आचारसंहिता उल्लंघन  गरेको अभियोगमा निर्वाचन आयोगले स्पष्टीकरण सोधेकामध्ये २४ उम्मेदवारले जवाफ बुझाएका छन्।   आयोगले ३४ जनालाई स्पष्टिकरण सोधेको थियो। त्यसमध्ये अझै १० उम्मेदवारले जवाफ दिएका छैन...

  कैलाली:   कैलालीको टीकापुर नगरपालिका–१ स्थित जमरा कुलोमा डुबेर आज एक बालकको मृत्यु भएको छ ।   एकतानगर शिविरका १२ वर्षीय दिनेश परियारको जमरा कुलोमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिनुभयो ।    नुहाउने क्रममा डुबेर बेहोस भएका परियारलाई उपचारका लागि टीकापुर अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

  मकवानपुर:   हेटौंडा उपमहानगरपालिका वडा नं ४, ५, १० र ११ मा केही दिनदेखि डेङ्गुको प्रकोप बढ्दै गएको छ ।यी चारै वटै वडामा करिब ४० जना डेङ्गुका सङ्क्रमित फेला परेको हेटौंडा उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ । अहिले डेङ्गुका बिरामीको चितवनको भरतपुर, काठमाडौँ र हेटौंडा अस्पतालमा उपचार भइरहेको उक्त महाशाखाका स्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभयो ।    वडा नं  ४ र ५ को प्रत्येक टोलको घरमा लामखुट्टे नियन्त्रण गर्न अहिले स्प्रे गरिरहेको र घर वरपर जमेको पानी फ्याक्ने कार्य भइरहेको पनि उहाँले बताउनुभयो । यसैगरी उक्त महाशाखाले प्रत्येक वडाको टोलमा डेङ्गु रोग पहिचानका लागि  तथ्याङ्क सङ्कलन गर्न आगामी भदौको पहिलो हप्तादेखि स्वास्थ्यकर्मीहरुको टोली परिचालन गर्न लागिएको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले बताउनुभयो ।      डेङ्गु विरुद्धको औषधि तत्कालै आपूर्ति गरेर एक हप्ताभित्रै सङ्क्रमण फैलिएका क्षेत्रको विभिन्न घरमा छकर्ने तालिका मिलाइसकिएको पनि उहाँले जानकारी दिनुभयो । विगत डेढ वर्ष अघि पनि वडा नं ४, ५ र १० मा डेङ्गुका बिरामी फेला परेको थियो  । 

  काठमाडौं:   नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शशाङ्क कोइरालाले संविधानको रक्षाका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सत्तारूढ  गठबन्धन दलहरुबीच तालमेल आवश्यक भएको बताउनुभएको छ ।    सञ्चारकर्मीसँग आज यहाँ कुराकानी गर्दै उहाँले कांग्रेससित निर्वाचनमा एक्लै लड्न सक्ने तागत भए पनि संविधानको रक्षा, देशको विकास र स्थिरताका लागि तालमेल गर्नुपरेको बताउनुभयो ।   उहाँले भन्नुभयो, “सरकार पनि गठबन्धनको छ । गठबन्धनबाट निर्वाचनमा जाँदा सहज हुन्छ ।” तालमेल गरेर निर्वाचनमा जाँदा काङ्ग्रेसले एक सय सिट पाउनु पर्ने उहाँको दावी छ । तालमेलमा के हुन्छ भन्ने कुरामा अहिले भन्न नसकिने भन्दै उहाँले थप्नुभयो “एमालेसँग प्रतिस्पर्धा गर्नका लागि एक हुनु पर्यो ।” अहिलेको परिस्थितिमा सबै दलहरु कोही न कोहीसँग सहकार्य गरेर मात्रै निर्बाचनमा आउने उहाँको भनाई थियो ।​संबिधान र एमाले अध्यक्ष ओलीको प्रतिगमनको बिरुद्धमा एक भएका दलहरु एक ठाउँ भएर निर्वाचनमा जाँदा राम्रो हुने कोईरालाले बताउनुभयो ।  यसैबीच नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले आगामी निर्वाचनमा काङ्ग्रेसका उम्मेदवारहरुलाई कसरी बलियो बनाउने भन्ने बिषयमा सोच्ने समय आएको बताउनुभयो । उहाँले भन्नुभयो “टिकट वितरणदेखि उम्मेदवारलाई विजयी गराउनेसम्मको मार्गचित्र अहिले देखिनै बनाउनु पर्छ ।” देशलाई स्थिर सरकार दिनका लागि पनि पदाधिकारीहरु जिम्मेवार भएर प्रस्तुत हुनु पर्ने उहाँको भनाई थियो ।   फरक प्रसंगमा बोल्दै पौडेलले कांग्रेसका भातृ संस्थाहरुले साउन महिना भित्रै पूर्णता पाउने बताउनुभयो । तत्काल आम निर्वाचनको मिति तोकिएकाले सबै निर्वाचन केन्द्रित हुने भन्दै उहाँले निर्वाचन पछि भातृ संस्थाहरुको अधिबेशन हुने बताउनुभयो । उहाँले भन्नुभयो “भातृ संस्थाहरुले पूर्णता पाउँछ । अनि निर्वाचनमा जान्छन् । भातृ संस्थाको अधिबेशन निर्वाचन पछि मात्रै होला ।”

  कोलकाता:   नेपाली भाषा तथा साहित्यको विकासमा आदिकवि भानुभक्त आचार्यले पुर्याएको योगदानलाई चिरस्थायी बनाउन भारतको पश्चिम बङ्गाल सरकारले स्थानीय हावडा सहर तथा त्यस वरपर क्षेत्रमा आदिकविको स्मरणमा शालिक स्थापनाका साथै भानुचोक घोषणाको गृहकार्य गरेको छ ।      कोलकातामा लामो समयदेखि बसोबास गर्ने नेपाली भाषा बोल्ने समुदायले आदिकविलाई अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्न गरेका प्रयासस्वरुप उक्त कार्य थालिएको हो ।      आदिकवि भानुभक्तको २०९ औँ जन्मजयन्तीको अवसरमा नेपाली जनकल्याण समिति (हावडा)को  आयोजनामा हालै सम्पन्न कार्यक्रममा सहभागी हुनुभएका पश्चिम बङ्गालका समन्वयमन्त्री अरुप रायले आदिकवि नेपाली भाषाका अगुवा भएको बताउँदै कोलकातास्थित हावडा सहर तथा त्यस वरपर क्षेत्रलाई उहाँको स्मृतिमा नामकरण गरिने घोषणा गर्नुभयो । आदिकविले रामायणको अनुवादका माध्यमबाट धार्मिक विषय, तत्कालीन नेपाली समाज चिनाउन भूमिका निर्वाह गरेको बताउँदै उहाँको पूर्णकदको मूर्ति निर्माण गर्ने प्रतिबद्धता व्यक्त सो अवसरमा व्यक्त गरियो ।       धनञ्जय आचार्य र धर्मावतीदेवीका पुत्रको रूपमा तनहुँको रम्घामा विसं १८७१ असार २९ गते भानुभक्तको जन्म भएको थियो । घाँसीको समाजसेवाको भावनाले कुवा बनाउने कार्ययोजनाबाट प्रभावित भानुलाई सो विषयले आदिकवि बन्न प्रेरित गरेको थियो । घाँसीको घाँस काटेर पाटी पौवा बनाउने इच्छाबाट केही नौलो कार्य गर्ने प्रेरणा पाएको भनाइ छ ।      राजा रामको आदर्शलाई जनमानसमा फैलाउने व्यक्ति पनि भाुन नै हुन् । भाषा, साहित्य, संस्कृति, धर्म, दर्शनको राम्रो अध्ययन भएकाले उनले अनुवाद गरेको रामायण अहिलेसम्म पनि नेपाली जनजिब्रोमा उत्तिकै झुण्डिएको छ । उनलाई राष्ट्रिय विभूतिको सम्मानसमेत प्रदान गरिएको छ ।      नेपाली जनकल्याण समितिका अध्यक्ष बद्रीविक्रम थापाले आदिकवि भानुभक्त बहुआयामिक व्यक्तित्व भएको कुरा उनका समग्र रचनाले पुष्टि गरेको बताउँनुभयो । विगत २५ वर्षदेखि आदिकविको स्मरणमा यस क्षेत्रमा भानुको जन्मजयन्ती कार्यक्रम गर्ने गरिएको जानकारी उहाँले दिनुभयो । सो समितिले बिहानी नामक वार्षिक साहित्यिक पत्रिका २३ वर्षदेखि भानुमा समर्पित गरेर प्रकाशन गर्दै आएको छ ।  अयोध्याका राजा दशरथको ज्येष्ठ सन्तानका रुपमा रामको जीवनीका सबै आयामलाई लिपिबद्ध गरिएको रामायण हिन्दू धर्मावलम्बीको ठूलो कृति मानिएको छ । त्यसका संस्कृत श्लोकलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर आदिकविले सरल नेपाली भाषामा लेखेको श्लोक अहिले पनि नेपाली समाजमा लोकिप्रय छ । विभिन्न स्थानमा पढाइ हुने गुरुकुलमा यसका श्लोकको सस्वर वाचन गरिन्छ । उहाँको कविताबाट तत्कालीन सामाजिक परिवेश, सांस्कृतिक परम्परा, मूल्यमान्यतालाई अध्ययन तथा गहन विश्लेषण गर्न सकिन्छ ।      नोबल पुरस्कार विजेता रवीन्द्रनाथ टैगोरको जन्म पनि कोलकाताको जोडासाँकु भन्ने ठाउँमा सन् १८६१ मे ७ मा भएको थियो । विश्वविख्यात कवि, साहित्यकार, दार्शनिकका रुपमा परिचित टैगोर एशियाकै पहिलो नोबेल पुरस्कार विजेता हुन् । उनले साहित्य, सङ्गीत र चित्रकलामा विशेष ज्ञान राख्थे । उनको काव्यरचना गीताञ्जलिका लागि सन् १९१३ मा साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरियो । टैगोरको स्मरणमा पनि नेपालस्थित भारतीय दूतावासका साथै अन्य साहित्यकार र तीनका संस्थाले साहित्यिक कार्यक्रम आयोजना गर्ने गरेको पाइन्छ ।      साहित्यको प्रभावलाई कुनै पनि भूगोल तथा देशको सिमानाले खुम्चाउन सक्दैन । साहित्य, कला, सङ्गीतको शक्तिले मानवीय संवेदनालाई बुझ्ने, सिर्जनशीलता, ज्ञान, चेतना, विकास, समृद्धिका लागि प्रेरित गर्ने गर्दछ ।     विविधताले भरिएको नेपाली जाति समुदायको एकता, राष्ट्रिय पहिचान तथा नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान रहेकोले नेपाली भाषा बोल्ने सबैले उहाँको सम्मान गर्नुपर्ने तिलकराम पौडेलको धारणा छ । ऊर्जा विज्ञ उहाँ नेपाली मूलको भारतीय नागरिक हुनुहुन्छ । भानुभक्तको योगदानलाई फैलाउन महत्वपूर्ण कार्य युवाकवि मोतीराम भट्टले गरेको इतिहास पाइन्छ । करिब तीन लाख नेपाली कामको सिलसिलामा कोलकातामा बसोबास गर्ने गरेको अनुमान छ ।      नेपाली कला, साहित्य र नृत्यको प्रवद्र्धन गर्न क्रियाशील दिलीप थापा करिब तीन दशकदेखि सोही क्षेत्रमा बसोबास गर्नुहुन्छ । नेपालीका साथै बङ्गालीलाई नृत्य सिकाउँदै आउनुभएका उहाँले नेपाली भाषीहरु विश्वका जुनसुकै स्थानमा भए पनि त्यहाँ भानुजयन्ती मनाउनुपर्नेमा जोड दिनुहुन्छ । नेपाली भाषा तथा समुदायको उन्नयनमा क्रियाशील करिब दुई दर्जन जति सङ्घ संस्था कोलकातामा छन् ।       भारतको आसाम, मणिपुरलगायतका नेपाली भाषाभाषीको बीचमा भानुभक्तको महिमा ठूलो रहेको पाइन्छ । दार्जिलिङमा भानुभक्तको शालिक छ । त्यहाँ भानुजयन्तीलाई पर्वकै रुपमा मनाइन्छ ।  बर्मा, भुटानलगायत देशमा पनि भानुजयन्ती मनाइन्छ । नेपाली, अङ्ग्रेजी, बङ्गाली र हिन्दी भाषाका ज्ञाता आशा बराल उपाध्यायले  विभिन्न जाति, भाषा, साहित्य र संस्कृतिले सजिएको नेपाललाई पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको भए पनि आदिकविले भाषा, साहित्य र संस्कृतिमार्फत सबै नेपालीलाई एकताबद्ध बनाउन भूमिका निर्वाह गरेको विचार व्यक्त गर्नुभयो । आदिकविले मानिस जन्मेपछि समग्र समाजका लागि कुनै योगदान गर्नुपर्छ, नाम कृति छाडनुपर्छ भन्ने सन्देश दिएको उहाँको भनाइ थियो ।

  सिन्धुपाल्चोक:   सिन्धुपाल्चोक जिल्लाको घुम्थाङ, धाप, नाकाते, र आसपास ठूलो वर्षा भएको छ ।        यस क्षेत्रमा पछिल्लो तीनदेखि छ घण्टा ठूलो वर्षा मापन गरिएको भन्दै जल तथा मौसम विज्ञान विभागले जिल्लाको मेलम्ची, बलेफी र अन्य साना खोलामा आकस्मिक बाढीको चेतावनी दिएको छ । बाढी पुर्वानुमान    महाशाखाले कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भन्दै बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन सो क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ । खोला निकै बढेको चनौटेका बलचित खड्काले जानकारी दिनुभएको छ । तालामाराङ्का स्थानीय बाढीका कारण बाहिर बसेका स्थानीय योगबहादुर अर्यालले बताउनुभयो ।   त्यस्तै, मेलम्ची नगरपालिका–२ निबु गाउँमा गए राति पहिरो गएको छ । राति १०ः१५ बजे गएको पहिराले भोटेचौर–काउले सडक अवरुद्ध भएको छ । त्यस्तै, केही घर जोखिममा परेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । जोखिममा परेका सुरक्षित स्थानमा गई बसेका प्रहरीले बताएको छ ।

  काठमाडौं:   पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पाँचदिने जापान भ्रमणका सिलसिलामा आज बिहान टोकियो पुग्नुभएको छ ।    आज बिहान नारिता विमानस्थलमा अवतरण भएका उनले पत्रकारसँग कुराकानी गर्दै भ्रमणका क्रममा जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई भेट्ने इच्छा रहेको तर त्यो पूरा हुन नसकेको बताए । आबे र आफ्नो पूर्वप्रधानमन्त्रीका हैसियतले पटकपटक भेटवार्ता र अन्तरक्रिया भएको सम्झिंदै प्रचण्डले यसपटकको भ्रमणमा जापानमै भेट्ने इच्छा भए पनि त्यो पूरा नभएको बताएका हुन् ।   आफ्नो भ्रमणको टुंगो लागेपछि आबेसँग भेट्नलाई राजदूत र दूतावासमार्फत मिलाउने प्रयास गरिरहेको भन्दै उनले भने, ‘उहाँलाई भेटेर नेपाल र जापानको सम्बन्धलाई अर्को हाइटमा कसरी लाने भन्ने मेरो इच्छा थियो । त्यो चाहिं पूरा भएन । बडो दुर्भाग्यपूर्ण घटना भयो । जापानका लागि त यो विरलै हुने घटना हो ।’ पूर्वप्रधानमन्त्री आबेको केही समयअघि गोली हानी हत्या भएको थियो ।  अध्यक्ष प्रचण्डले आबेका परिवारलाई समवेदना व्यक्त गर्दै मौका मिले भेट्ने  बताए ।

  काठमाडौं:   पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पाँचदिने जापान भ्रमणका सिलसिलामा आज बिहान टोकियो पुग्नुभएको छ ।       जापानको टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष दाहाललाई जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले स्वागत गर्नुभएको थियो ।      नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा अध्यक्ष दाहाल शुक्रबार राति त्यसतर्फ प्रस्थान गर्नुभएको हो । भ्रमणका क्रममा अध्यक्ष दाहालले आज जापानको फकुओकामा आयोजना हुने नेपाल फेस्टिभल समारोहको उद्घाटन गर्ने कर्यक्रम छ । अध्यक्ष दाहालले आइतबार जापानको हिरोसिमा क्षेत्रको भ्रमण गर्नुहुने उहाँको सचिवालयले जनाएको छ । जापानको हिरोसिमा र नागासाकीमा अमेरिकाले परमाणु बम खसालेको थियो । सो घटना भएको ७५ वर्ष पूरा भएको छ ।       उहाँले नेपाली जनप्रगतिशील मञ्च जापानले आइतबार टोकियोमा आयोजना गर्ने ‘समृद्ध नेपालको आधार आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयको खुला अन्तक्र्रियामा सहभागिता जनाउनुहनेछ । जापानमा रहँदा अध्यक्ष दाहालले जापानको सत्तारुढ दल लिबरल डेमोक्रयाटिक पार्टीका नेतासँग भेटवार्ता गर्ने पनि कार्यक्रम रहेकोे उहाँको सचिवालयले जनाएको छ । 

  काठमाडौँ:   देशभर आज आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।       जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको छ ।       हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको छ । रातको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।       आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

  नुवाकोटको बेलकोटगढी केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ बजेर २६ मिनेट जाँदा नुवाकोट जिल्लाको बेलकोटगढी आसपास केन्द्रबिन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको हो ।   उक्त भूकम्प गोरखा भूकम्पको पराकम्प भएको सो केन्द्रका भूकम्पविद् डा मुकुन्द भट्टराईले राससलाई जानकारी दिनुभयो । उक्त भूकम्पको धक्का नुवाकोट, रसुवा, धादिङ र काठमाडौँ उपत्यकाभित्र महसुस गरिएको थियो । भूकम्पका कारण काठमाडौँ उपत्यकाभित्र मानिस घरबाहिर निस्केका थिए । यसअघि साउन १५ गते पनि खोटाङको साकेला गाउँपालिका केन्द्र भएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।