काठमाडौं: नेकपा (एमाले) को केन्द्रीय स्कुल विभागले आउँदो भदौ २ गतेदेखि प्रशिक्षण सञ्चालन गर्ने भएको छ । विभागले तय गरेको वार्षिक कार्ययोजनाअन्तर्गत पहिलो चरणमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), राष्ट्रिय युवा सङ्घलगायत जनसङ्गठनका केन्द्रीय तहका कार्यकर्ता तथा नवप्रवेशीलाई तीन दिने प्रशिक्षण दिइने उल्लेख छ । पार्टीका उपमहासचिव एवं स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीको अध्यक्षतामा भएको बैठकले माक्र्सवादी दर्शन र पार्टी जीवनमा त्यसको प्रयोग, जनताको बहुदलीय जनवाद र समृद्ध नेपालको निर्माण, पार्टीको दशौँ महाधिवेशनको कार्यदिशा, आजको सन्दर्भमा सङ्गठनात्मक व्यवस्थापन र पार्टी जीवनमा सूचना प्रविधिको प्रयोग लगायतका विषयमा नेताले प्रशिक्षण दिने तय गरेको हो । विभागले आगामी पुसपछि प्रशिक्षक प्रशिक्षण कार्यक्रम पनि सञ्चालन गर्ने गरी बनाएको योजनालाई चाँडै अन्तिमरुप दिँदैछ ।
काठमाडौँ: काठमाडौँ बालाजुस्थित जुत्ता काराखानामा लागेको आगो निभाउने प्रयास जारी छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपासमा सञ्चालनमा रहेको ‘अन वल्र्ड फुटवेयर’मा आज बिहान अन्दाजी ११ बजेर ३५ मिनेट जाँदा आगलागी भएको थियो । जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जुत्ता कारखानामा लागेको आगो नियन्त्रणमा आउन लागेको जानकारी दिनुभयो । उहाँले काठमाडौँ, ललितपुर महानगरपालिका, भक्तपुर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सातवटा दमकलको प्रयासले आगलागी नियन्त्रणमा लिने कार्य भइरहेको बताउनुभयो । श्रीराम पाण्डेले सञ्चालन गरेको उक्त जुत्ता कारखानामा लागेको आगो नियन्त्रणमा लिनका लागि जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुखसहितको टोली, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा खटिएको थियो । प्रवक्ता मैनालीका अनुसार घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी गरी चार सय हाराहारीमा सुरक्षा जनशक्ति र २० निजी पानी ट्याङ्करको प्रयोग गरिएको थियो । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
काठमाडौँ: काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बालाजु बाइपास नजिकको एक जुत्ता कारखानामा आगलागी भएको जानकारी दिनुभयो । अहिले उक्त स्थानमा प्रहरी टोली पुगिसकेको छ । यस्तै आगलागी नियन्त्रणमा लिन दमकलको समेत प्रयोग भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा । मुल्यवृद्वि, भ्रष्टाचार र महगींविरुद्व आज (बुधबार) एमाले कास्की सडकमा उत्रिएका छन् । एमालेका विभिन्न भातृ संगठनहरुले एक्यबद्ध रुपमा पोखराको सभागृहबाट विरोध र्याली निकालेका हुन् । सो र्याली हाल सहिदचोकमा कोणसभामा परिणत भई विरोध जनाइरहेको छ, सुनगाभा संवाददाता बिबि रोकामगरले बताए । नेकपा एमालेले विगत देखिनै विभिन्न तवरबाट विरोध जनाउँदै आइरहेको छ ।
म्याग्दी: मानिसको जीवनमा निकै विरोधाभाषपूर्ण स्थिति पनि उत्पन्न हुँदोरहेछ भन्ने गतिलो उदाहरण बन्नु भएको छ म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका ९७ वर्षीय खड्गबहादुर थापा । उमेरले ९७ औं वसन्त पार गरेपनि उहाँले जीवनमा कहिल्यै पनि सुख प्राप्त गर्न सक्नुभएन । स्वस्थ शरीर र फरासिलो अनुहार भएपनि मनभित्र पीडा र दुःखको सुनामी चलिरह्यो । करिब एक दशकअघि खुट्टामा चोट लागेर अस्पतालमा जानुबाहेक यो उमेरसम्म बिरामी भएर कहिल्यै सुत्न नपरेको भए पनि नियतिले उहाँलाई सुखसँग कहिल्यै बस्न दिएन । श्रीमती खिरकुमारीसँग सामान्य छाप्रोमा बस्दै आउनुभएका थापा दम्पत्तिलाई स्याहारसुसार गर्ने आफ्नै सन्तान छैनन् । झण्डै ४० वर्षअघि छोरा मीनबहादुर थापाको युवावस्थामा नै मृत्यु भएपछि थापा दम्पतीको जीवनमा कहिल्यै निको नहुने घाउ (पीडा) थपियो । त्यतिबेला त जेनतेन सहेरै बसे तर बुढ्यौलीले गाँज्दै गएपछि र काम गर्न नसक्ने भएपछि त्यही घाउ (छोरा नहुनुको पीडा) चहयौइरह्यो, दुखी रह्यो । थापा दम्पत्तिका मुख नबोल्ने एउटी छोरी पनि विवाह गरेर बेनी नगरपालिका–३ तोराखेत पुगेकी छन् । बाहिर देख्दा स्वस्थ शरीर र हँसिलो मुद्रामा देखिने थापा लठ्ठीको सहाराले गाउँ घुम्ने र इष्टमित्रले दिएका अन्न, तरकारी, दूध–दही ल्याएर खाने गर्नुहुन्छ । उहाँको निधारमा चन्दन त कहिल्यै छुट्दैन् तर जीवनको एक मात्र सहारा (पत्नी) पनि आफूभन्दा पहिला छुट्लिन् (मृत्यु होला) कि भन्ने पिरले उहाँलाई सताउने गर्दछ । सम्पत्तिका नाममा थापाको न बास छ, न खाने गाँस । आफ्नै भाइको गोठमा बुढेसकालका दिन गनिरहेका थापा दम्पतीलाई बिरामी हुँदा र साह्रोगाह्रो पर्दा दाजुभाइका छोराहरू दुर्गाबहादुर र हिराबहादुरले हेर्ने गर्नुहुन्छ । वृद्धभत्ता नै बाँँच्ने सहारा मनमा जति पीर र चिन्ता भए पनि थापा दम्पत्ति खानेकुराको भने सौखिन नै हुनुहुन्छ । जेष्ठ नागरिक सुरक्षा भत्ताबाट प्राप्त हुने रकम र इष्टमित्रको सहयोगले थापा दम्पत्तिलाई के खाउँ र के लाउँको समस्या भने छैन । बिहान ६ बजे उठेर शौचादी कर्मपछि घरको तलपट्टिको धारामा नुहाएर आएपछि निधारमा चन्दन लगाएर दैनिक एक घण्टा हात जोडेर भगवानको नाम उच्चारण गर्दै बस्नुहुन्छ । त्यसपछि चिया बनाएर खाएपछि लठ्ठीसहित गाउँमा निस्कने थापा ९ बजेतिर खाना खान घर आउने र खाना खाएपछि छिमेकीको घरमा गएर ठ्ट्यौला कुरा गरेर हसाउने छिमेकी पदमपाणी शर्माले बताउनुहुन्छ । “मनमा जति ठूलो पीर भए पनि मुहारमा कहिल्यै पनि देखाउनु भएन, यो उमेरसम्म बिरामी भएर सुतेको कहिल्यै थाहा पाइएन्” शर्माले भन्नुभयो । उमेरले नेटो काटे पनि उहाँको स्वभाव भने बालसुलभ नै छ । स–साना बालबालिकासँग जिस्कदै अझै केटाकेटीसँग खेल्ने र रमाउने उहाँको बानी रहेको छ । रोगले छोएन, दुःखले छोडेन पचास वर्षको उमेर पार गर्न नपाउँदे नानाभाँतीका रोगले सताउने गरेको अहिलेका मानिसका लागि थापा अपवाद हुनुहुन्छ । रोगको बारेमा सोध्दा उहाँले ठट्यौली शैलीमा भन्नुभयो, “चिनी खाँदा मुख गुलियो र करेला खाँदा मुख तीतो हुने रोग छ बाबु मलाई । राति अलि धेरै खाँदा पेट साह्रो हुन्छ, बिहान उठ्दा गिलोगिलो हुन्छ, अरु त केही हुँदैन ।” उमेरमा अरुको ज्याला मजदूरी र बनिबुतो गरेर जीविका चलाएकी उहाँकी श्रीमती खिरकुमारी पनि कम रङ्गिली हुनुहुन्न । असी वसन्त पार गरिसकेकी खीरकुमारीका दुःख भनिसाध्य छैन । बिहान उठेदेखि राति नसुतुन्जेलसम्म घरधन्दाले कहिल्यै नछोड्ने खिरकुमारीले विगतलाई सम्झँदै भन्नुभयो “घर पनि थियो, कमाइ खान अलिअलि सम्पत्ति पनि थियो, तर ३९ वर्षअघि छोराको मृत्यु भएपछि अब किन चाहियो र भनेर बेचिदियौँ अनि झारेगैरा (तराई) गयौं, त्यहाँ पनि बस्न मन लागेन र फेरि फर्केर आफ्नै गाउँमा आयौं, अहिले यहीँ आफ्नो मृत्युका दिन कुरेर बसेका छौंँ ।” ‘सय कटे बिहे गर्थें’ मनमौजी थापाका उट्पट्याङ कुराले सुन्नेहरुलाई पेट मिचीमिची हाँस्न बाध्य बनाउँछन् । उहाँका रसिला गफ सुन्न गाउँका बुढापाका मात्र नभई केटाकेटी र युवायुवती झुम्मिने गर्छन् । अस्ति आइतबार साँझ छिमेकीको घरमा गफिन आउनु भएका थापालाई ‘तपाइँको रहर के छ’ भनेर जिज्ञासा राख्दा थापाले भन्नुभयो “सय वर्ष कटेपछि बिहे गर्ने रहर छ ।” थापाको कुरा सुनेपछि छिमेकी पदमपाणी मरीमरी हाँस्नुभयो । बिरामी परेर अहिलेसम्म उपचारमा रकम खर्च गर्न नपरेका थापा दम्पतीले ज्येष्ठ नागरिक सुरक्षा कार्यक्रमअन्तर्गतको सामाजिक सुरक्षा भत्ता पाउँछन् । सोही रकमले घरको केही खर्च चल्ने गर्छ । अझैसम्म पनि थापा दम्पत्तिले खसीको मासु खान छोड्नु भएको छैन । गाउँमा खसी काटे भने सबैभन्दा पहिला थापा नै पुगेर आफ्नो भाग माग्नु हुन्छ । घरमा ल्याएर प्रेसर कुकरमा धेरैबेर पकाएपछि बूढाबूढीले जिस्कदै खाने उहाँका छिमेकी शर्माले बताउनुभयो । श्रीमती खिरकुमारीलाई आफूले फकाएर विहे गरेको र माइतबाट भगाएर घरमा ल्याएको बताउने थापाले आफ्नी श्रीमतीलाई ‘च्याखुरी बजै’ भनेर जिस्क्याउनुहुन्छ । “पहिला त मलाई खुब मन पर्थिन यिनी, अहिले त ।” भनाइ पूरा नगरिकन खित्का छोडेर हाँस्दै थापाले भन्नुभयो “सय वर्षसम्म बाँचे भने त अर्की ल्याएर सबैलाई देखाउँथे ।” रातका साथी कुकुर दिनभरि गाउँ घुमेर र छिमेकीहरुसँग गफिएर समय बिताए पनि रात परेपछि भने थापा दम्पत्तिलाई निकै नियास्रो लाग्ने गर्छ । नाता सम्बन्ध, घर व्यवहार र समय परिवेशका कुरा गर्न नपरेपछि सधैंभरि बूढाबूढीले गन्थन गर्ने विषय भनेको एउटै हुन्छ ‘छोराछोरी भैदिएको भए कति जाति हुन्थ्यो होला ?’ रात अवेरसम्म निद्रा नलागेपछि बूढाबूढी बाहिर निस्केर आँगनमा बस्नुहुन्छ । त्यहाँ बस्दै आएको कुकुर थापा दम्पत्तिको साथी बन्छ । उहाँले एउटा सेतो कुकुर पाल्नु भएको छ । घरको सुरक्षा गर्नेदेखि देखि बूढाबूढीको साथी बनेको त्यस कुकुरलाई उहाँहरुले ‘सेते’ नामले बोलाउनुहुन्छ । त्यही कुकुरलाई सुम्सुम्याउनुहुन्छ, माया गर्नुहुन्छ र एकोहोरो आफ्नो कुरा कुकुरलाई सुनाउनुहुन्छ । “बुढेसकालमा सहाराविहीन भएर बाँच्नु पर्दा निकै ठूलो पीडा हुँदोरहेछ,” थापाले भन्नुभयो “यही पीडा सहन नसकेर पटकपटक म्याग्दी खोलामा हेलिएर दुवैजना मरौं भनेर श्रीमतीलाई भनें तर उनी मान्दै मानिनन् र अहिलेसम्म बाँचिएको छ ।” ठट्यौला थापाका यस्ता निरस लाग्ने कुराले सबैका आँखा रसाएर आउँछ ।सदरमुकाम बेनी बजारनजिकै रहेको बगरफाँट गाउँमा बस्ने भएकाले थापा दम्पतीलाई समय समयमा बेनीमा रहेका सङ्घसंस्था र व्यक्ति अनि गाउँलेहरूबाट पनि लत्ताकपडा, खाद्यान्न तथा नगद सहयोग हुने गरेको छ । खिरकुमारीले पनि ८० वसन्त पार गरिसक्नुभएको छ । शारीरिक रूपमा थापाभन्दा अलि सबल भएकी हुँदा खाना बनाउने, कपडा धुने र भाँडाकुँडा सफा गर्ने काम पत्नी खिरकुमारीले नै गर्दै आउनुभएको छ । “शरीरमा थोरै तागत भएका बेला आफैं काम गर्दै आएका छौँ,” खिरकुमारीले भावुक बन्दै भन्नुभयो “बुढेसकालले छोपेपछि जीउन निकै सकस भएको छ । हातखुट्टा चल्नै छाडेपछि कसको सहारामा बाँच्ने हो, निकै चिन्ता छ । निकै कष्टकर जीवन बिताउनु परेको छ । यस्तो कसैलाई पनि नपरोस् ।”थापा दम्पत्तिको यस्तो दुःख देखेर थापाका दाजुभाइका छोराहरु हीराबहादुर, दुर्गाबहादुर र हर्कबहादुरले आफैँसँग राख्न वा खाली रहेको घरमा बस्न पटकपटक आग्रह गरेपनि थापा दम्पत्ति मान्नुहुन्न । उहाँहरु भन्नुहुन्छ “बुढेसकालमा यही गोठमा नै आनन्द छ, घर लिपपोत गर्ने सामथ्र्य छैन ।” हजुरबुबा र आमाको दुःख कम गर्न हाल जापानमा रहनुभएको उहाँका नाति सागर थापाले खाद्यान्न, लत्ताकपडा लगायत अन्य कुराहरुको सहयोग गर्ने, घर लितपोत गर्न एक जना मान्छे राखिदिने बताए पनि थापा दम्पत्तिले मान्नु भएन । उहाँ भन्नुहुन्छ “यो उमेरमा अरुलाई दुःख दिन मन नै मान्दैन । नातिको पनि आफ्नै समस्या छन्, घर व्यवहार छ, ठूलै समस्या परे गुहार्नुपर्छ, अहिले जनतन चलेकै छ, त्यसैले उनीहरुलाई दुःख दिन पनि मनले मान्दैन ।’’आफूले दुःख पाएर पनि अरुलाई दुःख दिन नचाहने थापा दम्पत्ति गाउँमा सबैका प्यारा हुनुहुन्छ । कसैलाई तीतो वचन नबोल्ने र आफ्ना दुःख सितिमिति अरुलाई नदेखाउने स्वभावका थापाको गाउँलेहरुले पनि दीर्घजीवन र आरोग्यताको कामना गर्ने गरेका छन् ।
काठमाडौँ: सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय ले बढेर रु ९७ हजार एक सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजार नौ सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार छ सय रहेको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार चार सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार दुई सय ३० तोकिएकोे छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
ललितपुर: ललितपुर महानगरपालिकामा बसोबास गर्ने ज्येष्ठ नागरिकले रु १० हजार भत्ता पाउने भएका छन् । ज्येष्ठ नागरिकले चाडपर्व हाँसीखुसी मनाउन पाउन् भनी महानगरपालिकाले उक्त काम अघि बढाउने भएको हो । उमेर ढल्केका वृद्धवृद्धाको अवस्थालाई मध्यनजर गरी प्रत्येक बडादशैँ ताका वर्षको एकपटक रु १० हजार दिने निर्णय गरिसकेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “यो रकम पाएसँगै समाजका जिउँदो इतिहास बूढापाकाको मन ज्यादै हर्षित हुनेछ । उहाँहरूलाई चाडपर्व मनाउन सन्तानसँग हात थाप्नु नपरोस् भनी यस कामलाई अघि बढाउन लागेका हौँ ।” महानगरपालिकाले गत वर्षसम्म उक्त उमेर समूहका नागरिकलाई रु पाँच हजार दिने गरेकामा यस वर्ष रु पाँच हजार थप गरी रु १० हजार दिने भएको महर्जनले जानकारी गराउनुभयो । लपु महानगरपालिकामा लगभग सात हजार ज्येष्ठ नागरिक रहेका बताइएको छ । यसैगरी आफूहरूले ‘ज्येष्ठ नागरिकसँग महानगरपालिका’ कार्यक्रमअन्तर्गत कार्यविधि बनाएर उक्त किसिमका व्यक्ति बिरामी पर्दा उहाँहरूको सेवा र रेखदेखमा खटिने मानिस अभाव भएको जानकारी पाएमा मेडिकल समूह गठन गरी घर–घरमा उपचारका लागि पठाउने विषयतर्फ पनि ध्यान दिने महर्जनले सुनाउनुभयो । महानगरमा ९० प्रतिशत घरमा नम्बरप्लेट जडानको काम सम्पन्न भइसकेको महर्जनको भनाइ छ । “महानगरपालिकामा कुल ८१ हजार घर सङ्ख्या छन् । यसमा मात्र १० प्रतिशत घरमा प्लेट जडान गर्न बाँकी छ । प्लेट जडान सम्पन्न भएसँगै हामीले जिपीएस प्रणालीमार्फत हरेक व्यक्तिको घर पत्ता लगाउन सजिलो हुने वातावरण तयार गर्नेछौँ”, उहाँले थप्नुभयो, “यसका साथै हामीले महानगरका टोल–टोलमा प्रचलित र रैथाने नामको नामकरण गरी प्रत्येक नागरिकलाई वारपार गर्न सहज अवस्था सिर्जना गरिदिएका छौँ ।”
काठमाडौँ: कोरोना भाइरसको सङ्क्रमण आज एक हजारभन्दा बढीमा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा छ हजार तीनसय परीक्षणमध्ये एक हजार ९० मा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार आठ सय छ पुगेको छ । यस्तै आज कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई चार सय ३८ घर फर्किएका छन् । यस्तै आज कोरोना भाइरसको सङ्क्रमणबाट दुई जनाको निधन भएको छ । अहिलेसम्म ११ हजार नौ सय ७४ को सङ्क्रमणबाट निधन भएको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर तथा दुई सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला मोरङ रहेको छ । सङ्क्रमित शून्य भएका जिल्ला मुस्ताङ, कालीकोट र हुम्ला रहेका छन् । यस्तै होम आइसोलेसनमा पाँच हजार पाँच सय ९३, संस्थागत आइसोलेसनमा दुई सय १३, सघन उपचार कक्ष (आइसियु)मा ६१ जना र भेन्टिलेटरमा सात जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा एक लाख ७१ हजार आठ सय ३७ ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
पोखरा । रेष्टुरेण्ट तथा बार एसोसियन (रेवान) पोखराले २८ औं वार्षिक साधारण सभा तथा १५ औं अधिवेशनमा पत्रकार सुमन ढुंगनालाई सम्मान गर्ने भएको छ । अध्यक्ष लक्ष्मण बरालका अनुसार रेवानले आफ्नो वार्षिक साधारण सभाका तथा अधिवेनको अवसरमा भाद्र २ गते ढुंगनालाई पुरस्कृत गरिनेछ । पत्रकार ढुंगाना पछिल्लो समय अर्थ न्यूजमा कार्यरत छन् ।

