तनहुँ:  तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको कुटपिटबाट मृत्यु भएको हो । ...

जुम्ला:    जुम्लामा यस वर्षको दसैँको समयमा मात्रै रु १६ करोडभन्दा बढीको भेडा, खसीलगायतको कारोबार भएको छ ।  चन्दननाथ नगरपालिका पशुपक्षी विकास शाखा प्रमुख वीरबहादुर रावलले सदरमुकाम खलङ्गा बजार क्षेत्रबाट मात्रै रु १६ करोड ३२ लाख ३१ हजारको भेडा, खसी, बोका तथा राँगाभैँसीको बिक्रीवितरण भएको जानकारी दिनुभयो ।  शाखा प्रमुख रावलका अनुसार जिल्लाकै भेडापालक किसान र बाहिरबाट ल्याइएका समेत गरेर यहाँ सात हजार ९२८ भेडा तथा खसी बिक्री भएका छन् ।  यस्तै रु १५ करोड २३ लाख २३ हजारका भेडा, रु ७७ लाख ९२ हजार रुपैयाँका खसी र ३१ लाख १६ हजारका राँगा तथा भैसीहरू खरिद बिक्री भएका छन् । जसमा चार सय ८७ खसी, तीन वटा राँगा र ८२ वटा भैँसी रहेका छन् ।  यहाँ स्थानीय भेडाको अधिकतम मूल्य रु २८ हजार, न्यूनतम रु १० हजार भएकामा औसत मूल्य १९ हजार तोकिएको थियो । जुम्ली खसीको अधिकतम मूल्य रु २४ हजार र न्यूनतम रु आठ हजार रहेकामा औसत रु १६ हजारमा बिक्री भएको जनाइएको छ ।  अधिकतम मूल्य रु ५० हजार र न्यूनतम रु २६ हजारमा किनबेच भइरहेका राँगाभँैसी औसत रु ३८ हजारमा बिक्री भएका थिए ।  विसं २०६८ देखि तिब्बती भेडाच्याङ्ग्रा ल्याउन छाडेपछि यहाँ जुम्ली भेडा, खसीबोका मात्रै बिक्रीवितरण हुने गरेका छन् । पशु अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार जुम्लामा ८८ हजार भेडा छन् ।  पछिल्लो समय कनकासुन्दरी गाउँपालिकाको गोठीज्यूला, सिंजा गाउँपालिकाको नराकोट, हिमा गाउँपालिकाको जुगाड, बागबजार, तिला गाउँपालिकाको रारालिही, तातोपानी गाउँपालिकाको लिताकोट, पातारासी गाउँपालिकाको लासी बजार र उर्थुचौतारा, गुठीचौरी गाउँपालिकाको मणिसाँघुलगायत साना बजारमा समेत भेडा, खसीलगायतको कारोबार हुने गरेको पशु सेवा कार्यालय जुम्लाले जनाएको छ । 

काठमाडौं:    पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।       देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस र बाग्मती प्रदेशमा आंशिक प्रभाव पर्नुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ ।  अहिले कोशी प्रदेश, मधेश प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।      आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागको अनुमान छ । तीनवटै प्रदेशको पहाडी भू(भागका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।  रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।      असोज २९ गते मङ्गलबार पनि कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रहनुका साथै कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि सोही किसिमको मौसमी प्रणाली कायम रहने महाशाखाले पूर्वानुमान गरेको छ ।

रामेछाप:   दसैँमा यात्रुको चाप बढ्न गइ हुनसक्ने सम्भावित दुर्घटना न्यूनीकरणका लागि जिल्लाको खाँडादेवी गाउँपालिका–३ भिरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल सञ्चालन गरिएको छ ।       सम्भावित दुर्घटना न्यूनीकरणका लागि प्रहरी र खाँडादेवी गाँउपालिका–६ माकादुमले यो अभ्यास सुरुआत गरेका हुन् ।  यही असोज ११ र १२ गतेको अविरलपछि सिन्धुलीको खुर्कोट र खैरेनीघाटको पुल बगाउँदा सिन्धुपाल्चोकको मुडे र दोलखाको चरीकोट हुँदै लामोदूरीका सवारीसाधन सञ्चालन भइरहेका छन् ।  त्यसैकारण सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गरी सेवा सञ्चालन गरिएको वडा नं ६ का अध्यक्ष नारायण कार्कीले जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, “लामोदूरी पार गरेर आएका सवारीसाधनमा प्राविधिक समस्याका कारण दुर्घटना हुने जोखिम छ । घटस्थापनापछि मात्रै यहाँ दुई÷तीन वटा दुर्घटना भइसकेका छन् तर पनि चालकले गाडी रोक्न नमान्ने अवस्था थियो । निःशुल्क पानी र खाजाको व्यवस्थापछि भने चालकले यातायातका साधन रोक्ने गरेका छन् । अभियान प्रभावकारी भएको छ ।”       उहाँका अनुसार यो अभियान दसैँ मनाउन घर जान हिँडेका यात्रुलाई लक्षितगरी यही असोज २४ र २५ गते सञ्चालन गरिएको थियो । फेरि दसैँ मनाएर फर्किनेका लागि अभियान सञ्चालन गर्ने योजना छ ।  उक्त स्थानमा खाजाका लागि बिस्कुट, चाउचाउलगायत खानेकुरा र पानी तथा चिसो पेयपदार्थ निःशुल्क रूपमा वितरणको व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रदीपकुमार सिंहले बताउनुभयो ।            काठमाडौँबाट नेपालथोक हुँदै खुर्कोट र खैरेनी घाटको पुल तरेर जिल्लाका विभिन्न स्थानमा आवतजावत गर्ने सवारीसाधन बाढीले दुवै स्थानका पुल बगाएपछि मुडे, चरीकोट, मन्थली हुँदै सञ्चालन हुने गरेका छन् ।       भिरपानीको सित्खादेखि पकरवासको गोगनपानी डाँडासम्म उकालो र गोगनपानीदेखि भिरपानीको चरिखोलासम्म ओरालो बाटो भएकाले यहाँ दुर्घटनाको जोखिम रहेको छ । उक्त अभियान सञ्चालन गरिएपछि यात्री मात्र नभई चालक तथा सहचालकसमेत खुसी भएका स्थानीय राजेशकुमार श्रेष्ठले बताउनुभयो । 

काठमाडौं:    आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी छ ।   आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउनेक्रम आज पनि निरन्तर चलिरहन्छ । मान्यजनबाट टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्दछन् ।   आफन्त टाढा हुनेका लागि बडादसैँ नवदुर्गाको प्रसाद र आशीर्वाद लिनुका साथै भेटघाट गर्ने अवसर पनि हो । महाअष्टमी र महानवमीका दिन सुनसान प्रायः देखिएको राजधानीमा विजयादशमीदेखि नै चहलपहल बढ्न थालेको छ ।  निधारमा रातो टीका र जमरा लगाएका मानिस मान्यजनकहाँ टीका लगाउन गइरहेका देखिन्छन् । बडादसैँको सार्वजनिक बिदा आजसम्म भएकाले पनि टीका र आशीर्वाद थाप्न मानिसहरु हतारहतार हिँडिरहेका छन् ।   मङ्गलबारदेखि सरकारी कार्यालय खुल्ने भए पनि नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम भने बुधबार अखिल बलिपूर्ति नभएसम्म जारी रहन्छ । कोजाग्रत पूर्णिमा भने कात्तिक १ गते बिहीबार परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

तनहुँ:    तनहुँको पर्यटकीय नगरी बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटक दसैँको टीका लगाउन पाउँदा दङ्ग परेका छन् ।  केही दिनदेखि बन्दीपुरमा रहेका विभिन्न देशका पर्यटक शनिबार दसैँको टीका लगाउन पाउँदा दङ्गसँगै खुसी भएका थिए ।       बन्दीपुरस्थित होटल हिमालय दरबारमा बसेका उनीहरुलाई होटल सञ्चालकले टीका र जमरा लगाइदिएका थिए ।  होटलका सञ्चालक वैश गुरुङले दसैैँको टीका र जमरा लगाएपछि पर्यटकले खुसी व्यक्त गर्दै यस चाडको बारेमा सोधपुछ गरेको बताउनुभयो ।      उहाँले भन्नुभयो, “नेपालीको रीतिरिवाज र कलासंस्कृतिबारे विदेशी पर्यटक उत्सुक भएको पायौ । दसैँको बारेमा सोधपुछ गरेपछि हामीले यस पर्वको बारेमा जानकारी गरायौ ।”      केही दिनदेखि बन्दीपुर भ्रमणमा रहेका विदेशी पर्यटकलाई दसैँ टीका लगाएर बिदाइ गरेको उहाँको भनाइ छ । दसैँ सुरु भएसँगै बन्दीपुरमा विदेशी पर्यटकको चहलपहल सुरु भएको गुरुङले बताउनुभयो ।  उहाँले भन्नुभयो, “अब बन्दीपुरमा पर्यटकको चहलपहल हुने समय हो । विदेशी पर्यटकको आगमन बढ्दो अवस्थामा छ ।”

काठमाडौं:    लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ ।  साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेकाले आज यी स्थानमा बदली र वर्षाको सम्भावना रहेकोे जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाले जारी गरेको मौसमी बुलेटिनका अनुसार हाल कोशी, बाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारण बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा हल्कादेखि मध्यम बदली रहनेछ ।       आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । तीनवटै प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।  रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।        असोज २८ गते सोमबार पनि कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली साथै बाग्मती प्रदेशक  र गण्डकी प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ । 

काठमाडौं:    बडादसैँको दुई दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल ६३ हजार दुई सय ४२ जनाले हवाई यात्रा गरेका छन् ।  असोज  २४ गते फूलपाती र २६ गते(महाअष्टमी/महानवमी)मा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैगरी ६३ हजारभन्दा बढीले हवाई यात्रा गरेका हुन् ।       त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार असोज २४ गते आन्तरिकतर्फ दुईतर्फी गरेर तीनसय एक उडानमार्फत १७ हजार तीनसय २९ र असोज २५ गते दुई सय ७८ उडानबाट १४ हजार चार सय ३६ गरी कुल ३१ हजार सात सय ६५ ले आन्तरिक उडानमा हवाई यात्र गरेका छन् ।       यस्तै अन्तर्राष्ट्रियतर्फ असोज २४ गते दुईतर्फी एकसय सात उडानमार्फत १६ हजार पाँच सय नौ र असोज २५ गते पनि एकसय सात उडान हुँदा १४ हजार नौ सय ६८ गरी कुल ३१ हजार चार सय ७७ ले हवाईयात्रा गरेको विमानस्थल कार्यालयले जनाएको छ । यो उडान र यात्रु सङ्ख्या आगमन र प्रस्थान दुवैको हो ।      यसअघि यही असोज १४ गते एकैदिन आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी पाँच सय ५९ उडान भएका थिए ।  ती उडानमार्फत सोही दिन ३५ हजार सात सय चार जनाले हवाईयात्रा गरेका छन् ।  यही असोज ११ र १२ गतेको अबिरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढी पहिरोले सडक सञ्जाल अवरुद्धहुँदा हवाई उडानमा चाप भएको थियो ।          अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान चाप बढेपछि विमानस्थलको टर्मिनल भवना यात्रुको खचाखच भीडभाड थियो । अहिले हवाई उडान सामान्य बन्दै गएको विमानस्थल कार्यालयले जनाएको छ ।  यही असोज १३, १४, १५ र १६ गते हवाई उडान चाप बढेको थियो । 

तनहुँ:    बडादसैँको दशौ दिन तनहुँ कारागारका ८३ जना कैदीबन्दीले आफन्तको हातबाट टीका लगाएका छन् । कारागारमा सॉझ ५ः३० बजेसम्म टीका लगाउने व्यवस्था मिलाइएको थियो ।  सोक्रममा ८३ जना कैदीबन्दीले टीका लगाएको तनहुँ कारागारका प्रमुख नारायण अधिकारीले जानकारी दिनुभयो । उहॉले भन्नुभयो, “दुई सय ३७ जना आफन्तजनले कैदीबन्दीसँग भेट गर्दैं दसैँ मनाएका छन् । दसैँ मनाउन पाउँदा कैदीबन्दी खुसी भएका छन् ।’’  विभिन्न अपराधमा सजाय भोग्न कारागारमा रहेका कैदीबन्दीले आफन्तसँग टीका लगाउन पाउँदा खुसी व्यक्त गरेको अधिकारीले उल्लेख गर्नुभयो । कारागारमा रहेका कैदीबन्दीले दसैँ मनाउनका लागि रकम सङ्कलन गरेका थिए ।  सोही रकमबाट उनीहरुले खसीको व्यवस्थापन गरेका थिए । सरकारले दसैँ मनाउका लागि प्रति कैदीबन्दी रु तीन सय र लत्ताकपडा बापत रु दुई हजार पाँच सय उपलब्ध गराएको थियो ।   केही कैदीबन्दीले मूढा विक्री गरेर समेत दसैँ खर्च जुटाएका थिए । तनहुँ कारागारमा तीन सय ३० कैदीबन्दी छन् । उनीहरुलाई कारागारभित्र रहेका दुई वटा ब्लकमा व्यवस्थापन गरिएको छ ।

काठमाडौं:    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३४ रु पैयाँ ८० पैसा निर्धारण गरिएको छ ।      युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ६६ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ३२ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ १८ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ९६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५६ रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ५७ रुपैयाँ १७ पैसा कायम गरिएको छ ।        अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ३० पैसा र बिक्रीदर ९० रुपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ३० पैसा र बिक्रीदर ७९ रुपैयाँ ८५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ७२ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ७८ पैसा निर्धारण गरिएको छ ।     जापानी येन १० को खरिददर नौ रुपैयाँ र बिक्रीदर नौ रुपैयाँ ४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १९ रुपैयाँ ०७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९७ पैसा कायम भएको छ ।        केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ तीन पैसा र बिक्रीदर चार रुपैयाँ आठ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ३० पैसा र बिक्रीदर ३२ रुपैयाँ ४४ पैसा कायम छ ।  साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ९३ पैसा र बिक्रीदर नौ रुपैयाँ ९८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १२ रुपैयाँ ७९ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ६६ पैसा र बिक्रीदर १९ रुपैयाँ ७४ पैसा तोकिएको छ ।        राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ७० पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ६६ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ९६ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ५५ पैसा तोकेको छ ।      भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।