कास्की २ मा नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद बास्तोला ‘मधु’ लडेर घाइते भएका छन् ।   उनी निर्वाचनका लागि घरदैलो गर्ने क्रममा पोखरा ११ फूलबारीमा सिँढीबाट लडेका हुन् ।   ...

धनुषा:    तराई–मधेसमा दैनिक गर्मी बढ्दै गएको छ । असार सकिन लाग्दा पनि पानी पर्न नसक्दा अत्यधिक गर्मीले धनुषासहित मधेस प्रदेशका जिल्लाको जनजीवन प्रभावित भएको छ ।   जनकपुरधामसहित तराई–मधेस क्षेत्रमा एक सातादेखि निरन्तर टन्टलापुर घाम लाग्दा जनजीवन प्रभावित बनेको छ । एक सातादेखि तराई क्षेत्रको अधिकतम तापक्रम मध्याह्नपख ३५ देखि ३८ डिग्री सेल्सियसको हाराहारीमा हुन्छ ।   घर बाहिर निस्कनै मुस्किल   बिहान सबेरैदेखि साँझसम्म नै एकनाशले टन्टलापुर घाम लाग्दा अत्यधिक गर्मी भई जनजीवन प्रभावित बनेको छ । बेलाबेलामा सामान्य वर्षा भए पनि यस क्षेत्रमा गर्मी कम हुन सकेको छैन । पानी परेर मौसम उघ्रिनासाथ अत्यधिक गर्मी हुने गरेको छ । चर्को घाम र अत्यधिक गर्मीका कारण मानिसलाई मध्याह्नको समयमा घर बाहिर निस्कनै मुस्किल पर्ने गरेको स्थानीयले बताएका छन् ।   दिनमा मुख्य बजारका सडक सुनसान हुने गरेको छ । सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्या घटेको छ । गर्मीका कारण विद्यालय, उद्योग व्यवसाय सबै प्रभावित भएका छन् । दिनभरि सडक र सरकारी कार्यालय सुनसान रहने गरेको छ । अत्यन्त चर्को घाम र छहारीमा बस्दासमेत तर्तरी पसिना आउने प्रचण्ड गर्मीले सर्वसाधारणको दैनिक जीवन कष्टकर बन्दै गएको हो ।   रोपाइँ प्रभावित   झरी पर्नुपर्ने समयमा दिनभर टन्टलापुर घाम लाग्दा धान रोपाइँ प्रभावित बनेको छ । असार महिना सक्ने बेलामा समेत यस वर्ष धनुषासहित मधेस प्रदेशका अन्य जिल्लामा पर्याप्त वर्षा हुन सकेको छैन । खेतमा जम्ने गरी पानी नपर्दा रोपाइँ प्रभावित भएको हो ।   एक साताअघि दुई दिन सामान्य झरी परे पनि त्यसपछि रोपाइँ गर्न हुने गरी पानी परेको छैन । कृषि ज्ञानकेन्द्र धनुषाका अनुसार नहर, कुलो र बोरिङ लाग्ने खेतमा मात्र रोपाइँ थालिएको छ भने बाँकी खेतमा अझै रोपाइँ हुन सकेको छैन ।   गर्मीजन्य सङ्क्रमणका बिरामी बढे   पानी नपरेर अत्यधिक गर्मी हुँदा गर्मीजन्य सङ्क्रमणका बिरामी पनि बढिरहेका छन् । गर्मीका कारण घाउ, खटिरा, आउँमासी, टाइफाइड ज्वरो, झाडापखालालगायत सरुवा रोगका बिरामीको चाप पनि स्थानीय अस्पताल तथा स्वास्थ्य संस्थामा बढ्न थालेको चिकित्सक बताउँछन् ।   गर्मी छल्न ग्रामीण भेगका मानिस चौतारी र रुखको छहारीमा बस्ने गरेका छन् । गर्मीले विद्यालय जानुपर्ने ससाना बालबालिकासँगै वृद्धवृद्धा, अशक्त, किसान र मजदुर बढी प्रभावित भइरहेका छन् । जनकपुरधाममा अस्पताल, शिक्षण संस्था तथा स्वास्थ्य केन्द्रमा गर्मी मौसममा लाग्ने विभिन्न रोगका बिरामीको चाप पनि दिन प्रतिदिन बढ्दै गएको जनाइएको छ ।   प्रादेशिक अस्पताल जनकपुरधामका प्रवक्ता डा केडी दासका अनुसार अहिले दैनिक भाइरल ज्वरो, टाइफाइड, निमोनियाका बिरामी बढेका छन् । पसिना अत्यधिक आउने र पर्याप्त पानी सेवन नगर्दा डिहाइड्रेसनका बिरामी बढेका डा दासको भनाइ छ ।   विद्यार्थीलाई पठनपाठनमा समस्या हुँदा विद्यालय बन्द हुँदै   समयमा पानी नपर्दा र अत्यधिक गर्मीले गर्दा कक्षाकोठामा विद्यार्थीलाई पठनपाठनमा समस्या हुने गरेको धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–६ स्थित माध्यमिक विद्यालय सखुवाबजारका प्रधानाध्यापक सन्तोष यादव बताउनुहुन्छ ।   प्रअ यादवले अत्यधिक गर्मीले विद्यार्थी पढाउने बेलामा कापी किताब समातेर हम्कने गर्दा उनीहरूको ध्यान पढाइमा केन्द्रित गर्न समस्या पर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अत्यधिक गर्मीले कक्षाकोठामा पढाउनै समस्या पर्ने गरेको छ, गर्मीकै कारण विद्यार्थीको ध्यान केन्द्रित गर्नै समस्या पर्ने गर्छ ।” उहाँले अत्यधिक गर्मी, त्यसमाथि विद्युत् आउनेजाने समस्याले विद्यार्थी समस्यामा परेको बताउनुभयो ।   क्षीरेश्वर जनता उच्च माध्यमिक विद्यालय महेन्द्रनगरका प्रधानाध्यापक बाबुसाहेव यादवले अत्यधिक गर्मीले विद्यार्थीको छालामा समस्या देखिएको बताउनुभयो । “अत्यधिक गर्मीले विद्यार्थीको शरीरमा घमौरा, बिमिरा देखिन थालेका छन्”, उहाँले भन्नुभयो, “घमौराले गर्दा शरीर चिलाउने गर्दा उनीहरूलाई पढाइमा ध्यान केन्द्रित गर्न समस्या पर्ने गरेको छ ।” समयसमयमा विद्युत् सेवा अवरुद्ध हुँदा पनि विद्यार्थीमा झनै समस्या देखिएको प्रअ यादवले बताउनुभयो ।   गर्मीका कारण नानीबाबुलाई विद्यालय पु¥याउन र ल्याउनै समस्या पर्ने गरेको अभिभावक दिनेश गुप्ता बताउनुहुन्छ । “विद्यालयमा पङ्खा भए पनि गर्मीले साना नानीबाबुलाई घरबाट विद्यालय लैजान र घर ल्याउनै समस्या पर्ने गरेको छ”, गुप्ताले भन्नुभयो, “बिहान विद्यालय लैजान त सजिलै हुन्छ तर दिउँसो बिदा भएपछि घर ल्याउँदा बच्चा गर्मीले रातोपिरो भइसक्छन् ।”   अभिभाव ज्योति झाले गर्मीका कारण नानीबाबु सुत्न नसक्ने र घरीघरी पानी पिउन खोज्ने गरेको बताउनुभयो । “समयसमयमा विद्युत् लाइन काटिँदा घरभित्रै बस्न सकिँदैन”, झाले भन्नुभयो, “अत्यधिक गर्मी बढेपछि असार २९ देखि साउन २६ गतेसम्मका लागि जनकपुरधाम उपमहानगरपालिकाभित्रका सबै सामुदायिक विद्यालय बन्द गरेर गर्मी बिदा दिइएको छ ।   चिसो पेय पदार्थको बिक्री बढ्यो   यता गर्मी बढेसँगै बजारमा हरेक वर्ष चिसो पेयपदार्थको माग ह्वात्तै बढ्छ र यो वर्ष झनै त्यसको मात्रा बढेको छ । अहिले गर्मी बढेसँगै चिसो पेय पदार्थको बिक्री बढेको छ । अहिले जनकपुरधाम बजारका होटल तथा चोकचोकमा लस्सीका साथै चिसो पेय पदार्थको व्यापार गर्नेको सङ्ख्या पनि बाक्लै देखिन थालेको छ ।   अहिले बजारमा उखुको जुस, सर्वत, बरफ, कुल्फी, आइसक्रिमको व्यापार पनि एकाएक बढेको जनकपुर जानकी चोकका चन्दे लस्सी पसलका सञ्चालक चन्दे साहले बताउनुभयो । गर्मी छल्न, तथा तिर्खा मेटाउन मानिसले चिसो खाने गरेका कारण व्यापार बढेको हो । एकाएक चिसो पेय पदार्थको बिक्री बढेपछि व्यवसायीलाई पुर्याउनै हेम्मेहम्मे परेको बताइएको छ ।   दैनिक उखुको रस पेल्दै आएका जनकपुरधामका शम्भुप्रसाद गुप्ताले बिहानदेखि साँझसम्म चिसो पिउनेको भीड लाग्ने गरेको बताउनुभयो । महेन्द्रनगरका विशाल डेरीका सञ्चालक विजय यादवले कुल्फी, आइसक्रिमको बिक्री वितरण बढेको बताउनुभयो ।   

  चितवन:  जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दै गएको छ । पिसिआर र एन्टिजेन परीक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि हुन थालेको हो ।    स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार बिहीबार साँझसम्म जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या नौ रहेको छ ।  असार अन्तिम सातादेखि जिल्लामा कोरोना सङ्क्रमण देखिन थालेको उहाँले जानकारी दिनुभयो । फागुन अन्तिम सातादेखि शून्यमा झरेको कोरोना सङ्क्रमण असार अन्तिममा आएर फेरी देखापर्न थालेको हो ।    कोरोना सङ्क्रमण देखिएसँगै स्वास्थ्य कार्यालयले सावधानीका उपाय अवलम्बन गर्दै कार्यक्रममा सहभागी हुन अनुरोध गरेकोे अधिकृत ढकालले जानकारी दिनुभयो ।    कार्यालयका निमित्त प्रमुख राम केसीका अनुसार जिल्लामा अहिले देखिएका कोरोना सङ्क्रमितमध्ये आठजना होम आइसोलेसनमा छन् भने एकजना अस्पतालमा उपचाररत छन् । सामाजिक दूरी कायम राख्ने, मास्क नियमित प्रयोग गर्ने, नियमित साबुनपानीले हात धुने, कोभिडविरुद्धको खोप लगाउनेजस्ता कार्य गर्न उहाँले अनुरोध गर्नुभयो ।    जिल्लामा हालसम्म ३३ हजार ५६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोभिड–१९ विरुद्धको खोपको पहिलो मात्रा पाँच लाख ३९ हजार ५१४ जनाले लगाएका छन् भने दोस्रो मात्रा खोप चार लाख ५८ हजार ११८ जनाले र बुष्टर डोज एक लाख ९१ हजार ६८५ जनाले लगाएको कार्यालयले जनाएको छ । 

कालिकोट:     नरहरिनाथ गाउँपालिका–४ रुप्सा गाउँका कन्न दर्जी निगालाको डोका र नाङ्ला बेचेर मासिक रु २५ हजार आम्दानी गर्नुभएको छ । जङ्गलमा पाइने निगालाबाट उहाँले निगालाको डोका र नाङ्ला बुनेर बजारमा बक्रिवितरण गर्दै आउनुभएको छ ।       उहाँले गाउँमा आफूले बुनेका वा अरुले बुनेका डोका, नाङ्ला खरिद गरेर सदरमुकाम मान्म बजार, छिमेकी जिल्ला अछाम र दैलेखसम्म बिक्रीका लागि जाने गरेको बताउनुभयो ।  “ जङ्गलमा त्यतिकै खेर गएको निगालाको चोयाबाट डोका र नाङ्लो बेचेर राम्रो कमाइ गरेको छु ।  नाङ्लो मात्र रु पाँचसयदेखि छ सयसम्म बिक्री गर्ने गरेको छु ।” उहाँले भन्नुभयो, “गाउँघरमा यसको माग पनि निकै छ ।”      भारी बोक्न मिल्ने डोका रु एक हजार दुई सयदेखि एक हजार पाँच सयसम्म घाँस दाउरा गर्ने डोका रु आठ सयदेखि नौ सय मूल्यमा बिक्री हुने गरेको उहाँको भनाइ रहेको छ । “पहिलो आफन्तलाई डोका र नाङ्लो नासोको रुपमा दिने गरेका थियौँ ।” उहाँले भन्नुभयो, “अहिले त्यसलाई मैले बजारीकरण गरेर व्यापारका रुपमा विकास गरेको छु ।”      स्थानीय वस्तुभाउ बिक्री वितरण गर्नका लागि हाट बजार लाग्ने व्यवस्था भएको भए आफूलाई बिक्री वितरणमा सजिलो हुने उहाँको भनाइ छ । “स्थानीयस्तरमा उत्पादन भएको वस्तुभाउ बिक्री गर्नका लागि यहाँ कृषि हाट बजार लाग्दैन ।” उहाँले भन्नुभयो, “पिठ्युमा बोकेर गाउँगाउँमा डुलेर बिक्री गर्ने गरेको छु ।”     स्थानीयस्तरमा उत्पादन हुने वस्तु डोका, नाङ्लो तथा अन्य वस्तुलाई स्थानीय सरकारले उत्पादन गर्न बिक्री गर्नका लागि सहजीकरण गर्न आवश्यक रहेको उहाँको माग छ  ।

रसुवा:     सेवाग्राहीको चापलाई मध्यनजर राख्दै जिल्ला प्रशासन कार्यालयले आज बिहानैदेखि सरकारी सेवा सञ्चालन गरेको छ ।             एक सूचनामार्फत सर्वसाधारणसामु जानकारी गराउँदै नेपाली नागरिकता, राहदानी एवं राष्ट्रिय परिचयपत्रलगायत प्रमुख जिल्ला अधिकारीले सम्पादन गर्ने सबैखाले सरकारी सेवा आउँदो साउन ९ गतेसम्म दैनिकरूपले बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गरिएको हो ।          एक सय ११ मेगावाट क्षमताको रसुवागढी हाइड्रोपावरले रसुवावासीका लागि साउन १० गतेसम्म शेयर वितरण गर्ने आह्वान पत्र जारी गरिसकेको अवस्थामा शेयर फाराम भर्ने वातावरणको सहजीकरण कार्यअन्तर्गत नेपाली नागरिकता प्रदानलाई प्राथमिकतामा राखी कार्यालयभन्दा अतिरिक्त समयमा समेत सेवा सञ्चालन गरिएको हो              नयाँ एवं प्रतिलिपि नेपाली नागरिकता लिने सेवाग्राहीको सङ्ख्या दैनिक ६० जनाभन्दा बढीको भिड लाग्न थालेपछि प्रमुख जिल्ला अधिकारी नवराज जैसीले कार्यालयको समयभन्दा अतिरिक्त समयमा समेत सेवा सञ्चालन गराएको जनाइएको छ ।           हिमाली जिल्ला वर्षाको याम, खेतीपातीको समयलाई ध्यानमा राखी प्रजिअले आजको आजै दिएको सेवा जनहितकारी भएको  सेवाग्राहीले प्रतिक्रिया दिएका छन् । प्रक्रिया पूरा भई पेश भएका आवेदनको काम आजको आजै सम्पादन हुँदै आएको र सेवा लिनका लागि हाल दैनिक ६०÷७० जना आउने गरेको सहायक प्रजिअ दयाराम पौडेलले बताउनुभयो ।                नेपाली नागरिकताका साथै राहदानी लिन चाहनेलाई राहदानी अनलाइन फाराम भराउने र राष्ट्रिय परिचयपत्रसमेत प्रदान गर्ने काम भइरहेको पौडेलले बताउनुभयो । यस्तै रसुवागढी हाइड्रोपावरले रसुवावासीका लागि खुला गरेको शेयर बिहीबारसम्ममा ३१ लाख कित्ता खपत भइसकेको जनाएको छ ।              बिहीबारसम्म १५ हजार रसुवावासी शेयरमा समाहित भइसकेको हाइड्रो कम्पनीका प्रबन्ध निर्देशक छवि गैरेले जानकारी दिनुभयो ।

महोत्तरी:    महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–४ बरथटोलमा पोखरीमा डुबेका अवस्थामा गए राति एक बालकको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीका अनुसार गए राति स्थानीय भाग्यनारायण यादवका छोरा दुई वर्षीय सार्थक यादवको शव गाउँकै शिवजी पोखरी फेला परेको हो ।   बालक सार्थक घरबाट खेल्न भनी निस्केकामा अबेर साँझसम्म घर नफर्केपछि परिवारजनले खोज्दै जाँदा उनी पोखरीमा डुबेको अवस्थामा फेला परेको थियो । 

काठमाण्डौँ:   निर्वाचन आयोगमा नयाँ दल नेपाल गाँजा पार्टी दर्ता गर्ने गरी तयारी थालिएको छ ।  हाल यो दलका लागि पार्टीको विधान लेख्ने काम भइरहेको नेपाल गाँजा वैधानिक महाअभियानका राष्ट्रिय संयोजक जोसेफ मदन कोइरालाले जानकारी दिए ।    नेपाल सरकारले गाँजालाई वैधानिकता नदिएका कारण नयाँ दल खोल्न बाध्य भएको संयोजक कोइरालाले जानकारी दिए । पाटीको लागि २१ जना कार्यसमिति तयार रहेको र राजनीतिक बुझेको, नेतृत्व गर्ने क्षमता भएको अध्यक्षको खोजी भइरहेको उनले बताए ।    कोइरालाले  भने– ‘अर्को हप्ता पार्टी दर्ता गर्ने योजना बनाएर काम गरिरहेका छौँ । पार्टीको विधान लेख्ने काम भइरहेको छ । २१ जनाको कार्यसमिति पनि तयार पारेका छौँ तर संयोजक वा अध्यक्ष तोक्ने काम भएको छैन । हामी राजनीति पृष्ठभूमिको व्यक्ति नभएको हुनाले राजनीति बुझेको र सबैलाई मिलाएर नेतृत्व गर्न सक्ने पार्टीको प्रथम व्यक्तिको खोजी गरिरहेका छौँ । गाँजाबारे बुझेको र सक्षम ब्यक्ति भेटिने वित्तिकै अध्यक्ष बनाएर पार्टी दर्ता गर्ने योजनामा छौँ ।’   नेपाल गाँजा वैधानिक महाअभियान अन्तर्गत सामाजिक सञ्जालमा ५ लाख सदस्य रहेको र ५० हजार जुनसुकै बेला सम्पर्कमा रहने सदस्यहरु रहेको उनले बताए ।  नेपालमा गाँजा खेती र विक्रीलाई वैधानिक बनाउने,  घर घरमा उद्यमी बनाउने र घर घरबाटै रोजगारी सिर्जना गरेर नेपाललाई आत्मनिर्भर मुलुक बनाउने पार्टीको उद्धेश्य रहेको कोइरालाले जानकारी दिए ।

पाल्पा:   अभिभावकविहीन बनेका बालबालिकालाई पाल्पाको रिब्दीकोट गाउँपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने भएको छ ।    पालिकाभित्र शिक्षाबाट बञ्चितको सङ्ख्या घटाउन नीतिगतरूपमा व्यवस्था गर्न थालेको र अभिभावक गुमाएकै कारण आर्थिक बोझले विद्यालय शिक्षाबाट बञ्चित अवस्थाको अन्त्य गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले बताउनुभयो । अभिभावक गुमाएका तथा हराएका परिवारका सन्तानले विद्यालय शिक्षा पूरा नगरेको पाइएको छ । अभिभावक गुमाएपछि आफन्त या अरुको आश्रय लिएर बस्नुपर्ने अवस्था छ ।    छात्र सानै उमेरमा मजदुरी गर्न विभिन्न क्षेत्रमा पुग्ने गरेको पाइएको छ । कक्षा १२ सम्म आर्थिक अभाव भएका तथा अभिभावकविहीन परिवारका सदस्यलाई केन्द्रित गरी सहयोग गर्न खोजिएको गाउँपालिकाले जनाएको छ । पालिकामा अभिभावकविहीन बालबालिकाको तथ्याङ्क सङ्कलनसमेत गर्न थालिएको छ । आगामी आर्थिक वर्षदेखि कार्यक्रम सञ्चालन गर्न बजेटको व्यवस्था गरिएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

ताप्लेजुङ:    ताप्लेजुङमा चट्याङ लागेर बिहीबार एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । मृत्यु हुनेमा मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका १५ वर्षीय लालकुमार शेर्पा छन् ।    मकै गोड्ने क्रममा चट्याङ लागेर शेर्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चट्याङ लागेर सोही ठाउँका १९ वर्षीय निमतेम्वा शेर्पा र १२ वर्षीय निमल्हमु शेर्पा घाइते भएका छन् । घाइते दुवै जना स्थानीय स्वास्थ्यचौकीमा  उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ । 

काठमाण्डौँ:    नेपाल प्रहरीले संरक्षित वन्यजन्तु हात्तीको दाह्रासहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले काठमाडौँ महानगरपालिका–३ चक्रपथस्थित हात्तीको दाह्रा ओसारपसार र बेचबिखनमा संलग्न इलाम घर भई झापाको अर्जुनधारा नगरपालिका–३ खुदुनाबारी बस्ने २५ वर्षीय रमेश राईलाई आज पक्राउ गरेको हो ।      ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले विसं २०७८ फागुन २७ गते काठमाडौँमा हात्तीको दाह्रा ओसारपसार तथा बेचबिखन गरी फरार रहेका राईलाई झापाको खुदुनाबारीबाट आज पक्राउ गरिएको जानकारी दिनुभयो । प्रहरीले राईसँग हात्तीको दाह्रा ओसारपसार तथा बेचबिखन संलग्न झापाका ५८ वर्षीय भक्तिकुमार लिम्बू र झापाकै ४२ वर्षीय अशोक कार्की र पाँचथरका ४३ वर्षीय रमेश सुवेदीलाई यसअघि पक्राउ गरिसकेको छ ।      पक्राउ परेकाबाट प्रहरीले १५.६८ किलोग्राम हात्तीको दाह्रा बरामद गरिसकेको छ । राईलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको प्रवक्ता महतोले बताउनुभयो ।