पोखरा:   थारू आयोग, नेपालले गण्डकी प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगकी सदस्य शान्ति मोदीले बिहीबार एक कार्यक्रमबीच प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो । ...

बाँके:    बाँकेको नरैनापुर गाउँपालिका–३ कालाफाँटास्थित गेगली गाउँ निवासी ३८ वर्षीया उषा पासी यही भदौ १० मा बिरामी पर्नुभयो । घरमै निको होला भन्दाभन्दै दुई दिनपछि उहाँको निधन भयो । श्यामलाल पासीको घरमा देखिएको झाडापखाला, ज्वरो र टाउको दुख्ने समस्या त्यत्तिमै रोकिएन । यस्तै लक्षणबाट सङ्क्रमित हुनुभएकी ६५ वर्षीया शान्ति पासीको भदौ १४ मा निधन भयो, यसको दुई दिनपछि भदौ १६ मा १२ महिनाकी नन्दनी पासीको पनि निधन भएपछि यतिबेला श्यामलाल विक्षिप्त हुन पुग्नुभएको छ । पाँच दिनको अवधिमा बुहारी उषा, भाउजु शान्ति र नातिनी नन्दनीको निधन भएपछि उहाँ अहिले घरको बाहिरै टोलाएर बस्ने गर्नुहुन्छ । “सोच्दै नसोचेको दुःख व्यहोर्नुपर्यो, घरमै ठिक होला भन्दाभन्दै भएन, अचानक पीडामाथि पीडा थपिएको छ”, उहाँले भन्नुभयो, “स्वास्थ्य सस्थामा लैजान पनि नपाउँदै घरमै तीनजनाको निधन भयो ।” श्यामलालको एकैघरका तीन सदस्यसहित गेगली गाउँकै १० वर्षीय युसुफ शेखकोे पनि भदौ १२ गते मृत्यु भएपछि गेगली गाउँवासी शोक र भयमा छन् । गाउँका अन्य नागरिकमा सङ्क्रमण फैलिन नदिन नरैनापुर गाउँपालिका स्वास्थ्य शाखाले सोमबार बिहानैदेखि गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेपछि त्रास हट्दै गएको स्थानीय जाहिद अलि शेखले बताउनुभयो ।  स्वास्थ्य शिविरमा श्यामलालले पनि स्वास्थ्य जाँच गर्नुभयो । स्वास्थ्य अवस्था सामान्य रहेकाले स्वास्थ्यकर्मीले जीवनजल र पानी शुद्धीकरणका लागि पियुस उपलब्ध गराएको उहाँले बताउनुभयो ।  अचानक झाडापखाला, पेट दुख्ने र ज्वरो आउने समस्या देखिनासाथ घरमा उपचार गर्दागर्दै परिवारका तीन सदस्यको मृत्यु भएपछि श्यामलालले बुढेसकालमा ठूलो दुःख व्यहोर्नुपरेको छ । श्यामलालको एकै घरको तीनजनासहित गेगली गाउँमा एक हप्ताको बीचमा चारजनाको मृत्यु भएपछि सोमबार बिहानदेखि नरैनापुर गाउँपालिका स्वास्थ्य शाखाबाट खटिएको स्वास्थ्य टोलीले स्थानीय मन्दिर प्राङ्गणमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो ।  तीन सय ६५ नागरिकको स्वास्थ्य जाँच गर्दा अहिले गाउँका तीनजनामा मात्रै झाडापखालाको समस्या देखिएकाले अवस्था सामान्य रहेको कालाफाँटा स्वास्थ्यचौकीका प्रमुख मोहम्मद तैयब राइनले जानकारी दिनुभयो ।  “झाडापखालाको जोखिमको जानकारी पाउनासाथ हामी यहीँ छौँ, अहिले अवस्था सामान्य छ”, उहाँले भन्नुभयो, “स्वास्थ्य जाँचका क्रममा झाडापखाला देखिएका तीनजनामध्ये दुईजना अहिले उपचारपछि घर फर्किनुभएको छभने एकजनालाई भेरी अस्पतालमा पठाइएको छ ।” भारतीय सीमासँग जोडिएको गेगली गाउँमा झाडापखालाबाट भदौ १२ गते स्थानीय ३८ वर्षीया उषा पासी र १२ वर्षीय युसुप शेखको निधन भएको थियो । भदौकै १४ गते ६५ वर्षीया शान्ति पासी र १६ गते आइतबार १२ महिनाकी बालिका नन्दनी पासीको मृत्यु भएको नरैनापुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले बताउनुभयो ।  उहाँले मृत्यु भएकामध्ये उषा, नन्दनी र शान्तिमा विषाक्त खानाको असरका कारण झाडापखालाको आशङ्का गरिएको बताउनुभयो । युसुपमा ज्वरो आउने समस्या देखिएकाले झाडापखालाबाटै मृत्यु भएको भन्न सकिने अवस्था नरहेको स्वास्थ्य शाखा प्रमुख साहको भनाइ छ ।  झाडापखाला फैलिएको सूचना आएपछि गाउँपालिका स्वास्थ्य शाखाले सोमबार बिहानैदेखि गेगली गाउँमा खुला स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । शिविरमा जाँचका लागि आएका तीन सय ६५ नागरिकलाई स्वास्थ्य अवस्थाअनुसार जीवनजललगायत औषधि वितरण गरिएको उहाँले जानकारी दिनुभयो । स्थानीय ताज मोहम्मद खानले अझै पनि गाउँका मानिस बेलैमा उपचार गर्न स्वास्थ्य संस्था नगई घरेलु विधि अपनाउँदा अकालमै ज्यान जाने अवस्था रहेको बताउनुभयो ।  

पर्वत:    मोदी गाउँपालिका–६ थामर्जुङका बासिन्दाले देउसीभैलो खेलेर सङ्कलन गरेको रकमले सडक ढलान गरेका छन् । गाउँ जोड्ने सडक कच्ची र जीर्ण हुँदा पनि मर्मत र स्तरोन्नतिका लागि कुनै पनि निकायले सहयोग  नदिएपछि देउसीभैलो खेलेर सङ्कलन गरेको रकमले सडक ढलान गरेका हुन् । डिमुवा–तिलाहार–थामर्जुङ सडकको स्तरोन्नतिका लागि स्थानीय मोदी गाउँपालिकाका साथै कुनै राजनीति दल तथा सङ्घ र प्रदेश सरकारको समेत प्राथमिकतामा नपरेपछि देउसीभैलो खेलेर रकम सङ्कलन गरिएको स्थानीयले बताएका छन् ।  बाढीपहिरोका कारण सडक सुविधाबाट गाउँ नै वञ्चित भएपछि गाउँले मिलेर देउसीभैलो कार्यक्रम सञ्चालन गरेका थिए । थामर्जुङमा एक सय ५५ घरपरिवार छन् । सोही गाउँमा खेलिएको देउसीभैलोबाट गत वर्षको तिहारमा रु १० लाख सङ्कलन भएको स्थानीय चन्द्रबहादुर नेपालीले बताउनुभयो ।  विभिन्न निकायमा सडक स्तरोन्नतिका लागि हारगुहार गर्दा पनि सुनुवाइ नभएपछि गाउँवासी आफैँ जुटेर ढलान गरिएको उहाँले बताउनुभयो ।   “पालिका, प्रदेश र सङ्घीय सरकारमा हाम्रो पहुँच पुगेन, अन्य सामाजिक कार्य गर्न देउसी खेलेर सङ्कलन गरेको रकम सडक ढलानमा खर्च गरेका छौँ”, स्थानीय नम्रता बस्यालले भन्नुभयो । उहाँले बिरामी उपचारका लागि अस्पतालसम्म लैजान समस्या भएपछि गाउँवासीको सक्रियतामा सडक ढलान गरेपछि अहिले सहज भएको बताउनुभयो ।  स्थानीयले देउसीभैलो खेलेर सङ्कलन गरेको रु १० लाख र गाउँपालिकाको सहलगानी कोषबाट रु १५ लाख गरी रु २५ लाख लागतमा सडक ढलान गरिएको हो ।  गाउँपालिकाको कोषले बजार क्षेत्रमा मात्र सडक स्तरोन्नतिको काम गर्ने लक्ष्य भए पनि गाउँमा जान समस्या भएको गुनासो आएपछि उक्त क्षेत्रमा पनि साझेदारी गरेर सडक ढलान गरिएको मोदी गाउँपालिका–६ का वडाध्यक्ष दीपेन्द्रजङ्ग लामिछानेले जानकारी दिनुभयो । अन्य वडाबाट साझेदारी रकम नआएपछि उक्त वडामा मात्र ढलान गरिएको लामिछानेले बताउनुभयो ।  उक्त रकमवाट झण्डै दुई सय मिटर सडक ढलान गरिएको छ । सडक ढलान गरेपछि बाह्रैमास सहज रूपमा सवारीसाधन सञ्चालन भइरहेका छन् ।  विगत वर्षहरूमा वर्षायामका चार महिना सडक सुविधाबाट वञ्चित हुने थामर्जुङ गाउँमा अहिले बाह्रैमास सवारी चलाउन सकिने वडाध्यक्ष लामिछानेले जानकारी दिनुभयो । स्थानीयको समेत साझेदारीमा निर्माण गरिएकाले कामको गुणस्तर उत्कृष्ट रहेको उहाँको भनाइ छ ।  झण्डै तीन किलोमिटर लामो तिलाहार–थामर्जुङ सडकको अन्य भागको स्तरोन्नतिका लागि पनि पालिका र प्रदेश सरकारसँग बजेट माग गरिएको वडाध्यक्ष लामिछानेले बताउनुभयो । देउसीभैलो खेलेर सडकमा लगानी गरेको यो जिल्लामै नमूना कार्य भएको उहाँले बताउनुभयो । 

बागमति:   बालबालिकालाई बालश्रमिकका रूपमा काममा लगाउने ३५ उद्योग प्रतिष्ठान तथा रोजगारदातालाई श्रम तथा रोजगार कार्यालय हेटौँडाले कारबाही गरेको छ ।   आर्थिक वर्ष २०८०/८१ मा ९५ उद्योग प्रतिष्ठान गरिएको अनुगमनका क्रममा बालबालिकालाई बालश्रमिकका रूपमा काममा लगाउने ३५ प्रतिष्ठान तथा रोजगारदातामाथि कारबाही गरेको हो ।   कार्यालयका प्रमुख छन्दनारायण श्रेष्ठका अनुुसार ती प्रतिष्ठान तथा रोजगारदातामाथि कारबाही गरी रु ६१ हजार एक सय जरिवाना तथा रु तीन लाख ९१ हजार दुई सय ५६ जरिवाना गराइएको छ ।  सो अवधिमा विभिन्न उद्योग प्रतिष्ठानबाट बालश्रमिकका रूपमा रहेका ३५ जना बालबालिकाको उद्धार गरिएको कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो ।  आव २०८०/८१ मा दुई सय ३५ प्रतिष्ठानमा अनुगमन गर्दा अधिकांश ठूला उद्योग प्रतिष्ठानमा न्यूनतम पारिश्रमिकलगायत श्रम कानुनको पालना गरिएको पाइए पनि साना उद्योग प्रतिष्ठानमा नियुक्तिपत्र, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा, व्यवसायजन्य सुरक्षाको अवस्था कमजोर रहेको पाइएको प्रमुख श्रेष्ठले बताउनुभयो ।  अनुगमनका क्रममा कमजोर पाईएका उद्योग प्रतिष्ठानलाई सुधार गर्न निर्देशन दिइएको र श्रमिक तथा व्यवस्थापकलाई समेटेर सचेतनामूलक कार्यक्रमसमेत गरिएको उहाँले बताउनुभयो ।  सो कार्यालयमा हाल होटल, उद्योग, वर्कसप गरी ५० वटा उद्योग प्रतिष्ठान सूचीकृत रहेको र एक सय ५० प्रतिष्ठानलाई सूचीकृत हुन ताकेता गरेको कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो ।  कार्यालयमा धेरैजसो उजुरी पारिश्रमिक नपाएको सम्बन्धी आउने गरेको उहाँले बताउनुभयो । सो अवधिमा पारिश्रमिकसम्बन्धी ७९ उजुरी दर्ता भएकामा ६०  उजुरी कार्यालयको पहलमा प्रत्यक्ष वार्तामार्फत समाधान गरिएको र बाँकी १९ उजुरी समाधानको प्रक्रियामा रहेको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै यस अवधिमा मकवानपुर, चितवन, सिन्धुलीमा विभिन्न सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो । 

बाँके:    शरीरमा पानीको कमीले भएकाले एकैपरिवारका तीनसहित एकजना बालकको चार मृत्यु भएको पुष्टि भएको छ ।  स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी एवं महामारी रोगका ‘फोकल पर्सन’ नरेन्द्र श्रेष्ठले नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँमा एकै परिवारका एक बालकसहित चार जनाको शरीरमा पानीको कमी भएकाले मृत्यु भएको जानकारी दिनुभयो ।         “मृतकका परिवारले स्वास्थ्यकर्मीलाई दिएको रोगको लक्षणका आधारमा जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार झाडापखालाका कारण शरीरमा पानीको मात्रा कमी हुनाले ७२ घण्टामा चार जनाको मृत्यु भएको हो”, फोकल पर्सन श्रेष्ठले भन्नुभयो ।      नरैनापुर गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नागेन्द्र शाहले भन्नुभयो, “हामीले मृतकको उपचार गर्न समय पाएनौँ । मृतकका आफन्तका अनुसार मृतक चारैजनालाई झाडापखाला भएको समयमा जीवनजललगायत अन्य झोलिलो पिउने पदार्थको अभाव भएको थियो ।”  स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा झाडापखाला भई शरीरमा पानीको मात्रा कमी भएकाले निजहरुको मृत्यु भएको पुष्टि गरेको उहाँले बताउनुभयो ।   यो पनि पढ्नुहोस   बाँकेमा अज्ञात रोगका कारण चार जनाको मृत्यु      यही भदौ १४ गतेदेखि फैलिएको झाडापखाला महामारीका रुपमा भने नरहेको स्वास्थ्य शाखाका प्रमुख शाहले जानकारी दिनुभयो । नरैनापुर–३ स्थित गेग्लीका श्यामलाल पासीको घरमा पहिलोपटक झाडापखालाको सङ्क्रमण देखिएको थियो ।  उहाँका अनुसार ज्वरो आउने, पेट दुख्ने, टाउको दुख्ने र एकदिनमा तीनदेखि चार पटकसम्म पातलो दिसा भएकाले शरीरमा पानी अपुग हुन गई पासीको एकैघरका तीन जनाको मृत्यु भएको हो ।       स्वास्थ्य शाखा प्रमुख शाहले मृतकलाई आफन्तले बिरामी हुँदा भारतीय क्लिनिकमा उपचार गराएको र सोही क्रममा मृत्यु भएको जानकारी दिनुभयो । मृत्यु भएपछि मात्रै जिल्ला स्वास्थ्य कार्यालयलाई जानकारी प्राप्त भएको उहाँले बताउनुभयो ।       शाहले गेग्लीमा एकैदिनमा झाडापखालाबाट कसैको पनि मृत्यु नभएको जानकारी दिँदै भन्नुभयो, “एकै परिवारका ७५ वर्षीय शान्ति पासी, उहाँकी २६ वर्षीया बुहारी उषा पासी र सोही परिवारकी एक वर्षकी नाबालिकाको क्रमशः भदौ १४, १५ र १६ गते मृत्यु भएको हो ।” उहाँले एकैदिन तीन जनाको मृत्यु नभएको जानकारी दिनुभयो ।      स्वास्थ्य शाखा प्रमुख शाहले मृतकका आफन्तले समयमा उपचार नगराएका भन्दै परिवारको लापरबाहीका कारण चार जनाको ज्यान गएको बताउनुभयो ।  “समयमै जाँच गरेको भए रोग पहिचान भइएर उपचार हुन्थ्यो”, उहाँले भन्नुभयो, “परिवारको लापरबाहीले गर्दा अकालमा ज्यान गएको छ । चेतनाको कमीले गर्दा यस्तो घटना भएको हो ।”      नरैनापुर–३ कालाफाँटा स्वास्थ्य संस्थाका प्रमुख मो तैयब राइनले गेग्लीमा झाडापखाला फैलिएको जानकारी पाउनेबित्तिकै आवश्यक औषधिसहितको टोली परिचालित गरिएको बताउनुभयो । गाउँमा अहिले दुई बालबालिकामा पखाला पुष्टि भएको बताउँदै एकको स्थानीयस्तरमा र एकजनाको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।      प्रमुख राइनले भन्नुभयो, “महामारीका रुपमा फैलिएको हो कि भनेर पालिकाले स्वास्थ्य शिविर आयोजना गरी परीक्षण गरेको छ । शिविरमा आएकामध्ये अधिकांशमा अधिकांश ज्वरो आउने, पेट दुख्ने, टाउको दुख्नेलगायत समस्या देखिए पनि यो समस्या मौसम परिवर्तनका कारण भएको हो ।” सोमबारको शिविरमा दुईजनामा झाडापखाला पुष्टि भएको उहाँले जानकारी दिनुभयो ।      नरैनापुरमा भेटिएका झाडापखालामा हैजाजन्य किटाणु नभएको भेरीमा उपचाररत बिरामीको जाँचबाट खुलेको स्वास्थ्य शाखा प्रमुख अङ्गत शाहीले जानकारी दिनुभयो ।  गाउँपालिकाले गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरी पानी शुद्धीकरणका लागि आवश्यक औषधि वितरण गरेको छ । भेरी अस्पतालमा दैनिक झाडापखालाका पाँचरछ जना बिरामी आउने गरेका अस्पतालका मेसु डा प्रकाशबहादुर थापाले जानकारी दिनुभयो ।

कञ्चनपुर:    जिल्लाको बेलौरी नगरपालिका–७ वर्का सिङ्पुरका स्थानीयको उखुबारीबाट ब्रुमाइज पाइथान (अजिङ्गर)को उद्धार गरिएको छ ।       मध्य ब्रुमाइज पाइथन (अजिङ्गर) प्रजातिको अजिङ्गरको आज साँझ उखुबारीबाट उद्धार गरी स्थानीयले सिंहपाल सामुदायिक वन क्षेत्रमा लगेर छाडिएको सामुदायिक वनका अध्यक्ष पविराम थारुले जानकारी दिनुभयो ।  बेलौरी–३ का वडा सदस्य कमानसिंह चौधरीका अनुसार उद्धार गरिएको अजिङ्गरको तौल ३५ किलो र लम्बाइ १३ फिट रहेको छ ।       अजिङ्गर आहाराको खोजीमा बस्ती नजिकको उखुबारीमा आएको हुनसक्ने सामुदायिक वनका अध्यक्ष थारुले बताउनुभयो । वन क्षेत्रमा रहेका तालतलैया र सीमसार क्षेत्र संरक्षण गरिएपछि अजिङ्गरलगायत सरिसृपको सङ्ख्या बढ्दै गएको उहाँले जानकारी दिनुभयो । 

काठमाडौं:    हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।  मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छभने बागमती प्रदेशका केही  स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।  कोशी, मधेस, बाग्मती, गण्डकी र कर्णाली  प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका केही तथा बागमती, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक ÷दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, लुम्बिनी र बाग्मती प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको थोरै भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।  कोशी प्रदेशका थोरै तथा बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढीपहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउ विभागले अनुरोध गरेको छ ।

काठमाडौं:   सिन्धुपाल्चोक जिल्लाको शिखरपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६ः११ बजे सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर चार दशमलव दुई रेक्टरस्केलको भूकम्प गएको हो ।  यसअघि यही भदौ १५ गते मनाङको थोचे आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । 

पोखरा:  संरक्षण, सम्वद्र्धन र विकासका माध्येमबाट विश्वसामु परिचित हुन सफल सामुदायिक वनलाई समृद्धिसंग जोडन मौजुदा नीति बाधक बनेको आज यहाँ आयोजित एक कार्यक्रमका सहभागिले बताएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल टिएफ परियोजना लागु भएका गण्डकी र लुम्विनी प्रदेशका पालिका प्रमुखहरुका लागि पोखरामा आयोजित प्राकृतिक श्रोत उपयोग सम्वन्धि स्थानीय सरकारसंग नीतिगत छलफल कार्यक्रमका सहभागिहरुले प्राकृतिक श्रोत उपयोगमा सर्वसुलभ नीतिको खाँचो औल्याएका हुन ।  सामुदायिक वन व्यवस्थापनको जिम्मेवारी स्थानीय सरकारलाई दिनुपर्नेमा संघ र प्रदेश सरकारसंग सामुहिक माग गर्दै सहभागिहरुले उपयुक्त नीतिको अभावका कारण प्राकृतिक श्रोतलाई उद्यम र रोजगारीसंग जोडन अप्ठेरो परेको धारणा राखेका थिए । संविधानिक व्यवस्था अनुसार जमिन प्रदेश र रुख संघ सरकारको जिम्मामा भएको हुँदा जनताको आवश्यकताको लागि सामुदायिक वन भित्र बाटो होस वा कुनै भौतिक संरचना निर्माणमा अवरोध हुने गरेको सहभागि विभिन्न २० जना गाउँ र नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरुको सामुहिक धारणा रहेको थियो । वन पैदावारमा आधारित उद्यम निर्माण,वन कार्यायोजना नविकरण, सामुदायिक वन समुहको सम्पूर्ण डाटा संकलन गर्दै प्राकृतिक श्रोतको पहिचान र उपयोगमा सहयोग पु¥याउनु  परियोजना लक्ष्य रहेको सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय अध्यक्ष ठाकुर भण्डारीले जानकारी दिनुभयो । मुलुकका १२७ पालिकाका कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, सामुदायिक वन समुहमा सुशासन कायम गर्दै सम्भाव्यता अध्ययनका आधारमा वनमा आधारित उद्यम सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास छ । २०५२ साल जेठ १८ गते स्थापना भएको महासंघमा २३ हजार २६ सामुदायिक वन उपभोक्ता समुहका ३१ लाख ९५ हजार ३२३ घरधुरीले  २४ लाख २५ हजार ३९२ हेक्टर क्षेत्रफल वन व्यवस्थापन गर्दै आएका छन् ।  कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालीदास सुवेदीले प्रदेश सरकारहरुले वन पैदावार बिक्रीमा जथाभावि कर लगाएको कारण जनतामा संरक्षणप्रति चासो घटेको बताउनुभयो । फेकोफन, ग्रिन फाउण्डेशन र आदिवासी जनजाति महासंघद्धारा संयुक्तरुपमा आयोजना गरिएको कार्यक्रममा गण्डकी प्रदेशका  १४ र लुम्विनी प्रदेशका छ वटा गरि कूल २० वटा पालिका प्रमुखहरुको सहभागिता रहेको थियो । टिएफ परियोजनाका सुजन खनालले परियोजना सञ्चालान भएका सामुदायिक वनको डाटा पोर्टल शुरु गरिएको जानकारी दिनु भएको थियो ।    

पोखरा:   गण्डकी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले प्रदेश मातहतका सबै यातायात व्यवस्था कार्यालयमा सेवाग्राही सहायता कक्ष स्थापना गर्ने निर्णय गरेका छन् ।  मन्त्रीको शपथ लिएपछि सोमबार पदभार ग्रहण गर्दै उनले मन्त्रालय अन्तर्गतका यातायात व्यवस्था कार्यालयहरुमा सेवाग्राही सहायता कक्ष (हेल्प डेस्क) स्थापना गर्न परिपत्र गर्ने निर्णय गरेका हुन् ।  गण्डकी प्रदेश सरकार मातहत कास्कीमा दुई, नवलपुर, बागलुङ र तनहुँमा एक÷एक गरेर पाँच वटा यातायात व्यवस्था कार्यालय छन् ।  यातायात कार्यालयमा सेवाग्राहीको चाप बढी हुने तर सेवा लिन जाँदा हुने अन्योलको स्थिति अन्त्य गर्न यो निर्णय गरेको मन्त्री केसीले बताए ।   अत्यावश्यक बाहेक भेला, समारोह, गोष्ठीजस्ता काममा धेरै नलाग्ने योजना मन्त्री केसीले बनाएका छन् । उनले मन्त्रालयको समयमा मन्त्रालयको नियमित काम छोडेर अत्यावश्यक बाहेकका कार्यक्रममा नजाने निर्णय पनि गरेका छन् ।  उनले आफू मातहतका कार्यरत कर्मचारी संयन्त्रलाई समयमै आयोजना सक्ने गरेर काम गर्न निर्देशन दिएका छन् ।  ‘भौतिक पुर्वाधार प्रदेशको विकासको मेरुदण्ड हो । राम्रा सडक, पुल, बाटोघाटो नभई प्रदेशको समृद्धि हुँदैन भन्ने मेरो विश्वास छ,’ मन्त्रालयका कर्मचारीलाई उनले भने, ‘अतः समयलाई खेर नफाली आफूलाई सुम्पिएको कार्यलगायत प्रभावकारी रुपमा निर्धारित समय नकट्ने गरी कार्यसम्पादन गर्न म निर्देशन दिन्छु ।’ प्रदेशलाई नेपालको नमुना प्रदेश बनाउन प्राविधिक, निर्माण व्यवसायी सहित सबैको साथ आवश्यक रहेको मन्त्री केसीको भनाइ थियो । काम गर्दा एक पक्षले अर्को पक्षलाई दोषारोपण नगरी समन्वय गर्न मन्त्री केसीले आग्रह गरे ।