काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहालले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्रीले शपथ लिएसँगै ३ उपप्रधानमन्त्री र ४ मन्त्रीले शपथ लिएका छन् । उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीक रवि लामिछाने रहेका छन् । पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार र लामिछानेले गृह मन्त्रालय सम्माल्नेछन् । मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान रहेका छन् । उनीहरुको कार्यभार पछि तोकिनेछ । उपप्रधानमन्त्री र मन्त्रीहरुले पनि सोमबार नै शपथ लिएका छन् ।
काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०७९ को अवसरमा सम्पूर्ण ज्येष्ठ नागरिकको सुस्वास्थ्य, दीर्घायु एवं मर्यादित जीवनयापनका लागि हार्दिक शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा देश विदेशमा रहनुभएको सम्पूर्ण नेपाली ज्येष्ठ नागरिकमा उक्त शुभकामना व्यक्त गरेकी हुन् । शुभकामना सन्देशमा भनिएको छ, “‘मातृदेवो भवः, पितृ देवो भवः’ को मान्यताबाट निर्देशित पूर्वीय संस्कृतिमा आधारित आदर्श परिवारको महत्वलाई आत्मसात गर्न आजको दिनले सबैलाई प्रेरणा प्रदान गर्ने अपेक्षासहित ज्येष्ठ नागरिकको जीवनलाई सहज र सम्मानित बनाउनका लागि आ–आफ्नो क्षेत्रबाट योगदान गर्न सबैमा हार्दिक आह्वान गर्दछु ।” अथाह ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिक हाम्रा लागि ज्ञान र प्रेरणाका पुञ्ज भएको र ज्येष्ठ नागरिकले जीवनभरको सङ्घर्ष र भोगाइबाट आर्जन गरेका ज्ञान, सीप र अनुभवबाट आजको युवा पुस्ताले जीवनोपयोगी सिकाइ ग्रहण गर्न सक्नुपर्ने सन्देशमा उल्लेख छ । ज्येष्ठ नागरिकमा अन्तरनिहीत ज्ञान र अनुभवलाई पुस्तान्तरण गर्न आवश्यक वातावरण सिर्जना गर्न परिवार, समाज र राज्यको सामूहिक प्रयास आवश्यक भएको सन्देशमा भनिएको छ । “ज्येष्ठ नागरिकको मर्यादित एवं सहज जीवनयापनका लागि परिवारका सदस्य, समाज, सङ्घ संस्था एवं तीनै तहका सरकारले समन्वयात्मक रूपमा सहकार्य गर्नुपर्दछ”, सन्देशमा भनिएको छ, “नेपाल सरकारले ज्येष्ठ नागरिकका लागि स्वास्थ्य, यातायात सेवालगायत सार्वजनिक सेवाका विभिन्न क्षेत्रमा व्यवस्था गरेको छुट सहुलियत र सेवा सुविधाको थप विस्तार गर्दै तिनको प्रभावकारी कार्यान्वयन गर्न सम्बद्ध सबैमा आह्वान गर्दछु ।” विसं २०५१ साल पुस ११ गते ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ता वितरण गर्न सुरु गरिएको दिनलाई स्मरण गर्दै गत वर्षदेखि नेपाल सरकारको निर्णय बमोजिम पुस ११ गतेलाई राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सुरु गरिएको हो । यस वर्ष पनि ‘हामी सबैको सरोकारः ज्येष्ठ नागरिकको अधिकार’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइने भएको छ ।
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छिमेकी मित्रराष्ट्रहरुले बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् । प्रधानमन्त्री दाहाललाई नेपालस्थित चिनियाँ र भारतीय राजदूतावासका तर्फबाट बधाई दिइएको हो । नवनियुक्त प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार चीनका कार्यवाहक राजदूत वाङ सिन र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले टेलिफोनमार्फत बधाई दिनुभएको हो । दुवै राजदूतले माओवादीका अध्यक्ष दाहाल प्रधानमन्त्रीमा नियुक्त हुनुभएको बधाई दिनुहुँदै उहाँको कार्यकालमा दुई देशको सहकार्य र सम्बन्ध थप विस्तारित हुने बताउनुभएको थियो । चिनियाँ दूतावासका प्रवक्ताले पनि सामाजिक सञ्जाल ट्विटरमार्फत ‘नेपालको ४४औँ प्रधानमन्त्रीमा नियुक्त अध्यक्ष दाहाललाई बधाई’ दिनुभएको छ । भारतीय राजदूत श्रीवास्तवले पनि प्रधानमन्त्री दाहालको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप बलियो बनाउँदै उचाइमा पुर्याउने बताउनुभएको छ ।
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी सरकारमा नजाने बताएका छन् । अध्यक्ष लिङ्देनले आफ्नो पार्टी सरकारमा नगए पनि सरकारलाई समर्थन गर्ने बताए । ‘हामी यो सरकारलाई समर्थन मात्रै गर्छौ, सरकारमा जाँदैनौ’, नयाँबानेश्वरमा सञ्चारकर्मीसँग लिङ्देनले भने ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । पार्टीको बैठकले लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको एक नेताले बताए । तर, कुन मन्त्रालय लिने भन्ने टुंगो लागि नसकेको उनले बताए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई रास्वपाले पनि प्रधानमन्त्रीमा समर्थन गरेको छ । रास्वपा सरकारलाई समर्थन गर्ने तेस्रो ठूलो दल हो ।
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपालका लागि अमेरिकी राजदूत डी.आर. थम्प्सनले बधाई दिएका छन् । उनले आज बिहान सामाजिक सन्जाल ट्वीटरमार्फत् प्रचण्डलाई बधाई दिएका हुन् । उनले लेखेका छन्, ‘प्रधानमन्त्री नियुक्त भएकोमा प्रचण्डलाई हार्दिक बधाई । प्रजातन्त्र, मानवअधिकार र आर्थिक समृद्धिका लागि ७५ वर्ष लामो द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुने अपेक्षा छ ।’ हालसालै नियुक्त भएका राजदूत थम्प्सनले निर्वाचन सम्पन्न भएलगत्तै राजनीतिक दलका नेताहरुसँग बाक्लो भेटघाट गरेका थिए । भेटका क्रममा उनले सत्ता समीकरणका विषयमा चासो राखेका थिए । प्रचण्डलाई प्रधानमन्त्री बनेकोमा भारत र चीनले आइतबार नै बधाई दिएका थिए ।
काठमाडौँ: चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा १२ हजार २८४ विभिन्न विद्युतीय सवारीसाधन आयात भएका छन् । भन्सार विभागले तयार पारेको गत साउनदेखि मङ्सिरसम्मको तथ्याङ्कअनुसार पाँच अर्ब ५८ करोड ६४ लाख रुपियाँ मूल्यका ठूला बसदेखि विद्युतीय साइकलसम्म आयात भएको हो । सरकारले गत वैशाखदेखि नै पेट्रोलियमका चारपाङ्ग्रे सबै र १५० सीसी क्षमताभन्दा माथिका मोटरसाइकल आयातमा रोक लगाएको थियो । चालू आर्थिक वर्षको बजेट वक्तव्यमार्पmत विद्युतीय सवारीसाधनमा सरकारले कर छुट उपलब्ध पनि गराएकाले यो परिमाणमा विद्युतीय सवारीसाधन आयात भएको हो । नेपालमा सबैभन्दा धेरै आयात हुने विद्युतीय सवारीसाधनमा स्कुटर तथा मोटरसाइकल छन् । पेट्रोलियम सवारीसाधन आयातमा गरिएको निषेध र विद्युतीय सवारी प्रवद्र्धनका लागि दिइएको विभिन्न खाले कर छुटका कारण चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा सो परिमाणका विभिन्न विद्युतीय सवारीसाधन नेपाल आयात भएको देखिएको छ । विद्युतीय सवारीमा सबैभन्दा धेरै दुईपाङ्ग्रेकै आयात उच्च देखिन्छ । ५४ करोड ८४ लाख रुपियाँको चार हजार ४८३ थान बाइक र स्कुटर आयात भएका छन् । विद्युतीय मोटरजडित दुई हजार ४९० थान साइकल पनि यो अवधिमा आयात भएको देखिन्छ । आयातको प्रवृत्ति हेर्दा साना सार्वजनिक यातायात तथा ढुवानी प्रयोजनमा प्रयोग हुने तीनपाङ्ग्रेको पनि उल्लेख्य आयात भएको देखिन्छ । यस्ता सवारीसाधन तीन हजार ८२७ थान आयात भएका छन् । यीमध्ये ३४८ वटा नेपालमै एसेम्बल गर्ने गरी आयात भएको छ । बजारमा धेरै चासो हुने विद्युतीय कार तथा जिप भने एक हजार ३५३ थान आयात भएको देखिन्छ । सरकारले आर्थिक ऐनमार्फत कर छुट दिएकाले एक सय किलोवाटभन्दा कम क्षमताका मात्रै यस्ता साधन एक हजार ३२० थान छन् । एक सयदेखि दुई सय किलोवाट क्षमताका ३० थान कार आयात भएका छन् । त्योभन्दा माथिका तीन थान मात्रै आयात भएका छन् । कार, जिप तथा भ्यान आयातमा तीन अर्ब ८३ करोड रुपियाँ खर्च भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार मङ्सिरसम्ममा ठूला ३७ वटा विद्युतीय बस आयात भएका छन् भने ७८ वटा विद्युतीय माइक्रो बस पनि आयात भएका छन् । ३७ ठूला बसको भन्सार मूल्याङ्कन ४५ करोड ६७ लाख रुपियाँ मूल्याङ्कन भएको छ भने ७८ माइक्रो बसको मूल्याङ्कन १८ करोड ८९ लाख रुपियाँ गरिएको छ । यो अवधिमा पेट्रोलियम र विद्युत् दुवैले चल्ने हाइब्रिड सवारीसाधन पनि १० थान आयात भएको भन्सारको तथ्याङ्कले देखाउँछ ।
हुम्ला: हिमाली जिल्ला हुम्लाका स्थानीयलाई अझै पनि काठेपुलबाट खोला र नदी तर्नुपर्ने बाध्यता कायमै रहेको पाइएको छ । ती खोला तथा नदीहरूमा झोलुङ्गे पुल निर्माण हुन नसकेको कारण स्थानीयले आफ्नै प्रयासबाट निर्माण गरिएको काठेपुल तर्नुपर्ने बाध्यता आइलागेको हो । नाम्खा गाउँपालिका–६ को हिमाल पारिको गाउँ लिमीका वडाध्यक्ष पाल्जोर तामाङले लिमीमा अहिले पनि स्थानीय र चौपाया २५ वटा काठेपुलबाट तर्दै आएको बताउनुभयो । लिमीका ती पुलहरु केही स्थानीयले जनश्रमदानबाट निर्माण गर्नुभएको हो भने केही वडाको बजेटबाट निर्माण गरिएका हुन् । उहाँले लिमीमा मानिस र चौपाया हिँड्न काठेपुल नभई गाडी गुडाउन पनि काठे पुल नै निर्माण गरिएको बताउनुभयो । उहाँले मानिस, चौपाया र यातायातका साधन काठे पुलमा ओहोरदोहोर गर्दा जोखिम भने बढी हुने गरेको बताउँदै बर्सेनि काठेपुल तर्दा चौपाया खस्ने समस्या भोग्नु स्थानीयका लागि सामान्य भएको बताउनुभयो । नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेम लामा आफ्नो गाउँपालिकाका काठेपुल स्थानीयले तर्दै आएको बताउनुभयो । उहाँले स्थानीयको माग झोलुङ्गे पुल निर्माणको भए पनि कतैबाट सो पुल निर्माण हुन नसकेको पछि बाध्य भएर स्थानीयले काठेपुल निर्माण गरी तर्नु परिरहेको बताउनुभयो । उहाँले अति आवश्यक स्थानमा झोलुङ्गे पुल निर्माणका लागि गाउँपालिकाले ध्यान दिने बताउनुभयो । सिमकोट गाउँपालिकाकी उपाध्यक्ष शुशिला रोकायाले आफ्नो गाउँपालिकामा अहिले पनि १५ भन्दा बढी कोठेपुल प्रयोग गर्न स्थानीय बाध्य हुँदै आएको बताउनुभयो । काठेपुल तर्नु पर्दाका जोखिमका बारेमा बताउँदै उहाँले दुई वर्ष अगाडी चुवा खोला क्षेत्रमा एक जना मानिस काठे पुलबाट खसेर मृत्यु भएको बताउनुभयो । चौपाया बोकाएका सामानहरू खस्नु त सामान्य जस्तै भएको बताउँदै उहाँले धेरै मानिस तथा चौपायाको आउजाउ हुने खोलामा झोलुङ्गे पुल निर्माण गर्नु अति आवश्यक भए पनि हालसम्म निर्माण हुन नसकेको कारण स्थानीयले क्षति बेहोर्दै आएको बताउनुभयो । यता खार्पुनाथ गाउँपालिकामा यस्ता काठेपुलको सङ्ख्या सत्र, सर्केगार्ड गाउँपालिका २३, चङ्खेली गाउँपालिकामा १९, अदानचसली गाउँपालिकामा ११ र ताँजाकोट गाउँपालिकामा १३ वटा छन् । खार्पुनाथ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले विशेष गरी खोलाहरू र खर्कहरूमा काठेपुलको निर्माण बढी हुने गरेको बताउनुभयो । उहाँले बर्सेनि काठेपुल तर्दा मानवीय र चौपायाको क्षति हुने घटनाहरू भइरहने भएको कारण गाउँपालिका अति महत्त्वपूर्ण स्थानमा झोलुङ्गे पुल निर्माणका लागि पहल गर्ने कार्य भइरहेको बताउनुभयो ।
विराटनगर: प्रदेश १ प्रदेशसभाका नवनियुक्त प्रदेश सांसदहरुको शपथग्रहण आज हुँदैछ । शपथग्रहण प्रदेशसभा सचिवालय प्रदेश १ विराटनगरमा साढे १ बजे हुने संसद सचिवालयले जनाएको छ । नेपालको संविधानको धारा १७९ बमोजिम प्रदेशसभा सदस्यले प्रदेशसभा वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनु अघि प्रदेश कानून बमोजिम शपथ लिनुपर्ने व्यवस्था छ । जेष्ठ सदस्य गयानन्द मण्डलले प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष आजै साढे १२ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण गर्ने कार्यक्रम छ । उनै मण्डलले प्रदेशसभाका अरु सांसदहरुलाई शपथ खुवाउने छन् । नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ र प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ को दफा १९ बमोजिम जेष्ठ सदस्य गयानन्द मण्डलले प्रदेशसभाको अध्यक्षता गर्नेछन् ।

