कास्की २ मा नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद बास्तोला ‘मधु’ लडेर घाइते भएका छन् ।   उनी निर्वाचनका लागि घरदैलो गर्ने क्रममा पोखरा ११ फूलबारीमा सिँढीबाट लडेका हुन् ।   ...

काठमाण्डौँ:    गृहमन्त्री बालकृष्ण खाणले नागरिकको जीउधनको रक्षा र शान्तिसुरक्षा सरकारको पहिलो दायित्व भएको बताउनुभएको छ ।    राष्ट्रिय प्रजातन्त्र पार्टी महिला सङ्गठनले आज गृह मन्त्रालयमा बुझाएको १३ बुँदे ज्ञापनपत्र बुझ्दै उहाँले महिला, बालबालिका हत्या, हिंसा, र बलात्कारका घटना हुन नदिन सरकार प्रयासरत रहेको बताउनुभएको हो । उहाँले १३ बुँदे मागबारे सुरक्षा निकायसँग छलफल गरी आवश्यक सम्बोधन गर्न पहल गर्ने बताउनुभयो ।    राप्रपा महामन्त्री तथा महिला विभाग प्रमुख कुन्ती शाहीको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले महिलाको सुरक्षाका लागि छुट्टै सुरक्षा दस्ता तयार गर्न माग गरेको थियो । यस्तै हिंसामा परेका महिलाको सुरक्षाको व्यवस्था मिलाउन पनि सङ्गठनले माग गरेको छ ।

  काठमाडौं:   उपसभामुख चयनका लागि संसदमा मतदान सुरु भएको छ । उपसभामुखका लागि नेपाली कांग्रेसकी पुष्पा भुसाल र नेकपा एमालकी विद्या भट्टराई उम्मेदवार छन् ।   २०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अहिलेसम्म खाली रहेको यो पदमा आज चुनाव भएको हो ।  भुसाल पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट उपसभामुखमा साझा उम्मेदवार हुन् भने भट्टराई प्रमुख विपक्षी नेकपा एमालेकी उम्मेदवार  हुन् ।   हाल प्रतिनिधि सभामा एमालेको ९८, कांग्रेस ६३, माओवादी केन्द्रको ४९, एकीकृत समाजवादी २३, जनता समाजवादी २१, लोसपा १३ र अन्य साना दल र स्वतन्त्रसमेत गरी ४ जना सांसद छन् ।

  काठमाण्डौँ:     धितोपत्र बजारमा आज चालु आवको अन्तिम शेयर कारोबार भयो । नेपाल स्टक एक्सचेञ्जका अनुसार शुक्रबारको अन्तिम कारोबारमा नेप्से परिसूचक ७.९३ अङ्कले उकालो लागेर दुई हजार ९.४६ मा पुगेको छ ।    यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक २.७७ अङ्कले उकालो लागेर ३८५.९१ मा पुगेको छ । नेप्सेका अनुसार २३१ कम्पनीका ४० लाख ५१ हजार ७७१ कित्ता शेयर रु एक अर्ब ४५ करोड ६२ लाख ५९ हजार ८३३ मूल्यमा कारोबार भयो । कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्य उकालो लाग्यो भने आठ उपसमूहको ओरालो लाग्यो । बैंकिङ १८.५४, विकास बैंक ५.२४, लघुवित्त ६८.६४, जीवन बीमा ३८.०७ र सामूहिक लगानी कोष ०.२२ अङ्कले उकालो लाग्यो ।    त्यस्तै व्यापार १२.१६, होटल तथा पर्यटन २०.७७, जलविद्युत् १७.४, वित्त ७.१५, निर्जीवन बीमा ३.३८, उत्पादन १४.८९, अन्य २५.०५ र लगानी ०.६२ अङ्कले ओरालो लागेको छ । चालु आवको अन्तिम शेयर कारोबारपछि बजार पूँजीकरण रु २८ खर्ब ६९ अर्ब ३४ करोड ४१ लाख ६६ हजार ९६२ बराबर पुगेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा माथिल्लो तामाकोसी शीर्ष स्थानमा छ । सो कम्पनीको रु १९ करोड ७२ लाख ५४ हजार ८६४ बराबरको कारोबार भयो ।    यस्तै एभरेष्ट बैंक रु छ करोड ९४ लाख ७१ हजार ५२८, किसान लघुवित्त रु पाँच करोड ५८ लाख २७ हजार, हिमालयन डिस्टिलरी रु चार करोड ४८ लाख १६ लाख ४०० र अरुण काबेली पावर रु चार करोड ३३ लाख २४ हजार ७५७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।   नेप्सेका अनुसार नेपाल इन्भेस्ट बैंकको ऋणपत्र र माछापुछ्रे बैंकको ऋणपत्रको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । यस्तै सानिमा बैंकको ऋणपत्र ९.९८, नबिल ब्यालेन्स फन्ड तेस्रो ९.९१ र एनआइसी बैंकको ऋणपत्रका लगानीकर्ताले ९.८८ प्रतिशतले कमाएका छन् । त्यस्तै ग्रिन लाइफ हाइड्रोपावर ५.३१, माउन्टेन हाइड्रो नेपाल ४.७६, रिभर फल्स पावर ४.७२, बोटलर्स नेपाल तराई ३.९२ र युनाइटेड मोदी हाइड्रोपावरका लगानीकर्ताले ३.६४ प्रतिशतले गुमाए । 

काठमाण्डौँ:   मधेस प्रदेश सरकारले सुरक्षा निकायलाई विपद् उद्धार सामग्री तथा सवारी साधन प्रदान गरेको छ । मधेस प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयमा आज आयोजित कार्यक्रममा गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सुरक्षा निकायलाई विपद् उद्धार सामग्री तथा सवारी साधन हस्तान्तरण गर्नुभयो ।   उक्त मन्त्रालयका सचिव रामकुमार महतोका अनुसार महोत्तरीस्थित सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता वाहिनी मुख्यालय, धनुषाधामस्थित इलाका प्रहरी कार्यालय, धनुषाको महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालय, महोत्तरीको गौशालास्थित इलाका प्रहरी कार्यालय, बर्दिबासस्थित इलाका प्रहरी कार्यालय, सप्तरीको हनुमाननगरस्थित इलाका प्रहरी कार्यालय, बाराको सिमरास्थित इलाका प्रहरी कार्यालय र महोत्तरीको सम्सीस्थित प्रहरी चौकीलाई चारपाङ्ग्र्रे सवारी साधन हस्तान्तरण गरिएको हो ।    यसैगरी जनकपुरधामस्थित प्रदेश प्रहरी कार्यालय, पथलैयास्थित प्रदेश प्रहरी ट्राफिक कार्यालय, महोत्तरी जिल्ला प्रहरी कार्यालय, बर्दिबासस्थित सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता वाहिनी मुख्यालय, सिरहाको गोलबजारस्थित इलाका प्रहरी कार्यालय, सिरहाको मिर्चैयास्थित इलाका प्रहरी कार्यालय, सप्तरीको कडरबोनास्थित इलाका प्रहरी कार्यालय, सप्तरीको कल्याणपुरस्थित इलाका प्रहरी कार्यालयलगायत ३८ प्रहरी कार्यालयलाई मोटरसाइकल हस्तान्तरण गरिएको सचिव महतोले बताउनुभयो ।       यस्तै सुरक्षा निकायहरुलाई विपद्को समयमा सूचना दिन ब्यान्ड बाजासमेत हस्तान्तरण गरिएको मन्त्रालयले जनाएको छ । ती सामग्री हस्तान्तरण गर्दै मन्त्री साहले नागरिकको सुरक्षाका लागि दिनरात खटिरहने सुरक्षा निकायलाई साधन सम्पन्न बनाउन प्रदेश सरकार लागिपरेको बताउनुभयो । सुरक्षा निकायसँग स्रोत र साधन नहुँदा जनतामा शान्तिसुरक्षा प्रदान गर्न कठिनाइ भइरहेकाले प्रदेश सरकारले सवारी साधन उपलब्ध गराएको जानकारी दिँदै उहाँले आगामी दिनमा पनि सुरक्षा निकायलाई सवारी साधनहरु उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।       कार्यक्रममा गृह तथा सञ्चार राज्यमन्त्री रुवीकुमारी कर्ण, जनकपुरधामस्थित प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक मउसुद आलम खाँ, बर्दिबासस्थित सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता वाहिनी मुख्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरलगायतको उपस्थिति थियो । 

काठमाण्डौँ:    जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईसहित नौ केन्द्रीय पदाधिकारीलाई सबै पदीय जिम्मेवारीबाट मुक्त गरिएको छ ।        वीरगञ्जमा जारी दुईदिने केन्द्रीय समितिको बैठकले पार्टीको हित र विधानविपरीतको कार्य गरेको भन्दै भट्टराईसहितका केन्द्रीय पदाधिकारीलाई पार्टीको पदीय जिम्मेवारबाट मुक्त गर्ने निर्णय गरेको जनाइएको छ ।     जसपा नेपालले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष उपेन्द्र यादवले पार्टीको नीति सिद्धान्त तथा विधानविपरीतको कार्य गरेको आरोप लगाउँदै नेताहरु डा भट्टराई, महेन्द्रराय यादव, गङ्गानारायण श्रेष्ठ, प्रसान्त सिंह, रमेश यादव, हिसिला यामी, भगतबहादुर साहसहित नौ जनालाई पदमुक्त गरिएको जानकारी दिनुभयो । उहाँले केन्द्रीय समितिको बैठकले सर्वसम्मतरुपमा पार्टीका वरिष्ठ नेता अशोक राईलाई पार्टीको सङ्घीय परिषद् अध्यक्षमा चयन गरेको बताउनुभयो ।      बैठकले आगामी प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन कांग्रेससहितको पाँच दलिय गठबन्धनमै लड्ने निर्णय गरेको जानकारी दिँदै अध्यक्ष यादवले पार्टीको केन्द्रीय समिति पुनर्गठन र विधान संशोधन गर्ने निर्णय गरिएको बताउनुभयो । दुई दिनसम्म सञ्चालन भएको बैठकले आगामी निर्वाचनका लागि सङ्गठनका सबै तहमा तयारी गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।      कारवाही गरिएका व्यक्तिले गल्ती स्वीकार गर्दै आत्मलोचना गरी आए पार्टीको ढोका खुला राखिएको अध्यक्ष यादवले बताउनुभयो । पत्रकार सम्मेलनमा सहभागी रहेका राईले पार्टीको घोषित लक्ष्य तथा उद्देश्यलाई कुनै पनि आँच आउन नदिन केन्द्रीय समिति बैठकले राजनीतिक, नीतिगत तथा सङ्गठनात्मक निर्णय गरेको जानकारी दिनुभयो । उहाँले पार्टी फुटाउने, सङ्गठनलाई कमजोर पार्नेजस्ता गतिविधिले पार्टीलाई कमजोर गर्नुको सट्टा थप बलियो र एकजुट बनाएको आरोप लगाउनुभयो ।

काठमाण्डौँ:     गृहमन्त्री बालकृष्ण खाणले नेपालको संविधानको मर्म र भावनाअनुसार नै सरकारले संसद्मा नागरिकता विधेयक पेस गरेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ माथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले नेपाली नागरिक नागरिकता पाउने अवस्थाबाट वञ्चित नहुने र गैरनेपाली नागरिकले नागरिकता नपाओस् भन्ने अवधारणाका साथ विधेयक पेस भएको जानकारी दिनुभयो ।      “कुनै पनि गैरनेपालीले नागरिकता नपाओस्, नेपाली नागरिकले नागरिकता पाउनबाट वञ्चित नहोस् । नेपाली नागरिकले नागरिकता प्राप्त गर्ने पर्दछ, यो संविधानको मूल अवधारणा हो । कुनै पनि नागरिकलाई नागरिकताबाट वञ्चित गरिँदैन भन्ने संविधानको भावना छ । सोही अवधारणाका आधारमा विधेयक अगाडि बढाइएको छ ।” उहाँले भन्नुभयो ।       नेपाली नागरिक नागरिकताको अधिकारबाट वञ्चित नहोस् भन्ने सरकारको प्रतिबद्धता रहेको जनाउँदै उहाँले संविधानलाई आधार मानेर नै विधेयक अगाडि बढाइएको बताउनुभयो । “संविधान परिवर्तनीय छ, त्यसको आफ्नो प्रक्रिया र पद्धति छ, समय आएपछि संविधान पनि परिस्कृत हुँदै जान्छ”, गृहमन्त्री खाणले भन्नुभयो, “जबसम्म संविधानमा जे प्रावधान र जस्तो व्यवस्था छ, त्यो व्यवस्थाको आधारशिलामा उभिएर विधेयक ल्याउनुपर्ने हुन्छ, सोही आधारमा ऐन बनाउनुपर्छ ।”     संविधानको भाग २ मा रहेको नागरिकतासम्बन्धी प्रावधानको आधारमा रहेर तथा संविधानका आधरभूत प्रावधानलाई ध्यानमा राखेर विधेयक बनाइएको उहाँले स्पष्ट पार्नुभयो ।  लामो समयदेखि नागरिकताविहीन भएर जीवनयापन, व्यवसाय सञ्चालन, अध्ययन तथा यात्रामा असुविधा व्यहोर्दै आएका नेपालीलाई छिटो नागरिकता दिने उद्देश्यले सरकारले विधेयक प्रस्तुत गरेको गृहमन्त्री खाणले जानकारी दिनुभयो । “सबै नेपालीले नागरिकता प्राप्त गरून् भन्ने सबैको साझा सङ्कल्प हो”, उहाँले भन्नुभयो, “सबै सांसदको सक्रिय सहभागिता, रचनात्मक  सहयोग र सकारात्मक भावनाले विधेयक पास भएर कार्यान्वयनमा जानेछ, कार्यान्वनका क्रममा आएका समस्यालाई फेरि सम्बोधन गर्दै लगिनेछ ।”     सो प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरुले कोही पनि नेपाली नागरिक नागरिकता प्राप्त गर्ने अधिकारबाट वञ्चित हुन नहुने र कुनै पनि गैरनेपालीले नागरिकता प्राप्त गर्ने अवस्था ल्याउन नहुने बताउनुभयो ।

  पोखरा:   पोखरामा आउने आन्तरिक तथा बाह्य पर्यटकमध्ये केही मुस्ताङ पुग्न बागलुङको बाटो भएर आउँछन् भने केही बागलुङकै पर्यटकीय क्षेत्र घुम्नका लागि पनि आउने  गरेका छन् । छोटो समय भएपनि उनीहरुको बिसौनी बन्छ, बागलुङका होटल तथा रेष्टुराँ । यहाँका होटल तथा रेष्टुराँले लामो समयदेखि ग्राहकको सेवा त गरिरहे पनि नयाँ स्वाद र आतिथ्यता दिन नसेकेको महसुस हुँदै आएको थियो । बागलुङमा आउने पर्यटकका लागि नयाँ स्वाद दिन र  होटल व्यवसायलाई दिगोरुपमा पर्यटनसँग जोड्न यहाँ क्रियाशील होटल व्यवसायी पछिल्लो समय जुर्मुराएका छन् ।    होटल एसोसिएसन नेपाल (हान) बागलुङ शाखाले पाहुनाका लागि नयाँ स्वाद पस्किने भन्दै भान्छामा काम गर्नेका लागि सातदिने ‘एड्भान्स कुक तालिम’ दिलाएकोे छ । हान गण्डकी प्रदेशको समन्वय र हान नेपालको आयोजनामा तालिम सञ्चालन गरेर बागलुङ र म्याग्दीका ३० भन्दा धेरै भान्छेलाई तालिम दिइएको हो । एक साता लामो तालिम लिएका भान्छेले अब यहाँका होटलमा पाइने खानाको स्वादमा फरकपन उपभोक्ताले महसुस गर्ने बताए । तालिम समापनका अवसरमा प्रशिक्षार्थी मिरा जिसीले भान्छामा गर्दै आएका क्रियाकलापमा थोरै सुधार गर्दा ग्राहकको चाहनाअनुसारको खाना तयार गर्न सकिने भए पनि ज्ञानको अभावमा आफूहरुले त्यसो नगर्ने गरेको बताउनुभयो ।    उहाँले तालिमपश्चात् अब सुधार गर्न सकिने जानकारी दिनुभयो । हानका प्रदेश अध्यक्ष हरि शर्मा गैरेले होटल व्यवसायलाई दिगो र जीविकोपार्जनमुखी बनाउन आवश्यक सबै प्राविधिक सहयोग गर्न हान तयार रहेको जानकारी दिनुभयो । बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलले भान्छालाई उद्योगका रुपमा विकास गरेर त्यहाँबाट तयार गरिने  बस्तुलाई  बजारीकरण गर्नसके होटल व्यवसाय दिगो हुनेमा जोड दिनुभयो । सेफ्स एसोसिएसन नेपालका प्रमुख प्रशिक्षक श्याम लामा र प्रशिक्षक शितल खनालले भान्छेहरुलाई तालिम दिनुभएको थियो । 

बारा:   बारा जिल्लाका किसान यतिखेर रोपाइँमा व्यस्त  छन् । यस  कूल ४६ हजार २० हेक्टर क्षेत्रफलमा धानखेती गरिने लक्ष्य रहेकोमा हालसम्म ६० प्रतिशत अर्थात्  २७ हजार ६१२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको कृषि ज्ञानकेन्द्रको प्रमुख जीतेन्द्र यादवले जानकारी दिनुभयो ।      सिँचाइको सुविधा नभएको कारणले आकासे पानीको भरमा सिँचाइ गरी खेती गरिने धानखेती गर्न नसकेको कृषि प्राविधिक राजनारायण प्रसादले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा कृषकले वर्षे धान भदैया ११ हजार ९० ५ हेक्टर र अगहनी धान ३४ हजार ११५ हेक्टरसमेत गरी कूल ४६ हजार २० हेक्टर क्षेत्रफलमा खेती गरिएको कृषि ज्ञानकेन्द्रले जनाएको छ ।    

काठमाण्डौँ:   नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र नेपाली जनतालाई केन्द्रमा राखेर आफूले छिमेकी मित्रराष्ट्र भारतको भ्रमण गर्न लागेको बताउनुभएको छ ।       भारत प्रस्थान गर्नुअघि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा उहाँले आफ्नो भारत भ्रमणका क्रममा इतिहासदेखि थाती रहेका कैयौँ विषयमा साझा धारणा बनाउने र समस्याको समाधानमा केन्द्रित रहने बताउनुभयो ।       अध्यक्ष दाहालले यो भ्रमण आकस्मिक जस्तो भए पनि पछिल्लो दुई महिनादेखि तयारी भइरहेको जानकारी पनि दिनुभयो । उहाँले भन्नुभयो, “बाहिर आउँदा यो भ्रमण आकस्मिक जस्तो देखिए पनि त्यस्तो होइन । पार्टीभित्र पनि यस विषयमा मैले चर्चा गरेको थिएँ । यो दुई महिना पहिल्यै तय भएको भ्रमण हो ।”      उहाँले नेपालका लागि भारतका तत्कालीन राजदूत विनयमोहन क्वात्रामार्फत उपयुक्त समयमा भारत भ्रमण गर्न त्यहाँको सत्तारुढ भारतीय जनता पार्टीका तर्फबाट निमन्त्रणा प्राप्त भएकोसमेत जानकारी दिनुभयो ।       अध्यक्ष दाहालले आफ्नो  भ्रमणलाई सद्भावना भ्रमणको रुपमा चित्रण गर्नुभयो । त्यहाँको सत्तारुढ भारतीय जनता पार्टी र भारतीय जनतासँगको सम्बन्ध विस्तारका लागि समेत यो भ्रमण केन्द्रित रहने उहाँको भनाइ छ ।      भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा आफू भारत भ्रमणमा जान लागेको उहाँले त्यस अवसरमा जानकारी दिनुभयो ।       अध्यक्ष दाहालले नेपाल र भारतका बीचमा रहेका  विभिन्न पक्षलाई केन्द्रमा राखेर आफूले भारतीय पक्षसँग कुराकानी गर्ने बताउनुभयो ।        भ्रमणका क्रममा नेपालको समग्र विकास, द्विपक्षीय सम्बन्ध, बढ्दो व्यापार घाटा, इतिहासमा थाती रहेका विषय एवं सीमामा देखिएका समस्या कूटनीतिक संवादबाट टुङ्ग्याउनेलगायतका विषयमा विभिन्न द्विपक्षीय तथा बहुपक्षीय भेटमा छलफल हुने पूर्वप्रधानमन्त्री प्रचण्डले बताउनुभयो ।      उहाँले आर्थिक, द्विपक्षीय हित र अन्य चासोका विविध पक्षमा विचार विमर्श हुने हुने उल्लेख गर्नुभयो । उहाँले हालै सम्पन्न चिनियाँ विदेश विभागका प्रमुखको भ्रमण र आफ्नो आजदेखि हुन लागेको भारत भ्रमणका बारेमा कुनै सम्बन्ध नरहेको प्रष्टीकरण दिनुभयो । उहाँले भन्नुभयो, “यसमा कुनै अन्तरसम्बन्ध छैन । अनावश्यक द्विविधा राख्नुको कुनै अर्थ छैन ।”     यस भ्रमणलाई भाजपा र आफ्नो पार्टीको सम्बन्ध विस्तारका रुपमा लिइएको उहाँको भनाइ छ । वर्तमान गठबन्धन सरकारको प्रमुख घटकको शीर्ष नेताको हैसियतमा हुन लागेको यस भ्रमणले दुई देशबीचको सम्बन्धमा थप सकारात्मक वातावरण बनाउने विश्वास व्यक्त गर्नुभयो ।      भ्रमणअघि आजै प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि आफूले संवाद गरेको र परराष्ट्र मन्त्रालयसँग पनि भ्रमणका सम्बन्धमा कुराकानी भएको अध्यक्ष दाहालले जानकारी दिनुभयो । भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य सरकारी अधिकारीसँग पनि भेटवार्ता हुने उहाँले जानकारी दिनुभयो ।      प्रधानमन्त्री देउवासँगको छलफलमा आफूले यस भ्रमणको क्रममा भएका सहमति तथा सहकार्यका विविध क्षेत्रमा भएका प्रगतिका बारेमा के भूमिका खेल्न सक्छु भनेर छलफल भएको उहाँले बताउनुभयो ।      देश र वर्तमान गठबन्धनका लागि समेत यस भ्रमणले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै उहाँले भ्रमणलाई उत्साहपूर्ण रुपमा लिएको बताउनुभयो । उहाँले सो अवसरमा आफू निकट भविष्यमा नै चीनको भ्रमणमा समेत जान लागेको जानकारी दिनुभयो । उहाँले गोवामा ब्रिक्स सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपति सि जीनपीङ रु भारतीय प्रधानमन्त्री मोदीसँग प्रधानमन्त्रीको हैसियतमा नै त्रिपक्षीय साझेदारीका विषयमा महत्वपूर्ण विचारविमर्श भएको स्मरण गर्नुभयो ।       उहाँले भारतले सस्तो मूल्यमा रसियाबाट इन्धन आयात गरिरहेको सन्दर्भमा त्यस्तो सुविधा नेपालले समेत पाउन सके धेरै नै राहत हुने भएकाले त्यसतर्फ पनि छलफल गर्ने बताउनुभयो ।         त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष दाहालको बिदाइका लागि पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेताहरु जनार्दन शर्मा, मातृकाप्रसाद यादव, झक्कुप्रसाद सुवेदीलगायतका नेता पुग्नुभएको थियो । अध्यक्ष दाहाल साउन १ गते स्वदेश फर्कने कार्यक्रम छ ।