सुर्खेत: पछिल्लो समय सुर्खेतमा लागुऔषधका घटना बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयमा तीन वर्षको अवधिमा लागुऔषधका १८० मुद्दा दर्ता भएका र त्यसमा सम्लग्न २९२ प्रतिवादी पक्राउ परेका छन् । प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६/७७ मा लागुऔषधका ५२ मुद्दा दर्ता भएका र त्यसको कारोबारमा सम्लग्न छ महिलासहित ९० जना पक्राउ परेका थिए । आव २०७७/०७८ मा सोही प्रकारका ४९ मुद्दा दर्ता भएकामा कारोबारमा सम्लग्न आठ महिलासहित ६९ जनालाई प्रहरीले पक्राउ गरेको थियो । आव २०७८/०७९ मा ७९ वटा मुद्दा दर्ता भएकामा त्यसमा सम्लग्न नौ महिलासहित १२३ पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले प्रहरीको सक्रियताका साथै सचेतना अभिवृद्धि गराइएका कारण धेरै मुद्दा दर्ता भएको जानकारी दिनुभयो । “पछिल्लो समय प्रहरीको सक्रियता बढेको छ”, उहाँले भन्नुभयो, “सबैतिर सचेत गराउँदै आइएको भएर पनि होला लागुऔषधको विषयमा हामीलाई सूचना आउने गर्दछ त्यसकारण सूचनाको आधारमा अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन सहज भएको छ ।” प्रहरीको तथ्याङ्कअनुसार आव ०७६/७७ मा ९८ ग्राम ४३० मिलीग्राम ब्राउन सुगर, चार किलोग्राम ३२८ चरेस, ३३२ ग्राम ७३० मिलीग्राम गाजा बरामद गरिएको थियो । ७७/७८ मा ९२ ग्राम ६४० मिलीग्राम ब्राउन सुगर बरामद गरिएको थियो यस्तै ७८÷७९ मा १८७ ग्राम ९४० मिलीग्राम ब्राउन सुगर, सात ग्राम १४० मिलीग्राम ह्वाइट सुगर, २५२ ग्राम ९३० मिलीग्राम गाजाका साथै नाइट्राभेट, ट्रामोल, कोरेक्सलगायत ट्याब्लेट पनि बरामद गरिएको जनाएको छ ।
चितवन: जिल्लामा गत आर्थिक वर्षमा २१३ जनामा डेङ्गुरोगको सङ्क्रमण देखिएको छ । तीन हजार ५६४ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो । स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालका अनुसार यो सङ्ख्या आर्थिक वर्ष २०७७र७८ को भन्दा कम हो । यस वर्षमा एक हजार ९८६ जनाको परीक्षणका क्रममा २४७ जनामा डेङ्गु देखिएको थियो । एडिस जातिको पोथी लामखुट्टेको टोकाइबाट सङ्क्रमण हुने गर्दछ । ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेङ्गुका सुरुआती लक्षण हुन् । एक प्रकारको विषाणुबाट डेङ्गु भइसकेको व्यक्तिलाई अर्को प्रकारको विषाणु भएको लामखुट्टेले टोकेको अवस्थामा डेङ्गु घातक हुने जनस्वास्थ्य अधिकृत ढकालले जानकारी दिनुभयो । डेङ्गु ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ । डेङ्गु लागेमा मानिसको रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ । यो रोगबाट बच्न साँझपख लामो कपडा लगाएर बाहिर निस्कने, झुलभित्र बस्ने, पानी जम्ने खाल्डाखुल्डी पुर्ने गर्नुपर्दछ । यस्तै जिल्लामा गत आवमा २६८ मा स्क्रफटाइफस रोगको सङ्क्रमण देखिएको छ । तीन हजार २८६ जनाको परीक्षणका क्रममा उनीहरूमा स्क्रफटाइफसको देखिएको हो । आव २०७७/७८ मा दुई हजार २९० जनाको परीक्षणका क्रममा ३१८ मा स्क्रफटाइफस देखिएको थियो । स्क्रफटाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ । स्क्रफटाइफसमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुनु, खोकी, वान्ता, पेट दुखाइ र पखाला सताउनु, श्वास फेर्न समस्या हुनु, धेरै टाउको दुख्नु, जोर्नी र मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछ । यस रोगबाट बच्न खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने र शरीरको खुला भागमा कीटनाशक मल्हमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्नुपर्ने ढकालले बताउनुभयो ।
अछाम: अछामको पञ्चदेवल विनायक नगरपालिकामा रहेको मध्यपहाडी सडकमा सोमबार राती पहिरो जाँदा सडक अवरुद्ध भएको छ । नगरपालिकाको वडा नम्बर ३ र ४ को दरेपाटा भन्ने स्थानमा सडक भन्दा माथिबाट आएको पहिरोले सडक अवरुद्ध भएको हो । पहिरोले मध्यपहाडी सडक अवरुद्ध हुँदा अछामबाट सुर्खेत, दैलेखलगायत आवतजावत गर्ने लामो तथा छोटो दुरीका सवारी साधन रोकिएका छन् । राति नै पहिरो आएकोले अहिलेसम्म पहिरोका कारण सवारीसाधन रोकिएको स्थानीय सुरेश रावतले जानकारी दिनुभयो । आफूमा जानकारी नआएको तर सडक सुचारू गर्न आवश्यक भएको नगरपािलकका उपप्रमुख हर्कबहादुर रावलले जानकारी लिनुभयो । पानी परिरहेकोले फोन सम्पर्क हुनेबित्तिकै सडकको पहिरो सफा गरेर यातायात सञ्चालन ल्याउनुपर्ने माग स्थानीयले गरेका छन् ।
केरला: छात्राहरूलाई परीक्षा हलमा प्रवेश गर्नुअघि आफ्नो भित्री लुगा हटाउन लगाएको भन्दै केरलामा अविभावकले प्रहरीमा उजुरी दिएका छन्। स्थानीय मार थोमा इन्स्टिच्युट अफ इन्फरमेशन टेक्नोलोजीमा राष्ट्रिय योग्यता प्रवेश परीक्षा (नीट) का लागि उपस्थित छात्राहरूलाई परीक्षा कक्षमा प्रवेश गर्नुअघि आफ्नो भित्री लुगा हटाउन आग्रह गरिएको पिडित छात्राहरूले बताएका छन्। कोल्लममा एक विद्यार्थीले प्रहरी उपरीक्षकमा उजुरी दर्ता गरेपछि घटना प्रकाशमा आएको हो। रिपोर्टअनुसार, अविभावकहरूले उक्त छात्राहरूलाई अन्य छात्र तथा परीक्षामा खटाइएका पुरुष ‘इन्भिजिलेटर’को अगाडि भित्री लुगा नलगाई परीक्षामा उपस्थित हुन बाध्य गराइएको भन्दै यसले उनीहरूलाई मानसिक तथा शारीरिक तवरमा विचलित तुल्याएको दावी गरेका छन्। मेरी छोरी ८ कक्षादेखि नै नीट परीक्षाको तयारीमा जुट्दै छिन्। हामी विश्वस्त थियौं कि उनले परीक्षामा राम्रो श्रेणी प्राप्त गर्नेछिन् तर यस मुद्दाको कारण उनको ध्यान मनोवैज्ञानिकरूपमा अन्यत्र गएका कारण परीक्षामा राम्रो गर्न सकिनन्, रूष्ट एक विद्यार्थीका पिताले एएनआईसँग भने। राष्ट्रिय परीक्षण एजेन्सी (एनटीए)को मार्गनिर्देशनलाई उद्धृत गर्दै अभिभावकले भने, ‘कुनै पनि प्रकारको भित्री कपडा लगाउन प्रतिबन्ध लगाइएको छैन । हामीले सबै निर्देशनहरू पालन गरिरहेका थियौं। तर कर्मचारीहरूले भित्री लुगा नहटाइकन कक्षा कोठामा प्रवेश गर्न दिएनन्। राज्यको महिला आयोगले पनि घटनाको विषयमा छात्राहरूको अधिकार हनन गरिएको भनी‘सुओ मोटा’ मुद्दा दर्ता गरेको छ।
कैलाली: कैलालीको गौरीगङ्गा नगरपालिका–१ चौमाला बुहमुखी क्याम्पस नजिक बसको ठक्करबाट एक जनाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगङ्गा–२ कटानका अन्दाजी ४६ वर्षीय खडक थापा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार सोमबार चौमाला बुहमुखी क्याम्पस नजिक पूर्वबाट पश्चिमतर्फ जाँदै गरेकोे ना६ख ९६९३ नंको सुदूरपश्चिम यातायातको बसले विपरीत दिशातर्फ आउँदै गरेका साइकलयात्री थापालाई ठक्कर दिएको थियो । घाइते थापाको धनगढीस्थित निसर्ग अस्पतालमा उचारका क्रममा आज बिहान मृत्यु भएको थियो । बस र बसचालकलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
धनुषा: नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले समाजवाद स्थापनाका लागि कम्युनिष्ट शक्तिबीच एकता आवश्यक रहेको बताउनुभएको छ । जनकपुरधाममा सोमबार आयोजित एमालेका मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उहाँले कम्युनिष्ट पार्टी आपसमा फुटेर मुलुकमा समाजवाद आउन नसक्ने भएकाले समाज रुपान्तरण गर्न र समाजवाद ल्याउन सबै कम्युनिष्ट पार्टीबीच एकता आवश्यक रहेको बताउनुभयो । “अन्य पार्टीसँग एकता वा गठबन्धन गरेर मुलुकमा समाजवाद ल्याउँछु भन्ने कुरा सपनामात्रै हो”, उहाँले भन्नुभयो, “ लक्ष्य प्राप्त गर्न पहिला राज्यसत्ताको नेतृत्व आफ्नो हातमा आउनुपर्छ, अनिमात्रै एजेण्डा पूरा गर्न सकिन्छ ।” स्थानीय तहको निर्वाचनमा भएको कमी–कमजोरीलाई समीक्षा गरी अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिनुहुँदै आपस–आपसमा भिडेर एकअर्कालाई हराउने कामले कसैको भलो नहुने नेता पाण्डेले बताउनुभयो । प्रशिक्षण कार्यक्रममा एमालेका सचिव तथा मधेस प्रदेशका इञ्चार्ज रघुवीर महासेठले स्थनीय तहको निर्वाचनको समीक्षा गर्दै संघीय तथा प्रदेश निर्वाचनका लागि तयार रहन कार्यकर्तासंग आग्रह गर्नुभयो । प्रशिक्षण कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य प्रभु साह र पुरुषोत्तम पौडेलले मधेस प्रदेशको शक्ति सन्तुलन र एमालेको भूमिका, आन्दोलनमा एमाले र प्रचार कामलगायतका विषयमा प्रशिक्षण दिनुभयो । एमाले मधेस प्रदेश समितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रम प्रदेशका आठवटै जिल्लाका अगुवा नेता कार्यकर्ताको सहभागिता थियो ।
पोखरा: पोखरा – ८ रत्नचोकस्थित श्री कृष्ण प्रणामी मन्दिरका सोमबारदेखि श्रीमद् बितक चर्चा शब्द दर्शन तथा श्रीकृष्ण कथा कार्यक्रम शुरु भएको छ । कार्यक्रम भदौ ३ गतेसम्म चल्नेछ । भदौ ३ गते श्रीकृष्ण जन्माष्टमी प्राकट्य महोत्सव पनि गरिने छ । कार्यक्रममा गुरुजी बाणी तथा बितक कथाकार युवा धर्म प्रचारक श्री श्यामदास महाराजले सङ्गीतमय कथा प्रवचन गर्नुहुने छ । कार्यक्रम हरेक दिन बिहान ११ देखि दिउँसो २ बजेसम्म चल्नेछ । दैनिक करिब तीन सय सुन्दरसाथजी भक्तजनको सहभागिता रहने अनुमान गरिएको छ । मन्दिर स्थापनाकाल २०४८ सालदेखि नै वर्षेनी कार्यक्रम गर्ने गरिएको छ । यसपटक समेत गरी ३१ औ पटक कार्यक्रम गरिएको छ । कार्यक्रम सम्पन्न गर्नका लागि सात लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको छ । भक्तजनबाट प्राप्त दान, भेटीबाट कार्यक्रमको खर्च व्यवस्थापन गरिनेछ । बचत भएको रकम मन्दिरको भौतिक पूर्वाधार निर्माणका लागि खर्च गर्ने योजना रहेको मन्दिरका अध्यक्ष पुरुषोत्तम रेग्मीले जानकारी दिनुभयो । गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेशसभा मामिला मन्त्री विन्दु कुमार थापाले कार्यक्रम उद्घाटन गर्नुभयो । उहाँले धार्मिक गतिविधिले मानिसलाई नैतिकवान बनाउने र गलत काम गर्न बाट रोक्ने बताउनुभयो । धर्मले सहयोगी भावना तथा आपसी माया र सद्भाव बढाउने उहाँको भनाइ थियो । मन्त्री थापाले मन्दिरलाई धार्मिकस्थलका रुपमा विकास गर्न सहयोग गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो । गुरुजी बाणी तथा बितक कथाकार युवा धर्म प्रचारक श्री श्यामदास महाराजले परमात्माको पहिचान नभएसम्म आत्माको उद्वार हुन नसक्ने भन्दै हरेक मानिसले आत्मा र परमात्मा बुझ्न आवश्यक रहेको बताउनुभयो । पोखरा महानगरपालिका वडा नं ७ का वडा अध्यक्ष राम मोहन आचार्यले विकासका लागि सबैको सहकार्य आवश्यक भएको बताउनुभयो । त्यस अवसरमा मन्दिरका संस्थापक शिव बहादुर कार्की, कार्यक्रम संयोजक सीता ओझालगायतले बोल्नुभएको थियो । मन्दिरका अध्यक्ष पुरुषोत्तम रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मोहन प्रसाद ढकालले स्वागत र सचिव देवी प्रसाद खतिवडाले कार्यक्रम संचालन गर्नुभएको थियो ।
काठमाण्डौँ: शङ्खरापुर नगरपालिका–३ साँखुको वनमा मानव कङ्काल फेला परेको छ । खहरे खोला नजिकै फेदीको वनमा उक्त कङ्काल फेला परेको हो । मानव कङ्काल देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । महानगरीय प्रहरी वृत्त बौद्ध र अपराध अनुसन्धानको टोली घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरिक्षक दिनेशराज मैनालीले बताउनुभयो । घटनाबारे अनुसन्धानपछि थप कुरा खुल्ने पनि प्रहरीले जनाएको छ ।
काठमाडौँ: सरकारी स्वामित्वको मुलुकको एकमात्र समाचार समिति, राष्ट्रिय समाचार समिति ९रासस० ले आफ्नो समाचार सेवामा वृद्धि गरेको छ । राससले यही साउन १ गतेदखि औपचारिकरुपमा श्रव्यदृश्य (भिडियो) सेवा सञ्चालनमा ल्याएको छ । राससको समाचार सेवामा विविधीकरण ल्याउने उद्देश्यले परीक्षण प्रसारणका रुपमा श्रव्यदृश्य सेवा आरम्भ गरेको हो । विसं २०१८ मा स्थापना भएको राससले अब नेपाली समाचार, अन्तर्राष्ट्रिय समाचार, अङ्ग्रेजी समाचार, आलेख (फिचर), फोटो (स्वदेशी र विदेशी) र अडियो सेवासँगै श्रव्यदृश्य पनि आफ्ना ग्राहकलाई उपलब्ध गराउनेछ । नेपालमा सञ्चालनमा रहेका टेलिभिजन च्यानलसहित अनलाइन सञ्चारमाध्यमको समेत अनुरोधबमोजिम सञ्चालन गरिएको सो सेवाका सामग्री रासस केन्द्रीय कार्यालयस्थित स्टुडियोबाट उत्पादन र वितरण गरिएको छ । राससले श्रव्यदृश्य सञ्चालनका निम्ति ‘श्रव्यदृश्य सेवा सञ्चालन निर्देशिका–२०७९’ तयार गरेको छ । निर्देशिका अनुसार राससले मुलुकका राजनीतिक, आर्थिक, सामाजिक सांस्कृतिक घटनाको छायाङ्कन गरी खासगरी टेलिभिजन र अनलाइन सञ्चार माध्यमलाई लक्षित गरी गुणस्तरीय श्रव्यदृश्य (भिजुअल) सामग्री उपलब्ध गराउने छ । राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससका सेवालाई थप प्रभावकारी बनाई सेवामा विविधीकरण गर्ने सन्दर्भमा श्रव्यदृश्य सेवा सुरु गरिएको जानकारी दिनुभयो । “हाम्रा सेवा देशभित्र र देश बाहिरका सञ्चारमाध्यमले समेत उपयोग गर्दै आइरहेका छन् । समय र प्रविधिको विकाससँगै हामीले हाम्रा सेवाहरूलाई पनि परिस्कृत गर्दै लैजानुपर्छ । आफ्ना सेवालाई विस्तार गर्दै लैजाने क्रममा स्थापनाको छ दशकपछि भिडियो सेवा सुरु गरेका छौँ”, अध्यक्ष झाले भन्नुभयो । उहाँले सो सेवाको परीक्षणकाल एक महिनाको हुने र उक्त अवधिभर समाचार संस्थाहरूका लागि सेवा निःशुल्क हुने जानकारी दिनुभयो । राससले नेपालमा मात्रै नभई विश्वका समाचार संस्थासँग पनि सहकार्य गर्दै आएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले समयको मागसँगै रासस सेवालाई छिटोछरितो र मल्टिमिडियायुक्त बनाउनुपर्ने सुझाव दिनुभयो । नेपालका सञ्चारमाध्यम समाचारका लागि राससमै भर पर्नुपर्ने गरी आफूलाई विकसित गर्दै लैजान पनि सचिव अर्यालको सुझाव छ । सो सेवामा प्राविधिक कार्यका लागि रासस र फिल्म क्रिउ नेपाल प्रालीबीच हालै सम्झौता भएको हो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले सम्पादकीय क्षमता वृद्धि गर्ने गरी राससले भिडियो सेवा दिनुपर्नेमा जोड दिनुभयो । राससले सरकारका विषय र जनताका चाहना दुवैलाई प्रभावकारीरूपमा सम्प्रेषण गर्नुपर्ने उहाँको भनाइ छ । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले भिडियो सामग्री सङ्कलन, सम्पादन, वितरण, बजार प्रवद्र्धन र एजेण्डा सेटिङसम्मको लक्ष्य निर्धारण गरेर राससले उक्त सेवा सञ्चालनलाई प्रभावकारी बनाउन सुझाव दिनुभयो । आमसञ्चारका विज्ञ तपानाथ शुक्लले राससले भिडियो सेवालाई सहरमुखी नभई गाउँ केन्द्रित खोजमूलक विषवस्तुमा केन्द्रित गर्नुपर्ने बताउनुभयो । नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बलले राससको भिडियो सेवामा सार्वभौम मुलुकको दृष्टिकोणसहितका कथाहरू सम्प्रेषण गर्नुपर्ने बताउनुभयो । राससप्रति मुलुकका सञ्चारमाध्यम भरपर्नुपर्ने वा राससको समाचारलाई विश्वसनीय स्रोत मानेर जान सक्नेगरी आफूलाई प्रविधिसँगै परिस्कृत गर्दै लैजानुपर्ने सञ्चार मन्त्रालयको सुझाव छ । राससका पूर्वप्रमुख समाचारदाता तथा वरिष्ठ पत्रकार भैरव रिसालले राससले सरकारका साथै जनताको आवाज बोल्नसक्ने हुनुपर्नेमा जोड दिनुभयो । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले राससको भिडियो सेवा मुलुककै लागि सुखद् विषय भएको बताउनुभयो । नियमित प्रसारणमा करिब एकसय श्रव्य दृश्य संस्था छन् । आजदेखि सुरु भएको उक्त सेवाले ती संस्थालाई थप मद्दत पुग्ने राससको विश्वास छ । समितिले आफ्नो समाचार सेवा बिहान ६ बजेदेखि राति ११ बजेसम्म निरन्तर उपलब्ध गराउँदै आएको छ । प्रेस ट्रष्ट अफ इन्डिया (पिटीआई), एशोशिएट प्रेस ९एपी०, एशोशिएट फ्रान्स प्रेस(एएफपी) र सिह्वा समाचार समितिका समाचार तथा फोटो सेवा उपलब्ध गराउने रासस एकमात्र आधिकारिक समाचार समिति हो । समितिले विभिन्न पत्रपत्रिका, रेडियो, टेलिभिजन, विभिन्न प्रकारका अनलाइन सेवा प्रदायक संस्था, बिबिसी नेपाली सेवा, सरकारी तथा गैरसरकारी संस्थालाई समेत समाचार सेवा उपलब्ध गराउँदै आएको छ । राससले ६१ वर्षदेखि लगातार समाचार उत्पादन तथा बिक्रीवितरण गर्दै आएको छ । राससका पूर्वमहाप्रबन्धक श्रीरामसिंह बस्नेतले भिडियो सेवा सञ्चालन गरेर राससले आफ्नो विश्वासनीयता अझै बलियो बनाएको बताउनुभयो भने अर्का पूर्वमहाप्रबन्धक जयशङ्कर महतोले राससको भिडियो सेवामा दूरदराजका आवाजविहीनको आवाज झल्किनुपर्ने सुझाव दिनुभयो । पूर्वमहाप्रबन्धक ओपेन्द्र शर्माले विज्ञान र प्रविधिको विकासँगै राससले भिडियो सेवा गर्नु सेवाग्राहीका निम्ति खुसीको खबर भएको बताउँदै सो भिडियो सेवालाई प्रभावकारी बनाउने गरी विषयवस्तु उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो । बाग्मती प्रदेशका प्रेस रजिष्टार रेवती सापकाटाले राससले भिडियो सेवालाई व्यवस्थित र प्रभावकारी बनाउँदै सातै प्रदेशको छुट्टाछुट्टै युनिटका रुपमा मुलुकका महत्वपूर्ण घटना र समाचारको व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । नेपाल प्रेस इन्स्टिच्युटका महासचिव लक्ष्मण उप्रेतीले राससको भिडियो सेवालाई प्रविधिसँग जोडेर खोजमूलक पत्रकारितामा केन्द्रित गर्नुपर्ने सुझाव दिनुभयो । राससका नायबमहाप्रबन्धक तथा श्रव्यदृश्य शाखा प्रमुख राजु शाक्यले देशभित्र र बाहिरका सञ्चार माध्यमलाई मुलुकका महत्वपूर्ण घटना र विषयवस्तुसँग सम्बन्धित श्रव्यदृश्य समाचार सेवा उपलब्ध गराउने लक्ष्यअनुरुप भिडियो सेवा सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा विशिष्ट व्यक्तिको सम्बोधन, महत्वपूर्ण गतिनिधि र घटनाका बारेमा प्रत्येक्ष प्रसारण गर्ने योजना रहेकोसमेत जानकारी दिनुभयो । समितिको श्रव्यदृश्य सेवाले सङ्घीय, प्रदेश र स्थानीय सरकारका सरोकार हुने शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार, कृषि, साहित्य र संस्कृतिका क्षेत्रलाई प्राथमिकतामा राखी समाचार उत्पादनमा जोड दिनुपर्ने सञ्चार विज्ञहरुको सुझाव छ । विसं २०५२ मा राससले नेपालगञ्ज, विराटनगर, पोखरा र काठमाडौँबाट समाचारसँगै भिडियो सामग्री नेपाल टेलिभिजनलाई उपलब्ध गराएको थियो । भिडियो सेवालाई प्रविधि सम्पन्न बनाउन नसक्दा उक्त सेवा बन्द भएको थियो । नेपालको पहिलो समाचार समिति निजी क्षेत्रबाट २०१६ पुस १ गते स्थापित ‘नेपाल संवाद समिति’ (नेसस) हो ।नेससका संस्थापकहरु पत्रकार गोपालदास श्रेष्ठ, मदन शर्मा, गोविन्द वियोगी र गणेश मानन्धरको पहलमा नेपालमा पहिलोपटक समाचार समितिको स्थापना गरिएको थियो । दोस्रो समाचार समिति पनि निजी क्षेत्रबाटै २०१७ वैशाख ३० गते स्थापित ‘सगरमाथा संवाद समिति’(ससस) हो । निजी क्षेत्रका यी दुई समाचार समितिलाई गाभेर सरकारी सञ्चार माध्यमका रुपमा २०१८ फागुन ७ गते राष्ट्रिय संवाद समिति (रासस) स्थापना भएको हो । राष्ट्रिय संवाद समितिलाई २०२८ सालदेखि राष्ट्रिय समाचार समिति (रासस भन्न थालिएको हो । राससले २०१८ फागुन ७ गतेदेखि निरन्तर नेपाली भाषामा समाचार दिँदै आएको छ । विसं २०५२ वैशाख १ गतेदेखि राससले आलेख (फिचर) सेवा सुरु गरेको हो । राससका प्रशासन प्रमुख शीतलप्रसाद महतोका अनुसार राससले अहिले हरेक दिन बिहान ६ बजेदेखि राति ११ बजेसम्म १०० भन्दाबढी नेपाली भाषाका समाचार सम्प्रेषण हुने गरेको छ । पहिले बिहान, मध्याह्न, अपराह्न, साँझ र रात्रि गरी दिनमा पाँच पटक र पछि एक–एक घण्टाको अन्तरमा बुलेटिन सेवा दिँदै आएको राससले अहिले समाचार प्राप्त हुनासाथै दिने गरी अनलाइन सेवा सञ्चालन गर्दै आएको छ । राससले २०१९ माघ ३ गतेदेखि अन्तर्राष्ट्रिय समाचार सेवा सुरु गरेको थियो । खासगरी राससले एएफपी, एपी, सिन्हवा, क्यादो, पिटिआइ र यानहापसँग समाचार आदानप्रदानको सम्झौता गरको छ । त्यसैगरी राससले २०२० सालदेखि अङ्ग्रेजी समाचार सेवा, २०५५ सालदेखि आलेख सेवा र २०६६ सालदेखि अडियो सेवा उपलब्ध गराउँदै आएको छ । विसं २०५६ देखि लामो समयसम्म विदेशी समाचार समितिका तस्विर मात्रै दिँदै आएको राससले २०६४ बाट नियमितरुपमा स्वदेशी तस्विर पनि सम्प्रेषण गर्दै आएको छ ।

