पोखराः गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज शुक्रवार 'तमु ल्होसार' पर्व मनाउँदैछन् । 'ल्हो'को अर्थ वर्ष र 'सारु' को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई 'तमु ल्होसार' भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउँछन् । यो पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवार भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । आजको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व छ । आज गुरुङ समुदायले काठमाण्डौको टुँडिखेलमा विशेष कार्यक्रम गर्दै छन् । कार्यक्रममा गुरुङ समुदायका मानिस परम्परागत एवम् सांस्कृतिक भेषभुषामा सजिएर सहभागी हुनेछन् भने गुरुङ समुदायको परिकार विशेषको समेत प्रदर्शनी गरिनेछ । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतले गुरुङ समुदायको पर्व तमु ल्होसारका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । राष्ट्रपति भण्डारीले तमु ल्होसार पर्वले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै सभ्य, सुसंस्कृत र समुन्नत देश निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामना गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका अनुसरणयोग्य उदाहरण रहेको बताउनुभएको छ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।
काठमाडौं: पाटन उच्च अदालतमा क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ हुँदैछ । बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका क्रिकेटर लामिछानेको पुनरावेदनको मुद्दा न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको संयुक्त इजलासमा तोकिएको छ । बिहीबार पाटनका न्यायाधीशद्वय पौडेल र पोखरेलको संयुक्त इजलासमा लामिछानेको पुनरावेदनको मुद्दा परेको हो । यसअघि पुस १२ गते काठमाडौं जिल्ला अदालतले लामिछानेविरुद्ध परेको जबरजस्ती करणी मुद्दामा प्रमाण बुझाउन आदेश दिएको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले उक्त मुद्दाको सुनुवाइ गर्दै सबै प्रमाण बुझाउन आदेश दिएको हो । गत कात्तिक १४ गते एक किशोरीले दिएको जाहेरीका आधारमा प्रहरी प्रतिवेदनबाट सरकारले सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दायर गरेको थियो । यसअघि कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतले जबरजस्ती करणी आरोप लागेका क्रिकेटर लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरको इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । क्रिकेटर लामिछानेमाथि नाबालिगलाई बलात्कार गरेको आरोप छ ।
काठमाडौं: ट्राफिक प्रहरीले ‘तपाईंको मास्क खोइ ?’ अभियान फेरि सुरु गरेको छ । यतिबेला काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीहरु मास्क खोइ लेखिएका सचेतनामुलक प्ले कार्ड बोकी सडकमा खटिन थालेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले कोभिड–१९ को सम्भावित जोखिमलाई ध्यान दिँदै नागरिकलाई सचेत गराउन ठाउँठाउँमा प्लेकार्ड र सचेनामूलक काम पुनः सञ्चालन गरेको बताए । ‘अहिले धेरै जनाले मास्क लगाउन छाडिसक्नुभएको छ । छिमेकी मुलुकमा देखिएको कोभिड–१९ को महामारीको जोखिममा हामी पनि छौं, उनले भने, ‘त्यसैले मास्क प्रयोग गर्न नबिर्सौँ भन्ने चेतनाका लागि प्ले कार्डको प्रयोग गर्ने र उहाँहरुलाई सुझाव दिने काम भइरहेको छ ।’ मङ्गलबार काठमाडौँ जिल्ला कार्यलय जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा स्थानीय तहले सार्वजनिक स्थान र सवारी साधानमा हिँड्नेलाई सुसूचित गर्ने र जनचेतना फैलाउनेसम्बन्धी छलफल भएको थियो । ट्राफिक प्रहरीले सोही छलफलपछि मास्क प्रयोग भन्ने सन्देश दिइरहेको उनले बताए । जिल्ला प्रशासन कार्यालय काठमाडौँका सूचना अधिकारी देवी पाण्डे खत्रीले अहिले नयाँ भेरियन्टको सङ्क्रमण नदेखिए पनि उच्च सतर्कता अपनाउनका लागि मास्कको प्रयोग बढाउन र रोगको रोकथामका लागि सचेतना बढाउन आग्रह गरिएको बताए। ‘गृहमन्त्रालयले सूचना पनि प्रकाशित गरेको थियो, त्यसपछि डिडिएमसीको बैठकमा जिल्ला समन्वय समितिको प्रमुख, समन्वय अधिकारी, प्रमुख जिल्ला अधिकारी तथा स्वास्थ्य कार्यालय प्रमुखहरुसँगको छलफलपछि स्वाथ्य सतर्कता मापदण्ड पालना बढाउने निर्णय गरेका थियौँ’, उनले भने । छिमेकी राष्ट्र चीन र भारतमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ डट सेभेन ९बीएफ डट ७० हालसम्म नेपालमा पुष्टि नभए पनि जोखिम उच्च भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले बताए । ‘छोटो समयमा धेरै व्यक्तिलाई सङ्क्रमण फैलाउन सक्ने यो भेरियन्ट हाम्रो खुल्ला सिमाना र आवातआवतका कारण नेपाल भित्रिने जोखिम कायम छ’, उनले भने । उनका अनुसार मन्त्रालयले पहिचान रोकथाम र नियन्त्रण र उपचार व्यवस्थापनका लागि तीनै तहका सरकारको सहकार्यका लागि अनुरोध गर्दै आएको छ । ‘अहिले सीमा नाका र अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्रिनेहरुको ज्वरो नाप्ने र शङ्कास्पद व्यक्तिको एन्टिजेन परीक्षण भइरहेको छ’, उनले भने । सिँगान बग्ने, हाँच्छ्युँ धेरै आउने, ज्वरो, खोकी लाग्नुका साथै घाँटी टाउको दुख्ने, र श्वासप्रश्वासमा समस्या आउने तथा स्वाद हराउने कोभिड–१९ का मुख्य लक्षण हुन् । तर कतिपय अवस्थामा लक्षणका आधारमा सामान्य रुघाखोकी, फ्ल्यु र कोभिड(१९ बिचको भिन्नता छुट्याउन नसकिने डा।ठाकुर बताउँछन् । ‘कोभिड–१९, रुघाखोकी वा फ्ल्युको लक्षणका आधारमा भिन्नता छुट्याउन गाह्रो हुन्छ । तपाईं कोभिड–१९ भएको थाहा पाउने सबैभन्दा उत्तम उपाय भनेकै स्वास्थ्यकर्मीको सल्लाहमा यसको परीक्षण गर्नु हो’, उनले भने । उनले चाडपर्व मनाउदा भीडभाड नगर्ने, भौतिक दूरी, मास्कको प्रयोग साबुन पानीले हात धुने, हाँच्छयुँ गर्दा कुँइनाले मुख छोप्ने र सेनिटाइजरको प्रयोग गर्न चिकित्सकले सुझाव दिए । कोभिड १९ विरुद्धको दुवै डोज खोप प्रयोग गरिसकेकाले अतिरक्त मात्रा वा बुस्टर खोप लगाउन उनको सुझाव छ । तथ्याङ्क अनुसार हालसम्म दुई करोड २३ लाख २४ हजार नौ सय ३३ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । साथै ७९ लाख ७२ हजार सात सय ९१ जनाले मात्र अतिरिक्त मात्राको खोप लगाएका छन । मन्त्रालयले सबैमा खोपको पहुँच, एकीकृत र सुदृढ रोग निगरानी र महामारी प्रतिकार्यका लागि निरन्तर प्रयास गर्दै आएको प्रवक्ता डा ठाकुरको भनाइ छ ।
पोखरा: कास्की–३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित नेकपा एमालेका दामोदर पौडेल बैरागीले संसदमा जनताका समस्याबारे सक्रिय भएर आवाज उठाउने प्रतिबद्धता जनाएका छन् । एमालेनिकट पत्रकारहरुको संस्था प्रेस चौतारीमा आवद्ध पत्रकारसँग बुधबार भएको भेटमा उनले जनताका समस्या समाधान गर्न आफू सधैँ तत्पर रहेको बताए । ‘म सांसद नहुँदा पनि पार्टीकै विभिन्न कमिटीमा बसेर जनतासँगै थिएँ । अब जनप्रतिनिधि भएर एउटा भूमिका थपिएको छ । संसदमा कास्कीका समस्या जोड्दार ढंगले उठाउँछु,’ उनले भने । उनले चुनावमा केही विकास निर्माणका काम गर्ने प्रतिबद्धता जनाएकाले ती काम सम्पन्न गर्न सक्रिय भएर लाग्ने बताए । आफ्नो पाँच वर्षे कार्यकालमा वडा कार्यालय पुग्ने बाटो पक्की बनाउने योजना सांसद बैरागीले सुनाए । आफ्नो निर्वाचन क्षेत्र ग्रामीण भूभाग बढी भएको र सडकको पहुँच नपुगेकाले त्यसतर्फ आफ्नो ध्यान जाने सांसद बैरागीको भनाइ थियो । ‘हाम्रोमा सबै गाउँले भेग छ । ती ठाउँबाट वडा कार्यालयमा पुग्न पाँच वर्षभित्र पक्की बाटो हुनपर्छ भन्ने भिजन छ । कति वडा, कति प्रदेश, कति संघले सक्छ त्यहीअनुसार गर्छौं,’ उनले भने । सांसद बैरागीले ठूलो भूगोल भए पनि स्वास्थ्य सेवाको पहुँच निकै कम भएकाले एक पालिका एक अस्पताल योजनालाई अघि बढाउने सुनाए । ‘म निर्वाचित भएको क्षेत्रमा राम्रो सरकारी अस्पताल बनाउन चाहन्छौँ । ४ वटा अस्पताल र एउटा राजमार्ग अस्पताल बनाउन पहल गर्ने छु,’ उनले भने । खानेपानीका योजनाको निर्माण सक्ने गरी आफूले सम्बन्धित निकायसँग सहकार्य गर्ने सांसद बैरागीले बताए । कास्की–३ मा घान्द्रुक, ल्वाङ, लान्द्रुक, अन्नपूर्ण पदमार्ग, मर्दी हिमाल पदमार्ग पर्छन् । तर, सबै उत्पादन बजारकै खुवाइने गरेकोमा चिन्ता व्यक्त गरे । यो समस्या समाधान गरेर गाउँमा गाउँकै उत्पादन खुवाउने गरी ‘इको रिसोर्ट’बनाउने योजनाअनुसार अघि बढ्ने सुनाए । अन्न, तरकारी, फलफूल, मासु र दुग्धजन्य उत्पादनमा आत्मनिर्भर बनाउने महत्वाकांक्षा बोकेर योजना निर्माणमा खटिने सांसद बैरागीले बताए ।
काठमाडौँ: निर्वाचन आयोगले हालै सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको समीक्षा सुरु गरेको छ । प्रदेश र जिल्लास्तरीय समीक्षाअघि आयोगले आन्तरिक समीक्षा सुरु गरेको हो । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले विगतमा देखिएका त्रुटि सुधार्दै अपनाउनुपर्ने अन्य उपायबारे आन्तरिक समीक्षा भइरहेको जानकारी दिनुभयो । भक्तपुरको नगरकोटमा दुई दिनसम्म चल्ने समीक्षामा आयोग मातहतका सातवटा महाशाखा तथा शाखाले अलग–अलग कार्यपत्र प्रस्तुत गरेपछि छलफल हुने उहाँले बताउनुभयो । समीक्षाको उद्घाटन सत्रमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कमीकमजोरी राम्ररी केलाउन र विगतमा देखिएका त्रुटि सुधार गर्न वस्तुनिष्ठ विश्लेषण गर्न निर्देशन दिनुभयो । उहाँले विगतको समीक्षाबाट आएका निष्कर्षको के कति कार्यान्वयन भयो र आगामी निर्वाचनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन समीक्षा केन्द्रित हुनुपर्ने बताउनुभयो । सहायक प्रवक्ता अर्यालका अनुसार निर्वाचन सामग्रीको मितव्यायी उपयोग र व्यवस्थापन हुन सक्ने सामग्रीको स्थानीयस्तरमै खरिद गर्ने, कर्मचारी परिचालनलगायतका विषयमा समीक्षा हुने बताउनुभयो । उक्त कार्यक्रममा निर्वाचन आयुक्तहरू, आयोगका सचिव, सहसचिवसहित शाखा प्रमुखहरूको सहभागिता छ ।
पोखरा: तराई विद्यार्थी सेवा समाज पोखरा विश्वविद्यालयले पहिलो पटक संस्कृति मेला २०७९ आयोजना गर्ने भएको छ । पोखरा विश्वविद्यालयले इतिहासमै पहिलो पटक संस्कृति मेला २०७९ को आयोजना गर्न लागेको एक समारोहको आयोजना गर्दै जानकारी दिएको हो । मेलामा नेपालका चर्चीत हास्य कलाकार आदर्श मिश्राको प्रस्तुतिसँगै सुपर सिक्स क्रिकेट प्रतियोगिता, अनलाइन संस्कृति भिडियो प्रतियोगिता, संस्कृति हाजिरी जवाफ प्रतोयोगिता, संस्कृति वक्तृत्वकला,टग अफा वार ,ट्रेजर हंट प्रतियोगिता,फ्ल्याश मोव, सरसफाइ कार्यक्रम र सरस्वति पुजाको दिन विभिन्न सांस्कृतिक कार्यक्रमहरु रहने समारोह संयोजक शंकर शाहले बताए । यस कार्यक्रमको मुख्य प्रायोजकका रूपमा किरु इन्जिनियरिङ कन्सलटेन्सी, गोल्ड प्रायोजक भेनस इंटरनेशनल कन्सलटेंसी,स्पेसल प्रायोजकमा होटल सत्कार , रोबर्ट इनभेस्टमेन्ट ,२०–२०रेस्टुरेन्ट ,लियो क्लब अफ़ जनकपुरधाम,अन्नपूर्ण ल्याब, फारेस्ट स्पोर्ट्स अरेना,सेज बिजनेस इंटरप्राइजेज् ,सामाजिक केन्द्र नेपाल ,गोदार मार्ट र सिल्वर प्रायोजकको रूपमा ईदु हब एज्युकेशन फाउंडेशन रहेका छन्। यस संस्कृति मेला २०७९ को पुर्व कार्यक्रमहरु पौषको तेस्रो हप्ता देखी सुरु हुने र माघ १२ गते सरस्वति पुजाको दिन समापन गरिने कार्यक्रमका डायरेक्टर ज्ञानेन्द्र त्रिपाठीले जानकारि दिए ।
हेटौंडा: नेकपा एमालेले आज बिहीबार बागमती प्रदेशको संसदीय दलको नेता चयन गर्दैछ । संसदीय दलको नेता चुन्नका लागि अहिले ११ बजे बैठक बोलाइएको प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले जानकारी दिए । एमाले संसदीय दलको बैठकबाट सर्वसम्मत रूपमा संसदीय दलको नेता छान्न प्रयास हुने उनले बताए । संसदीय दलको नेतामा पार्टीका केन्द्रीय सदस्य जेएन थपलिया सर्वसम्मत चयन हुने एमालेका नेताहरूले बताएका छन् । नेता थपलियाले १२ बजे भित्रमा संसदीय दलको नेताको विषयमा निर्णय आइसक्ने बताए । उनले भने, ‘संसदीय दलको नेतामा मेरो पनि इच्छा हो । बैठक अगाडि म नैं नेता हुन्छु भनेर कसरी भनुँ । बैठकको निर्णय कुरिदिनुहोला ।’
काठमाडौं: प्रधानमन्त्रीको आधिकारिक ट्वीटर अकाउन्ट लक्ड भएको छ । अकाउन्ट लक्ड हुनुको अर्थ प्रधानमन्त्रीका ट्वीट हेर्न र कमेन्ट गर्न पाइँदैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले ट्वीटर अकाउन्ट लक्ड कसरी भयो भन्नेबारे अनभिज्ञता प्रकट गरेको छ । यसबारे आफूहरुले बुझिरहेको सचिवालयका सदस्यहरु बताउँछन् । प्रचण्डको सामाजिक सन्जाल ह्याण्डलिङको जिम्मा पाएका सूर्यकिरण शर्माले भने, ‘मैले हेर्ने गरेको अध्यक्ष प्रचण्डको व्यक्तिगत ट्वीटर हो । प्रधानमन्त्रीको ट्वीटर अकाउन्ट हामीलाई हस्तान्तरण भइसकेको पनि छैन । कसले, किन अकाउन्ट लक्ड गर्यो हामी बुझ्दैछौं ।’ कांग्रेस सभापति शेरबहादुर देउवा पछि प्रचण्ड प्रधानमन्त्री बनेलगत्तै प्रधानमन्त्रीको आधिकारिक ट्वीटर अकाउन्टमा प्रचण्डकै फोटो अपडेट गरिएको छ । प्रचण्डको फोटो अपडेट पनि आफूहरुबाट नभएको शर्माले बताए । प्रचण्डको सचिवालयका अर्का एक सदस्य शिव खकुरेलले पनि ट्वीटर अकाउन्ट लक्ड हुनुको कारणबारे बुझिरहेको बताए । ‘हामी हिजो बेलुकामात्रै बालुवाटार आएका छौं, सबै कुरा मिलाउनै बाँकी छ,’ खकुरेलले भने, ‘यसबारे पनि बुझ्दैछौं ।’
काठमाडौं: मधेस प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुने भएको छ । संसदीय दलको नेतामा मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादव र पूर्वमन्त्री रामसरोज यादव उम्मेदवार छन् । दुवैले उम्मेदवारी दर्ता गराइसकेको र मतदान दिउँसो ३ बजेपछि हुने कांग्रेस मधेश प्रदेश प्रचारप्रसार प्रमुख नितेश कुमार गुप्ताले जानकारी दिए । कृष्ण पार्टी सभापति देउवा पक्षधर हुन् रामसरोज विमलेन्द्र निधि निकट हुन् । अघिल्लो प्रदेश सभामा रामसरोज दलको नेता थिए ।

