बागलुङ : शरदयामको छेकोमा यहाँको माहोल जात्रामय बनेको छ । झरी थामिएर घमाएका दिनले चाडबाड आउन लागेको सङ्केत गरिरहेका छन् । ठूला पर्व सुरु हुनुअघि यहाँ सांस्कृतिक जात्रा र नाचको छुट्टै रौनक चल्छ । जनैपूर्णिमादेखि कृष्णाष्टमीसम्म भदौरे जात्रा निकाल्ने प्रचलन छ । जसलाई बर्खे नाचले पनि चिनिन्छ । भदौरै जात्राअन्तर्गत लाखे, बास्सा, रोपाइँ, होवा, जोगी, कटुवाल, घोडालगायतका नाच तथा झाँकी प्रदर्शन गरिन्छ । रैथाने नेवार समुदायले आफ्नो पुस्तैनी संस्कृतिका रूपमा जात्राको परम्परालाई धान्दै आएको छ । नेवार युवाहरूको संस्था ‘नेवाः ल्याम पुच’ का अध्यक्ष जय राजभण्डारीले शुक्रबार ९आज० घोडा नाच देखाएपछि यो वर्षको भदौरे जात्रा सकिने बताउनुभयो । सोही संस्थाको अगुवाइमा मङ्गलबार रोपाइँ नाच र बुधबार शाक्य कल्याण समाजले जोगी नाच निकालेको थियो । त्यसअघि समाजले लाखे नाच र ल्याम पुचले होवा र कटुवाल नाच देखाएको थियो । “शाक्य कल्याण समाजबाट लाखे र जोगी नाच निकल्छन्, अरु नाच नेवाः ल्याम पुचले देखाउँछ”, अध्यक्ष राजभण्डारीले भन्नुभयो । ऐतिहासिक नाच तथा जात्राको संरक्षणमा नेपाल भाषा मंकाः खलः, नेवाः ल्याम पुच र शाक्य कल्याण समाज सक्रिय छ । झण्डै तीन सय वर्षअघि भक्तपुर, धुलिखेल र भादगाउँबाट यहाँ भित्रिएका नेवार जातिले भदौरे जात्राको प्रचलन बसालेको संस्कृतिकर्मी प्रेम छोटाले बताउनुभयो । “भाइचारा, मेलमिलाप, सामाजिक सन्देश र मनोरञ्जनको माध्यमका रूपमा जात्रालाई लिइन्छ”, उहाँले भन्नुभयो, “जात्राभित्र विभिन्न परम्परा झल्कने गीत, नाच प्रदर्शन हुने गरेको छ, गाईजात्रा पर्वको दिनदेखि नै बर्खे नाच निकाल्न सुरु हुन्छ ।” गाईजात्रामा वर्ष दिनभित्र दिवङ्गगत भएका आफन्तको सम्झनामा तायामचाः र बास्सा नाच निकालिएको थियो । त्यसयता लाखे, होवा, कटुवाल, रोपाइँ, जोगी नाच प्रदर्शन भइसकेको छ । कृष्णाष्टमीका दिन घोडा नाच निकाल्ने तयारी छ । उक्त नाचमा मानिसलाई घोडाको आकृति दिएर टिन र झ्यालीको तालमा जिस्काउँदै बजार परिक्रमा गराउने चलन छ । कटुवाल नाचमा पनि युवा विभिन्न रूपका मुखुन्डो धारण गरेर मृदङ्गको तालमा नाच्ने र कटुवालको भूमिका निभाउनेले रोपाइँको सन्देश दिने चलन छ । हली, बाउसे, खेताल्नीलाई भोलिपल्ट हुने रोपाइँको सन्देश दिन कटुवाल नाच निकाल्ने गरिन्छ । कटुवाल नाचपछि हुने रोपाइँ नाच पनि यहाँको पुरानो जात्रामध्येमा पर्छ । रोपाइँ नाचमा नेवार समुदायका युवा, वयस्क महिलाका भेष धारणा गरेर नाचमा सहभागी हुन्छन् । हातमा धानको बीउ समातेर असारे भाकामा गीत गाउँदै बजार परिक्रमा गर्छन् । असारे नाचमा पनि आफ्ना भावना, विचारलाई गीतको माध्यमबाट स्वतन्त्र ढङ्गले प्रस्तुत गर्ने गरिन्छ । जोगी नाच भदौरे जात्राको अर्को आकर्षण हो । नेवारभित्र पनि शाक्य समुदायले यसको संरक्षण गर्दै आएको छ । जोगीको भेषमा सजिएर बाजाको विभिन्न तालमा लस्कर लागेर नाच्ने प्रचलन रहेको शाक्य कल्याण समाज सचिव मञ्जुल शाक्यले बताउनुभयो । उहाँले बागलुङको जोगी नाच पनि तीन सय वर्ष पुरानो भएको उल्लेख गर्नुभयो । जोगी नाचले सामाजिक एकता, भाइचारा बढ्ने, आसुरी प्रवृत्तिको नाश हुने र सहकाल आउने विश्वास गरिन्छ । जोगी नाचमा धेरै कलाकार चाहिने र खर्चिलो हुने हुँदा संरक्षणमा जटिलता थपिँदै गएको समाजका सचिव शाक्यले बताउनुभयो । जात्राले गीत, नृत्य र अभिनयबाट व्यङ्ग, पौराणिक कथा, जनजीवनका भोगाइ र स्वस्थ मनोरञ्जनलाई समेट्ने गरेको छ । प्रायः नाच गाईजात्राकै भिन्न स्वरुपजस्ता देखिन्छन् । “जात्राले सामाजिक विकृति, विसङ्गतिप्रति व्यङ्ग मात्र गर्दैन”, संस्कृतिकर्मी छोटाले भन्नुभयो, “मौलिक र परम्परागत मूल्य, मान्यताले पनि यो सुसज्जित छ ।” सबै भदौरे नाचको कथा, पृष्ठभूमि, स्वरुप र शैली भने भिन्न–भिन्न पाइन्छ । गाईजात्राका दिन निकालिने तायामचाः र बास्सा नाच दिवङ्गत आफन्तको सम्झना र मोक्ष प्राप्तिको कामनासहित निकाल्ने गरिन्छ । बास्सा नाचमा देवी, देवताको वेषभूषा र बान्कीमा सजिएर भगवान् राम, कृष्ण, विष्णु आदिका लीला प्रदर्शन गर्ने चलन छ । नेपाल भाषा मंकाः खलःका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले पहिले–पहिले भदौरे नाच हेर्नकै लागि गाउँ–गाउँबाट बागलुङ बजार झर्ने गर्थे । “दिनभर जात्रामा रमाउने र चाडबाडलाई किनमेल गरेर साँझ घर फर्कने चलन थियो”, उहाँले भन्नुभयो, “ग्रामीण बजार, सडकको विस्तार आदिले अहिले त्यो चलन हट्यो ।” पछिल्लो समय जात्राको रौनक खुम्चँदै गए पनि संस्कृति र परम्परा जोगाउन नेवार समुदाय लागिपरेको छ । जिल्लाको हरिचौर, हटिया, बलेवालगायत नेवार जातिको बसोबास रहेका ठाउँमा पनि बर्खे नाच देखाउने गरिन्छ । संरक्षण अभावमा कतिपय नाच भने हराएर गएको नेवार अगुवा बताउँछन् । “पुस्तान्तरणको अभावमा कतिपय परम्परागत नाच सङ्कटमा छन्, अहिले आप्रवासन बढ्दो छ, युवापुस्ता बाहिर छ, यसले पनि पुरानो संस्कृति संरक्षणमा चुनौती थपेको छ”, खलःका अध्यक्ष राजभण्डारीले भन्नुभयो, “नयाँ पुस्तालाई पनि आफ्नो इतिहास, भाषा, कला र संस्कृतिबारे बुझाउनुपर्ने खाँचो छ ।”
श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति भण्डारीले एक विज्ञप्ति जारी गर्दै शुभकामना सन्देशमा कृष्ण जन्माष्टमी वा गोकुल अष्टमी नामले समेत परिचित यस पर्वका धार्मिक, सांस्कृतिक र दार्शनिक आयामहरू रहेको र धार्मिक दृष्टिमा भगवान् श्रीकृष्णलाई असल प्रवृत्तिका साधक र आसुरी प्रवृत्तिका विनाशक तथा भगवान् विष्णुका एक अवतार मानिने उल्लेख छ। ुसांस्कृतिक मान्यताअनुसार कृष्णलीलासँग सम्बन्धित विभिन्न भजन, कीर्तन, नाट्य प्रदर्शन एवं उपासनाका लागि आजको दिनले विशेष महत्व राख्दछु , राष्ट्रपति भण्डारीको शुभकामना सन्देशमा भनिएको छ, ुहिन्दूहरूको पवित्र ग्रन्थ गीतामा भगवान् श्रीकृष्णबाटै योग र दर्शनको विवेचना भई मानव जाति समक्ष उपलब्ध भएको पक्ष उत्तिकै महत्वपूर्ण छ, जसलाई आजकै दिन विशेषरूपले स्मरण गरिन्छ। त्यसैकारण विश्वभरिका हिन्दू धर्मावलम्बीहरूले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता भगवान् श्रीकृष्णको पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने प्रचलन रही आएको राष्ट्रपति भण्डारीले सन्देशमा उल्लेख गरेका छन्। सम्पूर्ण विश्वलाई कर्मयोगमा लाग्न प्रेरित गर्दै काम, क्रोध, लोभ, मोह त्याग गरी समाजमा सद्भाव कायम गर्न उत्प्रेरित गर्ने गीता ज्ञानले हामीलाई सुकर्मका लागि युगौँदेखि निरन्तर मार्गदर्शन गरिरहेको छ, सन्देशमा भनिएको छ। उनले श्रीकृष्ण जन्माष्टमी पर्वले सम्पूर्ण नेपालीहरूमा आपसी सद्भाव, करूणा र मैत्री भावना अभिवृद्धि गर्दै सभ्य र सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेकी छन्। यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीकृष्ष्ण जन्माष्टमी पर्वका अवसरमा एक सन्देश जारी गर्दै यस पर्वले सम्पूर्ण नेपालीमा आपसी सद्भाव, भाइचारा र मैत्री भावना अभिवृद्धि गर्दै सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन्। गीतामा भगवान् श्रीकृष्णबाटै योग र दर्शनको विवेचना भइ मानव जाति समक्ष उपलब्ध भएको पक्ष महत्वपूर्ण छ र यसलाई आजको दिनमा विशेष रुपले स्मरण गरिन्छ, सन्देशमा भनिएको छ। समस्त हिन्दूधर्मावलम्वीका आराध्य देव भगवान् श्रीकृष्णको शिक्षा र सन्देश समस्त मानव समुदायका लागि अत्यन्त उपयोगी र सारगर्भित रहेको उनले उल्लेख गरेका छन्। यस्तै प्रतिनिधि सभाका सभामुख अग्नि प्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले पनि पर्वको अवसरमा शुभकामना सन्देश दिएका छन्। उनीहरूले छुट्टा छुट्टै सन्देश जारी गर्दै यस पर्वले सम्पूर्ण नेपालीमा आपसी सद्भाव, भाइचारा र मैत्री भावना अभिवृद्धि गर्दै सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन्।
बर्दिया: बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित जङ्गलमा घाँस काट्न गएका सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ गेरवानीका दुई जनाको आइतबार बाघको आक्रमणबाट मृत्यु भयो । निकुञ्जसँग जोडिएको जङ्गलमा मानिसलाई आक्रमण गरेको घटना सेलाउन नपाउँदै बुधबार बिहानै सल्यानको कालीमाटी गाउँपालिका–७ बाटुलेमा बाघ प्रवेश गर्यो । बाघले स्थानीय तुल्सीकुमारी घर्तीका दुई गोरु मार्नुका साथै एकलाई घाइते बनायो । निकुञ्ज छाडेर बाघ बस्ती प्रवेश गर्न थालेपछि स्थानीय बासिन्दामा त्रास बढेको छ । प्रायः निकुञ्जको दक्षिणी भेगमा भेटिने बाघ उत्तरतर्फ उक्लिन थालेपछि मध्यवर्ती क्षेत्रका बासिन्दा त्रसित भएका छन् । भेरीगङ्गा नगरपालिका– ५ का वडाध्यक्ष पे्रमबहादुर सारुले बाघ बस्ती छिर्न थालेपछि स्थानीय बासिन्दामा त्रासमा बढेको गुनासो गर्नुभयो । “एउटा बाघलाई निकुञ्जले नियन्त्रणमा लिए पनि अरु थुप्रै बाघ छन्, यहाँ मानिसमा त्रास बढेको छ, बस्ती बाहिर निस्किन डराइहेको अवस्था छ,” उहाँले भन्नुभयो, “निकुञ्ज प्रशासनले बाघलाई बस्तीमा जान नदिन निगरानी बढाउनुपर्छ, बाघ उकालो चढिरहेकाले निकुञ्जले यसतर्फ पनि ध्यान दिनुपथ्र्यो ।” मध्यवर्ती क्षेत्रमापर्ने जङ्गलमा बाँस काट्न गएका भेरीगङ्गा गेरवानीका ४८ वर्षीय रामबहादुर चन्द र ६७ वर्षीय कवि ओलीको आइतबार बाघको आक्रमणबाट मृत्यु भएको थियो । जङ्गलमा मानिसलाई आक्रमण गरेको तीन दिनपछि बाघ गेरवानीसँगै जोडिएको सल्यानको कालीकाटी गाउँपालिकाको बाटुले गाउँ पुगेको थियो । सोही बाघलाई बुधबार निकुञ्ज कर्मचरी, सुरक्षार्थ नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी, प्रहरी र स्थानीयवासीले नियन्त्रणमा लिएका थिए । बाटुले र गेरवानी निकुञ्जसँग सीमा जोडिएका (मध्यवर्ती क्षेत्र) गाउँमा पर्दछन् । प्रायः निकुञ्जको दक्षिणी भागमा भेटिने बाघ पछिल्लो समय उत्तरतर्फ बढेपछि आक्रमणको जोखिम बढेको स्थानीयवासी बताउँछन् । गेरवानीका स्थानीयवासी केशव चन्दले निकुञ्जले बाघको निगरानीमा बेवास्ता गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “निकुञ्जमा बाघको सङ्ख्या धेरै छ, मानिसको सिकार खोज्दै जतिबेला पनि गाउँ आउने जोखिम बढ्यो, बाघलाई बस्ती प्रवेशमा रोक्न निकुञ्जले निगरानी बढाएको देखिँदैन ।” मध्यवर्ती क्षेत्रका स्थानीयवासीले निकुञ्जबाट बाहिरिने वन्यजन्तुको सुरक्षाको व्यवस्था मिलाउन निकुञ्ज कार्यालय, सम्बन्धित स्थानीय सरकार, सल्यान र सुर्खेत जिल्लाका प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । निकुञ्ज कार्यालयका अनुसार सल्यानबाट नियन्त्रणमा लिइएको समस्याग्रस्त पाटेबाघ १२ वर्ष बूढो हो । बूढो एवं शारीरिक रुपले अशक्त बाघले जङ्गलमा सिकार गर्न नसकेपछि मानिस र पशु चौपायाको खोजी गर्ने निकुञ्जका कर्मचारी बताउँछन् । जसलाई निकुञ्जले ‘समस्याग्रस्त बाघ’का रुपमा उद्वार गर्दै बाँके राष्ट्रिय निकुञ्जमा राखिएको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा पनि यस्तै समस्याग्रस्त तीन वटा बाघ उद्वार केन्द्रमा राखिएको छ । निकुञ्जका प्रमुख संरक्षक अधिकृत विष्णुप्रसाद श्रेष्ठले घाँस काट्न गएका स्थानीयवासीलाई आक्रमण गरेपछि बाघको निगरानी बढाएको बताउनुभयो । “उक्त घटनापछि हाम्रो विशेष टोली गेरवानी आसपासमा खटिएर बाघको खोजी गरिरहेको थियो,” उहाँले भन्नुभयो, “मानिसलाई आक्रमण गर्ने बाघ त्यहीँ क्षेत्र आसपासमा हुन्छ, किनकी बाघ सिकार गरेको क्षेत्रमै रहन्छ, बुधबार बिहान सल्यानमा दुई पशुचौपायालाई मारेपछि पत्ता लगाउन सजिलो भयो ।” गोरु मारेको करिब २०० मिटर दूरीमा रहेको बाँसघारीमा आराम गरिरहेको अवस्थामा बाघ भेटिएको थियो । बाघलाई बेहोस् बनाउने सुईको प्रयोग गरी नियन्त्रणमा लिइएको थियो । निकुञ्ज कार्यालयले माथिल्लो भेगमा निगरानी बढाएको दाबी गरेको छ । “गस्ती बढाउनुका साथै जङ्गली जनावरको आक्रमणबाट सुरक्षित रहन सावधानी अपनाउन व्यवहार परिवर्तनसम्बन्धी अभियान सञ्चालन गरिरहेका छौं,” प्रमुख संरक्षक अधिकृत श्रेष्ठले रासससँग भन्नुभयो, “निकुञ्जसँग जोडिएका बस्तीका मानिस आफै सचेत भएमा यस्ता घटनाबाट सुरक्षित रहन सकिन्छ ।” उहाँका अनुसार निकुञ्ज क्षेत्र, मध्यवर्ती क्षेत्र, सामुदायिक वन जहाँ भए पनि वन्यजन्तुको आक्रमण दिउँसोको समयमा भएकाले सचेत भएमा आक्रमणबाट बच्न सकिने उहाँको भनाइ छ । निकुञ्ज कार्यालयले मानव वन्यजन्तुद्वन्द्व न्यूनीकरण गर्न चालु आर्थिक वर्षमा १३ रणनीतिक योजना बनाएको जनाएको छ । प्रमुख संरक्षक अधिकृत श्रेष्ठले उक्त योजना अनुसार कार्यक्रम सञ्चालन गरी क्षति न्यूनीकरण गर्ने बताउनुभयो ।
काठमाडौं । प्रतिनिधिसभाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ बुहमतले पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा नागरिकता विधेयकमाथि पक्ष र विपक्षमा मत विभाजन हुँदा विधेयक पुनः बहुमतले पारित भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गर्नुभयो । बैठकमा उपस्थित एक सय ९५ सांसदमध्ये उक्त विधेयक पारित गर्ने पक्षमा एक सय ३५ र यथास्थितिमा विधेयक पारित गर्न नहुने पक्षमा ६० मत परेको थियो भने मत दिन्न भन्ने पक्षमा कुनै पनि मत परेन । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा मतविभाजनको माग गरेपछि मतदान भएको हो । प्रतिनिधिसभाले पहिलोपटक गत साउन १६ गते उक्त विधेयक दुवै सदनबाट पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको थियो । राष्ट्रपतिबाट साउन २९ गते उक्त विधेयक प्रतिनिधिसभामा पुनर्विचार गरियोस् भनी फिर्ता भएको थियो । आज उक्त विधेयकमाथि छलफल भई पुन:बहुमतले पारित भएको छ ।
बेंसीसहर: लमजुङको मर्स्याङ्दी गाउँपालिकाले पालिकाभित्रका एचआईभी संक्रमितलाई मासिक भत्ता दिने भएको छ। साउन ३१ गते बसेको गाउँकार्यपालिका बैठकले संक्रमितहरूका लागि मासिक एक हजार भत्ता दिने निर्णय गरेको हो। संक्रमितहरूको पोषणमा कमी हुन नदिन सामाजिक सुरक्षा भत्ताको रूपमा मासिक भत्ता दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए। संक्रमित भएर रोग र अपमानबाट बाँचिरहेका व्यक्तिलाई सानै भए पनि राहत स्वरूप भत्ताको व्यवस्था गरिएको अध्यक्ष गुरुङले बताए। एचआइभी संक्रमितलगायत पछाडि परेकाको जीवनस्तर उकास्ने विषयमा गाउँपालिका सजग रहेको उनले बताए। यसअघि गाउँपालिकाले ६० देखि ६९ वर्ष उमेरका एकल पुरुष र ग वर्गका अपाङ्गता भएका व्यक्तिलाई मासिक पाँचसय भत्ता दिने निर्णय गरेको थियो। गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लुल घलेका अनुसार पालिकाभित्र १६ जना एचआईभी संक्रमित रहेका छन्। उनीहरूमध्ये ५ जना पुरुष र ११ जना महिला छन्। स्वास्थ्य शाखामार्फत एआरटी औषधि प्रयोग गरिरहेका उनीहरू कोही पनि सामाजिक रूपमा बाहिर खुलेका छैनन्। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालले संक्रमितहरूले भत्ता बुझ्नका लागि निवेदनको साथमा नागरिकताको प्रतिलिपी र एचआइभी संक्रमित पुष्टी हुने कागजात पेस गर्नुपर्ने बताए।
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २७ दशमलव ५६ अङ्कले उकालो लागेर दुई हजार ६८ दशमलव २६ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ४१ अङ्कले उकालो लागेर ४०० दशमलव शून्य आठ अङ्कमा पुगेको छ । कूल २२० कम्पनीको ५१ लाख एक हजार दुई सय ९० कित्ता शेयर रु दुई अर्ब पाँच करोड ७९ लाख ८० हजार ५७ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहकै शेयर मूल्य उकालो लागेको छ । बैंकिङ सात दशमलव ९३, व्यापार २३ दशमलव ७४, होटल तथा पर्यटन १६ दशमलव १२, विकास बैंक एक सय १७, जलविद्युत् ७० दशमलव ७७, वित्त ५३ दशमलव ९३, निर्जीवन बीमा ५७ दशमलव ५६, उत्पादन ५३ दशमलव दुई, अन्य ३५ दशमलव ७३, लघुवित्त ६१ दशमलव ५६, जीवन बीमा ५२ दशमलब ३१, सामूहिक लगानी कोष शून्य दशमलव शून्य छ र लगानी शून्य दशमलब ९७ अङ्कले उकालो लागेको छ । सोमबारको कारोबारपछि बजार पुँजीकरण रु २९ खर्ब ६३ अर्ब ६५ करोड ८३ लाख ८९ हजार नौ सय २४ बराबर रहेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा रिडी हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु १० करोड ४३ लाख ५८ हजार आठ सय ५५ बराबरको कारोबार भयो । यस्तै अपि पावर कम्पनी रु सात करोड ८० लाख २६ हजार छ सय ३५, शिवम् सिमेन्ट रु छ करोड तीन लाख ९४ हजार चार सय ७३, अरुण काबेली पावर रु पाँच करोड ५६ लाख ३७ हजार सात सय ५५ र आइसिएफसी फाइनान्स रु पाँच करोड २८ लाख ८० हजार नौ सय ३८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । नेप्सेका अनुसार, मन्दाकिनी हाइड्रोपावर र अप्पर सोलु हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । श्वेत गङ्गा हाइड्रोपावर नौ दशमलव ९७, अप्पर हेवाखोला हाइड्रोपावर नौ दशमलव ९६ र हिमालयन हाइड्रोपावरका लगानीकर्ताले नौ दशमलव ९३ प्रतिशतले कमाएका छन् । त्यस्तै एनआइबिएल प्रगति फण्ड तीन दशमलव ८०, सपोर्ट माइक्रोफाइनान्स तीन दशमलव २८, प्राइम बैंकको ऋणपत्र दुई, दोर्दी खोला जलविद्युत् कम्पनी एक दशमलव ९८ र सनराइज ब्ल्युचिफ फण्डका लगानीकर्ताले एक दशमलव ९५ प्रतिशतले गुमाएका छन् ।
दाङ । दाङको राप्ती नदीमा विद्यार्थी बोकेको डुङ्गा दुर्घटना भएको छ । विद्यार्थी बोकेर नदी पार गर्न लागेको उक्त डुङ्गा दुर्घटना हुँदा २५ विद्यार्थी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख सुरेश काफ्लेले दिएको जानकारी अनुसार दुर्घटनामा परेकामध्ये गम्भीर घाइते तीन विद्यार्थीको लमहीमा उपचार जारी छ । क्षमताभन्दा तीन÷चार गुणा बढी विद्यार्थी बोकेका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार आज बिहान ९ बजेतिर लमही नगरपालिका– ९ बाट डुङ्गा चढेर राप्ती नदी पार गरी राजपुर–७ स्थित मावि सिक्टामा अध्ययनका लागि जान लागेका थिए । लमही–९ तरुलियाका सिक्टा माविमा कक्षा ६ मा अध्यनरत १३ वर्षीय मनिष विक, सोही कक्षामा अध्यनरत १२ वर्षीया रीमा राम्जाली, कक्षा ९ मा अध्यनरत १६ वर्षीय सन्दिप विकको लमहीमा उपचार जारी रहेको छ । यीबाहेक अन्य सबै विद्यार्थीको अवस्था सामान्य रहेको छ । विद्यार्थी सवार डुङ्गा पल्टिएपछि उनीहरुका कापी, किताब, झोला सबै भिजेर नष्ट भएका छन् । दुर्घटना भएको देख्ने बित्तिकै स्थानीयवासीले बालबालिकाको उद्धार गरेका थिए ।
काठमाडौं । नेपाल प्रहरीले हराएको नागरिकता दुरुपयोग गरी कम्पनी खोलेर ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले कञ्चरपुरका नीरज पाण्डेको हराएको नागरिकता दुरुपयोग गरी कम्पनी खोलेर विभिन्न व्यक्तिलाई ठगी गर्ने तीन जनालाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका–९ का सुरेश भन्ने २८ वर्षीय प्रदीप कर्मचार्य, मुगु खत्याड गाउँपालिका–११ घर भई काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–२ बस्ने २४ वर्षीय विशाल कार्की र मुगु खत्याड गाउँपालिका–८ का २१ वर्षीय रामकृष्ण रावत रहेका छन् । कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले पाण्डेको हराएको सक्कल नागरिकताको दुरुपयोग गरी विभिन्न कम्पनी खोलेर ठगी गरेकाले उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ व्यक्तिले विसं २०७८ मङ्सिर २८ गते ज्ञानेश्वरमा एभरेष्ट लिङ्क इन्टनेशनल एजुकेशन प्रालि नामको प्राइभेट कम्पनी दर्ता गरेको, सेञ्चुरी तथा कुमारी बैँकमा खाता खोलेको र वैदेशिक रोजगारीमा रसिया पठाइदिने प्रलोभनमा पारी पीडित व्यक्तिको नामबाटै ठगी गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये प्रदीप उक्त कम्पनीको प्रमुख कार्यकारी अधिकृत ९सिईओ० बनेको, विशालले पीडितको नाममा बैँकमा खाता खोलेको र रामकृष्णले सहजकर्ताको भूमिका खेल्दै आएको अनुसन्धानमा खुलेको छ । पक्राउ परेका उनीहरुलाई ठगीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रवक्ता कोइरालाले बताउनुभयो ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नागरिकता विधेयक पुन:पेश गरेको खण्डमा रोक्न नमिल्ने कानुनविद्हरुको राय छ । पहिलो पटक पुन:विचार गर्नका लागि राष्ट्रपतिले नागरिकता विधेयकलाई सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)मा फिर्ता पठाए पनि अब पुन:विचारका लागि ठाउँ नभएको र विधेयकलाई प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । संविधानअनुसार कुनै पनि विधेयक दुई पटक पुनःविचार गर्न नपाइने व्यवस्था रहेको छ । विधेयकलाई संसद्ले चाहे जस्ताको त्यस्तै वा संशोधनसहित पारित गरेर पठाए भने राष्ट्रपतिलाई रोक्ने ठाउँ देखिँदैन । दोस्रो पटक पारित गरिएको कुनै पनि विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने हुन्छ । संविधानको धारा ११३ को उपधारा (४) मा राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुन:विचार गरी त्यस्तो विधेयक प्रस्तुतरुपमा वा संशोधनसहित पारित गरी पुन:पेश गरेमा त्यसरी पेश भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ । संविधानविद् डा विपिन अधिकारीले संसद्ले पुनःपारित गरेर राष्ट्रपतिसमक्ष नागरिकता विधेयक पेश गरेमा प्रमाणीकरण गर्नुपर्ने बताउनुहुन्छ । “राष्ट्रपतिले संविधानअनुसार नागरिकता विधेयकलाई पुन:विचार गर्नका लागि संसद्मा फिर्ता गर्न मिल्दैन”, उहाँले भन्नुभयो, “अब राष्ट्रपतिले विधेयकलाई थुनछेक नगरी प्रमाणीकरण गर्नुहुन्छ ।” उहाँले सरकारको चाहनाअनुसार नै नागरिकता विधेयक आउने बताउनुहुन्छ । उहाँले राष्ट्राध्यक्षले पुनःविचार गर्न संसद्मा विधेयक फिर्ता गरेपछि प्रक्रिया मात्र पुर्याएर पारित गर्न नहुने उहाँको भनाइ रहेको छ । “राष्ट्रपतिले नागरिकता विधेयकमा जुन कुरा उठाउनुभएको छ, त्यो कुराको संसद्को दुवै सदनमा पर्याप्त छलफल हुनुपर्दछ”, उहाँले भन्नुभयो, “राष्ट्राध्यक्षले उठाएको कुरालाई सम्बोधन गरेर मात्र विधेयक प्रमाणीकरणका लागि पठाउनुपर्दछ ।” उहाँले नागरिकता विधेयकमा विवाद रहेकाले राष्ट्रपति भण्डारीले संसद्मा पुन:विचार गर्नका लागि पठाउनुभएको जानकारी दिनुभयो । संविधानविद् डा अधिकारीले राज्य व्यवस्था समितिमा दफावार छलफल गरेर मात्र नागरिकता विधेयकमा देखिएको विवाद सुल्झाउनुपर्नेमा जोड दिनुभयो । “राष्ट्रपतिले नागरिकता विधेयकका सम्बन्धमा पुन:विचार गर्न भनेको कुरालाई राज्यव्यवस्था समितिबाट नै टुङ्ग्याएर संसद्मा लैजानुपर्दछ”, उहाँले भन्नुभयो । राष्ट्रपति भण्डारीसमक्ष गत साउन १५ गते प्रमाणीकरणका लागि पेश गरिएको नागरिकता विधेयक साउन २९ गते फिर्ता भएको थियो । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधानबमोजिम नागरिकता प्राप्तिसम्बन्धी विषयमा सङ्घीय संसद्बाट पुनःविचार हुन आवश्यक देखिएकाले संविधानको धारा ११३ को उपधारा(३)बमोजिम १५ बुँदे सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाउनुभएको थियो । यसरी फिर्ता पठाएको विधेयक आज पुन:संसद्ले पारित गरेर पठाउने कार्यसूची राखिएको छ । अहिले प्रतिनिधिसभामा राष्ट्रपति भण्डारीले फिर्ता गरेको नागरिकता विधेयकबारे छलफल भइरहेको छ । प्रतिनिधिसभाले पारित गरेको विधेयकलाई राष्ट्रियसभाबाट पनि पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति भण्डारीसमक्ष पेश गर्नुपर्ने हुन्छ । अर्का संविधानविद् डा भिमार्जुन आचार्यले पनि संसद्को दुवै सदनले पुन:पारित गरेको नागरिकता विधेयकलाई राष्ट्रपतिले स्वीकार गरेर प्रमाणीकरण गर्नुपर्ने बताउनुहुन्छ । “राष्ट्रपतिले फिर्ता गरेको विधेयकलाई पर्याप्तमात्रामा छलफल गरेर मात्र पुन:प्रमाणीकरणका लागि पठाउनुपर्दछ”, उहाँले भन्नुभयो, “राष्ट्रपतिले उठाउनुभएको कुराको संसदीय व्यवस्थाअनुसार सम्बोधन हुनुपर्दछ ।” राष्ट्रपतिले पुन:विचारका लागि फिर्ता पठाएको विधेयकलाई अवसरका रुपमा संसद्ले लिनुपर्ने उहाँको भनाइ छ । अर्का वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले अब नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपति भण्डारीले पुन:विचार गर्ने ठाउँ नरहेको बताउनुभयो । “अब संसद्को दुवै सदनले पारित गरेपछि राष्ट्रपतिलाई फेरि पनि पुन:विचार गर्नका लागि ठाउँ छैन”, उहाँले भन्नुभयो, “संसद्को दुवै सदनबाट पारित भएको नागरिकता विधेयकलाई उहाँले प्रमाणीकरण गर्नुपर्ने हुन्छ ।” राष्ट्रपति भण्डारीले नागरिकताका सम्बन्धमा स्थायी समाधान खोज्नका लागि नै विधेयक फिर्ता गरेको उल्लेख गर्दै भन्नुभयो, “उहाँले नागरिकताका विषयमा यो–यो विषयमा संशोधन गर भनेर सन्देशसहित अभिभावकको भूमिका निर्वाह गर्दै संसद्मा विधयेक फिर्ता पठाउनुभएको थियो । संसद्ले राष्ट्रपतिको सन्देशलाई मनन् गरेर नागरिकता विधेयकलाई पर्याप्त मात्रामा छलफल गरी संशोधनसहित प्रमाणीकरणका लागि पठाउनुपर्दछ ।”

