पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराको विभिन्न स्थानबाट ४ जनालाई लागुऔषधसहित प्रकाउ गरेको छ । कास्की प्रहरीका अनुसार पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका–९ स्थायी घर भइ हाल पोखरा–३० खत्रीचोक बस्दै आएका ४४ वर्षिय ईन्द्रमान गुरुङ (सन्तोष), पोखरा–१३ बाझापाटन बस्ने ४० वर्षका विकास गुरुङ, पोखरा–३१ भलाम बस्ने सावाँ वि.क र पोखरा–३० घर भइ हाल बगालेटोल बस्दै आएका ५३ वर्षिय कुमार गुरुङ रहेका छन् । उनीहरुको साथबाट विभिन्न परिमाणमा डाईजेपाम, फेनेरागन, नुर्फिन लगायतका ३७० एम्पुल अवैध लागु औषध बरामद गरेको कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी सुन्दर तिवारीले जानकारी दिए । उनका अनुसार उनीहरुलाई लागुुऔषध सम्बन्धि कसुरमा ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
कागेश्वरी मनोहरा नगरपालिकाले असहाय गाईबाच्छा उद्धार गरी संरक्षणका लागि एम्बुलेन्स खरिद गर्न रु २३ लाख आर्थिक सहयोग गरेको छ । नगर प्रमुख उपेन्द्र कार्कीले असहाय गाईबाच्छा संरक्षण अभियानका संयोजक उत्तम पुडासैनीलाई सोमबार रु २३ लाखको चेक हस्तान्तरण गर्नुभएको हो । प्राप्त सहयोगले सडक, मठमन्दिर एवं सार्वजनिकस्थलबाट गाईबाच्छा उद्धार गरी संरक्षण स्थलसम्म लैजान पशु एम्बुलेन्स खरिद गरिने भएको छ । अभियानले विसं २०७५ जेठ १ गतेदेखि सडक, मठमन्दिर एवं सार्वजनिक स्थलमा छाडा छोडिएका गाईबाच्छाको उद्धार गरी संरक्षण गर्दै आएको छ । एम्बुलेन्स खरिद गर्न नगरपालिकाबाट सहयोग प्राप्त भएसँगै लामो समयदेखिको सपना साकार भएको संयोजक पुडासैनीले बताउनुभयो । यो धर्ती अबोध प्राणीको पनि भएकाले निरन्तर सहयोग जुटाउँदै अभियानले छाडा छोडिएको गाईबाच्छा संरक्षण गर्दै आएको छ । लक्ष्मीमाताका रूपमा वैदिक सनातन हिन्दू धर्मावलम्बीले पुज्ने गाईबाच्छाले पनि ससम्मान जिउन पाउनुपर्छ भन्ने स्थापित गर्न अभियान सुरु भएको हो । सडकमा अलपत्र गाईबाच्छाको उद्धारमा अहोरात्र क्रियाशील असहाय गाईबाच्छा संरक्षण अभियानको आश्रयस्थलमा हाल करिब दुई सय गाईबाच्छाले संरक्षण पाइरहेका छन् । अभियानअन्तर्गत हरेक दिन सडकमा अलपत्र छाडिएका गाईबाच्छाको उद्धार गरिँदै आएको छ । स्वयंसेवीस्तरमा सञ्चालित अभियानमा व्यापक जनसमर्थन रहँदै आएको छ । समर्थनस्वरूप स्थानीयवासी र टाढाटाढाबाट समेत जन्मदिन मनाउन असहाय गाईबाच्छा संरक्षणस्थलमा सहयोगीको भीड लाग्ने गरेको छ । एम्बुलेन्सको आगमनसँगै अभियानमा नयाँ आयाम थपिने भएको छ । आगामी हप्तादेखि अलपत्र गाईबाच्छाको उद्धार एवं उपचारका लागि पशु एम्बुलेन्स प्रयोगमा आउने छ । अभियानका लागि नगरपालिकाको वडा नं ८ गोठाटारमा पशुपति क्षेत्र विकास कोषले एक सय रोपनी जग्गा उपलब्ध गराएको छ । कोषको गुरुयोजनाअनुसार यो स्थानमा गौशाला स्थापना गर्ने लक्ष्य राखिएको छ ।
भक्तपुर । भक्तपुर–सूर्यविनायक नगरपालिका–७ गुन्डुस्थित पाथिभरा मन्दिर परिसरमा नेपालकै पहिलो द्वारकाधाम निर्माण हुने भएको छ । भारतको चारधाम उतराखण्डस्थित बद्रिनाथ, तामिलनाडुस्थित रामेश्वरम, गुजरातस्थित द्वारकाधाम र उडिसास्थित जगनाथपुरीलाई भनिन्छ । गुजरातस्थित द्वारकाधाम स्वरुपको धाम बुधबार शिलान्यास गरिने पाथिभरा मन्दिरका मूल पूजारी गुरु अरविन्द शास्त्रीले जानकारी दिनुभयो । हिन्दू धर्मावलम्बीले मान्दै आएको चार धाममध्येको एक धाम हो द्वारकाधाम । नेपालका नागरिक द्वारकाधामको दर्शन गर्न गुजरात जाने गर्छन् । नेपालमा मुक्तिनाथ, पाशुपत, रुरु, र बरहा क्षेत्रलाई चारधाम भनिन्छ । नेपालमा निर्माण हुन लागेको द्वारकाधामका लागि करिब आठ रोपनी जग्गा अर्जुन बस्नेतलगायतले उपलब्ध गराउनुभएको र यसका लागि रु २० करोड खर्च लाग्ने अनुमान गरिएको छ । मन्दिर स्थानीय, प्रदेश र सङ्घीय, सरकार तथा विभिन्न दाताको सहयोगमा गरिने नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिनुभयो ।
काठमाडौं: प्रतिनिधिसभाका सांसदहरुले सरकारले सरकारी कर्मचारीको तलबमा विभेद गर्न नहुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद हृदयेश त्रिपाठीले सरकारले कुनै कर्मचारीलाई १५ प्रतिशत मात्रै र कुनैलाई २६ प्रतिशत तलब वृद्धि गर्नु गलत भएको तर्क गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारी कर्मचारीका निम्ति सरकारले तलब वृद्धि गरेको छ, यसमा एउटा दुविधा देखिएको छ, राजपत्र अनङ्कित कर्मचारी १५ प्रतिशत र राजपत्र अङ्कित कर्मचारीका लागि २४ देखि २६ प्रतिशत तलब वृद्धि हुने भएको छ, जसले गर्दा नायब सुब्बाहरु आन्दोलनमा छन्, त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।” संविधान जारी भएपछि सबैभन्दा पहिला निजामती ऐन जारी हुनुपर्ने बताउँदै समयमै ऐन जारी नभएका कारण पनि निजामती सेवामा केही समस्या हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ऐन नबन्दा सुशासनभन्दा पनि शासन गर्न गाह्रो भइरहेको छ, ऐन नहुँदा प्रदेश लोक सेवा आयोगले पूरा काम गर्न सकेको छैन, स्थानीय सेवा र प्रदेश सेवाको गठन हुन सकेको छैन, स्थानीय तहमा आठ प्रकृतिका कर्मचारी छन्, जसलाई समायोजन गर्न सकिएको छैन, निजामती सेवाको बनावट र वितरण त्रुटिपूर्ण छ ।” सांसद निरादेवी जैरुले सप्तकोसीमा भएको बाढीका कारण त्यस क्षेत्रका नागरिक मर्कामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । काठमाडौँको फोहर व्यवस्थापन गर्नुपर्ने उहाँको माग छ । उहाँले दलित समुदायका व्यक्तिलाई हेपेर ‘कुकुर’ ‘कुकुर्नी’ जस्ता नाम राखेर नागरिकता दिने गरिएको भन्दै नागरिकता वितरण गर्ने सम्बन्धित व्यक्तिलाई कारबाही गर्नुपर्ने माग गर्नुभयो ।
काठमाडौं । नेकपा एमालेले आसन्न प्रतिनिधि र प्रदेश सभा चुनावका लागि दल दर्ता गराएको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, विष्णु रिमाल लगायतका नेताले निर्वाचन आयोगमा पुगेर दल दर्ता गरेका हुन् । नेकपा एमाले १० औं नम्बरमा दर्ता भएको छ । ४ मंसिरमा हुने चुनावका लागि अहिले निर्वाचन आयोगले दल दर्ता गरिरहेको छ ।
नवलपुर। कसैलाई तपाइले सोध्नुभयो,‘तपाईको छोराछोरी कुन स्कुलमा पढ्छन् ?’ उत्तर आउन सक्छ,‘ स्कुल होइन हाम्रा बाबुनानी त बोर्डिङ पढ्छन् ।’ अथवा सरकारी सामुदायिक विद्यालय पढ्ने रहेछन् भने,‘यहिँको फलानो स्कुल जान्छ ।’ त्यसो त यहाँ यो ठिक वा त्यो बेठिक भन्ने पगरी गुथाउन खोजीएको होइन । यथार्थताको धरातलमा उभिएर नियाल्दा वर्ग विभेदको माध्यम पनि नबनेको होइन स्कुल बोर्डिङ । राम्रो विद्यालयमा शिक्षा दिउँ भन्ने रहर कुन बाबुआमालाई नहोला । सन्तानको उज्जवल भविष्यका लागि छाक टारेरै भएपनि अभिभावक शिक्षामा सम्झौता गर्दैनन् । महँगो मासिक शुल्कको भारी बोकेरै भएपनि नीजि विद्यालय पठाउँछन् । कारण, सरकारी विद्यालयसँग आम अभिभावक विश्वस्त हुन अझैपनि सकिरहेका छैनन् । तर देशमा यस्ता केही सामुदायिक र सरकारी विद्यालय छन्, जहाँ पुग्दा मात्रै पनि तपाइलाई ‘वाह !’ भन्न मन लाग्छ । त्यस्तै विद्यालय मध्येको एक हो नवलपुर जिल्ला देवचुली नगरपालिकास्थित भिमसेन आदर्श नमूना माध्यमिक विद्यालय । गौरवमय ५ दशक बढीको लामो इतिहास, उदाहरणीय विरासत र अनवरत अब्बल नतिजाकै कारण यस विद्यालयले आम विद्यार्थी एवं अभिभावकको विश्वास जित्दै आएको छ । यहाँ यस क्षेत्रका मात्रै होइनन्, विभिन्न ९ जिल्लाबाट विद्यार्थीहरु अध्ययनका लागि आउने गर्दछन् । विसं २०२६ सालमा स्थापना भएको यस विद्यालयले २०६० सालबाट अंग्रेजी माध्यमबाट अध्ययन अध्यापनको सुरुवात गर्यो । २०६७ सालको एसएलसी परिक्षामा आकाश न्यौपाने ‘नेपाल टप’ भएपछि विद्यालयको शिर थप उचोँ भयो । हरेक वर्ष उत्कृष्ट नतिजा दिन सफल यस विद्यालयका विद्यार्थी पटक पटक जिल्ला प्रथम समेत हुँदै आएका छन् । उत्कृष्ट विद्यालयको रुपमा शिक्षा मन्त्रालयबाट सम्मानित समेत भएको यस विद्यालय देशकै नमूना विद्यालयको रुपमा पनि घोषित भयो । अहिले झण्डै २ हजार विद्यार्थी यहाँ अध्ययन गर्छन् । विद्यालयको हरेक कक्षाकोठामा प्रोजेक्टर छन् । विद्यार्थीहरु विद्यालय समयमा सिसिटिभिको निगरानिमा रहिरहन्छन् । अध्ययनलाई थप व्यवहारिक र परिणाममुखी बनाउन यहाँका शिक्षक, व्यवस्थापन समिति र समुदाय लागिपर्दै आएका छन् । कक्षा ६ देखि १२ सम्म अध्ययन हुने यस विद्यालयका प्रधानाध्यापक हुन् अग्नि भुसाल । रोचक के छ भने, उनि यहिँका विद्यार्थि थिए । यहि विद्यालयबाट उनले एसएलसी उत्तिर्ण गरेका हुन् । योङ्ग, इनर्जेटिक, बोल्ड छवि बनाएका प्रधानाध्यापक भुसाल विद्यालयलाई थप उचाई दिन लागिरहेका छन् । समयअनुसार प्रविधिको भरपुर प्रयोग गर्दै विद्यार्थीले इच्छाए अनुसारका सिप, तालिम लगायतका अतिरिक्त क्रियाकलापहरुमा पनि विद्यालय अब्बल रहेको उनि बताउँछन् । भन्छन्,‘कोर्स बुकहरु त भइहाल्यो, यसका अलवा हाम्रा विद्यार्थीहरु खेलकुद लगायतका क्रियाकलापहरुमा पनि अगाडी छन् । हामीले स्रोत साधनमा कमि हुन दिएका छैनौँ । यहि भदौ १ गतेबाट जुनियर र सिनियर सुरक्षा तालिम पनि सञ्चालन गर्दै छौँ ।’ प्रधानाध्यापक भुसालले शिक्षामा सबैको समान पहुँच र गुणस्तरिय शिक्षा नै आफ्नो मुल उद्धेश्य रहेको बताए । ‘यस विद्यालयमा जुनसुकै र जस्तोसुकै परिस्थितीबाट पनि अध्ययनका लागि आउने विद्यार्थि सहज भर्ना हुन पाउँछन्,’ उनले भने,‘विद्यार्थीको क्षमताबारे अध्ययनका लागि ईन्ट्रान्स एक्जाम चाहिँ लिने गरेका छौँ । तर सबै भर्ना हुन पाउँछन् ।’ उनले भने । यस क्षेत्रको मात्र नभई आसपासका विभिन्न जिल्लाका अभिभावकहरुको पहिलो रोजाई हो भिमसेन आदर्श नमूना माध्यमिक विद्यालय । यहाँको सेवा, सुविधा र मुलतः गुणस्तरिय शिक्षाकै कारण आकर्षण बढ्दै गएको प्रधानाध्यापक भुसालको दाबी छ । ‘हामी विद्यार्थीको मनोविज्ञानमा सदैव सजग छौँ । यहाँको सेवा सुविधा र गुणस्तरीय शिक्षाकै कारण आकर्षण बढिरहेको छ । फलस्वरुप हामी नगरपालिका, जिल्ला र राष्ट्रमै अब्बल विद्यालयको छवि निर्माण गर्न सफल भएका छौँ ।’ उनले भने,‘हामी मात्रै उत्कृष्ट भएर हुदैँन, यहाँको नगरपालिका, जिल्ला र राष्ट्रमै सामुदायिक विद्यालयहरु अब्बल हुनुपर्छ भन्ने मेरो मान्यता हो ।’ यस विद्यालयबाट एसईई परिक्षामा जिल्लामा सबै भन्दा बढी विद्यार्थी सहभागी थिए । सबै विद्यार्थी उत्तिर्ण पनि भए । विद्यालयले अहिले कक्षा ११ मा भर्ना खुलाएको छ । प्रधानाध्यापक भुसालले एसईई उत्तिर्ण भएका सम्पूर्ण विद्यार्थीहरुलाई भर्नाका लागि आह्वान गरे । उनले भने ‘अहिले कक्षा ११मा भर्ना खुलाएका छौँ । म सम्पूर्ण विद्यार्थी र अभिभावकहरुलाई आह्वान गर्दछु ।’ अहिले यस विद्यालयमा लगभग ५ सय विद्यार्थी प्लस टू मा अध्ययनरत छन् । पूर्वाधार सम्पन्न यस विद्यालयले विद्यार्थीकालागि सवारी सुविधा पनि उपलब्ध गराएको छ । विद्यालयले विसं २०८० सालको अन्तसम्म सूचना प्रविधियुक्त विद्यालय र कक्षाकोठा घोषणा गर्ने तयारी गरेको छ । यसका लागि आवश्यक कार्यहरु भइरहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष सत्यनारायण भुसालले जानकारी दिए । साथै, अन्य जिल्ला वा टाढाबाट आउने विद्यार्थीको सहजताका लागि यहि वर्षबाट सुरु हुने गरि आवास गृहका लागि तयारी थालिएको अध्यक्ष भुसालले बताए ।
महोत्तरी: महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकास्थित जङ्गलमा हरिणको आक्रमणमा परी एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिबास नगरपालिका–८ सतखोली बस्ने ८० वर्षीया सुनमाया विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । सोमबार साँझ घर नजिकैको जङ्गलमा रहेको बाँसको झ्याङमा बस्न जाने आएको हरिणले आक्रमण गर्दा उनको मृत्यु भएको थियो ।
नेपालमा नयाँ प्रजातिको छेपारो फेला परेको छ । पूर्वी नेपालको मोरङ जिल्लास्थित मिक्लाजुङ गाउँपालिकाअन्तर्गत पर्ने चुरे क्षेत्रमा जैविक विविधताको अध्ययन गर्ने क्रममा यसरी पहिलोपटक नयाँ प्रजातिको छेपारो फेला परेको हो । यसको नाम ‘सिक्किम छेपारो’ अर्थात् वैज्ञानिक नाम ‘ट्याकीड्रोमस सिक्किमेन्सिस’ हो । ‘लेसरटिडे’ परिवारअन्तर्गत पर्ने यो छेपारोको नयाँ प्रजाति फेला परेसँगैै नेपालमा अब छेपारो प्रजातिको सङ्ख्या ४१ पुगेको छ । परिवार पनि थपिएको छ । संरक्षणकर्मी विवेक गौतम, सन्तोष भट्टराई र डा रामचन्द्र कँडेल सम्मिलित टोलीले अनुसन्धानमा नयाँ प्रजाति फेला परेको पुष्टि गरेको हो । “यो छेपारो रेकर्ड भएसँगै नेपालमा पाइने छेपारोको परिवारसमेत छ बाट सात पुगेको छ”, नेपाल कन्जरभेसन एण्ड रिसर्च सेन्टरका सरीसृप अध्येता भट्टराईले भन्नुभयो । उहाँ हाल फेडेरेशन विश्वविद्यालय अष्ट्रेलियामा नेपालका उभयचर र सरीसृप प्रजातिबारे विद्यावारिधिसमेत गर्दै हुनुहुन्छ । यसका बारेमा खास अध्ययन नभएकाले अबका दिनमा यसका गतिविधिसहित सबै आयामबारे अध्ययन गरिने पनि उहाँले बताउनुभयो । विश्वमा ‘ट्याकीड्रोमस’ छेपारोको २४ प्रजाति फेला परेको छ । नेपालमा भेटिएको ‘सिक्किम छेपारो’ भने नेपाल र भारतको सिक्किममा मात्र पाइन्छ । त्यसैले यसको नाम सिक्किम छेपारो भनिएको हो । यो संसारमा सबैभन्दा पहिले सन् १८८८ मा सिक्किममा फेला परेको थियो । त्यसैले यसको नाम ‘सिक्किमेन्सिस’ भनेर नामकरण गरिएको यो छेपारो प्रजाति, दोस्रोपटक एक सय २१ वर्षपछि सन् २००९ मा सिक्किममै फेला परेको थियो । जैविक विविधता अनुसन्धानका क्रममा सुरुमा मोरङको मिक्लाजुङ क्षेत्रको जङ्गलमा पाइएको यो छेपारो पछिल्लो समयमा पाँचथर र इलामको चुलाचुली क्षेत्रमा समेत फेला परेको जैविक विविधता अनुसन्धान तथा संरक्षण समाजका अनुसन्धानकर्ता विवेक गौतमले जानकारी दिनुभयो । नियमित पानी छेपारोको अनुसन्धान गर्ने क्रममा त्यही आसपासको भू–भाग हेरौँ भनेर लाग्दा आफूले नयाँ छेपारो फेला पारेको उहाँले बताउनुभयो । “सुरुमा अलि लामो पुच्छर भएको छेपारो देख्यौँ, त्यो बेला समाउन सकेनौँ, फोटोबाट हेर्न गाह्रो हुन्छ, त्यस दिन बसेर खोज्यौँ, अर्को दिनचाहिँ फेरि फेला पार्यौँ र नापजाँच गर्यौँ”, गौतमले रासससँग अनुभव सुनाउँदै भन्नुभयो, “अध्येता सन्तोष सर (सन्तोष भट्टराई)लाई जानकारी गराएँ, हामीले त्यसको एक हप्तामै अड्कल चाहिँ काटिसकेका थियौँ, अहिले जर्नलमै आयो, फेमिली नै नयाँ, प्रजाति नै नयाँ फेला पारी संरक्षणमा योगदान दिन पाइयो, खुसी छौँ ।” यसको शरीरको माथिल्लो भागको रङ खैरो तथा चिउँडो र छातीको भाग हल्का हरियो–पहेँलो रङ हुने यो छेपारो करिब चार सेन्टिमिटर लामो तथा पुच्छर शरीरभन्दा तीन गुणा बढी लामो हुन्छ । यो प्रजाति कटुस, चिलाउने र उत्तिस मिश्रित जङ्गलमा भेटिएको थियो । नेपालमा सन् २०२१ को सेप्टेम्बरमा फेला परेको उक्त छेपारोबारे युरोपियन जर्नल ‘हेर्पेटोजोआ’मा सोमबार प्रकाशित भएको छ । चुरे क्षेत्रका अनुसन्धानकर्मीहरूको नजरमा समेत ओझेलमा परेको क्षेत्र भएकाले सघन र नियमित अनुसन्धान गर्ने हो भने थुप्रै नयाँ प्रजाति भेटिने सम्भावना रहेको भट्टराईले बताउनुभयो । उहाँका अनुसार यसअघि विगतमा राष्ट्रिय प्रकृति संरक्षण कोषले गरेको अध्ययनमा समेत विभिन्न नयाँ प्रजाति भेटिएको थियो । नेपालमा हालसालै मात्र फेला परेको भए पनि यो प्रजातिको बासस्थानको निरन्तर विनास, क्षयीकरण र जलवायु परिवर्तनले विश्व संरक्षण सङ्घ (आइयुसीएन)को रातो किताबमा यो प्रजातिलाई ‘सङ्कटापन्न’ सूचीमा राखिएको छ । नेपालमा तीव्रदरमा भइरहेको चुरेको दोहन र बासस्थानको विनासले यो प्रजातिमा कस्तो असर परिरहेको छ भन्ने कुराको विस्तृत अध्ययन हुन बाँकी छ । चुरे क्षेत्रमा अत्यधिक मानवीय गति बढेको, बासस्थान विनाश, ढुङ्गा–गिट्टी बालुवाको अत्यधिक दोहनले गर्दा यस्ता थुप्रै प्रजाति नेपालमा फेला पर्नुअघि नै लोप हुनसक्ने खतरा रहेको संसरक्षणकर्मीहरू बताउँछन् । उहाँहरुले सरकारलाई चुरे क्षेत्रमा जैविक विविधताको पकेट क्षेत्र पहिचान गरी संरक्षणको ठोस कार्यक्रम लागू गर्न र प्राथमिकतामा नपरेका सरीसृप प्रजातिको अध्ययन अनुसन्धान बढाउनुपर्ने सुझाव दिनुभएको छ ।
पर्वतीय पर्यटन व्यवसायीहरूको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशेसिएशन अफ नेपाल (टान)को निर्वाचनमा अध्यक्षका प्रतिस्पर्धी निलहरि बाँस्तोलाका नेतृत्वमा नयाँ समीकरण बनेको छ । निर्वाचनमा नेपाली कांग्रेस समर्थित पर्यटन व्यवसायी बाँस्तोलाको नेतृत्वमा नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) समर्थित पर्यटन व्यवसायी सहकार्य गर्न तयार भएका हुन् । कांग्रेस निकट व्यवसायीहरूको सङ्गठन नेपाल पर्यटन व्यवसायी सङ्घ (निट) र एमाले निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनबीच सहकार्य गरेर निर्वाचनमा जाने सहमति भएको हो । टानको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा दुवै सङ्गठन सहकार्य गरेर जाने सहमति भएको निटका अध्यक्ष दीपक महतले जानकारी दिनुभयो । यस्तै बाँस्तोला नेतृत्वमा एकीकृत समाजवादी निकट पर्यटन व्यवसायी सङ्गठनले पनि सहकार्य गर्ने जनाइएको छ । अध्यक्ष महतले टान नेतृत्व चयनका लागि तीन सङ्गठनबीच सहकार्य गरेर जाने समझदारी बनेको जनाउँदै नेकपा (माओवादी केन्द्र) निकट पर्यटन व्यवसायी सङ्गठनलाई पनि राष्ट्रिय सहमतिका साथ सहकार्य गरेर जान आह्वान गरिएको बताउनुभयो । उहाँले निर्वाचनमा सहकार्य गर्ने निर्णय भए पनि अध्यक्ष बाहेकका अन्य पदाधिकारी र सदस्यमा पद बाँडफाँटको पहल भइरहेको उल्लेख गर्नुभयो । टान निर्वाचनमा अध्यक्षका प्रत्यासी बाँस्तोलाले उम्मेदवारी घोषणा गरेर आफ्ना चुनावी एजेण्डासहित प्रचार–प्रसारलाई तीव्रता दिनुभएको छ । टानको अध्यक्ष पदका लागि बाँस्तोला, राजेन्द्रप्रसाद सापकोटा, कमल सापकोटा र बोधराज भण्डारीले उम्मेदवारी घोषणा गर्नुभएको छ । यही साउन ३० गते हुने टानको निर्वाचनमा अध्यक्ष, पदाधिकारी र सदस्य गरी कुल २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित र बाँकी सदस्य मनोनित गरिनेछ । टानमा करिब एक हजार आठ सय व्यवसायी आवद्ध छन् ।

