कास्की २ मा नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद बास्तोला ‘मधु’ लडेर घाइते भएका छन् ।   उनी निर्वाचनका लागि घरदैलो गर्ने क्रममा पोखरा ११ फूलबारीमा सिँढीबाट लडेका हुन् ।   ...

  काठमाण्डौँ:      साउन लागेसँगै पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनको चहलपहल बढेको छ । यो महिना भगवान् शिवको महिना भएकाले यस बेलामा शुद्ध जल अर्पण मात्र गर्दा पनि भगवान् खुसी हुनुहुने धार्मिक विश्वास छ । पशुपति क्षेत्रमा चहलपहल बढेसँगै देवादिदेव महादेवलाई शुद्ध जल अर्पण गर्ने बोलबम यात्रीको पनि आजैदेखि भीड लागेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिनुभयो ।    विसं २०७७ र २०७८ मा कोरोना महामारीका कारण पशुपतिनाथ मन्दिरमा नित्य पूजा बाहेकका गतिविधिमा रोक लगाइएको थियो । दुई वर्ष साउन महिनामा पशुपतिनाथ मन्दिर दर्शन गर्न नपाएका भक्तजन यस वर्ष भने चन्द्रामासअनुसार साउन लागेदेखि नै पशुपति क्षेत्रमा धाउन थालेका छन चान्द्रमास अनुसार यस वर्ष असार ३० गतेदेखि श्रावण शुक्ल प्रतिपदा सुरु भएको हो ।   साउन महिनामा तीजमा जत्तिकै भक्तजन आउने भएकाले सहज रुपमा दर्शनको व्यवस्था मिलाइएको पनि प्रवक्ता अधिकारीले बताउनुभयो । कोष सञ्चालक परिषद् सदस्य पूर्णबहादुर जेठाराको संयोजकत्वमा साउने मेला व्यवस्थापन समिति बनाइएको छ । यसैगरी कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाको संयोजकत्वमा कार्यान्वयन समिति पनि गठन गरिएको छ । कार्यान्वयन समितिमा कोषका विभागीय प्रमुखलाई सदस्य राखिएको छ ।    पशुपति क्षेत्रमा जुत्ताचप्पल व्यवस्थापन, स्वयंसेवा, सुरक्षा व्यवस्था, चन्दन वितरणलगायत सेवा दिइने कोषले जनाएको छ । उक्त स्थानमा साउन महिनाको सोमबार विशेष भीड लाग्ने गर्छ । यस वर्ष साउन महिनामा पाँच वटा सोमबार परेको छ । पाँच वटा सोमबार पर्नुलाई राम्रो भन्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको धेरै भीड लाग्ने गर्छ ।   धार्मिक संस्थाहरुको आयोजनामा यस वर्ष साउन महिनाको अवसर पारेर अतिरुद्रांभिषेक महायज्ञसमेत आयोजना गरिएको कोषले जनाएको छ । भगवान् शिवलाई छिटो खुसी पार्न सकिने भएकाले आशुतोष नामले पनि पुकारिन्छ । भगवान् शिवलाई खुुसी पार्न शुद्ध जलमात्र चढाएपनि हुन्छ भन्ने धार्मिक मान्यता छ । यसै मान्यताअनुसार वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष साउनमा एकपटक अनिवार्य रुपमा रुद्राभिषेक गर्ने गरेका छन् ।   साउन महिनाको तयारीका लागि कोषले सफाइ कर्मचारीलाई तालिम दिएको छ । करिब १०० जना कर्मचारी पशुपति क्षेत्रको सफाइमा खटाइएको कोषले जनाएको छ ।

धादिङ:      धादिङ जिल्लामा डेङ्गुका बिरामी बढ्न थालेका छन् । पछिल्लो एक महिनाको अवधिमा जिल्ला ४९ डेङ्गुका बिरामी पहिचान भएका हुन् ।बिरामी जाँच गराउन आएकामध्ये धादिङ अस्पतालमा ४६, गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा दुई र सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा एक गरी ४९ जनालाई डेङ्गुको सङ्क्रमण पुष्टि भएकोे हो ।   पोथी लामखुट्टेले टोकेर सङ्क्रमण हुने डेङ्गुको बिरामी थपिन थालेपछि पानी जम्न सक्ने भाँडाजस्तै गमला, फूलदानी, खाली बट्टा, खाली ड्रम, गाडीका काम नलाग्ने टायरमा पानी जम्न नदिन आग्रह गरिएको छ । धादिङ अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा मधुकर दहालले लामखुट्टेबाट बच्न ज्वरो आएमा, बान्ता भएमा वा डेङ्गुका लक्षण देखिएमा स्वास्थ्य संस्थामा आउन आग्रह गर्नुभएको छ ।

काठमाण्डौँ:     सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय समाचार समिति (रासस)को श्रव्यदृष्य (भिडियो) सेवाको आज शुभारम्भ गर्नुभएको छ ।     रासस केन्द्रीय कार्यालय, भद्रकालीस्थित स्टुडियोमा रिबन काटेर मन्त्री कार्कीले सो स्टुडियो र सेवा शुभारम्भ गर्नुभएको हो । विसं २०१८ फागुन ७ गतेदेखि राज्यको एकमात्र समाचार समितिका रुपमा अविच्छिन्नरुपमा सेवारत राससको श्रव्यदृष्य सेवा शुभारम्भका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्री कार्की र मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले शुभकामना सन्देश दिइ रासस दक्षिण एसियाकै उत्कृष्ट समाचार संस्थाका रुपमा विकास हुन सकोस् भनी कामना गर्नुभएको छ ।       मुलुकमा टेलिभिजनको संख्यात्मक वृद्धि र अनलाइन सञ्चारमाध्यमले पनि च्यानल सञ्चालनको क्रम बढाएसँगै रासस श्रव्यदृष्य सेवाको माग र सान्दर्भिकता देखिएको हो । विगतमा राससले नेपालगञ्ज, विराटनगर, पोखरा र काठमाडौँबाट समाचारसँगै श्रव्यदृष्य सामग्री नेपाल टेलिभिजनलाई उपलब्ध गराएको थियो । त्यसबेला राससले श्रव्यदृष्य सेवालाई प्रविधिसम्पन्न बनाउन नसक्दा उक्त सेवा बन्द भएको थियो । 

  काठमाडौं:    उत्तरी ग्रिसमा  कार्गो जहाज दुर्घटना भएको छ । सर्वियाबाट जोर्डनका लागि उडेको युक्रेनी कम्पनीको जहाज ग्रिसको काभाला नजिकै दुर्घटना भएको हो ।   दुर्घटनामा परेको जहाजमा १२ टन ‘खतरनाक’ कार्गो थियो । चालकको विमानमा समस्या आएको भन्दै काभाला विमानस्थलमा अवतरणको अनुमति मागेका थिए । तर विमान विमानस्थल पुग्नै नपाई खसेको थियो ।   विमान खसे लगत्तै ठूलो विस्फोटको आवाज सुनिएको थियो । त्यसपछि पजमानमा आगो लागेको थियो । एक प्रत्यक्षदर्शीले भने, विस्फोटको आवाज सुनेर म बाहिर निस्किँदा आगो बलिरहेको थियो ।’   विमानमा चालक दलका ८ जना सदस्य थिए । – एजेन्सी

काठमाण्डौँ:   सरकारले विभिन्न १० वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिएको छ । यसअघि असार मसान्तसम्म उक्त वस्तु आयातमा प्रतिबन्ध लगाइएकामा त्यसलाई निरन्तरता दिँदैै आगामी भदौ १४ गतेसम्म लम्बाइएको हो ।   उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज राजपत्रमा सूचना प्रकाशन गर्दै कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादन, सबै प्रकारका मदिरा (औद्योगिक कच्चा पदार्थबाहेक), चुरोट तथा सुर्तीजन्य वस्तु (औद्योगिक कच्चा पदार्थबाहेक), हीरा (औद्योगिक कच्चा पदार्थबाहेक), ३०० अमेरिकी डलरमाथिका स्मार्ट फोनहरू, रङ्गीन टेलिभिजन, जीप, कार र भ्यान, मोटरसाइकल, सबै प्रकारका खेलौना र खेल्ने तास आयात प्रतिबन्धलाई निरन्तरता दिएकोे हो ।   यसअघि देशमा विदेशी मुद्रा सञ्चितिमा कमी आएको भन्दै मन्त्रालयले गत वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशन गर्दै असार मसान्तसम्म उक्त वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो । मन्त्रालयले निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी सोही उपदफाको खण्ड (ञ) अनुसार प्रतिबन्ध लगाइएको जनाएको छ ।   यसअघि ६०० अमेरिकी डलरभन्दा महँगा फोन आयातमा रोक लगाइएकामा त्यसलाई खुकुलो बनाउँदै ३०० अमेरिकी डलरभन्दा माथिका फोन आयातमा रोक लगाइएको छ । यसैगरी यसअघि २५० सिसी क्षमतामाथिका मोटरसाइकल तथा स्कुटर आयातमा रोक लगाइएकामा त्यसलाई कडाइ गर्दै १५० सिसीमाथिका मोटरसाइकल तथा स्कुटर आयातमा रोक लगाइएको हो ।

काठमाण्डौँ|:   राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससका सेवालाई थप प्रभावकारी बनाई सेवामा विविधिकरण गर्ने सन्दर्भमा श्रव्य दृश्य (भिडियो) सेवा सुरु गरिएको बताउनुभएको छ ।   राससले आजदेखि सुरु गर्न लागेको श्रव्य दृश्य (भिडियो) सेवाका लागि शुभकामना सन्देशमा अध्यक्ष झाले भन्नुभयो, “हाम्रा सेवाहरू देशभित्र र देश बाहिरका सञ्चारमाध्यमले समेत उपयोग गर्दै आइरहेका छन्, समय र प्रविधिको विकासँगै हामीले हाम्रा सेवाहरूलाई पनि परिस्कृत गर्दै लैजानुपर्छ, राससको स्थापनाको छ दशकपछि भिडियो सेवा सुरु गर्दैछौँ, सबैको सुझाव र सहयोगको अपेक्षा राखेका छौँ ।”   उहाँले विश्वका समाचार एजेन्सीहरूसँग राससले पनि सँगसँगै हिँड्नुपर्ने आजको आवश्यकता रहेको बताउँदै रासस नेपालको मात्रै नभई विश्वका समाचार संस्थासँग पनि सहकार्य गर्दै आएको जानकारी दिनुभयो । “राससलाई जनताको सूचनाको संवाहक बनाउन आम दर्शक, स्रोताको महत्वपूर्ण भूमिका हुनेछ भन्ने विश्वास पनि व्यक्त गर्न चाहन्छु”, अध्यक्ष झाले भन्नुभयो ।    उहाँले राससले आफ्ना सेवाहरूलाई विविधिकरण गर्दै लैजाने क्रममा श्रव्य दृश्य सेवाको पनि सुरुआत गर्न लागेकामा राससका समग्र पत्रकार एवं कर्मचारी र समग्र सेवाग्राहीहरूलाई बधाई र शुभकामना व्यक्त गर्नुभयो । 

काठमाण्डौँ:    राष्ट्रिय समाचार समिति(रासस) का जिल्ला समाचारदाता कृष्ण आचार्यलाई कुटपिट तथा दुव्र्यवहार गरेको आरोपमा विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका सात कर्मचारी पक्राउ परेका छन् । शुक्रबार कार्यालय परिसरमै मदिरा सेवन गरिरहेको भन्ने सूचनाका आधारमा समाचार सङ्कलन गर्न पुगेका आचार्यलाई कर्मचारीले कुटपिट गरेका थिए ।   कुटपिटको आरोपमा केन्द्रका सुपरभाइजर इलेक्ट्रिकल आनन्दबहादुर कुँवर, दिवछ शाह, सिनियर मिटररिडर हेमन्त ढकाल, फोरम्यान इलेक्ट्रिकल तुलसी देवकोटा, लेखापाल मञ्जिलमान श्रेष्ठ, मिटररिडर हेमशङ्कर चौधरी र लेखापाल हरि पौडेल पक्राउ परेका हुन् । पौडेल शुक्रबार राति नै पक्राउ परेका हुन् । उनीहरुलाई कानुनअनुसार कारबाही गर्ने गरी मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयो ।   कार्यालय परिसरभित्रै मदिरा सेवन गरेर बसेका कर्मचारीले समाचारदाता आचार्यलाई कुटपिट गरी दुव्र्यवहार गरेका थिए । उहाँको हातमा चोट लागेको छ भने कपडासमेत च्यातिदिएका थिए । समूह नै मिलेर कुट्न थालेपछि बन्द भएको गेट नाघेर ज्यान जोगाउन बाध्य भएको उहाँले बताउनुभयो । समाचारदाता आचार्यलाई ती कर्मचारीले कार्यलय परिसरभन्दा केही पर रहेको चितवन पोष्ट दैनिकको कार्यालयसम्म लखेट्दै लगेका थिए । उहाँलाई कर्मचारीले कुटपिट गरेपछि दुईवटा मोबाइल पनि नियन्त्रणमा लिएका थिए । 

काठमाण्डौँ:    नेपाली कांग्रेसको केन्द्रीय सदस्य तथा सांसद मोहन आचार्यले जनसरोकारका विषयलाई प्राथमिकता दिन स्थानीय जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति रसुवाद्वारा स्थानीय तहको निर्वाचन २०७९ मा विभिन्न पदमा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान गर्न धुन्चेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले  सहभागितामै आयोजनाहरू अगाडि बढाउन जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “स्थानीय सरकारसँग जनताका धैरै अपेक्षा हुन्छन् ।  गाउँको विकासलाई केन्द्रविन्दुमा राखेर योजना बनाउनुपर्छ । ”   कार्यक्रममा पार्टीका जिल्ला सभापति पेम्बा छिरिङ तामाङ, बागमती प्रदेशसभा सदस्यद्वय  प्रभात तामाङ र प्रेम तामाङ, लामा कार्पु तामाङ र उपेन्द्र लम्सालसहितका विभिन्न तहका नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।    कार्यक्रममा उपस्थित नेताहरुले स्थानीय निर्वाचनको समीक्षा तथा आगामी सङ्घ र प्रदेशको निर्वाचन केन्द्रित रहेर सङ्ठन विस्तारलाई तीव्रता दिनुपर्ने धारणा राख्नुभयो ।

  काठमाडौँ:     काठमाडौँको भृकुटीमण्डपमा रहेको समाज कल्याण परिषद्को गोदामघरमा आगलागी भएको चार दिन बित्यो । तर आगलागीका कारण र क्षतिका विवरण यकिन हुन सकेको छैन । आगलागी बुधबार दिउँसो भएको थियो । बुधबार आगलागी नियन्त्रणमा आएको पनि थियो तर बिहीबार फेरि सोही स्थानमा आगलागी भएको थियो ।   समाज कल्याण परिषद् स्थापना हुँदा अर्थात् २०४३ देखिका महत्वपूर्ण दस्तावेज, विभिन्न दातृनिकायसँग गरिएका सम्झौता र समझदारीका फाइल, विभिन्न ऐतिहासिक मठमन्दिरमा भएका सुन–चाँदीका गरगहनाका विवरणयुक्त कागजात र ऐतिहासिक पुस्तक र फर्निचर जलेर नष्ट भएका छन् । त्यस्ता वस्तुका क्षतिलाई मूल्यमा आँकलन गर्नै नसकिने सरोकारवालाहरू बताउँछन् ।    ती दस्तावेज लैनचौरस्थित परिषद्को कार्यालय उपराष्ट्रपतिको कार्यालय र निवासका लागि लिइएपछि परिषद्को कार्यालय ललितपुरको पुल्चोकस्थित पुरानो बालपरिषद्को साँघुरो स्थानमा सार्नुपरेको थियो । २०७५ मङ्सिरमा परिषद्को कार्यालय त्यहाँ सार्दा सबै दस्तावेज त्यहाँ राख्ने ठाउँ नभएपछि ‘केही समयका लागि’ भनेर भृकुटीमण्डपको सोही गोदाममा राखिएको थियो ।    ‘केही समयका लागि’ भनेर तत्कालीन व्यवस्थापन गरिएका दस्तावेज तीन वर्षभन्दा बढी समय पनि स्थायी रूपमा सुरक्षित व्यवस्थापन भएन । जसकारण आगलागी हुँदा ती ज्यादै महत्वपूर्ण दस्तावेज जलेर नष्ट भए । तर कति के–के जलेर नष्ट भए भन्ने यकिन छैन ।   समाज कल्याण परिषद्का सदस्य–सचिव मनोज भट्ट आगलागीबाट भएको क्षतिको विस्तृृत विवरण सङ्कलन भइरहेको बताउनुहुन्छ । परिषद्मा दरबन्दीभन्दा करिब आधामात्र जनशक्ति रहेको भन्दै उहाँले परिषद्सँग जोडिएका विभिन्न सङ्घ संस्थाका कागजातसमेत भिडाएर यकिन गर्नुपर्ने भएकाले केही बढी समय लागेको बताउनुभयो । उहाँले आफूहरू त्यसको मुचुल्का बनाएर विस्तृत विवरण तयार पार्नेक्रममा रहेको र केही दिनमै सार्वजनिक गर्ने बताउनुभयो ।    आगलागी भएको चार दिन बित्दा पनि के–कति क्षति भएको भनेर मुचुल्कासमेत तयार हुन नसक्दा अगालागीका कारण खोजी गर्ने कार्यमा पनि ढिलाइ भएको छ । कुनै विद्युतीय लाइन नजोडिएको गोदामघरमा मध्यबर्खाको समयमा भएको आगलागी कतै सुनियोजित त होइन भन्ने शङ्का पनि गर्न थालिएको छ । प्रहरी प्रशासनले पनि मुचुल्का नउठेका कारण त्यसमा कुनै किसिमको छानबिन अगाडि बढाएको छैन ।   महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेश मैनालीले क्षतिका विवरण परिषद्ले नै यकिन गर्न नसकेकाले मुचुल्का बनाउने र थप छानबिन गर्ने कार्य नभएको बताउनुभयो । आगलागी कतै सुनियोजित त होइन भन्ने प्रश्नमा सदस्य–सचिव भट्ट भन्नुहुन्छ, “आगलागी भइसकेपछि यस्ता शङ्का स्वाभाविक हुन् । दस्तावेज नष्ट हुँदा कसलाई के फाइदा हुन सक्छ भन्ने विषयमा हामी पनि अनुसन्धान गरिरहेका छौँ ।” बुधबार नियन्त्रणमा आएको भनिएको आगो बिहीबार फेरि फैलेको कुरालाई पनि शङ्काका रूपमा हेरिएको छ ।     आगलागी हुँदा परिषद्का दस्तावेजमात्र होइन, त्यही गोदाममा राखिएका राष्ट्रिय अपाङ्ग कोषका अरू सामग्री पनि जलेर नष्ट भएका छन् । तिनमा कोषलाई विभिन्न दातृनिकायले सहयोगस्वरूप उपलब्ध गराएका अपाङ्गता भएका व्यक्तिलाई वितरण गर्न राखिएका ह्विलचेयर, वाकर, कृत्रिम हात–खुट्टा, बेल्ट, सेतो छडीलगायतका अपाङ्गता सहयोगी सामग्री छन् । कोषका सभापति बेकराज भट्टराईका अनुसार कोषले त्यहाँ भण्डारण गरेका करिब पाँच लाख मूल्यबराबरका सामग्री जलेर नष्ट भएका छन् ।