पर्वत: पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा भएको जीप दुर्घटनामा थप एक बालकको ज्यान गएको छ । योसँगै ज्यान गुमाउनेको सङ्ख्या दुई जना पुगेको छ । दुघर्टनामा परि गम्भीर घाइते भएका चार वर्षीय बालक प्रिन्स क्षेत्रीको उपचारका क्रममा ज्यान गएको हो । पोखरामा रहेको गण्डकी मेडिकल कलेजमा उपचारकाक्रममा बालकको ज्यान गएको पर्वत जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै, दुर्घटनामा परि सात वर्षीया बालिका शीतल विकको ज्यान गएको छ । पर्वतको कुश्मा बजारबाट दुर्लुङका लागि छुटेको ग १ ज ५२२९ नम्बरको जीप गएराति दुर्लुङको गौडामुनि भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका अन्य १० जनाको उपचार भइरहेको छ । घाइतेमध्ये सात जनालाई पर्वतबाट उपचारका लागि पोखरा पठाइएको छ । कृष्णप्रसाद पाध्या, हिरादेवी मगर, मीनबहादुर क्षेत्री, चन्द्रकला क्षेत्री, अमृत क्षेत्री र भबदत्त शर्माको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ। बाँकी घाइतेको भने पर्वत अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परि घाइते भएकामध्ये शौरभ विक, शान्ति विक, अम्मर विक, निशान परियारको अवस्था सामान्य रहेको छ । यात्रुवाहक जीपको टायर फुस्केर ब्रेक फेल हुँदा गाडी दुर्घटनामा परेको प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।
पोखरा: लोकतान्त्रिक तमु संघ नेपाल रुपा गाँउपालिकाको प्रथम अधिवेशनले सुवेदार केहरसिंह गुरुङको अध्यक्षतामा २१ सदस्यीय कमिटि निर्वाचित गरेको छ । गाउँपालिकाको अधिवेशनले लोकतान्त्रिक तमु संघ रुपा गाँउपालिको प्रथम अधिवेशनले केहरसिंङ गुरुङको अध्यक्षतामा सर्वसम्मत कमिटि चयन गरेको हो । कमिटिको उपाध्यक्षहरुमा लेखबहादुर गुरुङ र जसबहादुर गुरुङ, सचिवमा खसबहादुर गुरुङ, उपसचिवमा तेज गुरुङ, कोषाध्यक्षमा बेलकुमारी गुरुङ र सदस्यरुमा सुन्दर गुरुङ, बिकास गुरुङ, निर्मला गुरुङ, देवी गुरुङ, हरिमाया गुरुङ, प्रकाश गुरुङ, संजित गुरुङ, खगेन्द्र गुरुङ, रुपकला गुरुङ, नन्दकुमारी गुरुङ, लिलबहादुर गुरुङ, ज्ञानबहादुर गुरुङ, तेजमाया गुरुङ र हिमाल गुरुङ चयन भएका हुन् । नवनिर्वाचित कमिटिलाई लोकतान्त्रिक तमु संघका महासचिव हुमबहादुर गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । नवनिर्वाचित अध्यक्ष गुरुङले लोकतान्त्रिक तमु संघलाई रुपमा नमुना संघको रुपमा सबै तमुहरुलाई आस्थाको केन्द्र बनाउने प्रतिवद्धता व्यक्त गरे ।
काठमाडौँ: उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई छिटो र सहज रूपमा सरकारी सेवा लिन सक्ने वातावरण बनाउन सरकारले काम गरिरहेको बताउनुभएको छ । आइतबार सिंहदरबारमा भएको उपप्रधान एवं गृहमन्त्री श्रेष्ठ र सुरक्षा निकायका पूर्व उच्च अधिकारीबिच शान्ति सुरक्षा सुदृढीकरणका लागि अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आन्तरिक रूपमा सरकारी सङ्गठनहरूलाई संस्थागत गरी सुदृढ बनाउने काम सरकारले गरिरहेको बताउनु भयो । उहाँले मन्त्रालय विधि, पद्धतिको पालना गर्ने कसरी बनाउने, संस्थागत काम गर्ने कसरी बनाउने रु स्वच्छ ढंगले काम गर्ने कसरी बनाउने रु र उनीहरूलाई जनमुखी ओरेन्टेसन अभिमुखीकरणमा कसरी लैजाने रु भन्नेबारे सरकारले पनि आवश्यक तालिम दिनुपर्ने बताउनु भयो । मन्त्री श्रेष्ठले सरकारी कार्यालयभित्र अवाञ्छित चलखेलले भूमिका खेलेको स्थितिबाट मुक्त राख्ने र सबैलाई कसरी उत्साही र सक्रिय बनाउने भन्नेमा लाग्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो गृह मन्त्रालय अन्तर्गतको कर्मचारी प्रशासनमा हाम्रो नेपाल प्रहरीमा, सशस्त्र प्रहरी बल,नेपाल, राष्ट्रिय अनुसन्धान वा अरुपनि सरकारका कर्मचारी संयन्त्रदेखि लिएर सबै ठाउँमा हामीले विधि, पद्धतिको पालना गर्ने कसरी बनाउने, संस्थागत काम गर्ने कसरी बनाउने रु स्वच्छ ढङ्गले काम गर्ने कसरी बनाउने रु र उनीहरूलाई जनमुखी ओरेन्टेसन अभिमुखीकरणमा कसरी लैजाने र? । विधिको पालना, संस्थागत काममा, आफूलाई भ्रष्टाचार र अनियमितताबाट मुक्त गरी स्वच्छ कसरी बनाउने रु र जनमुखी अभिमुखीकरण कसरी गर्ने भन्ने कुरामा ध्यान नदिकन जनतालाई जनताको क्षेत्रमा,देशमा, समाजमा सुशासन स्थापित गर्ने र जनताको डेलिभरी सहजतापूर्वक छिटो उपलब्ध गराउने काम वा आफूलाई दिएको जिम्मेवारी जनताको पक्षमा सम्पन्न गर्ने काम त्यति प्रभावकारी हुन सक्दैन भन्ने हाम्रो अनुभूति छ । आन्तरिक रूपमा हाम्रा सङ्गठनहरूलाई कसरी हामीले संस्थागत काममा लगाउने, त्यहाँभित्र कसैलाई पक्षपात भएको अनुभूति गर्न नदिने, प्रणालीमा काम गर्ने, अवाञ्छित चलखेलले भूमिका खेलेको स्थितिबाट मुक्त राख्ने र सबैलाई कसरी उत्साही र सक्रिय बनाउने भन्नेमा लाग्नुपर्छ । कार्यदक्षता प्रभावकारी नबनाई काम गर् भनेर परिणामको मात्रै अपेक्षा गर्न सकिँदैन ।
काठमाण्डौ: प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाको बहिष्कारका बीच सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । गएराति १० बजे बसेको प्रदेश सभाको बैठकले प्रदेश सरकारले ल्याएको आउँदो आर्थिक वर्ष २०८०र८१ को बजेटसँग सम्बन्धित विधेयकहरु बहुमतले पारित गरेको हो । नेकपा एमालेले भने तोकिएको समयमा बैठक शुरु नगरेको र कार्यसूचीमा नै नभएको बजेट पारित गर्ने विषय प्रवेश गराएको भन्दै बहिष्कार गरेको छ । राप्रपा सांसद खेमादेवी विष्टले पहिले बहिष्कार गर्ने घोषणा गरे पनि पछि बैठकमा सहभागी हुनुभयो । हिजो दिउँसो सत्तारुढ गठबन्धनको बैठकले प्रदेश सांसदहरुले खर्च गर्न पाउने निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट प्रति निर्वाचन क्षेत्र ३ करोडबाट बढाएर ५ करोड रुपैयाँ पुर्याउने, प्रदेश सभा सदस्यको सिफारिसमा योजना समाबेश गर्ने लगायतका सहमति भएको थियो ।
काठमाण्डौ: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेता परिवर्तनमा आफ्नो प्रयास निरन्तर रहने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले पार्टीमा साथ र सङ्ख्या पुगेको अवस्थामा संसदीय दलको नेता परिवर्तनका लागि सार्थक प्रयास जारी रहने बताउनु भएको हो। उहाँले पार्टीको विधानले संसदीय दलको नेता परिवर्तन गर्न ठाउँ दिएको र पार्टीभित्र पटकपटक प्रयोग हुनाका साथै नेता परिवर्तन भएको उदाहरण रहेको बताउनु भयो । देशको आवश्यकताअनुसार आजको दिनमा आफू दलको नेता भएमा पार्टीलाई राम्रोसँग सञ्चालन गर्ने महामन्त्री थापाको भनाइ छ। यस्तै, कोशी प्रदेशको सरकार निर्माणका सम्बन्धमा सर्वोच्च अदालतको आदेशलाई पार्टीले स्वीकार गर्ने उहाँले बताउनुभयो । केन्द्रीय समितिको बैठक नबसेको कारण कोशी प्रदेश सरकार गठनका सम्बन्धमा खुल्ला छलफल गर्न नसकिएको उल्लेख गर्दै उहाँले यसबाट राष्ट्रिय राजनीतिका थुप्रै विषय प्रभावित भएका जानकारी दिनुभयो । महामन्त्री थापाले केन्द्रीय समितिको बैठकले नीति महाधिवेशनको मिति तय गर्नाका साथै नीति अधिवेशनले चुनावमा राजनीतिक दलहरुबीच गठबन्धन गर्ने राजनीतिक संस्कृतिको अन्त्य गरेर नयाँ बाटो खोज्ने बताउनुभयो ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिवले पत्नी शोकमा रहेका प्रधानमन्त्री प्रचण्डलाई भेटेका छन् । आज बिहान बालुवाटर पुगेर नेकपाका महासचिव विप्लवसहित नेता प्रकाण्डलगायत नेताहरूले प्रधानमन्त्री प्रचण्ड र उनको परिवारलाई समवेदन प्रकट गरेका हुन् । भेटका क्रममा विप्लवसहितका नेताहरूले मृतक सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्डसहित छोरी रेणु र गंगालाई समवेदना व्यक्त गरेका थिए ।
काठमाण्डौ: नेपाल भ्रमणमा आएका अमेरिकाको दक्षिण एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु ले एमसीसी कार्यान्वयनमा जोड दिनुभएको छ । हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, परराष्ट्रमन्त्री एनपी साउदलगायतसँग भेटवार्तामा उहाँले एमसीसी कार्यान्वयनमा जोड दिनुभएको हो । अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन भएको साढे १६ महिनापछि आउँदो भदौ दोस्रो हप्तादेखि कार्यान्वयनको तयारीमा रहेको छ । एमसीसी परियोजना कार्यान्वयनमा जाने पूर्वसन्ध्यामा सहायकमन्त्री लु नेपाल आउनुभएको हो । यसअघि एमसीसी संसदबाट अनुमोदन हुनुअघि २०७८ मंसिरमा पनि लु नेपाल आउनुभएको थियो । लुसँगको भेटमा सत्तारुढ शीर्ष नेताहरुले एमसीसी परियोजना छिट्टै कार्यान्वयनमा जाने आवश्वासन दिएका छन् । एमसीए नेपालका अनुसार एमसीसी परियोजनामा अहिलेसम्म दुई अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । सम्भाव्यता अध्ययन, डिटेल डिजाइन, वातावरणीय प्रभाव मूल्यांकन (ईआईए), उपकरण तथा गाडी खरिद, कर्मचारीको तलब र कार्यालय व्यवस्थापनलगायतमा रकम खर्चिएको एमसीए नेपालले जनाएको छ ।
काठमाडौं: अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मकतातर्फ अगाडि बढेको बताउनुभएको छ । शुक्रबार राष्ट्रिय सभा बैठकमा बोल्नुहुँदै अर्थमन्त्री महतले अर्थतन्त्र चलायमान भइरहेको र सकारात्मकतातर्फ अगाडि बढेको बताउनुभएको हो । उहाँले मूल्यवृद्धि पनि विगतको भन्दा घटेको बताउनुभयो । अर्थमन्त्री महतले सरकारले करको दायरा फराकिलो पारेको भन्दै राजस्व बढ्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले राजस्व वृद्धि हुने प्रशस्त आधार देखिएको उल्लेख गर्नुभयो । ‘‘यसपालि करको दायरा फराकिलो पारेका छौँ । यसले गर्दा राजस्व बढ्छ भन्ने हामीलाई विश्वास छ । सबैतिरको यसमा सहयोग चाहिन्छ । अर्थतन्त्र बिस्तारै चलायमान हुँदैछ । मूल्यवृद्धि पनि घटेको छ । पछिल्लो समयभन्दा अहिले घटेको छ । सकारात्मकतातर्फ अर्थतन्त्र बढेको छ । ब्याजदर पनि अलिकता सहजता हुनेबित्तिकै थप चलायमान हुन्छ । यसले राजस्व वृद्धि हुने प्रशस्त आधार यसले दिन्छ ।,’’ अर्थमन्त्री महतले भन्नुभयो, ‘‘र हामी स्वास्थ्य क्षेत्रमा अझ ज्यादा स्वास्थ्य जोखिम शुल्क मात्रै होइन कि अरु धेरै विनियोजन गर्नुपर्ने आवश्यकता छ । त्यसतर्फ सरकार गम्भीरताका साथ लाग्छ । माननीयज्यूहरुले राखेको सुझावलाई हामी सहर्ष आत्मसात् गर्छौ । र आउने दिनमा स्वास्थ्य क्षेत्रमा अझ बढी कसरी विनियोजन गर्न सकिन्छ ? र गाउँ गाउँ दुर्गम क्षेत्रमा समेत न्यूनतम स्वास्थ्य उपचार र रोकथामको सुनिश्चिता गर्ने, बेसिक हेल्थ केयर सुनिश्चित गर्ने जुन राज्यको लक्ष्य छ, त्यो पूर्ति गर्नेतर्फ हामी क्रियाशील हुन्छौँ ।’’ अर्थमन्त्री महतले आगामी दिनमा स्वास्थ्य क्षेत्रमा अझै बढी बजेट विनियोजन गर्ने बताउनुभयो ।
काठमाण्डौ: दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज शुक्रवार नेपाल आउँदै हुनुहुन्छ । सहायक विदेशमन्त्री लुले एक दिने नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । काठमाण्डौमा रहेको अमेरिकी दूतावासले हिजो बिहीवारमात्रै लुको भ्रमणका विषयमा औपचारिक घोषणा गरेको हो । प्रधानमन्त्री प्रचण्ड र परराष्ट्रमन्त्री साउदसँगको शिष्टाचार भेटमा लुले पाँच सय मिलियन अमेरिकी डलर अनुदानको एमसीसी परियोजना कार्यान्वयनको अवस्था, दुई देशबीचको सम्बन्धलगायत विषयमा कुराकानी गर्ने तयारी छ । यसअघि नेपाल सरकारले अमेरिकी कार्यक्रम एसपीपी (स्टेट पार्टनरशिप प्रोग्राम) लाई अघि नबढाउने निर्णय गरेपछि लुले नेपाल भ्रमण गर्नुभएको थियो । एमसीसी सम्झौता नेपालको संसदबाट अनुमोदन हुनु चार महिनाअघि पनि लु नेपाल आउनुभएको थियो ।