म्याग्दी: मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको तातोपानीको मुहान उपयोग र संरक्षणको पर्खाइमा छ । अध्ययन अनुसन्धान, पूर्वाधार, व्यवस्थापन र संरक्षणको अभावमा लोमान्थाङको फेदीमा रहेको प्राकृतिक तातोपानीको मुहानलाई प्रयोगमा ल्याउन नसकिएको हो । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले खेर गइरहेको तातोपानीलाई पर्यटकीय गन्तव्य बनाउने र उपयोगमा ल्याउन पहल थालिएको बताउनुभयो । “लोमान्थाङको नजिकै भएर पनि ओझेलमा परेको तातोपानीको मुहानलाई व्यवस्थापन गर्न चालु आर्थिक वर्षमा रु १० लाख बजेट विनियोजन गरेका छौँ”, उहाँले भन्नुभयो, “तातोपानीलाई व्यवस्थित रुपमा उपभोग गर्न सक्ने हो भने पर्यटन र आर्थिक हिसाबले धेरै राम्रो हुने सम्भावना छ ।” लोमान्थाङ खोलाको किनारमा रहेको तातोपानीलाई पोखरीमा सङ्कलन गरेर स्नानको गर्ने व्यवस्था मिलाउने तयारी गरेको अध्यक्ष गुरुङले बताउनुभयो । चिसो हावापानी र मौसम हुने लोमान्थाङमा रहेको तातोपानीको मुहन प्रकृतिको वरदान हो । खोलाको किनारमा जमिनभित्रबाट करिब ५० डिग्री सेल्सियस तातोपानी निस्कन्छ । लोमान्थाङ–सुर्खाङ पदमार्गमा पर्ने तातोपानी कुण्ड नजिकैसम्म सडक पुगेको छ । बेनी–जोमसोम–कोरला सडक निर्माण भएपछि विकल्पमा पुराना घोरेटो बाटोलाई स्तरोन्नति गरेर पर्यटक हिँडाउन थालिएको हो । कुण्डको नजिकै आश्रयस्थल र स्नान गर्ने ठाउँ पनि छ । जमिनभित्रबाट भुक्लुक भुक्लुक गरेर तातोपानी निस्कने गर्छ । स्थानीयवासी भने तातोपानी नुहाउनका लागि जाने गर्छन् । पोखरीको पानीलाई भाडामा राखेर शरिरमा राख्दै नुहाउने गर्छन् । व्यवस्थित र प्रचारप्रसार नभएकाले लोमान्थाङ आउने पर्यटक कुण्डसम्म पुग्न नसकेका लोमान्थाङका वडाध्यक्ष ढुढुके विष्टले बताउनुभयो । कुण्डलाई व्यवस्थित गरेर लोमान्थाङ घुम्न आउने पर्यटकको बसाई लम्बाउने प्रयासमा रहेको उहाँले बताउनुभयो । लोमान्थाङदेखि ३० मिनेट पैदलयात्रा गरेपछि तातोपानीको मुहानमा पुगिन्छ । स्थानीयका अनुसार तातोपानी कुण्डमा स्नान गर्दा हाडजोर्नी तथा छालासम्बन्धी रोग निको हुन्छन् । तातोपानीमा स्नान गरेपछि थकान मेटाउन र शारीरिक स्फूर्ति हुन्छ । विशाल फाँटको बीच भागमा माटोको पर्खालले घेरिएको मुस्ताङको लोमान्थाङ ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय सम्भावना बोकेको बस्ति हो । वरपर सुक्खा कलात्मक पहाडको बीच भागमा रहेको लोमान्थाङ गाउँपालिकाको केन्द्रसमेत रहेको यो ठाउँ समुद्री सतहदेखि तीन हजार सात सय २० मिटरको उचाइमा छ । समथर खेतीयोग्य फाँटको बीचमा बसेको लोमान्थाङ वरपरको भूगोल मनमोहक र आकर्षक छ । फाँटको फेदीमा तातोपानीको मुहान रहेको छ । माटोको पर्खालभित्र रहेको ऐतिहासिक बस्ती, दरबार र गुम्बा, सांस्कृतिक राजा, मुखिया परम्परा, तिब्बती संस्कृतिसँग मिल्दोजुल्दो संस्कार र जीवनशैली लोमान्थाङको आकर्षण भएको लोमान्थाङ गाउँपालिका–५ का वडासदस्य लाक्पा वाङदी गुरुङले बताउनुभयो । अर्धनिषेधित क्षेत्रमा पर्ने उपल्लो मुस्ताङमा वार्षिक तीन हजार जनाको अनुपातमा विदेशी पर्यटक आउँछन् । त्यहाँ हिजोआज भने नेपाली पर्यटकको चहलपहल छ ।
सोलुखुम्बु: ‘दिगो पर्यटनका लागि हिमाल बचाऔँ’ नाराका साथ पहिलो संस्करणको ‘एभरेष्ट टुरिजम अवार्ड, २०२४’ आयोजना हुने भएको छ । आज सर्वोच्च शिखर सगरमाथाको काखमा रहेको कालापत्थर (५,६५३ मिटर उचाइ)मा आयोजित पत्रकार सम्मेलनमा आयोजक एएमएस म्युजिक एण्ड इन्टरटेन्मेन्ट प्रालिका अध्यक्ष सत्यकला तामाङ लामाले अवार्ड कार्यक्रम आगामी डिसेम्बरमा काठमाडौँमा हुने जानकारी दिनुभयो । मुलुकको पर्यटन क्षेत्रको विकास, प्रचारप्रसार तथा प्रवर्द्धनमा उल्लेख्य योगदान पु¥याउनुहुने राष्ट्रिय तथा अन्तर्र्राष्ट्रिय क्षेत्रका विभिन्न व्यक्ति तथा संस्थालाई मूल्याङ्कनका आधारमा सम्मान तथा अवार्ड वितरण गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार कूल ४० देखि ५० वटा विधामा अवार्ड प्रदान गरिनेछ । अवार्ड कार्यक्रममा राष्ट्रिय तथा अन्तर्र्राष्ट्रिय कलाकारहरुको प्रस्तुतिसमेत रहने अध्यक्ष लामाले जानकारी दिनुभयो । उहाँका अनुसार अवार्ड वितरण गर्न सम्बन्धित विषयविज्ञ सम्मिलित एक मूल्याङ्कन एवं छनोट समिति गठन भइसकेको छ । उहाँले पछिल्ला केही वर्र्षयता जलवायु परिवर्तनको प्रभाव हिमाली क्षेत्रमा परिरहेकाले यसले पर्यटन क्षेत्रमा पनि असर गरिरहेकाले बताउँदै यस विषयमा विश्व समूदायको ध्यानाकर्षण गराउन कालापत्थरमा पत्रकार सम्मेलन आयोजना गरिएको जानकारी दिनुभयो । “पाँच हजार छ सय ५३ मिटरको उचाइमा आयोजित यो सम्भवतः पहिलो पत्रकार सम्मेलन हो, यहाँबाट हामीले विश्वलाई जलवायु परिवर्तनको अवस्थाबारे बुझाउने अपेक्षा गरेका छौँ”, अध्यक्ष लामाले भन्नुभयो । कम्पनीका प्रबन्ध निर्र्देशक फुर्बा ग्याल्बो मोक्तान (थुप्तेन)ले जलवायु परिवर्तनले सबैभन्दा बढी हिमाली क्षेत्र प्रभावित भएको उल्लेख गर्दै हिमाल बचाउनका लागि ढिला गर्न नहुनेमा जोड दिनुभयो । “जलवायु परिवर्तनबाट विशेष गरी मुलुकको पर्यटन क्षेत्रमा ठूलो असर परिरहेको छ, हिमालबाट हिउँ हराउन थालेको छ, सेता हिमाल काला पहाडमा परिणत हुन थालेका छन् । यो क्षेत्रलाई बचाउन सकिएन भने पर्यटन क्षेत्रलाई बचाउन सकिँदैन, आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत यो सन्देश हामी विश्व समुदायलाई दिन चाहन्छौँ”, उहाँले भन्नुभयो । प्रबन्ध निर्र्देशक मोक्तानले जलवायु परिवर्तनको असरका कारण सदियौँदेखि जमेका हिमतालहरु फुट्ने क्रम सुरु भएको, अधिक र न्यून वर्षा हुन थालेको, बाढीपहिरो जस्ता प्राकृतिक विपद् बढ्ने क्रममा रहेको उल्लेख गर्नुभयो । लुक्लाका पर्यटन व्यवसायी, समाजसेवी तथा स्टार युथ क्लबको केन्द्रीय अध्यक्ष एवं समाजसेवी नाम्गेल शेर्पाले जलवायु परिवर्तनबाट यो क्षेत्र सबैभन्दा बढी प्रभावित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “गत वर्षको कात्तिकमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यही क्षेत्रमा आएर जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाउनुभएको थियो । यस वर्ष हामी खुम्बुवासीले यसबारे आवाज उठाएका छौँ ।” पत्रकार सम्मेलनमा उपस्थित आरोही मिङ्मा तेञ्जी शेर्पाले आफू १७ वर्षदेखि हिमालमा काम गरिरहेको बताउँदै जलवायु परिवर्तनले हिमाली क्षेत्रमा असर देखिन थालेको उल्लेख गर्नुभयो । “मैले सन् २००७ मा काम सुरु गर्दा र अहिलेको अवस्थामा धेरै फरक देख्न सकिन्छ । जलवायु परिवर्तनका कारण मौसम अस्थिर भएको छ । केही समयअघि खुम्बु क्षेत्रको थामेमा ठूलो विपद् आयो, पहिले हिउँमा आरोहण गर्ने गरेकामा अहिले ढुङ्गा र माटोमाथि आरोहण गर्नुपरेको छ । तसर्थ हिमाल जोगाउन र जलवायु परिवर्तनका असर न्यूनीकरणमा हातोमालो गर्न विश्व समुदायको ध्यानाकर्षण हुन जरुरी छ”, उहाँले भन्नुभयो । वरिष्ठ पर्यटन व्यवसायी मिङ्मा दोर्जी शेर्पा र पर्यटन व्यवसायी एवं आरोही मिङ्मा शेर्पासँगको सहकार्यमा एएमएस म्युजिक एण्ड इन्टरटेन्मेन्टले अवार्ड आयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । कम्पनीले हालसम्म स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गर्दै आएको जनाएको छ । हालसम्म कम्पनीले जापान, मालदिभ्स, दुबईमा कार्यक्रम गरिसकेको छ ।
काठमाडौं: उडान अनुमति नलिई काठमाडौँ आएको थाई एयर एसियाको विमानलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको छ । थाइल्याण्डबाट काठमाडौँ आएको उक्त विमानलाई अवतरण गर्न दिएर कारबाही गरेको हो । करिब एक घण्टा ‘होल्ड’ भएपछि विमान काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार थाई एयर एसियाको उडान तत्कालका लागि निलम्बन गरिएको छ । नेपालको आधिकारिक एजेन्ट (जीएसए) पनि रद्द भएको छ । सूचना अधिकारी भूलले थाई एयर एसियाको उक्त विमानको शनिबारसमम्म मात्रै उडान अनुमति रहेकाले आजको उडानलाई ‘विशेष चार्टर्ड’ उडानको अनुमति दिइएको जानकारी दिनुभयो । “विमानलाई धेरै समय होल्डिङ गर्दा सुरक्षाको विषय पनि आउछ”, उहाँले भन्नुभयो, “यात्रुको सुरक्षा र मानवीयताको कारणले आजको उडानलाई अनुमति दिएर विमान अवतरण गरिएको हो । अब, तत्कालको लागि नेपालको सम्पूर्ण अनुमति रद्द गरिएको छ । जिएसए पनि रद्द भएको छ ।” विशेष चार्टर्ड उडान अनुमति पाएको सो विमानले काठमाडौँबाट आजै यात्रुलिएर बैंकक फर्किने विमानस्थल कार्यालयले जनाएकोछ । थाई एयर एसियाले अक्टोबर २६ अर्थात् कात्तिक १० गतेसम्मका लागि मात्रै उडान अनुमति लिएको थियो । प्राधिकरणले आजदेखि अन्तर्राष्ट्रिय उडानको ‘विन्टर सेड्युल’ बनाएको थियो । अनुमति नलिई विमान अवतरण गर्न खोजेपछि प्राधिकरणले कारबाही गरेको हो । प्राधिकरणले (२७ अक्टोबर २०२४ देखि ३१ मार्च २०२५) सम्मको उडान तालिका सार्वजनिक गरेको छ । थाई एयर एसियाले गत असोज १६ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनःउडान सुरु गरेको थियो ।
काठमाडौँ : उद्योगी व्यवसायीले नेपाल विद्युत् प्राधिकरणले उद्योगको लाइन काटेकोप्रति दुःख जनाउँदै काटिएको लाइन तत्काल जडान गरी सहज रुपमा व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन ऊर्जामन्त्री र उद्योगमन्त्रीसँग आग्रह गरेका छन् । उद्योगी व्यवसायीले आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई संयुक्त रुपमा भेटेर प्राधिकरणले काटेको लाइन तत्काल जडान गर्न पहल गर्नुपर्ने माग गरेका हुन् । भेटका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष एवं उद्योगी पशुपति मुरारकाले विद्युत् प्राधिकरणले पटकपटक विद्युत् लाइन काटेर उद्योगीमाथि अन्याय गरेको बताउनुभयो । उहाँले प्राधिकरणले विद्युत् महसुलसम्बन्धी प्रमाण दिए आफूहरुले शुल्क तिर्ने उल्लेख गर्नुभयो । ऊर्जामन्त्री खड्काले उद्योगमा विद्युत् कटौती भएको विषयमा ऊर्जा मन्त्रालय, विद्युत् नियमन आयोग, नेपाल विद्युत् प्राधिकरणलगायत सरोकार भएका निकायसँग छलफल गरी यथाशीघ्र समस्या समाधानको पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले उद्योगीले प्रयोग गरेको लाइनबापतको रकम तिर्नुपर्ने भन्दै प्राधिकरणले पनि लाइन काट्न नहुने धारणा राख्नुभयो । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री भण्डारीले ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ विद्युत्को बारेमा लाल आयोगले अध्ययन गरिसकेकाले उक्त आयोगको प्रतिवेदनलाई कार्यान्वयन गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले मुलुकको अर्थतन्त्र मन्दीमा रहेका बेला उद्योगको लाइन काट्दा थप समस्या उत्पन्न हुनसक्ने भएकाले यथाशीघ्र समस्याको समाधान गर्न विभागीय मन्त्रालय लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा ऊर्जा मन्त्रालयका सचिवद्धय सुरेश आचार्य र सरिता दवाडी, मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारीलगायत मन्त्रालयका उच्च पदस्थ अधिकारी एवं उद्योगी व्यवसायीको सहभागिता थियो ।
चितवन: जिल्लाको माडी र पर्साको ठोरी क्षेत्रका बस्तीमा हात्ती छिर्न थालेपछि सावधानी अपनाउन चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले आग्रह गरेको छ । यस क्षेत्रमा जङ्गली हात्ती देखिएकाले रातको समयमा एक्लै हिँडडुल नगर्न स्थानीयलाई निकुञ्जले अनुरोध गरेको हो । यस क्षेत्रमा विगत एक सातादेखि जङ्गली हात्ती समूहमा देखिन थालेकाले आवश्यक सावधानी अपनाउन स्थानीयलाई अनुरोध गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले बताउनुभयो । उहाँका अनुसार धान पाक्ने समयमा धान खान आएका हात्ती माडी र ठोरी क्षेत्रमा देखिएका हुन् । हात्तीका कारण रातको समयमा हिँडडुल गर्दा मानवीय क्षति हुनसक्ने भएकाले एक्लै नहिँड्न र हिँड्नै परेमा उज्यालो बनाएर, समूहमा तथा चनाखो भएर हिँड्न निकुञ्ज प्रशासन भनेको छ । हात्ती समूहमा छिर्ने र फरकफरक ठाउँमा गएर नागरिकलाई आक्रमण गर्ने, अन्नबाली नष्ट भएको सूचना अधिकारी थापामगरले बताउनुभयो । धानखेती भित्र्याउने समयमा समूहमा हात्ती आउँदा स्थानीय त्रसित हुने गरेका छन् । नेपालबाट भारत र भारतबाट नेपालमा समयसमयमा जङ्गली हात्ती आवतजावत गर्ने गरेकाले पनि बस्ती असुरक्षित बनेको उहाँले बताउनुभयो । “जङ्गली हात्तीलाई लखेट्न निकुञ्जका कर्मचारी र सुरक्षार्थ खटिएको नेपाली सेनाको टोली परिचालन गरिएको छ”, सूचना अधिकारी थापामगरले भन्नुभयो, “हात्ती भगाउन ढ्याङ्ग्रो ठटाउने, राँको बाल्नेलगायत काम गर्दै आएका छौँ । हात्ती हिंश्रक भएमा प्लाष्टिकको गोलीले हवाई फायरसमेत गर्ने गरी तयारी अवस्थामा छौँ ।”
दाङ: दाङको राप्ती लोकमार्ग अन्तर्गत तुलसीपुर बजार क्षेत्रमा सडक मापदण्डको विषयलाई लिएर स्थानीय बासिन्दाले तुलसीपुर उपमहानगरपालिका समक्ष पुनः ध्यानाकर्षण गराएका छन् । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्कालाई बुझाइएको ध्यानाकर्षण पत्रमा उनीहरुले सडकका लागि १५ मिटर वा २५ मिटर छाड्नुपर्ने विषयले अन्यौल सिर्जना गरेको राप्ती राजमार्ग सरोकार मञ्चका अध्यक्ष नवराज लामिछानेले बताउनुभयो । उहाँका अनुसार सोही सडक वीरेन्द्र चोकदेखि टरिगाउँ एयरपोर्टसम्मका सडक दायाँबायाँ तर्फका बासिन्दा मारमा परिरहेका छन् । अहिले सडकको दायाँबायाँ १५ मिटर छाडेको भए पनि त्यसमा सडक पनि नबनेको र खाल्डाखुल्डीले मानवीय क्षति पुगिरहेको भन्दै यसमा सरकारले ध्यान दिनुपर्ने पत्रमा उल्लेख छ । अहिले फेरि २५ मिटर सडक र ६ मिटर फुटपाथका लागि छोड्नुपर्ने कुरा उठिरहेको भन्दै यसले झनै अन्यौल थपेको लामिछानेको भनाइ छ । यसमा अन्यौल हुँदा घर भाडामा लगाउन नसकेको, घरजग्गा बिक्रीमा समस्या हुने गरेको, बैंक ऋणसमेत पाउन नसेकेको, घरको नक्सा पाससमेत रोकिएको अवस्था रहेको उहाँको भनाइ छ । सडकमा स्तरोन्नति समयानुकूल हुनुपर्ने, कालोपत्रको दायाँबायाँ नाला निर्माण हुनुपर्ने, १५ मिटरभित्रका खाल्डा पुर्नुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ । सो पत्रमा तुलसीपुर उपमहानगरपालिका–५ र ६ का सातवटा टोल विकास संस्थाका दुई सय ९४ जनाले संयुक्तरुपमा हस्ताक्षर गरेका छन् । यदि सडक विस्तार गर्नुपर्ने अवस्था आएमा नक्सा पास गरेर बनेका घरलाई मुआब्जा दिनुपर्ने समेत सङ्घर्ष समितिको भनाइ थियो । त्यस अवसरमा सडक डिभिजन कार्यालय दाङका प्रमुख दीपेन्द्रबहादुर विष्टले देशभरका राष्ट्रिय राजमार्गमा २५ मिटर सडकका लागि ६ मिटर फुटपाथका लागि छोड्नुपर्ने मापदण्ड रहेको बताउनुभयो । उहाँले लोकमार्गका खाल्डाखुल्डी पुर्ने काम भने विगतमा पनि भएकाले त्यसलाई निरन्तरता दिने बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले राप्ती लोकमार्ग सङ्घीय सरकारको कार्यक्षेत्रभित्र पर्ने भएकाले आफूहरुले समन्वयको भूमिका खेल्ने बताउनुभयो । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्र प्रमुख शिवनारायण गोशलीले सडको स्तरोन्नति हुँदा विद्युत्का संरचना हटाउने प्रतिबद्धता जनाउनुभयो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको उपयोग जीवनलाई सहज र सरल बनाउने काममा गराउन सरकार लागिपर्ने बताउनुभएको छ । युवासङ्घ नेपालले आज आयोजना गरेको ‘आर्टिफिसियल इन्टेलिजेन्स् (एआइ)सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ मा विज्ञसँगको संवादमा सहजकर्ताका रुपमा भूमिका निर्वाह गर्दै प्रधानमन्त्री ओलीले विकास, प्रगति र सहज जीवनका लागि यसको उपयोग गर्नुपर्नेमा जोड दिनुभएको हो । “विकासको तिर्खाबाट हामी ग्रस्त छौँ । त्यसका लागि डिजिटल नेपालको अवधारणा ल्याऔँ । हामीले आर्टिफिसियल इन्टेलिजेन्स्को सकारात्मक उपयोग गर्नुपर्छ । यसको दुरुपयोगबाट हुन सक्ने दुष्प्रभाव रोक्न सचेतना र कानुनी प्रबन्धमा पनि जानुपर्छ ।” प्रधानमन्त्री ओलीले भन्नुभयो, “एसईईमा धेरै विद्यार्थी अनुत्तीर्ण हुने क्रमबाट सुधार ल्याउनुछ । यस्ता क्षेत्रमा एआईको उपयोग कसरी गर्न सकिन्छ र नेपाललाई एआई एजुकेसनको केन्द्र कसरी बनाउने भन्नेमा हाम्रो ध्यान रहेको छ ।” उहाँले आटिर्फिसियल इन्टेलिजेन्स्सम्बन्धी नीति र योजना ल्याउने जानकारी पनि दिनुभयो ।
काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले विदेशमा रहेका नेपालीले आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई मातृभूमिको उन्नयनमा उपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अमेरिकाद्वारा वासिङ्टनमा हालै आयोजित कार्यक्रममा उहाँल नेपालका प्राकृतिक साधन, स्रोत र सम्पदाको अधिकतम उपयोग गरेर ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न विदेशी माटोमा आर्जन गरेका ज्ञान, सीप र पुँजी परिचालन गर्नुपर्नेमा जोड दिनुभएको हो । महासङ्घका अनुसार अध्यक्ष ढकालले कृषि, जलविद्युत्, पर्यटन, सूचना प्रविधि तथा अन्य पूर्वाधारका क्षेत्रमा लगानीका प्रशस्त सम्भावना रहेकाले ढुक्क भएर लगानी गर्न गैरआवासीय नेपालीलाई आग्रह गर्नुभयो ।
म्याग्दी : मालिका गाउँपालिकाको छ सय बढी घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरणले मालिकाको वडा नम्बर १ छिस, रिठेचौर, २ को रुम, बेली, जेम, घाङ्लेपानी, वडा नम्बर ३ को लुप्सीपार, पात्ले, खतेन र ४ नम्बर वडाको ओखरबोटमा विद्युतीकरण गरेको हो । मालिका–२ रुम, बेली, जेम, घ्याङ्लेपानीमा दुई ५६, मालिका–३ खतेनमा ५०, लुप्सीपारमा ५४, पात्लेका एक सय २०, मालिका–४ ओखरबोटमा एक सय दुई घरमा बिजुली बलेको नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रका सूचना अधिकारी प्रकाश झाले जानकारी दिनुभयो । प्राधिकरणको विद्युतीकरण कार्यक्रमअन्तर्गत पहिलो चरणमा मालिकाका चारवटा वडामा बत्ती बलेको हो । म्याग्दीका १४ स्थानका दुई हजार एक ८३ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सुविधा विस्तारका लागि रु २२ करोड बजेटको योजना सञ्चालन भएको छ । घ्याङलेपानीबाहेकका बस्तीका बासिन्दाले यसअघि उज्यालोका लागि लघुजलविद्युत् परियोजनाको विद्युत् प्रयोग गरेका थिए् । वर्षौँको प्रयासपछि बिजुली बलेपछि स्थानीयमा खुसीयाली छाएको मालिका–३ का वडाध्यक्ष मोतिप्रसाद बुढाले बताउनुभयो । मालिका गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने पात्ले, लुप्सीपार, किटेनी, डाडागाउँ, औला, सेउलीबाङ, अदिभारा, इग्रे, खतेन बस्तीका तीन सय २५ घरमा विद्युतीकरण भएको उहाँले बताउनुभयो । केन्द्रीय लाइनको विद्युत् सुविधा भएपछि स्थानीयलाई घरायसी कामकाज गर्न, विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन र सार्वजनिक सेवा प्रवाहमा सहज भएको मालिका–३ पात्लेकी बालकुमारी रोकाले बताउनुभयो । विद्युत् सुविधा विस्तारका लागि ४७.६ किलोमिटर मुख्य, एक सय २६ किलोमिटर शाखा लाइन विस्तार र २० वटा ट्रान्सफर्मर जडान गर्न २०८० असोजमा रविन्द्र÷ढुङ्गाना जेभीसँग रु तीन करोड ५४ लाखमा ठेक्का सम्झौता भएको थियो । सोही ठेक्कामार्फत मुख्य, शाखा लाइन विस्तार गर्न पोल गाड्ने, तार तान्ने, ढुवानी गर्ने, ट्रान्सफर्मर ढुवानी र जडान गरिएको हो । मिटरबक्स जडान र वायरिङको काम उपभोक्ता आफैँले गरेका हुन् । आर्थिक वर्ष २०८०/८१ मा म्याग्दीका ११ स्थानमा एक हजार चार सय ३८ उपभोक्ता थपिएका विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले बताउनुभयो । गत वर्ष थपिएकासहित केन्द्रमा २३ हजार ग्राहक छन् । –––

