आचारसंहिता उल्लंघन  गरेको अभियोगमा निर्वाचन आयोगले स्पष्टीकरण सोधेकामध्ये २४ उम्मेदवारले जवाफ बुझाएका छन्।   आयोगले ३४ जनालाई स्पष्टिकरण सोधेको थियो। त्यसमध्ये अझै १० उम्मेदवारले जवाफ दिएका छैन...

  काठमाडौं ।   देशभर पछिल्लो २४ घण्टामा थप छ सय २३ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा चार हजार नौ सय ४५ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार छ सय २१ जनाले पिसिआर र तीन हजार तीन सय २४ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।    गत २४ घण्टामा १० हजार नौ सय ९० जनाले कोभिड विरुद्धको खोप लगाएका छन् । यही अवधिमा चार सय ८७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ७७ हजार आठ सय ४५ पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव तीन प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।   हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार २४ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय ९० पुगेको छ । होम आइसोलेशनमा चार हजार आठ सय ३४, संस्थागत आइसोलेसन एक सय ९०, आइसियूमा ४९ र भेन्टिलेटरमा छ जना सङ्क्रमित रहेका छन् ।    हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् । शून्य सङ्क्रमित रहेका जिल्लाहरुमा मनाङ, मुस्ताङ, कालिकोट, हुम्ला, डोल्पा, जुम्ला र मुग रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा दुई हजार चार सय ४३, ललितपुर आठ सय एक र भक्तपुरमा ८० सक्रिय सङक्रमित रहेका छन् । कुलमा सङ्क्रमणदर १७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।  

  धनुषा । जनकपुरधाम भारतीय बजार जयनगरबाट लागुऔषध लिएर आउँदै गर्दा बिहीबार साँझ प्रहरीले धनुषाको नगराइन नगरपालिका–३ का २० वर्षीय पङ्कज साहलाई जनकपुरधाम उपमहानगरपालिका–७ स्थित जिरोमाइलबाट पक्राउ गर्यो ।    धनुषा जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले जाँच गर्ने क्रममा लागुऔषध राइजोसे डीएसआर क्याप्सुल दुई सय ९२ पता, प्यानटोज डीएसआर क्याप्सुल ५९ पता, लिभ सेट ४७ पत्ता र सेटरिजिनरे हाइड्रोक्लोराइड ११ पतासहित साहलाई पक्राउ गरेको हो । यसको अघिल्लो दिन प्रहरीको टोलीले १० किलो दुई सय ५० ग्राम  गाँजासहित नगराइन नगरपालिका–२ जटहीका ४५ वर्षीया डोमा सदालाई पक्राउ ग¥यो ।            भारततर्फ पठाउन प्लाष्टिकको झालोमा प्याकिङ गरिएको अवस्थामा गाँजासहित सदालाई पक्राउ गरेकै दिन प्रहरीले  जनकपुरधाम उपमहानगरपालिका–१० बाट २६ वर्षीय रविकुमार रायमाझीलाई पनि सोही अभियोगमा पक्राउ गर्यो । शङ्का लागेर जाँच गर्दा प्रतिबन्धित लागुऔषध नाइट्रोभेट ३० ट्याब्लेटसहित रायमाझीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यसअघि गत साउन १४ गते प्रहरीले  नाइट्रोभेट ट्याबलेट पाँच सय २५ पिससहित जनकपुर उपमहानगरपालिका–५ देवानपोखरीबाट धनुषाको मिथिला नगरपालिका–६ तारापट्टी २७ निवासी प्रवीण यादवलाई पक्राउ गरेको थियो भने साउन १२ गते एकै दिन लागुऔषधसहित तीन जनालाई प्रहरीले धनुषाको जनकपुर उपमहानगरपालिका–१९ बेंगाशिवपुर निवासी २० वर्षीय लक्ष्मेश्वर यादव, जनकपुरधाम उपमहानगरपालिका–१ निवासी १९ वर्षीय इब्रान नदाफ र धनुषाको विदेह नगरपालिका–३ निवासी १९ वर्षीय अतुल झालाई पक्राउ गरेको थियो ।           यसरी प्रहरीले धनुषामा कडाइ गरेपछि दिनहुँ लागुऔषध सेवनकर्ता र कारोबारी धमाधम पक्राउ पर्दै आएका छन् ।  जिल्लामा ब्राउन सुगरको कारोबार गर्दै गर्दाको अवस्थामा त्यससँग संलग्न व्यक्तिसमेत पक्राउ पर्न थालेका छन् ।    साथै सीमावर्ती भारतीय बजारबाट लुकीछिपी ल्याइने विभिन्न किसिमका ब्राउन सुगर र नेपालबाट भारततर्फ पैठारी हुने गाँजाको ओसारपोसारमा संलग्नलाई प्रहरीले लगभग दिनहुँ पक्राउ गरिरहेको छ ।     आर्थिक वर्ष २०७८÷०७९ मा जिल्ला प्रहरीले करिब चार हजार थान विभिन्न प्रकारका लागुऔषध तथा तीन सय केजी गाँजासहित एक सय तीनजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका  प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।     उहाँका अनुसार सो अवधिमा लागुऔषधसहित सात स्वदेशी महिला, ९२  स्वदेशी र चार विदेशी पुरुषलाई पक्राउ गरिएको थियो । सो अवधिमा जिल्ला प्रहरीले लागुऔषध कारोबारका ७७ थान मुद्दामा अदालतको आदेशबाट ४७ जना पुर्पक्षका लागि कारागार गएका र ५३ जना धरौटीमा छुटेका थिए ।      यसअघि आर्थिक वर्ष २०७७÷०७८ मा करिब छ हजार थान विभिन्न प्रकारका लागुऔषध तथा ४० किलो गाँजासहित एक सय जनालाई पक्राउ गरिएको थियो ।  खुला सीमानाकाको फाइदा उठाउँदै नेपाल–भारत सीमा जोड्ने जयनगर, जटहीलगायत नाका हुँदै  लागुऔषध राजधानी काठमाडौँसम्म पुग्ने गरेका थिए ।     सीमावर्ती भारतीय बजारमा पुगेर लागुऔषध सेवन र खरिद गरी नेपाल ल्याउने युवा जमात बढ्दो छ । प्रहरीले सीमानाकामा ओहोरदोहोर गर्ने युवा जमातलाई लक्ष्य गरेर जाँचलाई कडाइ गरेसँगै अधिकांश युवाको साथबाट केही न केही मात्रामा लागुऔषधका सामग्री बरामद हुने गरेको बताइन्छ ।      लागुऔषध सेवन र कारोबारीको आरोपमा पक्राउ पर्नेमा अधिकांश २० देखि ३० वर्ष उमेर समूहका युवा छन् । पक्राउ पर्ने प्रयोगकर्ता अभिभावकको निगरानीमा नभएका युवा रहेको जनकपुरधाम उपमहानगरपालिका–४ का रमेश साहले बताउनुभयो ।     पढाइ छोडेर बसेका, काम नपाएर फुर्सदमा बसेका युवा साथीसङ्गतको वहकाउमा परेर दुव्र्यसनीमा फस्ने गरेको उहाँको भनाइ थियो । “यसअघि प्रायजसो मधेसी समुदायमा लागुऔषधको दुव्र्यसनी देखिँदैन थियो”, रमेशले भन्नुभयो “तर पछिल्लो समय युवा जमातमा ह्वात्तै त्यसको लत देखिथालेको छ ।” यो सबैको लागि चिन्ताको विषय बनेको उहाँको भनाइ थियो ।      “छोरालाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाउँदा पनि अभिभावकले आफ्ना छोराहरु लागुऔषध दुव्र्यसनमा लागेको पत्याउँदैन”, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बसन्त रजौरेले भन्नुभयो, “लागुऔषधको दुव्र्यसनबाट बच्न अभिभावक, विद्यालय, शिक्षक र घर परिवार आफैँ सचेत हुनुपर्छ ।”     गाँजाको खेती नेपाली भूमिमा नै गरिने हुँदा लागुऔषधको नियन्त्रणको साथसाथै गाँजाको खेती नष्ट गर्ने अभियान समेत प्रहरीले थालेको छ । भारतबाट भित्रिने लागुऔषध र धनुषामा हुने गाँजा खेतीलाई निरुत्साहित गर्न विशेष अभियान नै चलाउँदै आएको प्रहरी उपरीक्षक रजौरेको भनाइ थियो । 

  पोखरा । नेपाल चार्टर्ड एकाउन्टेन्स संघ९एक्यान०कास्कीको आयोजनामा पोखरामा सुरु भएको एक्यान फुट्सल टुर्नामेन्टको उद्घाटन भएको छ । पोखरामा ३ र ४ गतेसम्म चल्ने फुट्सल टुर्नामेन्टको गण्डकी प्रदेशका कानुन,संचार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दु कुमार थापाले उद्घाटन गरेका हुन् ।   मन्त्री थापाले गोलपोस्टमा गोल हानेर खेलको उद्घाटन गरेका थिए । खेलको उद्घाटन गर्दै मन्त्री थापाले एक्यानले आयोजना गरेको फुट्सलको माध्यमबाट एक अर्कासँग जोडिने वातावरण मिलेको भन्दै खुसी व्यक्त गरे । खेलले भाइचारा, मेलमिलाप बढाएको उनको भनाई थियो । ‘प्राविधिक क्षेत्रमा अब्बल तपाईंहरु खेलमा सक्रिय भएको देखेर निकै खुसी लागेको छ । अहिलेको युवा पिढीहरु गलत प्रवृद्धीतर्फ अघि बढी रहँदा नैतिकवान स्वस्थ्य र अब्ब्ल समाज बनाउन खेलमा लाग्नु निकै महत्वपूर्ण छ,’ उनले भने ।   मन्त्री थापाले नीति तथा योजना साथै बजेट बनाउँदा चार्टर्ड एकाउन्टेन्सहरुसँग पनि जोडिने प्रतिबद्धता व्यक्त गरे । चार्डर्ड एकाउन्टेन्स गण्डकीका अध्यक्ष सागर लामिछानेले कार्यक्रमको उद्घाटन सत्रमा स्वागत मन्तव्य राख्दै २०३४ सालमा स्थापना भई ४५ साल लामो गरिमामय इतिहास बोकेको बताए । हाल ११ जिल्ला र ८ प्रदेशमा कमिटी गठन भएको उनले सुनाए । केन्द्रमा हाल १९ जनाको कमिटी रहेको उनले बताए । सिएहरु पेशागत व्यस्ततामा साथै स्वास्थ्यमा पनि सबल बनेर स्वस्थ्य समाज निर्माणमा भुमिका खेल्ने उनको भनाई थियो । एक्यान उपाध्यक्ष सुसिल घिमिरेले आगामी दिनमा पनि यस्ता कार्यक्रम भई रहने बताए । यसले भातृत्व कायम राख्न सघाउने उनले बताए ।   एक्यानका निर्वतमान अध्यक्ष आनन्दराज शर्मा वाग्लेले फुट्सलले भाइचारा बढाउन समेत सहयोग मिल्ने बताए । यस्ता कार्यक्रमले संघीयता बलियो बनाउन पनि सहयोग मिलने उनको भनाई छ । फुट्सल भदौ ३ र ४ गते दुई दिनसम्म चल्ने छ । एक्यान कास्कीका अध्यक्ष तथा फुट्सल टुर्नामेन्टका संयोजक विवेक श्रेष्ठले खेलबारे जानकारी दिएका थिए । खेलमा ९ टिमको सहभागीता रहेको छ । देशभरका ३ सय बढी चार्टर्ड एकाउन्टेन्स फुट्सल टुर्नामेन्टमा सहभागी छन् ।

  काठमाडौं । मानवीय सेवाका विविध गतिविधिमा जुटिरहने रेडक्रसका स्वयंसेवकले काठमाडौँ महानगरपालिकाको फोहर व्यवस्थापनमा पनि हातेमालो गर्न  थालेका छन् ।       यसक्रममा उनीहरुले आज बिहानदेखि कामपाका मुख्य सडक तथा चोकमा छरपष्ट भएका फोहरलाई प्लास्टिकको थैलोमा राख्ने र कामपाकै गाडीमा राखेर पठाउने कामको अभियान सुरुआत गरेका हुन् ।       सो अभियानमा नेरेसो काठमाडौँ जिल्ला शाखामा आबद्ध ५० स्वयंसेवक खटिएका छन् । उनीहरुले दैनिक बिहान दुई घण्टा फोहर व्यवस्थापन गर्ने जनाइएको छ । शाखाका नवनिर्वाचित सभापति श्यामकाजी डोटेलले सफाइ कार्यक्रम १० दिनसम्म जारी रहने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ सफाइ कार्यक्रमको पहिलो दिन आज विहान बागवजार,कमलादी र पुतलीसडक क्षेत्रमा फोहर व्यवस्था गर्ने काम भयो  । यस अभियानले स्वच्छ काठमाडौँ बनाउन सहयोग मिल्छ । सडकका मुख्य चोक तथा गल्लीमा थुप्रिएका फोहर समयमै व्यवस्थापन गर्न जरुरी हुन्छ । ”  

  पोखरा । पोखरा महानगरपालिका वडा नं –१५ ले वडास्तरीय बृहत् सरसफाइ कार्यक्रमको आयोजना गरेको छ ।   शुक्रवार बिहान साढे सात बजेदेखि पोखरा –१५ स्थित फूलबारी होटेलको १ नम्बर र २ नम्बर गेटबाट संयुक्त रूपमा सरसफाइ कार्यक्रमको आयोजना गरिएको हो ।   सरसफाइ कार्यक्रममा बोल्दै वडाध्यक्ष तोरण बहादुर बानियाँले ’हाम्रो वडा राम्रो वडा’ बनाउने अभियान अन्तर्गत हिजो घोषणापत्रमा प्रतिबद्धता गरिएअनुरूप वडामा सरसफाइ कार्यक्रमको सुरुवात गरिएको बताए। उनले यस अभियानलाई मासिक रूपमा निरन्तरता दिइने र चाडबाड लागेसँगै अब वडाको सरसफाइमा जुट्नु पर्छ भनेर आजदेखि पहिलो चरणको सरसफाइ कार्यक्रमको आयोजना गरिएको बताए। उनले पोखरा –१५ लाई स्वच्छ वडा बनाउन सरसफाइ कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिए ।   यस्तै, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर केसीले आजको सफाइ कार्यक्रममा नकुहिने र नष्ट नहुने प्लास्टिकजन्य फोहोर सङ्कलनमा जोड दिइएको बताए। उनले यस्ता प्रकृतिका फोहोरलाई जथाभाबी नफाली बोरामा जम्मा गरेर फोहोरको गाडीमा मात्र फाल्न नगरवासीमा आग्रह गरे। साथै, केसीले नदीपुर क्षेत्रबाट सेती नहरमा प्लास्टिक जन्य फोहोर बगाउने गरेका कारण पोखरा –१४ ,१५ का वडाहरूका अत्यन्तै दूषित हुँदै आएकाले यस्ता कार्य नगर्न सबैलाई आग्रह गरे ।   आजको सरसफाइ कार्यक्रममा वडाका जनप्रतिनिधि, पूर्व न्यायिक समिति सदस्य पार्वती थापा, टोल बासी आमा समूह, स्थानीय समाजसेवी, वृद्ध लगायत गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर केसीको कमान्डमा ३४९ जवानहरूको सहभागिता रहेको थियो। भने, सहभागीबाट ४ ट्रक फोहोर सङ्कलन भएको थियो ।

  पोखरा ।  पोखरामा १८३ औं विश्व फोटोग्राफी दिवस मनाइएको छ ।   फोेटोग्राफर संघ  गण्डकी र पोखरा फोटोग्राफर संघको सँयुक्त आयोजनामा आज प्रभातफेरी सहित विश्व फोटोग्राफी दिवस मनाएको हो ।    सोही अवसरमा फोटोग्राफर संघ गण्डकीको सम्पर्क कार्यालयको उद्घाटन समेत गरिएको छ ।    १८३ औँ विश्व फोटोग्राफी दिवसको अवसरमा फोटोग्राफर संघको कार्यालय पोखराका टुडाबाट शुरु भएको प्रभातफेरी र्याली मानवअधिकार चोक, चिप्लेढुङ्गा, महेन्द्रपुल हुदैँ दी गार्डेन रेष्टुरेन्टमा पुगेर कोणसभामा परिणत भएको थियो । फोटोग्राफर गण्डकीको कार्यालय पोखरा क्षेत्रका पुुराना फोटो तथा भिडियो संकलन सुनिल उलकले कार्यालयको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा पोखराका फोटोग्राफर तथा फोटो पत्रकार र फोटोमा अभिरुचीकर्ताहरुको सहभागिता रहेको थियो ।    दिवसको अवसरमा राष्ट्रिय मिराज विवाह फोटोग्राफी प्रतियोगिता तथा नेचर र लेण्डस्केप विधामा अनलाईन फोटो प्रतियोगिताको घोषणा समेत गरिएको छ ।

’ हरितालीका तीज पर्व नजिकिँदै गर्दा कलाकारहरुले पनि तीज केन्द्रित गीतहरु धमाधम बजारमा ल्याएका छन् ।       यसै क्रममा चर्चित लोक तथा दोहोरी गायक नवीन पौडेलले पनि ‘हरहर बासना अगरबत्तीको’ नामक तीज गीत बजारमा ल्याउनुभएको छ । पौडेलकै स्वर र शब्द रहेको गीतमा गायिका आशा बिसीले साथ दिनुभएको छ । रवि कार्कीले लय सङ्कलन गर्नुभएको यस गीतको म्युजिक भिडियोको निर्देशन विष्णु भट्टराईले गर्नुभएको छ भने म्युजिक एरेन्ज कृष्ण केसीको रहेको छ ।      ‘हरहर बासना अगरबत्तीको, कसले माया गर्छ तिम्लाइ मैले जत्तिको’ गीतमा पौडेललाई छोरी स्वीकृति पौडेलले पनि अभिनयमा साथ दिएकी छिन् । नवीन पौडेलका यसअघि ‘बोल्नुपर्छ ओई’, ‘लेउ खुकुरी लेउ, पर्यो देशलाई चोट’, ‘कस्तो आयो जमाना’ लगायतका गीतहरु बजारमा आइसकेको छ । 

  काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले श्रीकृष्ण भगवानले  संसारमा बढ्दै गइरहेको हिंसाको निराकरण गरी शान्ति र सद्भाव कायम गर्ने आशिर्वाद प्रदान गरुन् भन्नुभएको छ ।       ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र ज्ञान विज्ञान भवन सातदोबाटोद्वारा आज श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा आयोजित ‘चैतन्य झाँकी एवं प्रवचन’ कार्यक्रममा उहाँले विश्वमा कृष्ण भगवान्प्रति श्रद्धा बढेमा कुनै पनि नागरिकमा हिंसाको सोच नआउने भनाइ राख्नुभयो । हरेक मानिसले आफ्नो चित्त शान्ति गरी ईश्वरीय शक्तिमा समर्पित हुँदा सकारात्मक ऊर्जा प्राप्त हुनाका साथै मन स्थिर हुने र बानी व्यवहारमा परिवर्तन हुने उहाँले दाबी गर्नुभयो ।      विश्वशान्तिका लागि सेवाकेन्द्रका दिदीबहिनीले योगदान गरिरहनुभएकामा गृहमन्त्री खाणले प्रशंसा गर्नुभयो ।       उक्त अवसरमा मन्त्री खाणसहित ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले उक्त कार्यक्रममा राधाकृष्णको रुप धारण गरी बसेका बालबालिकालाई दही खुवाउनुभएको थियो । कार्यक्रममा कृष्ण सुदामाको गीति नाटक प्रदर्शन गरिएको थियो । सेवाकेन्द्रका मुख्य सञ्चालिका ब्रह्माकुमारी कुमारीले गृहमन्त्री खाणलाई सम्मान प्रदान गर्नुभएको थियो । 

  काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार पाँच सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९५ हजार नौ सयमा कारोबार भएको पहेँलो धातुको मूल्य  प्रतितोला रु चार सयले घटेको हो ।        नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९५ हजार चार सय थियो ।       त्यस्तै  चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार एक सय ८५ तोकिएकोे छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।