम सकेर निर्माणमा जुट्ने योजना छ, सडक समयमै कालोपत्र सक्ने गरी ठेक्का सम्झौतालगत्तै निर्माण व्यवसायी काममा आएको हो ।”   बागलुङ बजार हुँदै सिगाना, बरेङ शान्तिपुर पुग्ने सडक ठेक्का सम्झौता भएको साढे दुई वर्षमा १० किलोमिटर सडक कालोपत्र भइसक्ने सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ । उक्त सडक ३२ किलोमिटर लामो भए पनि अहिले सडकको सुरुबाट १० किमी सडक कालोपत्र गरिने छ । लामो समय बजेट अभावले कालोपत्रका लागि ठेक्कामा जान नसकेको सडक विभिन्न पहल र प्रयासका बाबजुद हाल आएर कालोपत्रको चरणमा प्रवेश गरेको हो ।   यो ठेक्काअन्तर्गत बागलुङ बजारबाट बोक्सेसम्म सडक कालोपत्र भइसकेका कारण बोक्सेबाट बौडैचौरको आलडाँडासम्म सडक कालोपत्र हुने भएको छ । निर्वाचन क्षेत्र एक रणनीतिक सडक सोही क्षेत्रका प्रत्यक्ष निर्वाचित सांसदहरूको सिफारिसमा छनोट हुने गरेको छ । अहिले सडक कालोपत्र नहुँदा सिगाना हुँदै बरेङ शान्तिपुर जाने सडकमा यात्रुले सास्ती खेप्दै आएका छन् ।

  भक्तपुर । भाद्र कृष्ण त्रयोदशीका दिन आज भक्तपुरमा भव्यरूपमा पञ्चदान पर्व मनाइएको छ ।  बौद्ध धर्मावलम्बीको महत्वपूर्ण एवं ठूलो पर्वका रूपमा मनाइने पञ्चदान पर्वमा भक्तपुरका पाँच बिहारबाट निस्केका दिपङ्कर बुद्धलाई दिनभर नगरका विभिन्न स्थान तथा बौद्ध बिहारमा परिक्रमा गराइ मनाउने परम्परा रहेको छ ।   दिपङ्कर बुद्ध भनेर पुजिने बुद्धका पाँच स्वरूपमध्ये भक्तपुरको क्वाठन्डौँको प्रसन्नाशील महाविहार, गोल्मढीको झौरवही महाविहार, साकोथाको चर्तुब्रह्म महाविहार, भार्वाचोको थथुबही महाविहार र दूधपाटीको कुथुबही महाविहारबाट निकालिएका बुद्धलाई सूर्यमढीस्थित डबलीमा राखी स्थानीय र विभिन्न गुठिको पूजा सकेपछि नगरको परिक्रमा गराइन्छ ।   स्थानीयवासीले बिहानैदेखि पञ्चदान दिने परम्पराअनुसार शाक्य, ब्रजाचार्य र भिक्षुलाई भिक्षा दान दिएका थिए भने पाँच दीपङ्कर बुद्धलाई जमिनमा उत्पादन भएका काँचो खाद्यवस्तु धान, मकै, गहुँ, भटमास, ढिके नून, घिरौला, बोडी, काँक्रो आदि गच्छेअनुसार चढाउने परम्परा छ ।    पञ्चदानलाई स्थानीय भाषामा पञ्जदान ९पञ्जरां० भनिन्छ । पञ्जदान भन्नुको मूलकारण ‘पं’ को अर्थ पृथ्वी र ‘ज’ को अर्थ उत्पन्न भएको भन्ने हो । यस दिनमा पृथ्वीबाट उब्जेको अन्न र फलपूmल गरि पाँच प्रकारका वस्तु दान गरिन्छ ।    पञ्चदानको दिन पूजामा सूर्यमुखी फूल, धुप, दीप, गन्ध, र रस, भोजन साममाग्रीमा धान, चामल, गहुँ, क्वाटी, केराउ, मास, पिँडालु, मुला आदि, पेयपदार्थमा सख्खर पानी (सखत), सिसाफल, (फलफूल), औषधिमा हल, अवला (अमला), गुलः (औषधि, नून, तेल) तथा अन्य आवश्यक वस्तुमा सियो, धागो, डोरी, कुचो, सेतो कपडा (पानी छान्नें), काषाय बस्त्र, आसन, खरी ढुङ्गा (चक), दतिवन आदी दान गर्ने परम्परा रहेको छ ।    बौद्ध धर्मावलम्बी दीपङ्कर बुद्धलाई पञ्चदान गरिसकेपछि साना बालबालिकादेखि वृद्धवृद्धासमेत पञ्चदान भिक्षाग्रहण गर्न लामबद्ध भएर नगर परिक्रमा गरी भिक्षा ग्रहण गर्ने परम्परा छ । दीपङ्कर बुद्धलाई परम्परागत गुँला धाँः बाजा र सिङ बाजा बजाएर नगर परिक्रमा गर्ने गर्दछन् । बौद्ध धर्मावलम्बीले यस दिनमा भिक्षाग्रहण गर्नाले धन वृद्धि हुनुका साथै बुद्धत्व प्राप्त हुने जनविश्वास रहेको छ । 

  मेलम्ची । मेलम्ची र इन्द्रावती खोलामा अघिल्लो वर्ष असार १ र साउन १६ मा आएको बाढीले नोक्सान गरेको सडक र पुल पुलेसाहरूको पुनःनिर्माण नहुँदा नागरिकले सास्ती व्यहोरिरहेका छन् । खोलामा पानीको बहाव बढ्नेबित्तिकै कैयौँ ठाउँमा बाटो अवरुद्ध हुने समस्या अहिले पनि छ ।   मेलम्ची नगरपालिकाका केही वडा र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका नागरिकका लागि वैकल्पिकरूपमा रहेको झोलुङ्गे पुलको सहायक पर्खाल बाढीले बगाएका कारण एकैपटक धेरै मानिस आवतजावत गर्दा हल्लिने गर्दछ । मेलम्चीबाट दोभानटार र दोभानटारबाट रामपुरबेँसी जोड्ने यो पुल नै ओहोरदोहोरको माध्यम बनेको छ ।   बाढीले मेलम्ची बजारमा रहेको पक्की पुल बगाएपछि बजार आउन कि त झोलुङ्गे पुल आउनुपर्छ कि त बाहुनेपाटी हुँदै घुमेर लामो बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । पाँचपोखरी थाङपाल गाउँपालिका–१ र २, मेलम्ची नगरपालिका–७ र ८ का नागरिकका लागि गाडी प्रयोग गर्न भने हेलम्बु गाउँपालिकाको चनौटे पुगेर मेलम्ची आउनुपर्ने अवस्था रहेको छ । हेलम्बु गाउँपालिकाको चनौटेमा बाढीले मोटर गुड्ने पुल बगाएपछि नेपाली सेनाको सहयोगमा बेलीब्रिज निर्माण गरी सञ्चालन भइरहेको छ ।   पुल नहुँदा बिरामी र सुत्केरी हुने महिला मारमा परेका छन् । मोटर बाटो प्रयोग गर्दा घुमेर लामो बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । आकस्मिक सेवा लिनुपर्ने प्रकारका बिरामीलाई भने हेलिकोप्टर प्रयोग गर्नुपर्ने अवस्था रहेको छ । पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिकाले आकस्मिकरूपमा अस्पताल लैजानुपर्ने बिरामी र सुत्केरीलाई हेलिकोप्टरमार्फत पनि सेवा दिँदै आएका छन् ।    मेलम्ची नगरपालिका–९ र १० लगायत आसपासका नागरिकका लागि दैनिकजसो मेलम्ची बजार ओहोरदोहोर गर्नु पर्दछ । उत्पादित तरकारी, फलफूल, दूध र मासुजन्य व​स्तुको बजार भनेको मेलम्ची नै हो । सामान बोकेरै ल्याउनुपर्ने भएकाले पनि उत्पादित सामान बजारसम्म ल्याउन समस्या भएको मेलम्ची–१० की लक्ष्मी अधिकारीले बताउनुभयो ।   पाँचपोखरी थाङपाल गाउँपालिकाकी डिलकुमारी श्रेष्ठ आफन्त र छोराछोरीसँग भेटघाटका लागि काठमाडौँ ओहोरदोहोर गरिरहनुहुन्थ्यो । तर अहिले बाढीपछि भने उहाँ तीन महिनामा एकपटक मात्र आउने–जाने गर्नुहुन्छ । बाटो कतिबेला बन्द हुन्छ भन्ने डरले पनि उहाँलाई रोकिरहन्छ । पहिलेको तुलनामा गाडी पनि नियमितरूपमा सञ्चालन नहुँदा यात्रा गर्न सहज नभएको उहाँको भनाइ छ ।   मेलम्ची–१० का कुमार दाहालको पनि समस्या उस्तै छ । पहिलेको पुल भएको ठाउँबाट झोलुङ्गे पुलसम्म आउन एक किलोमिटर छ भने बाहुनेपाटी जान दुई किलोमिटर घुमेर बजार जानुपर्ने बाध्यता छ । घरका लागि चाहिने सामान ल्याउन पनि समस्या भइरहेको उहाँले बताउनुभयो । तीनै तहका सरकारले जतिसक्दो छिटो पुल निर्माणमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।   बाढीका कारण धेरैले ज्यान गुमाएका छन् भने कतिको गरिखाने ठाउँ नै बगर बनेको छ । बाढीपछि राहत र पुनःस्थापनाको काममा पनि सरकारले चासो नदिएका कारण मेलम्चीको पुनःस्थापनामा ढिलाइ भएको मेलम्चीका बासिन्दा गणेश दुलालले बताउनुभयो । गत वर्षको बाढीले बस्ती र खेतीयोग्य जमिनमा क्षति पुर्याएको थियो ।   मानिसको आवातजावत कम भएका कारण अघिल्ला वर्षको तुलनामा यो वर्ष व्यापार व्यवसाय पनि कम भएको मेलम्चीका व्यापारी प्रकाश दाहालले बताउनुभयो । बोकेर लान सक्ने सामान पनि कमै मात्रामा बिक्री भइरहेको र गाडी प्रयोग गरेर लाने सामान लान गाडीभाडा महँगो पर्ने भएकाले पनि वर्षायाममा बिक्री धेरै घटेको उहाँको भनाइ छ ।   यसअघि मेलम्चीमा ह्युमपाइप राखेर बनाइएको अस्थायी संरचनाको प्रयोग गरेर सामान लैजान सहज भएको थियो । अब वर्षा रोकिनेबित्तिकै खोलामा ह्युमपाइप राखेर यातायात सञ्चालन गर्न नगरपालिकालाई ध्यानाकर्षण गराइएको मेलम्ची नगर उद्योग वाणिज्य सङ्घका महासचिव ताराबहादुर बानियाँले बताउनुभयो । नगरपालिका क्षेत्रमा नागरिकको सुविधाका लागि वैकल्पिक बाटो बनाउने र बन्द भएका बाटो खुलाउने काममा नगरपालिकाले काम गरिरहेको नगरप्रमुख आइतमान तामाङले बताउनुभयो ।   ‘‘दीर्घकालीनरूपमा पुनःस्थापनाका लागि प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरी जतिसक्दो छिटो मेलम्चीलाई पुरानै अवस्थामा ल्याउने छौँ”, उहाँले भन्नुभयो । क्षति भएका संरचनाको पुनःनिर्माणमा पनि तदारुकताका साथ काम भइरहेको उहाँको भनाइ छ । 

  काठमाडौं । उड्डयन क्षेत्रका सफल व्यवसायी एवं गायक विकास राणाको स्वरमा समावेश ‘प्रेमको परिभाषा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।     प्रेमिल शैलीको यस गीतमा बिबी थापाको शब्द रहेको छ भने शशिविक्रम थापाको सङ्गीत रहेको छ । गीतलाई विनोद भुजेलले सङ्गीत संयोजन गर्नुभएको हो । म्युजिक भिडियोमा महानायक राजेश हमाल र नायिका वर्षा राउतको अभिनय छ ।    म्युजिक भिडियोमा ‘मलाई ऊर्जा दिने हरपल साथ दिने तिमी’, ‘मेरो चाहना मेरो सपना केवल तिमी तिमी’, ‘प्रेमको परिभाषामा तिमी’, ‘म दिन्छु कहिलेकाहीँ होसले भरिएर’लगायत बोलका गीत समावेश गरिएको छ ।   बुद्ध थापाले छायाङ्कन गरेको यस भिडियोलाई विकास धमलाले सम्पादन गर्नुभएको हो । निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो गायक राणाको युट्युब च्यानल ‘विकास राणा अफिसियल’मार्फत सार्वजनिक भएको हो । यसअघि गायक राणाको स्वरमा समावेश गालाको ‘तिलैमा’, ‘तीनपाने’, ‘मुसुक्कै हाँस्यौँ’, ‘शैलुङ’ बोलको म्युजिक भिडियो सार्वजनिक भइसकेका छन् । आगामी दिनमा अझै स्तरीय सिर्जना पस्किँदै जाने गायक राणाले बताउनुभयो ।