पोखरा:   थारू आयोग, नेपालले गण्डकी प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगकी सदस्य शान्ति मोदीले बिहीबार एक कार्यक्रमबीच प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो । ...

काठमाडौं:    हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जारी रहेको छ ।  मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाद्वारा आज जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ  हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छभने कोशी, मधेस, गण्डकी प्रदेशका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।  कोशी, मधेस, बागमती र गण्डकी  प्रदेशका केही भाग तथा बाँकी प्रदेशका केही भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।  यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भाग तथा बाँकी प्रदेशको केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भाग तथा बाँकी प्रदेशका केही भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको र कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले मौसम बुलेटिनमा उल्लेख छ ।   वर्षा हुने ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

महोत्तरी:    महोत्तरीमा स्याल र कुकुरको टोकाइबाट १४ जना घाइते भएका छन् । प्रादेशिक अस्पताल जलेश्वरको आकस्मिक कक्षले दिएको जानकारीअनुसार पछिल्लो दुई दिनमा स्याल र कुकुरले टोकेर १४ जना घाइते भएका हुन् । घाइतेहरूको उपचार प्रादेशिक अस्पताल जलेश्वरमा भइरहेको छ । जसमध्ये गम्भीर घाइते तीनजनालाई थप उपचारको लागि जनकपुर पठाइएको स्वास्थ्यकर्मी राजीवकुमार पाठकले बताउनुभयो । जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–३ मलिवारा बस्ने ३२ वर्षीया उषा देवी, १४ वर्षीया शिवानी मिश्रा, ३३ वर्षीय दिलीपकुमार मण्डल र सात वर्षीय अर्पितकुमार महतोलाई घरै अगाडि वन क्षेत्रबाट आएको स्यालले टोकेर घाइते बनाएको छ ।  त्यस्तै जलेश्वर नगरपालिका–६ बस्ने ३५ वर्षीया लिलम देवी, १२ वर्षीया माया कुमारी र १२ वर्षीया सङ्गीता मण्डललाई वन क्षेत्रबाटै आएको स्यालले टोकेर घाइते बनाएको जनाइएको छ । विगत दुई दिनदेखि जलेश्वर नगरपालिका–३ र ६ को वन क्षेत्रमा स्यालले आतङ्क नै मच्चाएको छ भने वनक्षेत्र वा साँझ र एकाबिहानै वन क्षेत्रको बाटो भएर आउजाऊ गर्नेमाथि स्यालले आक्रमण गरेर घाइते बनाउने गरेकोछ ।  स्यालले जिल्लामा आतङ्क नै मच्चाइरहेका बेला जिल्लामा कुकुरले टोकेर सात जना घाइते भएका छन् । कुकुरले टोकेर घाइते हुनेहरूमा जलेश्वर नगरपालिका–२ का ६० वर्षीया सागर देवी, ४० वर्षीय विलास साह, जलेश्वर–१० का ६९ वर्षीया निर्मला देवी, ६४ वर्षीय रासिद अन्सारी, बलवा नगरपालिका–३ का ३७ वर्षीय जुगेश्वर यादव र लोहारपट्टी नगरपालिकाका ५३ वर्षीय नसरुद्दिन राईन रहेको प्रादेशिक अस्पताल जलेश्वरले जनाएको छ । स्याल र कुकुरले टोकेर घाइते भएकालाई उपचारको लागि चाहिने एन्टिरेबिज भ्याक्सिन ५० जनालाई पुग्ने रहेकाले तत्कालै भ्याक्सिनको अभाव नहुने जनाइएको छ । यसै क्रममा अनुहार, मुख र ओठ नै काटिने गरी गम्भीर घाइते भएका तीन जनालाई उपचारको लागि ‘इमिनो ग्लोबिन’ लगाउनुपर्ने तर सो भ्याक्सिन  प्रादेशिक अस्पताल जलेश्वरमा उपलब्ध नरहेको कारण उनीहरूलाई थप उपचारको लागि जनकपुर पठाइएको हो । स्याल र कुकुरले टोकेर घाइते भएकालाई एन्टि रेबिज भ्याक्सिन (एआरभी) को तीनरतीन डोज लगाउनुपर्ने छ । विगत दुई दिनमा जिल्लामा स्याल र कुकुरको टोकाइबाट १४ जना घाइते भए पनि स्याल र कुकुर नियन्त्रणको लागि कुनै निकायबाट कुनै पहल भएको छैन ।

काठमाडौं:    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुक र जनता लाभान्वित हुनेगरी काम गर्न विद्युत् नियमन आयोगलाई निर्देशन दिनुभएको छ ।      विद्युत् नियमन आयोगले आज यहाँ आयोजना गरेको ‘खुल्ला पहुँच निर्देशिकाको निर्माण तथा प्रसारण दस्तुरको निर्धारणसम्बन्धी निर्देशिका’माथिको छलफलमा उहाँले मुलुक र जनताको पक्षमा आयोगले काम गर्नुपर्ने बताउनुभएको हो  ।         “सुशासन र न्यायिक सुधारको काम गर्दा नत्थी लगाउने गरीकनको व्यवस्था गर्नुभएन, कानुन, नियम अग्रगामी हुनुप¥यो, पश्चगामी हुनुभएन”, उहाँले भन्नुभयो । मन्त्री खड्काले सरकारले ऊर्जा विकासको क्षेत्रमा लिएको लक्ष्य पूरा गर्न निजी र अन्तर्राष्ट्रिय क्षेत्रसँग सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।            “हामीले १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिए पनि लक्ष्य पूरा हुनेगरी काम हुन सकेको छैन, निजी र अन्तर्राष्ट्रियजगत्लाई विश्वासमा लिएर उक्त लक्ष्य हासिल गर्न लाग्नुपर्छ”, मन्त्री खड्काले भन्नुभयो ।       ऊर्जामन्त्री खड्काले ऊर्जा मन्त्रालय, विद्युत् नियमन आयोग, विद्युत् विकास विभाग र नेपाल विद्युत् प्राधिकरणबीच एकापसमा समन्वय गरेर ऊर्जा क्षेत्रको विकासका लागि आवश्यक नियमावली तथा कार्यविधि बनाउनुपर्ने उल्लेख गर्नुभयो । जहाँ समस्या छ त्यसलाई समाधान गरेर अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो ।           ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)ले जलविद्युत् उत्पादनको लाइसेन्स लिने तर काम नगर्ने प्रवृत्ति बढेकाले यसको अन्त्य गर्न जरुरी रहेको बताउनुभयो । उहाँले ऊर्जा क्षेत्रको विकासका लागि देखिएको बाधकलाई समाधान गर्दै अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।           मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले निजी क्षेत्रको लगानीमा प्रसारण लाइन निर्माणको कामलाई अगाडि बढाउँदा सरकारले राखेको ऊर्जा विकासको लक्ष्यलाई हासिल गर्न सहयोग पुग्ने बताउनुभयो ।           विद्युत् नियमन आयोगका अध्यक्ष रामप्रसाद धितालले आयातीत इन्धनलाई न्यूनीकरण गर्दै विद्युत् खपत बढाउने रणनीतिका साथ आयोग अगाडि बढेको बताउनुभयो । धेरै विद्युत् खरिद गर्ने संस्थालाई नै महँगोमा विद्युत् बिक्री गर्नुपरेको अवस्थालाई अन्त्य गर्न जरुरी रहेको उहाँको भनाइ थियो । 

काठमाडौं:   सांसद सुमित्रा विसीले अविरल वर्षाका कारण कर्णाली राजमार्गको दर्जनौँ स्थानमा पहिरो गई सवारी आवागमन अवरुद्ध रहेको, स्थानीय जनजीवन प्रभावित भएको भन्दै तत्काल सहज प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।  राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले कर्णाली राजमार्गको मर्मत सम्भारमा सरकारले विशेष चासो देखाओस् भन्ने माग गर्नुभयो । उहाँले सडक निर्माणका क्रममा प्रयोग हुने डोजरका कारण बाढीपहिरोमा वृद्धि भएको पाइएकाले त्यसलाई नियन्त्रण गर्न सुझाव दिनुभयो ।  पहिरो नजाने गरी सडक पूर्वाधार निर्माण गर्न आग्रह गर्दै सांसद विसीले कर्णाली राजमार्गलाई ‘मृत्यु राजमार्ग’ का रुपमा परिचय बनाएकाले तत्काल स्थानीयको माग सम्बोधन गर्नुपर्ने बताउनुभयो ।  सांसद सुरेशआले मगरले मुलुकमा स्थापना भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर नेपाली जनतालाई थप अधिकार सम्पन्न बनाउनुपर्ने बताउनुभयो । व्यवस्था बदलिए पनि नेपाली नागरिकको अवस्थामा कुनै पनि सुधार नभएकाले त्यसतर्फ विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।  संविधान संशोधनको विषयमा पछिल्ला दिनमा चर्को बहस भइरहेको उल्लेख गर्दै उहाँले समावेशी समानुपातिक प्रतिनिधित्वलाई थप सबल बनाउनैपर्ने भएकाले त्यसविरुद्ध जाने छुट कोही कसैलाई नभएको बताउनुभयो ।  सांसद आनन्दप्रसाद ढुङ्गानाले मुलुकको राजनीतिक परिवर्तनमा शान्तिपूर्ण सङ्घर्षको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले नेपाली कांग्रेसले हरेक पटकको राजनीतिक परिवर्तनलाई नेतृत्व र संस्थागत गरेको स्पष्ट पार्नुभयो । राजनीतिक स्थिरताका लागि पछिल्लो पटक नेपाली कांग्रेस र नेकपा९एमाले०का बीचमा सहमति र सहकार्य भएको उहाँको जिकिर थियो ।    सांसद सावित्री मल्लले देशव्यापी रुपमा बाढीपहिरोका कारण जनजीवन प्रभावित भएको उल्लेख गर्नुभयो । तीनै तहमा सरकार क्रियाशील भए पनि सडक निर्माणमा लापरवाही उस्तै रहेको भन्दै समस्या समाधानमा ध्यान दिनुपर्ने उहाँको कथन छ ।  सांसद वामदेव गौतमले समस्याग्रस्त सडक सुधारका लागि आफूले पटक–पटक सदनमार्फत ध्यानाकर्षण गराए पनि कुनै पनि सुनुवाइ नभएकामा गुनासो गर्नुभयो । सदनमा सांसदहरुले राखेको विषयका बारेमा सरकारले कुनै पनि प्रतिक्रिया नजनाएको र कुनै पनि जानकारी नगराएकामा आपत्ति प्रकट गर्नुभयो ।  सांसद गौतमले राजमार्ग प्रहरी निर्माण गरी सडक दुर्घटना न्यूनीकरणका लागि आवश्यक पहल हुने बताउनुभयो । सांसद गोपालकुमार बस्नेतले भ्रष्टाचार नियन्त्रणका लागि कठोर कारवाहीको प्रक्रिया अगाडि बढाउन माग गर्नुभयो ।  सांसद घनश्याम रिजालले ग्रामीण क्षेत्रमा युवा जनशक्तिको अभाव रहेको तथ्य पेस गर्दै आम रुपमा आशा जगाउनका लागि निर्यात बढाएर देशभित्र रोजगारीको अवसरमा वृद्धि गर्नु जरुरी रहेको बताउनुभयो ।  सांसद उर्मिला अर्यालले निर्माण व्यवसायीको बक्यौता तत्काल भुक्तानी गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले निर्माण व्यवसायीको समस्या समाधानका लागि पूर्ववर्ती सरकारले गठन गरेको कार्यदलले दिएको सुझावलाई तत्काल कार्यान्वयनमा ल्याउन माग गर्नुभयो । उहाँले निर्माण सम्पन्न हुन नसकेका देशभित्रका पुल तथा विकास निर्माणका बारेमा सत्य तथ्य पहिचान गरी समस्या समाधान गर्न दलिय एकतामा जोड दिनुभयो ।  सांसद रुकमिणी कोइरालाले महिला तथा बालबालिकाको स्वास्थ्य सुधारका लागि विशेष चासोका साथ सरकारले विशेष पहल गर्नुपर्ने र कार्यान्वयनमुखी कार्यक्रम तय गर्नुपर्ने बताउनुभयो । 

काठमाडौं:   प्रतिनिधिसभाको बैठकमा सांसदहरुले चिकित्सा शिक्षा आयोगले लिएको ‘एमबिबिएस’को प्रवेश परीक्षामा मानवीय त्रुटि भएको विषयमा छुट दिन नहुने र दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गर्नुभएको छ ।  प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद रोशन कार्कीले उक्त आयोगले प्रवेश परीक्षामा मानवीय त्रुटि भएको भनिए पनि सत्य बुझन जरुरी भएको बताउनुभयो ।   “चिकित्सा शिक्षा आयोगले लिएको प्रवेश परीक्षा त्रुटिपूर्ण भयो भनिएको छ”, सांसद कार्कीले भन्नुभयो, “परीक्षामा मानवीय त्रुटि होइन, दानवीय त्रुटि भएको छ, यस्ता त्रुटि गर्नेलाई कडा कानुनी सजाय दिनुपर्छ ।” उहाँले शिक्षा क्षेत्रको सुधारका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।  नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले उच्च शिक्षालाई सुधार्नुपर्नेमा जोड दिनुभयो । उहाँले चिकित्सा शिक्षा आयोगले अङ्कभारको आधारमा विद्यार्थीको नजिता सार्वजनिक गर्नुपर्नेमा रोल नम्बरको आधारमा गरिएकोप्रति सम्बन्धित निकायको ध्यानार्षण गराउनुभयो ।  “कसरी रोल नम्बरका आधारमा आयो, मानवीय गल्ती भनेर आइरहेको छ, विद्यार्थीको भविष्यसँग जोडिएको विषय हो”, उहाँले भन्नुभयो, “झण्डै तीन हजार विद्यार्थीलाई मेडिकल साईन्सको विषयमा यस्तो गञ्जागोल बनाउन हुँदैन, मेरिटका आधारमा पढ्न पाउने व्यवस्था गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहान्छु ।”        राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले चिकित्सा शिक्षा आयोगले एमबीबीएसको प्रवेश परीक्षाको नजिता प्रकाशन गरेको विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।  “परीक्षामा भएको प्राविधिक त्रुटि भनेको के हो ? त्यो भविष्यमा दोहोरिन नदिने के गर्नुपर्छ”, उहाँले भन्नुभयो, “सबैले परीक्षा दिन काठमाडौँ आउने व्यवस्थाको पनि अन्त्य गर्नुपर्छ, परीक्षामा प्राविधिक त्रुटि भएको भनिएको छ, त्यो के भएको हो रु भावी दिनमा नदोहोरिन के गर्नुपर्छ ?”       आयोगले यही भदौ १ गते परीक्षा लिएर १४ गते निकालेको नतिजाप्रति सांसदहरुले सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् । प्रवेश परीक्षाको नतिजा सार्वजनिक गर्दा योग्यता क्रमको आधारमा गर्नुपर्नेमा त्यसो नगरिनु गम्भीर त्रुटि भएको सांसदहरुको भनाइ छ । 

सिरहा:    यहाँको गोलबजार नगरपालिका—१ मुक्सारमा सोमबार राति लुटेराको एक समूहले धनमाल लुटपाट गरेको छ । स्थानीय जागेश्वर रामको घरमा राति १२ बजेको आसपासमा १२/१५ जनाको समूहमा आएका लुटेराहरुले १२ हजार नगद, सुन र चाँदीका गहना लुटेर लगेका हुन् । लुटेरा समूहले जागेश्वरलाई कुटपिट गरी उहाँको मोबाइल नियन्त्रणमा लिएर नगद, चाँदी र सुनका गहना लुटेको स्थानीय शिक्षक सागर पूर्वेले जानकारी दिनुभयो । घटनालगत्तै स्थानीयले मुक्सारमै रहेको प्रहरी चौकीमा फोन गरे पनि चार घण्टा पछिमात्र प्रहरी आइपुगेको बताएका छन् ।  इलाका प्रहरी कार्यालय गोलबजारले भने सामान्य चोरीको घटना भएको जनाएको छ । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुनिल कार्कीले भन्नुभयो, “सामान्य चोरी भएको भन्ने सूचना आएको थियो । हामीले प्रहरी टोली खटाइसकेका छौँ । थप अनुसन्धान गर्दै छौँ ।”       सिरहाको लहान, धनगढीमाई, गोलबजार लगायतका स्थानमा पछिल्लो समय चोरी तथा डकैतीका घट्ना बढेका छन् । खासगरी घरमै धनमाल राख्ने वित्तीय साक्षरता कम भएका दलित समुदायमा यस्ता घट्ना बढ्दो छ ।

काठमाडौं:    गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भाद्र कृष्ण औँसीको अवसरमा सोमबार लागेको पितृ सम्मान दिवसको मेलाका कारण जम्मा भएको फोहर उठाउन ढिलाइ गरिएको छ ।       बाबुको मुख हेर्ने औँसीका रुपमा चिनिने भाद्र कृष्ण औँसीमा बाबु बितेका छोराछोरीले गोकर्णेश्वर उत्तरगया क्षेत्रमा आई पिताप्रति सम्मान प्रकट गर्ने गर्छन् ।  सोमबार पनि नेपाल र भारतका विभिन्न स्थानबाट आएका भक्तजनको गोकर्णेश्वर उत्तरगया क्षेत्रमा भीड लागेको थियो । उक्त भीडसँगै थुप्रिएको फोहर व्यवस्थापन हुन नसक्दा आज मन्दिर क्षेत्र प्रवेश गर्नै नसकिने अवस्था भएको भक्तजनको गुनासो छ ।    आज सूर्योदयकालमा औँसी तिथि रहेकाले केही भक्तजन श्राद्ध गर्न जम्मा भएका थिए । पितृप्रति श्रद्धाभाव प्रकट गर्न भोजपुरबाट आउनुभएका चन्द्रबहादुर अधिकारीले पितृतीर्थ धामका रुपमा परिचित गोकर्णेश्वर मन्दिर क्षेत्रमा थुप्रिएको फोहरले दर्शन गर्नै कठिन भएको गुनासो गर्नुभयो ।  मन्दिर क्षेत्र व्यवस्थापन समितिले फोहर गर्नेलाई  सफाइमा जिम्मेवार बनाउने गरी काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । वाग्मती नदीको किनारमा अवस्थित गोकर्णेश्वर मन्दिर वरपर भएको फोहर व्यवस्थापन नगरिँदा नदी थप प्रदूषित भएको छ ।  गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानले सोमबार दिउँसो ४ बजेपछि त्यस क्षेत्रमा सफाइ गरेपनि पूरै फोहर भने उठाएन । अभियानले आज बिहान पनि ७ बजेदेखि सफाइ गरेको अभियानकर्मी भगवान् पुडासैनीले जानकारी दिनुभयो ।       गोकर्णेश्वर मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्षसमेत रहनुभएका गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष जयराम महतले सफाइमा समय लागेको स्वीकार गर्दै भोलिसम्ममा गोकर्णेश्वर क्षेत्रको सफाइ गरिने बताउनुभयो । वाग्मती सफाइ अभियान, लायन्स र लियो क्लबको सक्रियतामा हिजोदेखि सफाइ भइरहेको जानकारी उहाँले दिनुभयो ।       लाखौँ भक्तजनका कारण थुप्रिएको मेलाको फोहर व्यवस्थापनमा समय लागेको समितिले जनाएको छ । आगामी वर्षदेखि भक्तजनले आफूले गरेको फोहर आफैँले व्यवस्थापन गर्ने तयारी गरेका समितिले  जनाएको छ ।

काठमाडौं:   प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानका मौलिक हक, मानवअधिकारसम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई आत्मसात् गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिने बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगद्वारा आज आयोजित लैङ्गिक समावेशीकरणसम्बन्धी एसिया प्रशान्त क्षेत्रका मानव अधिकार संस्थाहरुको तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालको संविधानले मौलिक अधिकारका धेरै सवाललाई लिपिबद्ध गरेको र त्यसको अक्षरशः पालनाका लागि सरकार प्रतिबद्ध रहेको जनाउँदै जातिप्रथालाई कानुनीरुपमै अन्त्य गरिएको स्पष्ट पार्नुभयो । संविधान बन्नुअघि संसद्बाट राज्यका तीनै तहका सबै निकायमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता गरिएको उल्लेख गर्दै उहाँले यो महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।  प्रधानमन्त्री ओलीले मुलुकले पहिलो महिला राष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख र मुख्यसचिव पाइसकेको उदाहरण प्रस्तुत गर्दै राज्यका सबै निकायमा महिला सहभागिता बढाउन आवश्यक सहजीकरण भइरहेको सुनाउनुभयो । नेपालमा अझै पनि २० प्रतिशत नागरिक निरपेक्ष गरिबीको रेखामुनी रहेको र गरिबी निवारणको लक्ष्य पूरा नगरि सबै नागरिकलाई अधिकार सम्पन्न बनाउन सम्भव नहुने धारणा राख्नुभयो ।  उहाँले भन्नुभयो, “हामीले संविधानका मौलिक अधिकारका मर्म र भावनालाई पूर्णतः कार्यान्वयन गर्नेछौँ । अन्तर्राष्ट्रिय प्रतिबद्धता र सम्झौताको कार्यान्वयनप्रति प्रतिबद्ध छौँ । नेपालको गरिबी उन्मूलन गर्नेछौँ । समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्नेछौँ ।” मुलुकलाई समृद्ध नबनाइ जनतालाई खुसी बनाउन नसकिने भएकाले सामाजिक न्याय र समानताको साझा लक्ष्य प्राप्तिका लागि सरकार र मानव अधिकार आयोगसँगै काम गरिरहेको उहाँले अवगत गराउनुभयो ।  “मुलुकको विकासका लागि समृद्धिले मात्रै काम गर्दैन । शान्ति, सुरक्षा र अधिकारसहित जनताले सम्मानजनक जीवनको अनुभूति गर्नुपर्छ । त्यसका लागि सरकारले काम गरिरहेको छ”, उहाँले भन्नुभयो ।

कर्णाली:    ‘भाउअ पत्रकारिता’ सुन्दा अनौठो लाग्न सक्छ । यहाँको  एक संस्थागत विद्यालयमा अध्ययनरत बालबालिकाले ‘भाउअ पत्रकारिता’ सुरु गरेका छन् ।  चन्दननाथ नगरपालिका– ५ जुम्ला खलङ्गास्थित एसिया इन्टरनेश्नल इङलिस स्कुलका बालबालिकाले ‘भाउअ (बाल) पत्रकारिता’ सुरु गरेका हुन् । यसमार्फत् ‘भाउअ पत्रकार’हरुले विद्यालयमा अध्ययन गर्नुका साथै समाजका सबैखाले गतिविधिको सूचना सङ्कलन गरी कोरपाटी अनलाईनमार्फत नागरिक तहमा पु(याउन हरेक बिहान समाचार सम्प्रेषण गर्दछन् । यसमा कक्षा आठ र दशका ४४ बालबालिकाले दैनिक विद्यालय र समाजमा घटित घटनाको सूचना सङ्कलन गर्दै आइरहेका छन् ।   उक्त स्कुलका संस्थापक मनोज बुढाथोकी मगरले ‘भाउअ पत्रकारिता’ समाज रुपान्तरणको द्योतक भएको बताउनुभयो । राज्यका सरकारी, सामुदायिक, सार्वजनिक, निजी तथा सरोकारवाला सबैलाई आफ्नो कामप्रति जवाफदेही, पारदर्शी र उत्तरदायी बनाउने उद्देश्यले यो सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।  “भाउअ पत्रकारले जो कोहीसँग जिज्ञासा राख्ने एवं प्रश्न मात्र गर्दैन, यसले देश दुनियाँले के गरिरहेको छ । समाजको प्रकृति, स्वरुप र संरचनाका बारेमा पनि अध्ययन, अनुसन्धान गर्दछ”, उहाँले भन्नुभयो, “आफ्नो व्यक्तित्व विकासका साथै सरोकारवालालाई कर्तव्यनिष्ठ, नागरिकमैत्री र जवाफदेही बन्न उत्प्रेरित गर्दछ ।” यसबाट बालबालिकालाई घोकाउने, कण्ठ गर्न लगाउने नभइ मैदानमै पुगी जिज्ञासु भएर सिक्ने वातावरण निर्माण गराउने र सिकाईमैत्री क्रियाकलापमा जोड दिने कुराले अपेक्षित प्रतिफल प्राप्त हुने उहाँको भनाइ छ ।  बन्द कोठाको सीमा तोडेर नैतिक तथा व्यवहारिक ज्ञान र शिक्षा आर्जनका लागि समाज, प्रकृति, पर्यावरणसँग अन्तरघुलित हुने अवसर प्रदान गरी बालबालिकालाई खोज अनुसन्धानमा ‘भाउअ पत्रकारिता’ले सहयोग पु¥याउने उहाँले बताउनुभयो ।  उहाँका अनुसार ‘भाउअ पत्रकारिता’ले बालबालिकाको डर घटाउनेछ । कोठाभित्र घोक्ने संस्कृति विस्थापित गर्नेछ । प्रविधि, सूचना, सञ्चार र यसको महत्वबारे बोध गराउनेछ ।  ४४ ‘भाउअ पत्रकार’ हरेकले ‘महिनामा मिडियाका लागि एक दिन’ कुनै क्षेत्रको सूचना सङ्कलन गर्ने र प्रत्येक दिन बिहान ७ बजे समाचार वाचन गर्ने कार्यतालिका बनाइएको छ । यसबाट सामाजिक व्यक्तित्व निर्माणका लागि वादविवाद, अन्तरवार्ता, समूहगतरुपमा प्रतिभा पहिचान कार्यक्रमसमेत गरिने उहाँले बताउनुभयो । उक्त स्कुलमा कक्षा ८ मा अध्ययनरत छात्रा करुणा रावलले ‘भाउअ पत्रकारिता’ले व्यक्ति, समाज र समुदाय बुझ्न सहयोग पुगेको बताउनुभयो । “कक्षा कोठामा बसेर किताबमा अक्षर पढिँदो रहेछ । बाहिर पुग्दा व्यक्ति र समाजको आचारण बुझिँदो रहेछ,” रावलले भन्नुभयो, “थोरै समयमा पढेर सिक्ने भन्दा भोगेर सिक्ने कुरा बढी खँदिलो हुँदोरहेछ ।” छात्र सङ्गम भण्डारीले ‘भाउअ पत्रकारिता’ले नयाँ खोजप्रति जिज्ञासा जगाएको बताउनुभयो । पत्रकारितामार्फत श्रम संस्कृतिको सम्मान, बालविवाह, कुप्रथा, भ्रष्टाचार, स्वास्थ्य तथा शिक्षाको अवस्था, सरसफाइ, खाना संस्कृति, वन्यजन्तु, वन वातावरण संरक्षणलगायतका विषयलाई संवाद, लघुनाटक, वक्तृत्वकला, निबन्ध प्रतियोगिता जस्ता गतिविधि गरेर समाजलाई सही सन्देश दिने कोसिस गरिने उहाँले बताउनुभयो । कर्णाली क्षेत्रमा बालबालिकालाई भाउअ भन्ने गरिन्छ ।