मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि असोज २३ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले तय गरेको कार्यतालिका बमोजिम असोज २३ गते पहिलो हुने निर्वाचित हुने प्रणाली(प्रत्यक्ष)तर्फको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको उम्मेदवारी दर्ता हुनेछ । प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन व्यवस्थापनका लागि आयोगले आइतबार निर्वाचन कार्यतालिका स्वीकृत गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आयोगले उक्त तालिका पछ्याउँदै निर्वाचन कार्यक्रम सञ्चालन गर्नेछ ।” आयोगको परामर्शमा सरकारले मङ्सिर ४ गते आम चुनाव हुने मिति घोषणा गरिसकेको छ । कार्यतालिका अनुसार मङ्सिर ४ गतेदेखि समानुपातिक र प्रत्यक्षतर्फको मतगणना सुरु भएसँगै निर्वाचन कार्यक्रम टुङ्गिने छ । उक्त अवधिका लागि आयोगले ७६ वटा कार्यक्रम तय गरेको छ । यद्यपि आयोगले तालिकामा केही संशोधन हुनसक्ने जनाएको छ । आयोग उच्च स्रोतका अनुसार प्रत्यक्षतर्फका उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन हुनेछ त्यसैका आधारमा असोज २८ गतेदेखि मतपत्र छपाइ सुरु हुनेछ । मतपत्र जनक शिक्षा सामग्री केन्द्रले छाप्नेछ । जनक शिक्षा सामग्री केन्द्रले प्रत्यक्षतर्फको मतपत्र छाप्न करिब एक महिना लाग्ने जनाएको छ । घटस्थापनाको भोलिपल्ट असोज ११ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नियुक्ति हुनेछ । असोज १९ गते विजयादशमी परेको छ । असोज २१ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । प्रत्यक्षतर्फ १६५ प्रतिनिधि सभा तथा ३३० प्रदेश सभा सदस्य पदका लागि ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछन् । असोज २८ गतेदेखि मङ्सिर १ गतेसम्म मतदाता शिक्षा, मतदान सामग्री ढुवानी, मतदान अधिकृत र सहायक मतदान अधिकृतको नियुक्ति, मतपत्र ढुवानी, मतदान अधिकृतलाई निर्वाचन सामग्री हस्तान्तरण, उम्मेदवार तथा राजनीतिक दलको प्रचारप्रसार अवधि तोकिएको छ । आयोगका अनुसार मङ्सिर १ गते राति १२ बजेदेखि प्रचारप्रसारमा रोक लगाइने छ । मङ्सिर ४ गते बिहान सात बजेदेखि पाँच बजेसम्म मतदान हुनेछ । समानुपातिकतर्फको कार्यक्रम स्वीकृत हुँदै समानुपातिकतर्फको निर्वाचन कार्यक्रम स्वीकृत हुने क्रममा छ । समानुपातिक निर्वाचन प्रणालीका लागि आयोग परिसरमै निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । आयोगका अनुसार साउन ३० गते नै निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । निर्वाचन प्रयोजनका लागि साउन २२ गतेदेखि ३१ गतेसम्म दल दर्ता हुँदैछ । दर्ता भएका दलले असोज २ र ३ गते उम्मेदवारको बन्दसूची बुझाउने छन् । आगामी चुनावबाट प्रत्यक्षतर्फ १६५ प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभातर्फ ३३० जनप्रतिनिधि निर्वाचित हुनेछन् । समानुपातिकतर्फ ११० जना प्रतिनिधि सभा सदस्य तथा २२० जना प्रदेश सभा सदस्य निर्वाचित हुनेछन् ।
काठमाडौं: प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले सार्वजनिक यातायातको भाडादरका विषयमा नियमित र भरपर्दोरूपमा अनुगमन गर्ने संयन्त्र बनाउन सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले सार्वजनिक यातायातले मनोमानीरूपमा भाडा असुल्ने गरिएको भनी आमनागरिकबाट गुनासो आइरहेकाले त्यसको सम्बोधनका लागि संयन्त्र बनाउन र त्यससम्बन्धी जानकारी समितिलाई उपलब्ध गराउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो । हाल सरकारले पेट्रोलियम पदार्थको मूल्य समायोजनसँगै वैज्ञानिकरूपमा निर्धारण हुने स्वचालित विधि अपनाएर कार्यान्वयन गरिरहेको छ । समितिले नारायणगढ–मुग्लिन र नारायणगढ–पोखरा सडकमा सीमा अतिक्रमण गरी विनास्वीकृति निर्माण गरिएका घर र विद्युतका खम्बाका कारण पहिरो खस्दा पन्छाउन जटिलता भएको भन्दै ती संरचना हटाउने व्यवस्था मिलाउन पनि मन्त्रालयलाई निर्देश गरेको छ । समितिले निर्माणाधीन नारायणगढ–मुग्लिन र मुग्लिन–पोखरा सडक स्तरोन्नति निर्धारित समय र गुणस्तरमा सम्पन्न गर्न तीव्र गतिमा काम अघि बढाउन मन्त्रालयलाई निर्देशन दिएको छ । विकास निर्माणमा दीर्घकालीन समाधानसहित वातावरणमैत्री, प्रविधिमैत्री र गुणस्तरीय निर्माणका लागि विकासको उपयुक्त मोडल अवलम्बन गर्न तत्काल अध्ययन गरी कार्यान्वयनमा ल्याउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र भौतिक पूर्वाधार मन्त्रालयलाई निर्देश गरिएको छ । समितिको आजको बैठकमा भौतिक पूर्वाधारमन्त्री मोहम्मद इश्तियाक राई, सचिव गोपाल सिग्देल, सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापालगायतसँग नारायणगढ मुग्लिन र नारायणगढ–पोखरा सडकका विषयमा छलफल भएको थियो ।
कालीकोट: कालीकोट सदरमुकाम मान्म बजारमा खानेपानी अभाव भएको छ । खानेपानीको पाइप पहिरोले बगाउँदा सरदमुकाम मान्म बजारमा खानेपानीको अभाव भएको हो । सदरमुकाममा खानेपानी ल्याएको मुहान नजिकै पहिरो गएर खानेपानीका पाइप बगाउँदा सरमुकाममा खानेपानीको अभाव भएको स्थानीय नृपराज शाहीले बताउनुभयो । “मान्म बजारमा व्यापार व्यवसाय गर्ने तथा अन्य झण्डै पाँच सय परिवारलाई खानेपानीको अभाव भएको छ ।” उहाँले भन्नुभयो, “सरकारी कार्याल सेना तथा नेपाल प्रहरीले अहिले खानेपानी बाहिरबाट गाडीमा बोकेर ल्याउने गरेका छन् ।” सरमुकाम मान्म बजारमा टाढाबाट खानेपानीको ल्याएको सधैँ खानेपानीको अभाव तथा पाइप बिग्रिने र चुँडिने गरेको अहिले पहिरोका कारणले खानेपानीको अभाव भएको खाँडाचक्र नगरपालिका–१ का वडाध्यक्ष धर्मराज ताम्राकारले बताउनुभयो । “पहिरोको दीर्घकालीन रोकथाम र खानेपानी आयोजनाको नियमितताका लागि पहल थालिएको छ ।” उहाँले भन्नुभयो, “पहिरोको रोकथाम तथा खानेपानी आयोजनाको सुरक्षा काम गर्ने र तत्कालका लागि पहिरोबाटै पाइप जडान गरेर खानेपानी नियमित गराउने तयारी भएको छ ।” मान्म बजारमा सधैँ खानेपानीको समस्या रहेका कारणले तत्काल खानेपानी सुविधा पुर्याउनका लागि पहल थालिएको खाडाँचक्र नगरपालिका नगर प्रमुख कमलबहादुर शाहीले बताउनुभयो । “खानेपानीका लागि तत्काल पहल थालिएको छ । एक दुई दिनमा सदरमुकाममा खानेपानीको समस्या समधान हुन्छ ।” उहाँले भन्नुभयो, “दीर्घकालीन रूपमा खानेपानीको समस्या समधान गर्नका लागि थप खानेपानी आयोजनाको कामको थालनी हुन्छ ।” सदरमुकाम मान्म बजारमा हिउँदमा खानेपानीको मुहानमा पानीको कमी र वर्षामा पहिरो वा अन्य कारणले खानेपानीको समस्या हुने गरेको यसको सुरक्षा वा वैकल्पिक खानेपानी आयोजनाका सम्भाव्यता अध्यायन गरिने नगर प्रमुख शाहीले जानकारी दिनुभयो ।
काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार संविधानले सुनिश्चित गरेका आदिवासीको हकहित र सुविधाका विषयमा क्रियाशील रहँदै आएको बताउनुभएको छ । विश्व आदिवासी दिवसका अवसरमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घले आज यहाँ आयोजना गरेको ‘विश्व आदिवासी दिवस विशेष भेला’ को उद्घाटन गर्दै उहाँले आदिवासी जनजातिका हितका लागि सरकारले विभिन्न महत्वपूर्ण काम गर्दै आएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, “वर्तमान सरकार संविधानमा उल्लेख गरिएका आदिवासीको हकहित र सुविधाका विषयमा क्रियाशील रहँदै आएको छ । संविधानले आदिवासी जनजाति समुदायको विकास र समृद्धिका लागि छुट्टै आयोगको व्यवस्थासमेत गरेको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान स्थापना गरी उनीहरूको उत्थान विकास गर्दै जातीय पहिचान र भाषा संस्कृतिको संरक्षणमा पनि काम गर्दै आएको छ ।” प्रधानमन्त्री देउवाले आदिवासी जनजातिको पहिचान गरी राज्यको मूलधारमा ल्याएर उनीहरूलाई कुनै पनि किसिमको अवसरबाट बञ्चित हुन नदिन सबै मिलेर काम गर्नुपर्ने जरुरी औँल्याउनुभयो । उहाँले राज्यका सबै तह र तप्कामा समावेशीकरणको नीतिलाई प्रभावकारी बनाउँदै राष्ट्रको विकास र समृद्धिमा उनीहरूको योगदानको उच्च कदर गर्न आवश्यक रहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले आदिवासी जनजाति समुदायको विकास, उनीहरूका हक अधिकारको सुनिश्चितका लागि महासङ्घले अघि बढाउने हरेक सवालमा सरकारले सदैव साथ दिने विश्वास व्यक्त गर्नुभयो । “नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक, विविधताभित्रको एकता मूल मन्त्रका रूपमा रहेको भन्दै उहाँले थप्नुभयो, “नेपालका विभिन्न जाति, भाषा, समुदायबीच एकअर्काप्रति सामाजिक सद्भाव र सहिष्णुता अत्यन्त राम्रो छ । जुन नेपालको विशिष्ठ पहिचान भएकाले यसलाई चिरकालसम्म अक्क्षुर्ण राख्नुपर्छ ।” प्रधानमन्त्री देउवाले नेपाल एकीकरणदेखि आजको अवस्थासम्म आइपुग्दा राष्ट्र निर्माणमा नेपालका आदिवासी जनजातिको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै दिवसले आदिवासी समूदायको हकहितको प्रवद्र्धनका साथै पारस्परिक सद्भाव, सहयोग र एकता अभिवृद्धिका लागि महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो । नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले कांग्रेस स्थापनासँगै प्रजातान्त्रिक आन्दोलनमा आदिवासी जनजातिको महत्वपूर्ण भूमिका रहेको र त्यसमा सर्वमान्य नेता गणेशमान सिंह आदिवासी समुदायमा मात्र नभई अन्तर्राष्ट्रियरूपमा पनि चर्चित व्यक्तित्व भएको स्मरण गर्नुभयो । नेपालको संविधानले सामाजिक न्याय र समावेशिताको नीतिअन्तर्गत आदिवासी जनजातिलाई आफ्नो पहिचानसहित सम्मानपूर्वक बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्दै उनीहरूलाई राज्यबाट प्राप्त हुने अवसर र लाभलाई विशेष व्यवस्था गरेर आत्मसात् गरेको उहाँको भनाइ थियो ।
काठमाडौं: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा विषयका विद्यार्थीले चाहेको विषय पढ्न नपाउने स्थिति रहेको बताउनुभएको छ । चिकित्सा शिक्षा आयोग, मेडिकल काउन्सिल, स्वास्थ्य प्रतिष्ठान पदाधिकारी, विश्वविद्यालय पदाधिकारी र विश्वविद्यालय अनुदान आयोगका पदाधिकारीसँगको आजको छलफलमा मन्त्री पौडेलले भन्नुभयो, “नर्सिङलगायत विषयमा विद्यार्थीले चाहेअनुसार पढ्न नपाएको गुनासो गम्भीर तरिकाले उठेको छ । कानुन संशोधन गरेरै भए पनि विदेश पढ्न जाने विद्यार्थीलाई नेपालमै पढ्ने वातावरण बनाऔँ ।” मेडिकल शिक्षा एकैदिन दुई ‘सिफ्ट’मा पढाउने नेपाल सरकारको नीति, कार्यक्रम तथा बजेटमा उल्लेख भएको बताउँदै उहाँले सो अनुसार कार्यान्वयन गर्न निर्देशन दिनुभयो । “दुई सिफ्टमा पढाउने नेपाल सरकारको नीति, कार्यक्रम र बजेटमा उल्लेख भएको छ”, मन्त्री पौडेलले भन्नुभयो, “यसलाई कार्यान्वयन गरौँ आवश्यक भौतिक पूर्वाधार तथा जनशक्तिका लागि अर्थमन्त्रालयसँग बजेट मागौँ ।”
काठमाडौं: नेपाल प्रहरीले सिक्री लुटपाट गर्ने एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले सिक्री लुटपाट गरी भाग्दै गरेका अवस्थामा काठमाडौँ माछापोखरी बस्ने सुनसरी धरान उपमहानगरपालिका–८ का २८ वर्षीय ज्ञानेन्द्र सेञ्चुरीलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ ज्ञानेन्द्रले काठमाडौँको माछापोखरी बस्ने नुवाकोटकी ५९ वर्षीया एक महिलाले घाँटीमा लगाएको पहेँलो धातुको सिक्री लुटेर फरार भएका थिए । उनलाई प्रहरीले टोखा नगरपालिका–८ जाल्पाचोकबाट पक्राउ गरेको हो । प्रहरीले ज्ञानेन्द्रसँग तीन थान सिक्रीसमेत बरामद गरेको छ ।
गण्डकी: साउन महिनाको तेश्रो सोमवार पोखरा १७ रातोपैह्रास्थित ओमकारेश्वर महादेव मन्दिरमा आज विहानैदेखि दर्शनार्थिको भिड लागेको छ । रातोपैह्रा सामुदायिक वन समुहमा अवस्थित शिव र गणेश मन्दिरको दर्शन पुजा आराधना सहित १०८ शिवलिङ्गमा गाईको दुध र सेतीनदीको पवित्र जल अर्पण गर्ने श्रद्धालु भक्तजनाको भिड लागेको हो । साउन महिना र सोमवार भगवान शिवकोवारका रुपमा लिइन्छ । उक्त दिन शिवको पुजा आराधना एवम् दर्शन गर्नाले मनोकांक्षा पुरा हुने विश्वास भक्तजनामा रहेको छ । भक्तजनले सेतीनदीमा स्नान गरि पवित्र जल ल्याएर शिवलिङ्गमा चढाउने प्रचलन छ । गाईको दुध, विभिन्न पुजा सामाग्री सहित फुल प्रसाद लिएर पोखरा आशपासबाट भक्तजनहरु दर्शन गर्न आउने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर थापाले जानकारी दिनुभयो । साउन महिनाको पहिलो र दोश्रो सोमवार भन्दा तेश्रोवार आज बढी दर्शनार्थी श्रद्धालु भक्तजनको भिड लागेको बताउँदै उहाँले भन्नुभयो यसलाई धार्मिक क्षेत्रको रुपमा विकास गर्न सवैको साथ र सहयोग आवश्यक छ । ओमकारेश्वर मन्दिर लगायत पोखराका केदारेश्वर, गुप्तेश्वर महादेव, सदाशिव हरिहर महादेव लगायतका शिवालयहरुममा आज गाईको दुध र पवित्र जल चढाउने भक्तजनहरुको भीड लागेको छ । तस्वीर उपलव्ध छ ।
काठमाडौँ: नागरिकताको अपमानजनक नाम सच्याउन गृहृ मन्त्रालयले निर्देशन दिएको छ। मन्त्रालयले नाम र थरमा अपमानजनक शब्द प्रयोग गरेर नागरिकता प्रमाणपत्र जारी नगर्न निर्देशन दिएको हो । त्यस्तै यसअघि नागरिकतामा अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकताको प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरे प्रक्रिया पुर्याएर सच्याउने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।
काठमाडौं: अनाथ बालबालिकालाई मेगा बैंक नेपाल लिमिटेड लुम्बिनी प्रदेशले खाद्यान्न र शैक्षिक सामग्री सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले तानसेनमा रहेको अभियान नेपालको सिलोम आवासीय बालगृहमा रहेका बालबालिकालाई खाद्यान्न र शैक्षिक सामग्री सहयोग गरेको हो । बालबालिकाको पठनपाठनमा केही राहत पुगोस् भन्ने उद्देश्यले खाद्यान्नका विभिन्न सामग्री, विद्यालय झोला, टिफिन बक्सलगायतका सामग्री सहयोग गरिएको तानसेन शाखाका प्रबन्धक विष्णुप्रसाद भण्डारीले बताउनुभयो । कर्मचारीले आफ्नो आम्दानीमध्येको केही रकम सङ्कलन गरेर अनाथ तथा बेसहारा बालबालिकालाई सहयोग गरिएको बैंकले जनाएको छ । नेपालगञ्जको मानवसेवा आश्रम, दाङको घोराहीमा रहेको नेपाल अपाङ्ग सङ्घ, खगेन्द्र नवजीवन केन्द्र, रुपन्देहीको सैनामैना र अमुवा, नवलपरासीको बर्दघाटमा समेत विभिन्न सामग्री सहयोग गरेको छ । सामाजिक कार्यसँगै बित्तिय कारोबार, साक्षरता कार्यक्रमलाई समेत प्रभावकारी रुपमा अगाडी बढाउँदै आएकोछ । बैंक सेवामार्फत ग्राहकलाई सहज, सरल र प्रभावकारी रुपमा सेवा प्रदान गर्दै बैंकिङ पहुँचभन्दा बाहिर रहेका नागरिकलाई सहजै बैंकको पहुँचमा ल्याउने कार्य गरिरहेको छ ।

