कास्की २ मा नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद बास्तोला ‘मधु’ लडेर घाइते भएका छन् ।   उनी निर्वाचनका लागि घरदैलो गर्ने क्रममा पोखरा ११ फूलबारीमा सिँढीबाट लडेका हुन् ।   ...

खोटाङ:   दिक्तेलमा आयोजित १३औँ जिल्लास्तरीय सितोरियो कराते प्रतियोगितामा दिक्तेल डोजो प्रथम भएको छ । नेपाल सितोरियो कराते सङ्घ खोटाङले आयोजना गरेको प्रतियोगितामा १३ स्वर्ण, १० रजत र १३ कास्य पदकसहित दिक्तेल डोजोले प्रथम भएको हो ।   जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा शनिबार साँझ सम्पन्न प्रतियोगितामा छ स्वर्ण, आठ रजत र १५ कास्यसहित हलेसी डोजो दोस्रो भएको छ । यस्तै तीन स्वर्ण, तीन रतज र १६ कास्य पदकसहित जालपा डोजोले तेस्रो स्थान प्राप्त गरेको सङ्घका अध्यक्ष सञ्जयकुमार राईले बताउनुभयो ।   कूल ८४ पदकका लागि भएको २२ इभेन्टको प्रतियोगिताका वितेजालाई मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । समापन कार्यक्रमको प्रमुख अतिथि हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले विजेतालाई मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो ।    प्रतिस्पर्धामा पुरुषतर्फ हलेसी डोजोका युनिस राई र महिलातर्फ दिक्तेल डोजोकी परिना राईले बेष्ट फाइटरको उपाधि जितेका छन् । अनुशासित टिमको उपाधि हलेसी डोजोले हात पारेका छन् । वर्ष अनुशासित खेलाडी २०७८ को उपाधि भने दिक्तेल डोजोकी श्रेया राईले पाएकी छन् । उनीहरुलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।    प्रतियोगितामा अन्तर्राष्ट्रिय खेलाडी विचारी तामाङ संयोजकत्वको टिमले निर्णायकको भूमिका निर्वाह गरेका थिए । प्रतियोगिता दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले उद्घाटन गर्नुभएको थियो ।    कोभिड–१९ को महामारीका कारण एक वर्ष रोकिएको जिल्लास्तरीय प्रतियोगिता यसपल्ट आयोजना गरिएको आयोजकले जनाएको छ । विसं २०७७ चैतमा १२औँ जिल्लास्तरीय सितोरियो कराते प्रतियोगिता आयोजना गरिएको थियो ।

  काठमाण्डौँ:     दिनचाहिँ साउने सङ्क्रान्तिको भए पनि पानीझरी छैन । पानी नपर्दा दुई सातायता धान रोपाइँ बढाउन नसकेका किसान साउने सङ्क्रान्ति पर्वको संस्कृति थेग्न आज ‘लुतो फाल्ने’ तयारीमा छन् । खासगरी युवापुस्ता पर्वविशेषको सो चलनलाई रमाइलो बनाउन आज एकाबिहानैदेखि चहलपहलमा देखिन्छन् ।  जिल्लाको उत्तरवत्र्ती क्षेत्रका बर्दिवास,  गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्रमा पर्वते मूलका बसोबास बाहुल्यताका बस्तीमा साउने सङ्क्रान्ति परम्परालाई उल्लासमय बनाउन युवायुवती तयारीमा लागेका देखिँदा छन् ।   खासगरी पर्वते मूलका नेपाली हिन्दू परम्परामा मनाइने यो पर्वमा साउने सङ्क्रान्तिका दिन साँझ लुतेसरो, कुकुरडाइनो, भलायो र कुरिलोसहितका जङ्गली वनस्पतिमा आगो सल्काएर अगुल्टो खोल्सा कटाउने गरी हुत्याउँदै ‘लुतो जा’ भन्दै कराइने चलन छ । सूर्यास्तपछि साँझपख मनाइने यो परम्पराको तयारीका लागि आज एकाबिहानै बस्ती–बस्तीबाट युवायुवतीको समूह ती वनस्पतिको खोजमा वन क्षेत्र पसेका छन् । पहाडी मूलका हिन्दू परम्पराको पर्व भए पनि लुतो फाल्ने वनस्पति लिन जङ्गल जाने समूहमा तराईकै मूल बासिन्दा कोइरी, यादव, लोहार, बिन, हजाम, पासवानसहितका जाति समुदाय र फरक धर्म परम्पराका इस्लाम धर्मावलम्बी युवा पनि सरिक देखिएका छन् । एक ठाउँमा बस्दा आपसी सद्भाव अभिवृद्धिमा सांस्कृतिक घुलमिलले सजिलो बनाउने हुँदा आफूहरु लुतो फाल्ने पर्व मनाउने साथीहरूसँगै रमाइलोमा मिसिएको भङ्गाहा–४ का बासिन्दा २० वर्षीय इस्लाम धर्मावलम्बी युवा अमिरुल राइन बताउनुहुन्छ ।   “समूहमा एकसाथ हिँड्दा रमाइलो लाग्छ, फेरि हाम्रा पुराना परम्परा जगाइराख्ने पनि त भयो”, बर्दिबास–७ मनहरिपुरकी २२ वर्षीया मीना खत्री भन्नुहुन्छ, “बस्तीका एक उमेरका साथीबीचको हेलमेलले संस्कृति थेग्ने कुरामात्र नभई सामाजिक काम पनि सहज बन्छन् ।”   आफ्ना  बस्तीमा नयाँ युवापुस्तामा  हेलमेल र अपनत्व बढेको देख्दा पुराना बाबु पुस्ताका अभिभावक पनि खुसी देखिएका छन् । तराईमा मनाइने छठ, चौरचन र जुडशीतललगायतका पर्व र इस्लाम धर्मावलम्बीका इद, बकरइद र मुहर्रमजस्ता पर्वमा  पहाडी मूलका युवाको र पहाडी मूलका तराईका बासिन्दाले मनाउने पर्वहरूमा मधेसी र इस्लाम युवायुवतीको हुने सरिकताले चाडबाड थप रमाइलो हुने र आपसी सहकार्य बढ्ने भङ्गाहा–४ का सामाजिक, राजनीतिक कार्यकर्ता गङ्गाराम महतो बताउनुहुन्छ ।   “हामी उमेरदारी तन्नेरी हुँदा ‘लुतो फाल्ने’ चलन त्यति थिएन, पहाडी मूलका हिन्दूको बसोबास बढेपछि थाहा पायौँ”, उहाँ भन्नुहुन्छ, “अहिले हाम्रा छोरा पुस्ता सँगसँगै यो पर्व मनाउँदै छन्, सबै एकसाथ मिलेको देख्दा खुसी लाग्छ ।” जिल्लाको उत्तरी भेगका पहाडी र मधेसी मूलका छ्यासमिस बस्तीमा एकअर्काका सांस्कृतिक पर्वहरू अब  सबैका साझा बन्दै गरेका देखिन्छन् । फरक–फरक सांस्कृतिक परम्पराका नयाँ पुस्तामा देखिएको घुलमिल र हिमछिमले पुराना राजनीतिक आग्रह र पहाडी मधेसी भनेर हेर्ने, सोच्ने दृष्टिकोण  हराउँदै, मेटिँदै जाँदा खुसी लाग्ने गरेको बर्दिबास–९ पशुपतिनगरका पाका व्यक्तित्व ७० वर्षीय रामचन्द्र महतोको धारणा छ ।   पर्वका अवसरमा आज जिल्लाको सुदूर उत्तरी क्षेत्रको सघन वनक्षेत्रमा विभिन्न ठाउँका युवाको समूह ‘लुतो फाल्ने’ पर्व प्रयोजनका वनस्पति खोज्न व्यस्त छन् । साँझमा ‘लुतो फाल्ने’ विधिको परम्परा अति नै रमाइलो लाग्ने हुँदा पर्वते मूलका साथीसँगै मिसिएर आफु पनि वनस्पति खोज्न आएको वन क्षेत्रमा भेटिएका गौशाला नगरपालिका–१ का १७ वर्षीय किशोर पङ्कज साह बताउनुहुन्छ ।   जिल्लाको उत्तरी क्षेत्रमा साउने सङ्क्रान्तिका दिन धेरैजसो खिर खाने चलन छ । जिल्लाको उत्तरी क्षेत्रमा सघन बसोबास रहेका मगर जातिले त साउने सङ्क्रान्ति पर्व विशेषरूपमै मनाउने गरेका छन् । मगर जातिमा यस पर्वका दिन विवाह गरिएका छोरीचेली, ज्वाइँचेला र भाञ्जाभाञ्जीलाई बोलाएर ख्वाउने परम्परा छ । बिहानदेखि साँझसम्म विभिन्न परिकार खाने–खुवाउने गरिएपछि साँझमा भने बस्तीकै युवायुवती भेला भएर हल्लीखल्ली गर्दै ‘लुतो फाल्ने’ पर्व मनाउँछन् ।   फरक–फरक परम्परा, संस्कृति र रीतिथितिका भए पनि एक ठाउँमा बस्ने युवा र किशोरवयका छोराछोरीको आपसी घुलमिल देख्दा बाबु, काका पनि मख्ख देखिन्छन् । “यहाँ मधेसी हउन् कि पहाडी मूलका हुन्, अनि हिन्दू हउन् कि इस्लाम, सबै सँगसँगै चाडवाड मनाउँछन्”, भङ्गाहा–४ कै इस्लाम धर्मावलम्बी ५० वर्षीय सहबुल अन्सारी भन्नुहुन्छ , “आफ्नो बस्तीका पछिल्ला पुस्ताका युवा र किशोरबीचको प्रेम र आपसी हेलमेल देख्दा मन प्रशन्न हुन्छ ।”   पर्व मनाउने नेपाली परम्परा अति नै सहिष्णु र सहकार्यमा आधारित भएको बुद्धिजीवीको ठहर छ । फरक–फरक धर्म, संस्कृति र परम्पराका भए पनि एकअर्काका पर्वमा उत्तिकै रमाएर सरिक हुने नेपाली समाजको सहकार्य संस्कृति नमूना नै रहेको बर्दिबास जनता बहुमुखी क्याम्पसका प्राचार्य तोबहादुर ठकुरी बताउनुहुन्छ ।

काठमाण्डोैँ:     चाँगुनारायण नगरपालिका–२ दुवाकोट फक्सिङटार बस्ने ८४ वर्षीय जगतप्रसाद शिल्पकारको शव जलेको अवस्थामा फेला परेको छ । आफ्नै घरको भुइँतलाको कोठामा कम्मरदेखि माथिको भाग जलेर मृत्यु भइरहेको अवस्थामा शव भेटिएको भक्तपुर महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।     प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धान गरी शवपरीक्षणका लागि काठमाडौँ मेडिकल कलेज पठाएर घटनाबारे थप अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।

काठमाडौँ:    नेपालले हवाई सुरक्षामा विश्वस्तरको मापदण्डअनुरुप उल्लेखनीय प्रगति हासिल गरे पनि युरोपेली सङघ (इयु) ले अझै पनि आफ्नो उडान सुरक्षा सूचीबाट हटाएको छैन ।    हवाई सुरक्षामा गम्भीर चासो औँल्याउँदै इयुले १० वर्षदेखि नेपालको हवाई उड्डयन क्षेत्रलाई उडान सुरक्षाको सूचीमा राखेको छ । नेपालले हवाई सुरक्षा अभिवृद्धिमा उल्लेख्य सुधार गरेकाले इयुले नेपाललाई उडान सुरक्षासूचीमा राखिरहनुको औचित्य नरहेको विज्ञको धारणा छ ।      संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धीसागर लामिछानेले नेपालको हवाई सुरक्षा दर विश्वस्तरको भएकाले अब पनि उडान सुरक्षासूचीमा राखिरहनुको तुक नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो विश्लेषणमा इयुले उडान सुरक्षा सूचीमा राख्नुपर्ने कुनै तर्क भेटेका छैनौँ, उडान सुरक्षा सुधारमा हामीले गर्नुपर्ने काम गरेका छौँ र गरिहन्छौँ, त्यसकारण इयुले सुरक्षा सूचिमा राखिरहनुपर्ने आवश्यकता देखिँदैन ।”           मन्त्रालयको नागरिक उड्डयन महाशाखाका प्रमुखसमेत रहनुभएका सहसचिव लामिछानेले नेपालको उडान सुरक्षा दर विश्वको औसतभन्दा माथि रहेकाले इयुको उडान सुरक्षा सूचीबाट नेपाल चाँडै हट्ने विश्वास व्यक्त गर्नुभयो ।      नेपालले हवाई सुरक्षामा गरेको प्रगतिलाई लिएर इयुसँग प्रतिबन्ध फुकुवाका लागि पहल भइरहेको पर्यटन मन्त्रालयले जनाएको छ । आइकाओको हालैको अडिटले नेपालको हवाई क्षेत्रमा उल्लेख्य प्रगति भएको देखाएको छ । उडान सुरक्षा अडिटमा विश्वको औसत उडान सुरक्षा दर ६७ र एशिया प्यासिफिक दर ६३ प्रतिशत रहेको सन्दर्भमा नेपालले हवाई उडानको इतिहासमै पहिलो पटक ७०।१ प्रतिशत अङ्क प्राप्त गरेको छ । जुन एशिया र विश्वको औसत अङ्क हवाई सुरक्षा तथा नियमनमा नेपालले गरेको प्रतिफल भएको प्राधिकरणले जनाएको छ ।     इयुअन्तर्गतको युरोपेली आयोगले सन् २०१३ देखि नेपालको हवाई क्षेत्रमाथि सुरक्षा चासो देखाउँदै उडान सुरक्षा सूचीमा राखेको हो । सन् २०१३ बाटै अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को गम्भीर सुरक्षा चासो (एसएससी) को सूचीमा राखेकामा सन् २०१७ जुलाईबाट हटाएको थियो ।     “इयुले किन सुरक्षा सूचीमा राख्यो यसको कुनै लजिक छैन, यो प्राविधिक विषय हो, खाली प्राविधिक पक्षमा प्रश्न र सुझाव दिनसक्छ, दुई वटा बनाउँ यो नबनाई असुरक्षित छ भन्ने कुनै तुक छैन, दुई संरचना बनाउने नबनाउने भन्ने कुरो मुलुकको आवश्यकताअनुसार हुन्छ, राज्यले चाहेमा दुई वा तीन वटा संरचना बनाउन सक्छ, यसमा हामी आत्तिनुपर्ने केही छैन, ढिलोचाँडो इयुले यसलाई हटाउनेछ”, मन्त्रालयका एक उच्च अधिकारीले भन्नुभयो ।    युरोपेली आयोगले वर्षमा दुई पटक हवाई सुरक्षामा कमजोरी औँल्याउँदै त्यस्ता मुलुकलाई उडान सुरक्षा सूचीमा राख्ने गरेको छ । उक्त आयोगको बैठक वर्षमा दुई पटक बस्छ । आयोगको टेक्निकल कमिटीको सुझावमा पोलिटिकल कमिटीले डिसिजन गर्ने बताइन्छ ।      त्यस्तै सरकारले इयुको उडान प्रतिबन्ध फुकुवाका लागि बारम्बार पहल गरिरहेको छ । पर्यटन मन्त्रालयले आइकाओलगायतका अन्तर्राष्ट्रिय फोरम तथा नेपालस्थित युरोपियनलगायत मुलुकका राजदूतसँगको भेटमा उक्त विषयमा छलफल हुने गरेको छ । मन्त्रालयका सहसचिव लामिछानेले अन्तर्राष्ट्रिय फोरमका साथै नेपालका लागि युरोपेली सङ्घका राजदूतसहित विभिन्न मुलुकका कूटनीतिक क्षेत्रका व्यक्तिसँग इयुको उडान फुकुवा गर्नेबारे कुरा उठाउँदै आएको बताउनुभयो ।      “हामी (मन्त्रालय) ले इयुको उडान सुरक्षाबारे कुरा उठाउँदै आएका छौँ, इयु आफैँले विश्लेषण गरेर हटाउँछ भन्नेमा मन्त्रालय विश्वस्त छ, हामी हवाई सेफ्टीमा कुनै सम्झौता गर्दैनौ, बरु कुन क्षेत्रमा सुधार गर्नुपर्ने हो त्यो इयुले प्रष्ट भनिदिए सहज हुन्छ”, उहाँले भन्नुभयो ।      सहसचिव लामिछानेका अनुसार नेपालको नागरिक उड्डयन प्राधिकरणले एओसी जारी गरेका सबै वायुयानलाई युरोपका आकाशमा उडान गर्न प्रतिबन्ध लगाएको छ । इयुसँगको सहकार्यमा नेपालसहित विश्वभरको हवाइसुरक्षा सुदृढीकरणमा मन्त्रालय, प्राधिकरण लागि राज्यको प्रतिबद्धता रहेको छ । विज्ञान र प्रविधिको परिवर्तन तथा मौसम अनुकूल सुधारका प्रक्रिया निरन्तर चलिरहने मन्त्रालयले जनाएको छ ।      नेपालले विभिन्न ४० मुलुकसँग द्विपक्षीय हवाइसेवा सम्झौता गरेको छ भने इयुसँग छुट्टै हवाई सम्झौता भएको छ । इयुको प्रमुख चासोमध्ये प्राधिकरण विभाजन गरी सेवा प्रदायक र नियामक बनाउनुपर्ने सुझावअनुरुप प्रधिकरण विभाजन विधेयक राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभामा पेश हुने अवस्थामा छ ।      आइकाओ मापदण्डअनुरुप नेपालको हवाई सुरक्षामा उल्लेखनीय सुधार भएको छ । राज्यले पनि यो क्षेत्रको सुरक्षा र सेवा सुदृढीकरणका लागि लगानी पनि बढाएको छ । “उडान सुरक्षा सम्बन्धमा प्रधानमन्त्री तहदेखि कार्यगत तहसम्म प्रतिबद्धता ‘डेडिकेसन’ छ, इयुले स्पष्ट गरिदिनुपर्छ कि कुन ठाउँमा टेक्निकल सुधार गर्नुपर्ने हो त्यो भनिदिनुप¥र्यो, राज्यको आवश्यकताअनुसार संथागत संरचना हुन्छ, यसमा अल्झने विषय हैन, सेफ्टी टेक्निकल विषय हो कुन ठाउँमा त्रुटि छन् क्षमताले भ्याएसम्म त्यसलाई सुधार्न हामी प्रतिबद्ध छौँ”, सहसचिव लामिछानेले भन्नुभयो ।      सुरक्षा चासो देखाएको इयुले नेपाली वायुयानलाई युरोपका आकाशमा उड्न प्रतिबन्द लगाएको थियो । आइकाओको उडान सुरक्षा अडिटको नतिजापश्चात् नेपाल सरकारले इयुलाई नेपाली वायुसेवालाई उक्त सूचीबाट हटाउन आग्रह गरिसकेको छ । इयुको एयर सेफ्टी सूचीमा रहेसम्म नेपालका कुनै पनि वायुयानले युरोपका आकासमा उडान गर्न पाउँदैनन् । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले एसिया र युरोपका गन्तव्यमा उडान गर्ने योजनासहित पाँच वर्षअघि दुई थान वाइडबडी विमान भित्र्याएको भए पनि इयुको कालोसूचीबाट नहटेसम्म ती गन्तव्यमा उडान भर्न पाइँदैन ।

तनहुँ:    तनहुँका १० वटै स्थानीय तहको पानीमा दिसामा पाइने जीवाणु (इकोलीफर्म) भेटिएको छ । पानीको नमूना परीक्षण गर्दा सो जीवाणु भेटिएको हो ।       तनहुँका धारा, मूल, ट्याङ्की र इनारको पानीको नमूना परीक्षणका क्रममा ६७ प्रतिशत उक्त जीवाणु भेटिएको हो । काठमाडौँमा हैजाका बिरामी भेटिन थालेपछि उच्च सतर्कता अपनाउन जिल्लाका खानेपानीका स्रोतको नमूना परीक्षण गरिएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरीक्षक राजेन्द्र रानाभाटले जानकारी दिनुभयो ।             खानेपानीका मूल र स्रोतको नमूना परीक्षण गर्दा अधिकांश क्षेत्रको पानी पिउनयोग्य नरहेको पाइएको रानाभाटले बताउनुभयो । “अधिकांश मूल र धाराको पानी खान योग्य छैन, परीक्षण गर्दा इकोलीफर्म भेटियो”, उहाँले भन्नुभयो । जिल्लाका ७६ पानीको स्रोतको नमूना परीक्षण गरिएकामा ५१ स्रोतमा दिसामा पाइने जीवाणु भेटिएको हो ।       व्यास नगरपालिकामा १० नमूना परीक्षण गरिएकामा दुई स्रोतको मात्र पानी पिउनयोग्य पाइएको रानाभाटले जानकारी दिनुभयो । भानु नगरपालिकाको तीन नमूना परीक्षण गरिएकामा सबैमा इकोलीफर्म भेटिएको छ । आँबुखैरेनीमा पाँच ठाउँमा परीक्षण गरिएकामा तीनमा इकोलीफर्म भेटिएको छ । घिरिङको तीनवटै नमूना परीक्षणका क्रममा इकोलीफर्म पाइएको रानाभाटले जानकारी दिनुभयो ।       त्यसैगरी देवघाटमा नमूना परीक्षणका क्रममा पाँच   पिउनयोग्य रहेको पाइएको, बन्दीपुर गाउँपालिकाको पाँच वटामध्ये एउटा मुहानमा मात्रै योग्य र म्याग्देको सात नमूना परीक्षणमा दुई योग्य रहेको पाइएको छ । शुक्लागण्डकी नगरपालिकाको ११ नमूना परीक्षणमा तीन स्रोत योग्य रहेको पाइएको छ । शुक्लागण्डकी नगरपालिकामा वितरण गरिएका धाराको पानीमा जीवाणु भेटिएको उहाँले बताउनुभयो ।      त्यसैगरी ऋषिङ गाउँपालिकाको नमूना परीक्षणमा चार मूलको पानी पिउनयोग्य पाइएको छ । पहिलो चरणमा ससाना मूल, ट्याङ्की, धारा र इनारको पानीको नमूना परीक्षण गरिएको हो । नमूना परीक्षण गरिएका अधिकांश खानेपानीका स्रोत अयोग्य भेटिएको छ । ठूला खानेपानी आयोजनाको पनि छिट्टै नमूना परीक्षण गरिने स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । पानीका स्रोतमा इकोलीफर्म देखिएका सम्बन्धित पालिकालाई जानकारीसहित खानेपानीको रिपोर्ट पठाइएको कार्यालयले जनाएको छ । पानीका मुहानको सरसफाइ गर्न, पानी शुद्धीकरण गर्न, तताएर, फिल्टर गरेर मात्रै पिउन सुझाव दिइएको छ ।     अस्पतालको पानी पनि पिउन अयोग्य         दमौली अस्पतालकै पानीको नमूना परीक्षण गर्दा इकोलीफर्म भेटिएको छ । अस्पतालको धारो र जमिनमुनिको पानी पिउन अयोग्य रहेको पाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । दमौली अस्पतालको दुई स्रोतको पानीमा इकोलीफर्म भेटिएको छ ।  

मेक्सिकोसिटी:    मेक्सिकोमा हेलिकोप्टर दुर्घटना हुँदा १४ जना समुद्री सैनिकको मृत्यु भएको छ । देशको उत्तरी भागमा शुक्रबार भएको उक्त दुर्घटनामा उनीहरूको ज्यान गएको हो ।   लागूऔषध तस्करी एवम् ओसारपसारमा संलग्नहरूलाई पक्राउ गर्न खटिएका समुद्री सैनिक हेलिकोप्टर दुर्घटनामा मारिएका मेक्सिकोको नौसेनाले शनिबार जनाएको छ । दुर्घटनामा एकजना भने बाँचेका छन् ।   नौसेनाको स्वामित्वमा रहेको ब्ल्याक हक हेलिकोप्टरले उत्तरी राज्य सिनालोआमा एकदिन अघि पक्राउ परेका गुआडालाजारा कार्टेलका संस्थापक राफेल कारो क्विन्टेरो बोकेको अर्को विमानको सुरक्षा गरिरहेको थियो ।   दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति नौसेनाले शोक व्यक्त गरेको छ । दुर्घटनाको कारण अज्ञात छ । कथित लागूऔषध तस्करको गिरफ्तारीका कारण उक्त दुर्घटना नभएको नौसेनाले जनाएको छ ।   राफेललाई संयुक्त राज्य अमेरिकाले आफ्ना अधिकारी एनरिक क्यामरेना सालाजारको हत्या गरेकाले निजलाई अमेरिकासमक्ष सुपुर्दगी गर्नुपर्ने माग गर्दै आएको छ । यसै विषयलाई लिएर मेक्सिको र अमेरिकाबीचको सम्बन्ध केही समय तनावपूर्ण भएको थियो ।

   काठमाडौं:    भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गरेका छन् । शुक्रबार भारत भ्रमणमा गएका उनले शनिबार नै भारतीय सुरक्षा सल्लाहकार अजित डोभललगायतसँग भेटवार्ता गर्दैछन् ।   भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नाड्डाको निमन्त्रणामा भारत भ्रमणमा गएका उनले शनिबार विहान भारतमै प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवासँग भेट गरेका थिए ।   प्रचण्डले शनिबार भाजपाका अध्यक्ष जगतप्रकाश नड्डासँग पनि भेटवार्ता गर्ने र आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेर प्रचण्ड स्वदेश फर्किने कार्यतालिका रहेको उनको सचिवालयले जनाएको छ ।    

काठमाण्डौँ:    पछिल्लो समय आयुर्वेदिक औषधिको प्रयोग र आर्युेवेदिक उपचार पद्धतिमा सर्वसाधारण बिरामीको आकर्षण बढ्दो छ । बागलुङमा रहेका ६ आयुर्वेद औषधालय र तीन नागरिक आरोग्य केन्द्रमा आउने बिरामीको सङ्ख्याले पनि आयुर्वेदिक औषधिको प्रभाव तथा आर्युेवेदिक उपचार पद्धतिमा सर्वसाधारणको आकर्षण बढ्दो देखाएको छ ।      बागलुङको कूल जनसङ्ख्याको १० प्रतिशत सर्वसाधारण चालु आर्थिक वर्षमा आयुर्वेदिक पद्धतिबाट औषधि उपचारका लागि आर्युेवेदिक स्वास्थ्य केन्द्रमा पुगेका छन् । अठ्ठाइस हजार ९३८ बिरामीले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म आयुर्वेदिक पद्धतिबाट उपचार सेवा लिएको तथ्याङ्क छ ।    बागलुङ नगरपालिकामा रहेको धौलागिरि आयुर्वेदिक औषधालय, बलेवा आयुर्वेदिक औषधालय, जैमिनीमा रहेको दमेक आयुर्वेदिक औषधालय, जैदी आयुर्वेदिक औषधालय, काठेखोला गाउँपालिकामा रहेको बिहुँ आयुर्वेदिक औषधालय र ढोरपाटन नगरपालिकामा रहेको बुर्तिबाङ आयुर्वेदिक औषधालय तथा बडिगाड, बरेङ र ताराखोला गाउँपालिकामा रहेका नागरिक आरोग्य केन्द्रबाट बिरामीले आयुर्वेदिक पद्धतीबाट उपचार सेवा लिएका हुन् ।      यहाँका आयुर्वेदिक औषधालय तथा नागरिक आरोग्य केन्द्रले आफैँले उत्पादन गरेको औषधि र आयुर्वेदिक पद्धतिका प्रचलित विधिबाट बिरामीको उपचार गर्ने गरेका छन् । बागलुङका आयुर्वेदिक औषधालयले आर्थिक वर्ष २०७८÷७९ मा ६६० किलो औषधिको उत्पादन गरेर सर्वसाधारण बिरामीको उपचारमा खर्च गरेका छन् ।      दुई वर्षअघि कोरोना सङ्क्रमणका बेला गुर्जोलगायतका विभिन्न जडीबुटीको सेवनलाई सरकारले प्राथमिकता दिएको थियो । त्यसयता बागलुङमा आयुर्वेदिक औषधिको माग र प्रयोग बढ्दो छ । चालु आवमा मात्रै दमेक आयुर्वेदिक औषधालय जैमिनी–२ दमेकले ३१४ किलो, धौलागिरि आयुर्वेदिक औषधालय बागलुङले ३०६ किलो र बलेवा आयुर्वेदिक औषधालय बागलुङले ४० किलो चूर्ण औषधि उत्पादन गरेका हुन् ।      जिल्लास्थित आयुर्वेद औषधालयको चालु आवको वार्षिक समीक्षा गोष्ठीमा उक्त तथ्याङ्क प्रस्तुत भएको हो । दमेक आयुर्वेदिक औषधालयका प्रमुख डा लक्ष्मीप्रसाद शर्माका अनुसार यो अवधिमा सबैभन्दा धेरै औषधि ग्यास्ट्रिकका बिरामीले लिएका छन् । हाडजोर्नी, नसा च्यापिएको, दीर्घरोगी र अन्य विभिन्न खालका बिरामी औषधिका लागि औषधालय आउने गरेका छन् ।    सीमित दरबन्दी तथा साधन स्रोतका बीच आयुर्वेदिक औषधि उत्पादन र वितरणमा काम जिल्लाभरिका औषधालय तथा नागरिक आरोग्य केन्द्रबाट भइरहेको धौलागिरि आयुर्वेदिक औषधालयका प्रमुख सरोजकुमार रायले बताउनुभयो ।     वार्षिक समीक्षा कार्यक्रममा सबै औषधालयका प्रमुखले आफ्नो क्षेत्रमा भएका कामको प्रगति विवरण पेश गर्नुभएको थियो । कार्यक्रममा नगरपालिकाभित्रको बलेवा आयुर्वेदिक औषधालयतर्फका कविराज निरीक्षक हरिप्रसाद पौडेलले प्रस्तुतीकरण गर्नुभयो ।      कार्यक्रममा उपस्थित सबैले सीमित दरबन्दी, कम बजेट र तोकिएको बजेट पनि समयमा निकासा नहुने समस्याबारे बताउनुभएको थियो । कतिपय अवस्थामा बजेट भए पनि अन्यत्र रकमान्तर भएर नआएपछि औषधि खरिद तथा उत्पादनमा समेत समस्या परेको पनि बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले समस्या समाधानमा आफ्नो सहयोग रहने बताउनुभयो । 

काठमाडौँ:   काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले राष्ट्र निर्माण र रोजगारी सिर्जनामा पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।     ठमेल पर्यटन विकास परिषद्को २५, २६ र २७ औँ वार्षिक साधारणसभा एवं निर्वाचनको आज उद्घाटन गर्दै उहाँले राष्ट्र निर्माण र रोजगारी सिर्जनामा पर्यटन क्षेत्रले खेलेको भूमिका अतुलनीय रहेको उल्लेख गर्नुभयो । “पर्यटन क्षेत्रले नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाएको छ, कोरोनाबाट थलिएको पर्यटनलाई अगाडि बढाउन स्थानीय प्रशासन सधैँ सहयोग गर्न तयार छ”, उहाँले भन्नुभयो । केही पर्यटन व्यवसायीबाट ठमेललाई बद्नाम गराउने कार्य भएको भन्दै उहाँले त्यस्ता व्यवसायीमाथि स्थानीय प्रशासनले निगरानी गरिरहेको उल्लेख गर्नुभयो ।      प्रजिअ रिजालले देशकै पुरानो पर्यटकीय क्षेत्रलाई जोगाएर राख्नु सबै व्यवसायी तथा घरधनीको उत्तिकै दायित्व हुने बताउनुभयो । काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले ठमेल क्षेत्रमा कसरी पर्यटक बढाउन सकिन्छ भन्नेबारे सोच्न सबै व्यवसायीलाई आग्रह गर्नुभयो । ठमेलको विकासका लागि स्थानीय सरकार सधैँ सहकार्य गर्न तयार रहेको उहाँको भनाइ थियो ।      “ठमेलको विकासका लागि सोच्नुभन्दा पनि कसरी नेतृत्व आफ्नो हातमा ल्याउन सकिन्छ भन्नेबारे व्यवसायी लागेका छन्, यो ठमेलका लागि दुर्भाग्य हो”, उहाँले भन्नुभयो । रात्रिकालीन व्यवसायलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेबारे व्यवसायीले सोच्नुपर्ने बेला आएको अध्यक्ष तिवारीको भनाइ छ ।     ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले रोजगारी सिर्जना गर्ने व्यावसायिक थलो ठमेलको विकासमा सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । ठमेल पर्यटन परिषद्का पूर्वध्यक्ष डा रामशरण थपलिया र समीर गुरुङले घरधनी तथा व्यवसायी मिलेर ठमेल क्षेत्रको विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो ।     विसं २०४७ मा स्थापना भएको ठमेल पर्यटन परिषद्मा नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । निर्वाचनमा ठमेल क्षेत्रका एक हजार ५९९ घरधनी तथा व्यवसायीले आफ्नो मताधिकार प्रयोग गर्ने परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणाले जानकारी दिनुभयो । ठमेलको नयाँ नेतृत्वका लागि भविश्वर शर्मा र ध्रुव अधिकारीको समूहबीच प्रतिस्पर्धा हुने भएको छ ।