आचारसंहिता उल्लंघन  गरेको अभियोगमा निर्वाचन आयोगले स्पष्टीकरण सोधेकामध्ये २४ उम्मेदवारले जवाफ बुझाएका छन्।   आयोगले ३४ जनालाई स्पष्टिकरण सोधेको थियो। त्यसमध्ये अझै १० उम्मेदवारले जवाफ दिएका छैन...

  पोखरा ।   पोखराका अभिषेक बाँस्तोलाले अमेरिकाको ओहायो स्थित कोलम्समा जारी युनिभर्सल टेनिस रेटिङमा प्रतिस्पर्धा गर्ने भएका छन् । मंगलबार उनी जापानिज खेलाडी जेम्स टेर्टससंग प्रतिस्पर्धाका लागि कोर्ट उत्रदैछन । बलियो प्रतिस्पर्धी मानिएका जेम्स एटिपीका उत्कृष्ट सय भित्रका खेलाडी हुन् ।   प्रतियोगिताको विजेता खेलाडीले ३ हजार ५ सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा हाइयष्ट रेटिङप्राप्त २० खेलाडी उपाधी भिडन्तमा छन् । यो स्तरको प्रतिस्पर्धामा सहभागि अभिषेक नेपालकै पहिलो खेलाडी हुन् ।   १५ वर्षकै उमेरमा नेपालको शिर्ष वरियता पाएका अभिषेकले एटिपी रेटिङका लागि २५ भन्दा बढि राष्ट्रहरुमा प्रतिस्पर्धा गरिसकेका छन् । टेनिस खेल्नका लागि १५ वर्षको कलिलो उमेरमै घर छाडेर विदेशिएका अभिषेकले यसअघि अमेरिकाको एक कलेजमा ९० प्रतिशत स्कलरशिप पाएका थिए । उनले यसअघि दुई वर्ष सम्म युनिर्भसिटी स्तरिय थुप्रै प्रतिस्पर्धाहरुमा सहभागिता जनाइसकेका छन् ।   आउँदै गरेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उनी गण्डकीको टिमबाट कोर्ट उत्रने बताइएको छ । प्रदेशले पनि उनीबाट स्वर्ण पदकको आशा राखेको कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक गुरुङ्गले बताए । अन्र्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाउनका लागि प्रायोजकको खाँचो रहेको बाँस्तोलाले बताएका छन् । ‘कोच, फिजियोसंगै लिएर हिंडन निकै खर्चिलो छ, पारिवारिक श्रोतले मात्रै यो खर्च धान्न गाह्रो छ’–बाँस्तोलले भने ।

  कैलाली ।  कैलालीमा छाडा गाईसँग ठोक्किएर गए राति मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–१३ हिमाली टोलका ३० वर्षीय गङ्गा बोगटी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिनुभयो ।   प्रनाउ जोशीका अनुसार धनगढी–१३ अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको सुपप्र०१०११प ३८१६ नंको मोटरसाइलले छाडा गाईलाई ठक्कर दिएको थियो ।  ठक्करबाट गम्भीर घाइते भएका बोगटीको निसर्ग अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकलमा सवार शर्मिलाको सोही अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

  काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९५ हजार तीन सयमा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु तीन सयले घटेको हो ।   नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९४ हजार आठ सय थियो ।     त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार एक सय ६० तोकिएकोे महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

  रामपुर । धानबालीमा गवारोको समस्या देखिएपछि पाल्पा रामपुरका जयनारायण श्रेष्ठ चिन्तित हुनुहुन्छ । उहाँले अहिले ‘एग्रोभेट’बाट विषादी ल्याएर प्रयोग गर्नुभएको छ । रोग निराकरण नहुँदा उहाँ चिन्तामा हुनुहुन्छ । करिब सात रोपनी जग्गामा लगाइएको धानबालीमा एकैपटक गवारोले सताउँदा धान पसाउनै नपाउने हो कि भन्ने समस्याले उहाँलाई पिरोलेको छ ।    “फेदमा बसेर गवारो कीराले धानको गुवो खाएर सरा नै मर्दै गएर पहेँलो भएको छ, करिब १० दिनअघिदेखि कीराले सताएको छ, हरियाली भएको धान एकाएक पहेँलिदै गएको छ, दुःखसँग गरेको खेती स्याहार्नै नपाइने पो हो कि भन्ने चिन्ताले सताइरहेको छ”, उहाँले गुनासो पोख्नुभयो । उहाँले बिहान उज्यालो भएपछि खेतमा कीरा मार्ने गरे पनि आजभन्दा भोलि झन् यसको समस्या फैलिँदै गएको बताउनुहुन्छ । उहाँका अनुसार विशेषगरी हाइब्रिड र गोरखनाथ जातको धानमा कीराको समस्या देखिएको छ ।    फणेश्वर गैरेको पनि करिब तीन रोपनी जग्गामा लगाइएको धानबालीमा गवारोले सताएको छ । गवारोको समस्या बढ्दै जाँदा उहाँ नियन्त्रणका लागि विषादी प्रयोग गर्ने तयारीमा हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मानव स्वास्थ्यलाई दृष्टिगत गर्दै भरसक विषादी प्रयोग नगर्ने भनेको त झन् धेरै ठाउँमा यसको समस्या फैलियो, धान जति सखापै होलाजस्तो छ, बोट पहेँलिने क्रम बढेको छ, अब एग्रोभेटबाट विषादी ल्याएर प्रयोग गरिहाल्नुपर्ने भयो ।”   कार्यालयमा हिजोआज रामपुरका विभिन्न स्थानका कृषकले गवारोको समस्या लिएर आउने गरेको र न्यूनीकरणका लागि विषादी छर्कन सुझाव दिने गरेको रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरि पाण्डेयले जानकारी दिनुभयो ।   पाल्पाको रामपुर, तिनाउँ क्षेत्रमा धानबालीमा गवारो, माडी क्षेत्रमा ब्लाष्ट र खैरो रोगको समस्या देखिएको कृषि ज्ञान केन्द्र पाल्पाका बाली संरक्षण अधिकृत मिलन पाण्डेयले बताउनुभयो । उहाँका अनुसार नाइट्रोजनयुक्त मल बढी भएमा धानबालीमा विभिन्न रोेग तथा कीराले सताउने गर्दछ । विशेषगरी उपचार नगरिएको बीउ प्रयोगबाट रोग कीराको समस्या देखिएको हो ।   सन्तुलित मलखादको प्रयोग, धान काटिसकेपछि फेदमा हप्ता–दश दिनसम्म पानीले डुबाउने, धान रोपाइँ गर्ने बेला बीउको टुप्पा काटेर रोप्ने गरेमा विभिन्न रोग कीराबाट धानलाई बचाउन सकिन्छ । “अहिले महामारीका रूपमा रोग कीरा फैलिसकेको छैन, एक सय धानको गाँजमा १० वटामा कीराले आक्रमण गर्दैमा आत्तिहाल्नुपर्ने अवस्था रहँदैन, त्यो भन्दा माथि फैलिएमा भने उपचार तथा निगरानी गरिराख्नु पर्दछ”, उहाँले भन्नुभयो ।   धान पसाउने बेलामा यो कीराको प्रकोप फैलिएमा धानको बाला पोकटो रहन्छ । गवारो धानको महत्वपूर्ण पिराहा कीरा हो । विभिन्न प्रकारका गवारो कीराहरुमध्ये पहेँलो र सेतो गवारोले धानबालीमा मात्र नोक्सान गर्दछन् भने गुलावी गबारो र धर्के गबारोले अन्य बालीमा पनि नोक्सान गर्दछन् । बर्सेनि यी कीराबाट करिब १५ प्रतिशतसम्म नोक्सानी हुने गरेको अनुमान छ । माउ गवारो एकदेखि दुई सेमिसम्म लामो हुन्छ । यो पुतली वर्गका कीरा हो, जसको लार्भाले गुवो खाई नोक्सान पुर्याउँछ ।   गवारोको माउले पातको टुप्पोतर्फ तल्लो सतहमा अण्डा पार्दछ । अण्डाबाट लार्भा निस्की डाँठमा प्वाल पारेर प्रवेश गर्दछ र गुवो खाँदै तल वा माथि जान्छ । डाँठमा गवारोले पारेको प्वाल स्पष्ट देखिन्छ । सुरुको अवस्थामा गुवो तान्दा सजिलै फुत्त आउँछ, यो लक्षणलाई मृत गुवो भनिन्छ । पछिल्लो चरणमा गवारोले गुवो खाँदा सेतो वाला वा फोस्रो वाला देखिन्छ । यसपछि गवारोसँगैको अर्को सरा वा गाँजमा प्रवेश गरी नोक्सान पुर्याउँदछ ।   यसको व्यवस्थापनका लागि धान काट्दा सकेसम्म जमिनको सतह छुने गरी काट्ने, बाँकी रहेको सम्पूर्ण ठुटा निकाली जलाइदिने अथवा ठुटा डुब्ने गरी एक हप्तासम्म पानी जमाउने, धान रोप्ने बेलामा धानको बेर्नाको पातको टुप्पो तीनदेखि पाँच सेन्टिमिटर चुडेर नष्ट गर्नुपर्दछ । साथै माकुरा, लामासिङ्गे फट्याङ्ग्राजस्ता मित्र जीवको संरक्षण गर्ने, प्रकाश पासोको माध्यमबाट बयस्क पुतलीलाई आकर्षण गरी मार्ने गर्ने, सकेसम्म पकेट क्षेत्रभरि एकैपटक धान रोपाइँ गरिएमा गबारोबाट हुने नोक्सानी कम हुन्छ ।    हरेक वर्ष गवारोले नोक्सानी गर्ने ठाउँमा बीउदर बढाइ प्र​तिएकाइ बिरुवाको सङ्ख्या बढाउँदा गवारोबाट हुने नोक्सानी घटाउन सकिन्छ । धान रोपाइँ गरेको महिना दिनमा परजीवी कीरा (ट्राइकोग्रामा)को प्रयोग गर्न सकिन्छ । पाँच सेमि गुणन गरी १० सेमि साइजको कार्डमा करिब २० हजार ट्राइकोग्रामा रहेको हुन्छ । एक हेक्टरका लागि १० वटा ट्राइकोकार्ड प्रयोग गर्नुपर्दछ ।    व्यासिलस थुरिनजीयन्सिस (विटी) तीन ग्राम प्रतिलिटर पानीका दरले मिसाइ छर्ने । गबारोको धेरै प्रकोप (१० प्रतिशतभन्दा बढी) भएमा रासायनिक विषादी कार्टाप हाइड्रोक्लोराइड चार प्रतिशत वा क्लोरान्ट्रानिलीप्रोल ०.४ प्रतिशत वा फिप्रोनिल ०.३ जीआर दानादार विषादी २५ केजी प्रतिहेक्टर वा क्लोरोपाइरिफस २० प्रतिशत इसी २ मिलि प्रतिलिटर पानी वा एसिफेट ७५ प्रतिशत  एसपी १ मिली प्रतिलिटर पानीका दरले प्रयोग गर्न सकिन्छ । दानादार विषादी प्रयोग गर्दा खेतमा पाँच–आठ सेमि पानी पाँच दिनसम्म कायम रहनु पर्दछ ।

  सुर्खेत । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको प्रवेशपत्र शङ्कास्पद भेटिएपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सुर्खेत प्रहरीले सोमबार सशस्त्र प्रहरी बल मेहेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा कार्यरत दैलेखको गुराँस गाउँपालिका–४ का भक्तबहादुर शाहीलाई पक्राउ गरेको हो ।   प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार गत साउन ११ गते दिएको मोटरसाइकलको सवारी चालक अनुमतिपत्र परीक्षाको (लिखित÷मौखिक) प्रवेशपत्रमा यातायात व्यवस्था कार्यालयका कर्मचारीको कीर्ते सही र छाप लगाई पास (उत्तीर्ण) लेखिएको शङ्कास्पद प्रवेशपत्र भेटिएको थियो । यातायात कर्मचारीले शङ्कास्पद प्रवेशपत्र देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले वीरेन्द्रनगर–७ स्थित यातायात्र व्यवस्था कार्यालयमै पुगेर शाहीलाई नियन्त्रणमा लिएको थियो ।   जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले कर्मचारीको सही, कार्यालयको छाप सक्कली हो वा होइन भनेर अनुसन्धान गरिने बताउनुभयो । “प्रवेशपत्रमा पास लेखिएको छ, विस्तृत अनुसन्धान हुँदैछ”, उहाँले भन्नुभयो, “सम्बन्धित कार्यालयकै कर्मचारीले शङ्कास्पद ठानेर खबर गरेपछि नियन्त्रणमा लिएका हौँ ।”   यसैबीच प्रहरीले अवैध लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर–११ पिपिरास्थित देउती बज्यै मन्दिर नजिकबाट सोही ठाउँका १९ वर्षीय प्रतीक केसीलाई पक्राउ गरेको हो । प्रदेश लागुऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले केसीको कोठाबाट बाकसमा प्लाष्टिकभित्र लुकाएर राखिएको खैरो हिरोइनजस्तो देखिने एक पुडिया लागुऔषध फेला पारेको हो ।

गण्डकी प्रदेशका भुमी व्यवस्था कृषि सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्र बहादुर बुढा ‘सागर’ले विद्यार्थीहरुले संघीयताबारे बुझ्न आवश्यक रहेको बताएका छन् ।  नेपाल मगर विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पसको २२ औँ क्याम्पस अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री बुढाले संघीयताबारे बाहिर नराम्रो हल्ला फैलाइएको भन्दै विद्यार्थीहरुले संघीयताको बारेमा बुझ्न आवश्यक रहेको बताएका हुन् ।  ‘संघीयताबारे बजारमा जे हल्ला फैलाइएको छ त्यसमा कनै सत्यता छैन् संघीयता बुझ्न अध्ययन आवश्यक छ त्यसैले विद्यार्थीहरुले यसको बारेमा बुझ्न आवश्यक छ ।’ उनले भने । मन्त्री बुढाले संघीयता कार्यन्वयनसँगै आदिवासीहरुको हक अधिकार प्राप्त भएको अनुभुति भएको बताउदै विद्यार्थीहरुले संविधानमा उल्लेख भएका ऐनहरु अध्ययन गर्न आवश्यक रहेको बताए ।  ‘मुलुकले बहुभाषिक, बहुजातिय र बहुसांस्कृतिक स्वीकार गरेको छ, उनले भने, ‘तर यसको अहिले बाहिर विरोध हुँदा मगर लगायत आदिवासीको मुद्धाकोसमेत विरोध हुन थालेको आभाष भएको छ ।’   यसैगरि नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज गण्डकीका अध्यक्ष रुद्र बहादुर श्रीस मगरले बहुभाषिक शैक्षिक प्रणाली लागु हुन नसक्नु दुखद भएको बताए ।  ‘नेपाल संघीय शिक्षा प्रणालीमा प्रवेश गरिसकेको मुलुकलाई बहुभाषिक, बहुजाति, बहुधार्मिक रुपमा घोषणा गरिएपनि यो अझै कार्यान्वयनमा आउन नसक्नु आदिवासीको मुद्धा कार्यान्वयन नहुनु हो ।’ उनले भने । नेपाल मगर विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस समितिले अधिवेशनको अवसरमा क्याम्पसमा अध्ययनरत विभिन्न संकायका प्रथम वर्षका १३ जना विद्यार्थीहरुलाई छात्रवृत्तिसमेत वितरण गरेको थियो ।  अधिवेशनले कृष्ण बुढा मगरको नेतृत्वमा १५ सदस्य कार्यसमिति समेत चयन गरेको थियो ।   

  कालीकोट: कालीकोटको स्याउ बजार पुर्याउन  निकै समस्या भएको छ । जिल्लाको तिलागुफा  र रास्कोट नगरपालिकाका साथै  महावै, पचालझना र पलाँता गाउँपालिकामा उत्पादन हुने स्याउ सडक नहुँदा बजारसम्म पुर्याउन समस्या भएको हो ।       बगैँचामा फलेको स्याउ बिक्री गर्न समस्या भएको तिलागुफा नगरपालिका–२ फोइमहादेवका अगुवा किसान बेगमबहादुर शाहीले बताउनुभयो । “यातायातको सहज पुहँच नहुँदा स्याउ बिक्रीमा समस्या हुने गरेको छ । यातायात सेवा धेरै टाढाको दूरीमा छ”, उहाँले भन्नुभयो,“भारी बोकेर कर्णाली राजमार्ग पुर्याउन पाँच घण्टाको पैदलयात्रा गर्नुपर्छ ।”   कृषक शाहीले आफूले मात्र बर्सेनि ६०० क्विन्टल स्याउ फलाउने गरे पनि बजार पुर्याउन नसकिएका जति त्यतिकै खेर जाने गरेको जानकारी दिनुभयो । सधैँजसो भदौमा तयार हुने स्याउ बजार लैजान  समस्या रहेको रास्कोट नगरपालिका–८ फुकोटका किसान पुष्पराज बरालले बताउनुभयो । “बर्सेनि ३०० क्विन्टलभन्दा बढी स्याउ फले पनि बजारको  समस्याले अधिकांश स्याउ रुखमै कुहिने वा बस्तुलाई दिने गरेको छौँ ।” उहाँले भन्नुभयो,“हाम्रो स्याउ फल्ने ठाउँ सिप्टी र बिसाल्नी भन्ने लेकमा हो ।”    कृषक बरालले भन्नुभयो,“यहाँबाट बजारमा लैजानका लागि कम्तीमा एक दिन लाग्ने गरेको छ । कतिपय त बोकेर लैजाँदै बाटोमा नै बिग्रिने गरेको छ ।”किसाले उत्पादन गरेको स्याउ बिक्रीका  लागि अनुदान दिने गरिएकोे जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताउनुभयो । “किसानलाई ढुवानीमा अनुदान र कालीकोटको उत्पादन भएको हो भन्ने प्रमाणका लागि कार्टुन पनि दिने गरेका छौँ ।” उहाँले भन्नुभयो,“यहाँको स्याउ विशुद्ध प्राङ्गारिक भएकाले यसको स्वादसँग अन्य स्याउको तुलना नै हुन सक्दैन ।”  

  बैतडी ।   बैतडीमा हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार गरिएको छ । सिगास गाउँपालिका– ६ थलाकी २० वर्षीया बिन्दु धामीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।     सुत्केरी व्यथा लागेको बिन्दुलाई आज बिहान  थलाकाँडाबाट कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो । आइतबार थलाकाँडा स्वास्थ्य चौकी पुग्नुभएकी धामीलाई सुत्केरी हुन नसकेपछि हेलिकप्टरबाट उद्घार गरिएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो ।   तत्कालै शल्यक्रिया गर्नुपर्ने अवस्था आएकाले उहाँलाई सुर्खेत लगिएको हो । आइतबारदेखि सुत्केरी व्यथा लागेर बिन्दुको स्वास्थ्य अवस्था खराब हुँदै गएपछि जिल्ला अस्पताल लैजान सडक सुविधा नभएको र सडकसम्म पुर्याउन चार घण्टा बोकेर लैजानुपर्ने, सो समयसम्म  अत्यधिक रक्तश्राव हुने खतरा रहेकोले सुविधा सम्पन्न अस्पतालसम्म लैजान हवाई उद्धारका लागि आवश्यक समन्वय गरिदिन सिगास गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको थियो ।

  झापा । यहाँका पूर्वी र उत्तर क्षेत्रका सर्वसाधारणलाई अझै पनि जङ्गली हात्तीको त्रास छ । भारतबाट प्रवेश गर्ने जङ्गली हात्ती नियन्त्रण गर्न विश्व बैंकको सहयोगमा नेपाल सरकारले हात्ती प्रवेश गर्ने गौँडामा विद्युतीय तारबार गरे पनि जङ्गली हात्ती रोक्न सकिएको छैन ।       हालसम्म झापामा हात्तीको आक्रमणबाट ४८ नेपाली नागरिकको मृत्यु र गैर नागरिक पाँच गरी जम्मा ५३ जनाको मृत्यु भएको छ भने १५ हात्तीको मृत्युु भएको डिभिजन वन कार्यालयका निमित्त प्रमुख जीवन पाठकले जानकारी दिनुभयो ।       आर्थिक वर्ष २०७८/७९ मा मात्र छ जनाको हात्तीको आक्रमणबाट मृत्युभएको छ । अर्जुनधारामा एउटा र बुद्धशान्तिमा दुई हात्ती मृत भेटिएको पाठकले जानकारी दिनुभयो । आठ व्यक्ति हात्तीको आक्रमणबाट घाइते भएका छन् ।       वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ को(दोस्रो संशोधन २०७४) का अनुसार कुनै व्यक्तिलाई सामुदायिक वन, डिभिजन वनका कर्मचारीबाहेक अन्य सर्वसाधारण व्यक्तिलाई जङ्गलको क्षेत्रभन्दा बाहिर हात्तीले आक्रमण गरी मारेमा रु १० लाख क्षतिपूर्ति दिने व्यवस्था रहेको छ । घाइतेको हकमा सम्पूर्ण खर्च सरकारले बेहेर्ने व्यवस्था रहेको छ ।    घर भत्काएको, बालीनाली क्षति र भण्डारण अन्नमा क्षति पुर्याएमा रु १० हजार देखि रु ३० हजारसम्मको क्षतिपूर्ति पाउने व्यवस्था ऐनले गरेको छ तर सो क्षतिपूर्ति पाउनका लागि घटना भएको ३५ दिनभित्रमा निवेदन दिइसक्नुपर्ने व्यवस्था रहेको छ ।       यसै आव २०७८/७९ मा मात्रै छ जना मृतकका परिवारसहित चारसय ८५ जनालाई रु एक करोड १० लाख ७२ हजार एकसय ९३ क्षतिपूर्ति दिइएको पाठक बताउनुहुन्छ । यस आर्थिक वर्षमा ३७७ निवेदन परेका र ती निवेदन कार्यान्वयनको प्रक्रियामा रहेको उहाँले बताउनुभयो ।       हात्तीपीडित मेचिनगर–१ बाहुनडाँगीका केशव न्यौपानेले क्षतिपूर्तिका लागि कानुनी व्यवस्था अलिक झन्झटिलो र ढिलो भएको गुनासो गर्नुभयो । जङ्गली हात्तीकै कारण झापाका मेचीनगर, बुद्धशान्ति, अर्जुनधारा, बिर्तामोड ,भद्रपुर, कचनकवल, कमल र हल्दिबारीमा बर्सेनि लगाएको बाली भित्र्याउन पाउँदैनन् ।    धानको सिजनमा धान, मकैको सिजनमा मकै, गहुँलगायत बाली थन्क्याउने बेलामा हात्तीसहित अन्य जङ्गली जनावरले खाएर सखाप बनाउने गरेको हल्दिवारी–३ का यामलाल अधिकारी भन्नुहुन्छ । सरकारले भारतबाट आउने जङ्गली हात्तीको नियन्त्रणका लागि बर्सेनि करोडौँ रुपैयाँ खर्चिए पनि समस्या दिनप्रतिदिन उस्तै रहेको छ ।