उदयपुर: उदयपुरको कटारी नगरपालिका– १० सोरुङ छविसेमा आमा छोराको हत्या भएको छ । वडा कार्यालय नजिकै किराना पसल गर्दै आउनुभएकी अन्दाजी ४० वर्षिया निर्मला थापा र उहाँका छोरा अन्दाजी छ वर्षिय आरुस थापाको आज बिहान पसलमै शव भेटिएको हो । वडाध्यक्ष क्षेत्रबहादुर खड्काका अनुसार बिहान पसलमा आउने ग्राहकहरुले आमाछोराको शव देखेका थिए । “आमाको शव भुइँमा घोप्टो परेको र छोराको खाटमा रगतमा डुबेको अवस्थामा फेला परको हो”, वडाध्यक्ष खड्काले भन्नुभयो, “छोराको शवमा हतियार प्रहार गरेको चोटहरु देखिएको जानकारी आएको छ ।” ईलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरिक्षक उमेश महतोले बिहानै घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी घटनास्थल तर्पm पठाइसकेको बताउनुभयो । प्रहरी निरिक्षक महतोले भन्नुभयो, “प्रहरी घटनास्थल पुग्नै लागेको छ । पुग्ने बित्तिकै अनुसन्धान सुरु गर्छौं ।” घटनास्थल कटारी बजारबाट ३२ किलोमिटर उत्तरपहाडी भेगमा पर्दछ । वडाध्यक्ष खड्काका अनुसार मृतक निर्मला थापाका श्रीमान अशोक थापा दुईवर्ष अघि कान्छी श्रीमति लिएर भारततिर गएका थिए । उहाँले भन्नुभयो, “तीनसय मिटर पर मुल घर थियो गएराति चाहीँ पसलमै बास बसेका रहेछन्, त्यही बेला घटना घटेछ ।” घटनास्थल पुग्नुभएका कटारी नगरपालिकाकी कार्यापालिका सदस्य गिताकुमारी गिरीले प्रहरी चौकी बतासेबाट प्रहरी आइपुगेको र अनुसन्धान प्रकृया अघि बढेको जानकारी दिनुभयो । स्थानीय दिपक राउतले बुधबार साँझ ८ बजेसम्म मुल घरको देवरहरुसँग मृतक निर्मलाको फोनमा कुरा भएको बताउनुभयो । “साना साना देवरहरु थिए उनीहरुलाई बिहान आउँछौ भनेका थिए रे”, राउतले भन्नुभयो, “बिहान घरमा खसी काट्ने सल्लाह थियो रे राति हत्या भएछ ।” बिहान घटनाबारे थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तीज मनाउने तयारीमा रहेको गाउँमा हत्याको घटनापछी स्थानीयवासी शोकमा छन् ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरुको साझा मञ्चको १२ औं सम्मेलनका क्रममा नेपाल आउनुभएका मञ्चका सदस्य मुलुकका प्रमुख निर्वाचन आयुक्तहरूले शिष्टचार भेट गर्नुभएको छ । भेटमा राष्ट्रपति पौडेलले आवधिक निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएको बताउँदैराज्यमाथि जनताको पहुँच र स्वामित्व यसैबाट स्थापित हुने धारणा व्यक्त गर्नुभयो । उहाँले राज्यमाथि जनताको पहुँच र स्वामित्व स्थापित गर्नका लागि निर्वाचन स्वच्छ निष्पक्ष र धाँधलीरहित हुनुपर्ने पनि बताउनुभयो । राष्ट्रपति पौडेलले यो सम्मेलनले दक्षिण एशियाका मुलुकहरूमा हुने निर्वाचनलाई व्यवस्थित गर्दै अझ स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सहयोगी सिद्ध होस् भन्ने शुभकामना पनि दिनुभयो । उहाँले भन्नुभयो– ‘समग्र दक्षिण एसिया क्षेत्रमा स्वच्छ, पारदर्शीर विश्वसनीय निर्वाचन प्रणालीको माध्यमद्वारा लोकतन्त्रको प्रवर्द्धन रसुदृढीकरणका लागि यससंस्थामार्फत यहाँहरुको अमूल्य योगदान निरन्तररुपमा रहनेमा म विश्वस्त छु।’राष्ट्रपति पौडेलले आगामी दिनमा अध्यक्ष राष्ट्रको हैसियतमा अन्य सदस्य मुलुकहरुसँग यस संस्थाको साझा उद्देश्यहरु प्राप्त गर्न र चुनौतीविरुद्ध सामुहिकरुपमा सामना गर्नका लागि आपसी सहयोग र सहकार्यलाई अझ सुदृद्ध बनाउन नेपाल प्रतिवद्ध रहने पनि स्पष्ट पार्नुभयो । सो क्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरुको साझा मञ्चको १२ औं सम्मेलनका बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । सो अवसरमा भारत, पाकिस्तान, बङ्गलादेश, मालदिभ्सलगायतका सार्क मुलुकका निर्वाचन कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति थियो ।
बागलुङ (बलेवा): भव्य कार्यक्रमकाबीच उद्घाटन भएको बागलुङ बसपार्क २४ घण्टा नबित्दै सुनसान भएको छ । बाटोको दूरावस्था र सवारीसाधनको सुरक्षा चुनौती देखाउँदै व्यवसायीले सवारीसाधन बसपार्कमा लैजान आनाकानी गर्दा समस्या देखिएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले गत मङ्गलबार चालक र सहचालकलाई टीका लगाए बसपार्कको शुभारम्भ गर्नुभएको थियो । बागलुङ नगरपालिका–४ दावगह्मा २३ वर्षपछि आधुनिक बागलुङ बसपार्क सञ्चालनमा आएको थियो । व्यवसायी विष्णुराज पन्तले असुरक्षाका कारण व्यवसायीले बसपार्कमा बस राख्न नसकेको बताउनुभयो । “बस ठोकिन्छ, कसरी त्यहाँ बस जान्छ र खै ?”, उहाँले आश्चार्य व्यक्त गर्दै भन्नुभयो, “नगरले सुरक्षा दिनुप¥यो नी, अनि मात्र ठूला सवारी गन्तव्यमा पुग्छन् ।” बसपार्क सञ्चालनमा ल्याएको नगरले भने व्यवसायीसँग सम्झौताको काम बाँकी रहेकाले केही दिन लाग्ने जनाएको छ । “व्यवसायीसँग सम्झौता भएको छैन, हामी छलफलमै छौँ, एक दुई दिनमा काम टुङ्गो लाग्छ”, नगर प्रमुख वसन्तकुमार श्रेष्ठले भन्नुभयो, “एक दिन नचल्दैमा बसपार्क बन्द भयो भन्न मिल्दैन ।” उहाँले बसपार्कलाई दिगो बनाउनका लागि यातायात व्यवसायीसँग लिखित रुपमा सम्झौता गरेर अघि बढ्ने योजना सुनाउनुभयो । निर्माण प्रक्रिया सुरुआत गरेको २३ वर्षपछि बागलुङ बसपार्क सञ्चालनमा ल्याइएको थियो । बसपार्क निर्माणका लागि नगर विकास कोषबाट रु आठ करोड ७० लाख ऋण लिइएको थियो । बसपार्कमा ८० ठूला बस, १० माइक्रोबस एकैसाथ राख्न सकिन्छ ।
काठमाडौं: यस वर्षको शरद ऋतु (अटम सिजन)मा मनास्लु हिमाललगायत विभिन्न हिमाल आरोहणका लागि आरोहीले धमाधम आरोहण अनुमति लिन थालेका छन् । पर्यटन विभागकानुसार यस सिजनका लागि हालसम्म १२ आरोही समूहका ३४ महिला र ३८ पुरुष गरी एक सय ३२ जनाले आरोहण अनुमति लिइसकेका छन् । विभागको पर्वतारोहण शाखाको तथ्याङ्गअनुसार सबैभन्दा धेरै मनास्लु हिमाल आरोहणमा ३२ महिला र ८८ पुरुष गरी १० आरोही समूहका एक सय २० जनाले अनुमति लिएका छन् । तीन हिमाल आरोहणका लागि नेपालसहित ३१ देशका आरोहीले अनुमति लिएका छन् । किलर माउन्टेनको रूपमा परिचित आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लु हिमाल पछिल्लो समय आरोहीको सर्वाधिक रोजाइमा पर्न थालेको छ । यसपटक पनि सबैभन्दा बढी मनास्लु हिमाल आरोहणका लागि अनुमति लिइएको छ । शरद ऋतु मनास्लु हिमाल आरोहणका लागि उपयुक्त मौसम भएकाले पनि प्रत्येक वर्ष यही समयमा आरोहण गर्न उल्लेख्य सङ्ख्यामा आरोही आउने गरेका छन् । मनास्लु हिमाल विश्वको आठौँ र नेपालको सातौँ अग्लो हिमाल हो । सन् १९५६ मे ९ तारिखमा जापानी नागरिक तोसियो इमनिसी र नेपाली ग्याल्जेन नोर्बु शेर्पाले मनास्लुको सफल आरोहण गरेका थिए । त्यसको दुई दिनपछि अर्थात् मे ११ मा जापानिज नोर्बु हिगेता र किचिरो कातोले मनास्लु आरोहण गरेको रेकर्ड छ । सन् १९५६ मे १८ मा स्वीस नागरिक आन्स रेज र रिट्ज लुचिसिङ्गरले मनास्लु आरोहण गरेका थिए । यस्तै, पुथा हिउँचुली आरोहणका लागि एक आरोही समूहका सात र अन्नपूर्ण चौथोका लागि एक आरोही समूहका पाँच जनाले अनुमति लिएको विभागले उल्लेख गरेको छ । यस सिजनका लागि हिमाल आरोहणबापत रु एक करोड ३० लाख ९६ हजार दुई सय ६४ रोयल्टी सरकारी खातामा जम्मा भएको जनाइएको छ ।
काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले यही भदौ २४ गतेदेखि अनिवार्य अवकाश प्राप्त गर्दै हुनुहुन्छ । उहाँ करिब ४२ वर्ष लामो अनवरत सैनिक सेवा एवं प्रधानसेनापतिको तीन वर्षे कार्यकाल सम्पन्न गरी अवकाश हुन लाग्नुभएको हो । प्रधानसेनापति शर्माको सम्मानमा बुधबार जङ्गी अड्डामा विशेष समारोहका बीच बिदाइ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा रक्षा सचिव रामेश्वर दंगालले नेपाली सेनाको संस्थागत सुदृढीकरण, आधुनिकीकरण र व्यावसायिक क्षमता वृद्धिका लागि प्रधानसेनापति शर्माले पु¥याउनु भएको योगदान चिरकालपर्यन्त स्मरणीय रहने बताउनुभयो । साथै उहाँले प्रधानसेनापति शर्माको बौद्धिक व्यक्तित्व, रणनीतिक सुझबुझ र नेतृत्व कौशलबाट आफू प्रभावित रहेको उल्लेख गर्नु भयो । मन्तव्यकै क्रममा सचिव दंगालले नयाँ प्रधानसेनापतिको रूपमा कार्यभार सम्हाल्न लाग्नुभएका कायममुकायम प्रधान सेनापति अशोकराज सिग्देललाई बधाई ज्ञापन गर्दै रक्षा मन्त्रालय र नेपाली सेनाबीच रही आएको सौहार्दपूर्ण सम्बन्धलाई आगामी दिनमा थप सुदृढ र नतिजामुखी बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो । कामु प्रधानसेनापति सिग्देलले महारथी शर्माको सन्तुलित जीवन तथा शालीन शैली, जटिल परिस्थितिहरूको वस्तुपरक ढङ्गबाट सामना गर्न सक्ने क्षमताबाट आफू ज्यादै प्रभावित भएको बताउनुभयो । उहाँले नेपाली सेनाको साख तथा प्रतिष्ठालाई थप उचाइमा पु¥याउन महारथी शर्माले प्रदर्शन गर्नुभएको दृढता र समर्पण भाव नेपाली सेनाको इतिहासमा सदैव जीवन्त रहने बताउनुभयो । प्रधानसेनापति शर्माले नेपाली सेनामा नेतृत्व परिवर्तन नियमित प्रक्रिया रहेको उल्लेख गर्दै आफ्नो कार्यकालमा भएका दीर्घकालीन योजनाहरूको कार्यान्वयन तथा अन्य साङ्गठनिक उपलब्धिहरू सम्पूर्ण सकलदर्जाको सामूहिक प्रयासबाट सम्भव भएको बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा भएका संस्थागत सुदृढीकरण एवं विविध सकारात्मक प्रयासहरूमा निरन्तर साथ, सहयोग र रचनात्मक सुझाव प्रदान गर्नु हुने रक्षा मन्त्रालयलगायत सम्बद्ध सबैमा कृतज्ञता व्यक्त गर्नु भयो । कार्यक्रममा प्रधानसेनापति शर्माले नेपाली सेनालाई सम्झनास्वरूप उपहार प्रदान गर्नुभएको थियो भने नेपाली सेनाको तर्फबाट प्रधानसेनापतिलाई कामु प्रधानसेनापति सिग्देलले सम्झना स्वरूप उपहार प्रदान गर्नुभएको थियो । त्यसैगरी सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाले प्रधानसेनापति शर्मालाई सम्झना स्वरूप मउपहार प्रदान गर्नुभएको थियो । यस्तै सैनिक श्रीमती संघकी अध्यक्ष तथा कायममुकायम अध्यक्षबिच सम्झनास्वरूप उपहार आदानप्रदान भएको थियो । त्यस अवसरमा पूर्वप्रधानसेनापतिहरू, पूर्वरक्षा सचिवहरू, नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, रक्षा मन्त्रालयका पदाधिकारीहरू, सैनिक श्रीमती संघका पदाधिकारीहरू, अधिकृत, सञ्चारकर्मीहरूलगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । यस अघि प्रधान सेनापति शर्माले कामु प्रधानसेनापति सिग्देललाई नेपाली सेनाको झन्डा, प्रधानसेनापतिको झन्डा तथा छडी हस्तान्तरण गर्नुभएको थियो भने प्रधानसेनापति शर्माको सम्मानमा एक टुकडीले सम्मान गारद समेत अर्पण गरेको थियो ।
काठमाडौं: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको मौसम बुलेटिनअनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी, मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको र कोशी, मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
गोरखा: गोरखा नगरपालिका–१०, स्थित विरिञ्चोकमा आज पोथी चितुवा फेला परेको छ । विरिञ्चोक नजिकै खोल्सीमा वयस्क चितुवा भेटिएको डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदनमोहन शालिण्यले जानकारी दिनुभयो । “हेर्दाखेरी वयस्क पोथी चितुवा खोल्सीमा बसिरहेको अवस्थामा फेला परेको हो”, उहाँले भन्नुभयो, “दिउँसोदेखि एक ठाउँबाट अर्को ठाउँमा हलचलसमेत नगरेकाले चितुवा घाइते अवस्थामा रहेको अनुमान गरिएको छ ।” स्थानीयवासीले जानकारी दिएलगत्तै वन कार्यालयबाट एक टोली खटिएर चितुवाको निगरानी गरिरहेको उहाँले बताउनुभयो । “दिनैभरि चितुवा यताउता गरेको छैन”, उहाँले भन्नुभयो, “मानिस जम्मा भएर हल्लाखल्ला गर्दा चितुवा नभागेको तर अनुहार हेर्दा बलियो र फूर्तिलो अवस्थामा देखिन्छ ।” प्रमुख शालिण्यले चितुवा ठूलो भएकाले डार्ट नगरी नियन्त्रणमा लिनसक्ने अवस्था नरहेको बताउनुभयो । “खोरमा पार्न मिल्छ कि भनेर पनि वन कार्यालयले खोर लिएर गएको थियो”, उहाँले भन्नुभयो, “घाइते हुनसक्ने भएकाले झनै हिंस्रक हुनसक्ने र एक ठाउँबाट अर्को ठाउँमा नसरेकाले त्यो पनि सम्भव भएन ।” भोलि बिहानसम्म वन कार्यालयका कर्मचारीले चितुवाको निगरानी गर्ने र कहीँकतै नगए डार्ट झिकाएर उद्धार गर्ने तयारी गरिएको उहाँको भनाइ छ । “त्यतिकै छोड्दा जान्छ कि भनेर पनि पर्खिएका हौँ, प्रमुख शालिण्यले भन्नुभयो, ‘‘कतै गएन भने अन्य विकल्प सोच्नुपर्ला ।” कार्यालयसँग चितुवा नियन्त्रणका लागि डार्ट गर्न आवश्यक व्यवस्था उपलब्ध नभएकाले समस्या भएको उहाँको भनाइ छ । चितुवाको निगरानीका लागि वन कार्यालयले तीन जना कर्मचारी परिचालन गरेको छ । स्थानीयवासीले केही दिनअघिदेखि घाइते अवस्थामा चितुवा हिँड्दै गरेकोसमेत देखेको बताएका छन् ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने खेलाडी पलेशा गोवर्धनलाई सरकारले कर नकटाइ रु ६५ लाख राशिको पुरस्कार दिने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित बधाई तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले पुरस्कारमा कर नलगाई रु ६५ लाख नै दिने स्पष्ट गर्नुभयो । पेरिस पारालिम्पिक २०२४ अन्तर्गत यही भदौ १४ गते सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी थिइन् । उनी पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी हुन् । प्रधानमन्त्री ओलीले नेपालबाट कुनै पनि खेलाडीको टोली विश्वस्तरको प्रतिस्पर्धामा जाँदा खेलाडीले केही दिन्छन् कि, केही लिएर आउँछन् कि भनेर आँखा त्यतातिर लगाएर र कान थापेर बस्ने गरेको बताउनुुभयो । “नेपालीले मौका पाएपछि गर्छ भनेर मैले भन्दै आएको छु । यसपटक हामीले पारा ओलम्पिकमा उपस्थिति मात्र होइन, हस्तक्षेप र दख्खल दिएका छौँ । पलेशाको जीत नेपालीको जित हो । यसले औधी खुसी तुल्याएको छ । नेपालको इज्जत बढाएको छ”, प्रधानमन्त्री ओलीले भन्नुुभयो, “यो कीर्तिमान इतिहासमा लेखिनेछ । हामीले पुुराना कीर्तिमान तोड्दै जानुपर्छ । एउटै रेकर्डमा चित्त बुुझाएर बस्नुु हुँदैन । हाम्रो कीर्तिमानको यात्रा सुरु भएको छ ।” सो अवसरमा उक्त खेलका प्रशिक्षक, व्यवस्थापक र सहभागी खेलाडीलाई पनि प्रधानमन्त्री ओलीले सम्मान गर्नुभएको थियो ।
पर्वत: पर्वतको कुश्मा नगरपालिका–४ घुम्तीस्थित मध्यपहाडी लोकमार्गको कुश्मा–बागलुङ खण्डमा यात्रुवाहक बस र एम्बुलेन्स ठोक्किदा तीन जना घाइते भएका छन् । नारायणगढबाट आज बागलुङतर्फ जाँदै गरेको बा प्र ०६–००१ ख ०३०० नम्बरको बस र म्याग्दीबाट पोखरा जाँदै गरेको जलजला गाउँपालिका पर्वतको ग १ झ ६९५ नम्बरको एम्बुलेन्स ठोक्किएका हुन् । घाइते हुनेमा एम्बुलेन्समा सवार कुश्मा नगरपालिका–१ की ४५ वर्षीया भगवती क्षेत्री, ४९ वर्षीया केशरी अधिकारी र ५२ वर्षीया गीताकुमारी क्षेत्री रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये भगवती क्षेत्रीको अवस्था गम्भीर रहेको छ । उहाँलाई थप उपचारका लागि पोखरा पठाइएको र अन्य दुईको पर्वत अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पर्वतको जलजला गाउँपालिका–७ की ५५ वर्षीया महिला बिरामी भई पोखरा लैजाने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक खुमलाल भुसालले जानकारी दिनुभयो । दुईवटै सवारीसाधन र सवारी चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

