काठमाडौं: आश्विन शुक्लपक्ष पापाङ्कुशा एकादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहन्छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आज पनि निरन्तर चलिरहन्छ । मान्यजन टाढा टाढा हुने आफन्त आजदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घरमा जाने गर्छन् । आज एकादशीको व्रत गर्नाले सबै पाप हरण हुने विषय विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । ‘पापाङ्कुशेति विख्याता सर्वपापहरा परा’ यस एकादशीमा मानिसले ‘पद्मनाभ’ नाम गरेको लक्ष्मीनारायण भगवान्को पूजा गर्नुपर्ने ती ग्रन्थमा उल्लेख गरिएको छ । जबसम्म मनुष्यले पद्मनाभ अर्थात पापाङ्कुशा एकादशीको गर्दैनन्, तबसम्म उनीहरूको शरीरमा पापले निवास गर्दछ भनी ती ग्रन्थमा लेखिएको पण्डित बालमुकुन्द देवकोटाले जानकारी गराउनुभयो । यो एकादशीले स्वर्ग, मोक्ष, आरोग्यता, सुन्दर स्त्री तथा अन्न र धनलाई प्रदान गर्दछ । एकादशीको व्रतको समानता गङ्गा, गया, काशी, कुरुक्षेत्र र पुष्कर नामक तीर्थले पनि गर्न सक्दैनन् । हरिवासर अर्थात एकादशीको व्रत लिनाले र जागरण गर्नाले सहजै मनुष्यले विष्णु पद प्राप्त गर्दछ । यो व्रत नगर्दा पाप बाँकी रहन्छ र अन्त्यमा नरकमा जानुपर्दछ । कलिकालमा मनुष्यहरुले दुर्लभ यो चोलालाई सुलभ बनाउन यो व्रत बस्नु उचित मानिन्छ । यो एकादशीको विधिपूर्वक व्रत गर्नाले आमापक्षका दश पिँढी, बाबुपक्षका दश पिँढी अनि आफ्नी पत्नीका र पतिका पक्षका दश पिँढी त्यसपछि विगतका स्त्री र पुरुषलाई उद्धार गरिदिन्छ अर्थात् वैकुण्ठमा बास गराइदिने विशवास पनि गरिन्छ । बाल्यावस्था, युवावस्था र वृद्धावस्थामा यस व्रतलाई लिनाले पापी मनुष्य पनि दुर्गति प्राप्त नगरी सद्गति प्राप्त गर्दछ । आश्विन मासको शुक्लपक्षको यस पापांकुशा एकादशीको व्रत जुन मनुष्यले गर्दछ, त्यो अन्त्यमा हरिलोक पुग्दछ तथा समस्त पापबाट मुक्त हुन्छ । सुन, तिल, भूमि, गौ, अन्न, जल, छाता तथा जुत्ता दान गर्नाले मनुष्यले यमराज देख्नै पर्दैन भन्ने विश्वास पनि रही आएको छ ।
कास्की: विजयादशमीका दिन आज पोखराका विभिन्न सातवटा रुटमा निःशुल्क बस सञ्चालन भएका छन् । विगत वर्षहरुमा जस्तै टीकाको दिनमा यातायातको साधन अभाव भएर नागरिकले सास्ती पाउने बाध्यता अन्त्य गर्न जिल्ला प्रशासन कार्यालय र पोखरा महानगरपालिकाले यातायात समितिसँगको सहकार्यमा निःशुल्क बस सञ्चालन गरेका हुन् । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले पोखराका सातवटा रुटमा चारवटा कम्पनीका १८ बसले निःशुल्क सेवा दिने जानकारी दिनुभयो । ती बसहरु आज अपराह्न ४ः०० बजेसम्म सञ्चालन हुनेछन् । पोखराका कोत्रे–पृथ्वीचोक–चिप्लेढुङ्गाहुँदै बागलुङ बसपार्कसम्म, फेदी–हेमजा–हरिचोकहुँदै पृथ्वीचोकसम्म, लामाचौर–बगर–महेन्द्रपुल–चिप्लेढुङ्गा–सृजनाचोक–विरौटाहुँदै छोरेपाटनसम्म, महेन्द्रगुफा–बगर–महेन्द्रपुल–चिप्लेढुङ्गा–सृजनाचोक–विरौटाहुँदै छोरेपाटनसम्म, महेन्द्रगुफा–बगर महेन्द्रपुल–पृथ्वीचोक–विरौटा–सहिदचोकहुँदै लेकसाइडसम्म बस सञ्चालन हुनेछन् । यसैगरी लेखनाथ जनताको चौतारा–रुपाताल–सातमुहाने–खुदी–तालचोक–पृथ्वीचोकहुँदै बागलुङ बसपार्कसम्म, काहुँखोला–महेन्द्रपुल–पृथ्वीचोक–जिरो किमी हुँदै लेकसाइडको हल्लनचोकसम्म र बेगनासताल–तालचोक–पृथ्वीचोक–चिप्लेढुङ्गाहुँदै बागलुङ बसपार्कसम्म निःशुल्क बस सेवा सञ्चालन हुने छन् । निःशुल्क सेवा सञ्चालन गरिएका बसका चालक र सहचालकलाई पोखरा महानगरपालिकाले अतिरिक्त सुविधा उपलब्ध गराउने महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “दसैँको टिका तथा आशीर्वाद थाप्न मान्यजनकहाँ जाने चलन छ । तसर्थ दसैँको दिन सार्वजनिक यातायात सहजरूपमा उपलब्ध नहुन सक्ने अवस्थालाई मध्यनजर गरी महानगर क्षेत्रमा यातायात सेवा दिइरहेका विभिन्न यातायात व्यवसायीसँगको सहकार्यमा स्थानीय प्रशासन र पोखरा महानगरपालिकाले संयुक्त रूपमा निःशुल्क बस सेवाको व्यवस्था मिलाएको हो ।” दसैँका बेला कुनै प्रकारको समस्या परे महानगरपालिकाको टोल फ्री नं ११८१ (हटलाइन) सेवामा सम्पर्क गर्न प्रमुख आचार्यले आग्रह गर्नुभयो । यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकी प्रदेशका संयोजक केदार पौडेलले यात्रुको सहजतालाई ध्यान दिएर निःशुल्क बस सेवा सञ्चालन गर्न सहकार्य गरेको बताउनुभयो । “जनताको सेवा र राज्यलाई आवश्यक परेको बेला सहयोग गर्न हामी तयार छौँ । त्यसैको कडीको रुपमा निःशुल्क बस सञ्चालन गरेका हौँ”, उहाँले भन्नुभयो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको टीका ग्रहण गर्नुभएको छ । उहाँले आज बुबा मोहनप्रसाद ओलीको हातबाट टीका ग्रहण गर्नुभएको हो । साथै प्रधानमन्त्री ओलीले श्रीमती राधिका शाक्य तथा अन्य परिवाजनलाई पनि टीका लगाइदिनुभएको उहाँको सचिवाललये जनाएको छ । यसपछि प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट टीका ग्रहण गर्ने कार्यक्रम रहेको छ । यसपटक बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपद्का कारण प्रधानमन्त्री ओलीले सर्वसाधणलाई टीका लगाइदिने कार्यक्रम भने नरहेको सचिवालयले जनाएको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका अनुसार दसैँको टीकाको शुभ साइत आज बिहान ११ बजेर ३६ मिनेटमा आरम्भ भएको छ ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले ९४ वर्षिय दाजु डुण्डीराज पौडेलबाट शुभ साइतमा यस वर्षको दसैँको टीका, प्रसाद, जमरा र आशिर्वाद ग्रहण गर्नुभएको छ । सोही अवसरमा राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट पनि दसैँको टीका, जमरा र प्रसाद ग्रहण गर्नुभयो । राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान राष्ट्रपति पौडेलले यस वर्षको दसँैंको शुभ साइत ११ बजेर ३६ मिनेटमा टीका र जमरा ग्रहण गर्नुभएको हो । सोही अवसरमा उहाँले आफूले टीका ग्रहण गरेपछि प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यहरुलाई पनि शुभ साइतमा टीका र जमरा लगाइदिनुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । विजयादशमीका उपलक्ष्यमा आजै दिउँसो राष्ट्रपति पौडेलले ३ः०० बजे देखि ३ः३० बजेसम्म विशिष्ट व्यक्तित्वहरु तथा र ३ः३० बजेदेखि ५ बजेसम्म सर्वसाधारणलाई टीका र जमरा लगाइदिनुहुने कार्यक्रम रहेको छ । राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ बजेदेखि ३ः३० बजेसम्म सम्माननीयहरू, उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्री, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारीलगायत विशिष्ट महानुभावहरूलाई राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलले टीका र जमरा लगाइदिनुहुने कार्यक्र छ । साथै, सोही समयमा निजामती, जङ्गी, प्रहरीतर्फका अधिकृतस्तरका राष्ट्रसेवकलाई पनि दसैँको टीका र जमरा लगाइदिनुहुने कार्यक्रम छ । यसैगरी दिउँसो ३ः३० देखि ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई पनि राष्ट्रपति पौडेलले टीका र जमरा लगाइदिनुहुने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ । दसैँलाई असत्यमाथि सत्यको विजयको प्रतीक र देवी दुर्गाले महिषासुर दैत्यलाई पराजित गरेको कथासँग जोडिएको छ । टीका लगाउँदा देवीको आशीर्वाद स्वरूप विजयशक्ति प्राप्त हुन्छ भन्ने विश्वास छ । टीका लगाउनु धार्मिक रूपमा शुद्धता र पवित्रताको प्रतीक तथा यो परम्पराले नेपाली संस्कृति तथा परम्पराहरूलाई संरक्षण गर्दै अघि बढाउने र दसैँको टीकाले परिवारका सबै सदस्यहरूलाई एक ठाउँमा भेला गराउने भएकाले यसको महत्व छ । दसैँको टीकाले धार्मिक, सांस्कृतिक, र पारिवारिक रूपमा गहिरो महत्व राख्दछ, जसले नेपाली समाजमा एकता, प्रेम र शान्तिको भावना प्रवर्द्धन गर्ने समेत विश्वास लिइएको छ ।
काठमाडौं: राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालको नेतृत्वमा अन्तर–व्यवस्थापिका सङ्घ ९आईपीयू०को १४९ औँ महासभामा भाग लिन नौ सदस्यीय नेपाली संसदीय प्रतिनिधिमण्डल आज स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेको छ । महासभामा राष्ट्रियसभा अध्यक्ष दाहालले ‘शान्तिपूर्ण र दिगो भविष्यको लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको सदुपयोग’ विषयमा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यसूची रहेको सङ्घीय संसद सचिवालयले जनाएको छ । अध्यक्ष दाहालले महासभामा सहभागी विभिन्न राष्ट्रका प्रतिनिधिमण्डल एवं अन्तर–व्यवस्थापिका सङ्घ तथा सचिवालयका पदाधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम समेत छ । यही असोज २७ देखि कातिक १ गतेसम्म महासभामा भाग लिन गएको अध्यक्ष दाहाल नेतृत्वको प्रतिनिधिमण्डलमा सासदहरु सुनिता बराल र निशा डाँगी हुनुहुन्छ । प्रतिनिधिमण्डलमा राष्ट्रिय सभासदस्यहरू तारामान स्वाँर र कृष्णप्रसाद पौडेल तथा सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयसहितका अधिकृत हुनुहुन्छ । अध्यक्ष दाहाल नेतृत्वको प्रतिनिधिमण्डल आगामी कातिक ३ गते स्वदेश फर्किने कार्यक्रम छ ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१ को अवसरमा टीकाको दिन राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिनुहुने भएको छ । उहाँले यही असोज २६ गते शनिबार दिउँसो ३ः३० देखि साँझ ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिनुहुने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । विजया दशमीका उपलक्ष्यमा शनिबारै दिउँसो राष्ट्रपति पौडेलले ३ देखि ३ः३० बजेसम्म अतिविशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीकाजमरा लगाइदिनुहुने कार्यक्रम छ । राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ बजेदेखि ३ः३० बजेसम्म सम्माननीयहरू, उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्री, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारीलगायत विशिष्ट महानुभावहरूलाई राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलले टीकाजमरा लगाइदिनुहुनेछ । साथै, सोही समयमा निजामती, जङ्गी, प्रहरीतर्फका अधिकृतस्तरका राष्ट्रसेवकलाई पनि टीकाजमरा लगाइदिनुहुने कार्यक्रम छ । राष्ट्रपतिले दाइका हातबाट टीका लाउने राष्ट्रपति पौडेलले बडा दसैँ २०८१ का अवसरमा विजया दशमीको टीका ९४ वर्षीय दाजु डुण्डीराज पौडेलबाट लगाउनुहुने भएको छ । राष्ट्रपति पौडेलले दाजु डुण्डराजबाट यस वर्षको दसैँको टीका, प्रसाद, जमरा र आर्शिवाद ग्रहण गर्नुहुने भएको हो । सोही अवसरमा राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट पनि दसैँको टीका, जमरा र प्रसाद ग्रहण गर्नुहुनेछ । राष्ट्रपति पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा शनिबार बिहान यस वर्षको दसैँको शुभ साइत ११ः३६ बजे टीका र जमरा ग्रहण गर्नुहुनेछ । सोही अवसरमा राष्ट्रपति पौडेलले आफूले टीका ग्रहण गरेपछि प्रथम महिला सबिता पौडेलसहित परिवारका सदस्यलाई पनि शुभसाइतमा टीकाजमरा लगाइदिनुहुने कार्यक्रम रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
तनहुँ: तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी २९ वर्षीय विराट पन्थ पाइलट पढ्न दक्षिण अफ्रिका पुग्नुभएको थियो । एक वर्षअघि त्यहाँ पुग्नुभएका पन्थले १० महिने कोर्ष पूरा गरिसक्नुभएको थियो । आठ महिनापछि उहाँ पाइलट बन्दै हुनुहुन्थ्यो । छोरोको पाइलट बन्ने सपना पूरा हुने क्रममै रहेकाले यसपटकको दसैँ पनि विगतकोभन्दा थप उल्लासमय हुने अपेक्षामा थियो पन्थ परिवार तर त्यो सपनामै सीमित हुन पुगेको छ । विराट विजयादशमीको पहिलो दिन अर्थात् घटनास्थापनमा भएको दुर्घटनामा परी सधैँका लागि अस्ताउनुभयो । यता नेपालमा रहेको पन्थ परिवार दसैँका लागि जमराको चाँजोपाँजो गर्दै थिए । त्यहीबेला खबर आयो, छोरा विराट असोज १७ गते घटनास्थापनाका दिन आफैँले चलाएको कार दुर्घटनामा परी सधैँका लागि अस्ताए । साथीको जन्मदिन मनाउन जाँदै गर्दा दुर्घटनामा परी उहाँको मृत्यु भएको जनाइएको छ । कानुनी प्रक्रिया पूरागरी पन्थको शव बडादसैँको नवौँ दिन शुक्रबार राति दमौली ल्याइएको छ । राति नै दमौलीस्थित मादीसेती घाटमा दाहसंस्कार गरिएको छ । दसैँका बेला खुसीयाली हुनुपर्ने परिवार यतिबेला शोकमा छ । बुबा अधिवक्ता गोविन्द पन्थ र आमा टीकादेवी पन्थलगायत परिवार शोकको पीडा व्यक्त गर्ने अवस्थामा पनि छैनन् । आफन्त ईश्वरराज पन्थले भन्नुभयो, “ठूलो सपना बोकेर घर छोडेको छोराको शव आँगनमा आउँदा कस्तो भयो होला! अकल्पनीय घटनाले सबैलाई विक्षिप्त बनाएको छ ।” छिमेकी नन्दन श्रेष्ठले विराटको अकल्पनीय अवसानले आफूहरू स्तब्ध भएको बताउनुभयो । “आशाका मुनामा तुषारापात भएको छ । परिवारको सपना सपनामै रहेको छ । आत्मा अमर छ, शरीरमा आत्माको यात्रा अनन्त छ । बाबु विराटको आत्माले शान्ति पाओस्”, उहाँले भन्नुभयो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपद्ले दिएको पीडाकाबीच आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउन अनुरोध गर्नुभएको छ । विजया दशमी २०८१ को अवसरमा उहाँले भिडियो सन्देशमार्फत देशभित्र तथा प्रवासमा रहनुभएका सबै नेपालीलाई शुभकामना व्यक्त गर्दै विपद्अघिको अवस्थामा समाजलाई फर्काउन सरकारसँग ‘होस्टेमा हैसे’ मिलाउन सबैलाई आह्वान समेत गर्नुभयो । “जो जहाँ छौ, पीडामा परेकाहरुको पिडा हराउनका लागि सहयोगी हातहरु बढाउन आग्रह गर्छु”, उहाँले भन्नुभयो । प्रधानमन्त्री ओलीले विपद्को घडीमा यसपालीको दसैँ टीका उल्लासपूर्ण हुन नसकेको समेत उल्लेख गर्नुभएको छ । “विपद्को घडीमा यतिबेला मेरो मन भारी भइरहेको छ । भारी मनकासाथ दसैँको उल्लासमा रमाउनुपर्ने बेला हाम्रो दिदीबहिनी तथा दाजुभाइ रमाउन नसकिरहेको अवस्था र म पनि रमाउन सकिरहेको छैन”, उहाँले भन्नुभएको छ, “दसैँअघि आएको भीषण बाढी र पहिरोका कारणले निर्दोष बालबालिका र असक्त जेष्ठ नागरिकहरुले जीवन गुमाउनुपर्यो । कति घाइते हुनुभयो, धेरै जनधनको क्षति भयो ।” प्रधानमन्त्री ओलीले शुभकामना भडियो सन्देशमार्फत सरकार प्रकोपपछिको उद्धार, राहत र पुनःस्थापनामा केन्द्रित रहेको जानकारी दिँदै आश्वस्त रहन आग्रह गर्नुभयो । “प्रकोपले किसानको अन्नबालि नोक्सान भएको छ, त्यसको मूल्याङ्कन गरेर क्षतिपूर्ति उपलब्ध गराउछौँ । भत्किएका घरहरु पुनःनिर्माण गरी हस्तान्तरण गर्नेछौ । यसप्रति आश्वस्त रहँदै, सबैलाई दसैँ मनाउन र मिल्नेहरुले टीका लगाउन म आग्रह गर्न चाहन्छु ।” उहाँले आफू नेतृत्वको सरकार जिम्मेवारीप्रति सचेत रहेको उल्लेख गर्दै प्रकोप प्रभावितलाई धैर्य धारण गर्न आग्रह समेत गर्नुभयो । “सरकारको नेतृत्व गरिरहेका हुनाले मेरो काँधमा थप जिम्मेवारी छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “उहाँहरुको आशु पुछ्ने, उहाँहरुको घाउमा मलहम लगाउने, पीडितलाई राहत दिने, पुनःनिर्माणको काम यथाशीघ्र सम्पन्न गर्ने, चाडपर्वमा आवातजावतलाई सहज र सुगम बनाउने समेत उत्तरदायित्वमा लागिरहेको घडीमा सबैलाई धैर्य धारण गर्न पनि आग्रह गर्दछु ।”
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमार्फत उहाँले आसुरी प्रवृत्तिमाथि सत्यको विजयको प्रतीक महान् चाड विजया दशमीको दिनमा नवदुर्गा भवानीको प्रसाद टीका, जमरा र आशिर्वाद मान्यजनबाट ग्रहण गर्ने उल्लेख गर्दै उहाँले दसैँको अवसरमा मुलुकमा स्थायित्व, सुशासन र समृृद्धिको कामना गर्नुभएको छ । “विजया दशमी, २०८१ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिका लागि राष्ट्रको कल्याणका लागि दुर्गा भवानीसँग प्रार्थना गर्दै मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गर्दछु”, उहाँद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

