काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेट भएको छ । सरकारी निवास बालुवाटारमा उहाँहरुबीच बिहान छलफल भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार विवादपछि अर्थमन्त्री पदबाट राजीनामा दिनुभएका जनार्दन शर्माको नियुक्तिलगायत समसामयिक राजनीतिक विषयमा उहाँहरुबीच छलफल भएको हो ।
महोत्तरी । महोत्तरीको गौशालामा शुक्रबार छुरा प्रहार गरी पाँच लाख रुपियाँ लुटपाट गरेको भन्दै झुटो उजुरी दिनेलाई प्रहरीले पक्राउ गरेको छ । रकम लुटपाटको बनावटी घटना बनाउदै उजुरी दिएको पाइएपछि प्रहरीले रामगोपालपुर नगरपालिका–७ सहसौला बस्ने अरुणकुमार चौधरीलाई पक्राउ गरेको हो । शुक्रबार बेलुका आफुलाई अज्ञात व्यक्तिहरुले छुरा प्रहार गरि बैंकमा जम्मा गर्न लगेको पाँच लाख रुपियाँ लुटपाट गरेको भन्दै प्रहरीमा उजुरी दिएको तर घटना झुटो भएको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रले जानकारी दिनुभयो । गौशाला नगरपालिका–२, सम्सी गौशाला सडक खण्ड स्थित रेडक्रस भवन नजिकै छुरा प्रहार गरि पाँच लाख लुटिएको उजुरीमा उल्लेख गरेका थिए । घटनाको अनुसन्धान पछि झुटो भएको भन्दै पिडित चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । धेरै मानिससँग लिएको सापटी र ऋण रकम तिर्न चौधरीले छुरा प्रहारको कथा बुनेर रकम अपचलन गर्न खोजेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । गाउँमै दाजु भाई मिलेर बैष्णवी मणि ट्रान्सफर सञ्चालन गर्दै आएका चौधरीले भाईको रकमलाई अपचलन गर्न प्र–२–०२–००४ प ३३४७ नम्बरको मोटरसाइकलबाट पाँच लाख रुपियाँ बैंकमा जम्मा गर्न गएको र बैंक बन्द भएकोले फिर्ता ल्याउँदै गर्दा तीन जना व्यक्तिहरुले छुरा प्रहार गर्दै लुटपाट गरेको घटना प्रहरीलाई बताएका थिए ।
काठमाडौँ। माध्यमिक शिक्षा परीक्षा (एसईई)मा १.६ जीपीए ल्याउने सबैले कक्षा ११ मा भर्ना हुन पाउने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको विद्यार्थी भर्नासम्बन्धी आधारअनुसार कक्षा ११ मा भौतिकविज्ञान, रसायनविज्ञान, जीवविज्ञान र गणित विषय अध्ययन गर्न चाहनेले भने एसईईमा यी चारवटा विषयमा कम्तीमा ‘सी प्लस ग्रेड’ हासिल गरी समग्र नतिजामा न्यूनतम १.६ जीपीए प्राप्त गरेको हुनुपर्नेछ। राष्ट्रिय परीक्षा बोर्ड प्रदेश व्यवस्थापन कार्यालय बागमतीका प्रमुख जयन्ती सत्यालले भौतिकविज्ञान, रसायनविज्ञान, जीवविज्ञान र गणित विषयबाहेकका अन्य विषय पढ्न चाहनेले एसईईमा न्यूनतम १.६ जीपीए हासिल गरेको हुनुपर्ने तर विषयगत ग्रेडको कुनै बन्धन नभएको जानकारी दिनुभयो। उहाँका अनुसार विज्ञानबाहेक शिक्षा, व्यवस्थापन, मानविकी विषयमा अनिवार्य तथा ऐच्छिक विषयका रूपमा गणित पढ्न चाहनेले पनि एसईईमा ‘सी प्लस ग्रेड’ प्राप्त गरेकै हुनुपर्छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार एसईईमा तत्कालका लागि कक्षा ११ मा भर्ना नै हुन नपाउने अर्थात् जिरो दशमलव आठदेखि एक दशमलव दुई जीपीए ल्याउने विद्यार्थी तीन हजार दुई सय छन्। बोर्डले यी विद्यार्थीका लागि ग्रेड वृद्धि परीक्षा व्यवस्था गरेको छ। तर सोभन्दा माथिल्लो जीपीए ल्याउने विद्यार्थी पनि विषयगत रूपमा प्राप्त ग्रेडमा चित्त नबुझेमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउनेछन्। यस्ता विद्यार्थीका लागि परीक्षा बोर्डले आगामी भदौको ११ र १२ गते ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने निर्णय भएको छ। परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले ‘सी’ वा सोभन्दा कम ग्रेड हासिल गरेकाले बढीमा दुई विषयसम्म ग्रेड वृद्धिको परीक्षामा सम्मिलित हुन पाउने जानकारी दिनुभयो।
काठमाडौं । अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त हुने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका छन् ।
काठमाडौं । आज देशभर मेघ गर्जन साथ चट्याङसहितको वर्षा हुने सम्भावना रहेको छ । मनसुनी प्रणालीमा थप सक्रियता आएसँगै देशका विभिन्न भागमा हल्का देखी मध्यम र केही स्थानमा भारी वर्षासम्म हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको महाशाखाले जनाएको छ । पुर्वी नेपालबाट भित्रिएको मनसुन पश्चिम नेपाल हुँदै वाहिरीने भएपनि हाल देशभर मनसुनी चक्र सक्रिय रहेको महाशाखाले जनाएको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। सोमबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
काठमाडौं । खोटाङ केन्द्रविन्दु भएर ६ म्याग्नेच्युडको भूकम्प गएको छ । आइतबार विहान ८ बजेर १३ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका वरिष्ठ भूकम्पविद् डा। लोकविजय अधिकारीका अनुसार खोटाङको मार्तिमविर्ता केन्द्रविन्दु भएर ६ म्याग्नेच्युडको भूकम्प गएको हो । खोटाङलगायत देशभर भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको विस्तृत रिपोर्ट भने आउन बाँकी रहेको छ । स्थानीय तह र अन्य सुरक्षा निकायसँग समन्वय गर्दा क्षतिको विवरण आइनपुगेको, टेलिफोन र विजुली सुचारु अवस्थामा रहेको खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेँडाईले जानकारी दिनुभयो । साता दिनदेखि लगातार पानी परेकाले राजमार्गहरु अवरुद्ध हुने सम्भावना बढी रहेकाले विपद् जोखिम न्यूनिकरण र उद्धारका लागि तयारी अवस्थामा रहेको समेत उहाँले बताउनुभयो ।
साफ यू-२० च्याम्पियनसिप फुटबलमा आज नेपालले तेस्रो खेल घरेलु टोली भारतसँग प्रतिस्पर्धा गर्दैछ । भुवनेश्वर स्थित कालिंगा रङ्गशालामा जारी प्रतियोगितामा नेपाल लगातार तेस्रो जित निकाल्दै फाइनलमा पुग्ने योजनामा छ । भारतलाई हराएमा नेपालले फाइनल यात्रा तय गर्नेछ । नेपाली टोलीका प्रशिक्षक मेघराज केसीले खेलाडीले राम्रो प्रदर्शन गरिरहेकोले जित निस्कनेमा विश्वास ब्यक्त गर्नुभएको छ । ‘‘भारत घरेलु टोली हो । तर, हाम्रो खेलाडीको मनोबल उच्च छ । हामी सबै खेल जित्दै अगाडि बढ्न चाहन्छौं,’’ केसीले भन्नुभयो । नेपाल र भारतबीचको खेल साँझ ७ः१५ बजे सुरु हुनेछ । उपाधि चुम्ने लक्ष्यका साथ भारत गएको नेपालले अघिल्ला दुई खेलमा लगातार जित निकालेको छ । नेपालले यसअघि पहिलो खेलमा माल्दिभ्सलाई ४-० र दोस्रो खेलमा श्रीलङ्कालाई ३-० गोलले पराजित गरेको थियो । पाँच टोली सहभागि प्रतियोगितामा नेपाल तालिकाको दोस्रो स्थानमा छ । नेपालले दुई खेलबाट ६ अङ्क बनाएको छ । तीन खेलमा अपराजित रहेको बङ्गलादेश ९ अङ्कसहित शीर्षस्थानमा छ । यता अघिल्ला दुई खेलमा एक जित र एक हारको नतिजा निकालेको भारतका लागि नेपालसँगको खेल महत्वपूर्ण छ । भारत पनि नेपाललाई रोकेर अगाडिको यात्रा कायम राख्ने दाउमा छ । दुई खेलबाट तीन अङ्क बनाएको भारत तेस्रो स्थानमा छ । माल्दिभ्स र श्रीलङ्काले भने अङ्कको खाता खोल्न सकेका छैनन् । नेपालले लिग चरणको अन्तिम खेल मङ्गलबार बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ । राउन्ड रोबिन लिगका आधारमा सञ्चालित प्रतियोगिताको शीर्ष दुई टोलीबीच शुक्रबार फाइनल प्रतिस्पर्धा हुनेछ ।
नेकपा (एमाले)का केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सङ्घीय लोकतान्त्रिक, गणतन्त्र नेपाल भनेर संविधानमै लेखिसकेको र अहिलेको आवश्यकता नै सङ्घीयता भएकाले विकल्प सोच्न नहुने बताउनुभएको छ । एमाले जिल्ला शाखा लमजुङद्वारा आज बेँसीसहरमा आयोजित प्रशिक्षणमा उहाँले भन्नुभयो, “अहिले आएर यदाकदा सङ्घीयता चाहिँदैन भनेर सङ्घीयता कमजोर बनाउन धेरै खर्च भयो, अप्ठ्यारो भयो भन्दै अनेकौँ टिकाटिप्पणी उठाउँदै सङ्घीयता विरोधी सक्रिय हुन थालेका छन् । काम गर्ने ढङ्ग, शैली, पारदर्शिता भएको भए त सङ्घीयता नराम्रो लाग्दैन थियो होला नि ।” देशको विकासका लागि सङ्घीयता नै अहिलेको आवश्यकता रहेको उहाँको भनाइ छ । त्यस्तै एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आगामी निर्वाचनमा एमालेले ५१ प्रतिशत सिट जित हासिल गर्न सकेमा एमालेले देखेको समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा हुने बताउनुभयो । आगामी निर्वाचनमा एमालेको बहुमत ल्याउनका लागि सबै कार्यकर्ता नेता एकजुट भएर लाग्नलाई उहाँले आग्रह गर्नुभयो । त्यस्तै स्थानीय निर्वाचनमा आफ्नै पार्टीमाथि डोजर चलाउनेहरूलाई कडा कारबाही गर्ने एमाले उपमहासचिव गुरुङले भन्नुभयो । कार्यक्रममा एमाले केन्द्रीय सदस्य मायानाथ अधिकारी, टुकाभद्र हमाल, केन्द्रीय कार्यालय सचिव भीष्मनाथ अधिकारी, गण्डकी प्रदेश कमिटी सचिव धनञ्जय दबाडी, प्रदेश सदस्य मोहनहरि पौडेललगायतले प्रशिक्षण दिनुभएको थियो ।
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले चुनावअघि कुनै पनि दलसँग पार्टी एकता नहुने बताउनुभएको छ । नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी डोटीले आज आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष नेपालले चुनावअघि पार्टी एकता सम्भव नभएको तर चुनावी मोर्चा बन्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “चुनावअघि कसैसँग पार्टी एकता हुँदैन, बरु चुनावी मोर्चा बन्न सक्छ ।” सोही भेलालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष नेपालले सबैलाई सम्मान हुने तरिकाले निर्वाचनमा सहभागी भए वर्तमान गठबन्धन पछि सम्म पनि कायम रहने जानकारी दिनुभयो । पाँचदलीय गठबन्धन भए पनि सबै नेता, कार्यकर्ताले आगामी निर्वाचनमा एकीकृत समाजवादी पार्टीले सबैभन्दा बढी सिट ल्याउनका लागि कम्मर कस्नुपर्ने अध्यक्ष नेपालले बताउनुभयो । उहाँले थप भन्नुभयो, “गठबन्धन छ भनेर मख्ख हुने बेला छैन, आफूलाई कसरी बढी सिट आउँछ र जनताको मन कसरी जित्न सकिन्छ त्यो विषयमा बढी ध्यान दिनुहोला ।” अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धनका दलहरूबीचमा खासै इमान्दारिता नदेखिएकाले अबको निर्वाचनमा सबैले इमान्दारिता देखाउनुपर्ने बताउनुभयो । पाँचदलीय गठबन्धनमा नेकपा (एकीकृत समाजवादी) इमान्दार भएको र अन्य दलहरू पनि आफूहरूजस्तै इमान्दार हुनुपर्ने अध्यक्ष नेपालको भनाइ थियो । नेकपा(एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमको विकासका लागि कुनै पनि कसर बाँकी नराख्ने बताउनुभयो । उहाँले भन्नुभयो, “म मन्त्री हुँदा डोटीसहित समग्र सुदूरपश्चिममा थुप्रै विकास निर्माणका लागि बजेट विनियोजन गरेको छु, अब विकासका लागि सुदूरपश्चिमेलीले अन्य नेताको ढोका ढक्ढकाउनु पर्दैन ।” यसैगरी पूर्वमन्त्री आलेले नेताले आफ्ना लागि नभई गरिब, विपन्न तथा निमुखा जनताका लागि काम गर्नुपर्ने धारणा राख्नुभयो ।

