परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुनेसम्बन्धी मन्त्रिपरिषद्को निर्णयको जानकारी कूटनीतिक रूपमा पत्राचार भइसकेको बताउनुभएको छ। प्रतिनिधि सभामा विशेष समय लिएर मन्त्री डा. खड्काले साउन ९ गते नै पत्राचार भइसकेको जानकारी दिनुभयो। प्रतिनिधि सभामा पटक–पटक पत्राचार नभएकोबारे सरकारको ध्यानाकर्षण गराइएपछि सभामुख अग्निप्रसाद सापकोटाले पत्राचारको जानकारी दिन साउन ५ गते रुलिङ गर्नुभएको थियो। शुक्रबार विशेष समयमा मन्त्री खड्काले आन्तरिक परामर्शमा केही समय लागेकाले पत्राचारमा ढिलाइ भएको बताउनुभयो। उहाँले भन्नुभयो, “पत्राचारका विषयमा सभामुखबाट पनि निर्देशन प्राप्त भएको छ। एसपीपी अघि नबढाउने निर्णय भइसकेको अवस्था छ। परराष्ट्र मन्त्रालयले कार्यान्वयन गरिसकेको जानकारी गराउन चाहन्छु।” उहाँले साउन ९ गते कूटनीतिक माध्यमबाट अमेरिकी सरकारलाई जानकारी गराइएको बताउँदै आन्तरिक परामर्शमा केही समय लागेकाले ढिलाइ भएको स्पष्ट पार्नुभयो। मन्त्री खड्काले कुनै पनि सैन्य गठबन्धनमा सरकार सहभागी हुने प्रश्न नै नरहेको पनि बताउनुभयो। सदनमा उठेका विचारलाई सरकारले सम्मान गरेको पनि उहाँले जवाफका क्रममा बताउनुभयो। मन्त्रीको जवाफपछि सांसदहरूले भने पत्राचार गरिएको पत्रको बेहोरा सार्वजनिक गर्न माग गरेका छन्। यसअघि एसपीपीसँग भएका पत्राचार माग गर्दा संसदीय समितिले समेत नपाएको भन्दै पत्र सार्वजनिकको माग उठेको हो। नेकपा (एमाले)का सांसद पवित्रा निरौला खरेलले पत्र संसद्मा पढेर सुनाउन र पत्राचार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पठाउन पनि माग गर्नुभयो। समितिले यसअघि एसपीपीसँग भएका पत्राचार बारम्बार माग गरिरहेको छ। समितिले चौथो पटक सरकारलाई पत्राचार उपलब्ध गराउन ताकेता गरिसकेको छ। यस्तै एमालेकै सूर्य पाठकले पनि पत्र सार्वजनिक गर्न माग गर्नुभयो। सांसद घनश्याम खतिवडाले पनि पत्र सार्वजनिक गर्न माग गर्नुभयो। सदनमा पत्राचारको जानकारी गराइसकेपछि पत्र सार्वजनिक गर्न सरकारले कुनै अप्ठ्यारो मान्नु नपर्ने उहाँको तर्क थियो।
काठमाडौँ: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल समाजवादी केन्द्र नबन्ने बताउनुभएको छ । राजधानीमा आजदेखि शुरु भएको प्रेस सेन्टर नेपालको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले आसन्न निर्वाचनमा परिवर्तन पक्षधर वामपन्थीको मोर्चा बनाउन खोजिएको प्रष्ट्याउनुभयो । “तत्काल समाजवादी केन्द्र बन्दैन, निर्वाचनका लागि वामपन्थीको मोर्चा बनाउन खोजिएको हो”, उहाँले भन्नुभयो, “त्यसमा छलफल जारी छ, निष्कर्ष निस्केको छैन ।” वर्तमान सत्ता गठबन्धनमा रहेको वामपन्थी शक्तिहरु आगामी निर्वाचनमा मोर्चा बनाएर जान लागेका छन् । त्यसका लागि नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीलगायत दल आन्तरिक छलफलमा जुटेका छन् । अध्यक्ष दाहालले नेपाली राजनीतिको मूलधार माओवादी आन्दोलन भएको भन्दै जनताको असली पार्टी माओवादी भए पनि यो विषयलाई स्थापित गर्न नसकिएको बताउनुभयो । माओवादी पार्टीको दबाबमा ‘स्टेट पार्टनसीप प्रोग्राम’(एसपिपी)लाई नेपाल सरकारले अस्वीकार गरेको जनाउँदै उहाँले विगतमा एसपिपीमा सहभागी हुनुपर्छ भनेर लागि परेको पार्टी र नेता अहिले बढी राष्ट्रवादी देखिन खोजेको बताउनुभयो । निर्वाचनसम्म वर्तमान गठबन्धनलाई कायमै बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्दै उहाँले आगामी निर्वाचनसम्म र आवश्यकता रहँदासम्म गठबन्धन कायम रहने बताउनुभयो । “परिवर्तनका एजेण्डा उल्ट्याउने प्रवृत्ति अहिले पनि जारी छ । त्यसकारण पनि गठबन्धन आवश्यक छ”, उहाँले भन्नुभयो । इतिहासकै राम्रो बजेट ल्याएको पूर्वअर्थमन्त्रीका बारेमा प्रतीपक्षी दलले अनावश्यक कुप्रचार गरेको उहाँले बताउनुभयो । “छानबिन समितिले प्रतिवेदन बुझाएको छ, पूर्वअर्थमन्त्री निर्दोष सावित हुनुभयो । यसले पनि पुष्टी गरेको छ”, अध्यक्ष दाहालले भन्नुभयो ।
काठमाडौँ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले युरोपेली सङ्घ (इयू)ले नेपाललाई उडान सुरक्षासम्बन्धी सूचिमा राख्न नहुने धारणा राख्नुभएको छ । पर्यटनमन्त्री श्रेष्ठसँग नेपालका लागि गणतन्त्र पोल्याण्डका गैरआवासीय राजदूत आडम बुराकोव्स्कीले आज मन्त्रालयमा गर्नुभएको शिष्टाचार भेटको क्रममा उहाँले नेपाली उड्डयन क्षेत्रलाई अन्तरराष्ट्रिय उड्डयन सङ्गठन आइकाओले प्रतिबन्ध फुकुवा गरिसकेको अवस्थामा इयुले सुरक्षासम्बन्धि सूचीमा राख्न नहुने बताउनुभएको हो । आइकाओको सुरक्षा इन्डेक्सले नेपाली आकाश तथा वायुसेवा कम्पनी सुरक्षित रहेको पुष्टी भइसकेको अवस्थामा नेपाली उड्डयन क्षेत्रलाई युरोपमा सिधा उडानको व्यवस्था गर्नुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ । भेटमा उहाँहरुबीच नेपाल र पोल्याण्डबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भएको थियो । मन्त्री श्रेष्ठले नेपाल र पोल्याण्डबीच कुटनीतिक सम्वन्ध स्थापित भएदेखिनै सुमधुर सम्वन्ध रहिआएको चर्चा गर्नुहुँदै यसलाई अझ मझवुत बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पर्वतारोहणमा पोल्याण्डका जनताको रुची रहेको र त्यसका लागि नेपाल आकर्षक गन्तव्य रहेको बताउनुभयो । मन्त्री श्रेष्ठले कोरोना भाइरस महामारीपछि नेपालले अहिले पर्यटन पुनरुत्थानका कार्ययोजनाअनुसार पर्यटकलाई सुविधा तथा सहुलियतका कार्यक्रम अघि बढाएको जानकारी गराउनुभयो । पोल्याण्डमा उच्च अध्ययन र रोजगारीको सिलसिलामा नेपाली जाने गरेको तथा नेपालमा रहेका पोल्याण्डका जनताको भिसा र आवागमन प्रक्रियामा सरलीकरण गर्नेबारेमा पनि उहाँहरुबीच छलफल भएको थियो । राजदूत बुराकोव्स्कीले सन १९९२ मा कन्चनजङ्गा हिमाल आरोहणका क्रममा हराएकी पोल्याण्डकी नागरिक वान्डा रुटकिविजको स्मृति कार्यक्रम आगामी अक्टुवरमा नेपालमा गर्ने तयारी गरिएको जानकारी दिनुभएको थियो । रुटकिविज युरोपबाट सगरमाथा र केटु हिमाल आरोहण गर्ने पहिलो महिला आरोही हुनुहुन्छ । भेटवार्तामा उहाँहरुबीच नेपालको पर्यटन प्रवद्र्धनका उपायबारे छलफल भएको थियो । भेटमा मन्त्रालयका निमित्त सचिव वुद्धिसागर लामिछाने, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी तथा नेपालका लागि गणतन्त्र पोल्याण्डका महावाणिज्यदूत लोकमान्य गोल्छाको सहभागिता थियो ।
काठमाडौँ: पछिल्लो समय बाघको सङ्ख्या वृद्धि भएर ३५५ पुगेको छ । आज यहाँ विश्व बाघ दिवस २०२२ को अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । राष्ट्रिय बाघ तथा आहार प्रजाति सर्वेक्षण प्रतिवेदन २०२२ का अनुसार बाघको सङ्ख्यामा चार वर्षमा ५१ प्रतिशत बृद्धि भएको सो अवसरमा जानकारी दिइयो । हाल नेपालमा ३५५ वयश्क बाघ रहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार पर्सा राष्ट्रिय निकुञ्ज तथा वरपरको वन क्षेत्रमा ४१, चितवन राष्ट्रिय निकुञ्ज तथा वरपरको वन क्षेत्रमा १२८, बाँके राष्ट्रि निकुञ्ज र वरपरको वन क्षेत्रमा २५, बर्दिया राष्ट्रिय निकुञ्ज र वरपरको क्षेत्रमा १२५ र शुक्लाफाँटा लालझाडी जोगबुढाक्षेत्रमा ३६ गरी जम्मा ३५५ बाघ रहेको उल्लेख गरीएको छ । बाघको सङ्ख्या एकिन गर्न तराई आर्क ल्याण्डस्केप अन्तर्गतका १५ जिल्लामा अकुपेन्सी सर्वेक्षण गरिएको वन तथा वातावरण मन्त्रालयका सचिव डा पेमनारायण कँडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ । बाघको सङ्ख्या एकिन गर्न बाघको बसोबास रहेको क्षेत्र चितवन, पर्सा, बाँके बर्दिया र शुक्लाफाँटा लालझाडी जोगबुढा तीन क्षेत्र विभाजन गरी क्यामेरा ट्रयाप विधी प्रयोग गरी सर्वेक्षण गरीएको थियो ।
काठमाडौँ: देशभर पछिल्लो २४ घण्टामा थप ५७७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार २८२ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या हालसम्म नौ लाख ८५ हजार ८०८ पुगेको छ । एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सङ्क्रमितको सङ्ख्या एक लाख ४२ हजार ३६३ रहेको छ । पछिल्लो समय थप २६९ जना सङ्क्रमणमुक्त भएका छन् । त्यसैगरी पछिल्लो समय २८ हजार २५६ जनाले खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ३५६ रहेको छ । जसमध्ये होमआइसोलेशनमा चार हजार २०३, संस्थागत आइसोलेशनमा १५३, आइसीयूमा ३४ र भेन्टिलेटरमा पाँचको उपचार भइरहेको छ ।
पर्वत: अरिङ्गालको टोकाइबाट एक युवाको ज्यान गएको छ । को कुश्मा नगरपालिका–१ बस्ने ३४ वर्षीय श्रीराम परियारलाई अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेर गम्भीर घाइते भएकामा उपचारका लागि धवलागिरि अस्पतालमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । परियार गए राति घर नजिककैको जङ्गलमा अरिङ्गाल पोल्न गएको र अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेपछि गम्भीर घाइते हुनुभएको थियो ।
दाङ: दाङमा कुलोमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–२ पोटलीका २६ वर्षीय नरेश चौधरीको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखतबहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार यसअघि पनि चौधरी विभिन्न रोगले ग्रसित भएको र त्यही कारणले कुलोमा डुबेर मृत्यु भएको हो । उनको आज बिहान ९ बजेतिर कुलोमा डुबेर मृत्यु भएको हो । चौधरीको शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।
पोखरा: देशका छ वटै महानगरका प्रमुखको भेला ‘मेयर सम्मेलन’ आजदेखि पोखरामा सुरु भएको छ। पोखरा महानगरको आयोजनामा हुन लागेको उक्त सम्मेलनमा महानगरका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहनेछ। महानगरले सम्मेलनलाई ‘मेट्रो मिट नेपाल’ नाम दिएको छ। सम्मेलनको कार्यतालिकामा पहिलो दिन पोखरा, काठमाडौँ, विराटनगर, भरतपुर, ललितपुर र वीरगञ्ज महानगरपालिकाका प्रमुखले आ–आफ्ना महानगरका मुख्य योजना र कार्यान्वयनका चुनौती’बारे धारणा राख्ने कार्यसूचीमा उल्लेख छ। त्यसपछि राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदिशचन्द्र पोखरेलले ‘सङ्घीयता, महानगर र अबको बाटो’ बारे मुख्य प्रस्तुती दिनेछन्। महानगरका उपप्रमुखले ऐनले निर्दिष्ट गरेका जिम्मेवारी सम्बन्धमा अनुभव तथा सिकाइ आदानप्रदान गर्ने बताइएको छ। प्रमुख प्रशासकीय अधिकृतले विद्यमान ऐन, कानुन र तिनका कार्यान्वयनका चुनौती’बारे आफ्नो धारणा सुनाउने कार्यसूची छ। सम्मेलनको दोस्रो दिन पूर्वाधार विज्ञ डा सूर्यराज आचार्यले महानगरको साझा सवाल, पूर्वाधार विकास तथा सुशासन’सम्बन्धी प्रस्तुति राख्ने कार्यसूची छ। उनको प्रस्तुतिपछि सहभागीबीच महानगरमा हरित, उत्थानशील तथा समावेशी विकासको अपरिहार्यता, सम्भावना र चुनौती’ तथा महानगरका साझा सवाल र आगामी कार्यदिशा विषयमा छलफल गर्ने कार्यसूची रहेको पोखरा महानगरपालिकाले जनाएको छ ।
पोखरा: नेपालका लागि पोल्याण्डका गैर–आवासीय राजदूत एडम बुराकोव्स्की र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य बिच शिष्टाचार भेटवार्ता भएको छ । राजदुत बुराकोव्स्कीसंगको भेतवार्तामा हिमाल आरोहणका क्रममा हराएकी पोल्याण्डकी नागरिकको स्मृति कार्यक्रम पोखरामा गर्न गरिएको आग्रहलाई आफुले स्विकार गरेको प्रमुख आचार्यले बताउनुभयो । सन १९९२ मा कन्चनजंगा हिमाल आरोहणको क्रममा हराएकी पोल्याण्डकी नागरिक वान्डा रुटकिविज केटु हिमाल आरोहण गर्ने पहिलो महिला आरोही हुन भने युरोपबाट सगरमाथा आरोहण गर्ने पहिलो तथा विश्वकी तेस्रो महिला आरोही पनि हुन् । उनले नेपालको अन्नपुर्ण हिमाल समेत सफलतापुर्वक अरोहण गरिसकेकी थिइन । पछिल्लो पटक सन १९९२ मा कन्चनजंगा हिमाल आरोहण गर्ने क्रममा उनि हराउन पुगिन् । रुटकिविजलाई पोल्याण्डको सरकारले आउट स्टान्डिङ् पोलिसी विमनको रुपमा घोषणा गरेको छ । रुटकिविज हराएको ३० वर्षपछि आगामी अक्टुवर महिनामा पोखरामा उनको स्मृति कार्यक्रम गर्ने तयारी गरिएको राजदुत बुराकोव्स्कीले बताउनुभयो । अन्नपुर्ण हिमाल समेत आरोहण गरेकी शाहसी महिला रुटकिविजको सम्झानामा आयोजना गरिने सो कार्यक्रम पोखरामा गर्न आफुले सहमति दिएको महानगरका प्रमुख आचार्यले बताउनुभयो । साथै उहाँहरु बिच पोखराको पर्यटन प्रवद्र्धनका विषयमा समेत छलफल भएको छ । वर्षेनी पोल्याण्डका धेरै पर्यटकहरु पोखरामा आउने गरेपनि राजदुत बुराकोव्स्कीको भने पोखरा भ्रमण पहिलो हो । राजदुत बुराकोव्स्कीले पोखरा आफुलाई निकै मनमोहक लागेको प्रतिक्रिया दिनुभएको छ । पोखराको पर्यटन प्रवद्र्धनमा थप समन्वय गर्ने राजदुत बुराकोव्स्कीको भनाई छ । यस्तो प्रकारको शिष्टाचार भेतवार्ताले अनुभव आदानप्रदानका साथै विकास र प्रवद्र्धनमा नयाँ आयामहरु थप्न सघाउ पुग्ने प्रमुख आचार्यको विश्वास छ । पोखरामा सम्पन्न भेतवार्तामा नेपालका लागि गणतन्त्र पोल्याण्डका अवैतनिक महावाणिज्यदुत लोकमान्य गोल्छाको सहभागीता रहेको थियो ।

