सुवाको भोटेकोसी नदीमा गत भदाै १० गते आएको विनाशकारी बाढीमा परेर ज्यान गुमाउनेमध्ये अहिलेसम्म १ हजार ४ सय ५१ जनाको शव फेला परेको छ।   नेपाल प्रहरीले सोमबार बिहान सार्वजनिक गरेको विवर...

 काठमाडौं:   पश्चिमी वायुको प्रभावले देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ।  सो प्रणालीको प्रभावले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा भई प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। साथै देशको हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना छ। राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रही प्रदेश नं १ को पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षा तथा प्रदेश नं १, गण्डकी  र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ। हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिम तराईका केही र मध्य तथा पूर्वी तराईका थोरै भू–भागमा हुस्सु–कुहिरो लागेको अवस्था रहेको छ। महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.८ डिग्री र अधिकमत तापक्रम १५.५ डिग्री सेल्सियस रहेको छ। त्यस्तै आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम ०.१ डिग्री सेल्सियस र सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २४.२ डिग्री सेल्सियस छ।

काठमाडौं:   साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार तोलामा पाँच सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला तीन सय रुपैयाँ बढेको हो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारको तुलनामा आज चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

सुर्खेत:  शैक्षिक गुणस्तर सुधारका लागि सामुदायिक विद्यालयहरू समायोजन (मर्ज) गरिएका छन्। स्थानीय तहले भौतिक पूर्वाधारको अवस्था तथा जनशक्ति र विद्यार्थी अनुपात हेरेर सामुदायिक विद्यालयहरू गाभेका हुन्।  सुर्खेतको सिम्ता गाउँपालिकाले १७ वटा सामुदायिक विद्यालय गाभेर आठवटा कायम गरेको छ। विद्यार्थी–शिक्षकको अनुपात नमिलेका विद्यालयहरू समायोजन गरिएको पालिकाले जनाएको छ।  विद्यार्थीको सङ्ख्या थोरै तथा शिक्षक दरबन्दी कम भएका र दूरीका हिसाबले टाढा रहेका विद्यालय एकै ठाउँमा गाभिएको हो। विद्यार्थी सङ्ख्या कम भएपछि विद्यालय समायोजन गरिएको पालिकाले जनाएको छ।  लामो समयदेखि चल्दै आएको भए पनि विद्यार्थी र शिक्षक अनुपात नमिलेका सामुदायिक विद्यालयहरूलाई गाउँपालिकाले शिक्षा कार्यविधि बनाएर मर्जको प्रक्रिया अगाडि बढाएको थियो।  गाउँपालिकाका शिक्षा शाखा प्रमुख बुद्धिबहादुर गौतमले सोही कार्यविधिलाई आधार मानेर आर्थिक वर्ष २०७५र७६ देखि विद्यालय समायोजन थालिएको जानकारी दिनुभयो। विद्यालय समायोजन अभियानअन्तर्गत सिम्ताको वडा नं. ५ मा रहेको भैरव प्राथमिक विद्यालय बजेडाआलीलाई नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बजेडाआलीमा मर्ज गरिएको छ। यस्तै वडा नं.४ मा रहेको कोइली प्राथमिक विद्यालयलाई सिद्ध प्राथमिक विद्यालयमा गाभिएकोमा फेरि सिद्ध प्राथमिक विद्यालयलाई पनि भानु माध्यमिक विद्यालयमा समायोजन गरिएको छ। वडा नं.४ मै रहेको दुर्गा आधारभूत विद्यालय भोटमुग्रालाई वागेश्वरी प्राथमिक विद्यालय सिमलगाउँमा मर्ज गरिएको छ। पालिकाको वडा नं.१ मा रहेको लालीगुराँस प्राथमिक विद्यालयलाई गैरीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय घोरेटामा गाभिएको छ।  शिक्षा शाखा प्रमुख गौतमले वडा नं.८ मा रहेको प्राथमिक विद्यालय कोलडाँडालाई नेरा माध्यमिक विद्यालय खेल्नेचौरमा मर्ज गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार वडा नं. ३ को शिखर प्राथमिक विद्यालय आग्रीगाउँलाई नेपाल राष्ट्रिय प्राथमिक विद्यालय लापुमा गाभिएको छ।  वडा नं. १ मा रहेको लालीगुराँस प्राथमिक विद्यालयलाई गान्द्रास्थित भगवती माध्यमिक विद्यालयमा समायोजन गरिएको छ। पालिकाका शिक्षा शाखा प्रमुख गौतम भन्नुहुन्छ, “विद्यार्थीको सङ्ख्या हेरेर विद्यालय गाभ्ने अभियान थालेका छौँ, जसअन्तर्गत थुप्रै विद्यालय मर्ज भइसकेका छन्। उहाँले अझै तीनरचारवटा विद्यालय गाभ्नुपर्ने देखिएको बताउनुभयो। सिम्ता गाउँपालिकामा सञ्चालित सामुदायिक विद्यालयहरूमा एक जना शिक्षक बराबर ४५ जना विद्यार्थी हुनुपर्ने प्रावधान बनाइएको छ। अहिले पनि शिक्षक र विद्यार्थीको अनुपात नमिलेका थुप्रै विद्यालय सञ्चालनमा छन्।   शिक्षक विद्यार्थी अनुपात, शिक्षक दरबन्दी र एक विद्यालयदेखि अर्कोसम्मको दूरीलाई आधार मानी विद्यालय समायोजनको अभियान चलिरहेको छ। गाउँपालिका क्षेत्रभित्रका दुर्गम ठाउँका विद्यालयलाई भने एक वर्षभित्र विद्यार्थी सङ्ख्या बढाउने मौका दिएको छ। यो वर्ष थप चारवटा विद्यालय मर्ज गर्ने तयारी पालिकाको छ। जिल्लाका नौवटै पालिकामा केही वर्षयता धमाधम विद्यालय मर्ज गर्न थालिएको छ। सरकारले कम विद्यार्थी भएका विद्यालय समायोजन गर्ने प्रयास थालेको वर्षौं बिते पनि सङ्घीयता कार्यान्वयनमा आएसँगै यसले गति लिएको हो। माध्यमिक तहसम्मको शिक्षा हेर्ने क्षेत्राधिकार स्थानीय तहलाई दिइएको छ।   

पोखरा:  एघारौं पोखरा महोत्सव विद्यालय स्तरिय लोकनृत्य पतियोगितालाई वण्डर ब्राण्ड स्वीच एण्ड युनि एक्सपर्ट ब्राण्ड तथा विवस ईलेक्ट्रिक्स प्रालिले प्रायोजकमा रही सहयोग गर्ने भएको छ ।  युनाईटेड क्लवको आयोजनामा आगामी पुषको २७ देखि माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौं संस्करणको पोखरा महोत्सवमा आयोजना हुने विद्यालय स्तरिय लोकनृत्य प्रतियोगितामा मुख्य प्रायोजकको रुपमा रहेर सहकार्य गर्ने भएको हो । हालै एक कार्यक्रमका बीच महोत्सव आयोजक युनाईटेड क्लवका वरिष्ठ उपाध्यक्ष तथा एघारौं पोखरा महोत्सव कलाकार ब्यवस्थापन उपसमिति संयोजक लोक बहादुर थापा र वण्डर ब्राण्ड स्वीच एण्ड युनि एक्सपर्ट ब्राण्ड तथा विवस ईलेक्ट्रिक्स प्रालिका प्रोप्राइटर चन्द्र बहादुर थापा बीच सहमति पत्रमा हस्ताक्षर गरी एक अर्का बीच सहकार्य गर्ने भएको हो । सो अवसरमा वोल्दै वण्डर ब्राण्ड स्वीच एण्ड युनि एक्सपर्ट ब्राण्ड तथा विवस ईलेक्ट्रिक्स प्रालिका प्रोप्राइटर चन्द्र बहादुर थापाले पोखरा महोत्सवले समाजिक काम संगै महोत्सवमा लोकनृत्य प्रतियोगिता गरी लोकनृत्य संरक्षणका लागि महत्वपूर्ण भुमिका निर्वाह गरिरहेकाले आफुहरुको संस्थाले समेत सहकार्य गर्न पाउदा निकै खुसी लागेको वताए । स्थापना कालदेखी युनाईटेड क्लवले महोत्सवको आयोजना गरी सामाजिक काम गर्दै आइरहेको र त्यस कार्यलाई आफुले समेत सहकार्य गर्दै आइरहेको सन्दर्भमा आफ्नो ब्यवशायिक संस्थाले समेत सहकार्य गर्न पाउदा आफु गर्वान्वित भएको थापाको भनाइ रहेको थियो । सो अवसरमा वोल्दै युनाईटेड क्लवका वरिष्ठ उपाध्यक्ष एवं एघारौं पोखरा महोत्सव कलाकार ब्यवस्थापन उपसमिति संयोजक लोक बहादुर थापाले युनाईटेड क्लवले महोत्सवको आयोजना गरी सामाजिक काम संगै लोक संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि महोत्सवमा विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता गरिदै आएको र उक्त प्रतियोगितामा वण्डर ब्राण्ड स्वीच एण्ड युनि एक्सपर्ट ब्राण्ड तथा विवस ईलेक्ट्रिक्स प्रालि संग सहकार्य गर्न पाउदा खुसी लागेको वताए । नृत्य प्रतियोगितामा प्रथम हुने टीमले नगद ४० हजार, शिल्ड र प्रमाणपत्र,  द्धितियले नगद २५ हजार, शिल्ड र प्रमाणपत्र, तृतियले नगद १५ हजार, शिल्ड र प्रमाणवत्र र सान्तवना स्थान हासिल गर्नेलाई नगद ७ हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

पोखरा:  पोखराको बाटुलेचौरमा ऐतिहासिक भैरव नाच प्रस्तुत गरिने भएको छ।   हिमालय क्लबको आयोजनामा यही पुस २३ गते स्थानीय बाटुलेचौर खेल मैदानमा देखाइने नाचको आन्तरिक बाहेक सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको बताइएको छ।  नृत्यलाई व्यवस्थित बनाउन क्लबले अध्यक्ष सुशील बस्नेतको अध्यक्षतामा ९ सदस्यीय सचिवालय समिति गठन गरेको छ। समितिको उपसंयोजकमा नेवा खल बाटुलेचौरका अध्यक्ष नन्दलाल श्रेष्ठ , क्लबका सल्लाहकार कुमार श्रेष्ठ, सदस्यमा निवर्तमान अध्यक्ष मोहन थापा, कोषाध्यक्ष पुष्पराज अधिकारी, मैदान आमा समुहका अध्यक्ष मनु वस्नेत, क्लबका मानार्थ सदस्य वेनी ब वस्नेत, क्षत्री समाज पोखरा १६ का अध्यक्ष सन्दिप थापा, कालिका मन्दिरका अध्यक्ष दुर्गा केसी थापा रहनु भएको छ।  त्यस्तै खाजा, खाना प्रसाद एवं स्वागत व्यवस्थापन नेवा खल, सरसफाई एवं व्यवस्थापन क्षत्री समाज, माला व्यवस्थापन मैदान आमा समुह, स्वास्थ्य व्यवस्थापन दुर्गा केसी थापा, प्रचार प्रसार संयोजक क्लबका सचिव शिवराज देवकोटा र अर्थ व्यवस्थापन कोषाध्यक्ष पुष्पराज अधिकारी रहनुभएको क्लबले जनाएको छ। नृत्य संचालन र व्यवस्थापन गर्न ठूलो धनराशी खर्च हुने भएकाले आर्थिक सहयोग संकलनलाई तिव्रता दिएको बताईएको छ। लामो समय पछि बाटुलेचौरमा हुन लागेको नृत्यमा सहभागी हुन क्लबले सबैलाई आग्रह गरेको छ।

काठमाडौं:  त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले जाडो बढेसँगै हिउँदे बिदा दिएको छ। त्रिविअन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा भोलिदेखि हिउँदे बिदा गर्न थालेको हो।  त्रिवि कार्यकारी परिषद्ले पुस १७ गतेदेखि बढीमा २२ दिन हिउँदे बिदा गर्ने निर्णय गरेको त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिए।  उनले उक्त समयमा पठनपाठन बन्द हुने र प्रशासनिक कार्य भने सञ्चालन हुने बताए। हिउँदे बिदाको समयमा तोकिएका परीक्षा भने नियमित सञ्चालन हुनेछन्। त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस छन्। 

काठमाडौं:  नेकपा एकीकृत समाजवादीले नेपाली कांग्रेस नेतृत्वको गठबन्धन टुट्नुका मुख्य साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड रहेको निष्कर्ष निकालेको छ । शनिवार पार्टी कार्यालयमा बसिरहेको स्थायी कमिटी बैठकमा गठबन्धन टुट्नुको कारणबारे छलफल भएको छ ।  एकीकृत समाजवादीका प्रवक्ता समेत रहेका नेता जगन्नाथ खतिवडाले सभापति देउवा र प्रचण्डका कारण गठबन्धन टुटेको बताए । पार्टी  बैठकको बीचमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्डलाई प्रधानमन्त्री बनाउने भनेर बोलेको कुरा पूरा नगरेका कारण गठबन्धन टुटेको बताउँदै त्यसबारेमा पार्टी अध्यक्ष माधव कुमार नेपाललाई पनि थाहा भएको बताए । बैठकमा अध्यक्ष नेपालले सुरुमा देउवाले प्रचण्डलाई प्रधानमन्त्री दिन सहमत भएको आफूलाई थाहा भएको उल्लेख गरेका छन् ।   देउवाले बचन पूरा नगरेपछि प्रचण्डको प्रतिक्रिया स्वरुप गठबन्धन टुटेको बताउँदै उनले गठबन्धन टुट्नुका मुख्य साझेदार देउवा र प्रचण्ड रहेको उल्लेख गरे ।

कञ्चनपुर:  कञ्चनपुरको बेलौरीमा तीन भारतीय लुटेरा पक्राउ परेका छन् । बेलौरी नगरपालिका–१ स्थित वैशाखाबाट हतियारसहित भारतीय लुटेरा पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्र शाहले बताउनुभयो ।  पक्राउ परेकाहरुबाट प्रहरीले एक थान पेस्तोल र त्यसमा लाग्ने केही गोली बरामद गरेको छ । “शुक्रबार राति पेस्तोल र त्यसमा लाग्ने केही गोलीसहित भारतीय लुटेरा पक्राउ परेका छन्”, उहाँले भन्नुभयो, “ती भारतीय नागरिक लुटपाटको उद्देश्यले आएको खुलेको छ ।”   पाँच जनाको समूहमा आएका भारतीय लुटेरामध्ये दुई फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो केही समययता सीमावर्ती क्षेत्रमा लुटपाटका घटना हुने गरेका थिए ।

काठमाडौं:  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो कार्यकालमा आफूले भाषण कम र काम धेरै गर्ने बताएका छन् । शनिबार चितवनको नारायणी नमुना माध्यमिक विद्यालयको हिरक महोत्सवको उद्घाटन गर्दै उनले यसपटक भाषण कम गर्ने बताएका हुन् । ‘मैले यो कार्यकालमा धेरै भाषण गर्ने पक्षमा छैन’ उनले भने, ‘काम धेरै भाषण कम गर्ने पक्षमा छु ।’ उनले आफूले हरेक दिन सुशासन र विकासको पक्षमा केही न केही काम गर्ने प्रतिवद्धता गरेको पनि बताए । सुशासन कायम गर्न, भ्रष्टाचार र बेथिती अन्त्य गर्न आफूले पहिलो मन्त्रिपरिषद बैठकबाटै निर्णय गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले जनतालाई सास्तीबाट मुक्त राख्ने आफ्नो प्रयास हुने बताए । उनले करिब साढे ८ मिनेटको सम्बोधनमा सुशासन र समृद्धिको नयाँ युगको सूत्रपात गर्नसबै क्षेत्रबाट सहयोगको अपिल पनि गरेका छन् ।