बैतडी: जिल्ला प्रहरी कार्यालय बैतडीले छिमेकीको हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्नया गाउँपालिका–३ बिजुलका २९ वर्षीय तेज बहादुर चन्द रहेका छन् । प्रहरीका अनुसार उनले हिजो (मंगलबार) दिउँसो सोही ठाउँकै ५६ वर्षीया हरिना बिष्टलाई फलामको रडले टाउकोमा प्रहार गरेका थिए । त्यसपछि बिष्टको घटनास्थलमानै मृत्यु भएको थियो । उक्त सूचना प्रहरीलाई पुगेपछि जिल्ला प्रहरी कार्यालय बैतडी, ईलाका प्रहरी कार्यालय पाटन र अस्थायी प्रहरी पोष्ट सतबाँजबाट खटिएको प्रहरी टोलीले चन्दलाई आफ्नै घरभित्र लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो । सो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कास्की: जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध काठसहित बलेरो जीपलाई नियन्त्रणमा लिएको छ । पोखरा महानगरपलिका १९ लामाचौर अकला मन्दिरस्थित सवारी साधन चेकजाँचको क्रममा पुरुन्चौरतर्फबाट पोखरातर्फ आउँदै गरेको ग ३ च ५८०९ नम्बरको बोलेरो जिपलाई नियन्त्रणमा लिइएको हो । चेकजाँचको क्रममा चिरुवा काठ ९फल्याक० २८० थान लोड गरी विना कागजपत्र पोखरा ल्याइएको पाइएपछि नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ । अवैध काठसहित जीपचालक माछापुच्छ्रे गाउँपालिका गाउँपालिका भुर्जुङखोला का ३१ वर्षीय अनिष विकलाईसमेत नियन्त्रणमा लिइएको छ । सो विषयमा थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय बगर पठाइएको बताइएको छ ।
पोखरा: कास्की प्रहरीले गौहत्या गरेको आरोपमा बस चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको रोराङ नगरपालिका ३ का २८ वर्षीय रोशन ठकुरी रहेका छन् । कास्की प्रहरीका अनुसार आज बिहान पोखरा महानगरपालिका १० औद्योगिक क्षेत्रस्थित पोखरादेखि काठमाण्डौ जाँदै गरेको ना ५ ख २११३ नंम्बरको यात्रुबहाक बसले बाटोमा हिडिरहेको गाईलाई ठक्कर दिएको थियो । त्यसपछि उक्त गाईको घटनास्थलमानै मृत्यु भएको थियो । ठक्कर दिई फरार भएको भन्ने सूचनाको आधारमा तनहुँको शुक्लागण्डकी नगरपालिका ५ बेलचौताराबाट ठकुरीलाई पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता डिएसपी श्रवण कुमार बिकले जानकारी दिए । उनका अनुसार पक्राउ परेका ठकुरीलाई कास्की जिल्ला अदालतबाट पशुपंक्षी सम्बन्धी मुद्दामा ९१०० दश दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद भएको छ । गएराति विमानस्थलमा अवतरण गरेको फ्लाई दुबईको जहाजबाट आएका विदेशी नागरिकको साथबाट ६ किलोभन्दा बढी सुन बरामद भएको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले उज्यालोलाई जानकारी दिनुभयो । भन्सारबाट बाहिरिसकेको अवस्थामा प्रहरीले सुन बरामद गरेको हो । सुनको साथमा विदेशी नागरिक पनि पक्राउ परेका र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुई दिनअघि मात्रै विमानस्थलबाट १४ किलो सुन बरामद भएको थियो ।
काठमाडौँ: काठमाडौँबाट २ थान हतियार चोरीमा संलग्न रहेको आरोपमा युवतीसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको बराह नगरपालिका वडा नम्बर ३ घर भई काठमाडौँ महानगरपालिका वडा नम्बर १४ बस्ने दिलीप माझी, ताहाचल बस्ने कुशल मल्लिक र काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ३ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका इमाडोल बस्ने काजल कुमारी भुजेल रहेका छन् । गत मंसिर १६ गते ताहाचलस्थित पुष्प जोशीको घरबाट इजाजत पत्रसहितको दुई नाले ४१० बोरको टोटावाल बन्दुक र जेड २१६२२९ को २२ बोरको राइफल गरी २ थान हतियारहरू चोरी भएको थियो । प्रहरी वृत्त कालीमाटीको टोलीले विभिन्न स्थानबाट ती तीन जनालाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
पोखरा: कास्की प्रहरीले नक्कली फेसबुक आइडीमार्फत ब्ल्याकमेल गरेको आरोपमा १ युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका २७ का १६ वर्षीय युवक रहेका छन् । कास्की प्रहरीका अनुसार ति युवकले पोखरा महानगरपालिका २७ कै युवतीलाई (एउटै स्कुलमा अध्ययन गर्ने) सोही उमेरकै युवतीलाई नक्कली फेसबुक आईडी (फेक आइडी) बनाएर ति युवतीको फोटो र भिडियोहरुलाई अश्लील बनाएर सामाजिक संजालमा पोष्ट गरिदिने र आफन्तलाई पठाइदिने भन्दै धम्की दिएका थिए । विभिन्न डर धम्कीसँगै ब्ल्याकमेल गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । युवकको साथबाट २ थान मोबालसमेत बरामद गरेको छ । पक्राउ परेका युवकलाई विद्युतिय कारोबार ऐन कसूर अन्तर्गत (साईबर अपराध) मुद्दामा जिल्ला अदालतबाट दिन ५ म्याद थप थप अनुसन्धान थालिएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले ठगी आरोपमा ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका ६ का वडा सदस्य ४२ वर्षीय दीपेन्द्र पहारी, सोही स्थानकै ४१ वर्षीय विकास पहारी, लेकसाइडकै २२ वर्षीय प्रवीन विश्वकर्मा र सोही वडाकै २४ वर्षीय अभिषेक परियार तथा अप्पे भन्ने अभिषेक बराल रहेका छन् । कास्की प्रहरीका अनुसार उनीहरुले लेकसाइड स्थित फुटट्रायकमा फोटोग्राफी गरेबापत धम्काई प्रतिफोटोग्राफर साढे १३ हजार असुल गरि ठगी गर्दै आएका थिए । उनीहरु विरुद्ध १५ जना व्यक्तिहरुले जाहेरी दर्ता गरेका थिए । सोही जाहेरीकै आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप गरी ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।
उदयपुर: त्रियुगा नगरपालिका–५ दमौटी गाउँमा आफ्नै श्रीमानको हत्या गरी जङ्गलको झाडीमा शव लुकाएको आरोपमा श्रीमतिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ६० वर्षका श्याम राईको हत्या आरोपमा उनकी श्रीमति ४० वर्षीया निरकुमारी राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । निरकुमारीले श्रीमानको शव नजिकैको झाडीमा स्याउलाले छोपेर राखेको अवस्थामा मङ्गलबार स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको अनुसन्धान सुरु गर्दा नै हत्याको कसुरमा संलग्न भएको प्रमाणसहित निरकुमारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताए । प्रारम्भिक अनुसन्धानका क्रममा निरकुमारीले श्यामको हत्या गरेको स्वीकार गरिसकेको प्रहरी जनाएको छ । श्रीमान् दैनिक मादक पदार्थ सेवन गरेर घर आउने र घरमा झगडा गर्ने गरेका कारण आफूले सहन गर्न नसकी हत्या गरेको निरकुमारीले बताएको प्रहरीको भनाइ छ । हत्यामा अन्य व्यक्ति पनि संलग्न रहे नरहेका विषयमा पनि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
पोखरा: यही मंसिर ५ गते पोखरा ८ नागढुङ्गास्थित युनिक होटलको कोठामा मृत भेटिएकी ३८ वर्षीय सुक विक प्रकरणको अनुसन्धान कास्की प्रहरीले जारी राखेको छ । यद्यपी कुनै पनि रहस्य नखुलेको बताएको छ । अनुसन्धानका लागि नियन्त्रणमा रहेका ५ जनालाई तारिखमा छाडिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सुकु मृत भेटिएपछि युनिक होटलका सञ्चालक, शिला रेष्टुरेन्टका सञ्चालक लगायत अन्य संकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएको थियो । अहिले उनीहरुलाई तारिखमा छाडिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनले उक्त घटनाको अनुसन्धान भइरहेको बताए । उनका अनुसार नियन्त्रणमा रहेका सबैजनालाई आवश्यक परेको खण्डमा उपस्थित हुनेछन् । उनले सुकुको परिवारले कुनै पनि किटानी जोहेरी नदिएको बताउदै घटनाको विस्तृत अनुसन्धान भइरहेको बताए । होटल सञ्चालकले कास्की प्रहरीलाई दिएको बयान अनुसार ति महिला आफैले केटाको नाममा कोठा बुक गरेकी थिइन् । विगत केही वर्षयता नागढुङ्गास्थित शिला रेष्टुरेन्टमा काम गर्दै आएकी सुकु मंसिर ५ गते दिउँसो साथीलाई भेट्न जान्छु भनेर रेष्टुरेन्टबाट निस्किएकी थिइन् । त्यसको बेलुकीपख कोठामा अचेत अवस्थामा भेटिएकी थिइन् । केटाको नाममा कोठा बुक भएको भनिएतापनि कुनै पुरुषको संलग्नता रहे नरहेको पुष्टि भएको छैन । कास्की प्रहरीका अनुसार सो होटलमा सिसिटिभी जडान नभएकै कारण अनुसन्धानमा थप कसरत गर्नुपरेको बताएको छ । तनहुँको भिमाद नगरपालिका घर भएकी सुकु विकले केही वर्षयता पोखरा महानगरपालिका–८ नागढुङ्गास्थित शिला रेष्टुरेन्टमा काम गर्दै आएकी थिइन् ।

