काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि दोस्रो चरणमा ५० जिल्लाका पाँचदेखि १२ वर्ष मुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप लगाउन थालेको छ । मन्त्रालयका अनुसार आजदेखि यही भदौ ११ गतेसम्म कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा बालबालिकालाई दिइनेछ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले आजदेखि दोस्रो चरणमा ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप ‘फाइजर बायोएनटेक’ दिइन थालिएको जानकारी दिनुभयो । बालबालिकालाई विद्यालयमा नै केन्द्र स्थापना गरी खोप दिइन थालिएको छ । विद्यालयका साथै बालमन्दिर र कारागारमा समेत खोप लगाइने छ । आजदेखि ११ गतेसम्म पहिलो मात्रा लगाएका बालबालिकालाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म दिइनेछ । यसअघि २७ जिल्लाका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको थियो । पाँच वर्षदेखि १२ वर्षमुनिका उमेरका विद्यालयले तयार गरेको कक्षागत सूची, नामावली, विद्यालयले उपलब्ध गराएको परिचयपत्रका आधारमा खोप लगाइनेछ । यस्तै विद्यालयमा सूचीकृत नभएका बालबालिकाको हकमा उमेर खुल्ने परिचयपत्र वा निजका अभिभावकले स्व:घोषणा गरेको उमेर पुगेका बालबालिकालाई खोप लगाइनेछ । प्रदेश नं १ का भोजपुर, धनकुटा, खोटाङ, ओखलढुङ्गा, पाँचधर, सङ्खुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम र उदयपुर, मधेस प्रदेशका बारा, रौतहट र सर्लाही, बागमती प्रदेशका रामेछाप, दोलखा, धादिङ, नुवाकोट, रसुवा र सिन्धुपाञ्चोकका बालबालिका रहेका छन् । यस्तै गण्डकी प्रदेशका बागलुङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङ्जा र तनहुँ, लुम्बिनी प्रदेशका कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठान, रोल्पा, रुकुमपूर्व, कर्णाली प्रदेशका रुकुमपश्चिम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, दैलेख र जाजरकोट रहेका छन् । सुदूरपश्चिम प्रदेशका अछाम, डोटी, बझाङ, बाजुरा, बैतडी र दार्चुलाका बालबालिका रहेका छन् ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनबाट आफू मर्माहत भएको बताउनुभएको छ । अध्यक्ष ओलीले आज बिहान ट्वीट गर्दै “चिन्तनशील राजनीतिकर्मी मित्र प्रदीप गिरीको निधनबाट मर्माहत भएको छु ।” प्रतिनिधिसभा सदस्य एवं समाजवादी चिन्तक गिरीको शनिबार राति ९:३० उपचारका क्रममा ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको थियो ।
भरतपुर । अत्यधिक नियमित मदिरा सेवन गर्नाले कलेजो बिग्रनेको सङ्ख्या दैनिक बढ्दो छ । भरतपुरको मौलाकालिका अस्पतालका रेडियोलोजिष्ट डा रमेश घिमिरेसँग जाँच गराउन आउने बिरामीमध्ये दैनिक सरदर तीन जना मदिरा सेवनका कारण कलेजो बिग्रेर आउने गर्दछन् । उहाँले भन्नुभयो “कलेजो बिग्रने अवस्थामा जाँदै गरेका बिरामी दैनिक छ हाराहारी आउँछन् ।” अस्पतालमा कलेजोरोग विशेषज्ञ र मनोरोग विशेषज्ञ भएकाले यस्ता बिरामी बढी हुने गरेका छन् । यसो त यहाँका मेडिकल कलेज, सरकारी भरतपुर अस्पताल र अन्य निजी अस्पतालमा यो समस्या लिएर आउनेको सङ्ख्या निकै बढी हुने गरेको छ । उहाँले भन्नुभयो, “फ्याटी लिभर भएका दैनिक आठ/दश जना आउँछन् । तीमध्ये ७५ प्रतिशत मदिरा सेवन गर्नेहरू हुन्छन् ।” ‘फ्याटी’ लिभर भएका सामान्य, मध्यम र जटिल भएर आउने गर्दछन् । उनीहरूलाई सामान्य अवस्थामा फर्काउन सकिने चिकित्सकहरू बताउँछन् । कलेजोको ‘सिरोसिस’ भएकालाई पूर्ववत अवस्थामा फर्काउन कठिन हुन्छ । यस्तालाई प्रत्यारोपणको विकल्प हुँदैन । डा घिमिरेले ‘सिरोसिस’ भएको बिरामीको कलेजो जुटको बोराजस्तै हुने जानकारी दिनुभयो । चितवन मेडिकल कलेजका कलेजो प्रत्यारोपण सर्जन डा सञ्जयकुमार यादवले अस्पतालमा हालसम्म प्रत्यारोपण गरिएका छ जना सबैको उच्च मदिराका कारण कलेजो काम नलाग्ने भएको बताउनुभयो । तीमध्ये एक जनामा हेपाटाइटिस बी समेत देखिएको थियो । उहाँले भन्नुभयो, “नेपालमा कलेजोमा समस्या आउने अधिकांश मदिराको कारण हो ।” लामो समयसम्म धेरै मदिरा पिउनेहरूमा कलेजोको समस्या हुने गरेको छ । धेरै मदिरा सेवन गर्नेहरूमध्ये १० देखि १५ प्रतिशतमा कलेजोको समस्या हुने उहाँ बताउनुभयो । चिकित्सकका अनुसार नियमित धेरै मदिरा सेवन गर्नेका १० देखि १५ वर्षमा कलेजो बिग्रने गर्दछ । सुरुमा कलेजो खराब भए पनि बाहिर समस्या देखिँदैन । भिडियो एक्सरे र रगत परीक्षण गर्दा मात्रै समस्या देखिने डा यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “मदिरा सेवन गर्नेहरूले नियमित भिडियो एक्सरे वा रगतको नमूना परीक्षण गराउनु पर्छ ।” मदिरा धेरै सेवन गर्नेमा जण्डिस हुने, पेटमा पानी जम्ने, रगत वान्ता गर्ने, बेहोस हुनेजस्ता समस्या देखिने डा यादवको भनाइ छ । हेपाटाइटिस बी र सी का कारण पनि कलेजो खराब हुने गर्दछ । तौल बढी भएका, वंशाणुगत रोग हुनेहरू र कलेजोको क्यान्सर भएर पनि समस्या देखिने डा यादवले जानकारी दिनुभयो । मदिरा धेरै सेवन गर्नेहरुले समय–समयमा परीक्षण नगर्ने र अन्तिम अवस्था पुगेपछि मात्रै परीक्षण गर्दा कलेजो पूरै काम नलाग्ने अवस्थामा पुग्ने गरेको पाइन्छ ।
महिला तथा बालबालिका कार्यालय खोटाङको ताला छ वर्षपछि फोडिएको छ । गाउँपालिका तथा नगरपालिकामा सो कार्यालय गाभिएपछि लगाइएको ताला लगाइएको थियो । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, महिला तथा बालकालिका विभागअन्तर्गतको कार्यालयमा रहेका भौतिक सामग्री तथा उपकरण काम नलाग्ने अवस्थामा भेटिएका छन् । कार्यालयमा रहेका कम्प्युटर, ल्यापटप, पावर व्याकप, टिभी र काठबाट बनेका टेबल, कुर्सी, दराज काम नलाग्ने भएका हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, जिल्ला समन्वय समितिका सदस्य दुर्गाप्रसाद घिमिरे, जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश साह, जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि र प्रहरीको रोहबरमा कार्यालयमा रहेका सामग्री थन्क्याइएको छ । आठकोठे कार्यालयमा दुई कोठामा सामग्री राखेर अन्य कोठालाई ‘आइसोलेशन वार्ड ’निर्माण गर्न लागिएको छ । पछिल्लो समय जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि नगरपालिकाले उक्त कार्यालयको भवनलाई आइसोलेशन बनाउने तयारी गरेको छ । गत साउन २५ गते प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईँको संयोजकत्वमा बसेको जिल्ला कोभिड तथा सङ्कट व्यवस्थापन केन्द्र (डिसीसिएमसी)को बैठकले सो कार्यालयको भवनलाई आइसोलेशन बनाउने निर्णय गरेको थियो । कोरोनाको सङ्क्रमण बढ्दोरूपमा रहेको र पूर्वतयारी अवस्थामा रहनका लागि आइसोलेशन बनाउन कार्यालयको ताला फोडिएको नगरप्रमुख भट्टराईले जानकारी दिनुभयो । प्रयोगविहीन अवस्थामा रहेको कार्यालयलाई त्यत्तिकै छोड्नुभन्दा आइसोलेशन बनाएर प्रयोगमा ल्याउन ताला तोडिएको जनाइएको छ ।
नेकपा माओवादी केन्द्रले महाधिवेशन भएको आठ महिनापछि पदाधिकारी टुंगो लगाएको छ । शनिबार बसेको स्थायी कमिटी बैठकले २१ सदस्यीय पदाधिकारी टिम टुंगो लगाएको हो, जसमा महासचिव देव गुरुङ छन् । पार्टी कार्यालय, पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष प्रचण्डले गुरुङलाई महासचिव प्रस्ताव गरेका थिए । महासचिवमा गुरुङसँगै ७ जनाको दाबी थियो । तर अध्यक्ष प्रचण्डले अरु दावेदारहरुलाई उपमहासचिवमा व्यवस्थापन गरेका छन् । महासचिवमा दावी गर्दै आएका गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल पम्फा भुसाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मात्रिका यादव उपमहासचिव भएका छन् । प्रचण्डको पूर्व घोषणाअनुसार नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र कृष्णबहादुर महरा उपाध्यक्ष भए । उपाध्यक्षमा ल्याउने भनिएका दिनानाथ शर्मा र गणेश साह सचिव भएका छन् । उनीहरुसँगै चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की पनि सचिव भएका छन् भने कोषाध्यक्षमा श्रीराम ढकाल छन् । यो पदाधिकारी टिम विशेष महाधिवेशन नहुँदासम्मका लागि भनिएको छ । ‘अहिलेका लागि यो सन्तुलित र निर्वाचनलाई ध्यान दिएर गरिएको हो,’ उपाध्यक्ष महराले बैंठकपछि पत्रकारहरुसँग भने, ‘विशेष महाधिवेशनमा नयाँ सोच आउँछ ।’
श्रद्धाको केन्द्रबिन्दु सप्तरीको महादेवा गाउँपालिकास्थित अङ्कुरी महादेव मन्दिर परिसरमा बसहा स्थापना गरिएको छ । मन्दिर परिसरमा आज थप ६० किलोको बसाहा राखिएको छ । यसअघि पनि परिसरमा बसाहा राखिएको थियो । तिलाठी कोइलाडी गाउँपालिका–६ का उपेन्द्र यादवले आमाको सङ्कल्प पूरा गर्न बसाहा स्थापना गर्नुभएको हो । मन्दिरमा यसअघि ३० किलो तामाको बसाहा स्थापना गरिएको थियो । अङ्कुरी महादेव मन्दिर राजविराज–हनुमाननगर सडकखण्डमा महादेवा गाउँपालिका-२ मा पर्छ । अङ्कुरी महादेवकै नामबाट महादेवा नामकरण गरिएको पुजारी बद्री गिरीले बताउनुभयो । अङ्कुरी महादेवामा हरेक वर्ष शिवरात्रि र अनन्त चतुर्दशीमा ठूलो मेला लाग्छ ।
तनहुँको व्यास नगरपालिका आलुखेतीमा आत्मनिर्भर उन्मुख हुँदै गएको छ । नगरपालिकाका १४ वडामध्ये अधिकांश क्षेत्रमा आलुखेती राम्रो हुने गरेकाले आत्मनिर्भर बन्न सक्ने हैसियतमा पुगेको हो । आलुखेतीको लागि व्यासका पाँदेखि १२ नम्बर वडामा धेरै परिमाणमा आलुखेती हुने गरेको नगरपालिका कृषि शाखाका प्रमुख अधिकृत विश्वराज वाग्लेले जानकारी दिनुभयो । गत वर्ष ३६ मेट्रिक टन आलुको बीउ किसानलाई ५० प्रतिशत अनुदानमा दिँदा झण्डै दुई सय ५२ मेट्रिक टन आलु उत्पादन भएको उहाँले बताउनुभयो । प्रतिकिलो रु ७५ को आलु रु ३७।५० मा किसानलाई अनुदानमा दिइएको हो । नगरपालिकाका किसानलाई ५० प्रतिशत अनुदानमा रु १२ लाखको आलुको बीउ वितरण गरिएको हो । आलु उत्पादनका लागि कार्यालयले प्रोत्साहनमूलक कार्यक्रम ल्याएपछि किसान उत्साहित भएर लागेको शाखा प्रमुख वाग्लेले जानकारी दिनुभयो । भदौमा आलुखेती गर्ने हो भने वर्षमा दुई मौसम आलुखेती गर्न सकिने हुँदा व्यास क्षेत्र आत्मनिर्भर बनी अन्यत्रसमेत निर्यात गर्न सकिने उहाँले बताउनुभयो । तीन महिनामा उत्पादन गर्न सकिने र यहाँका खेत र पाखोमा आलु उत्पादन राम्रो हुने गरेको बताइएको छ । किसानले प्रतिबोरा रु तीन सय ५० देखि रु पाँच सयसम्म तिरेर पोखरा वा चितवनका चिस्यान केन्द्रमा आलुको बीउ लगेर राख्नुपर्ने बाध्यता रहिआएको छ । यस वर्षदेखि प्रयोगमा ल्याउने गरी नगरपालिकाले चिस्यान केन्द्र निर्माण गरिरहेको छ । उहाँले भन्नुभयो, “चिस्यान केन्द्र बनेपछि किसानले महँगो शुल्क तिरेर ढुवानी र भण्डारमा राख्नुपर्ने समस्याको अन्त्य हुनेछ ।” नगरपालिकाले व्यास क्षेत्रका किसानले उत्पादन गरेका कृषिजन्य वस्तु भण्डारण गर्दा सुलभ र सस्तो दरमा राख्ने योजना बनाएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले आव २०७९/०८० मा सञ्चालन गर्नुपर्ने क्रमागत योजनाअनुरुप नगरपालिका–११ स्थित रानीगाउँ नजिक चिस्यान केन्द्र निर्माण गरिरहेको छ । चिस्यान केन्द्रका लागि रु सात लाख ३३ हजार सात सय २८ बजेट विनियोजन भएको छ । चिस्यान केन्द्रको निर्माण अन्तिम चरणमा पुगेको छ ।
म्याग्दी । कुनै समय ग्राहकको चापले खाना खाने समय नपाउने बेनी नगरपलिका–७ शान्तिटोलका व्यापारी भद्रबहादुर केसी अहिले फुर्सदिला हुनुहुन्छ । विसं २०५० मा पर्वतको धाइरीङबाट बसाइँसराइ गरेर आउनुभएका केसी पछिल्लो समय बेनीमा खुद्रा ब्यापार खस्किदै गएको अनुभव सुनाउनुहुन्छ । “बेनीमा केही सरकारी अड्डा र थोरै मात्र घर थिए । अहिले घरैघरले भरिएको ठाउँ उ बेला बारी, झाडी र चरन क्षेत्र थियो”, उहाँले विगत सम्झनुभयो, “बिहानैदेखि पसलमा ग्राहकको लस्कर लाग्दथ्यो । उनीहरुलाई सामान दिँदादिँदै बिहानको खाना खाने फुर्सदै पाइँदैनथ्यो । अहिले बजार बढ्यो तर ब्यापार खस्कियो ।” पन्ध्र वर्षअघिसम्म म्याग्दी, मुस्ताङ र पर्वतको उत्तरी मल्लाज क्षेत्रको व्यापारिक केन्द्र थियो बेनी बजार । मुस्ताङ जाने आउने तीर्थयात्री र पर्यटकमात्र नभएर सरकारी सेवादेखि रेमिट्यान्सका लागि आएका गाउँका मानिसले बेनी बजारका भट्टीदेखि होटल भरिभराउ हुन्थ्ये । अन्य जिल्लामा जाने आउनेको ‘ट्रान्जिट’ बेनी थियो । खुद्रादेखि थोक व्यापारीलाई भ्याइनभ्याइ हुन्थ्यो । अहिले थोक बिक्रेता (डिलर) बाहेकका साना व्यापारी बेनीमा प्रतिस्पर्धा गर्न र टिक्न गाह्रो भएको गुनासो गर्छन् । बेनीका पुराना व्यापारी धर्मनारायण श्रेष्ठले यातायात सुविधाको विस्तारसँगै व्यापारको शैली फेरिएको बताउनुभयो । “नौडाँडा, बुटवलबाट भरिया, घोडा र खच्चरमा सामान बोकाएर ल्याइन्थ्यो । ग्राहक सामान खोज्दै बजारका पसलमा आउँथे”, उहाँले भन्नुभयो, “अहिले उत्पादकबाट सिधै डिलरकहाँ सामान आउँछ । डिलरले गाडीमा ग्राहकको घरदैलोमै पुर्याउँछन् । किनमेलका लागि बजार आउनेको चहलपहल घटेको छ ।” करिब दुई किलोमिटर दूरीमा म्याग्दी र कालीगण्डकीको दोभानमा रहेको बेनीबजार बेनी नगरपालिकाको वडा नम्बर ७ र ८ मा पर्छ । यहाँ एक हजारभन्दा बढी घर छन् । मङ्गलाघाट पश्चिमी क्षेत्र, हुलाकचोक र न्युरोड बजार आसपास तथा कालीपुल उत्तरीक्षेत्र र मुस्ताङको व्यापारिक केन्द्र थियो । विसं २०६४ मा कालीगण्डकीमा मोटरेबल पुल नबन्दासम्म अधिकांश डिलरका गोदाम पर्वतको जलजला गाउँपालिकाको वडा नम्बर ३ वारीबेनीमा थिए । वारीबेनीमा अहिले थोरै मात्र डिलरका गोदाम छन् । खच्चर र किनमेलका लागि आउने मानिसको भीड हुने वारीबेनी अहिले सुनसान भएको व्यापारी डिलबहादुर बरुवाल बताउनुहुन्छ । कास्की, पर्वत, बागलुङबाट व्यापारका लागि म्याग्दीमा आएका धरैले बेनी छोडिसकेका छन् । त्यसबेलाका ठूला व्यवसायी पोखरा, चितवन, काठमाडौँमा सरेका हुन् । मङ्गलाघाटका घरका सटर खाली हुन थालेको धेरै भयो । डेरामा बस्ने क्याम्पस पढ्ने विद्यार्थी र कर्मचारी धेरै छन् । कालीपुल र वारीबेनीको व्यापारिक अवस्था पनि मङ्गलाघाटको भन्दा फरक छैन । घरले भरिएर बजारभित्र करिब खाली ठाउँ भेटिँदैनन् । क्याम्सचोक, अस्पताल चोक र महारानीथान, कुरिलाखर्कको पाखोमा बजार विस्तार भएको छ । शान्ति प्रक्रियापछि सडक र यातायात विस्तारले तीव्रता पायो । म्याग्दीका ४५ मध्ये धौलागिरि गाउँपालिकाको वडा नम्बर १ मा पर्ने गुर्जाबाहेकका वडा र बस्तीमा सडक यातायात पुगेको छ । यातायातका साधनमार्फत ग्राहक र गाउँका व्यापारीको घरदैलोमा सामान पुग्न थालेको खाद्यान्न व्यापारीसमेत रहनुभएका म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । अर्कोतर्फ विसं २०६८ सम्म मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकमा देशका विभिन्न ठाउँबाट सिधा यातायात सम्पर्क थिएन । मुस्ताङ जाने र आउने यात्रुु, तीर्थयात्री र पर्यटक बेनीमा झर्ने गर्दथे । सडक विस्तार र स्तरोन्नतिसँगै मुस्ताङ मात्र नभएर म्याग्दीका गाउँ गाउँबाट सिधै पोखरा–काठमाडौँका लागि गाडी छुट्न थालेका छन् । सङ्घीयताको कार्यान्वयनपछि सरकारी, बैंक र वित्तीय संस्थाको सेवा विकेन्द्रित भयो । सदरमुकामका कार्यालयमा सेवा लिन आउने ग्रामीण क्षेत्रका सर्वसाधारण बिहान आएर काम सकेर साँझै घरमै पुग्ने गरेका छन् । निजी विद्यालय, क्याम्पस र दश जोड दुई तह अध्ययन गर्ने विद्यार्थीको चाप भने बेनीमा घटेको छैन् । दरबन्दी र पूर्वाधार अभावमा ५० शय्यामा स्तरोन्नति भएको बेनी अस्पतालले प्रभावकारी सेवा दिन नसक्दा उपचारका लागि पोखरा, काठमाडौँ जाने बेनीमा अडिन सकेका छैनन् । मानिसको चहलपहल घट्नु, प्रतिस्पर्धा बढ्नु र कोरोना महामारीका कारण यसअघिका दुई वर्षमा भएको बन्दाबन्दी, निषेधाज्ञाले साना पुँजीका खुद्रा व्यापारीलाई समस्या परेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष कटुवालले बताउनुभयो । खुद्रा पसल, फेन्सी, भाडा, तरकारी तथा फलफूल पसल सञ्चालक छिटोछिटो परिवर्तनका साथै बजारका सटर खाली हुन थालेका छन् । बेनीको आर्थिक गतिविधिलाई चलायमान बनाउन व्यापारको विकल्प खोजी गर्नुपर्ने व्यवसायी जीवनबहादुर विश्वकर्माको भनाई छ । “बेनीमा विगतको जस्तो व्यापार छैन”, उहाँले भन्नुभयो “आर्थिक गतिविधिलाई चलायमान बनाउने योजना बनाएर कार्यान्वयन गर्न नसके बेनीका ब्यापारी पलायन हुनेछन् ।” तातोपानी कुण्ड, गलेश्वर, लभ्लीहिल, पछै, जगन्नाथ, टोड्के, रुइसे, मल्लाजमा पर्यटकीय पूर्वाधार बनाएर पर्यटक भित्र्याउन र बसाई लम्ब्याउन सकेमा मात्र बेनीको व्यापारलाई पुरानै लयमा फर्काउन सकिने नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष प्रमोद श्रेष्ठले बताउनुभयो । “तत्काललाई प्राकृतिक उपचारस्थलको रुपमा परिचित तातोपानी, पश्चिमको पशुपतिनाथ भनेर चिनिने गलेश्वर, ऐतिहासिक बेनी कोत, महारानी थान, बरको रुखमुनि रहेको अनौठो बेनी शिवालय मन्दिरको प्रवद्र्धन गर्नुपर्छ”, उहाँले भन्नुभयो, “बेनीलाई केन्द्र बनाएर साहासिक पर्यटकीय पूर्वाधारको अध्ययन भइरहेको छ ।” बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बेनीलाई व्यापारिकबाट पर्यटकीय केन्द्रमा रुपान्तरण गर्न अल्पकालीन र दीर्घकालीन योजना कार्यान्वयन थालिएको बताउनुभयो । बेनीको शिरमा रहेको पछैमा रावण पार्क बनाउन सुरु गरिएको र तातोपानीमा प्राकृतिक उपचार केन्द्र सञ्चालनको तयारी भएको उहाँले बताउनुभयो । बेनीमा रहेको बाइसेचौबिसे राज्यको पालामा निर्मित ऐतिहासिक बेनीकोत घरको हालै पुनःनिर्माण र जीर्णोद्धार भएको छ । तातोपानी कुण्डमा बिरामीबाहेकका पाहुनालाई पनि चौबिसै घण्टा स्नान गर्ने व्यवस्था मिलाइएको छ । चिनको सिमानामा रहेको मुस्ताङस्थित कोराला नाका सञ्चालन भएमा म्याग्दीको व्यापारमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ । कालीगण्डकी कोरिडोरअन्तर्गत कोरला नाका जोड्ने सडक स्तरोन्नतिको काम भइरहेको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ-१ बाटै निर्वाचन लड्ने घोषणा गर्नुभएको छ । गृहजिल्ला तनहुँको दमौली आइपुग्नुभएका पौडेलले मङ्सिर ४ गते हुने निर्वाचनमा तनहुँबाटै प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने घोषणा गर्नुभएको हो । नेपाली कांग्रेसमा तनहुँबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, जिल्ला सभापति, पार्टीका अन्य नेतासँग यसबारेमा आफूले कुरा गरिसकेको बताउँदै वरिष्ठ नेता पौडेलले भन्नुभयो, “यसबारेमा सबै नेतासँग समझदारी भइसकेको छ, त्यसलाई केही समयपछि औपचारिक रूप दिन्छौँ ।” नेकपा (एकीकृत समाजवादी) पार्टीले तनहुँ–१ दावी गरेको विषयलाई कसरी लिनुभएको छ भन्ने प्रश्नमा वरिष्ठ नेता पौडेलले आफू स्वयं यहाँबाट चुनाव लड्ने भएपछि उहाँहरुको दावी नलाग्ने प्रष्ट पार्नुभयो । “वर्तमान गठबन्धनको सूत्रधार नै म हो । म आफैँ लड्ने भएपछि उहाँहरुको दावी लाग्दैन”, पौडेलले भन्नुभयो, “उक्त पार्टीका उम्मेदवारले नै वरिष्ठ नेता पौडेल चुनाव लड्छु भनिसक्नुभएकाले मेरो केही लाग्दैन, मलाई अर्को व्यवस्था गरिदिनुस् भनेर माधव नेपाल र मसँग भनिसक्नुभएको छ ।” पौडेलले फरक प्रसङ्गमा पृथ्वीराजमार्ग विस्तारका क्रममा व्यास-१२ घाँसीकुवामा रहेको घाँसीकुवा पार्क र कुवालाई संरक्षण गर्नका लागि पहल गरेको बताउनुभयो । राजमार्ग विस्तारका क्रममा घाँसीकुवा पार्क र कुवा मासिने भएपछि स्थानीयवासीले यसको संरक्षणका लागि पहल गरिदिन आफूलाई आग्रह गरेको भन्दै उहाँले सम्बन्धित निकायमा यस विषयमा कुरा भइसकेको बताउनुभयो । “पार्कलाई थप विस्तार गरेर घाँसीको ठूलो मूर्ति बनाउनुपर्छ, पार्क र कुवालाई सुरक्षित राखेर कुनापट्टि भित्ता फोरेर राजमार्ग विस्तार गर्नुपर्छ भनेर भनेको छु”, उहाँले भन्नुभयो ।

