मुस्ताङ:  मङ्गलबार रातिदेखि मुस्ताङका विभिन्न भेगमा भारी हिमपात भएको छ । यहाँका डाँडाकाँडा पूरै सेताम्मे भएका छन् । अधिकांश स्थानमा वर्षा पनि भएको छ । भारी हिमपात कारण कागबेनी–कोरला सडक अवर...

इलाम:    जिल्लामा उत्पादित तयारी चियाको माग अन्तर्राष्ट्रिय बजारमा बढी भए पनि यस वर्ष उत्पादनमा कमी आएको छ । भारत, चीन, फ्रान्सलगायत देशबाट तयारी चियाको माग आउने गरेको चिया व्यवसायी बताउँछन् ।       इलाम नगरपालिका–५ बिब्ल्याँटेका चिया व्यवसायी शरद् सुब्बालले यसवर्ष विदेशी व्यापारीले दुई हजार किलो ‘स्पेसल टी’ माग गरेकामा उत्पादनमा कमी आएकाले एक हजार पाँच सय किलो चिया मात्र उपलब्ध गराउने सकिने बताउनुभयो ।      “सुइरोबाट बनाइने तयारी चियाको माग विदेशी बजारमा बढी छ”, उहाँले भन्नुभयो, “उहाँहरुले पहिला नै रकम पठाएर आवश्यकताअनुसार ‘बुकिङ’ गर्नुहुन्छ । उत्पादनमा कमी आएकाले मागअनुसार निर्यात गर्न सकिरहेका छैनौँ ।”      कोरोना महामारीका बेलादेखि निर्यात रोकिएको चियाको अन्तर्राष्ट्रिय बजार विस्तारै चलायमान बन्दै गएको सुब्बाले बताउनुभयो । यस वर्ष तेस्रो मुलुकबाट तयारी चियाको माग बढी आएको उहाँले जानकारी दिनुभयो ।       यहाँको तीनजुरे चिया कारखानाले यस वर्ष ‘गोल्डेन ब्याल्क’, ‘ग्रीन टी’लगायत फरक स्वाद र गुणस्तरका २० क्विन्टल तयारी चिया फ्रान्स पठाएको कारखानाका व्यवस्थापक दिनेश श्रेष्ठले जानकारी दिनुभयो । गत वर्ष एक हजार तीन सय किलो तयारी चिया उत्पादन भएको थियो ।       गत वर्ष चीनमा आयोजित अन्तर्राष्ट्रिय टी एक्पोमा तीनजुरे ‘ग्रान्ड गोल्ड’ विधिमा पुरस्कार पाउन सफल भएको उल्लेख गर्दै व्यवस्थापक श्रेष्ठले यस वर्ष अन्तर्राष्ट्रिय बजारको माग पनि बढेको बताउनुभयो ।       यस वर्ष ग्रीनहिल चिया उद्योगले आठ हजार तयारी किलो चिया भारतसहित तेस्रो मुलुकमा निर्यात गरेको उद्योगका सञ्चालक टङ्क दाहालले जानकारी दिनुभयो । “मागअनुसारको गुणस्तरीय चियाको परिमाण दिन सकिएको छैन”, उहाँले भन्नुभयो, “यो वर्ष हरियोपत्ती गत वर्षभन्दा कम उत्पादन भएकाले आवश्यकता र मागअनुसार तयारी चिया निर्यात गर्न सकिएको छैन ।”      ग्रिनहिलमा गत वर्ष ५५ हजार किलो तयारी चिया उत्पादन भएको जनाउँदै यस वर्ष ४० देखि ४२ हजार किलोमात्र उत्पादन हुने अनुमान गरिएको सञ्चालक दाहालले बताउनुभयो ।       झापास्थित मेची भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षमा रु तीन अर्ब १६ करोड ३८ लाखको तयारी चिया यहाँबाट निकासी भएको थियो । एक करोड ३४ लाख ३३ हजार आठ सय ५८ किलो चिया निकासी भएको कार्यालयले जनाएको छ ।      नेपालमा उत्पादन हुने चियामध्ये १० प्रतिशत मुलुकभित्रै खपत हुने गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । करिब २० प्रतिशत तेस्रो मुलुक र बाँकी भारत जाने गरेको बोर्डका कृषि विकास अधिकृत इन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । मौसममा आएको परिवर्तनले गत वर्षको तुलनामा यस वर्ष हरियो चिया उत्पादनमा कमी आएको उहाँले बताउनुभयो ।       बोर्डले अर्गानिक चिया उत्पादन बढाउन किसानलाई तालिमसहित प्राविधिक सहयोग गर्दै प्रोत्साहन वृद्धि गर्ने कार्याक्रम ल्याउने योजना बनाइरहेको अधिकारीले जानकारी दिनुभयो । “गत वर्ष एक हजार तीन सय किसानका गोठ सुधार गरेका छौँ । गोठ सुधारसँगै गोबरबाट बनेको मलको उचित व्यवस्थापनमा किसानलाई सहयोग गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “चिया निर्यातमा अनुदानका कार्यक्रम सञ्चालन भइरहेका छन् ।”      पहिले अन्तर्राष्ट्रिय बजारमा चियाको माग कम हुने गरेकामा अहिले प्रचारप्रसारका कारण माग बढ्दै गएको कृषि विकास अधिकृत अधिकारीले जानकारी दिनुभयो । तोस्रो मुलुकका व्यापारीले चियाको उचित मूल्य दिएसँगै यहाँका व्यापारी तथा किसान पनि प्रोत्साहित भएकाले आगामी दिनमा उत्पादन वृद्धि हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।      इलाममा आठ हजार आठ सय ७६ किसान चियाखेतीमा आश्रित छन् । जिल्लाको सात हजार दुई सय ३६ हेक्टर जमिनमा चियाखेती हुँदै आएको छ ।

काठमाडौं:    अफगानिस्तानका महिला तथा बालिकाको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै महिला विभेद उन्मुलनसम्बन्धी राष्ट्रसङ्घीय समिति (सिइडिएडब्ल्यू)ले उनीहरुको शिक्षा, रोजगारी, आवागमन, सार्वजनिकस्थलमा उपस्थितिलगायत आधारभूत मानव अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिएको छ ।      सिइडिएडब्ल्यूका सदस्य एवं अफगानिस्तान मामिला प्रमुख बन्दना राणाले शुक्रबार जेनेभास्थित राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को प्रधान कार्यालयमा भएको बैठकमा महिला हकअधिकारका सम्बन्धमा सिइडिएडब्ल्यू निर्धारण गरेका मान्यताको पालना गर्न अफगान सरकार तथा नागरिक समाजलाई निर्देशन दिनुभएको छ ।      लैङ्गिक अधिकार सुनिश्चित गर्ने हिंसा एवं त्रासरहित वातावरणमा महिला तथा बालबालिकाको पठनपाठन एवं रोजगारीको अधिकार प्रत्याभूत गर्न र विगतमा व्यक्त प्रतिबद्धता पालना गर्न समितिले निर्देशन दिएको हो ।  समितिले अफगानिस्तानसम्बन्धी चौथो आवधिक प्रतिवेदन तयारी थालेको र त्यसबाट महिला तथा बालिकाहरुको वास्तविक स्थितिबारे जानकारी हासिल गर्न मद्दत पुग्ने विश्वास समितिले व्यक्त गरेको छ ।

म्याग्दी:   अन्नपूर्ण गाउँपालिकाको पर्यटकीयस्थल मोहरेडाँडामा पाँचकिलोभन्दा कम तौलका दैनिक उपभोग्य हलुका सामान ढुवानी गर्न ड्रोन प्रयोग भएको छ ।           ड्रोन प्रयोग गरेर अन्नपूर्ण गाउँपालिका–८ नागीबाट सोही वडाको पर्यटकीयस्थल मोहरेडाँडामा सामान ढुवानी गरिएको सो गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । राष्ट्रिय आविष्कार केन्द्रले बनाएको ड्रोन प्रयोग गरिएको हो ।       “केन्द्रका प्राविधिक टोलीले शुक्रबार र शनिबार नागीबाट मोहरेडाँडामा ड्रोनमा झुण्ड्याएर सामान पठाएर परीक्षण गर्नुभएको थियो”, उहाँले भन्नुभयो, “पहाडी र विपद् प्रभावित क्षेत्रमा औषधि र उपभोग्य अत्यावश्यक सामान ढुवानी गर्न ड्रोन उपयोगी देखिए ।”  मोहरेडाँडालगायत पर्यटकीयस्थलमा सामान ढुवानीका लागि ड्रोनको प्रयोगलाई निरन्तरता दिन आविष्कार केन्द्रका अध्यक्ष डा महावीर पुनसँग समन्वय भएको अध्यक्ष पुनले बताउनुभयो । 

दाङ:     रोल्पाको कोइलाबाट तुलसीपुरतर्फ आइरहेको रा १ ज ८२२ नम्बरको जिप तुलसीपुर–३ साततलेमा आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  मृत्युहुनेमा दङ्गीशरण गाउँपालिका–४ बैबाङका २२ वर्षीय हीरामणि बुढामगर र सल्यानको कपुरकोट गाउँपालिका–६ का १९ वर्षीय सुरेश खड्का रहेका  छन् ।  इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापका अनुसार दुवै जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो  ।  उहाँका अनुसार जिप सडकबाट करिब तीन सय मिटर तल खसेको थियो ।  जिपमा पाँच जना सवार थिए । जिपमा सवार अन्य तीन जना  गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ ।

सोलुखुम्बु:     विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा एकै महिना झन्डै नौ हजार पर्यटक भ्रमणका लागि पुगेका छन् ।  गत असोजमा आठ हजार नौ सय दुईजना पर्यटक भ्रमणका लागि खुम्बु पुगेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ ।       जसबाट निकुञ्जले रु दुई करोड तीन लाख ४८ हजार पाँच सय ५३ राजस्व सङ्कलन गरेको निकुञ्जका कर्मचारी विवेक श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार निकुञ्जले प्रतिपर्यटक नेपाली रु एक सय, सार्क मुलुक रु एक हजार पाँच सय र अन्य मुलुक रु तीन हजार प्रवेश शुल्क लिने गरेको छ ।      चालु आर्थिक वर्ष २०८१र८२ को साउनमा एक सय २५ तथा भदौमा एक हजार तीन सय ३१ पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका छन् । सो महिनामा रु तीन लाख ४५ हजार नौ सय ७५ र भदौमा रु ३२ लाख ३६ हजार छ सय ९६ राजस्व सङ्कलन भएको कर्मचारी श्रेष्ठले बताउनुभयो ।       “यतिबेला यहाँ पर्यटक ‘सिजन’ चलिरहेकाले पर्यटकको सङ्ख्या धेरै छ, सगरमाथासहित धेरै हिमाल निकुञ्ज क्षेत्रमै पर्छ । पर्यटक आवगमन बढेपछि उनीहरूसँग शुल्क र अभिलेख सङ्कलनमा हामी व्यस्त छौँ”, श्रेष्ठले भन्नुभयो ।       सगरमाथा क्षेत्र भ्रमणका लागि पर्यटक काठमाडौँ र रामेछापको मन्थलीबाट जहाज तथा हेलिकप्टरमार्फत लुक्ला पुग्ने गर्छन्भने कतिपय काठमाडौँबाट सडकमार्गमार्फत सल्लेरी हुँदै लुक्ला पुग्ने गर्छन् । फागुन १५ देखि जेठ १५ गतेसम्म र असोज, कात्तिक, मङ्सिर महिनालाई मुख्य पर्यटकीय सिजन मानिन्छ भने त्यसबाहेकका समयलाई ‘अफसिजन’ मानिन्छ ।       सिजनमा दैनिक एक हजार जनाभन्दा बढी पर्यटक प्रवेश हुने सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । सगरमाथा क्षेत्र विशेषगरी हिमाल आरोहण, वन्यजन्तुको अवलोकन र साहसिक पर्यटनका लागि धेरैको रोजाइमा पर्ने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताउनुभयो । विसं २०३२ मा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज एक हजार एक सय ४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ ।       पू्र्वी नेपालको  सोलुखुम्बु जिल्लामा रहेको यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित ६ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुजस्ता हिमचुचुरासमेत छन् । यस निकुञ्जभित्रको गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको थियो ।       सन् १९७९ देखि यस निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको हो । यो निकुञ्ज एक हजार आठ सय मिटरदेखि आठ हजार आठ सय ४८ मिटरसम्मको उचाइमा छ । यहाँ कस्तुरी मृग, थार, घोरल, लङ्गुर बाँदर, मोनाल, हाँइटे, हर्न लार्क, टिबेटन स्नो कक, चुग आदि पक्षी पाइन्छन् ।

बागमती:    बाढी, पहिरो, डुबान, आगलागीजस्ता विपद्बाट चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनाको अवधिमा बागमती प्रदेशको उपत्यकाबाहेक १० जिल्लामा एक सय ९१ जनाको मृत्यु भएको छ ।  सबैभन्दा बढी यही असोज ११ र १२ गतेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी एक सय ७७ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ ।       बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौँडा प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार चालु आव २०८१/८२ को साउनदेखि असोजसम्ममा पहिरोबाट एक सय ५७ जना, बाढीमा बगाएर ११ जना र डुबेर नौ जनाको मृत्यु भएको छ ।  यस्तै सो अवधिमा करेन्ट लागेर आठ जना, चट्याङ लागेर चार जना र आगलागी तथा जनावरको आक्रमणबाट एक÷एक जनाको मृत्यु भएको प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो ।  सो अवधिमा विपद्का घटनामा परी एक सय ७३ जना घाइते र ११ जना अझै बेपत्ता रहेको उहाँको भनाइ छ । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको र बेपत्ताको खोजीकार्य जारी रहेको जनाएको छ ।        विपद्बाट ती जिल्लामा नौ हजार सात सय ७८ पंक्षी र पाँच सय १६ चौपायाको मृत्यु भएको प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो ।  सो अवधिमा भएका विपद्का घटनाबाट एक सय ७१ पक्की, छ सय ७३ कच्ची घर र एक सय ६१ गोठ क्षतिग्रस्त भएको बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ ।  सो कार्यालयका अनुसार विपद्बाट ९३ सवारी साधन तथा २० उद्योग क्षतिग्रस्त भएको छ । यस अवधिमा विभिन्न जिल्लाका ८३ विद्यालय र १२ वटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिनुभयो ।  बाढी, पहिरोजन्य विपद्बाट सो अवधिमा ४८ वटा पक्की तथा झोलुङ्गे पुलमा क्षति पुग्दा विपद्बाट रु तीन अर्ब ४४ करोड ५३ लाख ६१ हजार नौ सय ६० मूल्य बराबरको धनमालको क्षति भएको बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ ।       पुल तथा सडक बगाएपछि सङ्घीय राजधानी काठमाडौँलाई जोड्ने धेरै सडक अवरुद्ध भएको र विस्तारै मर्मतसम्भार गरी क्रमशः सञ्चालन भइरहेको प्रवक्ता प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो । 

काठमाडौ:    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा कायम भएको छ ।       युरोपियन यूरो एकको खरिददर एक सय ४५ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ९३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ०२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ४६ पैसा कायम गरिएको छ ।       अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ३५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ११ पैसा निर्धारण गरिएको छ ।       जापानी येन १० को खरिददर आठ रुपैयाँ ८४ पैसा र बिक्रीदर आठ रुपैयाँ ८८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा र कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा कायम भएको छ ।       केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६६ पैसा र बिक्रीदर नौ रुपैयाँ ७० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६९ पैसा र बिक्रीदर १२ रुपैयाँ ७५ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४७ पैसा र बिक्रीदर १९ रुपैयाँ ५६ पैसा तोकिएको छ ।       राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २८ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ २५ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ २१ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ ०५ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ६४ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।  राष्ट्र बैंकले जुनसुकै समयमा पनि उल्लेखित दर संशोधन गर्न सक्ने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

काठमाडौं:    शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा दुर्लभ जङ्गली याक फेला परेको छ । सो क्षेत्रमा गरिएको अध्ययनका क्रममा निकुञ्जमा भाले जङ्गली याक भेटिएको हालै खुलासा गरिएको हो ।      वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सो जङ्गली याकको ‘फोटो फ्रेम’ अनावरण गरेको छ ।  स्थानीय नागरिक वैज्ञानिक सोनाम वाङ्दीले तस्बिर लिनुभएको जङ्गली याक शे–फोक्सुन्डो गाउँपालिका–१ सल्दाङस्थित क्षेत्रमा भेटिएको हो ।  चार हजार ६ सय २३ मिटरदेखि चार हजार नौ सय ३५ मिटर उचाइ रहेको सो स्थानमा उक्त जङ्गली याक गत जुलाई २३ देखि २६ सम्म देखिएको विभागको तथ्याङ्क छ ।      यो अध्ययन स्थानीय समुदायको पूर्व जानकारीपश्चात् निकुञ्ज विभागको अगुवाइमा शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज र विश्व वन्यजन्तु कोष ९डब्लुडब्लुएफ० नेपालको सहकार्यमा सम्पन्न भएको थियो ।  विगतमा तथ्याङ्क अभाव तथा स्थानीय समुदायका अनुसार जङ्गली याक लोप हुने अवस्थामा रहेको मानिएको थियो । जङ्गली याक प्रायः समुद्री सतहबाट चार हजार आठ सय २५ मिटरको उचाइमा पाइन्छ ।      यस अध्ययनका क्रममा स्थानीयका साथै युवा वैज्ञानिकहरू सोनाम वाङ्दी र उर्गेन गुरुङको महत्त्वपूर्ण योगदान रहेको डब्लुडब्लुएफ नेपालका पर्वतीय कार्यक्रम व्यवस्थापक सेरेन श्रेष्ठले जानकारी दिनुभयो ।  उहाँका अनुसार यो जङ्गली याक देखिएको क्षेत्रबाट पश्चिमतिर चीनको सीमा नजिक पनि अर्को जङ्गली याक देखिएको स्थानीयले जानकारी दिएका छन् । उहाँले भन्नुभयो, “तर यही हो वा अर्को जङ्गली याक हो विस्तृत अध्ययन विना भन्न सकिने अवस्था छैन । चीन, भारत र नेपालका हिमाली क्षेत्रमा पाइने जङ्गली याकको नेपालमा खासै तथ्याङ्क छैन ।”  नेपालमा पहिलोपटक अनुसन्धानकर्ताहरूले हुम्लामा सन् २०१४ मा जङ्गली याक देखेका र पहिलो आधिकारिक तस्बिर पनि सोही समयमा सार्वजनिक गरिएको थियो ।         नेपालमा वन चौँरी पनि भनेर चिनिने जङ्गली याक विश्वव्यापी रूपमा चीन, भारत र नेपालको मूल रैथाने प्रजाति हो । जङ्गली याक खासगरी अल्पाइन टुन्ड्रा क्षेत्रको घाँसेमैदान र चिसो मरुभूमि क्षेत्रहरूमा पाइन्छ ।  जाडोमा तल्लो उपत्यकाहरूमा झर्दै, मौसमी रूपमा सर्ने गर्छ । यद्यपि, यस प्रजातिको हालको वितरण दायरा राम्रोसँग थाहा छैन । जङ्गली याक प्रायः उत्तरी सिमाना छिमेकी चीनको तिब्बतसँग जोडिएका हिमाली क्षेत्रमा बढी रहने गरेको अनुमान गरिन्छ ।      नेपालमा यस प्रजातिको जनसङ्ख्याको आकारका बारेमा कुनै जानकारी उपलब्ध छैन । हुम्ला जिल्लाको लिमी उपत्यकामा सन् २०१४ मा पुनः पत्ता नलागेसम्म जङ्गली याक लोप भइसकेको मानिन्थ्यो । विश्वव्यापी रूपमा जङ्गली याकलाई आइयुसिएनले ‘रेड लिस्ट’ले जोखिममा राखेको छ ।  नेपालमा राष्ट्रिय रूपमा यसलाई तथ्याङ्क अभावका रूपमा वर्गीकृत गरिएको छ । नेपालमा यस प्रजातिको कानुनी स्थिति राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनद्वारा संरक्षित (परिशिष्ट १)छ ।       त्यसैगरी, साइटिसले परिशिष्ट १ प्रजातिमा जङ्गली याकलाई सूचीकृत गरेको निकुञ्ज विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले राससलाई जानकारी दिनुभयो ।  उहाँका अनुसार जङ्गली याक गाई प्रजातिको जन्तु हो । तराई क्षेत्रमा गौरी गाई पाइएजस्तै उपल्लो हिमाली क्षेत्रमा चौँरी र जङ्गली याक पाइन्छ । “जङ्गली याक दुर्लभ छ । कठिन भौगोलिक क्षेत्र र हिमाली क्षेत्रमा पाइने भएकाले यसको अध्ययन र अनुसन्धान पर्याप्त हुन सकेको छैन,” वरिष्ठ इकोलोजिष्ट आचार्यले भन्नुभयो, “अहिले बिस्तारै हवाई यातायात, सडकको पँहुच, प्रविधिको विकासले गर्दा हिमाली वन्यजन्तुसँगै जङ्गली याकको पनि अध्ययन सुरु हुन थालेको छ ।”  हिउँ चितुवाको र यसको बासस्थान प्रायः एकै क्षेत्रमा हुन्छ । जङ्गली याकको बासस्थान र चरन क्षेत्र हिउँचितुवाको तुलनामा भने सीमित हुन्छ । घरपालुवा चौँरीभन्दा यो शारीरिक बनावटले फरक हुन्छ । “घरपालुवा चौँरीको तुलनामा यसको आकार ठूलोे हुन्छ, सिङ र रौँ फरक हुन्छ । विभागले सार्वजनिक गरेको उक्त तस्बिरसँगै जङ्गली याकको अध्ययन गर्न अनुसन्धानकर्ताको चासो बढ्छ । त्यसमा हामी प्रोेत्साहन गर्छौं”, उहाँले भन्नुभयो ।  

बलेवा:    प्रस्तावित कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ ।  बागलुङ र पर्वत दुई जिल्ला प्रभावित हुने गरी डिजाइन गरिएको आयोजनाको प्रारम्भिक प्रतिवेदन विद्युत् विकास विभागले सार्वजनिक गरेको हो । यो आयोजनाको प्रारम्भिक अध्ययनकै क्रममा टिप्पणी र आलोचना सुरु भएको छ ।      हाल अध्ययन गरिएको प्रतिवेदनअनुसार बागलुङको जैमिनी नगरपालिका–८ र गुल्मीको कालीगण्डकी गाउँपालिका–६ को मध्यभागमा आयोजना स्थल निर्माण हुनेछ ।  छ सय ४० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको आयोजनाको जलाशय बनाउँदा बागलुङ र पर्वतका अधिकांश स्थान डुबानमा पर्ने बताइएको छ । विद्युत् विकास विभाग र कन्सल्ट्यान्ट कम्पनी स्मेक इन्टरनेशनल प्रालि अस्ट्रेलिया, जेड कन्सल्ट्यान्ट प्रालिले प्रारम्भिक सर्वेक्षण गरेर वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको हो ।      सार्वजनिक सुनुवाइमार्फत प्रतिवेदन सार्वजनिक गरेपछि आम नागरिकको धारणा बुझेर काम अगाडि बढाउने विद्युत विकास विभागका सिनियर डिभिजन इन्जिनियर प्रतिभा मानन्धरले बताउनुभयो ।  “हामीले जलाशययुक्त जलविद्युत् आयोजनाको योजना बनाएका हौंँ,” उहाँले भन्नुभयो, “रन अफ दि रिभरका आयोजना धेरै छन्, हिउँदका लागि नभएकाले जलाशययुक्त बनाउने गरी अध्ययन भएको हो ।” अध्ययन प्रतिवेदन सरकारलाई बुझाएपछि मात्र कस्तो बन्ने भन्ने टुङ्गो लाग्ने विभागले जनाएको छ ।      हाल सार्वजनिक अध्ययन प्रतिवेदनअनुसार सो आयोजना निर्माण गर्दा बागलुङको जैमिनी–१, ५, ६, ७ र ८ तथा बागलुङ नगरपालिका–१, ४, १०, १२, १३ र १४ को भूभाग डुबानमा पर्छ ।  पर्वतको कुश्मा नगरपालिका–१, २, ४, ५, ६, ७, ८, ९, १० र ११ मा पनि डुबान हुने उल्लेख छ । जलजला गाउँपालिका–८, कालीगण्डकी नगरपालिका–६, पर्वतकै फलेवास नगरपालिका–४, ५, ६, ७, १० र ११ तथा बिहादी गाउँपालिका– १ र २ मा पनि डुबान हुनेछ ।       आयोजनाको जलाशयले जैमिनी धाम, मोदीवेणीधाम, बेलबगर, मालढुङ्गा र फोर्से बजारसमेत डुबानमा पर्छ । हाल सञ्चालनमा रहेको विश्वकै दोस्रो अग्लो भनिएको बञ्जीजम्प र जिपलाइन पनि सञ्चालन गर्न नमिल्ने गरी डुबान हुने प्रतिवेदनमा उल्लेख छ ।  निर्माणाधीन कालीगण्डकी करिडोरको २० किमी सडक खण्ड, पोखरा बागलुङ सडकको केही भाग, मालढुङ्गास्थित पक्की पुलसमेत डुबानमा पर्ने भएको हो । झोलुङ्गे र पक्की गरी कालीगण्डकीमा बनेका २७ बढी पुल अन्यत्र सार्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।       लागत रु दुई खर्ब २४ अर्ब ६५ करोड अनुमान गरिएको छ । आयोजनालाई कम्पनी वा अन्य मोडलमा निर्माण गर्ने भन्ने यकिन भइसकेको छैन । सम्भाव्यताका चरण पूरा गरेपछि कुन मोडलमा जाने, कसको सहयोग जुटाउने भन्ने सरकारले निर्धारण गर्ने जनाइएको छ ।  आयोजना निर्माण गर्दा एक हजार आठ सय ९० हेक्टर जमिन आवश्यक पर्ने, त्यसमा आठ सय तीन हेक्टर निजी, एक हजार ६२ हेक्टर वन क्षेत्र र चार सय ७३ हेक्टर जमिन राजमार्ग तथा दुई हेक्टर अन्य जमिन पर्ने छ ।      नेपाल विद्युत् प्राधिकरणले हाल निर्माण गरेको दाना, खुर्कोट, कालीगण्डकी प्रसारण लाइनकोसमेत दुई दर्जन बढी हाइटेन्सन पोल सार्नुपर्ने सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।  यो आयोजनाबाट दुई हजार पाँच सय ५२ घरधुरीमध्ये ११ हजार नौ सय २९ जनसङ्ख्या प्रत्यक्ष प्रभावित हुनेछन् । उनीहरुलाई मुआब्जा दिएर अन्यत्र सार्नुपर्ने देखिएको हो । आयोजनाको क्षतिलाई आधार मानी यदि धेरै नै क्षति गर्ने हो भने जलाशययुक्त नबनाउन अधिकांशको सुझाव आएको जैमिनी–७ का विष्णुराज पौडेलले बताउनुभयो ।       “महत्वपूर्ण गन्तव्य र धाम पुरिने हो भने बनाउनैपर्छ भन्ने छैन”, उहाँले भन्नुभयो, “अन्य आयोजना पूरा गरेर आवश्यकता पूरा गर्न सकिन्छ ।” सार्वजनिक सुनुवाईमा सहभागी अधिकांशले लागत बढी भएकाले यो आयोजना बनाउने क्रममा ख्याल गर्नुपर्ने सुझाव दिएका छन् ।