बागलुङ (ढोरपाटन): अविरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गअन्तर्गत निसीखोला गाउँपालिकाको खाडुखोला, जिरीखोला, कालापैराखोला, बडिगाड गाउँपालिकाको ठूलाखेतलगायतका स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । लोकमार्गको बागलुङको बुर्तिबाङ–पूर्वी रुकुम खण्ड र बागलुङ–बुर्तिबाङ खण्डक पूर्ण रुपमा अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेको निसीखोला–४ का वडाध्यक्ष टीकानिधी पौडेलले जानकारी दिनुभयो । लोकमार्ग अवरुद्ध हुँदा निसीखोला, पूर्वी रुकुम, जाजरकोट, रोल्पादेखि पोखरा, काठमाडौँलगायत स्थानमा जाने यात्रु अलपत्र परेका छन् भने काठमाडौँ, पोखरा, चितवन, बुटवललगायत ठाउँबाट तीज मनाउन गाउँ फर्किएका पनि सडक अवरुद्ध हुँदा समस्यामा छन् । पूर्वी रुकुम र जाजरकोटका लागि काठमाडौँबाट आएका रात्रि बस बुर्तिबाङमै रोकिएको उहाँको भनाइ छ । अहिले पनि निरन्तर भारी वर्षा भइरहेको हुँदा सडक खुलाउन समय लाग्ने वडाध्यक्ष पौडेल बताउनुहुन्छ । उहाँले भन्नुभयो, “रातिदेखि ठूलो वर्षा भइरहेको छ, धेरै ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएका छन्, अहिले सवारी पूर्ण रुपमा ठप्प भएको अवस्था छ, वर्षा रोकिएपछि खुलाउने प्रयास गर्छौं, साना ठाडोखोलामा ठूलो बाढी आउँदा लोकमार्गको धेरै ठाउँ अवरुद्ध छन् ।”
काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिबीच भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान भर्ने विषयमा छलफल भएको छ । चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिले आज मन्त्री पाण्डेसमक्ष सिंहदरबारमा भेट गरी पोखरा र भैरहवामा उडान भर्न आफूहरु उत्साहित रहेको बताएको पर्यटन मन्त्रालयले जनाएको छ । ४० वटाभन्दा बढी मुलुकमा सेवा दिँदै आएको चीनको प्रमुख एयरलाइन्समध्येको चाइना साउदर्न एयरलाइन्सले नेपालमा समेत आफ्नो सेवा सञ्चालन गरिरहेको छ । चीनको ग्वाङजाओबाट हाल काठमाडौँमा नियमित रूपमा उडान भर्दै आएको उक्त एयरलाइन्सले पोखरा र भैरहवा उडानका लागि मन्त्री पाण्डेले नीतिगत रूपमा गर्नुभएको सुधारको प्रशंसा गरेको थियो । चाइना साउदर्न एयरलाइन्सले पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने कुराको स्वागत गर्दै मन्त्री पाण्डेले भन्नुभयो, “तपाईंहरू पर्यटकीय राजधानी पोखरा र भगवान् गौतम बुद्धको जन्मस्थल भैरहवा उडान भर्नेमा स्वागत गर्न चाहन्छु । यसले द्विपक्षीय हित आपसी सम्बन्ध विस्तारमा समेत फाइदा पुग्नेछ ।” मन्त्री पाण्डेले चाइना साउदर्नको नियमित उडानले नेपाल र चीन दुवै मुलुकलाई फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री पाण्डेले नेपाल एयरलाइन्सले चाइना साउथ एयरलाइन्सबाट हवाई सुरक्षाबारे लाभ लिनेसमेत प्रस्ट पार्नुभयो । साथै मन्त्री पाण्डेले हवाई उडानका क्रममा नेपाली पक्षबाट केही कमजोरी भएको भए पनि सो बारेमा आफूलाई जानकारी गराउन अनुरोध गर्नुभएको थियो । त्यसैगरी, द्विपक्षीय हित र आपसी सम्बन्ध थप सुदृढ पार्न हवाई क्षेत्रले प्रभावकारी भूमिका निर्वाह गर्नेसमेत बताउनुभएको छ ।
काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रसारणलाइन विस्तारमा देखिएका समस्या समाधान गर्न निर्देशन दिनुभएको छ । अरुण तेस्रो जलविद्युत् आयोजना, लगानी बोर्ड र पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको ‘भर्चुअल बैठक’ मा मन्त्री खड्काले समस्या समाधानमा केन्द्रित हुन सबैलाई निर्देशन दिनुभयो । “विद्युत् उत्पादन गर्ने समय एकदिन मात्र ढिला हुँदा पनि राज्यले करोडौँको घाटा बेहोर्नुपर्छ, आयोजना र सिङ्गो मुलुकमा यसको प्रभाव पर्ने भएकाले समयमै सम्पन्न हुनेगरी स–साना समस्यालाई समाधान गर्दै लाग्नुपर्छ”, उहाँले भन्नुभयो । ऊर्जामन्त्री खड्काले सन् २०३५ सम्म नेपालमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सरकारले लिएकाले उक्त लक्ष्य पूरा गर्न आयोजना, प्रमुख जिल्ला अधिकारी र लगानी बोर्डको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले स्थानीय जनप्रतिनिधि, निर्माण कम्पनीसँग सहकार्य गरेर समस्याको समाधान गर्नुपर्नेमा जोड दिनुभयो । “आयोजनालाई अगाडि बढाउन काहाँकाहाँ अवरोध छन्, त्यससँग सम्बन्धित व्यक्ति कोको हुन्, त्यसको पहिचान गरेर प्रमुख जिल्ला अधिकारीले समाधान गर्न लाग्नुहुनेछ भन्ने विश्वास लिएको छु”, मन्त्री खड्काले भन्नुभयो । स्थानीयस्तरमा देखिएका समस्या समाधान गर्न स्थानीय सरकारले समेत सहयोग गर्नुपर्ने उहाँको भनाइ छ । ऊर्जामन्त्री खड्काले अरुण तेस्रो जलविद्युत् आयोजनालाई अगाडि बढाउने कुरामा प्रधानमन्त्रीको समेत चासो र चिन्ता रहेकाले यसलाई समयमा सम्पन्न गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले ऊर्जा क्षेत्रको समग्र विकासका लागि निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्नुपर्ने बताउनुभयो । ऊर्जा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले आयोजना निर्माणका क्रममा देखिएका समस्या समाधान गर्न मन्त्रालयले आवश्यक समन्वय र सहयोग गर्ने बताउनुभयो । उहाँले आयोजनागत रुपमा ऐलानी जग्गा प्राप्तिसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिएको बताउँदै अरुण तेस्रोको लगानी बोर्डमार्फत आयोजना विकास सम्झौता भएकाले बोर्डमार्फत नै मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्नुपर्ने उल्लेख गर्नुभयो । बैठकमा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रवल अधिकारी, सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी धुब्रबहादुर खड्का, धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, खोटाङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, भोजपुरका प्रमुख जिल्ला अधिकारी नरबहादुर थापा, उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, अरुण तेस्रो आयोजनाका प्रमुख कार्यकारी अधिकृतलगायतले प्रसारणलाइन विस्तारका क्रममा देखिएका समस्याकाबारेमा मन्त्रीलाई जानकारी गराउनुभएको थियो ।
चितवन: चोध वर्षीया नमिता चेपाङले पहिलो पटक लट्टेको स्वाद लिँदै गर्दा उहाँलाई यो परिकार नौलो लाग्यो । जिल्लाको पहाडी क्षेत्र सिद्धिबाट रत्ननगर नगरपालिका–११ मा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रमा बसेर कक्षा ४ मा पढ्दै गर्नुभएकी नमिताले यस अघिका पर्वमा मासु र भातमात्रै खाएको सुनाउनुभयो । अनदिको चामलबाट बनेको चाम्रो, गुलियो भात खाँदै गर्दा नमितालाई नौलो लाग्यो । केन्द्रमा रहेका एक सय ५० चेपाङ बालबालिकालाई तीजको अवसरमा नेपाल प्रेस युनियनले आज लट्टे खुवाएको हो । नमिताले भन्नुभयो, “तीज मैले पहिलो पटक सुनेकी हुँ, हामीले त न्वागी पर्व मनाउथ्यौं ।” सोही केन्द्रमा रहनु भएकी १६ वर्षिया जुना चेपाङले पनि पहिलो पटक लट्टेको स्वाद लिनुभयो । खाँदै गर्दा उहाँले भन्नुभयो “मलाई त नौलो परिकार मिठो लाग्यो ।” कक्षा नौ मा अध्ययनरत जुनाले आफूहरुले खासै गुलियो नखाने गरेको भन्दै भातमा चिनी हाल्दा मिठो लागेको सुनाउनुभयो । उहाँ जस्तै केन्द्रमा रहेका ४८ छात्रा र एक सय दुई छात्रले लस्करै लाइन लागेर दर खाएका थिए । केन्द्रमा शिशु कक्षादेखि स्नातक पढ्नेसम्म रहेका छन् । उनीहरुमध्ये शहीद स्मृति क्याम्पसमा तीन, नेपाल माविमा पाँच, केन्द्रसँगै रहेको पञ्चतेजज्योति आधारभूत विद्यालयमा ८२ र बाँकी पञ्चकन्या मावि जयमङ्गलामा अध्ययनरत छन् । केन्द्रका संस्थापक अध्यक्ष केपी किरण शर्माका अनुसार अधिकांश बालबालिकाले पहिलो पटक लट्टे खाएर तीज पर्व मनाएका हुन् । त्यहाँ चितवनको भरतपुर महानगरपालिका वडा नं २९, इच्छाकामना गाउँपालिका, कालिका र राप्ती नगरपालिकाका पहाडी क्षेत्रमा बसोबास गर्ने बालबालिका रहेका छन् । त्यस्तै गोरखाको गण्डकी गाउँपालिका, धादिङको बेनिघाट रोराङ गाउँपालिकाका बालबालिका पनि रहेका छन् । उनीहरुलाई तीजमा दर खुवाएर नचाउन रत्ननगरका नगर प्रमुख प्रलाद सापकोटा, उपप्रमुख यादव पाठक, नगरपालिकाका प्रवक्ता कुलप्रसाद सापकोटा पुग्नुभएको थियो । सँगै नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सिर्जना अर्याल, जिल्ला अध्यक्ष नारायणप्रसाद अधिकारी, प्रेस सेन्टरका केन्द्रीय सचिव शान्ता अधिकारी, प्रेस चौतारीका केन्द्रीय सदस्य प्रतिमा सिलवालसँगै प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल सहित जिल्लाका पत्रकार उपस्थित हुनुभएको थियो ।
भोजपुर: युट्युब च्यानल ‘हेर्ने कथा’ को ‘हराएका वर्षहरु’ का पात्र प्रकाश तामाङका लागि घर निर्माण थालिएको छ । प्रकाशको घर बनाउन शिलान्यास गरिएसँगै निर्माण सुरु भएको हो । भोजपुरको षडानन्द नगरपालिका–१० साम्पाङमा प्रकाशका लागि निर्माण गर्न लागिएको घरको बुधबार शिलान्यास गरिएको थियो । पूर्वमन्त्री एवं सांसद सुदन किराती र भूतपूर्व गोर्खा सैनिक सङ्घ (गेसो)का अध्यक्ष कृष्णकुमार राईसँगै प्रकाशका बुबाआमाले संयुक्तरुपमा नयाँ बन्ने घरको शिलान्यास गर्नुभएको थियो । गेसोका अध्यक्ष राईले आफ्नो पूख्यौली सात रोपनी जग्गा प्रकाशलाई घर निर्माण गर्न दिनुभएको छ । करिब रु १५ लाख मूल्य बराबरको जग्गामा प्रकाशका लागि नेकपा (माओवादी केन्द्र) को अगुवाइमा घर बन्न लागेको हो । उपलब्ध गराइएको जग्गामा माओवादी केन्द्र षडानन्द नगर कमिटीको अगुवाइमा पाँच कोठे घर निर्माण गरिने छ । घर निर्माण गर्न सांसद किरातीको संयोजकत्वमा पार्टी कार्यकर्ताबाट श्रमदान तथा आर्थिक सहयोग जुटाइने छ । लगभग ३३ वर्ष हराएका ४३ वर्षीय तामाङ गत शनिबार षडानन्द–१० साङपाङको छाप्लेगाउँस्थित बाबुआमासँग बस्दै गरेको घर आइपुग्नु भएको थियो । आगामी दिनमा बाबुआमासँगै बसेर खेती किसानी गर्ने उद्देश्य रहेको प्रकाशले बताउनुभयो । प्रकाशका लागि अहिले सहयोगी निकायबाट विभिन्न सहयोग हुँदै आइरहेको छ । साथै उहाँको घरमा गएर सरकारी टोलीले प्रकाशको जन्मदर्ता र नागरिकतासमेत बनाइदिएको छ ।
पोखरा: मेडिपल्स हस्टिपलको पार्किङ क्षेत्रमा कार पार्किङ गर्ने क्रममा सेती खोँचमा खसेको कार निकालिएको छ । पोखरा महानगरपालिका–११ स्थित मेडिपल्स हस्पिटल पछाडि कार पार्किक गर्ने क्रममा खोँचमा खसेको कार आज (बिहीबार) दिउँसो क्रेनको मद्धतमा सुरक्षाकर्मीले निकालेको हो । बुधबार साँझ हस्पिटलको पछाडि ग २ च ८१३८ नम्बरको कार ब्याक गरी पार्किङ गर्ने क्रममा सेती खोँचमा खसेको थियो । कारसँगै सेती खोँचमा खसेका पोखरा महानगरपालिका–८ सिमलचौर बस्ने कार चालक ४० वर्षीय लोकेन्द्र आचार्य र निजको छोरी ४ वर्षीय सितल आचार्यको सकुशल उद्धार गरेको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले लाम व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर एवं निःशुल्क पानी वितरणलगायत तयारी पूरा गरेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो । तीजका अवसरमा चार वटै सुरक्षा निकायले पशुपति क्षेत्रमा सुरक्षा दिने गरी व्यवस्था मिलाइएको छ । यस वर्षको हरितालिका ९तीज० पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने वर्तालु भक्तजनका लागि सहज बनाउन चार स्थानबाट लामको व्यवस्था गर्नेगरी तयारी भएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिनुभयो । कोटेश्वर–तीनकुने–सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्नेगरी पहिलो लामको व्यवस्था गरिएको छ । यो मार्गबाट छिरेका भक्तजन पूर्वी ढोकाबाट बाहिरिने छन् । यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल आर्यघाट जाने वाग्मती नदीमाथिका दुई पुल पार गरेपछिको मध्यक्षेत्रमा राख्ने गरी व्यवस्था मिलाइएको छ । दोस्रो लाम मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउने गरी व्यवस्था गरिएको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल शङ्कराचार्य मठअघिको क्षेत्रमा राख्ने व्यवस्था गरिएको कोषका प्रवक्ता अधिकारीले जानकारी दिनुभयो । तेस्रो लाम गौशाला–पिङ्गलस्थान–पञ्चदेवल क्षेत्रबाट अघि बढ्ने व्यवस्था मिलाइएको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल बज्रघर अघिको भागमा राखिनेछ । चौँथो लाम गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै पशुपतिनाथ मन्दिरमा प्रवेश गर्नेछ । यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल गुरु मन्दिर अघिको खुला भागमा राखिनेछ । बाहिर चार लाम भएपनि मूल मन्दिरभित्र प्रवेश गरेपछि प्रत्येक ढोकाबाट प्रवेश गर्नेका लागि दुईदेखि तीनवटासम्म लामको व्यवस्था गरिएको कोषका प्रवक्ता अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार तीजका अवसरमा पशुपतिनाथ दर्शन गर्न आउने भक्तजनको लाम व्यवस्थापन गर्न कोषले अधिकृतस्तरका कर्मचारीलाई विशेष जिम्मेवारीसहित परिचालन गर्ने तयारी गरेको छ । तीजका अवसरमा शुक्रबार बिहान तीन बजेदेखि पशुपतिनाथका चारै ढोका खोल्ने गरी तयारी गरिएको कोष, संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख ईश्वरमान भण्डारीले बताउनुभयो । उहाँका अनुसार बिहानैदेखि भक्तजनलाई सहज रुपमा दर्शन गराउने व्यवस्थापन मिलाइएको छ । तीजका अवसरमा मूल मन्दिर क्षेत्रभित्र महिला प्रहरीमात्र खटाउने गरी व्यवस्था मिलाइएको छ । त्यसका छ सय महिला प्रहरीको सूची कोषमा प्राप्त भएको पत्रकार सम्मेलनमा आज जानकारी गराइएको हो । पशुपतिनाथ मूल मन्दिर र त्यस परिसरको तस्बिर एवं भिडियो खिचेमा मोबाइल जफत गरी सामग्री मेटाइने कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले जानकारी दिनुभयो । पशुपतिनाथको मूल मन्दिरभित्र प्राचीनकालदेखि तस्बिर एवं भिडियो खिच्न मनाही गरिँदै आइएको छ । पछिल्लो समय सबैका हातमा मोबाइल हुने भएकाले चलाएजसरी तस्बिर खिच्ने क्रम बढ्न थालेपछि पशुपति क्षेत्रमा समस्या हुने गरेको भन्दै कोषाध्यक्ष सुवेदीले यसको निगरानी कडाइका साथ गरिने बताउनुभयो । सनातनकालदेखि तस्बिर खिच्न मनाही गरिएको स्थानको तस्बिर खिची सामाजिक सञ्जालमा राख्ने, टिकटक बनाउने गर्ने क्रम बढ्न थालेपछि कोषले कडाइ गर्न लागेको उहाँको भनाइ छ । कोषले विगत वर्षदेखि गर्भगृहको तस्बिर खिचेमा रु दुई हजार एक सय, मुख्य मन्दिरको तस्बिर खिचेमा रु एक हजार एक सय र मूल मन्दिर परिसरको तस्बिर खिचेमा रु पाँच सय जरिवाना गर्न सुरु गरेको छ । पशुपपतिनाथ मूल मन्दिर क्षेत्रमा मोबाइलले तस्बिर खिचे÷नखिचेको अनुगमन गर्न कोषका कर्मचारी समूहले सूक्ष्म अनुगमन गर्न लागेका कोषाध्यक्ष सुवेदीलेले जानकारी दिनुभयो । कोषले तीजका अवसरमा शुक्रबार बिहान छ बजेपछि पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेश गर्न नदिने जनाएको छ । पशुपतिनाथका नित्य दर्शनार्थीलाई त्यसअघि नै दर्शन गरेर फर्कन पनि कोषले आह्वान गरेको छ । वृद्धवृद्धा एवं बच्चा बोकेका महिलाका लागि लाइनबाट सहज रुपमा दर्शन गरेर फर्कने व्यवस्था मिलाइएको छ ।
काठमाडौं: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकको शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्नु सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ४३औँ वार्षिकोत्सव एवं पुरस्कार वितरण समारोहमा मन्त्री भट्टराईले शिक्षा क्षेत्रमा समस्या देखाउनुभन्दा समाधान खोज्नतर्फ सरकार लागेको उल्लेख गर्नुभयो । हरेक नागरिकलाई शिक्षा दिनु राज्यको पहिलो दायित्व भएकाले सरकार आफ्नो जिम्मेवारी पूरा गर्न लागेको उहाँको भनाइ छ । मन्त्री भट्टराईले समस्याका रुपमा रहेको नेपालको शिक्षा प्रणालीलाई समाधानमुखी बनाउन सरकार योजनाबद्ध रुपमा लागिरहेको स्पष्ट पार्नुभयो । उहाँले नेपालको शिक्षा क्षेत्रको सुधारका लागि बौद्धिक समाजबाट प्राप्त राय, सुझावलाई ग्रहण गरेर सरकार अगाडि बढिरहेको बताउनुभयो । उहाँले शिक्षा क्षेत्रको विकास गर्दा वर्तमानसँगै भाबी पुस्ताका बारेमा समेत सोच्नुपर्ने बेला आएको उल्लेख गर्नुभयो । विश्वविद्यालयको स्वायत्ततामाथि सरकारले हस्तक्षेप गर्न नहुने मन्त्री भट्टराईको भनाइ छ । उच्च शिक्षाको विकासका लागि विभिन्न समयमा विभिन्न सरोकार भएकाले दिएका राय, सुझावलाई समेटेर एकीकृत योजना बनाई अगाडि बढ्नुपर्ने उहाँले धारणा राख्नुभयो । बागमती प्रदेशका सदस्य दीपेन्द्र श्रेष्ठले मुलुकको शिक्षा क्षेत्रमा ठूलो सुधारको खाँचो रहेको बताउनुभयो । पूर्वमन्त्रीसमेत रहनुभएका उहाँले आगामी दिनमा शिक्षालाई प्रविधितर्फ जोडेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष डा रुद्र शर्माले क्याम्पसले सामाजिक उत्तरदायित्वको कार्यक्रमअन्तर्गत छात्रालाई निःशुल्क अध्यापन गराउँदै आएको जानकारी दिनुभयो । क्याम्पस प्रमुख अपराजिता अर्यालले नारी शिक्षाको क्षेत्रमा चार दशकदेखि निरन्तर रुपमा लागेको डिल्लीबजार कन्या क्याम्पसमा हाल आठ सयभन्दा बढी छात्रा अध्ययनरत रहेका जानकारी दिनुभयो । कार्यक्रममा विशिष्ट प्राज्ञिक सम्मानबाट समाजशास्त्र विषयमा विद्यावारिधि हासिल गर्नुभएका सोही क्याम्पसका प्राध्यापक डा हरिहर घिमिरे र डा आनन्द पन्तलाई सम्मान गरिएको थियो । साथै क्याम्पसले उत्कृष्ट कर्मचारी तथा विद्यार्थीलाई समेत सम्मान गरेको थियो ।
बागलुङ (गलकोट): बागलुङमा उत्पादित अकबरे खुर्सानी विदेश निर्यात हुन थालेको छ । यहाँस्थित काठेखोला गाउँपालिका–८ लेखानीका लालकुमारी पुनले एक क्विन्टलभन्दा बढी अकबरे खुर्सानी दुबई निर्यात गर्नुभएको हो । उहाँले भन्नुभयो,“गत वैशाखदेखि हालसम्म एक क्विन्टलभन्दा बढी अकबरे खुर्सानी विदेश निर्यात भएको छ । अकबरे खुर्सानीको व्यवसायिक खेती गर्दा खुर्सानीले पेट भरिन्न भन्ने अहिले मेरो नै सिको गर्दैछन् ।” विसं २०७० मा तत्कालीन कृषि कार्यालय बागलुङले लालकुमारीको गाउँमै पुगेर कृषि व्यवसाय प्रवद्र्धन तालिमको आयोजना गरेको थियो । त्यही तालिम नै उहाँको जीवनमा कोसेढुङ्गा सावित भयो । गाउँगाउँमा महिलाले उत्पादन गरेको तरकारीले सहजै बजार नपाएको तालिममा सहभागी भएकाको गुनासो गरेका थिए । तालिममा सहभागी भएका ६९ जनालाई कृषि कार्यालय बागलुङका तत्कालीन प्रमुख विनोद हमालले एक÷एक प्याकेट अकबरे खुर्सानीको बीउ दिनुभयो । कृषकले उत्पादन गरेको तरकारीको बजारीकरणमा सहयोग गरिदिने प्रतिबद्धतासहित कृषिले खुर्सानीको बीउ बाँडेर फर्किएपछि लालकुमारीको दैनिकी फेरिएको छ । “गाउँकाले खुर्सानीको बिरुवाले पेट भरिँदैन, करेलो र घिरौँलो लगाउँ भने, मैले मानिन्, अकबरे खुर्सानीको भविष्य देखेको थिएँ, पछिल्लो समय अकबरे खुर्सानीको फाइदा देखियो”, उहाँले भन्नुभयो, “अहिले अकबरे खुर्सानीको माग उच्च देखेर पाँच रोपनी जग्गामा खुर्सानीखेती गरेको छु ।” त्यही एक प्याकेट खुर्सानीको बीउबाट लालकुमारीले यतिबेला फैलाउँदै र बढाउँदै पाँच रोपनी जग्गामा व्यावसायिक खुर्सानीखेती गर्नुभएको छ । अन्य पाँच रोपनीमा झिलिङ्गो ९सिल्टुङ्ग०, सिमी, काँक्रो, करेला, भेन्टा र सागसँगै तरकारीखेती पनि गर्नुभएको छ । विसं २०७२ बाट व्यावसायिक खेती सुरु गरेकी लालकुमारी अहिले बर्सेनी २० क्विन्टलभन्दा बढी खुर्सानी उत्पादन हुन थालेको बताउनुभयो । विसं २०७५ मा रोपेका खुर्सानीका बोटले अहिले पनि उत्पादन दिने गरेको उहाँले बताउनुभयो । पहिले पहिले लालकुमारीको खुर्सानी बागलुङ बजारमा बिक्री हुन्थ्यो, विस्तारै जिल्ला बाहिर पनि जान थाल्यो । केही वर्षयता कोसेलीका रुपमा आफन्त, इष्टमित्रलाई जापान, कोरिया, पोर्चुगल र अमेरिका पठाउने बढ्न थाले । विसं २०७९ देखि भने लालकुमारीले व्यावसायिक रुपमै आफूले उत्पादन गरेको खुर्सानी दुबई पठाउन थाल्नुभएको छ । पहिले पहिले खुर्सानी फलाएर पाकेर रातो भएपछि बिक्री गर्ने गरेको भए पनि आजभोलि हरियो हुँदै बिक्री हुने गरेको उहाँको भनाइ छ । प्रतिकेजी तीन सय रुपैयाँ र प्रतिमाना एक सय रुपैयाँका दरले गाउँबाटै बिक्री हुने गरेको उहाँको भनाइ छ । खुर्सानीमात्र बेचेर वार्षिक तीन लाखभन्दा बढी आम्दानी गर्ने गरेको लालकुमारीले बताउनुभयो । खुर्सानीबाहेक अन्य तरकारी बिक्री गरेको आम्दानी छुट्टै छ । कादेश कृषि तथा पशुपालन सहकारी संस्थाको अध्यक्षसमेत रहेकी लालकुमारीले सहकारीमा आबद्ध भएकालाई खुर्सानी उत्पादनमा जोडेर बिक्रीवितरणमा सहजीकरण गर्ने तयारी गरेको बताउनुभयो । स्थानीय, प्रदेश र केन्द्र सरकारका कृषिसम्बन्धी कार्यक्रम र कार्यालयबाट आफूलाई धेरै सहयोग प्राप्त हुने गरेको उहाँले बताउनुभयो ।

