भारत सरकारले दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल) का पार्टपुर्जाको पहिलो खेप नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । नेपाल सरकारबाट अनुरोध गरिएका यी पुलले हालै आएको बाढी र पहिरोका कारण अवरुद्ध भएको सडक कनेक्टिभिटीलाई पुनःस्थापना गर्न नेपालको पुनःनिर्माण प्रयासमा सहयोग पुग्नेछ । रु ३८ करोडभन्दा बढी मूल्यका यी पुल भारत सरकारले अनुदानका रूपमा प्रदान गरेको यहाँस्थित भारतीय दूतावासले जनाएको छ । यी सामान वीरगञ्जमा रहेको भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीनाले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई बुधबार साझ हस्तान्तरण गर्नुभयो । प्रिफ्याब्रिकेटेड स्टिल ब्रिजका बाँकी खेप आगामी दिनमा नेपाल सरकारलाई उपलब्ध गराइने जनाइएको छ । बाढीपहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न यसअघि पछिल्लो दुई दिनमा भारतले अत्यावश्यक सरसफाई सामग्री, औषधि, लाइफ ज्याकेट, स्लीपिङ्ग म्याट तथा ब्याग, खाद्यवस्तु, इन्फ्लेटेबल रबर बोट, कम्बल, क्लोरिन ट्याब्लेट र पानीका बोतलसहितको २५ टनभन्दा बढीको राहत सामग्री उपलब्ध गराई मानवीय सहयोग गरेको त्यस अवसरमा जानकारी दिइयो ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज यसपालिको दसैँ विशेष मौसम बुलेटिन सार्वजनिक गरेको छ । बुलेटिनमा कोशी, मधेस र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । उक्त बुलेटिनअनुसार यस वर्ष दसैँको सप्तमी (२४ गते), अष्टमी/नवमी (२५ गते) र दशमी (२६ गते) का दिनमा कोशी प्रदेश र मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाइएको छ । विभागले कोशी र मधेस प्रदेशका थोरै स्थानहरूमा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहने अनुमान गरेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । उक्त दिनहरुमा अधिकांश स्थानमा अधिकतम तथा न्यूनतम तापक्रम सरदरभन्दा थोरै घट्ने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो । उहाँले ठूलो पानी पर्ने सम्भावना भने नरहेको बताउनुभयो । मौसम पूर्वानुमान महाशाखाबाट जारी गरिने तीनदिने मौसम पूर्वानुमानमा यससम्बन्धी जानकारी अद्यावधिक गरिने भएकाले महाशाखाको ‘वेबसाइट’ हेर्न अनुरोध गरिएको छ । यस वर्षको मनसुन हिजो मङ्गलबार देखिनै काठमाडौँ उपत्यकासहित कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका सम्पूर्ण भू–भागबाट बाहिरिसकेको छ । महाशाखाका अनुसार बागमती प्रदेशको पश्चिमी भू–भाग र मधेस प्रदेशका पश्चिमी भू–भागका थोरै स्थानहरूबाट पनि मनसुन बहिर्गमन भएको छ । हाल कोशी प्रदेशलगायत मधेस र बागमती प्रदेशको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव बाँकी छ । नेपालमा यही असोज २० गतेदेखि मनसुन बहिर्गमन सुरु भएको थियो । यस वर्षको मनसुन गत जेठ २८ गते भित्रिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज गैह्रआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले रु ५१ लाख हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीलाई सङ्घका अध्यक्ष डा बद्री केसीसहितको प्रतिनिधिमण्डलले उक्त रकम हस्तान्तरण गरेको हो । अध्यक्ष डा केसीले हालैको बाढीपहिरो र डुुबानको खबरले आफूहरु दुःखित हुँदै कोषमा सहयोगका अतिरिक्त प्रभावित क्षेत्रमा रु एक करोड बराबरको राहत उपलब्ध गराउने कार्य भइरहेको जानकारी गराउनुुभयो । उहाँले ‘एनआरएनए नागरिकता’ प्राप्त भएपछि आर्थिक र सामाजिक काममा पनि त्यसको प्रयोगमा समस्या रहेको गुनासो गर्नुभयो । प्रधानमन्त्री ओलीले विपद्का समयमा मानवीय सहयोग गरेकामा सङ्घलाई धन्यवाद दिँदै एक पटकको नेपाली सधँैको नेपाली हुने भए पनि विदेशको नागरिकता लिएपछि नेपालमा राजनीतिक अधिकार प्रयोग गर्न नमिल्ने स्पष्ट गर्दै दोहोरो नागरिकता समस्याको समाधानका लागि गम्भीर छलफल आवश्यक पर्ने बताउनुुभयो । उहाँले सङ्घको स्थापनापूर्वदेखि नै नेपालको समृद्धिमा गैह्रआवासीय नेपालीको भूमिकाका लागि आफू लागेको उल्लेख गर्दै कामका लागि विदेश गएकालाई एनआरएनएको परिभाषामा नराख्न आग्रह गर्नुभयो । उहाँले सङ्घलाई राजनीतिक आधारमा नभइ सबै गैह्रआवासीय नेपालीको साझा संस्थाका रुपमा अघि बढाउन सुुझाव दिनुभयो । यसैगरी आजै विद्युत् उत्पादन कम्पनी लिमिटेडका अध्यक्ष सुरेश आचार्यबाट कम्पनी र त्यहाँका कर्मचारीसमेतबाट रु ६ लाख ४६ हजार पाँच सय तथा नेपाल इन्स्योरेस्स कम्पनी, भारतबाट रु १० लाख कोषमा हस्तान्तरण भएको छ ।
रामेछापको खाँडादेवी गाँउपालिका–३ भीरपानीमा मङ्गलबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको प्रहरीले जनाएको छ । ] काठमाडौँबाट मन्थलीहुँदै सिन्धुलीको सुनकोशी गाँउपालिकास्थित अमारे जाँदै गरेको प्र ०१–००५–ख ९५७९ नम्बरको बस ब्रेक फेल हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा सिन्धुली सुनकोसी गाँउपालिका–६ खहरे खोलाकी १७ वर्षे युवती युनिषा श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक प्रदिप कुमार सिंहले जानकारी दिनुभयो । दुर्घटनामा परी घाइते श्रेष्ठको उपचारका लागि सिन्धुलीतर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । दुर्घटनाका अधिकांश घाइतेलाई सिन्धुली जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको प्रहरी नायव उपरीक्षक सिंहले जानकारी दिनुभयो । कूल ३५ जना सवार बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जनाएको छ ।
सरकारले बाढीपहिरोबाट स्थानीय तहहरुमा भएको क्षतिको मूल्याङ्कन गरी आवश्यकताअनुसार बजेट उपलब्ध गराउने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबारको मन्त्रिपरिष्दको बैठकका निर्णय आज सार्वजनिक गर्दै भन्नुभयो, “कतै धेरै क्षति भएको छभने कतै थोरै । क्षतिको मूल्याङ्कन गरेर सम्बन्धित स्थानीय तहमा बजेट पठाउन सरकारले गृहकार्य गरिरहेको छ ।” मन्त्री गुरुङले सङ्कटग्रस्त ४९ स्थानीय तहको सङ्ख्या बढ्नसक्ने जानकारी दिँदै क्षतिको पूर्ण विवरण गृह मन्त्रालयले केही दिनमै सरकारलाई उपलब्ध गराउने बताउनुभयो । मन्त्रिपरिषद्को निर्णयअनुसार थाइल्यान्डको बैङ्ककमा आगामी कात्तिक ६ देखि ८ गतेसम्म आयोजना हुने ‘ट्रान्सफर्मिङ केयरः बिल्डिङ अलाइन्स, इम्पावरिङ वुमन, रिसेपिङ इकोनोमिक्स’ कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौड्याल अधिकारीलाई सहभागी हुन स्वीकृत प्रदान गरिएको छ । मन्त्रिपरिषद्ले चालु आर्थिक वर्षका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत विभिन्न आयोजनाका लागि दुई सय ६६ राजपत्राङ्कित पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । आगामी कात्तिक १ देखि ३ गतेसम्म रसियामा आयोजना हुने ‘एक्स एक्स आइआई इन्टरनेसनल स्र्पोटस फोरम रसिया–कन्ट्री अफ स्पोर्टस’ कार्यक्रममा युवा तथा खेलकुदमन्त्री सहभागी हुने र आरोहणका लागि थप ५७ वटा हिमाल खुला गर्न स्वीकृत दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । हुलाक सेवा विभाग र अन्तर्गतका निकायहरुको सङ्गठन संरचना र दरबन्दी स्र्वीकृत गर्ने, दूरसञ्चार (दशौँ संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने, २०८१ कात्तिक १९ देखि २३ गतेसम्म इजिप्टको कायरोमा आयोजना हुने ‘वल्र्ड अर्बान फोरम–१२’ सम्मेलनमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री सहभागी हुन अनुमति दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । यसैगरी यही असोज २७ मा जर्मनीको बर्लिनमा हुने ‘कम्युनिटी हेल्थ डेलिभरी पार्टनरशिप इभेन्ट ड्युरिङ द वल्र्ड हेल्थ समिट–२०२४’मा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीलाई सहभागी हुन अनुमति दिने, शेयर तथा ऋण लगानी नीति, २०८१ र बीउबिजन नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रमाणीकरण गर्नुभएको छ । उहाँले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । उक्त विधेयक सङ्घीय संसद्का दुवै सदनले पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयसमक्ष प्रस्तुत गरेका थिए ।
नेपाली सेनाले क्षतिग्रस्त सडक मर्मत गरी पुनः सञ्चालन गर्ने अभियान थालेको छ । यही असोज दोस्रो साता परेको अविरल वर्षासँगैको विपद्बाट क्षतिग्रस्त राजमार्ग, रणनीतिक महत्वको पक्की पुल र ग्रामीण सडक मर्मत गर्न छ हजार सकल दर्जा खटिइरहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले बताउनुभयो । जल तथा मौसम विज्ञान विभागको अनुमानसँगै सेनाले १४ हजार जनशक्ति विपद् प्रतिकार्यमा खटाउन तयार गरेको थियो । विपद् प्रभावित जिल्लाहरु काठमाडौँ, ललितपुर र भक्तपुरसँगै काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली, रामेछाप र पाँचथरमा तत्काल खोज तथा उद्धारमा जुटेको उहाँले जानकारी दिनुभयो । बिपी राजमार्ग, अरनिको राजमार्ग, मध्यपहाडी लोकमार्ग, त्रिभुवन राजपथ र पृथ्वी राजमार्गलगायतका राजमार्ग तथा ग्रामीण सडक, दुई जिल्ला जोड्ने पक्की पुल निर्माण गरी यातायात सञ्चालन गर्न सेनाका प्राविधिकसहितका जनशक्ति खटिएका छन् । “मुख्य जिम्मेवारीका रुपमा खुर्कोटस्थित सुनकोसी नदीमा ‘बेलीब्रिज’ राख्ने तथा रोशी खोला करिडोरअन्तर्गत बिपी राजमार्गको ठाउँठाउँमा क्षतिग्रस्त सडकको विस्तृत अध्ययनका लागि सेनाका प्राविधिकले सडक विभागको टोलीलाई सहयोग पु-याएको छ”, सहायक रथी केसीले भन्नुभयो । सेनाकै पहलमा कान्ति राजपथका पहिरो पन्छाएर सोमबार साँझदेखि यातायात सञ्चालनमा आइसकेको छ । “पहिलो चरणमा खोज, उद्धार र राहतका काम सम्पन्न भएसँगै प्राथमिकता निर्धारण गरी पुनःनिर्माण र पुनःस्थापनामा सङ्गठनले जनशक्ति खटाइरहेको छ”, प्रवक्ता केसीले भन्नुभयो । सेनाभित्र विपद् व्यवस्थापनका लागि सहायक रथीको नेतृत्वमा विपद् व्यवस्थापन निर्देशनालय र मातहत काठमाडौँको सुन्दरीजल र चितवनमा गरी दुई वटा गण क्रियाशील छन् ।
दसैँ नजिकिएसँगै गाउँमा चहलपहल बढेको छ । छिमेकीले घर लिपपोत गरेर शृङ्गारेका छन् । परदेशिएका र सहर पसेका पनि चाडबाड मान्न गाउँ फर्किरहेका छन् । दसैँको माहोलले गाउँघरमा रौनक छाएको छ । तर बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटाका पहिरोपीडितलाई उक्त रौनकले छाएको छैन । पहिराले घरबार र आफन्तविहीन बनेका धेरैको आँखा अझै ओभाउन सकेका छैनन् । त्रिपालको छाप्रो र आफन्तकहाँ आश्रय लिएका परिवारलाई दसैँको भन्दा पहिरामा गुमाएका आफन्तको चिन्ताले पिरोलिरहेको छ । गत साउन २२ गते आरुपाटामा आएको पहिराले स्थानीय बालीश्वर बुढामगरको दुईवटा घर पुरेको थियो । पहिरोले घर पुरिँदा नौ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ११ जना गम्भीर घाइते भएका थिए । आरुपाटाको ठाउँठाउँमा पहिराले ७३ परिवार विस्थापित भएका छन् । विस्थापित परिवारका सयौँ नागरिक अहिले कष्टपूर्ण दिन कटाउन बाध्य छन् । युवाहरूभन्दा बालबालिका र वृद्धवृद्धालाई निकै समस्या परेको छ । बालीश्वको घर पुरिँदा उहाँका ७५ वर्षीय बुबा जोगबहादुर बुढा, जुम्ल्याहा छोरी सात वर्षीया मधु र मालती बुढामगरको मृत्यु भएको थियो । उहाँ अहिले लेलमेला भन्ने ठाउँमा त्रिपाल टाँगेर ७५ वर्षीया आमासहित छ जनाको परिवार बस्दै आउनुभएको छ । वृद्धा आमा र साना छोरासहित त्रिपालमुनिको बास अत्यासलाग्दो छ । बेलाबेला पानी पर्दा पनि उहाँहरूलाई झस्काइरहन्छ । दुई महिनादेखि त्रिपालमुनि बस्दा बूढीआमा र साना छोरा बिरामी हुने गरेको बालीश्वरले बताउनुभयो । दसैँ नजिकिँदा गाउँ रमाइलो भए पनि आफूहरूका पीडा थपिएको उहाँ बताउनुहुन्छ । दुई छोरी र बुढेसकाल लागेका बुबा गुमाउँदा निकै पीडा भएको बालीश्वरको भनाइ छ । स्थानीय सरकार र विभिन्न सङ्घसंस्थाले सहयोग गर्दा खानाको समस्या नभए पनि घर पुनःनिर्माण गर्न सक्ने स्थिति नभएको उहाँले बताउनुभयो । “दसैँ आयो, सबैतिर खुसीयाली छ, हाम्रा लागि त यो दसैँ दशा भयो, बस्ने घर छैन, पहिराले आफन्त पनि खोसेर लग्यो, बासको ठेगान नभएकालाई केको दसैँतिहार ?, यस्तो बेला चाडबाड आउँदा पिर पर्दोरैछ”, बुढामगरले भन्नुभयो, “मलाई त त्यही छोरीहरूको र बुबाको याद आइरहन्छ, उहाँहरू पहिरोमा नपरेको भए हाम्रो पनि चाडबाड रमाइलो हुने थियो, अहिले त साना छोरा छन्, उनीहरूलाई खुसी बनाउन पनि सकिएको छैन ।” पहिरोका कारण स्थानीय मङ्गलसिंह बुढामगर पनि विस्थापित हुनुभएको छ । बालीश्वरको घर पुरिँदा मङ्गलसिंहका नौ र १२ वर्षीय दुई छोराको मृत्यु भएको थियो भने उहाँ पनि गम्भीर घाइते हुनुभएको थियो । लामो समय अस्पतालमा उपचार गराएर केही दिन अगाडि मात्रै गाउँ आउनुभएका मङ्गलसिंहको दुईवटै खुट्टा चल्दैनन् । उहाँको साथमा आठ र ११ वर्षीया छोरीमात्रै छन् । लामो समय अरुको घरमा बस्दा समस्या हुने भन्दै आफ्नो घर बनाउन सक्ने क्षमता नभएको मङ्गलसिंहले सुनाउनुभयो । चाडबाडका बेला छोरीहरूले राम्रो लाउन र मिठोमसिनो खान खोज्दा खुवाउन सक्ने स्थिति नरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यो साल त मलाई ठूलो दशा लागेको रहेछ, छोरालाई पहिराले लग्यो, घरमा बस्न सक्ने अवस्था छैन, भाइले बस्न दिएको छ, उसकामा कति दिन बसेर पुग्छ ?, गाउँलेले दिएको कोदो, मकै खाएर पेट भोको छैन, तर दसैँको बेला यी साना छोरीलाई के थाहा हुन्छ र हामीसँग आर्थिक छैन भन्ने, जसोतसो एउटा बस्ने घर बनाउन सके हुन्थ्यो, अहिले त धेरैले लत्ताकपडा र अरुसामान सहयोग गर्नुभएको छ, सरकारले घर बनाइदिए हुन्थ्यो ।” बडिगाड गाउँपालिकाका उपाध्यक्ष भिमशेन वनले पहिरोपीडितका लागि पालिकाले अतिआवश्यक सामग्री सहयोग गरेको बताउनुभयो । अहिले धेरै पीडित आफन्तकामा आश्रय लिएको हुँदा खानेकुरा र लत्ताकपडाको समस्या नभएको उहाँको भनाइ छ । गाउँपालिकाले विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थासँग सहकार्य गरेर तत्कालका लागि सुरक्षित स्थानमा राख्ने र आधारभूत आवश्यकतालाई परिपूर्ति गर्ने कार्यलाई जोड दिएको उपाध्यक्ष वन बताउनुहुन्छ ।
काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा आज दुर्घटना भएको छ । आज दिउँसो ३ बजे आसपासमा दुर्घटना भएको जनाइएको छ । बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको सिन्धुली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले जानकारी दिनुभयो । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

