कास्की २ मा नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद बास्तोला ‘मधु’ लडेर घाइते भएका छन् ।   उनी निर्वाचनका लागि घरदैलो गर्ने क्रममा पोखरा ११ फूलबारीमा सिँढीबाट लडेका हुन् ।   ...

काठमाडौँ:   प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल गौतम र विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएका छन्।   उपसभामुखमा नेपाली कांग्रेस नेतृ भुसालले सत्तारुढ गठबन्धन र भट्टराईले नेकपा (एमाले)को तर्फबाट उम्मेदवारी दिएकी हुन्। भुसालको प्रस्तावक देव गुरुङ र समर्थक लक्ष्मीकुमारी चौधरी छन्।   यस्तै, भट्टराईले शान्ता चौधरीको प्रस्ताव र  कृष्णभक्त पोखरेलको समर्थनमा उम्मेदवारी दर्ता गराएकी छन्।   उपसभामुख चयनका लागि असार ३१ गते मतदान हुने संसद् सचिवालयले कार्यतालिका सार्वजनिक गरेको छ।  

काठमाण्डौँ:      कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमारसिंह यादवले रविबालीका लागि आवश्यक युरिया मल साउनको पहिलोे सातादेखि नेपाल भित्रिन सुरु हुने जानकारी दिनुभएको छ । उहाँले ओमनबाट नेपाल सरकारले खरिद गरेको ५० हजार मेट्रिक टन युरिया मल साउनको पहिलो सातादेखि भित्रिने बताउनुभएको हो ।   जनता समाजवादी पार्टी नेपालले वीरगञ्जमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले धानबालीका लागि आवश्यक डिएपी मलको अभावबाट पाठ सिक्दै सरकारले रविबालीका लागि पहिलेदेखि नै आवश्यक रासायनिक मलको व्यवस्थामा जुटेको जानकारी दिनुभयो । उहाँले नेपाल सरकारले ओमानबाट आयात गरेको मलमध्ये ३० हजार मेट्रिक टन युरिया कृषि सामग्री कम्पनीले र २० हजार मेट्रिक टन साल्टट्रेडिङ कम्पनीले आयात गर्ने बताउनुभयो ।   कृषि क्षेत्रमा हाल देखिएको मल तथा उन्नतजातको बीउबिजनको समस्याप्रति नेपाल सरकार गम्भीर रहेको र ती समस्या समाधानप्रति प्रयत्नशील रहेको मन्त्री यादवले जानकारी दिनुभयो । उहाँले भारतसँग जोडिएका सीमावर्ती नेपाली जिल्लाका किसानले भारतबाट रासायनिक मल खरिद गरी ल्याउँदा कुनै पनि प्रकारको व्यवधान खडा नगर्न प्रशासनलाई निर्देशन दिइएको बताउनुभयो ।

  काठमाण्डौँ:   बुधबारदेखि बेपत्ता बालकको शव भेटिएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं ६ स्थित हाँडिखोला धापका १२ वर्षीय अनुज बस्नेतलाई बुधबार  बगाएको थियो ।   बालकको शव आज हाँडिखोला र ईन्द्रावतीको दोभानमा भेटिएको इलाका प्रहररी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक उत्तम सिंह भण्डारीले जानकारी दिनुभयो ।    उहाँले बर्खाको समयमा नदी तथा खबरे खोला आसपास नजानसमेत आग्रह गर्नुभयो । उहाँले अहिले पनि खेल्ने, नुहाउने, माछा मार्ने लगायतको बाहानामा बालबालिका तथा अन्य मानिस खोलामा जाने गरेको बताउनुभयो ।   

गलकोट:   चिसो हावापानी, चट्ट मिलेको सानो गाउँ । समुद्री सतहदेखि दुई हजार ५०० मिटरको उचाइमा छ सुन्दर बनौगाउँ । गाउँमाथिको जङ्गलको बीचमा रहेको पहाडको दृश्यावलोकन स्तम्भ ।   त्यही पहाडको टुप्पो अहिले चर्चामा छ । चर्चामा पनि किन नहोस् उक्त स्थानबाट धवलागिरिका तीन जिल्ला सदरमुकाम एकैसाथ देख्न सकिन्छ । बनौलेकको हल्जुरेडाँडाबाट देखिने दन्तेलहरजस्तै हिमशृङ्खलाले त्यहाँ पुग्ने आन्तरिक पर्यटकलाई नलोभ्याउने कुरै भएन । हल्जुरेडाँडाबाट देखिने सूर्योदयले त दार्जलिङको झल्को नै मेटाउने गरेको छ । सूर्योदय हेर्नका लागि दार्जलिङ पुग्ने पर्यटकका लागि यो आकर्षक गन्तव्य बन्न सक्नेमा दुईमत छैन ।   म्याग्दीको सदरमुकाम बेनी बजार, बागलुङ बजार र पर्वतको कुश्माबजार एकसाथ देख्न सकिने उक्त डाँडाले बनौप्रति पर्यटकलाई आकर्षित गरिरहेको छ । मध्यपहाडी पुष्पलाल लोकमार्ग बागलुङ–पर्वत खण्डको अर्मादीबाट एक घण्टामै पुग्न सक्ने स्थानमा रहेको बनौ अहिले सडक कालोपत्र भएपछि झनै बढी चर्चामा आउन थालेको हो । कला, संस्कृतिको धनी रहेको बनौगाउँमा मगर समुदायको बाहुल्यता रहेको छ । उनीहरुको मारुनी नाच र मगर बाजा यहाँको पहिचानसमेत हो ।   उकालो कच्ची सडक भएका कारण कालोपत्र नहुँदा बनौ पुग्नै सास्ती भए पनि अहिले बनौसम्मै सडक कालोपत्र पुगेपछि आन्तरिक पर्यटक यहाँ आउन थालेको जलजला गाउँपालिका–९ बनौका अध्यक्ष गौबहादुर पुनले बताउनुभयो ।    “बाहिरी पर्यटक ल्याउने मुख्य आधार सडक हो, सडकका कारण धेरै विकास रोकिनेरहेछ, बनौ आउने सडक हालैमात्रै कालोपत्र भएको छ, बगैँचाबाट साढे १२ किलोमिटर सडक हालैमात्र पक्की भएपछि बनौ पुग्न निकै सहज भएको छ”, अध्यक्ष पुनले भन्नुभयो, “आन्तरिकमात्रै होइन, बाह्य पर्यटकसमेत ल्याउने हाम्रो योजना हो, अहिले हल्जुरेडाँडामा पुग्ने पदमार्ग, शौचालयसहितको सत्तल र खानेपानीको व्यवस्थापन गरेका छौँ, दोस्रो कार्यकाल भर्खर सुरु भएको छ, बनौ आफैँमा सौन्दर्ययुक्त छ, प्रचार–प्रसार नपुगेर हो सबैको सहयोगमा यस क्षेत्रको प्रचार–प्रसारमा जुटेका छौँ, वडा कार्यालय र गाउँपालिकाले समय–समयमा पर्यटन क्षेत्रका विज्ञ तथा पर्यटन अभियानकर्मीलाई समेत त्यहाँ लैजाने गरेको छ ।”   उच्च पहाडी भेगमा रहेकाले त्यहाँ उत्पादित आलु निकै स्वादिष्ट छ । त्यहाँ पुगेकाहरुले बनौको मुख्य बाली आलु खोजी–खोजी कोसेली लैजाने गरेका छन् । बागलुङ, पर्वत र म्याग्दीबाट करिब एक घण्टाको सवारी यात्रामा पुग्न सकिने भएपछि तीन जिल्लाका आन्तरिक पर्यटकको रोजाइ बनौलेक बन्न थालेको छ ।   यस स्थानमा चिसो मौसम र हिउँ पर्दा बढी आन्तरिक पर्यटक आउने गरेको स्थानीय अमबहादुर गर्बुजाले बताउनुभयो । “यस स्थानमा सूर्योदय दृश्यावलोकन नै मुख्य विशेषता हो, पछिल्लो समय पर्यटक यहाँ वनभोज खानसमेत आउँछन्”, गर्बुजाले भन्नुभयो, “बेलुका आएर बिहान सूर्योदय र हिमाल हेरेर फर्कने गरेका छन्, केही पर्यटक खानेबस्ने व्यवस्थासहित र टेण्ट टाँगेर डाँडामै बस्ने गरी आउँछन्, अहिले बर्खा लागेर होला कम पर्यटक आएका छन्, हिउँ पर्दा यस स्थानमा पर्यटक बोकेका सवारी साधन राख्ने ठाउँ नै हुँदैन ।”   यस क्षेत्रामा पर्यटकका लागि होटलको समेत व्यवस्था छ । गर्मीले आजित बनेका मानिस शीतलताका लागि सेमत बनौ पुग्ने गरेका छन् । सूर्योदय हेर्नकै लागि नेपालीहरु टाढा–टाढा पुग्दै आए पनि पक्की सडकको पहुँचमै आकर्षक पर्यटकीय गन्तव्य भएपछि त्यहाँ पुग्ने पर्यटकको सङ्ख्यामा दिनानुदिन वृद्धि भइरहेको छ । बनौको विषयमा आफूले सुनेभन्दा आकर्षक स्थान रहेको बागलुङ बजारबाट बनौ पुग्नुभएका पर्यटक शङ्कर जिसीले बताउनुभयो ।    उहाँले बनौको प्रचार–प्रसार नपुगेको भन्दै यस स्थानमा धेरैभन्दा धेरै आन्तरिक र बाह्य पर्यटक आउन सक्ने सम्भावना रहेको बताउनुभयो । अहिले बनौ लेकमा टेण्ट बोकेर पुग्ने र लेकमै रात बिताउने गरी बागलुङ, पर्वत तथा म्याग्दीका पर्यटक आउने गरेको बनौका युवा विश्व पुर्जा मगरले जानकारी दिनुभयो ।   उहाँले शुक्रबार बेलुका बसेर बिहान दृश्यावलोकन गरेर जाने गरी कर्मचारीसमेत यस स्थानमा आउने गरेको बताउनुभयो । यस क्षेत्रमा थप पूर्वाधार भने बनाउन बाँकी नै छ । बनौ लेकको डाँडाबाट तीन जिल्लाका सदरमुकामसँगै धवलागिरि, अन्नपूर्ण, निलगिरिलगायतका दर्जनौँ हिमशङ्खलासमेत देख्न सकिन्छ ।

काठमाण्डौँ:     नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्याय, निष्पक्षता र मूल्याङ्कनका आधारमा पार्टीभित्र न्याय हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन तनहुँ शाखाले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता पौडेलले पार्टीभित्र कसैलाई पनि अन्याय हुन नहुने धारणा राख्नुभयो । “पार्टीभित्र भिन्न मत राख्नेको पनि कदर हुनुपर्छ”, उहाँले भन्नुभयो ।     वरिष्ठ नेता पौडेलले कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले सबैको मतको कदर गर्नुपर्ने उहाँको भनाइ थियो । वरिष्ठ नेता पौडेलले विगतका सरकारले गरेका गल्ती दोहो¥याउने छुट वर्तमान सरकारलाई नभएको बताउनुभयो ।    आगामी निर्वाचनमा उम्मेदवार बन्नेबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा पौडेलले पार्टीले आफ्नो आवश्यकता कसरी महसुस गर्छ त्यसपछि मात्रै आफूले धारणा सार्वजनिक गर्ने बताउनुभयो । “मेरो इच्छामा मात्र भरपर्ने कुरा होइन, पार्टीले मेरो आवश्यकता महसुशलाई कसरी लिन्छ त्यसपछि मात्रै कुरा हुन्छ”, उहाँले भन्नुभयो, “१४औँ महाधिवेशनमा सभापतिले देशलाई तपाईको आवश्यकता छ, स्वास्थ्यको ख्याल गर्नुहोस् भन्नुभएको थियो ।”   वरिष्ठ नेता पौडेलले अहिलेको गठबन्धन स्थिरताका लागि भएको प्रष्ट पार्नुभयो । मुलुकलाई स्थिरता कायम गरी विकासको बाटोमा अगाडि बढाउने आफूहरुको मूल लक्ष्य रहेको पौडेलको भनाइ थियो । “अहिले कांग्रेस र कम्युनिष्टको सवाल होइन, मुलुकको स्थिरताको सवाल हो,” पौडेलले भन्नुभयो । मुलुकमा स्थायित्व र सुशासनको जग बसालेर राजनीति छाड्न मन रहेको वरिष्ठ नेता पौडेलले बताउनुभयो ।    राष्ट्र बैंकका गर्भनर पार्टीको कमिटीमा बस्नु संवैधानिक र कानुन विपरीत रहेको उहाँको भनाइ थियो । “मलाई व्यवस्थाको चिन्ता भएकाले जिल्ला आउन कमी भएको थियो, अब विकासमा हलचल आउँछ”, उहाँले भन्नुभयो ।

  काठमाण्डौँ:   नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार भारत जाने भएका छन्।   शुक्रबार भारत गएर उनी साउन १ गते स्वदेश फर्किने कार्यक्रम छ। राजनीतिक भेटघाटका लागि उनी भारत जान लागेको माओवादीका एक नेताले जानकारी दिए।   भारतीय जनता पार्टी (भाजपा) को निम्तोमा प्रचण्ड भारत जान लागेका छन्। भाजपा अध्यक्ष जेपी नड्डाको निम्तोमा प्रचण्ड भारतको भ्रमणमा जान लागेको माओवादीका ती नेता बताउँछन्। शुक्रबार दिउँसो करिब १ बजेतिर प्रचण्ड भारत प्रस्थान गर्ने कार्यक्रम छ।

  काठमाण्डौँ:   नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैज्ञानिक विचार भएका कम्युनिष्ट शक्तिहरू एक हुनुपर्नेमा जोड दिनुभएको छ ।विकल्प फाउण्डेशनले आज यहाँ आयोजना गरेको विज्ञान तथा सूचना–प्रविधिसम्बन्धी नीति संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अझै पनि वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिष्टहरू एक हुनाको विकल्प नरहेको बताउनुभयोे ।   अध्यक्ष प्रचण्डले भन्नुभयो, “नेपालमा अलिक वैज्ञानिक विचार राख्ने भनेका कम्युनिष्ट नै हुन् सबै कम्युनिष्टलाई एकै ठाउँमा जम्मा गरेपछि धेरै राम्रो हुन्छ होला भनेर हिजो निकै ठूलो जोखिम र त्याग गरेर आफूले कम्युनिष्ट एकता गराएकै हो । अझै पनि वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिष्ट एक हुनैपर्छ त्यो मिसन हाम्रो जारी रहन्छ ।”उहाँले वैज्ञानिक विचार राख्नेहरु एकताका साथ अघि बढेमात्रै विज्ञान र प्रविधिको क्षेत्रमा नीतिगत सुधार गरेर विकास र समृद्धिको यात्रामा अगाडि बढ्न सकिने धारणा राख्नुभयो ।   अध्यक्ष प्रचण्डले विज्ञान र प्रविधिमा आम मानिसको अपरिहार्यता अनुरुप वैज्ञानिक आविष्कार हुँदै आएको छ भन्दै अहिलेको डिजिटलयुगमा मानिसको उत्पादनशक्ति र उत्पादकत्व अभिवृद्धिका लागि विज्ञान र प्रविधिलाई उपयोग गरिनुपर्ने खाँचो औँल्याउनुभयो ।उहाँले वैज्ञानिकरूपमा सामाजिक रुपान्तरण र नयाँ उत्पादन र उत्पादकत्व शक्ति बढाउन विज्ञानलाई  सचेतरुपले प्रयोग गरिनुपर्ने धारणा व्यक्त गर्नुभयोे । वैज्ञानिक सोचसहितको नयाँ खालको बहस नेपाली समाजलाई आवश्यक परेको भन्दै अध्यक्ष प्रचण्डले त्यसको नेतृत्व र आन्दोलनका लागि पुनः एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो ।   उहाँले वैज्ञानिक विचारधारा, विकास र समृद्धिको यात्रामा होमिएका राजनीतिक शक्तिहरूबीच यो छलफललाई अझ व्यवस्थित र योजनाबद्धरुपले अभियानकै रुपमा अघि बढाउन जरुरी भएको उल्लेख गर्नुभयो ।

  काठमाण्डौँ:    नेपाली काँग्रेसकी नेतृ पुष्पा भुसालले उपसभामुख पदमा उम्मेदवार दर्ता गराएकी छिन् । सत्ता गठबन्धनको तर्फबाट भुसालले मनोनयन दर्ता गराएकी हुन् । भुसालको प्रस्तावकमा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ र समर्थकमा सांसद लक्ष्मीकुमारी चौधरीको रहेका छन् ।     यसअघि पनि काँग्रेसले भुसाललाई उपसभामुखको उम्मेदवार बनाएको थियो भने । उनी तत्कालीन नेकपा एमालेकी शिवमाया तुम्बाहाङ्फेसँग पराजित बनेकी थिइन् । ०७४ चैतमा भएको उपसभामुखको निर्वाचनमा तुम्वाहाङ्फे २०१ मतका साथ विजयी हुँदा भुसाल ५८ मत प्राप्त गरेर पराजित भएकी थिइन् । यसपटक गठबन्धन उम्मेदवारले जित्ने पक्का जस्तै छ । यता नेकपा एमालेले उपसभामुखमा उम्मेदवारी दिने नदिनेबारे टुंगो लगाइसकेको छैन । 

फुङ्लिङ:    खेतीपाती गर्न विभिन्न प्रविधिको आविष्कार भएको छ । मेसिनले नै खेत जोत्छ । मेसिनले नै धानको बीउ रोप्छ । तर ताप्लेजुङलगायत पहाडी क्षेत्रमा प्रविधिको प्रयोग हुन सकेको छैन । पहाडी क्षेत्रमा खेतीपाती गर्नका लागि अझै पनि गोरुको प्रयोग गर्नु पर्दछ ।     मानवीय जनशक्तिको आवश्यक पर्दछ । पहाडी क्षेत्रमा तराई जस्तो समतल जमिन छैन । भिरालो जमिन, थुम्का–थुम्की स–सानो डिलहरु त्यसमा पनि चट्टान, माटो र चट्टान बराबर हुने भएकाले पहाडी क्षेत्रका कृषकले कृषिका लागि अविष्कार भएका मेसिन प्रयोग गर्न सकेका छैनन् । विभिन्न प्रविधिको प्रयोग हुन नसक्नुले पनि पहाडी क्षेत्रमा खेतबारी बाँझिदै  गएको कृषि विज्ञ भिङमारे हेल्लोकले बताउनुभयो ।     कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण र व्यवसायीकरण गर्न नसक्दा पर्याप्त मात्रामा धानखेती हुन सकिरहेको छैन । धानलाई मुख्यबाली मानिए पनि परम्परागत खेती प्रणाली, आकाशे पानीको भर पर्नुपर्ने बाध्यता, गह्रा सुधार हुन नसक्नु र भिरालो जमिनका कारण आवश्यक उत्पादन हुन नसकेको कृषि प्राविधिक बताउँछन् ।       युवापुस्ता रोजगारी, अवसर र सेवा सुविधाको खोजीमा विदेश र  सहर पसेका कारण यति बेला गाउँमा काम गर्ने जनशक्तिको अभावले खेतीयोग्य जमीन बाँझो हुँदै गएको छ । पछिल्लो समय गाउँघरमा गाईगोरु पाल्न छाडेपछि रोपाइँ गर्न, खेतबारी जोत्ने र मलमूत्रको समेत अभाव झेल्न किसान बाध्य छन् । सरकारले कृषिमा यान्त्रिकीकरण गर्ने भन्दै अनुदानमा विभिन्न सहयोग र कार्यक्रम ल्याए पनि पहाडी क्षेत्रका किसान  यान्त्रिकीकरणको प्रयोगबाट वञ्चित रहेको कृषि विज्ञ हेल्लोकले बताउनुभयो । धान रोप्न छोडेर किसान फलफूल खेती, अलैँची खेती जस्ता वैकल्पिक खेती गर्न बाध्य छन् ।    खेताला पाउन मुस्किल     विगतमा गाउँघरमा पर्मा खेल्ने प्रचलन थियो । एक दिन एक परिवारको रोपाइँ र अर्को दिन अर्को परिवारको रोपाइँ गर्ने त्यसरी नै खेतीपाती गर्ने चलन थियो । तर आजभोलि गाउँघरमा पर्मा खेल्ने चलन हराउँदै गएको सिदिङवा गाउँपालिका–४ का अनिता लिम्बूले बताउनुभयो । उहाँले भन्नुभयो “खेताला पाउनै छोडेको छ ।” खेतालाको ज्यालादर प्रत्येक वर्ष बढ्दै गएको छ । एक खेतालाको रु ५००  ज्याला दिनु पर्दछ । एक हल गोरुको रु एक हजार ज्याला पुगेको सिरिजङ्घा गाउँपालिका–१ आम्वेगुदिनका वडाध्यक्ष असिम कुवँरले बताउनुभयो । ज्याला बढ्दै गए पनि उत्पादन भने घट्दै गएकाले अन्न बाली छोडेर नगदेबालीतर्फ  कृषकको आकर्षण बढ्दै गएको छ ।   कृषि पेसा अपहेलित      गाउँ घरमा भन्ने गरिन्छ, “अहिले राम्ररी पढ । नत्र पछि हलो जोत्दै बस्नु पर्ला ।” समाजमा पढे लेखेकाले जागिर खाने र नपढेकाले कृषि कर्म गर्नु पर्छ भन्ने मानसिकताले जरा गाडेको छ । कृषि प्रविधिक प्रत्येक वर्ष सयौँको सङ्ख्यामा उत्पादन हुन्छन् । कृषि पेसा गर्ने सोच भने हुँदैन ।       कृषि व्यवसाय सीमितले मात्र अङ्गाल्ने गरेको विज्ञ हेल्लोकको भनाइ छ । कृषकलाई अनुदान र प्रविधिक सहयोग सहुलियत व्याज दरमा ऋणको सहजीकरण हुन सके उर्वर जमिन बाँझो रहने समसइा हट्ने कृषक बताउँछन् । गाउँमै कृषि कर्म गर्न प्रोत्साहन गर्न सके जमिन बाँझो हुनबाट जोगिने फक्ताङलुङ गाउँपालिका–४ का विक्रम माबोहाङले बताउनुभयो ।    धान रोपाइँ क्रमिक रुपमा घट्दै     यसवर्ष ताप्लेजुङको नौ स्थानीय तहमा धानखेतीयोग्य आठ हजार ७३७ हेक्टर क्षेत्रफल जमिनमा धानखेती गरिएको थियो । सो खेतीबाट २२ हजार १७.२४ मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालय ताप्लेजुङका कृषि प्राविधिक सहायक केदार धितालले बताउनुभयो । गत वर्ष आठ हजार ३०० हेक्टरमा गरिएको खेतीमा २१ हजार ८२ मेट्रिकटन  धान उत्पादन भएको थियो ।       विसं २०७५ मा ताप्लेजुङमा आठ हजार ५६२ हेक्टरमा धानखेती गरिएको थियो । सो खेतीबाट १८ हजार १५१ मेट्रिकटन धान उत्पादन भएको थियो । विसं २०७६ मा आठ अजार ३८.०४ हेक्टरमा धानखेती गरिएकामा २० हजार ७६.९७ मेट्रिकटन धान उत्पादन भएको थियो । विसं २०७७ मा आठ हजार ३००.१५ हेक्टरमा धानखेती गरिएकामा २१ हजार ८२.३८ मेट्रिकटन धान उत्पादन भएको सम्पर्क कार्यालय ताप्लेजुङले जनाएको छ ।