पोखरा: पोखरा महानगरपालिका वडा नं ३२ मजुवा स्थित कालिका आधारभुुत विद्यालयमा एक लाख ११ हजार १११ रुपैयाँको छात्रबृत्ति अक्षयकोष स्थापना भएको छ । विद्यालयमा आज आयोजित एक समारोहका बीच पोखरा महानगरपालिका वडा नं १६ तल्लो दीप जोगिमणि मार्ग निवासी धनबहादुर थापाले अक्षयकोष रकम हस्तान्तरण गर्नुभएको हो । उक्त रकमको व्याजबाट वार्षिक रुपमा विद्यालयमा वर्ष उत्कृष्ट विद्यार्थीका साथै विद्यालयमा विशिष्ट योगदान गर्ने सामाजिक व्यक्तित्वाई पुरस्कृत तथा सम्मानित गरिने कार्यक्रममा जानकारी गराइयो । सहयोग हस्तान्त्रण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमबहादुर गुरुङ, शिक्षक अभिभावक संघका अध्यक्ष मोहनकुमार प्रधान, विद्यालयका प्रधानाध्यापक द्रोणराज सुवेदी, पूर्व प्रधानाध्यापक विष्णुबहादुर बस्नेत लगायतको उपस्थिति थियो । अक्षयकोष सहयोगी दाता थापाले यस अघि पनि विभिन्न संघ संस्थामा सहयोग गर्दै आउनुभएको छ । उहाँ शिक्षासेवीसँगै सफल व्यवसायीका रुपमा रहनुभएको छ ।
पोखरा: तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८/९ स्थित घलेलमा २६ औं घलेल ल्होछार उत्सव जारी छ । बौद्ध सृजना युवा क्लबको आयोजनामा आगामी गत १५ देखि जारी उत्सवमा प्रौढतर्फ युनाइटेड किङ्स क्लब पोखरा र छारमेन्दो तक्रो उपाधिका लागि भिड्ने क्लबका अध्यक्ष विराज गुरुङले जानकारी दिए । उनका अनुसार घलेलको खेल मैदानमा मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक बौद्ध सृजना युवा क्लबलाई २–० को सोझो सेटमा र छारमेन्दोले फरेष्ट क्याम्प मर्दी हिमाल समूहलाई २–० कै सोझो सेटमा हराउँदै फाइनलमा किङ्स क्लबसँगको भेट पक्का गरेको हो । उक्त फाइनल खेल भने २२ गते हुने अध्यक्ष गुरुङले बताए । यस्तै महिलातर्फ भने क्वाटरफाइनल समिकरण पुरा भएको भलिबल खेल संयोजक गणेश बिसीले जानकारी दिए । उनका अनुसार महिलातर्फ आरम्भ स्पोर्टस् हाउस नयाँबजारले बोद्ध सृजना क्लब घलेललाई २–० को सोझो सेटमा हरायो । यस्तै अर्काे खेलमा निश्चल झरना युवा क्लब लुम्रेलाई पोखरा ३३ को टोलीले पनि २–० कै सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान बनायो । भोलि महिलातर्फको समिफाइनल समिकरण पुरा हुने संयोजक बिसीले बताए । उक्त खेलको उद्घाटन भने माछापुच्छ्रे गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारी तथा वडा ८ का वडाध्यक्ष राम बहादुर गुरुङले गरेका थिए । यस्तै क्लबका सचिव अमृत गुरुङले पुरुषतर्फको खेल तालिका सार्वजनिक भएको बताए । उनका अनुसार भोलि साढे ११ बजेबाट खेल सुरु हुनेछ । कुल ३४ टिमको सहभागिता रहेको उक्त खेलको फाइनल २२ गते हुनेछ । भोलि चिज र बालकाशी गुरुङको बेजोड प्रस्तुती क्लबका अध्यक्ष विराज गुरुङका अनुसार साँस्कृतिका कार्यक्रमतर्फ १९ गते चर्चित गायक चिज गुरुङ र बालकाशी गुरुङको बेजोड प्रस्तुती रहने छ । यस्तै घोडा दौड २० गते बिहान ११ बजे हुनेछ । यसैगरी नृत्य प्रतियोगिता १८, १९ र २० गते साढे ४ बजेबाट सुरु हुनेछ । ठेलो प्रतियोगिता २० गते दिउँसो १ बजे, रस्साकस्सी २० गते दिउँसो २ बजे आयोजना हुनेछ । कुन प्रतियोगिताको उपाधि राशी कति ? गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेतालाई ६५ हजार र उपविजेतालाई नगद ४५ हजार पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । सेमिफाइनलमा प्रवेश गर्ने दुवै टिमलाई जनही १० हजार रुपैयाँ तथा प्रमाणपत्र प्रदान गरिनेछ । यसैगरी सर्वाेत्कृष्ट हुने खेलाडीलाई गो बन्जी नेपालबाट बन्जी जम्प गर्ने अवसर प्रदान गरिने क्लबका अध्यक्ष गुरुङले बताए । यसैगरी महिला भलिबल तर्फको विजेतालाई ३० हजार उपविजेतालाई २० हजार, शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । प्रौढ पुरुष भलिबल प्रतियोगिताको विजेताले बोका (ठुलो) र उपविजेताले बोका (सानो)सँगै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । घोडा दौड प्रतियोगिताको विजेताले नगद रु ४० हजार र उपविजेताले २० हजार, सान्त्वना स्थान हाँसिल गर्नेले १० हजारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै खुल्ला सामुहिक नृत्य प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । ठेलो फाल्ने प्रतियोगिता, रस्साकस्सी प्रतियोगिताको विजेता र उपविजेतालाई आर्कषक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
पोखरा: पोखरामा सम्पन्न भएको दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’को उपाधिमा चिनियाँ खेलाडीले वर्चश्व कायम गरेका छन् । पोखराको फेवातालमा आज सम्पन्न दुई सय र पाँच सय मिटर दौडको फाइनलमा चीनको डोङग्वान लाओयु क्लबले दोहोरो उपाधि हात पारेको हो । दोहोरो उपाधिसँगै उसले १० हजार डलर पुरस्कार पायो । नेपाल र छिमेकी मुलुक चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थियो । चीनकै युनान मिन्जु युनिभर्सिटी दोस्रो तथा लिआओचिङ युनिभर्सिटी तृतीय भयो । युनान प्रान्तको नर्मल विश्वविद्यालयले चौथो स्थान हासिल गर्न सफल भयो । यसैगरी निर्धारित पाँच सय मिटरको दौडमा लिआओ चेङ युनिभर्सिटी दोस्रो भयो । प्रतियोगितामा युहान युनिभर्सिटी तेस्रो भयो । प्रतियोगितामा पाँच सय सय र दुई सय मिटर दौडका विजेताले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित नगद पाँच हजार अमेरिकी डलर, उपविजेताले दुई हजार डलर र तृतीयले एक हजार दुई सय अमेरिकी डलर पुरस्कार प्राप्त गरे । प्रतियोगितामा सहभागी टोलीलाई पाँच सय डलरका दरले पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । विजेता खेलाडीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपालका लागि चिनियाँ राजदूत छन् सोङ, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलगायतले पुरस्कार वितरण गरेका थिए । गण्डकी प्रदेश, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा भएको उक्त प्रतियोगितामा २० टोलीको सहभागिता थियो । प्रतियोगितामा चीनका आठ, सिङ्गापुरको एउटा तथा नेपालका ११ टोली सहभागी थिए । नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस–२०२४ सम्पन्न भएसँगै कार्यक्रमले नेपाल र छिमेकी चीनबीच सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई बलियो बनाउन तथा नेपालको पर्यटन प्रवद्र्धन गर्न मद्दत पुगेको पोखरा महानगरका प्रमुख आचार्यले बताउनुभयो ।
पोखरा: पोखरा महानगरपालिका–२७ डाडाँकोनाक, तालचोकमा पुस १८ देखि माघ १ गतेसम्म सञ्चालन हुने २० औं लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । लेखनाथ उद्योग वाणिज्य संघले आज डाडाँकोनाक, तालचोकमा पत्रकार सम्मेलन गर्दै महोत्सव तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । लेखनाथ उद्योग वाणिज्य संघका महासचिव जानुका पराजुली अधिकारीले २०५९÷६० मा सुन्तला प्रदर्शनी हुँदै २० औं लेखनाथ महोत्सवमा आइपुगेको बताइन् । ‘महोत्सव लेखनाथको संस्कृति,स्थानीय उत्पादन, विकास र समृद्धि भन्ने मूल नारासहित हामी अहिले २० औं संस्करणको लेखनाथ महोत्सवको अन्तिम तयारी छौं, महासचिव अधिकारीले भनिन्, ‘२०५९÷६० मा सुन्तला प्रदर्शनी, २०६१ सालमा सुपथ मूल्य बजार र लेखनाथ महोत्सवको सफलतासँगै अहिले हामी अनवरत रुपमा महोत्सव सञ्चालन गर्दै आएका छौं ।’ महासचिव अधिकारीले पुस १८ देखि माघ १ गतेसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय कृषि तथा औद्योगिक उत्पादनको प्रवद्र्धन, हस्तकलाका वस्तुहरूकोे बजार प्रवद्र्धन तथा पहिचान, लघु, घरेलु तथा साना उद्योगहरूको प्रवद्र्धन, आवश्यक ज्ञान, सिप र प्रविधि हस्तान्तरण, उद्यमशीलता, सिर्जनशीलतामा जोड, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकहरूमा उत्पादित वस्तु तथा सेवाहरूको प्रदर्शनी, जातीय भेषभूषा, कला संस्कृति, रीतिरिवाजको जर्गेना, नवप्रतिभा प्रस्फुटन साथै आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धन गर्ने उद्देश्य रहेको बताइन् । करिव २ सातासम्म सञ्चालन हुने महोत्सवमा ३ सय ३६वटा स्टल निर्माण गरिएको महासचिव अधिकारीले बताइन । ‘महोत्सवमा हामीले स्थानीय कृषि, औद्योगिक तथा हस्तकलाका वस्तुहरुको प्रवद्र्धन र बजारीकरणका लागि ३ सय ३६वटा स्टल निर्माण गरेका छौं, स्टल बुकिङ भइसकेको छ’, उनले भनिन्, ‘महोत्सवमा व्यापारको प्रवद्र्धनसँगै आवश्यक ज्ञान, सिप र प्रविधि हस्तान्तरण, उद्यमशीलता, सिर्जनशीलतामा जोड दिन्छौं ।’ महोत्सवमा करिव ९ करोडको कारोवार हुने अनुमान आयोजकले गरेको छ । महोत्सवमा स्थानीय क्षेत्रमा उत्पादन भएका कृषि प्रदर्शनी, खुल्ला सामुहिक नृत्य प्रतियोगिता, महलिाहरुको क्षमता अभिवृद्धिको लागि महिला÷आमा समूहहरुबीच हाजिरी जवाफ प्रतियोगिता, विभिन्न जातजातिहरुको रीतिरिवाज तथा सांस्कृतिक कार्यक्रम, शैक्षिक प्रदर्शनी, कन्सर्ट, राष्ट्रिय कलाकारहरुको प्रस्तुतिसँगै बाल उद्यान, एक्कुरीयम राखेर विभिन्न जातका १सय भन्दा बढी माछाहरुको अवलोकन गर्न पाइने आयोजकले जनाएको छ । महोत्सव अवलोकनका लागि विद्यार्थीहरुको लागि ६०, साधारण टिकट १ सय र लाइभ कन्सर्टका लागि ३ सय रुपैयाँ टिकट निर्धारण गरिएको छ ।
पोखरा: पोखरा लेकसाईडमा रहेको होटल पौवाले अंग्रेजी नयाँ वर्षको अवसरमा साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । अंग्रेजी नयाँ वर्ष २०२५ को शुभारम्भका अवसरमा होटलले पुस १६ साँझ ७ बजेदेखि १२ बजेसम्म बृहत सांस्कृतिक कार्यक्रम गर्ने होटल पौवा पोखराका प्रबन्धक केशव भण्डारी जानकारी दिए । कार्यक्रममा गायक सुरज थापा एण्ड ब्याण्डको साँगितिक प्रस्तुति रहने उनले बताए । गायक थापासँगै रितु केसी, तबला मादल बादक रिसु नेपाली, गितारिस्ट प्रविन श्रेष्ठ र विजय बज्राचार्यका साथमा बाँसुरी बादक किरण बरालको सहभागिता रहने उनको भनाइ थियो । कार्यक्रममा प्रवेश निःशुल्क रहेको होटलले जानकारी दिएको छ । नयाँ वर्षको अवसरमा होटल पौवाका अन्य शाखामा पनि साँस्कृतिक कार्यक्रम आयोजना हुने होटल पौवा प्रालिका प्रमुख सञ्चालन अधिकृत कृष्ण गौतमले जानकारी दिए । पोखरासँगै रुपन्देही भैरहवा, दाङको भालुवाङ, दाङकै घोराही र नवरपुरको गैडाकोटमा रहेका शाखामा पनि १६ गते नै सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको उनले बताए । ‘जहाँबाट आतिथ्यताको सुरुवात हुन्छ’ भन्ने मूल नारासहित नेपाली आतिथ्य सहितको सेवा दिने उद्देश्यले देशभर शाखा विस्तारमा तिब्रता दिएको प्रमुख संचालन अधिकृत गौतमले बताए । निकट भविष्यमै १०० शाखा बनाउने लक्ष्य लिएको होटल पौवाको अहिले देशभर १७ शाखा रहेको उनले जानकारी दिए । होटल पौवाको शाखाहरु कर्णाली प्रदेशको जुम्ला, सुदूरपश्चिमको धनगढी, लुम्बिनी प्रदेशमा दाङको भालुवाङ, घोराही र लमही, कपिलवस्तुको गोरुसिंगे, रुपन्देहीको योगीकुटी, भैरहवाको चिल्ड्रेन पार्क, पाल्पाको तानसेन, गुल्मीको रेसुंगामा रहेको छ । गण्डकी प्रदेशको पोखरा र नवलपुरमा होटलले शाखा विस्तार गरिसकेको छ । बागमती प्रदेशमा काठमाडौंको गौशाला, सिन्धुलीको मुलकोट र चितवनको भरतपुरमा पौवाको शाखा छ । कोशी प्रदेशमा खोटाङको हलेसीमा यसले सेवा विस्तार गरेको छ । छिट्टै बाँकेको नेपालगन्जमा पाँच तारे स्तरको होटल पौवा सञ्चालनको तयारीमा रहेको अधिकृत गौतमले बताए । होटल पौवाले नेपाल मै रोजगारी सिर्जना गरी युवा जनशक्ति पलायन रोक्ने लक्ष्य लिएर अघि बढेको अधिकृत गौतमले सुनाए । होटलको अर्को उद्देश्य भनेको रैथाने खाना र नेपाली मौलिक परम्परा जोगाउनु रहेको उनले बताए । सोही अनुरुप होटलले नेपालीहरुले परम्परादेखि मनाउँदै आएको चाडपर्वमा विशेष कार्यक्रम गर्दै आएको छ ।
पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा शनिबारदेखि सडक महोत्सवको २६ औं संस्करण सुरु भएको छ । पोखरा रेष्टुरेन्ट एन्ड बार एसोसियशन अफ नेपाल (रेवान) पोखराको आयोजनामा भएको महोत्सवको नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले उद्घाटन गरे । त्यसअघि, खहरे चोकदेखि कोमागाने पार्कसम्म साँस्कृतिक झाँकीसहित र्याली आयोजना भयो । जसमा विभिन्न जातजाति, ६० बढी आमा समूह, पर्यटन सम्बद्ध विभिन्न संघसंस्था लगायतको उपस्थितिमा झाँकीसहित र्यालीमा सहभागी भएको महोत्सव संयोजक विकास भट्टराईले जानकारी दिए । छिमेकी जिल्लाका प्रचलित नाचहरुले दर्शकको ध्यान खिचेको थियो । ‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ भन्ने मुल नाराका साथ सुरु महोत्सव लोपोन्मुख कला संस्कृति, धर्म, जातजाति, मौलिक तथा रैथाने खाना एउटै थलोमा ल्याएर प्रवर्द्धन गर्ने माध्यम बनेको महोत्सव संयोजक भट्टराईले बताए । साथै, कृषि तथा हस्तकलालाई पनि प्रवर्द्धन गर्नुपर्छ भन्ने उद्देश्यका साथ पोखरा सेरोफेरो तथा देशका विभिन्न स्थानमा उत्पादित कृषि उपज तथा सामाग्रीलाई बजारीकरण गर्नका लागि निःशुल्क स्टलको व्यवस्था गरिएको आयोजकले जनाएको छ । पोखराको पर्यटन क्षेत्रको विकासका लागि मिलेर अघि बढ्नुपर्नेछ: मन्त्री गुरुङ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखराको पर्यटन क्षेत्रको विकासका लागि मिलेर अघि बढ्नुपर्ने बताएका छन् । ‘अहिले नै बेलुन फेस्टिबल चलिरहेको छ । ड्रागन बोट हुँदैछ । अनि सडक महोत्सव भइहाल्यो । यसरी ३ वटै महोत्सव एकै पटक किन गरेको ?,’ उनले भने, ‘फरकफरक मितिमा गरेको भए तीनै पटक पर्यटक आउने, त्यती पटक नै व्यवसाय बढ्थ्यो । त्यही भएर पर्यटन प्रवर्द्धन हुने काम मिलेर गर्नुपर्यो । पर्यटनको विकासका लागि पोखरा एक छ भन्ने सन्देश दिनु जरुरी छ ।’ उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि धेरै काम बाँकी रहेको उनले बताए । विमानस्थल सञ्चालनका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यायल, गृह मन्त्रालय अन्तर्गतको भिसा अनुमति कार्यालय, अर्थ मन्त्रालय अन्तर्गतको भन्सार अड्डा पोखरामा सञ्चालनका लागि आवाज उठाइरहेको उनले सुनाए । नागरिक उड्डयले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सम्बन्धी कार्यविधि छिट्टो बनाउनुपर्ने उनको जोड थियो । मन्त्री गुरुङले प्रदेशको पर्यटन क्षेत्रको विकास, प्रचारप्रसार र भौतिक संरचना बनाउनका लागि गण्डकी प्रदेशको पर्यटन तथा उद्योग मन्त्रालयको ध्यानाकर्षण गराए । पोखरा आइटी पार्कका लागि उपउक्त भएकाले पार्क बनाउनका लागि पहल थाल्ने उनले सुनाए । कार्यक्रममा गण्डकी प्रदेशका पर्यटन तथा उद्योग मन्त्री मिललाल बस्याल, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्या जिसी श्रेष्ठ, पोखरा महानगरका मेयर धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, नेपाल पर्यटन बोर्डका सदस्य मदन आचार्य, पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराललगायतले सडक महोत्सव पोखराको ब्राण्ड बनिसकेकाले यसको स्तरवृद्धि र प्रभावकारी बनाउनका लागि साथ र सहयोग रहने बताएका थिए । ड्रोनबाट निगरानी सडक महोत्सवमा नेपाल प्रहरीको टोलीले ड्रोनबाट निगरानी गर्ने भएको छ । प्रहरीले यो पटक सडकलाई महोत्सवलाई डिजिटल्ली रुपमा सुरक्षा दिन लागिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए । यस बाहेक ४० वटा सिसीक्यामेराबाट पनि सुरक्षाको काम गरिने उनले सुनाए । म्यानुअल्ली सुरक्षा अन्तर्गत ५ दिनको अवधिमा करिब २ हजार प्रहरी परिचालन हुने कास्की प्रहरी प्रमुख ओलियाले जानकारी दिए । सँगै शंकास्पद स्थानमा कुकुर प्रयोग गरेर सुरक्षा दिने योजना बनाएको उनले बताए । ५ दिनसम्म चल्ने महोत्सवमा लेकसाइडका विभिन्न ४ स्थानमा स्टेज बनाएर विभिन्न झाँकी, लोकसंगीत देखि आधुनिक ब्यान्ड बाजा, नृत्यका साथै समसामयिक बिषयमा आधारित टक सो कार्यक्रम पनि आयोजना हुनेछ । सडकमै मनोरंजनात्मक खेलकुदहरु जस्तैः वेटर रेस, रस्साकसी, बोट रेस र विभिन्न रमाइल खेलहरु समावेश गरिएको छ । लेकसाइडको ३ किलोमिटर क्षेत्र अहिले दुलहीझै सिंगारिएको छ । महोत्सवको अवसरमा होटल संघ पोखराले २० प्रतिशत, टानले २५ प्रतिशत, प्याराग्लाईडिङमा १० प्रतिशत, रेष्टुरेन्टले १० प्रतिशत छुटको व्यवस्था गरेका छन । महोत्सव रेवान पोखराले आयोजना गरे पनि यो सम्पूर्ण पोखरेलीले अपनत्वमा गएको र अव पोखरा महानगरले पनि यसको अपनत्व लिएर अघि बढ्नुपर्ने आयोजक समितिका अध्यक्ष विश्वराज पौडेलले बताए ।
गण्डकी: माछापुच्छ्रे हिमालको पृष्ठभूमिमा उडिरहेको सिचुवान एयरलाइन्सको जहाजको तस्बिर कैद गर्ने पोखराकी फोटो पत्रकार राधिका कँडेलले उक्त तस्बिरलाई लिएर धेरैको प्रशंसा बटुल्नुभयो । राष्ट्रिय समाचार समिति (रासस)का लागि उहाँले खिचेको उक्त तस्बिरलाई बिबिसीदेखि विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रयोग गरेका छन् । कैयन सामाजिक सञ्जाल प्रयोगकर्ताले जहाजको तस्बिर साझा गरेका छन् । प्रवर्द्धनात्मक उडानका क्रममा पोखराका पत्रकार र व्यवसायीलाई लिएर बिहीबार दिउँसो काठमाडौँतर्फ गइरहेका बेला फोटो पत्रकार कँडेलले उक्त जहाजको तस्बिर खिच्नुभएको थियो । त्यसअघि चार्टर उडानमार्फत पोखरामा आयोजित दोस्रो अन्तर्राष्ट्रिय ‘ड्रागन बोट रेस’ मा सहभागी हुने चिनियाँ खेलाडीलाई लिएर उक्त जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको उक्त जहाज माछापुछ्रे हिमालको नजिकबाट उडिरहेको दृश्य जति मनमोहक छ, त्योभन्दा कम छैन उक्त तस्बिरमा छचल्किएको हिमालको पीडा ! ‘कुमारी हिमाल’को पगरी पाएको माछापुछ्रे मध्य जाडोमा पनि फुस्रो र निर्जन छ । हिउँबिनाको चुचुरो फुङ्ग उडेको उराठिलो छ । त्रिभुजाकारको कालापत्थर छेउबाट जहाज उडेझैँ देखिन्छ । हिमालमा सेताम्मे हिउँ हुँदो त अझ कति खुल्दो उक्त तस्बिरको सौन्दर्य ? प्रकृति र वातावरणप्रेमी जो कोहीको मनमा उब्जने प्रश्न हो यो । यो माछापुछ्रे मात्र नभएर हिउँविहीन बन्दै गएका हाम्रा हिमालहरूको साझा र दुःखदायी कथा हो । हिमालय क्षेत्रले झेलिरहेको वातावरणीय सङ्कटको ज्वलन्त प्रमाण हो । वर्षायाममा नाङ्गा र काला देखिने हिमाल अहिले हिउँदमा पनि उस्तै देखिन थालेका छन् । पुस महिना आधाउधी बितिसक्दा पनि हिउँ पर्ने कुनै छेकछन्द छैन । जाडोको खासै महसुस गर्न नपाइ हिउँद बिताउनुपरेको अनुभव नौलो हुन छाडेका छन् । हामीले हेर्दाहेर्दै हिमालबाट हिउँ घटिरहेको छ, यसरी हिउँ निथ्रिदै गए हिमाल कसरी जोगिएलान् ? हिउँबिनाको हिमाल के हिमाल ! हिउँ भए र पो हिमालहरू छन् । हिउँबिना त ति केबल नाङ्गा र उजाड कालापत्थर न हुन् । हिमालबाट यसरी नै हिउँ रित्तिँदै गए हिमाल नियाल्न आउने पर्यटक पनि एकदिन निरास हुनेछन् । हिमालको सौन्दर्य र शोभा हराउँदै गए त्यसको प्रत्यक्ष असर नेपालको पर्यटन क्षेत्रले पनि अवश्य भोग्नेछ । विश्वव्यापी रूपमा गहिरिँदो जलवायु सङ्कटको सबैभन्दा ठूलो मार नेपालका हिमालमा परेको सो क्षेत्रका विज्ञ र अध्येताहरू बताउँछन् । पर्यावरणीय अध्येता कुलचन्द्र अर्यालका अनुसार जलवायु सङ्कटको नकारात्मक असर पर्ने विश्वकै सबैभन्दा बढी संवेदनशील क्षेत्रमा नेपालको हिमालय क्षेत्र पर्छ । “विश्वको औषत तामपान वृद्धिको दरभन्दा हिमालय क्षेत्रको तापमान वृद्धि बढी उच्च रहेको छ”, उहाँ भन्नुहुन्छ, “विश्वको औषत तापमान एक दशमलव पाँच प्रतिशतले बढ्दा हिमालय क्षेत्रमा एक दशमलव आठदेखि दुई डिग्री सेल्सियससम्म बढ्ने गरेको अध्ययनले देखाएको छ ।” जलवायु परिर्वतन र उष्णीकरणले नेपालको हिमालय क्षेत्रमा नकारात्मक असर पुर्याइरहेको पर्यावरणीय अध्यता अर्यालको भनाइ छ । विश्वव्यापी तापमान वृद्धिका कारण हिमालय क्षेत्रमा हिमगलन बढ्नुका साथै नयाँ हिमताल थपिने, विस्तार हुने र विष्फोटन हुने दर बढीरहेको उहाँ बताउनुहुन्छ । कम वर्षा र हिमपात उच्च हुने हिमाली क्षेत्रमा पछिल्लो समय अनपेक्षित रूपमा उच्च वर्षा हुँदा बाढीपहिरोका घटना बढीरहेको वातावरणीय अध्येता अर्यालको भनाइ छ । कमजोर भू–बनोट, वनस्पतिविहीन नाँगो र भिरालो जमिन भएका कारणले हिमाली क्षेत्रले वर्षा थेग्न नसक्ने र त्यसले बाढीपहिरो तथा लेदो बग्ने समस्या निम्ताउने गरेको छ । सोही कारण हिमालय क्षेत्रमा अप्रत्यासति प्राकृतिक विपद्का घटना निम्तिने गरेका छन् । जलवायु विज्ञ डा विमल रेग्मीले अहिलेकै गतिमा हिउँ पग्लिँदै गएमा आउँदा केही दशकमा नेपालका हिमालहरू कालापत्थरमा परिणत हुने बताउनुहुन्छ । विश्वव्यापी तापक्रम वृद्धिलाई एक दशमलव पाँच डिग्री सेल्सियसमा सीमित पार्दा पनि यही शताब्दीको अन्त्यसम्ममा हिन्दूकुश–हिमालय क्षेत्रको ३६ प्रतिशत हिउँ भण्डार रित्तिने अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द (इसिमोड)को अध्ययनले देखाएको डा रेग्मीको भनाइ छ । “अहिले नै विश्वव्यापी तापक्रम एक दशमलव एक डिग्री सेल्सियसले वृद्धि भएकामा पृथ्वीको तापमान दुई डिग्रीले बढ्ने हो भने हिमालय क्षेत्रको आधा हिउँ सकिने उक्त अध्ययनको निचोड छ”, डा रेग्मी भन्नुहुन्छ, “हरित ग्यास उत्सर्जनलाई नियन्त्रण गर्न विश्वले उपयुक्त कदम नचाल्ने हो भने हिमालय क्षेत्रमा गम्भीर सङ्कट निम्तने खतरा छ, कुनै दिन हिमालको अस्तित्व नै नासिन सक्छ ।” उहाँका अनुसार सन् २०१५ मा भएको ‘पेरिस सम्झौता’मा संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धीका पक्ष राष्ट्रहरूले विश्वव्यापी तापक्रम वृद्धिलाई एक दशमलव पाँच डिग्री सेल्सियसमा सीमित पार्ने र दुई डिग्री सेल्सियसभन्दा बढ्न नदिने सहमति गरेका थिए । पृथ्वीको तापमान बढ्नुको मुख्य कारण हरित ग्याँसको उत्सर्जन रहेको डा रेग्मीको भनाइ छ । “कार्बनडाइअक्साइड, मिथेन जस्ता मानव उत्सर्जित हरितगृह ग्यासले सूर्यको तापक्रम सोसेर राख्ने हुँदा पृथ्वीको तापक्रम बढ्छ”, उहाँ भन्नुहुन्छ, “विश्वव्यापी तापमान वृद्धिका कारण निम्तिएको जलवायु सङ्कटको ठूलो मार हाम्रा हिमालहरूमा परिरहेको छ ।” हिमालय क्षेत्रको तापक्रम अन्य क्षेत्रको भन्दा पाँच गुणा बढी अर्थात् बर्सेनि शून्य दशमलव ००६ प्रतिशतले बढिरहेको विभिन्न अध्ययनले देखाएको छ । जलवायुजन्य प्रकोपका घटना हिमालय क्षेत्रमा बढी भइरहेका छन् । हिउँ पुग्लेर हिमताल बन्ने क्रम बढ्दो छ । हिमनदी सुक्दै गएका छन् । हिमालको पारिस्थितिकीय प्रणालीमा उथलपुथल भइरहेको छ । जलवायु परिवर्तनका कारण पानीको चक्र फेरिएको छ । मनसुन ढिलो हुने, हिउँ नपर्ने, कुनैबेला हाँडीघोप्टे वर्षा हुने जस्ता समस्याहरू देखिन थालेका छन् । जलवायु विज्ञ डा रेग्मीले हिमालबाट हिउँ हराउँदै गएमा पानीमा आधारित कृषि र जनजीवनमा ठूलो असर पर्ने बताउनुहुन्छ । हिमालय क्षेत्र दक्षिण एसियाका झण्डै दुई अर्ब मानिसको पानीको स्रोत रहेको उहाँको भनाइ छ । “हिमालमा हिउँ नरहे, नदीका स्रोत सुक्छन्, त्यसले तल्लो तटीय क्षेत्रका बासिन्दाको जीविकोपार्जनदेखि खानेपानी, सिँचाइ, कृषि आदिमा भयानक सङ्कट निम्तिन सक्छ”, उहाँ भन्नुहुन्छ । जलवायुजन्य घटना र हानिनोक्सानीका कारण नेपालको कुल गार्हस्थ्य उत्पादनमा वार्षिक दुई दशमलव पाँच प्रतिशतले ह्रास आइरहेको बताइन्छ । यो शताब्दीको अन्त्यसम्ममा १० देखि १२ प्रतिशतसम्म ह्रास हुने वन तथा वातावरण मन्त्रालयको अध्ययनले देखाएको छ । जलवायु न्यायको विषय रहेको भन्दै पर्यावरण संरक्षणमा अन्तर्राष्ट्रिय स्रोत जुटाउन सरकारले पहल लिनुपर्ने विज्ञहरूले बताउँदै आएका छन् ।
पोखरा: रेवान पोखराको आयोजनामा शनिबारदेखि पोखरामा शुरु हुने २६ औँ पोखरा सडक महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । महोत्सवको नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङ्गले उद्घाटन् गर्ने आयोजक रेवान पोखराले जनाएको छ । कोमागाने पार्कमा हुने उद्घाटन समारोह अघि खहरेबाट विभिन्न जातजाती, ६० बढी आमा समुह, पर्यटन सम्बद्ध विभिन्न संघसंस्था लगायतको उपस्थितीमा साँस्कृतीक झाँकी सहित ¥याली निस्कने छ महोत्सव संयोजक विकास भट्टराईले जानकारी दिए । आयोजक समितिका अध्यक्ष विश्वराज पौडेलका अनुसार महोत्सव सफल पार्न गठित विभिन्न समिति, उप–समितिले आ–आफ्नों तयारी पुरा गरेका छन् । महोत्सव तयारीका लागि रेवान पोखराले सुरक्षा परिषद् बैठक, स्वास्थ्य समितिको बैठक, सांस्कृतिक समूहको बैठक, लगायतका बैठकहरू सम्पन्न गरेको थियो । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख श्यामबाबु ओलिया, सशस्त्र प्रहरी बल कालिका गणका गणपति अरुण कुमार शर्मा, राष्ट्रिय अनुसन्धान कार्यालय कास्कीका उप–अनुसन्धान निर्देशक सुरेशकुमार तिवारी, कृष्णदल गण फुलबारी ब्यारेक पोखराका सन्दीप केसी, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, यातायात तथा पार्किङ समितिका संयोजक चिरञ्जीवी पोखरेल लगायतको उपस्थितीमा सुरक्षा परिषद् बैठक सम्पन्न गरेको थियो । स्वास्थ्य समितिका संयोजक भिष्मराज पौडेलका अनुसार नमस्ते हस्पिटल तथा पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाले पनि स्वास्थ्य सम्बन्धि व्यवस्थापन गरिसकेका छन् । महोत्सवको चार किलोमिटर क्षेत्रभित्र विभिन्न स्थानमा स्वास्थ्य डेक्स राखी औषधि उपचारमा विशेष ध्यान दिइने पौडेलले जनाउनुभयो । महोत्सवका प्रचार प्रसार समिति संयोजक बीरेन्द्र शेरचनले पोखरा सडक महोत्सवमा मिडियाहरुबाट विगतका वर्षहरुमा जस्तै उत्कृष्ट सहयोग पाएको बताए । सडक महोत्सवलाई अन्र्तराष्ट्रिय जगतसम्म चिनाउन सञ्चार माध्यमको भूमिंका महत्वपूर्ण रहेकाले यसपटक पनि सकारात्मक सहयोगको अपेक्षा लिएको समितिका महासचिव समेत रहेका शेरचनको भनाई छ । महोत्सवलाई थप रौनक प्रधान गर्न सडकमा हुने खेलकुदका कार्यक्रमहरुको तयारी पनि पुरा भएको खेलकुद संयोजक सुमन भट्टराईले जानकारी दिए । सडकमा मःम खाने, रस्साकसी, वेटर वेट्रेसहरुको चम्चा दौड, डुङ्गा दौड लगायत हुनेछन् । त्यसैगरि अघिल्लो संस्करणमा जस्तै यसपटक पनि पर्यटनका बारेमा जानकारी सहितको सडक सम्वाद कार्यक्रम हुने रेवान पोखराका उपाध्यक्ष बसन्त गौतमले जनाए । उनका अनुसार अम्मटमा दुई दिन सम्म सडक सम्वाद कार्यक्रम चल्नेछ ।