काठमाडौँ: नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)ले यस वर्षको उत्कृष्ट ‘इन्जा खोजी पत्रकारिता’ पुरस्कार वरिष्ठ पत्रकार गजेन्द्र बुढाथोकीलाई प्रदान गरेको छ । अन्तर्राष्ट्रिय कम्पनी कोकाकोलाले नेपालमा कर छली गरेको विषयलाई पत्रकारिताको माध्यमबाट सूचना सम्पे्रषण गरी राज्यलाई रु सात अर्ब राजस्व असुल गर्न सहयोगी भूमिका निर्वाह गर्नुभएकाले पत्रकार बुढाथोकीलाई सो सम्मान प्रदान गरिएको हो । काठमाडौँमा आज आयोजित इन्जाको पाँचौँ वार्षिकोत्सव समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नगद रु एक लाख राशि र सम्मानपत्रद्वारा पत्रकार बुढाथोकीलाई सम्मान गर्नुभएको हो । त्यसैगरी मन्त्री कार्कीले ‘इन्जा ग्रामीण पत्रकारिता’ पुरस्कार पत्रकारद्वय दीपा कर्ण र सरोज ढुङ्गानालाई, ‘इन्जा बौद्धिक पत्रकारिता’ पुरस्कार उपप्राध्यापक देवराज अर्याल र वरिष्ठ पत्रकार कपिल काफ्लेलाई जनही रु ५० हजार नगद र कदरपत्र प्रदान गरी सम्मान गर्नुभयो । मन्त्री कार्कीले आजै वरिष्ठ पत्रकारद्वय हरि लम्साल र गोपालचन्द्र शर्मा तथा सञ्चारिका समूहकी निवर्तमान अध्यक्ष नीतु पण्डितलाई पनि कदरपत्रद्वारा सम्मान गर्नुभयो । टक्सार मासिकका प्रधानसम्पादक बुढाथोकीलगायतका पत्रकारहरुलाई सम्मान गर्दै मन्त्री कार्कीले इन्जाले गाह्रो, साह्रो र अप्ठेरोमा परेका पत्रकारलाई सम्मान गर्ने परम्पराको सुरुआत गरेकामा खुसी व्यक्त गर्नुभयो । उहाँले नेपाली पत्रकारिता आवाजविहीनहरुको आवाजलाई बाहिर ल्याउने सशक्त माध्यम बन्नुपर्नेमा जोड दिनुभयो । इन्जा संसारभर छरिएर रहेका नेपाली भाषी पत्रकारहरुले स्थापना गरेको संस्था हो । इन्जाको प्रधान कार्यालय अमेरिकामा छ । इन्जा अमेरिकाका अध्यक्ष गुणराज लुइँटेलले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै विभिन्न अप्ठेरोमा परेका नेपाली पत्रकारलाई सम्मान गर्न पाएकामा खुसी व्यक्त गर्नुभयो । नेपाल पत्रकार महासङ्घका सभापति विपुल पोखरेलले अप्ठेरामा परेका पत्रकारहरुलाई सहयोग गर्न नेपाल पत्रकार महासङ्घ इन्जासँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । समारोहमा नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल ९इन्जा०, एसियाका अध्यक्ष टङ्क पन्त, केन्द्रीय सचिव दीपक रिजाल, नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, समाजवादी प्रेस सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठ, मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंहलगायतले आ–आप्mनो धारणा राख्नुभएको थियो ।
काठमाडौँ: बाटो मर्मतको कारण साबिकबमोजिम फोहर व्यवस्थापन हुन नसक्दा काठमाडौैँको सडमा फोहर थुप्रिन थालेका छन् । सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतको काम पूरा नभएकाले साबिकबमोजिम फोहर व्यवस्थापन हुन नसक्दा काठमाडौँको मुख्य चोकमा फोहर थुप्रिन थालेको हो । मुख्यगरी अनामनगर, कलङ्की, कालीमाटी, बल्खुलगायतका स्थानमा फोहर थुप्रिन थालेको छ । यही असार ४ गते काठमाडौँ महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्ताका लागि घरबाहिर फोहर ननिकाल्न आग्रह गरेको थियो । एक हप्ताको समयमा पनि सडक मर्मतको काम पूरा नभएपछि सबै सवारीसाधन चलाउन कठिन भएकाले फोहर व्यवस्थापनमा समस्या भएको कामपाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो । उक्त बाटो मर्मतको काम सम्पन्न गर्न अझै समय लाग्ने भएकाले कही दिन सबै स्थानको फोहर व्यवस्थापन गर्न कठिन हुने उहाँको भनाइ छ । त्यसैगरी बञ्चरेडाँडाका स्थानीयले सम्झौताअनुसार काम नभएको भन्दै आगामी भदौ १ गतेदेखि फोहर व्यवस्थापन गर्न नदिने चेतावनी दिएका छन् । समयमा नै सडक मर्मतको काम नगरेको, फोहर बोक्ने गाडीमा (लिचड ट्याङ्की) फोहरको लेदो रहने भाँडो व्यवस्था नगरिएको, स्थानीयको स्वास्थ्य बीमा, शिक्षाको ग्यारेन्टी जस्ता विषयबारे बेवास्ता गरिएको भन्दै स्थानीयवासीले फोहर व्यवस्थापन गर्न नदिने चेतावनी दिएका छन् । कामपाले बञ्चरेडाँडाका स्थानीयको माग सम्बोधनको चरणका रहेको जनाउँदै उपत्यकाको कुहिने फोहर यही व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम गरिरहेको जानकारी दिएको छ । त्यसका लागि उपत्यकाको अन्य नगरपालिकासँगको सहकार्यमा जग्गा पहिचानको काम भइरहेको बताइएको छ । यसअघि हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको थियो । सबैभन्दा बढी कामपामा पाँच सय मेट्रिक टन फोहर निस्कने गर्दछ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत उक्त स्थानमा व्यवस्थापन गरिँदै आएको थियो ।
स्याङ्जा: जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले सवारी कारबाहीबाट रु ७१ लाख ४२ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ । कार्यालयले आव २०७८/७९ मा नौ हजार नौ सय १६ सवारी साधनलाई कारबाही गरी उक्त राजस्व सङ्कलन गरेको हो । सिट क्षमताभन्दा बढी यात्रु चढाउने, चालक अनुमतिपत्र विना सवारी चलाउने, तीव्र गतिमा चलाउने, अनावश्यक हर्नको प्रयोग गर्ने, सवारीको स्वरुप परिवर्तन गर्ने, अनावश्यक स्टिकर टाँस्ने, अस्पष्ट नम्बर प्लेट भएका सवारी साधनलाई कारबाही गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख मीनबहादुर कुँवरले जानकारी दिनुभयो । गत आवको असारमा मात्रै कार्यालयले सबैभन्दा धेरै एक हजार छ सय १३ विभिन्न सवारी साधनलाई कारबाही गर्दा रु ११ लाख ३७ हजार पाँच सय राजस्व सङ्कलन गरेको थियो । कार्यालय प्रमुख कुँवरका अनुसार गत आव २०७८/७९ को साउनमा चार सय ७६, भदौमा पाँच सय ४४, असोजमा छ सय ८०, कात्तिकमा आठ सय १४, मङ्सिरमा छ सय ३९, पुसमा सात सय, माघमा सात सय ५०, फागुनमा आठ सय, चैतमा आठ सय ५०, वैशाखमा नौ सय ५०, जेठमा एकहजार एक सय र असारमा एक हजार छ सय १३ सवारी साधन कारबाहीमा परेका थिए । गत आवको साउनमा कारबाहीमा परेका सवारी साधनबाट कार्यालयले रु तीन लाख ३७ हजार पाँच सय, भदौमा रु तीन लाख ९५ हजार पाँच सय, असोजमा रु चार लाख ८४ हजार पाँच सय, कात्तिकमा रु छ लाख ६५ हजार, मङ्सिरमा रु चार लाख ८५ हजार पाँच सय, पुसमा रु चार लाख ८५ हजार, माघमा रु पाँच लाख ३१ हजार, फागुनमा रु पाँच लाख ७१ हजार, चैतमा रु छ लाख १४ हजार, वैशाखमा रु छ लाख ६४ हजार पाँच सय, जेठमा रु सात लाख ७१ हजार पाँच सय र असारमा रु ११ लाख ३७ हजार पाँच सय गरी कूल रु ७१ लाख ४२ हजार पाँच सय राजस्व सङ्कलन भएको हो ।
प्यूठानको स्वर्गद्वारी नगरपालिका-४ भ्यागुतेमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । स्वर्गद्वारी मन्दिर दर्शन गरेर भिङ्ग्रीतर्फ आउदै गरेको लु ३ च ३५३ नम्बरको जीप शनिबार मध्याह्न भ्यागुतेमा दुर्घटना भएको हो । दुर्घटनामा परी रुपन्देही निवासी मायादेवी ठाकुरको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय भिङ्ग्रीले जानकारी दिएको छ । प्रहरीका अनुसार दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइतेमध्ये नौ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जीपमा १७ जना सवार थिए । यद्यपि, जीप दुर्घटनाको कारण खुलिसकेको छैन ।
नार्पा भूमि गाउँपालिकामा बुद्धको त्रिमूर्ति निर्माण गरिने भएको छ । गाउँपालिकाले गुरुङ जातिको संस्कृति संरक्षण गर्ने उद्देश्यले बुद्धको त्रिमूर्ति निर्माण गर्न लागेको हो । नार्पा भूमिको मेता, च्याखु र नारगाउँमा बुद्धको त्रिमूर्ति निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष कोञ्जो तेञ्जिङ लामाले जानकारी दिनुभयो । उहाँका अनुसार तीन स्थानमा गुरु रिम्बोछे, छेरेसिक, तुम्बा बुद्ध गरी त्रिमूर्ति निर्माण गरिनेछ । मनाङमा विशेष गरी गुरुङ जाति तथा बौद्ध धर्मावलम्बीको बसोबास रहेकाले धर्म र संस्कृतिको संरक्षणमा गाउँपालिकाले योजनाअनुरुप त्रिमूर्ति निर्माण गर्न लागेकोे उहाँले बताउनुभयो । तीन स्थानमा त्रिमूर्ति निर्माणका लागि गाउँपालिकाले रु २० लाखका दरले बजेट विनियोजन गरेकोे उहाँको भनाइ थियो । बौद्ध धर्मावलम्बीको संस्कार र संस्कृति संरक्षणका लागि गुरुरिम्बोछे, छेरेसिक, तुम्बा बुद्धको मूर्ति निर्माणका लागि माग भएअनुरुप नै प्राथमिकतामा राखेर बजेटको व्यवस्थापन गरिएको बताइएको छ । उनीहरुको धार्मिक कार्यका लागि टाढाका बौद्ध गुम्बासम्म पुग्नुपर्ने भएकाले त्यसलाई सहज बनाइनाका साथै संरक्षण गर्न पनि प्रोत्साहन मिल्नेछ । उनीहरुले इच्छाएको स्थानमा गुरुरिम्बोछे, छेरेसिक, तुम्बा बुद्धको मूर्ति बन्ने भएपछि उक्त क्षेत्रका स्थानीयवासी हर्षित भएका छन् । मूर्ति निर्माणले संस्कृति संरक्षणमा चासो दिएको भन्दै स्थानीयवासीले स्थानीय सरकार घरघरमा आइपुगेको महसुस भएको बताए ।
दक्षिण एशियाली मुलुकका पत्रकारको संस्था सार्क पत्रकार मञ्च (एसजेएफ) को ३५ सदस्यीय नेपाल शाखा विस्तार भएको छ । मञ्चको केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष राजु लामा र महासचिव मोहम्मद अब्दुर रहमानले आज विज्ञप्ति गरी समितिमा रहने सदस्यहरुको सूची सार्वजनिक गर्नुभएको हो । राष्ट्रिय समाचार समिति (रासस)का प्रकाश सिलवालको संयोजकत्वमा गठित समितिमा अनन्त सुवेदी, विजय दिमदोङ, चिरञ्जीवी अधिकारी, दिपक श्रेष्ठ, दीपेन्द्र प्रजापति, गोपाल सङ्ग्रौला, हेमराज ढकाल, इफ्रान बाबु, जीवन पराजुली, करण ताम्राकार, कौशल घिमिरे, कमल राना, कविता थापा, लक्की चौधरी, लव प्याकुरेल र माधवप्रसाद तिवारी रहनुभएको छ । यस्तै नृपेन्द्रलाल श्रेष्ठ, पुष्पा अधिकारी, प्रकाश पण्डित, रुद्रश्रीस मगर, रञ्जित तामाङ, रवीन्द्र काफ्ले, रत्नकाजी महर्जन, सुरेन्द्रभक्त श्रेष्ठ, सुनील महर्जन, सुनील आचार्य, सामना वियोगी, टेकेन्द्र बहादुर महत, उद्धवकुमार कार्की, उत्तम श्रेष्ठ र यमन दनुवार सदस्य रहनुभएको छ । समितिका सदस्यको पहिलो बैठकले आफ्नो कार्य योेजना र पदाधिकारी तय गर्नेछ । सार्क क्षेत्रमा व्यावसायिक पत्रकारिता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारको पेशागत हक, अधिकारका लागि सन् २०१९ मा भारतमा स्थापित सो मञ्चले अन्तर्राष्ट्रियस्तरमा पत्रकारिताको गुणस्तर र पहुँचलाई सुदृढ पार्नु पनि उद्देश्य रहेको छ । सङ्गठनको हालसम्म दक्षिण एशियाका मुलुकका शाखा विस्तार भइसकेको छ भने हाल यसको मुख्यालय नेपालमा रहेको छ । दक्षिण एशियामा व्यावसायिक पत्रकारिताको विकास र प्रववद्र्धन गर्न, पत्रकारको जीवनस्तर उठाउन, सार्क राष्ट्रहरुका पत्रकारबीच आपसी विश्वास, एकार्काको समस्यालाई बुझ्न र मूल्याङ्कन गर्न मञ्चले भूमिका निर्वाह गर्नेछ । मञ्चलाई दक्षिण एशियाली सदस्य राष्ट्रको पत्रकारले क्षेत्रीय पत्रकार निकायका रूपमा मान्यता दिइएको छ । यस क्षेत्रमा पत्रकारिताको प्रवद्र्धन, विकास, विस्तार, नीतिगत सुधार र सार्क राष्ट्रमा पत्रकारिता क्षेत्रका साझा उद्देश्य हासिल गर्न मञ्चले काम गर्नेछ ।
टीकापुर : अघिल्लो वर्ष बेमौसमी वर्षापछि आएको बाढीमा धान बाली गुमाएका कैलालीका किसानले यस वर्ष छिटुवा धान खेती गरेका छन् । बाढीले धान खेती भित्र्याउन नपाएका किसानले यस वर्ष लगानी खेर नफाल्ने भन्दै छिटुवा धान खेती गरेका हुन् । टीकापुर नगरपालिका-८ की भुन्टी साउदको १ बिघा जमीनमा छिटुवा धान खेती गरिएको छ । भुन्टीको परिवारले गत वर्ष बाढीले बगाएकाले आफ्नो खेतको धान देख्न पनि पाएनन् । पाकेको सबै धान सबै बाढीले बगाएपछि भुन्टीको परिवारले यस वर्ष खेत रोप्ने आँटै गरेन । उनीहरुले भए खाउला नभए खेती गर्ने रकमले अन्न किनौँला भनेर छिटुवा धान खेती गरे । “धान खेतीमा गरिएको लगानी पोहोर बाढीमा मिसियो, मेहनत, लगानी सबै पानीमा बगेपछि यस वर्ष खेती गर्ने मन लागेन”, भुन्टी भन्नुहुन्छ, “खेती गर्न धेरै खर्च लाग्छ, पूरा परिवार खेतमै जोतिनुपर्छ । त्यसैले बीउमात्र भए पुग्ने भएकाले धान छरेका हौँ ।” धान रोप्नुको सट्टा उनीहरुको उम्रिएको धान पानी नपाएर सुकेर बिग्रियो । लामो समयसम्म वर्षा नभएपछि उम्रेको धान सुक्यो । “असार महिनाभरि पानी परेन, धान सुकेपछि त्यसैमा मास खेती गरेकी छु”, भुन्टीले भन्नुभयो, “भए खाउला, नभए अब के गर्नु रु खेतीकै भरमा बाँचेका हामी अब यहाँबाट विस्थापित हुनुपर्ने अवस्था आउँदैछ ।” टीकापुर–८ कै मञ्जु साउँदको परिवारले पनि डेढ विघा जमीनमा धान छरेको छ । उनीहरुको समस्या पनि यस्तै हो । बाढीको त्रासले मञ्जुको परिवारले पनि खेती गर्ने हिम्मत गरेन । “डेढ बिघा खेतमा धान खेती गर्न लाखौँ खर्च हुन्छ, खर्च गरेर उत्पादन भित्र्याउने ग्यारेन्टी छैन”, मञ्जुले भन्नुभयो, “हामीमात्र होइन हाम्रा अन्य छिमेकीले पनि यस वर्ष खेती गरेनौँ ।” बीउ राख्ने, खेत जोत्ने काम गर्नुभन्दा धान छर्नु उत्तम रहेको भन्दै किसानले यस वर्ष छिटुवा धान लगाएका स्थानीय श्यामलाल चौधरीले बताउनुभयो । “गत वर्ष सयौँ किसानको पाकेको धान बाढीले बगायो, यस वर्ष धान खेती गर्न लगानी नगर्ने सोच बनायौँ”, उहाँले भन्नुभयो, “मैले साढे चार बिघामा धान छरेको छु, भए हुन्छ नभए पनि कम लगानी खेर जान्छ । यस्तो महँगो बीउ, मल, जोताइमा के खर्च गर्नु रु बाढीको भर छैन ।” चौधरीले जस्तै अन्य किसानले समेत यस वर्ष लगानी खेर जाने डरले धान रोपाइँ गरेका छैनन् । स्थानीय शेरबहादुर साउद ८ नं वडामा करिब डेढ सय बिघा जमिनमा छिटुवा धान खेती गरिएको बताउनुहुन्छ । “नदी नियन्त्रणको काम भएको छैन, बढी वर्षा भएमा नदी बस्तीमा पस्छ, खेतीमात्र होइन मानिसकै बिचल्ली हुन्छ”, साउदले भन्नुभयो, “त्यसैले यहाँका अधिकांशले खेती गरेनन् । खेत भएर पनि यहाँका नागरिकलाई भोकमरीको समस्या हुने अवस्था आएको छ ।” टीकापुर-८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला बाढी, कटान र डुवानको समस्या विसं २०३५ देखिकै समस्या रहेको बताउनुहुन्छ । “बाढी र नदी कटानकै कारण साविक धनसिंहपुर गाविसको ९ नं वडा छैन, १ नं वडामा नदी बगिरहेको छ । जुन अहिलेको ८ नं वडामा पर्छ”, उहाँले भन्नुभयो, “नदी कैलालीतर्फ धार परिवर्तन गरेर बगिरहेकाले हामीले रोक्न सक्ने अवस्था छैन । गत वर्ष कात्तिकमा आएको बाढीले ९५ प्रतिशत किसानको धान खेती बग्यो ।” उहाँले सङ्घर्ष समिति बनाएर नदी नियन्त्रणका लागि दबाब दिने काम गरिरहेको, स्थानीय सरकारले गर्न सक्ने अवस्था नभएको भए पनि रानी जमरा कुलरिया सिँचाइ आयोजनाले नियन्त्रणको काम गरिरहेको बताउनुभयो । “खेती लगाउने, बगेर जाने समस्याले किसान पीडामा रहेका, खेतीप्रति आकर्षित नभएको अवस्था छ । अहिले एक सातादेखि वर्षा भइरहेकाले छिटेको धान पनि डुबेको अवस्था छ”, उहाँले भन्नुभयो, “हामीले आवश्यक बीउ, मलजस्ता कार्यमा सघाउँदै आएका छौँ । प्रविधिका लागि सिँचाइ आयोजनाले सघाइरहेको छ ।”
टारी खेतबाहेक तनहुँका अधिकांश खेतमा रोपाइँ सम्पन्न भएको छ । तनहुँमा यस वर्ष ८० प्रतिशत खेतमा रोपाइँ सम्पन्न भएको छ । असारमा राम्रै वर्षा भएकाले टारी खेतबाहेक अन्य क्षेत्रमा रोपाइँ भएको हो । जिल्लामा सिँचाइ सुविधा पुगेका अधिकांश स्थानमा रोपाइँ भए पनि लामो समय बर्सात नहुँदा टारी खेतमा रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो । यस वर्ष किसानले युरिया र डिएपी मलको प्रयोगबिना नै धान रोप्न बाध्य भएका छन् । अवैधरुपमा व्यापारीले ल्याएका मल सीमित किसानले चर्को मूल्य तिरेर भए पनि खेतमा प्रयोग गरेका थिए । जिल्लामा मलको आपूर्ति ठप्प भएपछि वैकल्पिक उपाय अवलम्बन गर्न सुझाव दिएको केन्द्रका प्रमुख तिवारीले बताउनुभयो । किसानले खेत रोप्ने समयमा मल नपाएपछि धान उत्पादनमा कमी आउन सक्ने देखिएको छ । अहिले अधिकांश किसानले उन्नत जातको बीउ प्रयोग गर्ने हुँदा रासायनिक मलको आवश्यकता पर्ने उहाँले बताउनुभयो । तनहुँमा गत फागुनदेखि नै युरिया मलको मौज्दात सकिएको कृषि सामग्री संस्थान दमौलीले जनाएको छ । तनहुँ र लमजुङका कृषकका लागि मल उपलब्ध गराउँदै आएको संस्थानमा डिएपी मलको मौज्दात नभएको संस्थानका प्रमुख दिनेश शर्माले जानकारी दिनुभयो । अहिले संस्थानसँग ४५ टन पोटासबाहेक अन्य मल छैन । उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय बजारमा मल उत्पादनमा कमी आउनु र मूल्यमा अत्यधिक वृद्धि हुँदा किसान मारमा परेका छन् ।” जिल्लामा एक हजार टन युरिया र छ सय टन डिएपी मल यस मौसममा आवश्यक पर्ने सो संस्थानले जनाएको छ ।
लमजुङको सन्दरबजार नगरपालिकामा बोल्न र सुन्न नसक्ने एक महिलाको हत्या भएको खुलेको छ । सुन्दरबजार नगरपालिका वडा नं. १ कुन्छा की २८ बर्षीया लिला अछामीको हत्या भएको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ती महिला साउन १० गते मंगलबार साँझको समयदेखि हराई बेपत्ता भएको र उनको मोबाइल समेत स्विच अफ रहेको भन्दै बाबु डम्मरबहादुर सार्कीले प्रहरीमा खोजतलासका लागि उजुरी दिएका थिए । प्रहरीले महिलाको खोजतलास गर्दै जाने क्रममा साउन १२ गते बिहीबार दिउँसोको समयमा सुन्दरबजार नगरपालिका वडा नं. १ कुन्छा खड्केपानी सामुदायिक बनको भीर खोचमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । लीला अछामीको घटना सम्बन्धमा अनुसन्धान गर्दा सोही ठाउँ बस्ने २४ वर्षीय राम सुनार र लिला अछामी विगत केही महिनादेखि प्रेम सम्बन्ध रहेको खुलेको छ । साउन १० गते मंगलबार साँझको समयमा सुन्दरबजार नगरपालिका वडा नं. १ कुन्छा खड्केपानीस्थित सामुदायिक वनमा आफ्नो प्रेमिका लिलाअछामीलाई भेट्न बोलाई शारीरिक सम्बन्ध राख्दा लिलाले आफूलाई विवाह गर्नुपर्छ भनेकी थिइन । विवाह नगरेमा आफूहरुको सम्बन्ध स्थानीय मानिसलाई भनिदिने भनेकी थिइन । राम सुनार आफू विवाहित भएको कारण मृतक र आफूबिचको सम्बन्धको बारेमा स्थानीय समाजमा समेत होहल्ला हुने मुख्य कारणले हत्या गरेको बताएको प्रहरीले जनाएको छ । आफ्नो प्रेमिका बोल्न र सुन्न नसक्ने फरक क्षमता भएको र उनलाई सोही जंगलमा घाँटी च्यापी लडाई तल भीरको खोचमा पल्टाई ढुङ्गाले टाउँकोमा प्रहार गरी बीभत्स तरिकाले हत्या गरेको पाइएको जानकारी जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जगदिश रेग्मीले बताउनुभयो । उहाँका अनुसार हत्या पश्चात मृतकको मोबाइल तथा गर गहनाहरु निकाली घरमा लगी लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले बरामद गरेको छ । शवको जिल्ला अस्पताल लमजुङमा पोष्टमार्टमपश्चात दाहसंस्कारको लागि आफन्तले जिम्मा लिएका छन् । उक्त घटनामा संलग्न अभियुक्त राम सुनारलाई साउन १२ गते बिहीबार पक्राउ गरेको छ । लमजुङ जिल्ला अदालतबाट साउन १३ गते शुक्रबार म्याद थप अनुमति लिई ज्यानसम्बन्धी कसुर (कर्तब्य ज्यान) र करणीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीले बताउनुभयो ।

