काठमाडौं । परिक्षामा प्रश्नपत्र दोहोरिएको बिषयमा छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालय नेविसंघ इकाइले उपकुलपतिको कुर्सीमा जुत्ताको माला लगाइदिएको छ । त्रिवि इकाइका सचिव योगेन्द्र रावलले छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको धेरै समयमा पनि माग सुनुवाइ नभएको र उपकुलपतिलाई भेट्न आउँदा नभेटेपछि कुर्सीमा जुत्ताको माला लगाएको बताए । उनले भने ‘हामीले भेट्न आउँदा उपकुलपतिलाई भेटेनौं । त्यसैले हामीले लगाएको जुत्ता फुकालेर उपकुलपतिको कुर्सीमा लगाइदिएका छौं । प्रहरीले हामीलाई घेरेको छ ।’ त्रिभुवन विश्वविद्यालयको परीक्षामा हुबहु सोधिएको प्रश्नपत्रका सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको थियो । प्राध्यापक घनश्याम भट्टराईको संयोजकत्वमा तीन सदस्य छानबिन समिति तयार गरेको प्रतिवेदन सार्वजनिक गर्न नेविसंघले माग गर्दै आएको छ । मानविकी संकायले जेठ १८ गते स्नातकोत्तर तह तेस्रो सेमेष्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ र जेठ २३ गते स्नातकोत्तर तहको राजनीतिशास्त्रको पहिलो सेमेस्टरको ‘इन्टरनेशनल पोलिटिक्स’ विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको थियो । ६० पूर्णाङ्कको उक्त विषयको परीक्षामा १३ प्रश्न अघिल्ला दुई बर्षको हुबहु मिलेको छ ।
कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ का दश वर्षीया बालिका सन्ध्या सुनार महाकाली नदीमा बेपत्ता भएकी छिन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दोधारा चाँदनी–९ ढकनाघाटस्थित ठूलोबुबाको घरमा गएका बेला दिदीसित नुहाउने क्रममा डुबेर बालिकाको नदीमा बेपत्ता भएकी हुन् । प्रहरी निरीक्षक भरत गिरीले बालिकाको खोजीमा इलाका प्रहरी कार्यालय दोधारा चाँदनी र सशस्त्र प्रहरी बलको टोली महाकालीमा खटिएको जानकारी दिनुभयो । “बालिकाको खोजीमा सुरक्षाकर्मी र स्थानीय पनि खटिएका छन् ।” उहाँले भन्नुभयो ।
कञ्चनपुर । बेलडाँडी गाउँपालिका–३ बैवाहका रामलाल चौधरी व्यावसायीक तरकारी खेती गरी गतिलो आम्दानी गर्ने किसानका रुपमा परिचित हुनुहुन्छ । गतवर्ष चौधरीले १८ कठ्ठा जग्गामै दुई सय २५ क्वीन्टल तरकारी फलाएर रु १२ लाख पचास हजार आम्दानी हात पार्नुभएको छ । काउली, बन्दा, गोलभेँडा, घ्यू सिमी, बोडीलगायत बारीमा रोपेर आम्दानी भएको उहाँले बताउनुभयो । “बेमौसमी वर्षाले १० कठ्ठामा लगाएको तरकारी टिप्नै पाएनौँ”, उहाँले भन्नुभयो, “हार मानिन्, त्यसपछि पुनः तरकारी लगाए नाफा बढी भयो, तरकारी हातोहात बिक्री पनि भयो ।” गत वर्षभन्दा बढी आम्दानी लिनका लागि उहाँले नौलो प्रविधिलाई आत्मसात गर्ने योजना बनाउनुभएको छ । उहाँले युट्युबमा हेरेर मिनी टिलरमा लाग्ने हलोसँगै आवश्यक अन्य औजार निर्माण गर्नुभएको छ । तरकारी खेती गर्नका लागि प्रयोगमा आउने अन्य औजार र उपकरण प्रयोगमा ल्याउने तयारी उहाँको रहेको छ । “पहिला गोरुले खेत जोत्दा समय निकै लाग्ने र सोचे जस्तो खेत तयार गर्न सकिदैनथ्यो”, उहाँले भन्नुभयो, “हाल खेत जोत्नका लागि गोरु छैनन्, मिनीटिलर र पावर टिलरको प्रयोग गर्छु, तरकारी खेतीका लागि खेत तयार गर्न मेसिनरी र आधुनिक कृषि औजारको प्रयोग गर्न थालेपछि उत्पादन बढेको छ ।” तरकारी बारीमा गोबर मलको प्रयोग गर्नका लागि भैँसी भने उहाँले पाल्नुभएको छ । डेढ दशकदेखि तरकारी खेतीमा संलग्न चौधरीसँग स्वामित्वको एक बिघा १० कठ्ठा जग्गा छ । त्यसमध्ये छ कठ्ठा जग्गा उहाँले तरकारी खेतीको आम्दानीले जोडनुभएको हो । यस वर्षको हिउँदे तरकारी लगाउनका लागि चौधरीले बेर्ना तयार गरिसक्नुभएको छ । “काउली, बन्दा, गोलभेडा लगायतका तरकारीका बेर्ना तयारी अवस्थामा छ”, उहाँले भन्नुभयो, “ग्रिननेटमा लगाउनका लागि कार्य अगाडि बढाइएको छ, खुला ठाउँमा गरिने तरकारी खेतीभन्दा ग्रिनेनेटमा गरिने तरकारी खेतीले बढी उत्पादन दिन्छ, त्यसैले यसकै तयारीमा छौँ ।” तरकारी खेतीबाहेक अरु जग्गामा लगाएको हर्दिनाथ जातको धान पाक्नै आँटेको छ । एक दुई दिनमा धान काटन सुरु गर्ने चौधरीले बताउनुभयो । “धान काटेपछि खेत तयार गरी त्यसमा समेत तरकारीका बिरुवा रोप्छौँ”, उहाँले भन्नुभयो, “कामको व्यस्तता निकै छ, परिवारमा रहेका दुई छोरा र श्रीमतीले समेत तरकारी खेतीका लागि सहयोग गर्दै आएका छन्, त्यसैले काम गर्न सहज भएको छ ।” नौ कठ्ठा जग्गामा लगाएको हर्दिनाथ धानको उत्पादन २० क्वीन्टल बढी हुने उहाँले अनुमान गर्नुभएको छ । गतवर्ष सोही जग्गामा उहाँले १८ क्वीन्टल धान उत्पादन गर्नुभएको थियो । यस वर्ष दश कठ्ठा जग्गामा तरकारी खेती र एक बिघा जग्गामा केरा खेती गर्ने योजनासमेत रहेको उहाँले सुनाउनुभयो । “तरकारी खेतीसँगै केरा खेती गर्ने योजना बनाएको छु”, उहाँले भन्नुभयो, “आधुनिक तरिकाले केरा खेती गर्ने तौरतरिका इन्टरनेटबाट र गाउँपालिकाको कृषि शाखका प्राविधिकबाट सिकेको छु ।” तरकारी खेतीकै कमाइबाट चौधरीले कैलालीको धनगढीमा घडेरी, गाउँमा पक्की घर, मेसिनरी औजार, सिँचाइका लागि बोरिङ, विद्युतीय मोटरलगायतका सामान जोड्नुभएको छन् । तरकारी बेच्नका लागि ५० प्रतिशत अनुदानमा उहाँले अटो रिक्सासमेत पाउनुभएको छ । उत्पादित तरकारी स्थानीय बजारदेखि महेन्द्रनगर र धनगढीसम्म बिक्री हुने गरेको छ । भारतसँगै सीमा जोडिएको क्षेत्र बैवाह भएकाले भारतीयले समेत घरबाटै फुटकर रुपमा तरकारी खरिद गरेर लैजाने गरेका छन् । रामलाल जस्तै बैवाह गाउँका अन्य दुई जनाले समेत दश कठ्ठा जग्गामा तरकारी खेती गर्नुभएको छ । दुई कठ्ठादेखि पाँच कठ्ठासम्म तरकारी खेती गर्ने किसान भने १२ जनाजति रहेका छन् । प्रविधिको प्रयोग गरी तरकारी खेती गर्नेमा गाउँका एक्ला रामलाल मात्रै रहनुभएको छ ।
काठमाडौं । युवाकवि मोतीराम भट्टको जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान र साझा प्रकाशनले संयुक्तरुपमा सुरु गरेको पुस्तक प्रदर्शनीमा पाठकको उपस्थिति बढ्न थालेको छ । प्रज्ञाको भानुभक्त कक्षमा भइरहेको प्रदर्शनीमा प्रतिष्ठानले २०३० सालदेखि २०७९ साउनसम्म प्रकाशन भएका पुस्तक बिक्रीमा राखिएको जनाएको छ । धिमाल लोक जीवन अध्ययन, कार्बोनिक रसायन शास्त्रका पुराना पुस्तक र नेपाली बृहत् शब्दकोश परिमार्जनसहित दशौँ संस्करणसमेत प्रदर्शनीमा समावेश गरिएको छ । विसं २०१५ मा प्रकाशित कालीदासको रघुवंश महाकाव्य, सोमनाथ सिग्देलको सिद्धान्त कौमुदी, कुलचन्द्र गौतमको कविता राघवालङ्कार, दिनेशराज पन्त र विष्णु प्रभातले संयोजन गरेको दर्शनावली भाग सात, काव्य विमर्श र नेपालका जातीय संस्कार खण्ड एक, दुई, तीन, चार, पाँच र छजस्ता हजारौँ पुस्तक प्रज्ञाबाट प्रकाशन भइसकेका छन् । प्रदर्शनीमा पाठकको भीड बढ्न थालेको छ । प्रदर्शनी यही भदौ १२ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा भाषा, साहित्य, बाल साहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान, अनुवाद र दर्शनसम्बन्धी पुस्तक र कविता, प्रज्ञा, समकालीन साहित्य थायभू, आँगनलगायतका धेरै विषयका पठनीय अतिउपयोगी झण्डै पाँच सयभन्दा बढी थरीका पुस्तक, पत्रपत्रिका समावेश गरिएको छ । यसैगरी साझा प्रकाशनले प्रकाशन गरेका तीन सयभन्दा बढी थरीका पुस्तक प्रदर्शनीमा राखिएको छ । ‘लोकवार्ता विवेचना’, ‘तुफुका कविता’, ‘बोटे भाषाको व्याकरण’, ‘मातृभाषा साहित्यको इतिहास’, ‘विश्वप्रख्यात नारीका कथाहरु’ र ‘प्रज्ञा नेपाली समालोचना’, ‘प्रज्ञा मैथिली नेपाली शब्दकोष’, ‘चीनका प्राचीन कथा’, ‘अमरकोश’, ‘प्रज्ञा भोजपुरी नेपाली शब्दकोष’, ‘पाकिस्तानी महिला लेखन’ जस्ता ४० भन्दा बढी पुस्तक पनि प्रदर्शनीमा राखिएको छ । नेपाली बृहत् शब्दकोश र प्रज्ञा नेपाली अङ्ग्रेजी शब्दकोशमा १५ प्रतिशत छुटको व्यवस्था रहेको छ । प्रतिष्ठानबाट सुरु प्रकाशन भएदेखि २०७९ साउनसम्मका पुस्तकमा ४० प्रतिशतसम्म छुटको व्यवस्था रहेको प्रदर्शनी व्यवस्थापक सुधीर ढुङ्गेलले जानकारी दिनुुभयो । ‘माटोको ममता’, ‘महेन्द्र प्रवचन माला’ जस्ता रु तीनदेखि नेपाली बृहत् शब्दकोशको रु एक हजार ८९५ सम्मका पुस्तक प्रदर्शनीमा राखिएको उहाँले सुनाउनुभयो । यसभन्दा अघिका प्रदर्शनीमा साहित्यमा अनुसन्धान गरिरहेका विद्यार्थी बढी पुस्तक किन्न आउने गरेको प्रतिष्ठानले जनाएको छ । यसैगरी यसअघिका प्रदर्शनीमा बाल साहित्यका पनि धेरै पुस्तक बिक्री भएको छ । दैनिक सयभन्दा बढी पाठकले प्रदर्शनी अवलोकन गर्न आउने गरेका छन् । दैनिक रु १५ देखि २० हजारभन्दा बढी पुस्तक बिक्री हुने गरेकोसमेत व्यवस्थापक ढुङ्गेलले बताउनुभयो । प्रतिष्ठानले वर्षमा चारपटक पुस्तक प्रदर्शन गर्ने गरेको छ । नयाँ वर्षका अवसरमा वैशाख पहिलो साता, प्रतिष्ठानको वार्षिकोत्सवका अवसरमा असार पहिलो साता, मोती जयन्तीका अवसरमा भदौ र पृथ्वी जयन्तीका अवसरमा पुस दोस्रो साता भानुभक्त कक्षमा पुस्तक प्रदर्शनी हुने गरेको छ ।
पोखरामा आयोजना हुने ‘तेश्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ जि-२ र्याकिङ तथा ‘प्रथम जिसिएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप-२०२२’ तर्फ गरी १ हजार भन्दा बढी खेलाडीले आफ्नो नामा दर्ता गराएको आयोजकले जनाएको छ । काठमाण्डौमा मंगलबार एक पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी बारे आयोजकले जानकारी दिएको हो । आगामी असोज ६ देखि ९ गते सम्म हुने ग्योरोगीतर्फ ८ सय ११ र पुम्सेतर्फ २ सय भन्दा वढी आफ्नो नाम दर्ता गराएको गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन बहादुर गुरुङले बताएका हुन् । दक्षिण एशियामा नै पहिलो पटक उक्त प्रतियोगिता नेपालमा आयोजना गर्न पाउनु गौरवको विषय रहेको बताउँदै उनले ग्योरोगी र्याकिङ र पुम्से प्रतियोगिताका लागि विभिन्न एक दर्जन बढी राष्ट्रका खेलाडीहरुले आफ्नो नाम दर्ता गराइसकेको जानकारी दिए । पोखरामा र काठमाण्डौमा प्रतियोगिताको तयारी बारे भइरहेको प्रगती बारे पत्रकारहरुलाई जानकारी दिंदै मुल आयोजक समितिका सचिव समेत रहेका गुरुङले भने–“हामीले १ हजार ५ सय खेलाडी पोखरा आउने अपेक्षा गरेका छौं जसबाट कोभिड १९ का कारण समस्यामा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्न सहयोग पुग्ने छ ।’ पहिलो चरणको दर्ता प्रक्रिया यहि भदौ ९ गते सम्म जारी रहने तथा दोश्रो चरणको दर्ता भदौ १० बाट सुरु हुने उनले बताए । उक्त प्रतियोगितामा विश्वभरीका खेलाडीहरू, निर्णायक तथा प्रशिक्षकहरु, सहभागी खेलाडीका परिवारका सदस्यहरू र तेक्वान्दो महासंघका विशिष्ट पदाधिकारीहरूसहित २ हजार भन्दा बढीको सहभागीता हुने जनाइएको छ भने विश्वस्तरीय मेगा तेक्वान्दो प्रतियोगिता अवलोकन गर्न ५ हजार भन्दा बढी तेक्वान्दो प्रेमीहरु पोखरा आउने अपेक्षा गरिएकोे छ । यस अघि दुई पटक सफलता पूर्वक काठमाण्डौमा सम्पन्न भइसकेको उक्त प्रतियोगिता विश्व महामारीका रुपमा फैलिएको कोभिड १९ का कारण दुई वर्ष स्थगित हुन पुगेको थियो । पोखरा रंगशालास्थित बहुुउद्धेश्यीय कभर्डहलमा आयोजना हुने प्रतियोगितामा सिनियर र जुनियरतर्फको (१४ वर्ष देखि ६० वर्ष भन्दा माथि ) क्योरोगीतर्फ महिला र पुरुष गरी विभिन्न ८ वटा तौल समुहमा गरी कुल १६ वटा तौलमा तथा पुम्सेतर्फ समेत १४ देखि ६० वर्ष भन्दा माथि एकल, जोडी र समुहमा प्रतिष्पर्धा हुने आयोजक समितिका सदस्य एवम ओलम्पियन दिपक विष्टले जानकारी दिए । विश्व तेक्वान्दो महासंघले नेपालमा तेक्वान्दो खेलको विकासका साथै नेपाल र पोखराको खेल पर्यटन प्रवद्र्धन गर्न प्रतियोगिता स्विकृती प्रदान गरेको र उक्त मेगा तेक्वान्दो प्रतियोगिता सम्पन्न गर्न करिव रु २ करोड ५५ लाख खर्च हुने आयोजक समितिका सदस्य तथा गण्डकी प्रदेश तेक्वान्दो संघका महासचिव रमेश पौडेलले जानकारी गराएका थिए । पत्रकार सम्मेलन नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश सम्शेर राणको अध्यक्षतामा सम्पन्न भएको थियो ।
लमजुङ । मध्यनेपाल नगरपालिकास्थित माडी नदीमा मङ्गलबार दिउँसो पौडी खेल्ने क्रममा बेपत्ता शिक्षक मृत फेला परेका छन् । पोखरा महानरपालिका–३२ घर भई मध्यनेपाल बहरेको मालिका आधारभूत विद्यालयमा शिक्षण पेसा गर्दै आउनुभएका ४५ वर्षीय बाबुराम अधिकारी आज बिहान तनहुँको व्यास नगरपालिका–१० बैरेनीस्थित धारापानीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताउनुभयो । उक्त शवको तनहुँ प्रहरीले मुचुल्का उठाउने र दमौली अस्पतालमै शव परीक्षण गरी आफन्तलाई बुझाइने प्रहरी निरीक्षक रेग्मीको भनाइ छ ।
काठमाडौं । फोहरलाई ऊर्जामा रुपान्तरण गर्न कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले प्रविधि जडान गर्न लागेको छ । यसका लागि मन्त्रालयले चालु आव २०७९/०८० बजेट विनियोजन गरिएको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“कर्णालीका सबै क्षेत्रमा जतिसक्दो सबैलाई उज्यालो पुर्याउनका लागि फोहरबाट ऊर्जा निकाल्न लागिएको हो ।” उहाँका अनुसार मन्त्रालयले पहिलो चरणमा रु २० लाख विनियोजन गरेको छ । मन्त्री सिंहले भन्नुभयो, “यो काम सफल भएमा फोहरबाट विद्युत् निकाल्न अन्य ठाउँमा पनि यो विस्तार गर्छौं ।” मन्त्रालयका सचिव देवराज निरौलाले भन्नुभयो, “कर्णालीमा यो पहिलो अभ्यासका रुपमा लिइएको छ । मूलतः सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमा सौर्य प्रविधि जडान कार्यसमेत गर्दैछौँ ।” मन्त्रालयका योजना महाशाखाका प्रमुख गोपाल शर्माले फोहरबाट ऊर्जा उत्पादनका लागि सुर्खेतको वीरेन्द्रनगर, रुकुम पश्चिमको चौरजहारी, जुम्ला खलङ्गा, जाजरकोटको कुदु, दल्ली, कालीमाटी, सल्यानका बाक्लो बस्ती रहेका बस्ती तथा समुदाय सम्भावित रहेको जानकारी दिनुभयो । उहाँका अनुसार विद्युत्को बढ्दो माग र एक सय १३२ केभी प्रसारण लाइन निर्माण कार्य पूरा नभएकाले विभिन्न वैकल्पिकरुपमा ऊर्जा उत्पादन गरी जनतालाई उज्यालो उपलब्ध गराउने अभियानलाइ तीव्रता दिएको छ ।
पोखरा महानगरपालिका वडा नं. २५ क्रान्तीटोलमा बसेर भूमि प्राप्तिको २७ वर्ष लामो सङ्घर्ष गरेकी सिता गुरुङ थापा आज निकै खुसी छिन् । सुकुम्वासी बनेर बिताएको २७ वर्ष सम्झँदा उनको मन अहिले पनि खसक्क हुने गरेको उनी सुनाउँछिन् । ‘यो हाम्रो लागि ठुलो उपलब्धि हो, उनले भनिन्, अव यो सेतो निस्सा छिट्टै नै रातो लालपुर्जामा परिणत हुने आशा गरेकी छु ।’ निकै कठिनता र सङ्घर्षका बिचबाट आफूहरूले प्राप्त गरेको सेतो निस्सासँग आफूसँगै आफ्ना सन्ततिहरूको भविष्य जोडिएको उनले बताइन । सङ्घर्षरत लामो प्रतीक्षापछि एउटा सपना साकार भएको अनुभूति उनले गरेकी छिन् । गुरुङको मात्र होइन, आज पोखरा महानगरपालिका वडा नं.२५ हेमजा आसपासमा रहेका २४२ जना भूमिहीन दलित र भूमिहीन सुकुम्बासीहरुको हृदय खुसीले गदगद भएको छ । पोखरा महानगरपालिका र राष्ट्रिय भूमि आयोग कास्कीले संयुक्त रूपमा मङ्गलवार २४२ सुकुम्वासी परिवारलाई जग्गा प्राप्तिको पहिलो चरणमा दिइने निस्सा वितरण गरे । स्थानीय तहको निर्वाचन ताका भूमिहीन समस्या समाधान गर्ने उद्घोष गर्नुभएका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आफ्नै हातले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीहरुलाई निस्सा वितरण गर्न पाउँदा आफ्नो घोषणाले सार्थकता पाएको भन्दै खुसी व्यक्त गर्नुभयो । जनताका सामु आफूले गरेको बाचा आंशिक रूपमा पुरा भए पनि यसको सिलसिला सुरु भएको उहाँले बताउनुभयो । ‘हामीले चुनावी सभाको प्रारम्भ यही वडाबाट गरेका थियौँ, त्यस बेला भनेका थियौँ कि, भूमिहीन दलित तथा सुकुम्बासीहरुलाई निस्सा पनि यहीबाट वितरण गरिनेछ, आचार्यले भन्नुभयो, आज त्यो पुरा भएको छ, यस प्रक्रियामा सहयोग गर्ने सबै सरोकारवालाहरूलाई म धन्यवाद दिन चाहन्छु ।’ यो नियमित काम भएका कारण निर्वाचन आचारसंहिताले पनि नरोक्ने उहाँले बताउनुभयो । पोखरा महानगरपालिकामा प्राप्त १९ हजार ८ सय ५६ भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको निवेदनहरू उपर आवश्यक प्रक्रिया पुरा गरी राष्ट्रिय भूमि आयोगसँगको समन्वयमा व्यवस्थित गर्दै लैजाने क्रममा महानगरपालिका रहेको प्रमुख आचार्यले उल्लेख गर्नुभयो । उहाँका अनुसार पोखरा महानगरपालिका भूमिहीन समस्याको दिगो समाधानको पक्षमा छ । राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गङ्गा पोख्रेलले विभिन्न कारणले सुकुम्वासी बनेका नागरिकहरूलाई जमिनको मालिक बनाउने काम कास्कीमा पनि प्रारम्भ भएको उद्घोष गर्नुभयो । भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुले प्राप्त गरेको जग्गाको निस्सा अव कसैले पनि खोस्न नसक्ने उहाँले विश्वास दिलाउनुभयो । अहिले बसिरहेको स्थान उपयुक्त नभए आयोगले अर्को स्थान खोजेर भए पनि उचित व्यवस्थापन गर्ने पोख्रेलले बताउनुभयो । पोखरा महानगरपालिका वडा नं. २५ का वडा अध्यक्ष मोतीराज तिम्सिनाले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुलाई निस्सा वितरणको काम आफ्नै वडाबाट सुरु भएकामा खुसी व्यक्त गर्नुभयो । वडा नं. २५ मा रहेका यस प्रकृतिका बसोबासीहरुको समस्याको दिगो समाधानमा जोड दिँदै उहाँले निस्सा वितरणको कामले पूर्णता पाउने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय भूमि आयोग कास्कीको तथ्याङ्क अनुसार पोखरा महानगरपालिकाका ३३ वटा वडाबाट हालसम्म १९ हजार ८ सय ५६ भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको निवेदन सङ्कलन भएको छ । कास्की जिल्ला भर भने ३० हजारको हाराहारीमा यस प्रकृतिका परिवारहरूको बसोबास रहेको आयोगको अनुमान छ ।
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधबार राति हेम्स अस्पताल धुम्बाराहीमा स्वास्थ्य परीक्षण गर्दा उहाँलाई सङ्क्रमण पुष्टि भएको हो । नेता सिटौलाका स्वकीय सचिव प्रेम भट्टराईका अनुसार उहाँको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र चिकित्सकको परामर्शअनुसार ‘होम आइसोलेसन’मा बस्नुभएको छ । कांग्रेसका पूर्वमहामन्त्री सिटौला आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा पाँच दलीय गठबन्धनको सिट बाँडफाँट कार्यदलको संयोजकसमेत हुनुहुन्छ ।

