काठमाडौं: आज देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान गरिएको छ । अहिले पनि देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली नै रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार आज प्रदेश १, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हिमपातको सम्भावना छ । तर पानी भने पर्ने सम्भावना नरहेको उहाँले बताउनुभयो । आज काठमाण्डौको मौसम पनि आंशिकदेखि सामान्य बदली हुने अनुमान छ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव पर्न थालेकाले मौसम बदलीसँगै हिमपात हुन लागेको हो । तर, पानी पर्ने गरी भने यो प्रणाली सक्रिय नभएको मौसमविद्ले बताएका छन् । यसपालि हिउँदमा अहिलेसम्म वर्षा हुन सकेको छैन । मौसमविद्ले यसअघि नै यसपालि हिउँदमा कम पानी पर्ने र तापक्रम औसत भन्दा बढी हुने पूर्वानुमान गरेका थिए ।
काठमाडौंः राष्ट्रपति, सभामुख कसलाई बनाउने र कुन पार्टीले पाउने लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाउनु भएको छ । सभामुखको चुनाव नजिकिँदै गर्दा प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाउनु भएको हो । पर्सि हुने सभामुखको चुनावका लागि भोलि मनोनयन दर्ता गर्ने कार्यतालिका छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सभामुखमा उम्मेदवारी दिनेरनदिने निर्णय सर्वदलीय बैठकपछि मात्रै लिनुपर्ने बताउनु भएको छ । गएको पुस १० गतेको समझदारीअनुसार राष्ट्रपति पाउनेमा एमाले निश्चित भए पनि देउवा राष्ट्रपति पद कांग्रेसमा आउनेमा आशावादी हुनुहुन्छ । यही पृष्ठभूमि बनाउन कांग्रेसले गएको २६ गतो प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको थियो । अघिल्लो संसदीय चुनावमा सहकार्य र पार्टी एकीकरण गरे पनि तिक्त सम्बन्धले अलग भएका दाहाल र ओलीको पुनर्मिलन भए पनि विश्वासको वातावरण बन्न सकेको छैन । हिजो ओलीसँग लामो छलफल गरेका प्रचण्डले विश्वासको मत दिने सबै पार्टीलाई सरकारमा समेट्न खोज्नु भएको छ । यसले एमालेमा शंसय उत्पन्न भएको छ । सर्वदलीय बैठक अघि आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ ।
काठमाडौंः सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई उपप्रधानमन्त्रीसँगै उर्जामन्त्रीको बनाउने निर्णय गरेको छ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकको सहमति अनुसार एमालेले ८ मन्त्रालय, माओवादीलाई प्रधानमन्त्रीबाहेक ४ मन्त्री र १ राज्यमन्त्री दिने सहमति भएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा उर्जामन्त्री । साथमा सहरी विकास र खेलकूद मन्त्रालय राप्रपाको भागमा परेको छ भने, जसपालाई २ मन्त्रालय दिने निर्णय भए पनि जसपा सहमत भएको छैन। रास्वपाले उपप्रधान तथा गृहबाहेक शिक्षा र श्रम मन्त्रालय पाउने निर्णय भएको छ । नयाँ मन्त्रीहरुको सपथ ग्रहण भोलि १ बजे हुनेछ ।
पोखराः पोखरामा विमान दुर्घटनामा परेर बेपत्ता भएका थप एकजनाको शव फेला परेको छ । सोमबार सेती खोंचबाट थप एकजनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या ७० पुगेको हो । जिल्ला प्रहरी कार्यालय प्रमुख अजय केसीले फेला परेको शवलाई पोखरा विज्ञान प्रतिष्ठानमा ल्याइएको जानकारी दिए । एसपी केसीले अज्ञात अवस्थामा रहेका २ जनाको भने भोलिमात्रै खोजी गरिने जानकारी दिए । काठमाडौंबाट पोखराका लागि उडेको यती एअरलाइन्सको विमान ४ जना चालक दल र ६८ जना यात्रुसहितको विमान पुरानो पोखरा विमानस्थल नजिकैको सेती खोंचमा दुर्घटना भएको थियो ।
पोखराः विमान दुर्घटनामा मृत्यु भएका २४ जनाको शवको मात्र पोखरामा पोष्टमार्टम हुने भएको छ । यती एयरको विमान पोखरामा आइतबार दुर्घटना हुँदा मृत्यु भएका ६९ जना मध्य २४ जनाको पोखरा र बाँकी ४५ जनाको शव पोस्टमार्टमका लागि काठमाडौं पठाइने भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक चिकित्सकका अनुसार २४ जनाको पोखरामै पोस्टमार्टम गरेर परिवारलाई शव बुझाइनेछ । दुर्घटना भएको विमानमा चालक दलसहित ७२ जना सवार थिए । दुर्घटनास्थलमा ३ जना अझै अज्ञात रहेका छन् ।
पोखराः आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्स दुर्घटनामा परेपछि आज थप एकजनाको शव भेटिएको छ । ७२ जना सवार जहाजमा हिजो साँझसम्म ६८ जनाको शव प्राप्त भएको थियो । आज बिहानैदेखि खोजीमा जुटेका उद्धारकर्मीहरुले भर्खरै एकजनाको शव भेटेका छन् । शव महिलाकाे भएकाे स्थलगत रिपोर्टिङमा रहेका सुनगाभा न्यूजकर्मी अर्जुन गाहामगरले जनाएका छन् । अब ३ यात्रुको शव भेटाउने बाँकी छ भने नेपाली सेना, सशस्त्र प्रहरीलगायतका उद्धारकर्मी दुर्घटनास्थलमा निरन्तर खोजीमा छन् ।
काठमाडौं: सरकारले अवैध क्रसर बन्द गराएको रिस फेर्न व्यवसायीले ढुङ्गा, गिटी र बालुवा बेच्न छाडेपछि विकास निर्माणको काम प्रभावित हुन थालेको छ । गृह मन्त्रालयले गएको पुसको २० गते सबै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएर अवैध र मापदण्ड विपरीत सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गराउन पत्र पठाएको थियो । गृह मन्त्रालयले अवैध क्रसर बन्द गराउन पत्राचार गरेको रिसमा वैधरूपले सञ्चालनमा रहेका क्रसर उद्योगीले पनि ढुङ्गा, गिटी र बालुवा नबेच्दा ठूला विकास निर्माणका काम नै प्रभावित हुन थालेका छन् । प्रारम्भिक तथ्याङ्कअनुसार सञ्चालमा रहेका आधाभन्दा धेरै क्रसरले दर्ता नवीकरण नगरेको, आवश्यक कागजात कार्यालयमा नराखेको, मापदण्ड विपरीत उत्खनन गरेको पाइएको गृह मन्त्रालयका एक अधिकारीले बताएका छन् । अवैध क्रसर बन्द गराउन खोज्दा सबै मिलेर सरकारलाई अप्ठेरोमा पार्ने षड्यन्त्र भइरहेको पनि मन्त्रालय स्रोतको भनाइ छ । यसै पनि काममा ढिलाइ गर्दै आएका विकास निर्माणका ठेकेदारले अहिले ढुङ्गा, गिटी, बालुवा नपाएको बहाना थप्न थालेका छन् । पूर्व पश्चिम राजमार्गको नारायणगढ–बुटबल सडक विस्तार, नागढुङ्गा–मुग्लिन सडक विस्तार, नागढुङ्गा–नौबीसे सडक, विभिन्न जलविद्युत् आयोजनादेखि स्थानीय ठेकेदारले समेत ढुङ्गा र गिटीको अभाव भएको भन्दै काम रोक्न थालेका छन् । सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले अहिले विभिन्न आयोजनामा ढुङ्गा, गिटीको अभाव भइरहेका गुनासा आउन थालेको बताउनुभयो । उहाँले सरकारले वातावरण संरक्षण र विकास निर्माणका कामलाई समन्वय नगरेमा ठूलो समस्या आउन सक्ने चिन्ता रहेको पनि बताउनुभयो ।
काठमाण्डौंबाट पोखरा आउने क्रममा दुर्घटनामा परेको विमान दुर्घटना भएको २४ घण्टा बितिसक्दा पनि शव नपाएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जम्मा भएका आफन्तजन एवं परिवारका सदस्यहरु आक्रोशित भएका छन् । परिवारजनलाई आज शव दिइने जानकारी गराइएको थियो । सोही जानकारीअनुसार त्यहाँ भेला भएका आफन्तहरुले प्रक्रिया लामो भएको र मिटिङमात्रै बसेको भन्दै रोष प्रकट गरेका छन् । सञ्चारमाध्यमसँग प्रत्यक्ष कुरा गर्दै आफन्तजनहरुले आक्रोशित हुँदै भने ‘हामी हाम्रो मान्छेको शव आफै झिकेर लान्छौं, यहाँ रोक्न पाइँदैन ।’ त्यस्तै, उनीहरुले मृतकका आफन्तहरु देशभरबाट भेला भइसक्दा पनि शवको पोष्टमार्टम किन हुन सकेन ? भन्दै प्रश्न गरेका छन् । ‘हिजो घटना घट्यो, अझै मिटिङ भन्दै हामीलाई थप दुखित बनाउने ?’ उनीहरुको प्रश्न छ । सम्बन्धित निकायले बीमा दाबी गर्न प्रक्रिया पु¥याउने भन्दै स्थितिबारे जानकारी गराउँदा पनि पीडितहरुको आक्रोश थामिएको छैन । प्रतिष्ठानले भने शवको पोष्टमार्टम भइरहेको जानकारी गराउँदै यथाशक्य चाँडो शव उपलब्ध गराउने जनाएको छ । आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको नाइन–एन एएनसी एटीआर ७२–५०० विमान अवतरणअघि दुर्घटना भएको थियो । विमानमा चालक दलका चार जना सदस्यसहित ७२ जना सवार रहेकोमा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य बेपत्ता छन् ।
बागलुङः आगलागीका घटनामा अत्यावश्यक रहेको दमकल बागलुङका दश पालिकामध्ये नौ पालिकामा छैनन् । बागलुङका नौं स्थानीय तह दमकलविहीन हुँदा आगलागीका घटनामा ठूलो धनजनको क्षति पुग्दै आउँदासमेत दमकल खरिदमा यहाँका पालिकाले चासो दिन सकेका छैनन् । दमकल अभावमा आगलागीका घटनामा ठूलो जनधनको क्षति हुँदासमेत बागलुङ नगरपालिका बाहेकका अन्य नगरपालिका र गाउँपालिकाले दमकलको आवश्यकता हालसम्म नदेख्नु दुखद् रहेको छ । बागलुङ बजारपछिको दोस्रो व्यापारिक केन्द्र बुर्तिवाङ, विकासोन्मुख सहर गलकोट र कुश्सिेरा बजारमा समेत दमकलको पहुँच पुग्नसकेको छैन । गलकोट नगरपालिका, ढोरपाटन नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका, ताराखोला गाउँपालिका, निसिखोला गाउँपालिका, तमानखोला गाउँपालिका, बढिगाड गाउँपालिका र बरेङ गाउँपालिकामा दमकल छैनन् । दमकल अत्यावश्यक भए पनि हालसम्म खरिद गर्न नसकिएको गलकोटका नगर प्रमुख भरत शर्मा गैरेले बताउनुभयो । “दमकल अत्यावश्यक छ, गलकोटमा सहर विस्तारको कार्य भइरहँदा जोखिम बढी भएको छ, तर पालिकासँग दमकल खरिद गर्ने र व्यवस्थापन गर्न सक्ने क्षमता छैन, राज्यले दमकल खरिदमा अनुदानसमेत दिएको छैन”, उहाँले भन्नुभयो, “विपद्जन्य आगलागीका घटना निवारणका लागि नगरपालिकाले सचेतना गर्ने, तत्कालै पानी ल्याउन सक्ने स्थानको व्यवस्थापन भने गरेको छ, आफ्नै दमकल खरिद गरेर चलाउने पालिकाको सामथ्र्य छैन ।” आगलागी नियन्त्रणका लागि अत्यन्तै आवश्यक रहेको दमकल बजेट विनियोजन गरेर स्थानीय तहले खरिद गर्दा ठूलो जन धनको क्षति हुनबाट रोकिने भए पनि शहरउन्मुख भएका पालिकाले समेत बजेट अभावमा खरिद गर्न सकिरहेका छैनन् । बागलुङमा चार नगरपालिका र छ गाउँपालिकामै दमकल पुग्न सक्ने सडक सञ्जाल पुगेको भए पनि जिल्ला सदरमूकामबाहेक अन्यत्र दमकलको पहुँच पुग्न सकेको छैन । पश्चिम क्षेत्रको ढोरपाटन अथवा गलकोट नगरपालिकाले दमकल व्यवस्थापन गर्दा अन्य पालिकालाई समेत समेट्न सकिने स्थानीयको भनाइ छ । आगलागीका घटनामा बागलुङ नगरपालिकाले अन्य स्थानीय तहहरुलाई समेत सहयोग गर्दै आएको नगरउपप्रमुख राजु खड्काले बताउनुभयो । खड्काले छिमेकी स्थानीय तह काठेखोला गाउँपालिका र जैमिनि नगरपालिकामा आगलागी हुँदा दमकल पठाउने गरिए पनि दूरीका हिसाबले टाढा रहेका पालिकामा आगलागी नियत्रणमा दमकल पठाउन कठिन रहेको बताउनुभयो ।

