कास्की २ मा नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद बास्तोला ‘मधु’ लडेर घाइते भएका छन् ।   उनी निर्वाचनका लागि घरदैलो गर्ने क्रममा पोखरा ११ फूलबारीमा सिँढीबाट लडेका हुन् ।   ...

  पोखरा ।  युनानको वाणिज्य र कुन्मिङ नगरको प्रतिनिधि मण्डलले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटघाट गरेको छ ।    नेपाल चीन दौत्य सम्बन्ध स्थापनाको ६७ औं वर्षका अवसरमा प्रमुख आचार्यको कार्यकक्षमा भएको भेटमा पोखरा र युनानको कुन्मिङ सहर बिच भविष्यमा कसरी हातेमालो गरेर अगाडी बढ्न सकिन्छ भन्नेमा छलफल केन्द्रित थियो ।   लिङचेन हु नेतृत्वको  ५ सदस्यिय प्रतिनिधि मण्डलसँग भगिनी सम्बन्ध कायम भएका विभिन्न सहरको थिम पार्क र त्यो पार्कमा ती सहरहरूको पहिचान झल्किने गरी कर्नर निर्माण गर्ने विषयमा छलफल भएको प्रमुख आचार्यले बताउनुभयो । थिम पार्कको निर्माणले पोखरामा चिनियाँ पर्यटकहरूको आकर्षण बढ्ने विश्वास प्रमुख आचार्यको छ ।  थिम पार्क निर्माणका लागि चिनियाँ टोलीले पोखरामा रहेका पार्कहरुको अध्ययन गरिरहेको छ ।   लिङचेन हु नेतृत्वको चीनको प्रतिनिधि मण्डलले ५० लाख बराबरको स्वास्थ्य लगायतका सामाग्रीहरू पोखरालाई सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ । सो क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पोखराको भगिनी सम्बन्ध रहेको चीनको कुन्मिङसम्म सिधा उडानका लागि पहल गर्ने विषयमा समेत छलफल भएको प्रमुख आचार्यले बताउनुभयो । यस विषयमा लिङचेन हु नेतृत्वको चीनको टोलीले सकारात्मक प्रतिक्रिया दिएको छ ।    सो क्रममा युनानको वाणिज्य प्रतिनिधि मण्डलले पोखरा महानगरपालिकाका प्रमुख आचार्यलाई सफल कार्यकालको शुभकामना सहित बधाई समेत ज्ञापन गरेको छ । टोलीमा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी बहादुर भट्टराई पनि सहभागी हुनुहुन्थ्यो ।   पोखरा महानगरपालिकाले चीनको कुन्मिङ, ग्वाङझाओ, यिविन, छुसाहो, हाइकाओ, नानिङ लगायत सहरसँग भगिनी सम्बन्ध कायम गरेको छ । त्यस बाहेक जापानको कोमागाने, टर्कीको आडालर, दक्षिण कोरियाको ग्यान्बुक गु सहरसँग पनि पोखराको भगिनी सम्बन्ध छ ।

  काठमाडौं ।  सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।   मङ्गलबार दिउँसो १ बजेबाट सुरु भएको बैठकमा प्रतिनिधिसभामा उत्पत्ति भएको खानेपानी तथा सरसफाई विधेयक २०७७ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने छ ।   सङ्घीय संसदको महासचिपव डा। भरतराज गौतमले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाबाट सन्देसहित प्राप्त शपथसम्बन्धी विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको जानकारी दिनुभयो ।   त्यस्तै, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त स्टाण्डर्ड नाप र तौल ९पाचौं संशोधन० विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ । यसैगरी, मन्त्री बडूले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त प्रत्यायन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्नुहुने ।    प्रधानमन्त्री देउवाले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त तथ्याङ्क विधेयक, २०७८ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

  काठमाडौं ।   सुनचाँदी बजारमा मङ्गलबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ६ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९५ हजार चार सयमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला दुई सयले बढेको हो ।   नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार एक सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९४ हजार नौ सय थियो ।    त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा स्थिर रही प्रतितोला रु एक हजार २२० तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।  

  काठमाडौं:    मंगलबार (आज) पनि देशभर मनसुनी प्रणाली सक्रिय रहदा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विहानै देखि  प्रदेश १, बागमती, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशमा चट्याङसहित  मध्यम वर्षा भइरहेको छ।    दिउँसो देशका धेरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ। राती बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।   वर्षासँगै पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने  भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । यता बुधबार देखि भने मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।

म्याग्दीको मालिका गाउँपालिका रुममा सोमबार बिहान ३ बजे पहिरोमा परी २ जनाको मृत्यु भएको छ भने ३ जना अझै बेपत्ता छन् ।    पहिरोले ३ घर पुर्दा १५ वर्षीय नविन र १३ वर्षीय राजन विकको मृत्यु भएको छ ।    वडाध्यक्ष उदयकुमार बुढाथोकीले दिएको जानकारी अनुसार घामबहादुर विक, उनका श्रीमति र सात वर्षीया छोरीको अवस्था अझै अज्ञात छ ।    मृतक नविन र राजन पनि घामबहादुरकै छोरा हुन् । अध्यक्ष बुढाथोकीका अनुसार अहिले दरवाङ प्रहरी चौकी, वडा सदस्यहरु, स्थानीयवासी र हेल्थपोस्टका कर्मचारीहरुले खोजी कार्य जारी राखेका छन् ।    मध्यरातमा घरमाथिबाट एक्कासी ठूलो पहिरो जाँदा घटना घट्न पुगेको बुढाथोकीले बताएका छन् ।    त्यस्तै, घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ । त्यहाँबाट सडक सम्पर्कसमेत विच्छेद भएका कारण घाइतेलाई उपचारार्थ पोखरा ल्याउन प्रभुको हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । तर मौसम अत्यन्त प्रतिकुल भएकाले   घाइतेलाई पोखरा ल्याउन सकिएको छैन । उनको शरिरको विभिन्न स्थानका हड्डी भाँच्चिएको बताइएको छ ।   

पोखराः शनिबार दिउँसोदेखिको निरन्तर वर्षाले कास्कीका विभिन्न स्थानमा सवारीसाधन आवागमनमा अवरोध पुगेको छ ।    अहिले रुपा गाउँपालिकास्थित गैरीपोखरी सडक खण्डमा सडक भाँस्सिदा बेगनासबाट लमजुुङको भोर्लेटार जाने यातायात सेवा अवरुद्ध भएको छ । उक्त क्षेत्रमा २५ मिटर सडक खयड डेढ फिट भाँस्सिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।    त्यस्तै, अन्नपूर्ण गाउँपालिकाअन्तरगत नयाँपुल घान्द्रुक उल्लेरी जाने पक्की बाटो पनि अवरोध भएको छ । बिरेठाटी सामुदायिक बनको पाखाको २५ मिटर माथिबाट गएको पहिरोले बाटो पूर्णरुपमा अवरोध भएको छ ।    यस्तै, पोखरा वडा नम्बर २९ को घोघोतेस्थित पृथ्वी राजमार्ग खण्डमा नहरको पानी सतहमा आउँदा अवरोध भएको छ । उक्त क्षेत्रमा सडक खुलाउन हाल उक्त पानि पावरहाउसबात तालचोक डाइभर्सनतर्फ मोड्ने काम भइरहेको जिप्रका कास्कीले जनाएको छ । 

चितवन ।    नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भेर्लेमा माइक्रो वस त्रिशुली नदी किनारमा खस्दा १८ जना घाइते भएका छन् । चार जना गम्भीर घाइते भएका छन् ।  नारायणगढबाट धादिङतर्फ जाँदैगरेको बा ३ ख ८५८८ नम्वरको माइक्रो बस सडकखण्ड अन्तर्गत भरतपुर–२९, स्थित भोर्लेबाट त्रिशुली नदी किनारमा खस्दा १८ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।    घाइतेमध्ये ४ जनाको अवस्था गम्भिर छ भने बाँकीको अवस्था सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ । अपरान्ह ४:१५ बजे भएको दुर्घटनामा घाइते भएकाहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।     घाइतेहरुको परिचय अहिले खुल्न नसकेको प्रहरीले जनाएको छ । घाइतेलाई जुगेडीस्थित अस्थायी प्रहरी पोष्टबाट गएको टोलीले उद्धार गरेको थियो । घाइतेहरुको विवरण संकलन कार्य भइरहेको प्रहरीले जनाएको छ । 

  काठमाडौं।  नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले आगामी मङ्सिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन रोक्न चलखेल सुरु भएको आरोप लगाउनुभएको छ ।   सोमबार हेटौँडामा सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै सभापति बानियाँले सङ्घीय व्यवस्था कमजोर बनाउने तत्व निर्वाचन प्रभावित बनाउन लागिपरेको बताउनुभयो ।   देशमा सङ्घीय व्यवस्था स्थायित्व हुने देखेपछि शासन व्यवस्थालाई कमजोर बनाउने देश भित्र र बाहिरका तत्व निर्वाचन समयमा हुन नदिन लागि परेको दाबी उहाँको छ ।   शासन व्यवस्था असफल बनाउन लाग्नेहरुलाई सफल हुन नदिन पनि प्रदेश र प्रतिनिधिसभा निर्वाचन समयमा नै हुनुपर्ने उहाँको भनाइ छ ।   प्रतिनिधि र प्रदेशसभा निर्वाचन आगामी मङ्सिर पहिलो साता हुनुपर्ने भन्नुहुँदै उहाँले सरकारले यसबारेमा छिट्टै निर्णय गर्नुपर्ने बताउनुभयो ।   प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवालाई समयमा निर्वाचन गरेर देशलाई स्थायित्व प्रदान गर्ने अवसर भएको भन्दै यो अवसरबाट नचुक्न आग्रह गर्नुभयो ।

  महोत्तरी:    महोत्तरीको बर्दिबासमा सिद्धार्थ बैंक रहेको भवनमा भीषण आगोलागी भएको छ ।   केहीबेर अघि शुरु भएको आगोलागी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । स्थानीयले  दमकल र प्रहरी एवं स्थानीयलले आगो नियन्त्रणमा लिने प्रयास गरेपनि कठिनाइ भइरहेको  जनाएका छन ।   सिद्धार्थ बैंक भएको घरको माथिल्लो तल्लामा आगलागी भएको हो । शुरुमा माथिल्लो तल्लामा रहेको जिमखानाबाट धुँवा आएको प्रत्यक्षदर्शीहरूको भनाइ छ।   आगलागी भएको ठाउँमा के कति क्षति भयो भन्ने तथ्यांक आउन सकेको छैन। आगलागी भएको भवनमा एसबीआई बैंक पनि सँगै छ भने सोही घरमा रहेको सिदार्थ बैंकमा कुनै क्षति भएको छैन ।